त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सैं घण्टा सञ्चालन गर्छु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउँछु


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सैं घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्न विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताए।

‘सिङ्गल रनवे भए पनि २४ घण्टा सञ्चालन गर्न सकिन्छ। संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ। विगतमा समय थप्न सकिदैन भन्नेले पनि अहिले तीन घण्टा थप्न सकिन्छ भनिसके, मन्त्री अधिकारीले भने, ‘प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छ। भारतको बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन?’

अधिकारीले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे।

विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ ।

‘काठमाडौंलाई पनि १८ घण्टा जागा बनाउँछु। भविष्यमा २४ सै घण्टा काठमाडौं खुला हुन्छ,’ उनले भने ।

नेपालको हवाई यातायात व्यवस्थित बनाउन भइरहेका प्रयासबारे जानकारी दिँदै मन्त्री अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा सञ्चालनमा ल्याउने बताए । विमानस्थल  निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिँदै मन्त्री अधिकारीले द्रूत गतिमा काम सुरू भइसकेकाले सन् २०१९ भित्र सञ्चालनमा आउने बताए ।

‘रेकर्ड गरेर राख्नुहोस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ। पर्यटक आगमन बढ्छ।’

आन्तरिक उडान व्यवस्थित गर्न पोखरा, भैरहवा, नेपालगञ्ज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सञ्चालन गर्ने योजना आफूसँग रहेको बताए।

हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए। त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ ।

‘आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ। अहिले सि टु क्याटागोरीमा रहेछ। अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ,’ अधिकारीले भने ।

पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरोन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउन सक्ने गरी काम गर्ने बताए ।

सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए। ‘अध्ययन र तथ्याङ्कलाई आधार मानेर भनेको हुँ। कम्तिमा पनि २० लाख पर्यटक आउँछन्,’उनले भने ।

पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए। एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे ।

मन्त्री अधिकारीले राष्ट्रिय संग्रहालय छाउनी र नारायणहिटी दरबार संग्रहालयलाई पनि व्यवस्थित गरिने बताए।

नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउन अध्ययन भइरहेको उनले बताए। निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए ।

‘निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन्। कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन्। हामी पनि त्यस्तै सुधार गर्छौँ,’ अधिकारीले भने ।

अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे।

अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए।

‘सय दिन, ६ महिना, एक वर्ष, दुई वर्ष, पाँच वर्षमा गर्न सकिने कामको सूची तयार पारेर सार्वजनिक गर्छु। त्यसपछि मलाई हरेक महिना के कति काम भयो सोध्नुहोला, मैले गरेका हरेक कामको जानकारी गराउँछु,’ अधिकारीले भने।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.