युनेस्कोको विश्व सम्पदाका रूपमा अंकित चाँगुनारायणको मन्दिर उभिएको दोलागिरि पहाडको उत्पत्तिसँग जोडिएको एउटा पुरानो किम्बदन्ती निकै चाखलाग्दो छ।
चाँगुनारायण मन्दिर हातामा रहेको प्राचीन किलेश्वर महादेवका युवा पुजारी शंकर भट्टले त्यो कथा आफ्ना बाबु बाजेबाट सुनेका हुन् — धेरै पहिले शिवजीबाट आशीर्वाद पाएको मुर् भन्ने दैत्यले दोलालघाटदेखि नागार्जुनसम्मका डाँडालाई एकैपटक तान्न थालेर काठमाडौं उपत्यका पूरै ध्वस्त हुने स्थिति आयो। त्यसपछि विष्णुसहितका देवताले शिवजीलाई गुहारे रे। शिवजी आफै आएर यहाँ किला जसरी गाडिएर बसेपछि पनि मुर् भन्ने दैत्यले यो पहाडलाई डोलीसरी हल्लाइरहेको छ।
शिवजी त्यसरी किलाजसरी गाडिएर बसेको स्थानमा बनाइएको किलेश्वर महादेवको सानो तर भव्य एवं कलात्मक मन्दिर चाँगुनारायण मन्दिरदेखि दक्षिणपश्चिमपट्टि छ।
शंकर भट्ट नेपाल सम्वत् ८११ मा पशुपितनाथबाट चाँगु बोलाइएका भट्ट पुजारीका सन्तान हुन्। उनका पुर्खा चाहिँ पशुपतिनाथको ज्योतिर्लिंगको नित्य पूजा गर्न दक्षिण भारतको कर्नाटकको उडुप्पी क्षेत्रबाट नेपाल डाकिएका थिए।
चाँगुको किलेश्वर महादेव मन्दिरका पुजारी शंकर भट्ट। उनका पुर्खा दक्षिण भारतबाट झिकाइएका थिए। तस्बिर: सुरेन्द्र फुयालमुर् भन्ने दैत्यले प्रलयकारी उपद्रो गरेको पौराणिक कालमै हो।
तर ४६ वर्षीय शंकर भट्टको चिन्ता यस्तो छ — त्यो 'मुर् भन्ने दैत्य प्रवृत्ति' अहिले पनि विभिन्न रूप र अवतारमा चाँगुनारायण र दोलागिरि वरपर उत्पात् मच्चाउन व्यस्त छ।
'कस्तो उत्पात्? अनि कसरी?' मेरो स्वाभाविक प्रश्न सुनेर उनी फिस्स हाँसे।
उनको भनाइको आसय यस्तो रहेछ — अहिले पनि त्यस्ता दानवरूपी क्रियाकलाप जारी रहेकै कारण चाँगुको थुम्को र वरपर विभिन्न विकृतिहरू बढ्ने क्रममा जारी छ। त्यसैले दोलागिरिको प्राचीन पहिचान क्रमिक रूपमा गुम्दैछ र ध्वस्त पारिँदैछ।
'झिल्के' टुँडाल र भित्ता
२०७२ सालको भूकम्पअघिको चाँगुनारायणको टुँडाल र भित्ता र नवनिर्माणपछिको टुँडाल र भित्ता। तस्बिर सौजन्य: शंकर भट्ट।पहिलो, २०७२ वैशाख १२ पछि क्षतिग्रस्त चाँगुनारायणको मन्दिरको नवनिर्माण गर्ने क्रममा मन्दिरको बाहिरी आवरणमा आधुनिक पाराले रंगरोगन गरेर 'झिल्के' बनाइएको छ। मुख्य मन्दिर मात्र होइन, चाँगु पहाडको दक्षिणी पाखाका प्राचीन मन्दिर र दर्शनअघि नुहाउने प्राचीन शंख दह पनि अत्याधुनिक तरिकाले नवनिर्माण गरिसकिएको छ।
ती कार्य पुरातत्व विभागको योजना र युनेस्कोको विश्व सम्पदा संरक्षणबारेको निर्देशिका भन्दा विपरीत भएको शंकर भट्टको जिकिर छ।
दोस्रो, मन्दिर हाताभित्रै रहेको लक्ष्मीनारायणको नवनिर्माण प्राचीन तरिकाले नभई फरक तरिकाले गर्ने प्रयास जारी छ। जसको खरो विरोधमा उनी एक्लै भए पनि पुरातत्व विभागसँग जुधिरहेका छन्।
तेस्रो, समुद्र सतहबाट १७ सय मिटरमा उभिएको चाँगुको थुम्को वरिपरि बुलडोजर लगाएर, पहाड भत्काएर, फेरि सम्याउँदै घरजग्गा तथा बस्ती विकासको क्रम तीव्र छ। जसका कारण चाँगुको थुम्कोदेखि तलतिरबाट दोलागिरिलाई जोगाइरहेका जंगल विनाश हुने क्रम बढेको उनको अनुभव छ।
तिनै कारण चाँगुको डाँडो वरिपरिका खहरे र नदीमा बाढी आउँदा दोलागिरिको फेदीतिर पहिरो जाने क्रम सुरू भइसकेको छ (हरेक वर्खायाम अघि खबर आइरहन्छ– चाँगुको पश्चिम-उत्तर फेदीमा रहेको कुँइकेल गाउँमा बाढीको जोखिम बढ्यो!)।
'परिणाम स्वरूप चाँगुको थुम्को आफै मानव-सिर्जित ठूलो विपदको जोखिममा लगातार परिरहेको छ,' शंकर भट्ट गम्भीर हुँदै भन्छन्, अनि सोध्छन्, 'अब तपाईँ नै भन्नुस्, मुर् भन्ने दैत्य वा उसले गर्ने जस्ता उपद्रो अहिले पनि भइरहेका छन् कि छैनन्?'
