२०८० मंसिरको कुरा हो। स्कुटर बिग्रिएर इनड्राइभ चढ्दा बिदेसिन तयार रहेका तीन जना राइडरसँग भलाकुसारी भएको थियो। त्यसपछि यो लेख सुरू गरेको हुँ। त्यो बेला उनीहरूसँग भएका संवादलाई नेपाली समाजसँग जोड्ने जमर्को गर्दै एक वर्षपछि यो लेख टुंग्याएको छु।
त्यस दिन बिग्रिएको स्कुटर काठमाडौंको विशालनगरमा बनाउन दिएर म महाराजगञ्जस्थित अफिस जान इनड्राइभ चढेँ। समाजशास्त्रीलाई सामान्यतया कुतूहलता हुन्छ, स्कुटर चालकसँग बात मारिहालेँ। गफ सुरू भयो।
चालक रहेछन् तनहुँका केशव। २०५८ सालमा, मैले दिएकै वर्ष एसएलसी दिएका। कतारमा ८ वर्ष काम गरेर कमाएको पैसाले तनहुँमा बाख्रापालन गर्दै रहेछन्। चार सयमध्येका २५० बाख्रा रोग लागेर मरेछन्। आफैले पैसा खर्च गरेर डोजर लगाएर ती बाख्रा पुरेछन्। बीमा कम्पनीले क्षतिपूर्ति दिन आनाकानी गर्यो अरे!
अनि म्यानपावरमा दस लाख खर्च (लगानी?) गरेर, पासपोर्ट बुझाएर युरोपेली देश क्रोएसिया जान पालो कुरेर बसेका रहेछन्। म्यानपावर धाइरहन सजिलो हुने र यात्रू ओसार्दा दिनकै दुई-तीन हजार रूपैयाँ कमाइ पनि हुने भएकाले इनड्राइभ र पठाओ चलाउने रहेछन्।
स्कुटर नराम्ररी बिग्रिएको र अझै बन्न दुई दिन लाग्ने मेकानिकले बताए। भोलिपल्ट फेरि गैरीधाराबाट महाराजगञ्ज जाँदा अर्का स्नातक पास गरेका स्कुटर चालक क्यानडा जान तयार भेटिए, नाम कुशल। कन्सलटेन्सी मार्फत् सिधै पिआर (स्थायी बसोबास पत्र) का लागि आवेदन दिएर बसेका रहेछन्। इनड्राइभ चलाएर दिनको तीन हजार रूपैयाँ कमाइ हुने र आफ्नो मर्जी काम गर्न पाइने भएर चलाउन थालेका रे! क्यानडाको पिआर हात नपरून्जेल चलाउने सोचेका रहेछन्।
सोही साँझ महाराजगञ्जबाट डिल्लीबजार आउँदा अर्का बाइकवाला भेटिए। विश्व नामका। घर बनाउने ठेकेदारले आफूले काम लिएर उनको तीन जनाको टिमलाई दोहोरो ठेक्कामा दिने रहेछ। कोरोनादेखि मुख्य ठेकेदार नै काम नपाएर बसेको रहेछ। उनको टिमका दुई जना काम नपाएपछि कतार पुगेछन्। उनी अहिले इनड्राभ चलाउँदै रहेछन्। तर अवस्था हेरेर विदेश जान पर्ने बाध्यता भएको उनले बताए।
यी त मेरा दुई दिने यात्राका तीन सारथि मात्र भए। नेपालमा मानिसहरू रहर, बाध्यता, वा दुवै कारणले बिदेसिइरहेका छन्। हजारौं यसरी नै दिनहुँ काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल र भारततिर कामका लागि उडिरहेका, गुडिरहेका, हिँडिरहेका भेटिन्छन्।
सबै जना बाहिरिँदैछन्
सन् २०१३ मा अध्येता जगन्नाथ अधिकारी र मेरी हब्लीको एउटा अध्ययन रिपोर्ट छापियो।
शीर्षक थियो — एभ्रिवान इज लिभिङ, हु विल सोअ आवर फिल्ड्स अर्थात् सबैजना बाहिरिँदैछन्, हाम्रोमा रोपाइँ कसले गरिदेला!
