चीन-भारत तनाव र नेपाल

चीन र भारतको सीमाक्षेत्र दोक्लम। तस्बिर स्रोत: इन्डिया टाइम्स


पछिल्ला केही सातादेखि विश्र्वका दुई शक्तिराष्ट्र चीन र भारतबीच तनाव जारी छ। चीन, भारत र भुटान तीन मुलुकको सीमा जोडिएको दोक्लम क्षेत्रमा चीन र भारतका लगभग तीन हजार सैनिक अामनेसामने भएर बसेका छन्। चीनले भारतीय सैनिक त्यहाँबाट पछि नहटेसम्म स्थिति सामान्य नहुने जनाएको छ। भुटानको अनुरोधमा अाफ्ना सेनालाई त्यस क्षेत्रमा पठाएको भारत अहिल्यै पछि हट्ने पक्षमा छैन।

यो द्वन्द्व तत्काल बढेर दुई मुलुक युद्धमा जाने सम्भावना भने कमै रहेको विश्लेषकहरुले बताएका छन्। सन् १९६२ मा सीमायुद्ध लडेका भारत र चीन त्यसयता ठूलो युद्धमा गएका छैनन्। सीमामा छिटपुट घटना र घम्साघम्सी धेरैपटक भए पनि दुवै देशले त्यस्ता घटनालाई बढ्नबाट रोकेका छन्।

पछिल्ला वर्ष चीन र भारतले सीमाक्षेत्रको पहिलो पङ्तिमा बस्ने सैनिक जवानहरुलाई निशस्त्र राख्ने गरेका छन्, ताकि दुवै पक्षबीच तुरुन्तै मुठभेड नचुलियोस्। पहिलो पङ्तिमा रहेका सिपाहीलाई हतियार मात्र हैन, हातखुट्टाले हानाहान गर्न पनि निषेध गरिएको छ। सीमाक्षेत्रमा घम्साघम्सी पर्यो भने यी सैनिकहरु छाती र जीउले एकअर्कालाई ठेलाठेल गर्छन्। अाफ्नो सीमाभित्र छिरेका ‘शत्रु’ सेनालाई ठेलाठेल गरेरै सीमा कटाउन खोज्छन्। एक जना भारतीय लेखकका शब्दमा चीन-भारत सीमा क्षेत्रका सैनिकहरु हलिउड सिनेमा ‘रेम्बो’ मा जस्तो बन्दुक हैन, आमिर खानको बलिउड सिनेमा ‘दंगल’ मा जस्तो ‘जीउ’ चलाउँछन्।

भारतीय समाचार च्यानल जिटिभीले हालै यस्तै एउटा भिडियो सार्वजनिक गरेको थियो। यो घम्साघम्सी यसैपालिको हो कि हैन यकिन छैन, तर यसमा भारतीय र चिनियाँ सैनिक देखिन्छन् (हेर्नुहोस् उक्त भिडियो)।

दुई शक्तिराष्ट्रबीच तत्कालै द्वन्द्व नबढे पनि लामो समय कायम रहने सम्भावना भने छ। यसले यो क्षेत्रको भूराजनीतिलाई पक्कै लामो समय तरंगित पारिरहनेछ। किनभने, यो द्वन्द्वको अायाम फरक छ, यसको रणनीतिक महत्व फरक छ। दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने चुनौती खेपिरहेको नेपालका लागि यो द्वन्द्वले गहिरो अर्थ राख्छ।

यसपालिको द्वन्द्वको एउटा महत्वपूर्ण पक्ष के भने, चीन र भारतका सैनिक तेस्रो मुलुकको विवादलाई लिएर पहिलोपटक दोक्लममा अामनेसामने भएका छन्। तेस्रो मुलुकको द्वन्द्वमा निहुँ खोज्न भारत अाफ्नो भूभागमा अाएर ‘खेलको नियम’ तोडेको अारोप चीनले लगाएको छ।

के हो दोक्लम विवाद ?

चीनसँग सीमा जोडिएको भुटानको २६९ वर्गकिलोमिटर दोक्लम क्षेत्र लामो समयदेखि विवादित छ। यसलाई भुटान र चीन दुवैले अाफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन्। भुटानको पश्चिम-उत्तर सीमामा रहेको दोक्लम चीनको नियन्त्रणमा छ। उक्त क्षेत्रमा सडक निर्माणका लागि चीनले गत जुन १६ मा निर्माण सामग्री र गाडी पठायो। भुटानले तत्काल त्यसको विरोध गर्यो। भुटानी सेनाले चिनियाँ सैनिक र सडक निर्माणका लागि अाएका मानिसलाई पछि हट्न भन्यो। चिनियाँ सैनिकले टेरेनन्। त्यसपछि भारतसँगको रक्षा सन्धिमा टेकेर भुटानले भारतीय सहयोग माग्यो।

भारतले अाफ्ना सैनिकलाई उक्त क्षेत्रमा पठाएपछि भारत र चीनबीच पछिल्लो तानाव जारी छ।

दोक्लम क्षेत्र चीन र भुटानको सीमा क्षेत्र त हो नै, तर नजिकै भारतीय सीमा पनि छ। दोक्लमभन्दा करिब ३० किलोमिटर तल चुम्बी उपत्यकाको अन्त्यमा चीन, भुटान र भारतको सिक्किम राज्यको सीमा जोडिन्छ।

भारतीय सेना यसपालि तीन मुलुकको सीमा क्षेत्रभित्र अाएको अारोप चीनले लगाएको छ। अर्कातिर यसपालि चीनलाई नरोक्ने हो भने उसले त्रिदेशीय सीमा क्षेत्रलाई झनै दक्षिणतिर धकेल्नेछ भन्ने भय भारतमा देखिन्छ।

भारतका लागि यो क्षेत्र संवेदनशील हुनुको खास कारण छ। दिल्लीलाई सिक्किमसहित भारतका सात पूर्वीउत्तर प्रान्तहरु भूमार्ग हुँदै पुग्न पश्चिम बंगालको उत्तरतर्फको सानो बाटो मात्र उपलब्ध छ। पूर्वी नेपालको सीमासँग जोडिएको यो साँघुरो बाटो ‘चिकन नेक’ अर्थात कुखुराको घाँटी उपनामले चिनिन्छ (हेर्नुस् नक्सा)।

दैनिक अावजजावतमा यो ‘चिकन नेक’ को खासै संवेदनशीलता छैन। भारतीयहरु भने रणनीतिक हिसाबले यसलाई धेरै संवेदनशील मान्छन्। चीन-भारत सीमा क्षेत्रमा सैनिकहरुको ‘दंगल’ उपस्थिति भविष्यमा केही गरी ‘रेम्बो’ मा परिणत भयो भने यो ‘चिकन नेक’ एकाएक संवेदनशील बन्नेछ। सिक्किम, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्रबाट चिनियाँ सेना केही घन्टामै ‘चिकन नेक’ मा पुग्न सक्छन्। चीनले ‘चिकन नेक’ मा भारतलाई रोक्यो भने ‘मेनल्यान्ड’ भारत आफ्ना उत्तरपूर्वका सात राज्य र भुटानसँग स्थलमार्गबाट सम्पर्कविहीन हुनेछ।

सिक्किम र भारतका सात पूर्वीउत्तर राज्यहरु अरुणाञ्चल, अासाम, मेघालाय, मनिपुर, मिजोरम, त्रिपुरा र नागाल्यान्ड भारतका लागि संवेदनशील क्षेत्र पनि मानिन्छन्। सिक्किम भारतमा सन् १९७५ मा गाभिएको देश हो। ‘चिकन नेक’ बाट उत्तर पर्ने पंश्चिम बंगालको भूभाग वर्षौंदेखि गोर्खाल्यान्ड अान्दोलनले अस्थिर छ। अासाम, नागाल्यान्ड लगायत राज्यमा पनि पृथकतावादी आन्दोलन र सशस्त्र अान्दोलन जारी छ। अरुणाञ्चल प्रदेशमा चीनसँगको सीमा विवाद कायमै छ।

यी सबै कारणले दोक्लम क्षेत्रमा चीनले गर्न लागेको सडक र अन्य संरचना निर्माणले भारत सशंकित बनेको हो। दोक्लमको रणनीतिक महत्वका कारण चीनले यसलाई सामरिक क्षेत्रका रुपमा विकास गर्नेछ भन्ने भय भारतलाई छ। भारतले अर्को मुलुक भुटानसँग जोडिएको विवादमा अाफ्ना सैनिकलाई चीनविरुद्ध उभिन पठाउनुको कारण यही हो।

