सात वर्षकी चन्द्रकला स्कुलको पोसाक लगाइसकेपछि घरमै अलप भइन्। स्कुल जान तयार भएकी बच्ची आमाले खोज्दा घरकै ठूलो दराजको कुनामा दपन्निएर चुपचाप लुकेर बसेकी भेटिइन्।
उनी स्कुल जान तयार थिइनन्। गहभरि आँसु थियो। तनावका कारण शरीर अरमठ्ठ थियो। सधैं स्कुल जाने चन्द्रकलाले यस्तो स्वभाव बेलाबेलामा देखाउँथिन्।
कारण — शिक्षकले दिएको अत्यधिक गृहकार्य (होमवर्क) गर्न नसकेको र त्यसको परिणामको त्रासले अत्तालिएकी।
यो एक प्रतिनिधि घटना हो। यस्तै प्रकृतिका वृत्तान्त थुप्रै सुनिन्छन्।
यो लेखअघि पाठक समक्ष यसै सन्दर्भमा केही प्रश्न तेर्स्याउँछु — हाम्रो बालबालिकाप्रतिको संवेदनशीलता कहाँ गयो होला? किन ती कलिलाहरूलाई वयस्कको जस्तै व्यवहार गरिन्छ? गृहकार्यको बोझ दिएर शैक्षिक उन्नति ल्याउन प्रेरित स्कुल वा शिक्षकहरूले र गृहकार्यले थिचाएर घरमा आफ्नै बालबालिकाका सुलभ वृत्तिहरूलाई तुसारापात गराउने अभिभावकहरूले किन उनीहरूका स्वनियमनका पक्ष पाखा लगाउँछन्?
बालबालिकालाई गृहकार्य दिने वा नदिने भन्ने तातो बहस शिक्षा क्षेत्रमा भइरहन्छ।
यो लेखमा यस विषयमा भएका अनुसन्धानहरूले के देखाउँछन्, तुलनात्मक विश्लेषण गर्नेछु। पहिलो पाटोमा किन नदिने, दोस्रो पाटोमा किन दिने र निष्कर्षमा के उपयुक्त हुन्छ भन्ने राख्ने छु।
आशा छ, यसले अन्तरदृष्टि दिनेछ।
अध्येता अल्फी कोह्नले आफ्नो किताब 'द होमवर्क मिथ' मा बालबालिकालाई गृहकार्यको बोझ दिन नहुने बताएका छन्। स्कुलको दिनभरको कार्यपछिको स्वतन्त्र समय खोसिन नहुनेमा उनी जोड दिन्छन्।
उनको अध्ययनले देखाएको छ — गृहकार्यले विद्यार्थीको बौद्धिक विकासमा खासै फरक पार्दैन। गृहकार्य गरेर आउने भनिएको फाइदाको तुलनामा यसले ल्याउने दिकदारी र तनावको प्रभाव धेरै पर्छ। प्रत्युत्पादक पनि हुन्छ।
अस्ट्रेलियन शिक्षामनोवैज्ञानिक रिचार्ड वाकरको अनुसन्धानको निष्कर्ष पनि त्यही छ — विशेषगरी प्राथमिक तहका विद्यार्थीको शैक्षिक उपलब्धि र गृहकार्यबीच कुनै महत्त्वपूर्ण सम्बन्ध छैन। गृहकार्यले उच्च शैक्षिक नतिजा ल्याउँदैन।
शिक्षक र अनुसन्धानकर्ता वेन्डी तोशिहारा भन्छिन्, 'गृहकार्य बालबालिकाको विकासको चरण र आवश्यकतासँग मेल नखाएमा हानिकारक हुन्छ।'
कोह्न भन्छन्, 'गृहकार्यले विद्यार्थीको प्रगति हुन्छ भन्नु एक भ्रम हो। प्राथमिक तहका विद्यार्थीलाई त शिक्षाको नाममा निर्देशन गरिने गलत मार्ग हो। बालबालिका प्रति शैक्षिक अविश्वासको परिणती हो।'
उनी थप भन्छन्, 'माध्यमिक र निम्न माध्यमिक तहका विद्यार्थीको शैक्षिक प्रगति र गृहकार्यबीच थोरै अन्तरसम्बन्ध भए पनि गृहकार्य नै शैक्षिक उपलब्धिको आधार होइन। प्रशस्त गृहकार्य गर्ने विद्यार्थीको प्रगति भएको छ पनि त्यसको मूल कारण गृहकार्य होइन। त्यसैले उच्च उपलब्धि पाएका सबै विद्यार्थीले धेरै गृहकार्य गर्छन् भन्न हुँदैन, अन्यलाई यसको बोझले थिच्न हुँदैन। यसले शैक्षिक समता खल्बलिन्छ।'
अध्ययनहरूले देखाएका छन् — अभ्यासका नाममा दोहोर्याइ-तेहर्याइ लेख्न दिइने गृहकार्यको प्रचलनले विद्यार्थीहरू जिज्ञासाबाट वञ्चित हुन्छन्। उनीहरूको सिर्जनशीलतामा ह्रास आउँछ। सिकाइको प्राकृतिक रूचि र आन्तरिक प्रेरणा कम हुन्छ। शिक्षाप्रति नकारात्मक भावना विकास हुन्छ।
विद्यार्थीले वयस्क वा आफ्नै दौंतरीहरूसँग अन्तर्क्रिया गर्ने समय गृहकार्यले लिँदा यसले सामाजिक विकासमा समेत अवरोध पुर्याएको अनुसन्धानहरूले देखाएका छन्।
स्कुल समयपछि चार-पाँच घन्टासम्म गृहकार्य नै गरिरहँदा विद्यार्थी थाक्छ। समय अभाव र थकानका कारण परिवारजनसँग घुलमिल हुने अवसर पनि कम हुन्छ। यो क्रम बढ्दै जाँदा उसको भावनात्मक विकास अवरूद्ध हुन्छ। यसको प्रभाव तत्काल नदेखिए पनि कालान्तरमा एकलकाटे, समाजमा घुलमिल हुन मुस्किल हुने जस्ता स्वभाव विकास हुने देखिएको छ।
गृहकार्यको बोझले विद्यार्थीको सामाजिक, भावनात्मक विकासमा प्रत्यक्ष असर पर्ने अनुसन्धानले देखाएका छन्।
स्ट्यानफोर्डका डिनिस पोपले चार हजारभन्दा बढी विद्यार्थीमा अध्ययन गरेर आएको निष्कर्षलाई प्रायोगिक शिक्षा जर्नलमा प्रकाशन गरेका छन्।
उनको निष्कर्ष छ — गृहकार्यको अधिक बोझले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर गर्छ।
गृहकार्यले प्रायः पारिवारिक समयमा अवरोध ल्याउँछ। जसले अभिभावक र बालबालिकाबीच द्वन्द्व सिर्जना गर्छ। एकातर्फ अभिभावकहरू गृहकार्य पूरा गराउन बाध्य हुन्छन्, अर्कोतर्फ बालबालिकाहरूलाई झन्झटिलो लागेको गृहकार्यको प्रतिरोध गर्दा सम्बन्ध तनावपूर्ण हुन्छ।
गृहकार्यले बालबालिकाको स्वतन्त्र खेल, अतिरिक्त क्रियाकलाप र विश्रामका लागि समय कम गरिदिन्छ।
कोह्नले भावनात्मक र सामाजिक विकासका साथै सिर्जनशीलता विकासका लागि फुर्सदको समय आवश्यक हुने बताएका छन्। धेरै घन्टासम्म गृहकार्य गर्नुपर्ने बालबालिकाले उनीहरूको सर्वांगीण विकासका लागि महत्त्वपूर्ण पारिवारिक अनुभवहरू गुमाउन सक्छन्।