केही समय पहिले व्यापक संख्या नेपालीहरू गाउँबाट सहर र विदेशतिर दौडिँदै थिए। सहर, त्यसमा पनि मुख्यतः काठमाडौंले केही मानिसहरूलाई तानेको/धानेको थियो। तर अब सहरले पनि मानिस थेग्न छोडेको छ। नेपालबाट बिदेसिने मानिस ह्वात्तै बढेका छन्— एभ्रिवान इज लिभिङ, इन्डिड!
मैले २०६७ सालमा एउटा आप्रवासन अध्ययन संस्थामा काम सुरू गर्दा वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दिनमा औसतमा हजार-बाह्र सय मानिस बिदेसिन्थे। पछिल्लो (आर्थिक वर्ष २०८०/८१) मा यो औसत दिनको दुई हजारभन्दा माथि थियो। यो श्रम स्वीकृति लिएर जानेको मात्र तथ्यांक हो। पढ्न जाने, भारत जाने, र श्रम स्वीकृति नलिई (अनियमित) जाने, र पिआर (स्थायी बसोबास पत्र) वा अन्य आप्रवासन स्वीकृति लिएर बिदेसिने मानिस जोड्दा यो संख्या अझै बढ्छ।
यसरी विदेश जाने मानिसहरूले पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ। नेपालीहरूको औसत आम्दानी बढेको छ। गरिबीको रेखाबाट थुप्रै मानिस माथि उठेका छन्। दैनिक उपभोग सजिलोसँग गर्न सकेका छन्। कसैले लगानी गर्न पनि थालेका छन्। तर रेमिटेन्सले जीविका धान्ने बाहेक संरचनागत, सामाजिक र आर्थिक हिसाबमा दिगो परिवर्तन आउन सकेको छैन।
हुन त नेपालले अपनाएको गरिबी नाप्ने नयाँ मापदण्ड अनुसार सन् २०२२-२३ मा गरिएको नेपाली जीवनस्तर सर्वेक्षणले प्रत्येक पाँचमा एक परिवार अझै गरिबीको रेखामुनि देखाएको छ। विकसित भनिने राष्ट्रहरूको मापदण्ड अनुसार त झनै प्रत्येक पाँचमध्ये दुई नेपाली परिवार गरिब छन्।
सरकारको मुख ताक्नुभन्दा, कुनै हिसाबमा विदेश जाँदा नै परिवारलाई आर्थिक रूपमा सबल बनाउन सकिने सोचेर उनीहरू साहुबाट ऋण र एजेन्ट मार्फत् म्यानपावरको ढोकासम्म पुगेका छन्। मिटरब्याजमा ६० प्रतिशतसम्म ब्याज तिरेर भए पनि मानिस विदेश दौडिएका छन्। यति धेरै ब्याजको ऋण मानिसले किन लिन्छन् भन्ने गणितीय र अर्थशास्त्रीय हिसाब त एकातिर होला, तर मानिसले त्यत्रो पैसा तिरेर विदेश जाने आँट गर्नु चाखलाग्दो विषय हो। केही नेपालीको जोखिम उठाउन सक्ने क्षमता बढेको त होला, तर आम नेपालीले जत्रोसुकै जोखिम लिएर पनि बिदेसिने बाहेक अरू उपाय नदेखेको पनि हाम्रो यथार्थ हो।
साहुको ऋणमा डुबेर गरिबीको चक्रमा फस्ने र विदेशमा चरण श्रम शोषण, मानव अधिकार हनन र यातना भोग्ने नेपालीहरू थुप्रै छन्। मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सन् २०११ मा आफ्नो रिपोर्ट 'फल्स प्रमिसेस' मा नेपालीहरूको आप्रवासनमा देखिएको श्रम र यौन शोषणका कारण यसलाई दासप्रथासँग तुलना गरेको थियो। हालका दिनहरूमा यो अवस्थामा केही सुधार आएको मान्न सकिन्छ। तर बिदेसिने कुरालाई नेपाली वृत्तमा नकारात्मक रूपमै हेर्ने गरिएको छ। यसबारे तलको खण्डमा चर्चा गर्नेछु।
वैदेशिक रोजगारमा जाने थुप्रै मानिसहरू अस्थायी रूपमा बिदेसिन्छन्। सुरूमा दुई वा तीन वर्षको करार लिएर जान्छन्। त्यसपछि उनीहरू फेरि करार र श्रम स्वीकृति नवीकरण गर्छन्। मुख्यतया मलेसिया र खाडीमा जाने कामदारहरू आठ-दस वर्षपछि नेपाल फर्किन्छन्। किनभने, ती देशमा आप्रवासी कामदारलाई युरोप, क्यानडा र अस्ट्रेलिया जस्तो पिआर दिने चलन छैन। उनीहरू विदेशमा १८ देखि ४० वर्षको उमेरसम्म काम गरेर नेपाल फर्किएर केही व्यवसाय गरेर बस्ने गर्छन्। '४० कटेसी रमाउँला' गीत यिनै दु:खको मापन हो।
हाल यो अवस्थामा परिवर्तन आउन थालेको छ। केही वर्ष खाडीमा बसेर आएका मानिसहरू, माथि उल्लिखित केशवजस्तै क्रोएसिया, रोमानिया, पोर्चुगल, साइप्रस, लगायत देशहरूमा श्रम स्वीकृति लिएर जान थालेका छन्। एक त त्यस्ता युरोपेली देशमा दक्ष वा अदक्ष कामदारको आवश्यकता छ। तर युरोप छिरेपछि कुनै न कुनै रूपमा पिआर लिएर उतै बसोबास गर्ने आश पनि नेपालीहरूको छ। झन् युक्रेनसँग युद्ध गर्ने रूसी सेनाका विदेशी लडाकुलाई रूसी नागरिकता र पासपोर्ट दिने रूसले बताएपछि नेपालबाट मात्र होइन, थुप्रै विकासोन्मुख देशबाट रूसी सेनामा आबद्ध हुने क्रम बढेको छ।
यस अर्थमा, आम नेपालीहरूको वैदेशिक रोजगारबाट आय मात्र बढेको छैन, उनीहरूको रोजगारका गन्तव्यहरू पनि परिवर्तन भएका छन्। उनीहरूको केही वर्ष काम गरेर कमाएर नेपाल मै केही व्यवसाय सुरू गरौं भन्ने कथन हाल परिवर्तन भएर अझ सामाजिक-आर्थिक-राजनीतिक रूपमा खुला युरोप, उत्तर अमेरिका र अस्ट्रेलियातिर बसोबास गर्न जाने सपनामा परिणत हुँदैछ।
यसरी हेर्दा नेपालीहरूको अझै ठूला सपना देख्न थालेका छन्। उनीहरूको गन्तव्य फराकिला भएका छन्।
नेपालीहरू नेपालमै सीमित रहेर बस्नुपरेको छैन। आजको युगमा कोही कुनै ठाउँमा अड्केर बस्नु नपरेकै ठीक हो। बसाइँसराइको स्वतन्त्रता आधारभूत मानव अधिकार हो।
तर नेपाली आप्रवासन सजिलो छैन। यो रहर र बाध्यताको दोसाँधमा अल्झेको छ।
एउटा सरदर (आम) नेपालीले सरकारबाट के खोज्छ? प्लस-टु पास गरेको एउटा विद्यार्थीका अगाडि काम र पढाइका के-कस्ता उपायहरू हुन्छन्? सँगै पढेको साथीले अमेरिकामा कार अगाडि उभिएर खिचेको फोटो देखेपछि एउटा नेपालमै स्नातक पढ्दै गरेको विद्यार्थीले आफ्ना सपना कसरी बुन्छ? छोराछोरी राम्रो वा महँगो स्कुलमा पढाउन र सहरमा एउटा सानो घर बनाउने सपना देखेको एउटा परिवारले नेपालमै कमाएर त्यो सपना पूरा गर्न कत्तिको सक्षम हुन्छ? कुनै विषयमा पिएचडी गर्न खोजेको विद्यार्थीले त्यही विषयमा विभिन्न खोज र आविष्कार गर्न उसलाई नेपाल सरकारले कति सहयोग गर्छ? ३० लाखसम्मको ऋण लिएर एउटा मानिस नेपालमै व्यवसाय नगरेर किन विदेश जान खोज्छ? कुनै रोग लागेर महँगो स्वास्थ्य उपचार लिन गाह्रो परिरहेको एउटा सामुदायिक स्कुलको शिक्षकले देशमा रहेका सरकारी अस्पतालमाथि कत्तिको भरोसा गर्न सक्छिन्?