काठमाडौंको अद्वितीय सम्पदा
मनोहरा मूलपानी क्षेत्रबाट देखिएको चाँगुनारायण रहेको दोलागिरि पर्वत। तस्बिर: सुरेन्द्र फुयाललिच्छविकालीन राजा हरिदत्त बर्माले तेस्रो शताब्दीतिर स्थापना गरेको चाँगुनारायणले सदियौंदेखि भक्तजन र वास्तुकलाका पारखीहरूलाई मात्र लोभ्याएको छैन; यसले विभिन्न कालखण्डका शासकहरूलाई आकर्षित तथा मोहित तुल्याउँदै आएको छ।
लिच्छविकालकै अर्का राजा मानदेवले लिच्छवि सम्वत् ५२१ मा चाँगुनारायणमा गरूडको मूर्ति स्थापना गर्दै जमिन समेत चढाएको अभिलेख छ। कुनै बेला गरूड नारायण समेत भनिने मन्दिर हातामा मानदेव र उनकी रानीको मूर्ति अझै सुरक्षित छ।
पछि, मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र मल्ल कालमा कान्तिपुरका राजा भास्कर मल्लले मन्दिरलाई हालको स्वरूप दिएको बताइन्छ।
आफ्नो उत्तरतर्फको दोलागिरि पर्वतमालको पश्चिमी सुरमा उभिएको भव्य चाँगुनारायणलाई भक्तपुरवासीले मात्र श्रद्धा गर्दैनन्; यसलाई उत्तरतर्फका कागेश्वरी र साँखुवासीले उत्तिकै पुज्दै आएका छन्।
चाँगुदेखि पश्चिमपट्टि मनोहरा नदी पारि रहेको मूलपानीवासीले पनि चाँगुनारायणलाई आफ्नै ठान्छन्, पुज्छन्।
समय निकै बदलिइसकेको छ। हामी सानो हुँदा हरिया फाँट र हरिया वनैवनले घेरिएको चाँगुको डाँडो हेर्दाहेर्दै फेरिइसकेको छ। दोलागिरि वरिपरि ठाउँ ठाउँमा भिरालो जमिन धेरै नै कोपरिइसकेको देख्न सकिन्छ।
यो क्रम चाँगुको डाँडो वरिपरि नै तीव्र भइसकेको छ। पश्चिम र उत्तरका मनोहरा फाँटमा मात्र होइन, दक्षिणको दुवाकोट र झौखेल क्षेत्रमा, पूर्वको छालिङ भेगमा र उत्तरको खोरियाका गरा गरामा नयाँ घर तथा बस्ती निर्माणको क्रम पछिल्ला केही दशकमा ह्वात्तै बढेको छ।
धन्य छ, उपत्यकामा नगर विस्तारको लहर!
