इसराइल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेको आज पाँचौं दिन पुगिसकेको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई रातारात अपहरण गर्न सफल भएपछि उत्ताउलिएका डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरूले बिजुली गतिमा इरानमा सत्ता परिवर्तन गर्ने लक्ष्यसहित यो युद्ध सुरू गरेका थिए।
तर पाँचौं दिनसम्म आउँदै गर्दा यो युद्ध काराकसको 'अपरेसन एब्सलुट रिजल्भ' भन्दा अफगानिस्तानको 'अपरेसन इन्ड्योरिङ फ्रिडम' सँग बढी मिल्न जाने प्रारम्भिक लक्षणहरू देखिइरहेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हतारमा सुरू गरेको यो युद्धमा नचाहँदा नचाहँदै अमेरिकाका खाडी सैन्य साझेदार देशहरू घचेटिइसकेका छन्। बिस्तारै सिंगो मध्यपूर्व एउटा भयानक रणमैदान बन्दै गएको छ।
ट्रम्प र नेतान्याहु दुवैको निशानामा वर्षौंदेखि रहेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी यो युद्धमा मारिइसकेका छन्। तर उनी लगायतको सैन्य र राजनीतिक नेतृत्व मेटिएसँगै युद्ध रोक्न चाहँदा कोसँग कुरा गर्ने भन्ने संकट सिर्जना भएको छ।
युद्ध बिस्तारै 'अटोपाइलट' मा जाने र भयानक क्षेत्रीय युद्ध हुने जोखिम बढ्दो छ।
तीव्र रूपमा घटनाक्रमहरू विकसित भइरहेको यो युद्धमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लगातार ब्रेकिङ न्युज दिइरहेका छन्। तर तिनलाई सही सन्दर्भमा बुझ्न पनि यो युद्ध र यो सुरू हुनु अगाडि यसमा संलग्न दुई पक्षको ऐतिहासिक पृष्ठभूमिबारे केही कुरा जान्नु आवश्यक हुन्छ।
प्रस्तुत छ त्यही पृष्ठभूमिमा केन्द्रित रहेर मैले बनाएको भिडिओ जसले निम्न प्रश्नहरूको जबाफ खोज्नेछः
के इरानमाथिको अहिले चलिरहेको अमेरिकी–इसराइली आक्रमण जायज थियो?
मध्यपूर्वको पछिल्लो अवस्था के हो?
इरान–अमेरिका सम्बन्ध र द्वन्द्वको इतिहास के हो?
इरानीहरूको अवस्था अहिले के छ?
युद्धको भविष्यबारे आकलन गर्न अब हेर्नुपर्ने मुख्य कुरा के हो?
विश्व अर्थतन्त्रलाई असर के पर्ला?
विश्व व्यवस्थालाई यसले कता लैजाला?
नेपाललाई तत्कालीन र दीर्घकालीन असर के होला?
समग्रमा मानव समाजको भविष्यका लागि यो युद्धको पाठ के हो?
***
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स @jiwan_kshetry