सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिणी अमेरिकी राष्ट्र भेनेजुयलामा भएको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाले गरेको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै दाहालले निर्वाचनबाट चुनिएका वैधानिक राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिई आफूलाई राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई वैधानिकता दिएको भन्दै आपत्ति जनाएका हुन्।
‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुयलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भत्सर्ना गर्दछ।’
दाहालले हुवान गुवाइदोलाई मान्यता दिने अमेरिकी कदम मडुरोमाथिको ग्रान्ड डिजाइन भएको उल्लेख गरेका छन्।
‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ दाहालले भनेका छन्, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’
दाहालले अमेरिक लगायत अन्य राष्ट्रलाई अहस्तक्षेप, राष्ट्रिय सार्वभौमता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा दाहालले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायलाई सार्वभौमसत्ताको रक्षा गर्ने भेनेजुयलाका जनताको कदम साथ दिन पनि आह्वान गरेका छन्।
यसअघि बुधबार हुवान गुवाइदोले आफू संसदको नेता भएकाले संविधानले अन्तरिम राष्ट्रपति बन्न दिने बताउँदै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
हुवानको यो कदमलाई समर्थन गर्दै अमेरिकाले उनलाई राष्ट्रपतिको मान्यता दिएको थियो।
मुडुरो सन् २०१३ देखि भेनेजुयलाका राष्ट्रपति छन्।