चारैतिरबाट कच्ची वा ढलान सडक दोलागिरि उक्लिइसकेका छन्।
चाँगुनारायणको डिलमा देशी विदेशी पर्यटकलाई पाल्न र पोस्न सानादेखि ठूला लज तथा होटल खुल्ने क्रम रोकिएको छैन। त्यही भिडमा युवा पुजारी शंकर भट्टले पनि नेपाली शैलीको अग्लो होटल खोलिसकेका छन्। छतबाट चाँगुनारायणको गजुर देखिने परम्परागत नेपाली शैलीमा बनाइएको होटल तथा रेस्टुरेन्टको नाम दिएका छन्— भट्ट हेरिटेज।
प्रश्नहरूको पर्खाल
चाँगुको उत्तरतर्फ घडेरी विकासका लागि गरा सम्याउन व्यस्त बुलडोजर। तस्बिर: सुरेन्द्र फुयालप्रश्न उठ्छ— यति धेरै पूर्वाधार दोलागिरिले थेग्न सक्छ? यो पहाडको टाकुरा र वरपर छरिएका विश्व प्रसिद्ध, सांस्कृतिक तथा प्राकृतिक सम्पदा जोगाउन स्थानीय निकाय र सम्बन्धित निकाय के गर्दै होलान्?
चाँगुनारायणको मन्दिरको नवनिर्माणपछि गरिएको रंगरोगन गत वर्ष अर्थात्, भूकम्पको आठ वर्षपछि पूरा भएको थियो। मन्दिरको बाहिरी भित्ता र टुँडालहरूमा आधुनिक रङ पोत्ने काम सकिएपछि मात्रै रङबारेको विवाद चर्कियो।
२०८० फागुन २ गते गोरखापत्रमा प्रमुखताका साथ समाचार छापियो— गुम्यो चाँगुनारायणको मौलिकता।
त्यसपछि कुनै समयमा मुर् भन्ने दैत्यले बेस्सरी डोली जसरी हल्लाएको दोलागिरिमा खैलाबैला सुरू भयो। त्यो समाचारले निम्त्याएको परकम्पन देशदेशावरसम्म अनुभव गरियो।
तर त्यति बेला धेरै ढिलो भइसकेको थियो। किनभने, चाँगुनारायणको मन्दिर रंगीचंगी भइसकेको थियो। यस्तो लाग्थ्यो, त्यो भवन पनि चाँगु क्षेत्रका नेवार र तामाङ समुदायसँग लाखे नाच वा अन्य जात्रा मनाउन कुनै नवयुवकझैं सजिसजाउ भइसकेको छ। 'झिल्के' भइसकेको छ।
रंगरोगनमा मात्रै ४५ लाख रूपैयाँ खर्च भएको विवरण छ।
नगेन्द्र सापकोटाले लेखेको त्यो समाचारमा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानांगले विभागको सहमति विपरीत रङ पोतिएको बताएका छन्। उनका अनुसार टुँडालमा मात्र रङ लगाउन अनुमति दिइएको तर त्यसको बर्खिलाप हुने गरी भित्ताको इँटामा समेत रङ पोतिएको हो।
उनको त्यस्तो अरोपलाई चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले खण्डन गरिरहेका छन्। राजोपाध्यायका अनुसार मन्दिरको भित्तामा पनि पुरातत्व विभागकै सहमतिमा रङ लगाइएको हो र त्यसका निम्ति दुई वर्ष लागेको थियो। विभागले बेलैमा अनुगमन र हस्तक्षेप गर्न नसकेकाले यस्तो स्थिति आएको उनको भनाइ छ।
काम फतेह भइसकेको अवस्थामा रङ मेट्नु सम्पदा संरक्षणका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूको चेतावनी छ।
प्रधानांगकै शब्दमा, 'रङ खुर्कियौँ भने इँटामा भएको प्राकृतिक रङ नै जान्छ। नखुर्किने भए मन्दिर नै झिल्के भएको छ।'
त्यसैले त अहिले पुरातत्व विभाग मात्रै होइन, विश्व सम्पदा क्षेत्रको अनुगमन गर्ने युनेस्को समेत विलखबन्दमा परेको छ।
'पुरातात्विक अपराध'
भूकम्पले क्षति गरेको केही वर्षपछि मात्र चाँगुनारायण मन्दिरको नवनिर्माण थालिएको थियो। तस्बिर: सुरेन्द्र फुयालमनोहरा नदी पारि मूलपानीबाट हरेक दिन चाँगु दर्शन गर्दै हुर्किएका इतिहासकार मोहनप्रसाद खनालले चाँगुनारायणको मन्दिरमा जथाभाबी रङ पोत्ने कार्यलाई 'पुरातात्त्विक अपराध' भनेका छन्।
उनले भने, 'जथाभाबी रङ पोतिएकाले चाँगुनारायणको मन्दिर कुरूप भएको छ। भित्ताको रङ मेट्न सकिएला तर टुँडालमा लगाइएको इनामेल मेट्न नेपालमा सम्भव छैन।'
स्थानीय समुदाय र विभागसँगै युनेस्कोले पनि गल्ती स्वीकारि गरिसकेको शंकर भट्ट बताउँछन्।
रङको विवाद चर्किएर सेलाइसकेको छ। तर त्यसले सम्पदाप्रेमी तथा इतिहास अध्ययन गर्न चाहनेलाई चोट पुर्याइदिएको छ। साथै मन्दिर हातामा रहेका गरूड, विष्णु, भव्य विराट स्वरूप जस्ता थुप्रै लिच्छविकालीन मूर्ति र अन्य मठ तथा सत्तललाई प्राचीन स्वरूपमै संरक्षण गर्ने चुनौती कायमै छ।
हरेक साँझ र बिहान किलेश्वर महादेवको पूजा गर्न व्यस्त रहने शंकर भट्टलाई चित्त नबुझेका मुद्दा धेरै छन्। जस्तो, किलेश्वरसँगै दक्षिणपट्टि उभिएको अर्को प्राचीन मन्दिरको नवनिर्माण।
नवनिर्माणको क्रममा विवाद बढेको लक्ष्मीनारायण मन्दिर। तस्बिर: सुरेन्द्र फुयालउनले भने, 'यो लक्ष्मीनारायणको मन्दिरको पुरानो स्वरूप अर्कै थियो। त्यसको प्रमाण हामीसँग सुरक्षित छ। तर त्यसको विपरीत तरिकाले यसको नवनिर्माण हुन थालेकाले त्यसको विरोध गर्दै म यहाँ एक्लै लौरी लिएर उभिएको छु। अर्को, चाँगुको पूर्वउत्तरपट्टि रहेको वनभोज स्थल नजिकैको प्राचीन पोखरी सुकिसकेको छ। त्यसको नवनिर्माण कहिले होला थाहा छैन! अनि यहाँ निर्माण गरिएका सम्पदाहरू अध्ययन तथा अनुसन्धान नगरी बनाइएका छन्। चाहे त्यो निर्माण पुरातत्व विभागले गरेको होस्, या अन्य निकायले।'
चाँगु पहाड संरक्षणको प्रश्न
चाँगुको टाकुराबाट वर्खायाममा देखिने मनोहरा क्षेत्र। तस्बिर: सुरेन्द्र फुयालढिलो या चाँडो चाँगुनारायण क्षेत्रका मठ मन्दिर र अन्य संरचनाको नवनिर्माण त सकिएला। तर अर्को प्रश्न टड्कारो छ — बढ्दो रूपमा मानव-सिर्जित विकास निर्माण कार्यले निम्त्याउन सक्ने बाढी पहिरोजस्ता विपद जोखिमबाट दोलागिरि क्षेत्रलाई कसरी चीरकालसम्म बचाइराख्ने होला?
जबाफ सहज छैन।
इतिहासकार खनाल ८० वर्षका भए। उनी चाँगुको पुरानो र नयाँ स्वरूपबारे धेरै जानकार छन्।
उनी भन्छन्, 'चाँगुको डाँडामा मात्रै होइन, मनोहरा मूलपानी र यो उपत्यकाभित्र पुरातत्व र इतिहासको उत्खनन र अध्ययन गर्नु पर्ने धेरै ठाउँहरू छन्। खोइ कसले गर्ने होला? मलाई त यहाँ सरकार पनि छ कि छैन जस्तो लाग्छ।'
चाँगु वरिपरि डिँड्ने क्रममा हामीले कैयौं स्थानमा सडक वा घडेरी विकासका लागि बुलडोजर चलिरहेका देख्न सक्छौं। हालै मात्र चाँगुको डाँडाको पूर्वपट्टिको वनमुनि प्लटिङका लागि बाटो खनिएकाले पहिरोको जोखिम बढेको देख्न सकिन्छ।
जथाभाबी सडक खन्ने र जग्गा प्लटिङ गर्ने क्रम व्यवस्थित गर्न पालिकाले के गर्दै होला?
चाँगुनारायण नगरपालिका– ४ का अध्यक्ष रोजबहादुर तामाङका अनुसार चाँगु क्षेत्र संरक्षणका लागि पालिका 'निकै गम्भीर' छ र त्यस सम्बन्धी 'कैयौं योजनाहरू' बनेका छन्।
उनले भने, 'चाँगु हाम्रो ठूलो सम्पदा हो, अब संरक्षणका लागि बनेका योजनाहरू कार्यान्वयन हुँदै जान्छन्।'
ती योजनामा चाँगु पहाड पूरै अर्थात, दोलागिरि पर्वतमाला संरक्षणको मुद्दालाई कति प्राथमिकता दिइएको छ, प्रस्ट छैन।
(लेखक सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal