मेरो कामको सिलसिलामा, करिब १० वर्षमा तीन हजार हाराहारी शिक्षकसँग भेट भएको छ। तीमध्ये केही शिक्षकले मन छुन्छन् र गहिरोसँग प्रभाव पार्छन्।
पेसागत भ्रमणको सिलसिलामा जनकपुर जाँदा एक त्यस्तै शिक्षकसँग भेट भयो। उनको ऊर्जा, मेहनत, पेसाप्रतिको लगाव र प्रतिबद्धता प्रशंसनीय लाग्यो।
उनी हुन् राजर्षी जनक विश्वविद्यालय क्याम्पसका सहायक प्राध्यापक — अशोक साह।
क्याम्पसमा विद्यार्थीहरूमाझ उनको छवि बनेको रहेछ — सरले मेहनत गरेर सिकाउनु हुन्छ, हौसला दिनु हुन्छ, जीवनको लागि पनि दिशानिर्देश गर्नु हुन्छ।
शिक्षक र समुदायमा उनको छवि बनेको रहेछ — उनी कुनै राजनीतिक दलका कार्यकर्ता होइनन्। उनलाई दलीय राजनीतिसँग मतलब छैन, उनी विद्यार्थीहरूको हकहितका लागि मात्र बोल्छन्।
सामान्यतया शिक्षणलाई हेय र एक पेसाको रूपमा मात्र हेरिने हाम्रो समाजमा शिक्षणमा रमाइरहेका र शिक्षामै जीवन अर्पण गर्छु भनेर लागेका अशोक साहसँगको कुराकानी र उनीबारे आफ्नो अवलोकन यो लेखमा प्रस्तुत गरेको छु।
यो लेख लेख्नुको अर्थ यो पनि हो — हामी कलाकार, खेलाडी, राजनीतिज्ञका कथाहरू बग्रेल्ती लेख्छौं तर शिक्षकका कथाहरू कमै लेख्छौं। शिक्षकसँगका अन्तर्वार्ताहरू कमै छाप्छौं। शिक्षामा बदलाव चाहने हो भने शिक्षकका प्रेरणाहरू पनि लेखिनुपर्छ। शिक्षकलाई पनि सेलेब्रेटी बनाइनुपर्छ। ताकि अब्बल शिक्षकहरू अपवाद होइन, नियम बनून्।
'अशोक सर, शिक्षणमा किन आउनुभयो,' मेरो प्रश्नमा शिक्षणप्रतिको लगाव सुनाउँदै अशोक भन्छन्, 'शिक्षण मेरा लागि कहिल्यै पेसा भएन, यो मेरो सोख हो।'
अशोकका बुबा, काका र फुपाजू शिक्षक थिए। तर कक्षा ८ पढ्नु अगाडिसम्म उनलाई शिक्षण पेसाप्रति कुनै आकर्षण थिएन।
उनले सिरहाको कर्जन्हामा कक्षा ८ मा हुँदा एक जना शिक्षकले फरर्र अंग्रेजी बोलेको देखेछन्।
ती सरलाई सम्झिँदै उनी भन्छन्, 'उहाँको बोल्ने शैली नै आकर्षक थियो। अंग्रेजी शब्द उच्चारण गर्दा मिठो सुनिन्थ्यो। विदेशी बोले जस्तो लाग्थ्यो। त्यसले खुब लोभ लाग्थ्यो।'
त्यही लोभ लाग्दा लाग्दै उनले सपना देख्न थाले, 'ठूलो भएर म पनि त्यसरी अंग्रेजी बोल्न सक्ने हुन्छु। म पनि स्कुलमाा पढाउँछु।'
ती सरप्रतिको आकर्षणले उनलाई अंग्रेजीमा मेहनत गर्ने जोस पलायो। एउटा विषयमा अगाध प्रेम भएपछि अरू विषय पनि सहज हुँदै गयो, र एसएलसीमा राम्रो अंक ल्याएर उनी पास भए।
एसएलसी उत्तीर्ण गरेपछिको क्षण सम्झिँदै अशोकले भने, 'राम्रो अंकको लोभमा बुबाले आफ्नो छोरा डाक्टर बनेको सपना देख्न थाल्नुभयो। मलाई भने अंग्रेजी भाषा नै पढ्न मन थियो। किनकि मेरो रोल मोडेल शिक्षक हुनुहुन्थ्यो।'
त्यसपछि आई.ए. (मानविकी संकायमा प्रविणता तह) पढ्न उनी जनकपुरस्थित रामस्वरूप रामसागर क्याम्पस आए। मूल विषय अंग्रेजी रोजेर पढ्दै गर्दा सुरूमा नयाँ ठाउँका शिक्षकले बोलेको बुझ्न उनलाई हम्मे हम्मे भयो।
क्याम्पसका कक्षा लिँदै र शिक्षकहरूसँग संगत गर्दै उनले अर्को सपना बुन्न थाले, 'म स्कुलमा होइन, कलेजमा पढाउने छु। म मेरा प्रोफेसर जस्तै बन्नेछु।'
घरबाट टाढा बसेर क्याम्पस पढ्दै गर्दा उनलाई खर्चको आवश्यकता हुन थाल्यो।
आफ्नो आवश्यकता पूरा गर्न उनले रोजे — आफूले सपना देखिरहेको काम। उनी केही स्कुलमा आंशिक रूपमा र होम ट्युसन पढाउन थाले।
जनकपुरबाट स्नातक सकेर अशोक स्नातकोत्तर गर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग पुगे। त्यस समय उनी शिक्षणमा सक्रिय हुन पाएनन्। गुजारा चलाउन गैरसरकारी क्षेत्रमा काम गर्न थाले। तर शिक्षण गर्न नपाएर उनी छटपटिन्थे।
त्यो समय उनी धेरै संघसंस्थामा आवद्ध भए। स्नातकोत्तर सकेपछि जनकपुर फर्किए र 'युथ इनिसिएटिभ' भन्ने संस्थाको स्थानीय संयोजकका रूपमा काम गर्न थाले। त्यो कामले उनलाई युवासँग नजिक ल्यायो। त्यो क्रममा युवाका सपना र यथार्थहरू बुझ्ने मौका पाए।
विभिन्न परियोजनाबाट उनले प्रत्यक्ष महसुस गरे — युवाले चाह्यो भने समाज बदल्न सक्छ।
सन् २०१८ मा उनले अमेरिकी सरकारले प्रदान गर्ने 'इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम' मा सहभागी हुने अवसर पाए। अमेरिका गएर आए। त्यस बेला उनले 'लिड इन्टरनेसनल' को फेलोसिप पनि पाएका थिए।
अन्य धेरै अनुभव हुँदै गर्दा पनि शिक्षण गर्न नपाएकाले उनी छटपटिन्थे।
शिक्षणप्रतिको लगाव
संयोगले सन् २०१८ मा राजर्षी जनक विश्वविद्यालयमा एउटा कोर्स पढाउन शिक्षक खोजी भयो। दुई जना शिक्षकले उनलाई 'कम्युनिकेटिभ इङ्ग्लिस' पढाउन युनिभर्सिटी क्याम्पसमा आमन्त्रण दिए।
अनि, आई.ए. पढ्दा देखेको सपनाझैं उनी कलेजका विद्यार्थी पढाउन क्याम्पस प्रवेश गरे।
हाल उनी स्नातक र स्नातकोत्तरमा प्रयोगात्मक अंग्रेजी सञ्चार पढाउँछन्।
उनको पढाउने शैलीबारे उनका विद्यार्थीहरू भन्छन्, 'सर आफू योजना बनाएर आउनु हुन्छ। विभिन्न सामग्री देखाउनु हुन्छ। कक्षामा पनि छलफल गराउनु हुन्छ। अनुसन्धान गर्न लगाउनु हुन्छ। हामीसँग पनि ज्ञान छ भन्ने कुरामा विश्वास गर्नु हुन्छ। विश्वमा भएको ज्ञान र आफ्नै ठाउँको ज्ञान दुवै खोज्न लगाउनु हुन्छ।'
'हिउँदको शीतलहर होस् वा गर्मीको तातो हावा, मलाई कक्षामा पुगेपछि ध्यान गरेजस्तो आनन्द प्राप्त हुन्छ। किनकि, म मेरो सपनामा बाँचिरहेको छु। शिक्षणमा नै आफ्नो शत प्रतिशत ऊर्जा र मेहनत दिइरहेको छु,' आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्।
अशोकले भावुक र रोमाञ्चित भएर यो भनिरहँदा म सोचिरहेको थिएँ, 'हामी कति शिक्षकलाई उनले जस्तै महसुस हुन्छ होला?'
'आफ्नो कक्षा मलाई आजसम्म कहिल्यै बोझ महसुस भएको छैन र हुँदैन पनि,' शिक्षणप्रतिको आफ्नो प्रेम सुनाउँदै उनी भन्छन्।
'कक्षामा के सोचेर जानु हुन्छ नि,' मैले उनलाई सोधेँ।
यसको जबाफमा उनी भन्छन्, 'पाठ्यक्रमले तोकेको कुनै विषयवस्तु छ। सुरूमा म त्यो विषयवस्तुमा विद्यार्थीहरूको जानकारी र अनुभव खोतल्छु, अनि आफ्नो अध्ययनबाट प्राप्त गरेको कुरा उनीहरूलाई सिकाउँछु। त्यसपछि सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्नेबारे छलफल गर्छु। कक्षामा उनीहरूले खुलेर सहभागी हुन पाऊन् भन्ने सोचले योजना बनाउँछु। यस्तो गर्दा ५० मिनेटको कक्षा बितेको पत्तै हुँदैन।'
उनले थपे, 'मानौं कक्षामा ४० जना विद्यार्थी छन्। त्यो कक्षा मेरो मात्र होइन, हामी ४१ जनाको हो। कक्षामा मेरो भूमिका छ र विद्यार्थीहरूको पनि भूमिका छ। हरेक विद्यार्थीले हरेकको सिकाइमा योगदान दिनै पर्छ। एक्लै सिक्न त हामीसँग किताबहरू छन्, इन्टरनेटमा अनेक स्रोत छन्। हामी ४१ जना यहाँ जम्मा हुनुको अर्थ हामीसँग ४१ रङका विचार छन्, सोच छन्। ती रंगीन सोच र विचारबाट नयाँ सिर्जना गर्नुपर्छ।'
यो कुरा सोचेर कक्षाको योजना बनाउने गरेको भन्दै अशोक भन्छन्, 'सिकाइ मेरो मात्र वा विद्यार्थीहरूको मात्र पूर्ण जिम्मेवारी होइन। यो त शिक्षक र विद्यार्थीबीचको सह-सिर्जना हो।'
उनी विद्यार्थीहरूलाई यसरी हौस्याउँछन्। नयाँ कुरा सिक्न प्रोत्साहन दिन्छन्। आफू पनि अध्ययन गरेर, कार्यशालाहरूमा सहभागी भएर र गाउँ गाउँ घुमेर आफ्नो ज्ञान र सीप सुदृढ गर्छन्। आफूलाई 'अपग्रेड' गर्न काठमाडौं विश्वविद्यालयबाट 'इङ्ग्लिस ल्याङ्ग्वेज एजुकेसन' मा एमफिल पनि गर्दैछन्।
भाषाको अनुभव
उनी भाषा पढाउने शिक्षक भएकाले मैले उनको अनुभव सोधेँ, 'मातृभाषा एउटा र अरू केही स्थानीय भाषासँग जानकार विद्यार्थीलाई अंग्रेजी भाषा सिकाइको अनुभव कस्तो छ?'
यस प्रश्नमा उनले हालको क्याम्पस आउनु अगाडिको एउटा अनुभव सुनाए।
सन् २०१३ मा उनी एक महिनाका लागि जनकपुरको एउटा क्याम्पसमा अंग्रेजी पढाउन गएका थिए।
त्यति बेला उनको विश्वास थियो — म अंग्रेजी शिक्षक हो, म पूरै अंग्रेजीमै पढाउँछु।
अनि उनले पूरै कक्षा अंग्रेजीमा पढाए। त्यति बेला उनले देखे, विद्यार्थीहरूले उनलाई ध्यान दिएर हेरिरहेका थिए, ५० मिनेट कक्षा पूरै शान्त भयो।
उनले सोचे — मैले पढाएको विद्यार्थीहरूले पूरै बुझे होला!
उनले कक्षामा घोषणा नै गरेका थिए, 'म अंग्रेजी शिक्षक हुँ। क्याम्पस हाताभित्र नेपाली र मैथिली बोल्दिनँ।'
दोस्रो दिन पनि उनले त्यस्तै गरी पढाए। कक्षामा कसैले हल्ला गरेनन्, उनलाई हेरिरहे।
यसबाट उनी मख्ख थिए, किनकि उनलाई लागेको थियो, सबै विद्यार्थीले एकाग्र भएर उनलाई सुनेका छन्, बुझेका छन्।
तेस्रो दिन त्यसै गरी कक्षा सकेर उनी निस्किए। एक विद्यार्थी दगुर्दै उनीतिर आए र बोलाए। विद्यार्थीले कनिकुथि इशाराले 'नेपालीमा बोल्न सक्छु?' भनेर सोधे। अशोकले 'सक्छौ' भनेर अनुमति दिए।
'केही समस्या त छैन नि? मैले पढाएको बुझेको छौ नि?' अशोकले नेपालीमै सोधे।
विद्यार्थीले जबाफ दिए, 'सर, बुझे पनि नबुझे पनि हजुरले पढाउँदा सुन्न चाहिँ बडा मज्जा आउँछ।'
'यो मलाई दिएको तारिफ थियो कि बेइज्जती थियो, म रनभुल्ल परेँ,' त्यो क्षण सम्झिँदै अशोकले सुनाए।
त्यसपछि उनलाई तनाव भयो।
रामानन्द चोकमा दुई कप चिया पिउँदै गर्दा उनलाई महसुस भयो — म कम्युनिकेसन पढाइरहेको छु, तर कक्षामा कम्युनिकेसन नै भइरहेको छैन।
भोलिपल्ट उनी कक्षाकोठामा गए र अंग्रेजी र नेपाली दुवै भाषा प्रयोग गर्दै पढाउन थाले। बुझ्ने भाषा प्रयोग गर्दा कक्षामा विद्यार्थीहरूको हाउभाउ नै परिवर्तन भयो, अन्तर्क्रिया गर्न थाले।
त्यसपछि सुरूमा केही नेपाली प्रयोग गर्दै अंग्रेजी भाषाको प्रयोग बिस्तारै बढाउन थाले।
अहिले उनको अनुभव छ — विद्यालयमा अंग्रेजीको पकड राम्रो भएको छ भने पूरै अंग्रेजीले काम गर्ने रहेछ। अंग्रेजीको पकड नभएको अवस्थामा नेपाली र मैथिलीको प्रयोगले सिकाइलाई सहयोग गरेको छ।
भाषासँगको अनुभव जोड्दै उनी भन्छन्, 'सिकाइको प्रक्रियामा भाषा अवरोध हुनु हुँदैन। मूल कुरा विद्यार्थीले अवधारणा बुझ्नुपर्यो। उनीहरूले आफ्नो कुरा भन्न सक्नुपर्यो, आफ्ना सिर्जनात्मक विचारहरू राख्न सक्नुपर्यो। संसारमा पकड जमाएको अंग्रेजी भाषा मजबुत हुनु पर्छ भन्नेमा म विश्वास गर्छु। तर भाषा एक माध्यम मात्र हो र सिकाइ प्राथमिक कुरा हो।'
क्याम्पसमा राजनीतिबारे धारणा
सरकारी क्याम्पस र दलगत राजनीति पर्याय बनेको हामीले देखेका छौं। यही परिप्रेक्ष्यमा मैले अशोकलाई एक शिक्षकका रूपमा उनको अनुभव सोधेँ।
सन् २०१८ को सुरूआती दिन सम्झिँदै उनी भन्छन्, 'सुरूमा क्याम्पस प्रवेश गर्दा राजनीति प्रत्यक्ष देखिने अवस्थामा थिएन। दलहरू प्रवेश गरिसकेका थिएनन्। शिक्षक र विद्यार्थीमा दलगत राजनीतिको प्रभाव थिएन। शैक्षिक क्रियाकलाप गर्न कुनै रोकावट थिएन।'
त्यति बेला काममा प्रभावकारिता र सबै पक्षको जिम्मेवारी बोध भएको हेर्दा उनलाई लागेको थियो, 'यो कुनै सरकारी क्याम्पस जस्तो छैन। नेपालमा नयाँ शैक्षिक संस्कृतिको सुरूआत हुँदैछ।'
यसमा उनी खुसी थिए। नयाँ संस्कृति बोकेको विश्वविद्यालयको हिस्सा बन्न पाउँदा उनलाई गर्व महसुस भएको थियो।
एउटा घटनापछि भने उनी झल्याँस्स भए।
त्यो घटना सुनाउँदै उनले भने, 'एक पटक एउटा विद्यार्थीलाई जति सम्झाउँदा पनि ग्रेडिङको लागि आवश्यक असाइन्मेन्ट बुझाएन। उल्टै उसले मलाई सर, यहाँ सबै पढ्न आउँछन् र, कोही कोही त राजनीति गर्न पनि आउँछन् भन्यो।'
ती विद्यार्थी आफूले बुझाउनुपर्ने काम नबुझाई ग्रेड पाउन चाहन्थे तर अशोकले त्यस्तो हुन दिएनन्।
त्यस समय उनलाई लाग्यो — विश्वविद्यालयमा दलगत राजनीति प्रवेश गरिसकेछ। उनलाई त्यो विद्यार्थीसँग रिस उठेन, बरू माया लागेर आयो।
उनलाई लाग्यो — आज उसले जिम्मेवारी महसुस गरेन भने भोलि ठूलै पदमा पुगेपछि पनि त्यस्तै कर्म गर्छ। जतिसुकै दबाब आओस्, म विद्यार्थीको सिकाइमाथि सम्झौता गर्दिनँ। राजनीतिक दलको आवरणमा आयो भन्दैमा विशेष व्यवहार गर्दिनँ।
सुरूआती दिनदेखि विश्वविद्यालयमा प्रवेश गरेको कारणले अशोकलाई विश्वविद्यालयको माया छ। उनी चाहन्छन्, यो विश्वविद्यालय नेपालको उच्च शिक्षाको केन्द्र बनोस्, मधेसको शक्ति र सामर्थ्यमा आधारित शैक्षिक उत्कृष्टताको केन्द्र बनोस्।
तर अचेल अशोक अलि निराश भएका छन्। उनलाई डर छ — भर्खरै खुलेको विश्वविद्यालय कतै दलगत राजनीतिको अखडा हुने हो कि!