गृहकार्यले प्रायः आलोचनात्मक सोचभन्दा आज्ञा पालना गर्ने बानीलाई प्राथमिकता दिन्छ। यस्ता कार्यहरू अक्सर विद्यार्थीहरूले आफूलाई दिइएको आदेश पूरा गराउन खोजिएको बुझ्छन्, र उनीहरू त्यसमा आलोचनात्मक प्रश्न गर्न, अन्वेषण गर्न उत्साहित हुँदैनन्। काम पूरा गर्ने ध्येयमा केन्द्रित हुँदा अध्ययन यान्त्रिक हुन्छ।
एकै प्रकारका गृहकार्य सबै विद्यार्थीका लागि उपयुक्त हुँदैनन्। स्कुलमा गृहकार्यलाई विद्यार्थीहरूको व्यक्तिगत आवश्यकता, क्षमता, वा चासोअनुसार प्रायः परिमार्जन गरिँदैन। एउटै साँचोमा ढालेका कार्यहरूले विद्यार्थीहरूको अद्वितीयपनलाई सम्बोधन गर्दैन र विविध सिकाइ शैली र गतिलाई ध्यानमा राख्दैन।
शिक्षाले विद्यार्थीहरूलाई आफ्नो सिकाइको स्वामित्व लिन सशक्त बनाउनुपर्छ। तर विशेषगरी बाध्यकारी र कठोर गृहकार्यले विद्यार्थीहरूको स्वायत्तता हटाउँछ। सिकाइलाई रोजाइ होइन, झन्झटिलो बनाउँछ। यसको प्रभाव सिकाइको स्वनियमनमा पर्छ र शैक्षिक जिम्मेवारी लिने प्रवृत्तिलाई नकारात्मक असर पर्छ।
अब लेखको दोस्रो पाटोमा गृहकार्यका सकारात्मक पक्षहरूबारे अनुसन्धानले के भन्छ भन्ने हेरौं।
अध्येता ह्यारिस कुपर र रबर्ट मर्जानो, यी दुई नाम गृहकार्य पक्षधरका रूपमा आउँछन्। यी दुवैले गृहकार्यको आवश्यकता र यसका परिणतीहरूलाई समर्थन गर्छन्। उनीहरूको विश्लेषण र अध्ययनले ठिक्कको गृहकार्य आवश्यक हुने देखाउँछ।
ह्यारिस कुपरको गृहकार्यको दस मिनेट नियम विश्वप्रसिद्ध छ। उमेर र कक्षा बढ्दै जाँदा गृहकार्यलाई दस मिनेटको आधार राखेर दिइएमा प्रभावकारी हुने उनी बताउँछन्। कक्षा एकका विद्यार्थीलाई दस मिनेट, दुईका लागि बीस, तीनका लागि तीस र चारका लागि चालीस मिनेट र एवं प्रकारले कक्षा अनुसार दसले गुणन गरी प्रतिदिनको गृहकार्य दिइएमा बौद्धिक विकासका लागि सहयोगी हुने यो एक सरल र सिधा नियम हो।
माध्यामिक तहका विद्यार्थीहरूलाई दुई घन्टा वा आवश्यकता अनुसार थोरै थप गृहकार्य दिन सकिने यो नियमले निर्देशित गर्छ।
कुपरको विश्लेषणले विशेषगरी माध्यामिक र उच्च माध्यामिक तहमा गृहकार्य र शैक्षिक उपलब्धिबीच सकारात्मक सम्बन्ध देखाएको छ। गृहकार्यले विद्यार्थीलाई अभ्यास, समीक्षा र वोध विकास गर्ने अवसर प्रदान गर्छ।
उनी भन्छन्, 'गृहकार्यले जिम्मेवारी, समय व्यवस्थापन र अनुशासन जस्ता जीवन उपयोगी सीपहरूको विकास गर्छ र दीर्घकालीन सफलताका लागि अध्ययनको बानी विकास गर्न सहयोग गर्छ।'
