ओलीले टारे जनयुद्ध दिवसको अतिथि बन्ने वाइसिएलको निम्तो !

फोटो : नारायण महर्जन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जययुद्ध दिवस मनाउने निम्तो टारिदिएका छन्। ‌

ओलीलाई माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले जनयुद्ध दिवसको कार्यक्रममा अतिथिको रूपमा पार्टी केन्द्रीय कार्यालयमा निम्तो दिएको थियो। तर, ओलीले नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको भेटवार्ता देखाउँदै कार्यक्रम टारिदिएका हुन्।

नेकपा माओवादी केन्द्रले जनयुद्ध सुरू गरेको दिनको रूपमा फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ। गत माघ १८ गते वाइसिएलको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीलाई पेरिसडाँडामा निम्तो गर्ने निर्णय नै गरेको थियो। दुई पार्टीबीच एकता प्रक्रिया अगाडि बढेकोले ओलीलाई वाइसिएलले निम्तो दिएको थियो।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ओलीलाई संगठनको तर्फबाट जनयुद्ध दिवसको निम्तो दिएको सेतोपाटीलाई बताए। तर, एमाले अध्यक्ष ओलीका प्रेस संयोजन चेतन अधिकारीले भने बेलायती मन्त्रीसँगको भेटका कारण ओली निम्तो मान्न जान नपाउने अवस्था रहेको उल्लेख गरे।

एमालेले जनयद्ध दिवसको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष वामदेव गौतमलाई पठाएको छ। दुई वाम पार्टीका अध्यक्षबीच सोमबार मात्र सैद्धान्तिक विषय संश्लेषण गरेर पार्टी एकतामा जाने समझदारी भएको थियो। दुवै पार्टीका अध्यक्ष आज पनि एक्ला एक्लै छलफलमा जुट्दैछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.