दुई वर्ष अगाडि धादिङका राम सिलवाल आफ्नो युरोपको कम्पनीबाट २० पर्यटकलाई अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारो लैजाँदै थिए।
विभिन्न देशका पर्यटकलाई गाइड गर्ने क्रममा उनी आफू पुगेको देशहरू गन्दै थिए। त्यस बेला उनी हिँडिरहेको तान्जानिया उनी पुगेको ५४ औं देश रहेछ।
रामले नेपाल र युरोपमा 'एड्भेन्चर' सम्बन्धी कम्पनी सञ्चालन गरेका छन्। उनी एड्भेन्चरलाई शिक्षामा जोड्ने प्रयास गरिरहेका छन्।
कक्षा ९ बाट स्कुल छाडेका उनको अनुभव र खोज कुनै अब्बल 'पिएचडी होल्डर' को भन्दा कम छैन।
करिब ३५ वर्षदेखि नदी र प्रकृतिको सानिध्यमा रमाइरहेका उनी आज 'रिभरभर्सिटी' अर्थात् नदी विश्वविद्यालय सञ्चालन गर्ने सपना देखिरहेका छन्।
यो लेखमा प्रस्तुत छ — तिनै रामको अनुभव र कथा, जसले स्कुलमा वर्णमाला, साधारण भाषा र गणित सिके। अनि नदीको छालहरूमा जीवन जिउन सिके।
त्रिशुलीको बगरमा फक्रिएको एक सपना
धादिङको त्रिशुली किनारमा जन्मे-हुर्केका राम १२ वर्षको हुँदा एक दिन विशालटारको आफ्नो स्कुलबाट घर फर्किँदै थिए। चरौंदी हुँदै बग्ने नदीमा उनका आँखाहरू एकछिन अडिए — र्याफ्टिङ बोटमा मानिसहरू तैरिँदै रमाइरहेका थिए। त्यो पहिलोपटक थियो उनले बोट देखेको।
बाल्यकालको अबोध जिज्ञासाबाट उनको मनमा अनेक प्रश्नहरू जन्मिए — त्यो के होला? ती मान्छे को होलान्? कहाँबाट आएका होलान्? हामीले पौडी खेल्ने नदीमा के गरिरहेका होलान्? किन आएका होलान्?
संयोगले त्यो बोट उनको खेत छेउको बगरमा रोकियो। हस्याङफस्याङ गर्दै उनी त्यहाँ पुगे। ती मानिसहरू बोटबाट ओर्लिएर टेन्टहरू लगाउन थाले, भान्सा सेट गर्न थाले। बगर छेउको काठ जम्मा गरेर आगो बाले।
त्यो समूहमा दुई जना नेपाली थिए, बाँकी सबै विदेशी। रात झपक्क नपरून्जेलसम्म रामले उनीहरूलाई हेरिरहे। उनीहरूको कुरा खासै बुझेनन् तर उनीहरू रमाएको देखे।
त्यो दिन रामले पहिलो पटक जीवनको सपना देखे — म यस्तै बन्छु! यस्तै गर्न चाहन्छु!
कसरी त्यस्तो बन्ने, रामलाई थाहा थिएन।
तर बगरबाट खेतको आली हुँदै घर फर्किँदै गर्दा उनले झलझल्ती सपना देख्न थाले — पर्यटकहरूले जस्तै लाइफ ज्याकेट लगाएको, पानीमा पौडी खेलेको, बोट चलाएको, बगरमा क्याम्पिङ गरेको।
त्यस दिनदेखि गाउँ डुल्दै गर्दा, घर-स्कुल आउने जाने गर्दा रामले त्रिशुलीमा फेरि त्यस्तै बोट र मानिसहरू खोज्न थाले। उनी घन्टौं प्रतीक्षा गरेर नदीमा हेरिरहन्थे।
केही हप्तापछि फेरि केही बोटहरू उनको खेत छेउको बगरमा आएर रोकिए। त्यस समय रामलाई अझै रोचक लाग्यो। किनकि, बोटमा वयस्क विदेशीहरू मात्र थिएनन्, रामकै उमेर वा कम उमेरका बालबालिकाहरू पनि थिए।
अनि त रामको आत्मबल ह्वात्तै बढ्यो।
उनले नेपाली गाइडहरूसँग सम्बन्ध बनाए। क्याम्पिङमा उनीहरूले अह्राएको कुराहरू गरिदिए – नजिकैको बजारबाट चाहिएको सामान किनेर ल्याइदिने, दाउरा बटुल्ने, आदि।
आफ्नो जिज्ञासा र सहज स्वभावले राम नेपाली गाइडहरूको नजिक भए। त्यसपछि त उनले पनि आफूले सपना देखिरहेको र्याफ्टिङ गर्न पाए। उनले केही महिनामै बेलायत, अमेरिका, फ्रान्स, अस्ट्रेलिया, आदि देशका मानिसहरूलाई भेटे।
विदेशीहरूसँग संगत बढेपछि उनी अंग्रेजीमा आवश्यक सञ्चार गर्न सक्ने भइसकेका थिए।
उनलाई आज पनि याद छ, कैयौंपटक क्याम्प फायरको नजिक बसेर स्कुलको होमवर्क गरेको। होमवर्क गर्न गाह्रो हुँदा विदेशी पर्यटकसँग सहयोग मागेको। उनी आफूलाई नआएको गणित, अंग्रेजी, विज्ञानको कतिपय कुरा ती विदेशीहरूलाई सोध्थे। यस्तो अनुभवले स्कुलको उनको शैक्षिक उपलब्धि पनि बढ्दै थियो।
त्यस समय सम्झिँदै राम भन्छन्, 'गाइडहरूलाई नदी र नदी बाहिर सघाउँदै गर्दा एक दिन मैले जागिरको अफर पाएँ। बोटभित्र जम्मा भएको पानी बाहिर निकाल्ने। आजकाल भने आधुनिक बोटहरू छन्, त्यसरी पानी फाल्नु पर्दैन।'
त्यो कामका लागि कुनै शीर्षक वा पद थिएन। त्यसैले अचेल उनले आफ्नो पहिलो जागिरको नाम दिएका छन् — बकेट ब्वाई।
त्यसबापत उनले महिनाको ३ सय रूपैयाँ तलब र गएको दिनको ५० रूपैयाँ भत्ता पाउँथे। विदेशीहरूले खुसी भएर केही टिप्स पनि दिन्थे।
राम प्रायः बिदाको दिन र कहिलेकाहीँ स्कुल छाडेरै र्याफ्टिङ जान थाले। यो कुरा उनका केही साथीहरूलाई थाहा भयो। केही साथीले यो कुरा शिक्षकहरूलाई सुनाइदिए।
रामले सम्झिँदै भने, 'त्यति बेला सबैको सोच र्याफ्टिङ जोखिमपूर्ण हुन्छ भन्ने थियो। त्यसपछि मलाई निरूत्साहित गर्ने उद्देश्यले स्कुलमा कारबाही हुन थाल्यो। वास्तवमा शिक्षकहरूको मनसाय गलत थिएन, मलाई केही नहोस् भन्ने नै थियो।'
त्यसरी सजाय दिँदा उनलाई दुइटा हातमा ढुंगा बोकाएर कक्षाकोठा बाहिर ४०-४५ मिनेट उभ्याइन्थ्यो।
'मैले आफ्नो होमवर्क सबै सकेर आएको हुन्थेँ। म शैक्षिक उपलब्धिको हिसाबले औसत विद्यार्थी भन्दा अगाडि नै थिएँ। तर पनि ममाथि कारबाही हुँदा स्कुल र शिक्षकप्रति वितृस्णा हुन थाल्यो,' उनले भने।
उनी चाहन्थे — शिक्षकहरूले उनलाई हौसला दिऊन्।
त्यस्तो भएन।
बरू उनलाई र्याफ्टिङका गाइडहरू गजबका शिक्षक जस्तो लाग्न थाल्यो।
क्याम्प फायरमा होमवर्क गर्न नजानेर अड्किँदा गाइडहरूले रामलाई भन्थे, 'जाऊ, विदेशीलाई गएर सोध। संकोच मान्नु पर्दैन, खुला भएर सोध।'
गाइडहरूबाट गजबका सीप र आत्मबल रमाई रमाई सिक्न पाएको रामको अनुभव छ।
सजाय पाएर कक्षाकोठा बाहिर उभिरहँदा रामले आफूलाई सम्झाइरहेका हुन्थे, 'मैले नदीबाट सिकिरहेको छु। झ्याम झ्याम पौडी खेलिरहेको छु। जोखिम मोल्न सिकिरहेको छु। फरक संस्कृति र देशका मानिससँग संगत गरेर सिकिरहेको छु।'
त्यस बेला सम्झिँदै राम भन्छन्, 'हेर्दा हेर्दै मेरो स्कुल परिवर्तन भएछ। म त चन्द्रोदय माध्यमिक विद्यालय छाडेर त्रिशुली नदीमा पो पढ्न थालेछु!'
एक दिन जर्मनीबाट एक महिला पर्यटक आएकी थिइन्। उनको पहिले नै 'आउटडोर लर्निङ' र 'एड्भेन्चर' मा धेरै अनुभव रहेछ। युरोपका धेरै स्कुल र कलेजमा यसरी शिक्षण भएको उनले देखेकी रहिछन्।
उनले रामलाई देखेर विभिन्न प्रश्न सोधिछन्, 'स्कुलमा के पढ्छौ? पढाइ कसरी हुन्छ? शिक्षकहरूले तिमीलाई र्याफ्टिङमा झुकाव भएको देखेर त्यसको लागि नम्बर दिनु हुन्छ कि दिनु हुन्न?'
ती महिलाप्रति राम कृतज्ञ छन्।
त्यस दिन उनलाई लागेछ, 'मैले जे गरिरहेको छु, त्यो पनि अतिरिक्त पाठ्यक्रमकै हिस्सा त रहेछ नि! बाहिरी ज्ञान पनि महत्वपूर्ण रहेछ।'
त्यसपछि फेरि र्याफ्टिङ गर्न आउँदा ती महिलाले रामका लागि किताब, कापी, झोला र जुत्ताहरू ल्याइदिइन्। विदेशीहरूले बेला बेला दिएको हौसलाले रामको आत्मबल झनै बढ्यो। तर स्कुलमा नियमित सजाय पाउँदा र गाली खाँदा आजित भएर उनले कक्षा ९ बाट स्कुल जान छाडे। र, पूरै समय नदीमा काम गर्न थाले।
विभिन्न देशका मानिस नेपाल आएको देखेपछि १७ वर्षको उमेरमै उनले आफ्नो लक्ष्य बनाएका थिए — २५ वर्षको हुँदासम्म म नेपाल बाहिर जानैपर्छ!
उनको महनत र लगनशीलताका कारण उनले २५ वर्षसम्म कुर्नुपरेन। १९ वर्षको उमेरमै उनी भारत पुगे। र्याफ्टिङसँगै कायाकिङ सिके र आफूलाई पोख्त बनाए। २१ वर्षको हुँदा त न्युजिल्यान्ड, बेलायत, आइसल्यान्ड र अमेरिका पुगिसकेका थिए।
आइसल्यान्डमा अनुभव गरेको भूगोलको कक्षा
सन् १९९३ मा आइसल्यान्डको एक कम्पनीले नेपालका गाइडहरू खोजेको थियो। रामले त्यसमा आवेदन दिए र छानिए। अनि, सोही वर्षको गर्मीमा 'सेफ्टी कायाकर' भएर उनी आइसल्यान्ड पुगे।
आइसल्यान्ड पुगेको केही दिनमा उनी चकित भए, त्यहाँ घाम अस्ताइरहेको थिएन। त्यस बेला उनलाई आफ्नो स्कुलको भूगोल कक्षामा कहीँ कतै सुनेको याद आयो — पृथ्वीमा यस्ता ठाउँ पनि छन्, जहाँ ६ महिना घाम लाग्छ र ६ महिना अँध्यारो हुन्छ।
यसबाट उनी चकित भए। अनि, उनले एउटा पोस्टकार्ड र फोटो किने र आफ्नो स्कुलको हेडसरलाई एक पत्र पठाए।
त्यसमा उनले लेखेका थिए, 'हजुरले कक्षामा पढाउनुभएको कुरा मैले यहाँ देखिरहेको छु।'
पत्रमा उनले ज्ञानको निम्ति हेडसरप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए।
हेडसर रामका छिमेकी र नजिकका आफन्त पनि थिए। विदेश जानु अगाडि राम हेडसरको नजरमा 'बिग्रेको' विद्यार्थी थिए।
आइसल्यान्डबाट रामको पोस्टकार्ड पाएपछि भने उनले रामका आमाबुबालाई भनेछन्, 'तपाईँहरूले अब छोराको चिन्ता गर्नु पर्दैन। उसले हामीले सोचेको भन्दा अर्कै सोचेको रहेछ।'
त्यो पोस्टकार्ड र फोटो स्कुलमा आएको थियो। उनका बुबाआमासम्म पुगेन। आइसल्यान्डमा २४ घन्टै घाम लागेको कुरा घरमा कसरी बताउने भनेर उनी अन्योलमा परे।
'मैले एउटा फ्ल्यासलाइट र ग्लोब किनेर घरमा लगेर बुबाआमालाई देखाएको थिएँ', त्यो क्षणको रोमाञ्चकता सम्झिँदै उनी भन्छन्।
स्रोतदेखि समुद्रसम्म
सन् १९८९ बाट सन् २००५ सम्म एड्भेन्चर क्षेत्रमा काम गर्दा उनलाई लाग्न थाल्यो — यो क्षेत्रले मलाई देश विदेश घुमायो। जीवन जिउने उद्देश्य दियो। अब केही आफ्नै देशमा सुरू गर्नुपर्छ। आफूले सिकेको सीप र ज्ञान अरूलाई पनि सिकाउनुपर्छ।'
के गर्ने भन्ने मन्थन ग्न सन् २००५ मा उनले नेपालको पूर्वदेखि पश्चिम सम्मका सबै मुख्य नदीमा कायाकिङ गर्दै एउटा यात्रा सम्पन्न गरे। उनले सगरमाथाबाट आउने दूधकोशी, मकालुबाट आउने अरूण, कन्चनजंघाबाट बग्ने तमोर, आदिमा कायाकिङ गरिसकेका थिए।
त्यो अनुभव सुनाउँदै उनी भन्छन्, '८ हजार मिटर माथिको हिमाललाई डेथ जोन भनिन्छ। त्यो क्षेत्रको खतराको तह र दूधकोशी, अरूण, तमोर आदिमा कायाकिङ गर्नुको जोखिम उस्तै हुन्छ। यो जोखिम मोलेपछि मलाई नयाँ जोखिम लिन रहर लाग्यो।'
त्यसपछि एउटा साथीसँग मिलेर रामले एउटा साहसीपूर्ण र खोजमूलक यात्रा तय गरे। उनीहरू कायाकिङ गर्दै नेपालको मेलम्चीदेखि इन्द्रावती सुनकोशी सप्तकोशी हुँदै भारतको गंगासम्म पुगे। त्यसपछि यात्रालाई निरन्तरता दिँदै बंगलादेशको पद्मा हुँदै बंगालको खाडीसम्म गए।
त्यस बेलाको सोच सुनाउँदै उनी भन्छन्, 'धेरै वर्ष नदीबाट यात्रा गर्दा मैले देखेको थिएँ — महिलाहरूले गाग्रीमा नदीबाट पानी बोकेको, नदीको छेउमा आएर कपडा धोएको, जनावरहरूले नदीको पानी पिएको। तर हरेक वर्ष नदीमा प्रदूषण बढिरहेको थियो। पानीको मुहान सुक्यो भने मानव जाति नै जोखिममा पर्ने सम्भावना छ।'
अनि मूलतः तीन वटा उद्देश्य बोकेर उनी र उनका साथी यात्रामा निस्किए।
पहिलो, नेपालको हिमाल, पहाड, तराई र भारत र बंगलादेशमा नदीको प्रयोग र अवस्था हेर्ने।
दोस्रो, तीन देशलाई पानीले कसरी जोडिरहेको छ, त्यसको खोज गर्ने।
तेस्रो, नदीबाटै तीनवटा देशको यात्रा कसरी गर्न सकिन्छ, त्यस क्रममा के के सिक्न सकिन्छ, के के सम्भावना खोज्न सकिन्छ, त्यसको जबाफ खोज्ने।
४५ दिनको योजना बनाएर उनीहरू सन् २००५ को अगस्टमा यात्रामा निस्किए। वर्षाको शक्ति भएको पानी भएकोले उनीहरूले २० दिनमा १ हजार ५ सय किलोमिटर दुरी पूरा गरे। यसैबीच भारतको सीमा सुरक्षा बलले उनीहरूलाई हतकडी लाएर ३ दिन कैदमा राख्यो र क्यामेरा जफत गर्यो।
यो यात्राको सिकाइबारे उनी भन्छन्, 'सात वटा नदी पछ्याएर गरेको यस यात्राले मलाई आशा र सपना दियो। एड्भेन्चरलाई शिक्षा, पर्यटन र पर्यावरणसँग जोड्न सकिने सम्भावनाहरू देखायो। जिन्दगीको पुरानो अध्याय समापन गरेर आफ्नै माटोमा नयाँ काम गर्ने आँट दियो।'
रोयल बिच क्याम्पको सुरूआत
तीन देशको नदीमा कायाकिङ गरिरहँदा उनलाई कक्षाकोठाको बाहिर सजाय पाएर आफूले ढुंगा बोकेको झलझल्ती याद आयो।
त्यति बेला उनले सोचे, 'स्कुलमा कक्षाकोठा बाहिरको सिकाइलाई पनि सिकाइ हो भन्ने मान्यता भएको भए मैले आफूलाई अझै सुदृढ बनाउन सक्थेँ होला। नदीमा पनि सिकाइ हुन्छ भन्ने चेतना शिक्षकहरूमा भएको भए मलाई हौसला दिनु हुन्थ्यो होला।'
नदीसँग आफ्नो सम्बन्ध सुनाउँदै राम भन्छन्, 'म जे छु, नदीले गर्दा नै छु। म नदीलाई सम्मान गर्छु। सधैं नदीको विद्यार्थी भएँ र आज पनि छु। नदीले मलाई आर्थिक समृद्धि दियो, ज्ञान र सीप दियो, जीवन जिउने कला दियो। नदी मेरो जीवन हो, मेरो विश्वविद्यालय हो।'
आफूले नदीबाट पाएको सीप र कला अरूमा फैलाउने सोचले उनले योजना बनाए — त्रिशुलीको बगर छेउको खेत उपयोग गरेर 'आउटडोर लर्निङ सेन्टर' बनाउने।
त्यसपछि सन् २००६ मा उनले सुरू गरे 'रोयल बिच क्याम्प'।
विभिन्न स्कुल-कलेजका विद्यार्थीहरू र अन्य युवालाई ल्याएर उनी नदीमा सिकाइरहेका छन्।
सिकाइको विषयवस्तुबारे उनी भन्छन्, 'हामी र्याफ्टिङ र कायाकिङको सीप सिकाउछौं। यो सीपसँगै नेतृत्व, उद्यमशीलता र अन्य जीवनोपयोगी सीप सिकाउछौं। हामी अनुभव र मन्थन गरेर सिकाउछौं।'
उनले थपे, 'एड्भेन्चर उद्योगमा ३ वटा बाटो छ; गाइडिङ, आउटडोर शिक्षक प्रशिक्षण र उद्यमशीलता।'
उनी यिनै तीन क्षेत्रलाई लिएर रोयल बिच क्याम्प सञ्चालन गरिरहेको बताउँछन्।
नेपालको अनुभवबाट सन् २०१६ मा उनले अर्को संस्था पनि सुरू गरे — समिट एड्भेन्चर एकेडेमी।
यो एकेडेमी स्वीडेनमा सञ्चालित छ। यसमा उनले युरोपका विभिन्न कलेज र विश्वविद्यालयसँग समन्वयमा काम गरिरहेका छन्। सँगसँगै अन्तराष्ट्रिय रूपमा एड्भेन्चर ट्राभलका प्याकेज चलाइरहेका छन्।
युरोपको सिकाइबारे उनी भन्छन्, 'युरोपमा हामीले एड्भेन्चरसँग उद्यमशीलता र सिकाइलाई जोडेर काम गरिरहेका छौं। त्यहाँको जस्तै काम नेपालमा सुदृढ तरिकाले गर्न मन छ। यसको लागि गत अक्टोवरमै परीक्षण कार्यक्रम सम्पन्न गरिसकेका छौं।'
आफ्नो योजनाबारे उनी थप्छन्, 'सन् २०२५ मा प्रगतिशील तरिकाले सोच्ने र काम गर्ने नेपालका ५ वटा विद्यालय र ५ वटा कलेजसँग सहकार्य गर्ने योजना छ।
शिक्षाबारे धारणा
रामको सफलता र उपलब्धि लोभलाग्दो देखिन्छ।
३५ वर्षको व्यावसायिक अनुभवको आधारमा मैले रामलाई सोधेँ, 'नेपालको शिक्षा तपाईँलाई कस्तो लाग्छ त?'
जबाफमा उनले भने, 'आजको शिक्षाले धेरै विद्यार्थीलाई जीवनमा अगाडि बढ्न धेरै सहयोग गरेको देखेको छैन मैले। बरू अझ अलमलमा पारिदिएको छ। झन् निराश र अरूमा निर्भर हुने बनाइदिएको छ। प्रकृति र समुदायबाट टाढा राखिदिएको छ। हाम्रै भाषा र संस्कृतिबाट दुरीमा राखिदिएको छ।'
उनी थप्छन्, 'हामीले आफ्नो नपढीकन अरूको मात्र पढ्दा त्यसले हामीलाई कतै लगेन, उद्यमी बनाएन। कारिन्दा मात्र बनायो। आज जीवनलाई अगाडि बढाउने, चुनौतीहरूसँग जुध्ने सीप विद्यार्थीहरूले न स्कुल र कलेजमा पाउँछन्, न समाजमा। त्यसैले त उनीहरू कक्षा १२ पास हुने बित्तिकै देश छोड्ने तयारीमा लाग्छन्। उनीहरूले नेपालमा बसेर राम्रोसँग सिक्न सकिन्छ, कमाउन र रमाउन सकिन्छ भन्ने सपना नै देखेका छैनन्।'
'कस्तो शिक्षा हुनुपर्छ त?', उनलाई सोधेँ।
'आफ्नै देश र समुदायका वास्तविकता, शक्ति र समस्या बुझ्दै अवसर झोज्ने र समाधान निकाल्ने शिक्षा चाहिएको छ। अनुभव र अध्ययन दुवैबाट सिकाउने शिक्षा चाहिएको छ। हाम्रो देशको पृथक शक्ति छ। हामी प्रकृतिमा धनी छौं। हामीसँग खोलानाला र हिमालहरू छन्। यही सम्बन्धी सीप सिकाउन सकियो भने हजारौं युवाशक्तिले देश छोड्ने छैनन्। यो देशकै पर्यटन र अर्थतन्त्रको लागि पनि महत्त्वपूर्ण छ।'
'रिभरर्सिटी' को सपना
क्याम्पमा सिक्न आएका विद्यार्थीहरूले तीन-चार दिनको अनुभवमै परिवर्तन महसुस गर्ने अनुभव रामको छ।
'तीन-चार दिनको अनुभवमै विद्यार्थीहरूले आफूमा परिवर्तन पाएको देखेर म चकित हुन्छु। उनीहरू स्कुल र कलेजमा नसिकेको कुरा सिकियो, पहिले जोखिम मोल्न डर लाग्थ्यो, अहिले त्यो डरलाई केही हदसम्म जित्यौं, शरीर र मन स्फुर्त भयो भन्छन्,' उनले भने।
यस्तो अनुभवबाट खुसी हुँदै उनले अबको लक्ष्य बनाएका छन् — आफू र आफ्नो टिमले गरेको लामो अनुभवलाई शैक्षिक कार्यक्रममा बदल्ने। विभिन्न कक्षाकोठामा विद्यार्थीहरूले सिकेको अवधारणालाई प्रयोगात्मक रूपमा अनुभव गराउने।
दीर्घकालीन रूपमा उनको सोच छ — 'रिभरभर्सिटी' बनाउने, अर्थात् नेपालको नदीलाई अध्ययन गर्ने युनिभर्सिटी!
आफ्नो सोच प्रस्ट्याउँदै उनले भने, 'हामी नदी र प्रकृतिबारे सिकाउन चाहन्छौं। जीवनोपयोगी सीप र प्रकृतिप्रतिको माया सिकाउन चाहन्छौं। दिनहुँ घुलमिल भएपछि प्रकृतिलाई पनि मानिसलाई जस्तै माया गर्न सकिने रहेछ।'
उनले थपे, 'तीन वटा कुराले एड्भेन्चर बन्ने रहेछ; जोखिम, प्रयत्न अज्ञातको यात्रा। उद्यम क्रममा यिनै कुरा समावेश हुने रहेछन्। हामी 'रिभरभर्सिटी' मा यही समावेश गर्ने छौँ।'
राम विश्वस्त छन् — आज नेपालका विद्यार्थीहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया आदि देशमा पढ्न जान्छन्। तर हाम्रो शक्तिमा आधारित विश्वविद्यालय खुल्ने हो भने ती देशका विद्यार्थी नेपाल आउने छन्। आजको दिनमा विदेशीहरू डाक्टर, पाइलट, इन्जिनियर बन्न होइन, प्रकृतिबाट सिक्दै 'लाइफ नेभिगेटर' बन्न नेपाल आउने छन्।
यसमा उनको अनुभव छ — समिट एड्भेन्चर एकेडेमीबाट सयौं विदेशी विद्यार्थीहरू रोयल बिच क्याम्पमा आएर सिकेर गएका छन्। हामी विभिन्न विश्वविद्यालयका विद्यार्थी नेपाल ल्याउँछौं। नेपाल बुझाउछौं र घुमाउछौं। सीप सिकाएर पठाउँछौं। उनीहरूलाई नेपालको एम्बासडर बन्ने गरी पठाएका छौं।
विदेशमा बस्ने नेपालीहरूसँग रामको अनुरोध छ — नेपाल एक सुन्दर देश हो भनेर भनिदिनु होला। हाम्रा राजनीतिज्ञ संस्कारी र सभ्य भएनन् होला तर हामी संस्कृति र प्रकृतिमा धनी छौं।
नेपाल सरकारलाई उनको आग्रह छ, 'हामी नदीबाटै विश्वविद्यालयको ज्ञान र सीप दिन चाहन्छौं। हामीलाई सहजीकरण र सहयोग गरिदिनु होला।'
सबै तस्बिर स्रोत- राम सिलवालको संकलन।
एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)