कुपरले गृहकार्यका कारण पारिवारिक तनाव नआउने बताउँछन्।
'यसले त घर र स्कुलबीच पुलको काम गर्छ। किनभने, गृहकार्यको माध्यमबाटै अभिभावकलाई बालबालिकाको सिकाइमा सहभागिता जनाउने अवसर दिन्छ र बालबालिकाको सामाजिक भावनात्मक विकासमा सहयोग पुग्छ,' उनी भन्छन्।
अनुसन्धानकर्ता रबर्ट मार्जानोले गृहकार्यबारे गहन अध्ययन र लेखन गरेका छन्। आफ्नो किताब 'क्लासरूम इन्स्ट्रक्सन ड्याट वर्क्स्' मा मार्जानोले गृहकार्यले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्न सक्ने तर्क प्रस्तुत गरेका छन्।
मार्जानोको विचार अनुसार गृहकार्यले स्वतन्त्र सिकाइ र जिम्मेवारीलाई प्रोत्साहन गर्छ। यस्ता कक्षाकोठा बाहिर गरिने कार्यले विद्यार्थीको स्वनियमन सीप र सिकाइ व्यवस्थापन गर्ने क्षमता विकास गर्छ। यसले कक्षामा सिकेका कुरालाई विद्यार्थीले घनिभूत बनाउने अवसर पाउँछन् र सिकाइलाई दिगो बनाउँछन्।
मर्जानो गृहकार्यका पक्षधर भए पनि यसका नियम र सर्तलाई शिक्षकले पालना नगरे गृहकार्य निष्प्रभावी र नकारात्मक हुन सक्नेमा सचेत गराउँछन्।
उनी भन्छन्, 'गृहकार्य पाठ्य योजनाका विशिष्ट लक्ष्यहरूसँग संरेखित हुनैपर्छ। विद्यार्थीलाई समयमै रचनात्मक पृष्ठपोषण दिनुपर्छ जसले विद्यार्थीलाई आफ्ना गल्ती थाहा पाउन, सोच परिष्कृत गर्न र सीप सुधार्न सहयोग गर्छ।'
उनको अर्को महत्त्वपूर्ण सर्त छ — गृहकार्यको मात्रा होइन, गुणस्तर हुनपर्छ। आलोचनात्मक सोच र समस्या समाधानलाई प्रोत्साहन गर्ने सोचपूर्वक दिइएका कार्यहरू मात्रै लाभदायक हुन्छन्।
जोन ह्याट्टी भिजिवल लर्निङका लागि प्रसिद्ध छन्। उनले विद्यार्थीको उपलब्धिमा प्रभाव पार्ने तत्वहरूको अनुसन्धानलाई समष्टिमा प्रस्तुत गरेका छन्। उपयुक्त गृहकार्यले विद्यार्थीको उपलब्धिमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने उनको दृष्टिकोण छ।
यस्तै, विक्की डेभिस एक लोकप्रिय शैक्षिक ब्लगर हुन् जसलाई 'द कुल क्याट टिचर' भनेर चिनिन्छ। उनी शिक्षामा नयाँ दृष्टिकोणका लागि परिचित छन्।
उनको तर्क छ, 'गृहकार्य वास्तविक जीवनका प्रयोगहरूसँग मिल्नुपर्छ। अनि मात्र विद्यार्थी सिकाइको सान्दर्भिकता र सामग्रीसँग अर्थपूर्ण रूपमा जोडिन सक्छन्न्।'
निष्कर्षमा, गृहकार्य दिने वा नदिने भन्ने बहसमा तर्कहरूलाई तुलना गर्दा गृहकार्य दिन सकिन्छ भन्नेमा बलिया देखिन्छन् तर अत्यन्तै विचारपूर्वक मात्रै।