दोक्लममा भारत र चीनबीच द्वन्द्व बढ्दै जाँदा यसमा अरु अायाम पनि जोडिन थालेका छन्, जसले भारतलाई थप चिन्तित पारेको छ।

भुटानको भारत र चीन दुवैसँग अप्ठ्यारो सम्बन्ध छ। एकातिर चीनसँग जटिल सीमा विवाद छ भने अर्कातिर भारतसँग दबाबपूर्ण सम्बन्ध थिम्पुले झेल्दै आएको छ।

भारतसँगको सम्बन्धलाई सन्तुलित गर्न विगतमा भुटानले चीनसँग हात बढाउन खोजेको पनि हो। सन् २०१२ जुनमा ब्राजिलको रियो दे जेनेरियोमा भुटानका प्रधानमन्त्री जिग्मे थिन्ले र उनका चिनियाँ समकक्षी वेन जिआबोबीच पहिलो भेटवार्ता भयो। भुटानले त्यसपछि चीनबाट उपहारस्वरुप प्राप्त केही थान बस ल्याउने निर्णय गर्यो। यति मात्र होइन, भुटानमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने चर्चा चल्न थाल्यो। स्वयं प्रधानमन्त्री थिन्लेले चीनसँग छिटोभन्दा छिटो कूटनीतिक सम्बन्ध स्थापित गर्न भुटान इच्छुक रहेको प्रतिक्रिया दिए। संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रमध्ये भुटान मात्र यस्तो मुलुक हो, जोसँग चीनको दौत्य सम्बन्ध स्थापित छैन।

भुटान चीनसँग नजिक हुन थालेको भारतलाई मन परेन। अर्को वर्ष सन् २०१३ जुलाइमा अामनिर्वाचनको ठिकअघि भारतले भुटानलाई पेट्रोलियम र खाना पकाउने ग्यासमा दिँदै अाएको सहुलियत झिकिदियो। भुटानमा महँगी अकासियो। प्रधानमन्त्री थिन्लेको पार्टीले चुनाव हार्यो। पिपुल्स डेमोक्रेटिक पार्टीका छिरिङ तोब्गे नयाँ प्रधानमन्त्री बने। त्यसपछि चीनसँग दौत्य सम्बन्ध स्थापनाको कुरा हराएर गयो।

भुटानीहरुले भारतको ‘नाकाबन्दी’ बिर्सिएका छैनन्। उक्त नाकाबन्दीलाई लिएर भुटानीहरुमा एक प्रकारको पीडा र लघुताभास देखिन्छ। निजी भेटघाटमा भुटानीहरु ‘तपाईंहरुले त भारतीय नाकाबन्दीविरुद्ध उभिएर जित्नुभयो, हामीले त थेग्न सकेनौं, भारतले हामीलाई घुँडा टेकायो’ भन्छन्।

दोक्लम तनाव चर्काएर चीनले भुटानसँगको सीमा विवाद अन्त्य र चीनसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न भुटानलाई दबाव दिन खोजेको हो भन्ने शंका पनि भारतमा देखिएको छ।

तस्बिर स्रोत: एनडिटिभी

चीनले सन् १९९६ मै भुटानलाई दोक्लम सीमा विवाद मिलाउने सूत्र प्रस्ताव गरेको थियो। चीन र भुटानबीच दोक्लमबाहेक भुटानको उत्तरपूर्वमा रहेको पासालुङ र हार्कालुङ क्षेत्रमा पनि विवाद छ। चीनले ४९५ वर्गकिलोमिटरको उक्त भूभाग भुटानलाई दिएर त्यसको सट्टा २६९ वर्गकिलोमिटरको दोक्लम क्षेत्र अाफूले राख्ने प्रस्ताव गरेको थियो।

कतिपय भुटानीहरु चीनसँग लेनदेन गरेर सीमा विवाद मिलाउनुपर्ने पक्षमा छन्। चीनसँगको सीमा विवाद भुटानले थेग्न नसक्ने उनीहरुको राय छ। तर, दोक्लममा भारतीय चासोलाई लत्याउन पनि भुटानलाई सजिलो छैन।

सन् १९८४ देखि भुटानले चीनसँगको सीमा विवादमा भारतको अनुपस्थितिमै वार्ता गर्दै अाएको छ। सन् २००७ मा संविधान नै संशोधन गरेर भुटानले अाफ्नो विदेश नीतिमा भारतको भूमिकालाई सीमित गरेको छ। व्यवहारमा भने भुटानसँग त्यो सामर्थ्य छैन। चीनलाई यो थाहा नभएको पनि हैन। भारतकै कारण भुटानले चाहेर पनि अाफूसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सकेको छैन भन्ने चीनलाई थाहा छ।

चीनका सरकारी सञ्चारमाध्यमले भुटानमा अहिले देखिएको तनावलाई जसरी उठाएका छन्, त्यसले भारतलाई चीनको चाहना के हो भन्नेमा थप सशंकित बनाएको छ।

सरकारी नियन्त्रणमा रहेको चिनियाँ अंग्रेजी दैनिक ग्लोबल टाइम्सले अहिलेको तनावलाई लिएर लेखेको सम्पादकीयमा भुटानप्रति कुनै गाली वा आक्रोश पोखेको छैन। बरु भुटानलाई भारतले जबर्जस्ती आफ्नो नियन्त्रणमा राखेको र त्यो नियन्त्रणबाट बाहिर निस्कन चीनले सहयोग गर्नुपर्ने उसले लेखेको छ।

ग्लोबल टाइम्सको उक्त सम्पादकीयको पहिलो वाक्य नै भुटानमाथि सहानुभूतिका शब्दबाट सुरु हुन्छ। उसले लेखेको छ, ‘भारतको भुटानमाथि अाश्चर्यलाग्दो नियन्त्रण र दमन छ। त्यसकै कारण भुटानले छिमेकी मुलुक चीन र संयुक्त राष्ट्र संघका अन्य स्थायी सदस्य राष्ट्रहरुसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सकेको छैन। अन्यायपूर्ण सन्धिमार्फत् भारतले भुटानको कूटनीतिक सार्वभौमिकता कुण्ठित गरेको छ र राष्ट्रिय सुरक्षा नियन्त्रित गरेको छ।’

सम्पादकीयमा थप भनिएको छ, ‘भुटानको कूटनीतिक र रक्षा सार्वभौमिकता स्थापित गर्न चीनले अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नुपर्छ।’

ग्लोबल टाइम्सले उक्त सम्पादकीयमा सिक्किमको भारतमा भएको विलयलाई पनि पुनर्विचार गर्नुपर्ने, सिक्किमभित्रका स्वतन्त्र सिक्किम पक्षधर समुदायलाई चिनियाँहरुले सहयोग गर्नुपर्ने उल्लेख गरेर दिल्लीलाई चकित र आक्रोशित पारेको छ।

उक्त सम्पादकीयपछि भारतीय सञ्चारमाध्यम र विश्लेषकले तीव्र प्रतिक्रिया दिएका छन्। चीनले दोक्लम विवाद चर्काएर भुटानमा अाफ्नो स्वार्थ स्थापित गर्न खोजेको आशंकाले बल पाएको उनीहरुले बताएका छन्।

स्रोत: गुगलम्याप

ग्लोबल टाइम्सको लेखमा चिनियाँ शासनको सोच र रणनीति कति प्रतिविम्बित हुन्छ, यसै भन्न सकिन्न। चिनियाँ शासन जति कम बोल्छ, ग्लोबल टाइम्स त्यसविपरीत चर्का लेख र सम्पादकीय लेख्ने गर्छ। कतिपयले चिनियाँ शासन अाफैं कम बोल्ने हुनाले नै संसारलाई सुनाउन ग्लोबल टाइम्स खुलेको टिप्पणी गर्ने गरेका छन्।

भारतलाई ‘भुटान र सिक्किमको’ अर्को फ्रन्टियरमा अल्झाउने चीनको नयाँ रणनीति हो वा होइन त्यसका लागि हामीले केही समय पर्खनै पर्छ। तर, दोक्लम क्षेत्रबाट केही सय किलोमिटर मात्र टाढा रहेको चीन, भारत र भुटानको छिमेकी मुलक नेपालका लागि पछिल्लो तनाव महत्वपूर्ण छ।

चीनका कारण भुटान र आफ्नो उत्तरपूर्वी क्षेत्र भारतका लागि लामो समय टाउको दुखाइको विषय बन्यो भने नेपाल दिल्लीका लागि थप संवेदनशील पक्कै बन्नेछ। त्यो बेला दिल्लीले काठमाडौंमाथि थप नियन्त्रण खोज्छ वा काठमाडौंलाई विश्वास गरेर अाफ्नो हात झिक्न खोज्छ, त्यो महत्वपूर्ण प्रश्न हो।