एक शिक्षकका रूपमा दलगत राजनीतिले उनको कामलाई पारेको प्रभावबारे बुझ्दा अशोक भन्छन्, 'म कुनै दलको सदस्य होइन। म केबल एक शिक्षक हुँ। कसैको झन्डा बोकेको छैन। एक व्यक्तिको रूपमा मलाई खासै प्रभाव पारेको छैन। म आफ्नो काममा रमाउँछु। तर विश्वविद्यालयको अस्तित्वमा यसले संकट निम्त्याउने निश्चित छ।'
उनले थपे, 'दलगत राजनीति मेरो रूचिको विषय होइन। मेरो रूचि विद्यार्थीहरू हुन्, उनीहरूको सिकाइ हो। म हरेक शिक्षक र विश्वविद्यालयबाट समाजमा सकारात्मक परिवर्तन आओस् भन्ने चाहन्छु।'
राजनीतिक गतिविधिमा सहभागी नहुँदा अशोकसँग बेला बेला एक्लै परेको अनुभव छ। हतोत्साहित महसुस भएको छ। तर त्यही समयमा उनले धेरै विद्यार्थी र केही सहकर्मी शिक्षकको साथ पाएका रहेछन्।
विश्वविद्यालयमा हुने राजनीतिबाट टाढा हुने सूत्र सुनाउँदै उनले भने, 'म आफ्नो दिनचर्या व्यस्त बनाउँछु। मेरो प्राथमिक काम सिकाउनु हो, त्यसको योजना बनाउनु हो। शिक्षकको रूपमा आफ्नो ज्ञानको दायरा विस्तार गर्दै लैजानु हो। वास्तवमा राजनीतिक छलफल र गतिविधिमा सामेल हुने समय मसँग छैन।'
उनी अगाडि भने, 'इतिहासमा आवश्यकता थियो होला, आज शिक्षामा दलगत राजनीति आवश्यक छैन। जसले सक्नु हुन्छ, राजनीतिलाई खारेज गरिदिनु होस्।'
दलगत राजनीतिबारे उनको धारणा यस्तो छ — दलगत राजनीतिमा सक्रिय विद्यार्थीहरू अहिले नै शक्तिको पछाडि दौडिन चाहन्छन्। आफूलाई ज्ञान र सीपमा अब्बल बनाउनु उनीहरूको लक्ष्य हुँदैन। उनीहरू मेहनत नगरी राम्रो ग्रेड पाउन चाहन्छन्। कक्षामा सहभागी नभइ डिग्री पाउन चाहन्छन्। यसले उनीहरू र समग्र देशलाई नै गैरजिम्मेवारी र अन्धकारको बाटोमा लाने निश्चित छ। यसले उनीहरूलाई केही समयका लागि शक्ति दिन्छ होला तर दीर्घकालीन रूपमा फाइदा गर्दैन। हरेक दलका शीर्ष नेताहरूले यो बुझेका छन्। म विश्वस्त छु, हाम्रा शीर्ष नेताले चाहने हो भने आज निर्णय गरेर भोलिदेखि विश्वविद्यालयमा दलगत राजनीति खारेज हुनेछ।
उनी चाहन्छन् — विश्वविद्यालयमा 'स्ववियु' होस् तर 'स्वतन्त्र' वाला 'स्ववियु', स्ववियुका सदस्यहरू वास्तविक विद्यार्थी होऊन्। त्यहाँ विद्यार्थीहरूको वास्तविक मुद्दामा छलफल होस् र विद्यार्थीहरूको वास्तविक प्रतिनिधित्व होस्।
नीतिगत तहमा बस्नेहरूलाई अशोकको अनुरोध छ — विद्यार्थीहरूलाई अनुसन्धानमा लगाउन सकौं। नवप्रवर्तन र आविष्कारमा लगाउन सकौं। दलको झन्डा किन बोकाउने?
