महिला सांसदसँग अन्तर्वार्ता-श्रृंखला-३
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्युठानको एकमात्र निर्वाचन क्षेत्रमा चुनाव जितेकी छन्। उनले राष्ट्रिय पुननिर्माणको सिइओ पदबाट राजीनामा गरेर कांग्रेस उम्मेदवार बनेका गोविन्द पोखरेललाई पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याएकी छन्। उनीसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादीत अंश:
पुरूष उम्मेदवार हराउनुभएको छ कस्तो लागिरहेको छ?पुरुष र महिलामा कसलाई हरायो भन्ने महत्वपूर्ण होइन। जसलाई हराए पनि मैले विपक्षीलाई हराएको हो।
महिलालाई उम्मेदवार नै बनाउँदैनन् पार्टीहरूले। हेर्नु न कति थोरै महिलाहरू प्रत्यक्षमा उम्मेदवार छन्। उम्मेदवारको टिकट दिए नै भने पनि हार्ने ठाउँमा दिन्छन्। यो महिला हो यसले के गर्न सक्छ र भन्ने सोच हाम्रो राजनीतिक वृत्तमा छ। हाम्रो राजनीतिको त्यही पुरूष प्रधान मानसिकतालाई मैले पराजित गरेँ भन्ने चाँहि महसुस भएको छ। एउटा पुरुषलाई नै हराएँ भनेर चै खास त्यस्तो केही लागेन मलाई। विपक्षी हो लड्न आएपछि चाहे महिला होस् चाहे पुरुष जित्नेले हराउनै पर्छ।
तपाईँ कहिलेदेखि र कसरी राजनीतिमा लाग्नु भयो?म खासमा राजनीतिमा लागेको त ४० सालदेखि हो। त्यो बेला मलाई अनेरास्ववियूको इकाइमा बसेर राजनीति सुरु गरेकी थिएँ।
म कपिलवस्तुमा हुर्कीएकी हुँ। स्कुलेबेलादेखि नै म मनमा लागेको कुरा बोलिहाल्ने स्वभावकी थिएँ। गाउँघरमा बाआमाले छोराहरुलाई अंश लगाउने चलन मलाई चित्त नबुझ्ने। म छोरीलाई किन अंश नदिएको भनेर सोधिरहने गर्थेँ। मैले मेरो बुवालाई पनि यहि प्रश्न सोधेँ। उहाँ निकै प्रगतिशील विचारको हुनुहुन्थ्यो। 'यो समाज यस्तै छ कानुन पनि यस्तै छ, छोरीले पनि अंश पाउनका लागि तिमीहरु लड्नु पर्छ' भन्नु भएको थियो।
अहिले बुवा हुनुहुन्न हामीले लडेर ल्याएको पैतृक सम्पत्तिमा छोरीको हकलाग्ने कानुन हेर्न। आफूलाई सहि लागेको कुरामा बुवाको सपोर्ट मिलेपछि भने मेरो मन बलियो भयो। बुवाको त्यस्तै कुराहरुले मलाई राजनीतिमा लाग्न प्रेरित गर्यो।
पछि दाईले पनि प्रेरणा दिनु भयो। पञ्चायतकालमा राजनीति खुला थिएन। त्यसैले हामीलाई उहाँले जंगल जंगल लगेर विद्यार्थीको मिटिङ्ग गराउनु हुन्थ्यो।
२०४१ सालमा म अनेरास्ववियूको जिल्ला कमिटिमा पुगेँ। २०४५ सालमा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य भएँ। २०५७ अध्यक्ष समेत भएँ। दशवर्षमा पछिमा म पार्टी नेतृत्वपनि सम्हाल्नुपर्छ भनेर यता आएँ। अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष छु।
राजनीतिमा यतिका समय विताइसकेपछि त टिकट पाउन सजिलो नै भए होला। केही समस्या त आएनन्?भएन। हामीले पहिले अध्यक्ष चित्र बहादुर केसी लाई नै चुनावमा उठ्नुपर्छ भनेका थियौँ। त्यसैका लागि जोड गरेको थियौँ। उहाँको स्वास्थ्यले साथ दिएन। उहाँ आफैंले पनि 'मलाई चुनावमा उठ्न कर नगर्नु' भन्नु भयो। अनि पार्टीले नै मलाई उठाउने निर्णय गरेको हो। जिल्लाबाट सिफारिस जानुपर्छ र त्यसबारे केन्द्रीय समितिको निर्वाचन टिमले कसलाई टिकट दिने फाइनल गर्ने हाम्रो पार्टीको नियम छ। जिल्लाबाट सिफारिस गएपछि त्यहि समितिले मलाई छानेको हो। त्यस्तो गाह्रो केही भएन।
