उनीहरू नारा लगाउँदैनन्। पर्चा बाँड्दैनन्। जुलुसमा हिँड्दैनन्। भाषण गर्दैनन्।
तै चुनावी प्रचारमा नभई हुँदैनन्।
के गर्छन् त उनीहरू?
उनीहरू गीत रच्छन्। धून भर्छन्। गितार बजाउँछन्। मादल घन्काउँछन्। आफ्नो संगीतबाट मतदाताको मन तरंगित पार्छन्।
उनीहरू विभिन्न दलमा आबद्ध साँस्कृतिक संघका सदस्य हुन्, जो यस्तै राजनीतिक गतिविधि बेला सक्रिय हुन्छन्। यतिखेर पनि उम्मेदवारलाई जत्तिकै चुनावी चटारो उनीहरूलाई छ। अझ त्योभन्दा बढी।
उम्मेदवारको धपेडी त आफ्नो निर्वाचन क्षेत्रमा मात्र हो, जबकि उनीहरूलाई कम समयमा धेरैभन्दा धेरै निर्वाचन क्षेत्र भ्याउनुपर्छ। उम्मेदवार आफैं पनि चुनावी प्रचारमा मद्दत होस् भनेर निम्ता गर्छन्। गइदिनैपर्छ। जुनसुकै ठाउँमा एउटै गीत सुनाएर भएन। नयाँ लेख्नुपर्यो, नयाँ धून भर्नुपर्यो। यी सबै आफैंमा पूर्णकालीन काम हुन्।
‘चुनाव बेला हामी अलि बिजी हुन्छौं, भोट बढाउने खालका गीत बनाउनुपर्यो नि,’ कांग्रेसको भ्रातृ संस्था नेपाल साँस्कृतिक संघका गायक तथा संगीतकार शशि थापाले भने, ‘विज्ञापनमा अडेको संसार छ। गीत–संगीतको प्रभाव त्यसै पनि अरूभन्दा बेसी हुन्छ।’
गीत–संगीतले मतदाताको भावनामा असर पार्ने हुँदा प्रचार प्रभावकारी हुने उनले बताए।
उता, वाम गठवन्धनअन्तर्गत एमाले र माओवादी मातहतका दुईवटा संस्था आपसी संयोजन गर्दै चुनावी प्रचारमा व्यस्त छन् — एमाले मातहतको राष्ट्रिय जनसाँस्कृतिक महासंघ र माओवादी मातहतको जनसाँस्कृतिक महासंघ नेपाल।
आफ्नो पार्टीको नामै किटेर प्रचार गर्न नपाएकोमा भने उनीहरू कता–कता नरमाइलो मान्छन्।
‘एमाले उम्मेदवार भएको ठाउँमा सूर्यमा भोट हाल भन्छौं, माओवादी भएको ठाउँमा हँसिया हथौडामा हाल भन्छौं,’ एमाले निकट जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई भन्छन्, ‘हामी दुवै संस्था मिलिजुली प्रचार गरिरहेका छौं।’
अरू बेला चर्चाविहीन रहने यस्ता पार्टीगत साँस्कृतिक संघहरू चुनावी गीत बनाउन मात्र होइन, लेख–रचना प्रकाशन–प्रसारण गर्न पनि व्यस्त छन्। ठाउँ हेरेर चलचित्र प्रदर्शनी, ललितकला, नाटक मञ्चन लगायत कार्यक्रम पनि गर्छन्।
यस्ता कार्यक्रममा भाग लिने सबै कलाकार पार्टीकै सदस्य हुनुपर्छ भन्ने छैन। कुनै पनि पार्टीमा आबद्ध नभएका स्वतन्त्र गायक–संगीतकारलाई पनि निम्ता गरिन्छ। उनीहरू सामान्यतया चुनावी प्रचारमा जाँदा पारिश्रमिक लिँदैनन्।
राधिका हमाल, शिवहरि बैरागी, अविनाश घिसिङ, दुर्गा रायमाझी, शिवशंकर रिजाल लगायत कलाकारले कांग्रेसलाई भोट माग्दै छन्। वाम गठबन्धन तर्फबाट श्याम तमोटसहित लक्ष्मी गिरी, तुलसी पराजुली, सुरेश अधिकारी, महेश खड्का लगायत संलग्न छन्। बद्री पँगेनी, सत्यकला राई, नवल खड्का, जेबी टुहुरे, शम्भु राई लगायत कलाकार पनि वाम गठबन्धनका लागि गीत गाउँदैछन्।
कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन क्रममा साँस्कृतिक संघ स्थापना गरेको हो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नै यसमा जोडबल गरेको संघका अध्यक्ष तीर्थ थापाले बताए।
‘हामी पूर्वदेखि पश्चिमसम्मको भाषिक तथा साँस्कृतिक विविधता समेटेर निर्वाचन सामग्री तयार पारिरहेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘धेरैजसो पार्टीभित्रकै र केही व्यावसायिक कलाकारबाट काम लिन्छौं, पारिश्रमिकको व्यवस्था हुँदैन।’
प्रत्येक प्रदेशको प्रत्येक जिल्लासँग सम्पर्कमा रहेर जिल्ला साँस्कृतिक संघ स्थापना गरिएको उनले जानकारी दिए। जिल्ला सभापति र उम्मेदवारसँग सम्पर्क गरेर एक सातादेखि नै कार्यक्रम गर्न थालेको उनले बताए। यसमा नाटक, दोहोरी, भाषा साहित्य लगायत विद्या प्रयोग भइरहेको छ।
वाम गठबन्धन मातहतका साँस्कृतिककर्मीको तरिका पनि यही हो। फरक यत्ति हो, पहिले उनीहरू पार्टी केन्द्रित भएर भोट माग्थे, यसपालि गठबन्धनलाई प्राथमिकतामा राखेका छन्। अर्को फेरिएको गीतको शैली पनि हो। विगतका चुनावमा वामपन्थीहरू क्रान्तिकारी गीत गाउँथे, यसपालि सामाजिक विषय छानेका छन्।
‘पहिलेजस्तो जनवादी, प्रगतिशील गीतका स्रोता घटेकाले हामीले सामाजिक र रमाइलो विषयबस्तुलाई प्राथमिकतामा राखेका छौं,’ माओवादी निकट जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले भने।
एमाले जनसाँस्कृतिक संघका अध्यक्ष राईका अनुसार कात्तिक १२ बाटै औपचारिक कार्यक्रम सुरु भइसकेको छ। प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौंमा भने यो साताभित्र कार्यक्रम गर्ने तयारी छ।
‘यो वर्ष हामी ठाउँ–ठाउँमा मोबाइल टोली बनाएर पनि चुनावी प्रचार गर्दैछौं,’ उनले भने, ‘मुख्य टोलीले नभ्याएको ठाउँमा यस्ता मोबाइल टोली जान्छन्।’
नेता विशेषको चुनावी सभा हेरेर छुट्टै कार्यक्रम पनि डिजाइन हुने गरेको छ।। माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यक्रममा बद्री पंगेनी गीत गाउँदै हिँड्न थालेका छन्।
‘थारूदेखि लिम्बू जातिका लोकलयमा आधारित गीत बनाएका छौं। नेवारीदेखि देउडासम्मका भाका अटाएका छौं,’ राईले भने, ‘ती गीतमा घोषणापत्रका केही योजना र नारा पनि समेटेका छौं।’
चुनावी सभामा गएर साँस्कृतिक कार्यक्रम गर्ने मात्र होइन, सामाजिक सञ्जालमार्फत् प्रचार गर्ने क्रम पनि बढेको छ। यसका लागि शीर्षपार्टीका सबै चुनावी गीत केही दिनमै युट्युब, साउन्ड क्लाउड, भाइबर लगायत सामाजिक सञ्जालबाट प्रचार गर्ने तयारी छ।
हुन पनि प्रविधिको जमानामा पहिलेजस्तो मञ्चमा गाएर मात्र मतदाताको मनसम्म पुग्न कहाँ सकिन्छ! अहिले त मोबाइलको जमाना छ। कम्तिमा मतदाताको मोबाइलमा रिङटोन बनेर नघन्किएसम्म चुनावको महोल नै कहाँ बन्छ र!
आखिर चुनाव बेला मतदाताको मन तरंगित पार्ने गीत–संगीतले नै त हो।