प्रधानमन्त्री केपी शर्मा ओलीले अबको धरहरामा इतिहास झल्किने र आधुनिकता टल्किने बताएका छन्।
‘देशमै विकासको नयाँ लहर अगाडि बढेको छ। त्यसको एक हिस्सा धरहरा पनि हो। हरेक कुराको आधुनिकीकरण जो चलेको छ। त्यसको यो एक अंग हो, धरहरा,’ बिहिबार धरहरा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘इतिहास झल्किदा आधुनिकता पनि त्यसमा टल्किनुपर्छ। धरहरा पनि त्यस्तै हो। इतिहास झल्किन्छ। आधुनिकता पनि टल्किन्छ।’
उनले अब बन्ने धरहरा जवान मात्र होइन, जेष्ठ नागरिकले पनि सजिलै चढ्न सक्ने बताए।
‘मलाई नै पहिला धरहरा चढ्न गाह्रो भएको थियो। तर यसपटक त्यस्तो हुन्न। यसपटकको धरहराको टुप्पामा जवानहरू मात्र होइन बुढापाकाहरू पनि सजिलै चढ्न सक्नेछन्। घुम्न सक्नेछन्,’ उनले भने,‘हामी वातावरण सुधारिएको, बाटा सुधारिएको, हरियाली बढाइएको काठमाडौं धरहराबाट हेर्नेछौं।’
अब धरहरा घुम्न आउँदा जामको समस्या नहुने उनले बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अबको धरहरामा घुमे, धरहरामा चढे भने बाटो जाम हुँदैन। पहिले कतै गाडी राख्ने ठाउँ हुँदैन थियो। त्यो प्रकारको समस्या अब हुँदैन। धरहराले घुम्न आउनेलाई आफ्नै खल्तीमुनि राख्छ।’
यसैबीच, साढे तीन वर्षपछि धरहरा पनि पुनर्निर्माण अघि बढेको भन्दै त्यसलाई स्थानीय सरकार जुनसुकै सहयोग गर्न तयार रहेको काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताए।
‘लामो समयपछि हामीले ऐतिहासिक क्षण पाएका छौं। धेरै पटक पुनर्निर्माण गर्ने भनेर साइत जुटायौं। तर पनि विभिन्न कालखण्डमा विभिन्न अवरोध आए। आज हामी सबैलाई धरहरा भन्ने भयो भनेर मनमा सन्तुष्टि मिलेको छ,’ मेयर शाक्यले भने।
उनले धरहरा पुनर्निर्माण कार्य अघि बढाउन पहिलेदेखि नै विभिन्न पक्षसँग छलफल गरिरहेको बताए।
‘महानगरपालिकाले पहिलादेखि नै यसलाई नजिकबाट हेरिरहेको र विभिन्न पक्षसँग समन्वय गरेको थियो। त्यसैले महानगरले तोकिएको समयमा धरहरा पुनर्निर्माण गर्न स्थानीय सरकारको हैसियतले गर्न पर्ने सबै सहयोग गर्छ।’
उनले काठमाडौं सुन्दर बनाउने अभियानमा महानगरले लागेकाले निर्माणस्थलबाट सडससम्म धूलो नउड्ने प्रविधि प्रयोग गर्न आग्रह समेत गरे।
‘हामी काठमाडौंलाई सुन्दर बनाउन धेरै मेहेनत गरिरहेका छौं। जेट मेसिनले बाटो पखाल्ने, ब्रुमरले धूलो सफा गर्ने काम गरिरहेका छौं। त्यसैले निर्माणस्थलमा काम गर्दा धूलो नउड्ने प्रविधि प्रयोग गर्न आग्रह गछौं,’ उनले भने।
जिआइइटिसी–रमन जेभीले ३ अर्ब ४८ करोड लागतमा धरहरा निर्माण गरिरहेको छ।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी