वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रले शनिबार दिनभरि बसेर सिट बाँडफाँड टुंग्याउन प्रयास गरे पनि प्रतिनिधि र प्रदेश सभाका केही सिट विभाजनबारे टुंगोमा पुग्न सकेनन्।
एमाले नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहानैदेखि चलेको दुबै पार्टी शीर्षसहितका नेताहरुको बैठकले अबेर राति दोस्रो चरणमा चुनाव हुने प्रतिनिधि सभाका १२८ क्षेत्रमध्ये ११५ स्थानको टुंगो लगाएको छ भने १३ स्थानमा कुरा मिल्न अझै बाँकी छ।
आजका अन्य समाचारहरू:टुंगो लागेका ११५ स्थानमध्ये एमालेले ६८ (५९ प्रतिशत) माओवादी केन्द्रले ३६ (३१ प्रतिशत) र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्क्षे, मधेसी दल छोडेर स्वतन्त्र चुनाव लड्न लागेका हृदयेश त्रिपाठीलगायत नेताका लागि १० र वाम गठबन्धनको सानो दल राष्ट्रिय जनमोर्चाले लागि १ सिट बाँड्ने भएका छन्।
त्यस्तै दोस्रो चरणमा चुनाव हुने प्रदेश सभाका २५६ स्थानमध्ये २८ स्थानमा भने अझै कुरा मिल्न बाँकी छ।
आज समानुपातिकको संशोधित सूची बुझाउनु पर्ने चटारो र पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने भएकाले दुबै पार्टीका नेताहरु सोमबार बसेर विवाद भएका क्षेत्रमा कुरा टुंग्याउने छन्।
‘अब धेरै मिलाउन बाँकी छैन, मनोनयन दर्ता गर्न अझै समय छ, त्यही भएर हामी भोलि बसेर सबै क्षेत्रमा टुंगो लगाउँछौं,’ एमाले नेता सुरेन्द्र पाण्डेले सेतोपाटीसँग भने।
वाम गठबन्धनले चितवन, झापा, सुनसरी, उदयुपर र सल्यानमा सिट बाँडफाँड अझै टुग्याउन सकेको छैन्। त्यसमध्ये पनि मुख्य विवाद चितवन-२ र सल्यानमा देखिएको छ।
चितवन -२ मा माओवादीले नेता रामबहादुर थापा 'बादल' का लागि अडान लिइरहेको छ भने सल्यानमा एमालेले पूर्वसांसद तथा अर्थ समिति सभापति प्रकाश ज्वालालाई माओवादीले छोड्नु पर्ने बताउँदै अाएको छ।
एमाले चितवन -२ मा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलका लागि अडान लिइरहेको छ।