त्योभन्दा महत्वपूर्ण प्रश्न, हामी त्यो बेला के चाहन्छौं भन्ने हो? भारत के चाहन्छ पनि धेरै हदसम्म हामी के चाहन्छौंमै निर्भर गर्नेछ।

बिपी कोइरालाले ‘भारत र चीन मिले पनि, झगडा गरे पनि’ नेपाललाई घाटा हुन्छ भनेका थिए रे। यसमा हामी दुई ठूला मुलुकबीचको छिमेकी हुनुको कठोरता प्रतिविम्बित होला। तर, यो भनाइ कताकता ‘भाग्यवादी’ र ‘निराशावादी’ पनि छ। यसले हाम्रो नियन्त्रणमा केही छैन, हामी अाफैंले पहल गरेर हुने थोरै छ भन्छ।

विक्रम संवत् २०१७ मा सायद बिपीले भनेको भनाइमा धेरथोर सत्यता थियो होला। तर, अहिले त सन् २०१७ हो। त्यसमाथि भारतले लगाएको पछिल्लो नाकाबन्दीपछि हाम्रा सम्बन्धका आयाममा परिवर्तन अाएका छन्।

चीन र भारतसँगको हाम्रो सम्बन्धका अाधारशीला अब हामीले पनि परिभाषित गर्न सक्छौं। अापसी हित र खास समयको अावश्यकतालाई ख्याल गरेर सानातिना लेनदेन हुन्छन्, त्यो स्वाभाविक छ। तर, चीन र भारतसँगको हाम्रो दीर्घकालीन ‘इन्गेजमेन्ट’ मूलत: चारवटा मान्यतामा उभिन जरुरी छ।

पहिलो, हामी नेपालको अान्तरिक राजनीतिमा चीन र भारतको संलग्नता चाहन्नौं।

दोस्रो, हामी चीन र भारतबीचका कुनै पनि द्वन्द्वमा सहभागी हुन्नौं र नेपालको भूभाग उनीहरुविरुद्ध प्रयोग गर्न दिन्नौं।

तेस्रो, हामी चीन र भारत दुवैसँग भौगोलिक पहुँच बढाउन चाहन्छौं। यी दुवै मुलुकको अार्थिक विकाससँग जोडिन र त्यसबाट फाइदा लिन चाहन्छौं।

चौथो, नेपालका प्राकृतिक स्रोतसाधनको विकासमा चीन र भारत दुवैसँग सहकार्य गर्न हामी तायार छौं। तर, त्यस्तो सहकार्यको पहिलो लाभ नेपालले पाउनुपर्ने छ।

तस्बिर स्रोत: बिसिसिएल

यी मान्यताप्रति हामी कटिबद्ध छौं भने तिनको निरन्तर अभ्यास गर्ने समय अायो अब। हामी यी मान्यतामा अडिग रह्यौं भने भारत-चीन सम्बन्धमा घाम लागे पनि पानी परे पनि हामीलाई त्यसले फरक पार्ने छैन। तर, विगतमा हामीले न भारतलाई वा चीनलाई नै हाम्रो राजनीतिबाट टाढा राख्न सकेका छौं। कयौंपटक उनीहरु अाफ्नै स्वार्थले अाएका छन्, तर यस्ता कैयन उदाहरण पनि छन्, पार्टीहरुले आफ्नो स्वार्थवश उनीहरुलाई निम्त्याएका छन्।

नाकाबन्दीपछि भारत नेपालको अान्तरिक मामलामा केही सचेत र संवेदनशील देखिएको छ। चीनसँग भुटानको मामलामा भारतको तनाव लामो समय जारी रह्यो भने भारत थप दबाबमा हुनेछ।

नाकाबन्दीपछि चीन र भारतसँगको हाम्रो सम्बन्ध पुन:परिभाषित गर्ने अवसर हामीलाई प्राप्त छ। दक्षिण एसियामा अहिले देखिएको र अब अाउने तनावले चीन र भारतसँग हाम्रो सन्तुलित सम्बन्धको अौचित्य झन् बढाउने छ, हाम्रा लागि र उनीहरुका लागि पनि।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.