गृहकार्य शैक्षिक प्रक्रियाको महत्त्वपूर्ण भाग हो। यसले विद्यार्थीको सिकाइलाई सुदृढ बनाउनुका साथै उनीहरूलाई जिम्मेवारी र आत्मनिर्भरता विकास गर्न सहयोग गर्छ।
तर, गृहकार्यलाई प्रभावकारी बनाउन तीन महत्त्वपूर्ण आयामका आधारमा योजना गर्न आवश्यक छः उद्देश्य (किन दिने?), सामग्री (के दिने?) र मात्रा (कति दिने?)।
यी आयामहरूको सन्तुलनले गृहकार्य प्रभावकारी बनाउँछ।
गृहकार्यको प्रमुख उद्देश्य कक्षाकोठामा विद्यार्थीले सिकेको ज्ञा सुदृढ पार्नु हो। विद्यार्थीको बुझाइलाई गहिरो बनाउन कक्षामा पढाइएका विषयवस्तु सम्बन्धित कार्यहरू दिन सकिन्छ। तर, त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ। केबल समय बिताउन दिइने गृहकार्यले विद्यार्थीको प्रगति गराउँदैन।
अर्को, गृहकार्यको सामग्री सोचविचारपूर्वक चयन गर्नुपर्छ। सामग्रीले विद्यार्थीको स्तर, रूचि र कक्षाकोठामा पढाइएको विषयवस्तुसँग मेल खानुपर्छ। अर्थपूर्ण, सान्दर्भिक र सिकाइएका अवधारणालाई अभ्यास गराउने खालको गृहकार्य हुनुपर्छ।
एउटै प्रकारका अभ्यासले विद्यार्थीलाई दिक्क गराउन सक्छ। त्यसैले लेखन बाहेकका विभिन्न प्रकारका गतिविधिहरू, जस्तै योजना कार्य, गृहकार्यमा समावेश गर्नाले यसमा विविधता आउँछ।
त्यस्तै, गृहकार्यको मात्रा विद्यार्थीको उमेर र स्तरअनुसार निर्धारण गर्नुपर्छ।
कक्षा तीनसम्मका बालबालिकालाई गृहकार्य दिनु आवश्यक छैन भन्ने धारणा छ। किनभने यस उमेर समूहका बालबालिकाको सिकाइ मुख्य रूपमा खेलकुद, अन्वेषण र सिर्जनात्मक क्रियाकलापहरू मार्फत हुन्छ। गृहकार्यले उनीहरूको प्राकृतिक जिज्ञासा र सिर्जनशीलता सीमित गर्न सक्छ। स्कुलमा प्रभावकारी रूपमा गराइएका कक्षाकार्यहरू मात्रै पनि सुरूमा उल्लिखित चन्द्रकला जस्ता बालबालिकालाई पर्याप्त हुन्छ।
बालबालिकाको ध्यान अवधि छोटो हुन्छ। गृहकार्यले उनीहरूमा अनावश्यक तनाव र थकान सिर्जना गर्न सक्छ जसले सिकाइ प्रतिको रूचि घटाउँछ। जुन दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ।
तर पनि अभिभावकको चाहनालाई ध्यानमा राख्दै गृहकार्य दिनैपरेमा प्राथमिक तहका विद्यार्थीलाई दसदेखि बीस मिनेट प्रतिदिन क्रियाकलापले भरिएका र अभिभावकसँग अन्तर्क्रिया गर्न सकिने खालका गृहकार्य उपयुक्त हुन्छ।
अन्तिममा, विद्यार्थीलाई गृहकार्यको बोझ दिए जसरी पनि गर्छन् र कक्षामा नसकेको उपलब्धि पनि हासिल गर्न सक्छन् भन्ने तर्कलाई मिथक मात्र मानेर सिर्जनशील कार्यमा जोड गरौं।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)