उच्च शिक्षा सुदृढीकरणको सुझावहरू
६ वर्षदेखि विश्वविद्यालयमा काम गरेको आधारमा अशोक उच्च शिक्षा सुदृढ गर्न निम्न उपायहरू बताउँछन्।
पहिलो, सबै विश्वविद्यालयको क्यालेन्डरमा एकरूपता हुनुपर्छ। यसले विद्यार्थीहरूलाई योजना बनाउन सहज बनाउँछ।
दोस्रो, अनुसन्धानलाई विश्वविद्यालयको संस्कृतिकै रूपमा विकास गरिनुपर्छ। यसले विद्यार्थी र शिक्षकलाई ज्ञानको खोजी, प्रवर्द्धन र उपयोग गर्न प्रेरित गर्छ। अनि, विद्यार्थीले पत्ता लाएको ज्ञानलाई विश्वविद्यालयले प्रवर्द्धन गर्नुपर्छ।
तेस्रो, पाठ्यक्रम अद्यावधिक गरिरहनुपर्छ। वैश्विक र स्थानीय दुवै कुरा समावेश हुनुपर्छ।
चौथो, विश्वविद्यालयमा कुनै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। यो स्वायत्त निकाय हुनुपर्छ। त्यस्तै शिक्षकलाई पनि जिम्मेवारी बोध गराएर स्वायत्तता दिइनुपर्छ।
विश्वविद्यालयको घेरा बाहिर उनको परिवार छ।
परिवारबाट धेरैपटक उनी गुनासो सुन्छन् — शिक्षक भइस्, पैसा धेरै कमाइनस्। तैंले अहिले भन्दा धेरै पैसा कमाउन सक्छस्। तँसँग अरू धेरै गर्ने सम्भावना छ, किन शिक्षक भएर बसेको?
परिवारको गुनासोलाई उनी आफूभित्रको आत्मसन्तुष्टिको मुस्कानले जितिदिन्छन्। अनेक संघर्षका बाबजुद उनलाई विद्यार्थीहरूको सफलताले खुसी दिन्छ।
उनीसँग आफ्ना धेरै विद्यार्थीका आशा र सफलताका कथाहरू छन्।
बिबिए पढिरहेका एक विद्यार्थीका बुबाले सानो माछा पसल चलाउँथे। अरूबाट किनेर ल्याएको माछा बेचेर जीवनको गुजारा चलेको थियो। एक दिन अशोकले ती विद्यार्थीलाई पोखरीमै माछा पाल्न सक्छौ कि भनेर सोधे।
अनि, शिक्षक र यी विद्यार्थीले सँगै सपना देखे।
विद्यार्थीले विस्तृत हिसाब गरे। आफूले पालेको माछा बेच्दा आउने फाइदा र अरूबाट किनेर बेच्दा हुने फाइदा निकाले। त्यसपछि नजिकमा मानिससँग सापटी र ऋण मागेर ती विद्यार्थीले ५ वटा पोखरी ठेक्का लिएर माछा पाल्न थाले। अशोकले पनि सापटी दिए।
अशोकका अनुसार ती विद्यार्थीले स्थानीय मानिस, गुगल र युट्युबबाट ज्ञान लिएर माछा पालेका छन्। एक चरण बेचिसके।
अशोकलाई बिबिए पढाइले ती विद्यार्थीको प्रगतिमा थप टेवा पुर्याउनेछ र भविष्यमा उनी जिम्मेवार उद्यमी बन्ने छन् भन्ने विश्वास छ।
उनीसँग सुनाउने यस्तै धेरै कथा छन्।
स्कुलमा हुँदा आफ्नो शिक्षकले अंग्रेजी बोलेको देखेर शिक्षक बन्ने सपना बुनेका अशोक अचेल विद्यार्थीहरूको सपना र जीवनको साक्षी हुने गरेका छन्।
आशा गरौं र कामना गरौं — अशोक डटेर शिक्षण सिकाइमा लागिरहने छन्। विद्यार्थीहरूलाई प्रगतिको बाटोमा हिँड्न हौसला दिइरहने छन्। र, आफ्नो विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन पहल गरिरहने छन्।
एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)