प्रचारप्रसार कसरी गर्नु भयो? आर्थिक स्रोत कसरी जुटाउनु भयो?समस्या ठूलो हो। अहिले महिलाहरुलाई गाह्रो हुन्छ प्रत्यक्ष लड्न। मसँग पैसा छैन चुनाव लड्दिन पनि भन्ने महिलाहरु भेटिए। निर्वाचन महङ्गो भैसक्यो।
यसपालि के सजिलो भैदियो भने म तीन वटा पार्टीको साझा उम्मेदवार भएँ। प्रदेशमा एमाले र माओवादीको हुनुभयो। तीन वटा उम्मेदवार नै हाम्रा साझा भयौँ। चुनाव खर्च पनि तीन वटा पार्टीले मिलेर गरेकाले सहज भयो। नभए चुनाव लड्न त निकै गाह्रो थियो।
मलाई व्यक्तिगत रूपमा सहयोग आएको थियो। मैले सबै पार्टीलाई बुझाएकी हुँ। पार्टीले हाम्रो सबै चुनावी खर्च व्योहोरेको हो।
प्रचारप्रसारमा महिला भएकै कारणले समस्या भोग्नुपर्यो?त्यस्तो त खासै केही परेन। हामी पहिले पनि हिँडडुल गरेरै संगठनमा काम गरेका मान्छे हौँ। तर प्रतिद्वन्दीले चैँ मतदातासँग गएर, ऊ त महिला हो विकास गर्न सक्दैन बरू हामीलाई भोट दिनुस भन्नुभएको रहेछ। हामीले मतदातालाई त सम्झायौँ। पुरूष प्रधान मानसिकताले अझै पछि खेद्न छोडेन भन्ने लाग्यो मलाई चैँ।
त्यस्तो पढेलेखेको मान्छेले पनि त्यसो भन्नुभएछ। मैले साथीहरूलाई त्यसको प्रतिवाद गर्न भनेँ। हाम्रा साथीहरुले चैँ मलाई सहयोग गर्नुभयो।
नेपाली महिलाले भोग्नुपरेका मुख्य समस्या के के हुन्?मुख्य समस्या त ठाउँ हेरिकन भन्नुपर्छ। कुनै ठाउँका महिलाको एउटा समस्या हुन्छ। अर्को ठाउँका महिलाका अर्को समस्या हुन्छ।
तर समग्र महिलाको समस्या भनेको पहिलो त महिलालाई समाजले हेर्ने दृष्टिकोण हो। समाजले हामीलाई कसैकी श्रीमति कसैकी बुहारी, बहिनी दिदी नबनाइ हेर्न सक्दैन। त्यसले हामीलाई निरन्तर निरुत्साहीत गरिरहेकै हुन्छ। काम गरेर स्थापित महिलाहरुलाई पनि उसका श्रीमानको नामबाट चिनाइन्छ। महिलाको त पहिचानै मेट्ने काम हुन्छ। घरदेखि काम गर्ने ठाउँसम्मै महिलाको क्षमताको कदर गर्दैन हाम्रो समाजले।
मुख्य समस्या त आर्थिक स्थिति नै हो। छोरीलाई पैतृक सम्पत्तिमा समान हकको कुरा कानूनमा त लेख्यौँ। तर व्यवहारमा लागु गर्न निकै कठीन छ। हामी व्यवहारमा समान पैतृक हकबाट पछि पर्दा वित्तिकै अन्य पाटाहरु स्वभाविकरुपमा पछि पर्छन्।
अर्को समस्या घरेलु हिंसाको हो। धेरै परिवारमा महिला हिंसा छ। यो आजको भोलि हट्नेवाला पनि छैन।
राजनीतिमा आउन र यहाँ स्थापित हुन के समस्या छ महिलाहरुलाई?महिलाहरुलाई राजनीति गर्न निकै समस्या छ। पहिलो त घरबाटै निस्कीन गाह्रो छ। राजनीतिमा लागिरहन गाह्रो छ। किनभने यहाँ उसको क्षमताको खासै कदर हुन्न। आर्थिकरुपमा पनि महिलाहरु कमजोर भएकाले पनि राजनीतिमा टिक्न गाह्रो हो। राजनीतिक क्षेत्रमा झन् महिलाका कुरा सुनिएको देखिन्न। उनीहरुलाई महत्वपूर्णस्थान दिइन्न सम्मान दिइन्न त्यस्तो क्षेत्रमा महिलाको आकर्षण पनि हुन्न।
अब संसदमा गएर के के कुरा उठाउनुहुन्छ?संसद भनेकै यस्तो ठाउँ हो जहाँ नीति निर्माण गरिन्छ। ऐनकानुन बनाइन्छ। हामीले त्यहाँ बसेर न्यायोचित नीति निर्माण गर्नुपर्ने हुन्छ। त्यहाँ पुगेपछी मैले विषेश गरि महिलाका हकहितका पक्षमा काम गर्नेछु। महिलासम्बन्धि नीति निर्माण गर्दा उनीहरुलाई न्याय पुग्ने गरि बनाउन जोड गर्ने छु।
अर्कोतिर देशको सबभन्दा ठूलो समस्या भ्रष्टाचार हो। त्यसको न्यूनिकरण गर्ने कानुननिर्माण तथा अन्यकाम गर्ने छु। म समग्र देशको हित गर्ने नीति नियम बनाउनेकुरामा जोड दिनेछु।