माथिका सबै मानिस कुनै समय विदेश गएर सिकेको ज्ञान र सीप नेपालमा ल्याउन चाहन्छन् भने नेपाल सरकारले उसलाई कसरी स्वागत गर्छ? नेपालले विकसित भनिएका मुलुकहरूले दिने तलब, सुविधा र सामाजिक स्वतन्त्रतासँग कसरी प्रतिस्पर्धा गर्न सक्छ? यदि नेपालले सक्दैन भने यो देश छाडेर कोही किन विदेश नजाओस्?
र, यदि नेपालमै बसेर आफ्ना सपनाहरू पूरा हुन सक्दैनन् भन्ने ठम्म्याएर कोही विदेश जान्छ भने, त्यो कुरालाई सकारात्मक ढंगमा लिएर उसले पठाएको रेमिटेन्स र आर्जन गरेको ज्ञानलाई नेपालले आफू अनुकूल प्रयोग गर्न किन खोज्दैन?
नेपालले बिदेसिनुलाई नकारात्मक भनी प्रचार मात्र नगरेर भूमण्डलीकरणको युगमा बसाइँसराइलाई आफू अनुकूल कसरी बनाउन सक्छ? बिदेसिनु पछाडिको भाष्य कसरी परिवर्तन गर्न सकिन्छ?
आप्रवासनको क्षेत्रमा वर्षौं अध्ययन गरेका प्राध्यापक हाइन डी हास, नोबेल पुरस्कार विजेता अर्थशास्त्री र दार्शनिक अमर्त्य सेनको 'क्षमताको सिद्धान्त' (केपेबिलिटी थ्योरी) लाई बसाइँसराइसँग जोडेर भन्छन् — मानिस एउटा ठाउँबाट अर्को ठाउँमा जान उसमा क्षमता र आकांक्षा दुवैको घम्साघम्सी हुन्छ। यसरी भाग लगाउँदा चार खाले बसाइँसराइको मापन गर्न सकिन्छ।
१. आकांक्षा र क्षमता दुवै भएका। यी सीप भएका, पढे-लेखेका र आर्थिक-सामाजिक हिसाबमा सक्षम मानिस हुन् जसलाई बसाइँसराइ गर्ने मन छ र त्यो गर्ने क्षमता पनि छ।
२. आकांक्षा नभए पनि बाहिरिन बाध्य। यी मानिसहरू सीपको कमी र निम्न आर्थिक अवस्थाले गर्दा आकांक्षा नभए पनि बाहिरिन बाध्य हुन्छन्।
३. आकांक्षा भएका, क्षमता नभएका। यी धेरैजस्तो सीप, ज्ञान र आर्थिक दृष्टिकोणले असक्षम मानिस हुन् जसलाई बसाइँसराइ गर्नुपर्ने आकांक्षा र बाध्यता दुवै छ तर उनीहरू बाहिरिन असक्षम छन्। उनीहरूलाई यथास्थानमै बस्नुपर्ने बाध्यता छ। अंग्रेजीमा उनीहरूलाई 'ट्र्याप्ड पपुलेसन' (अर्थः अड्किएको, अल्झिएको, फसेको जनसंख्या) भनिन्छ।
४. आकांक्षा नभएका, क्षमता भएका। यी मुख्यतया आर्थिक सामाजिक रूपले सम्पन्न मानिस हुन जसलाई बाहिरिने आकांक्षा हुँदैन तर चाहेमा उनीहरू बाहिरिन सक्छन्। उनीहरूले पैतृक सम्पति वा आफ्नै बलबुतामा यथास्थानमै केही गरेर बसेका हुन्छन्। उनीहरूलाई बिदेसिनुभन्दा यथास्थानमै बस्दा फाइदा हुन पनि सक्छ।
रहरले विदेश जाने (मुख्यतया पढ्न वा बसोबास गर्न) र बाध्यताले विदेश जाने मानिसबीच ठूलो खाडल छ।
जस्तै, माथि उल्लिखित केशव (बाख्रा मरेपछि क्रोएसिया जान लागेका) लाई कुशल (क्यानडा जान थालेका) को भन्दा बढी बाध्यता होला। कुशललाई भने क्यानडा जाने, पढाइ अगाडि बढाउने, पिआर लिने र उतै घरजम गर्ने रहर बढी र बाध्यता कम होला। त्यस्तै, विश्व (सह-ठेकेदार) लाई ठेक्काको काम पाउँदा विदेश जाने न रहर थियो न बाध्यता। काम नपाउन थालेपछि विदेश मात्रै यस्तो उपाय हुनेछ जहाँबाट उनले खोजेजति कमाउन सक्नेछन्। दिनको तीन हजार रूपैयाँ त पठाओ र इनड्राइभबाटै कमाउँदै थिए। तेल कटाएर दिनको २ हजार रूपैयाँ त बचिहाल्थ्यो।
तर केशव र कुशलले खोजेको दिनको दुई हजारभन्दा बढी आर्थिक आम्दानी मात्र थिएन। उनीहरूले विदेशमा गएर उतै घरजम गरेर आफू र आफ्नो परिवारलाई पनि सुखी जीवन दिन खोजेका थिए। उनीहरूले विदेशी नागरिकता र सोसँगै आउने स्वतन्त्रता खोजेका थिए। आफूले दुःख गरेर भए पनि आफ्नो सन्तानका सुनौला सपना पूरा गर्ने अठोट बोकेका थिए।
यो मानेमा बिदेसिनु आर्थिक उन्नतिका लागि मात्र होइन। नेपालको सूचना-प्रविधि (आइटी) क्षेत्रले अर्बौं देशमा भित्र्याउँदै माहिनामै लाखभन्दा धेरै कमाउने मानिस पनि बिदेसिन खोजिरहेकै छन्। थुप्रै पश्चिमा देशहरूले राम्रो पारिश्रमिक मात्र नदिएर थुप्रै सामाजिक कल्याणका कार्यक्रम, जस्तै निःशुल्क स्वास्थ्य सेवा र शिक्षाका साथै नागरिकता समेत दिएर क्षमतावान मानिसहरूलाई आफ्नो देशमा टिकाउने प्रयास गरिरहेका छन्।
अब सोचौं नेपालले के गरिरहेको छ?
नेपालले के गरिरहेको छ?
यो प्रश्नको सजिलो उत्तर, नेपालले केही पनि गरिरहेको छैन नै हो।
अझ रिस उठ्दो उत्तर हो, नेपालले बिदेसिएका नेपालीहरूलाई 'भिलेन' बनाइरहेको छ।
देशप्रेमले ओतप्रोत गीत सुनेर रौं ठाडो बनाउनेबाहेक एउटा आम नेपालीले देशमै बसेर थोरै मात्र गर्न सक्छ। नेपालमै बसेर राम्रै गर्न कि त त्यो मानिस असामान्य हुनुपर्यो, कि अति धनी हुनुपर्यो, कि विदेश बसेर वाक्क भएर फर्केको हुनुपर्यो।
नेपाललाई, अझ विशेषगरी नेताहरूलाई, नेपालीहरूले पठाएको रेमिटेन्स पनि चाहिएको छ, तर बिदेसिएका नेपालीहरूलाई झुर फिल्मको खलनायकजस्तो पनि बनाउनै परेको छ!
विदेशबाट पठाएको रेमिटेन्सले नेपालको गरिबी घटाउन यति ठूलो योगदान गरेको छ कि, त्यो कुनै पनि नेपाली नेताको दिएको योगदान भन्दा कयौं गुणा ठूलो छ। तर पनि नेताले भाषणमा विदेशमा काम गर्न वा पढ्न गएका नेपालीलाई गाली गरिरहेकै छन्। मानौं, सो नेपालीले विदेश गएर ठूलै पाप कर्म गरेको छ।
चाहे सत्तारूढ दलका नेता हुन् वा विपक्षी दलका वा आउटडेटेड (थोत्रो) विचारधारा बोकेर राजनीति गरिरहेका मानिस हुन्, उनीहरू नेपालीले बाध्यता भएरै नेपाल छोड्नुपरेको हो भन्ने निर्णयमा पुगेका छन्।
हुन त जुनै राजनीतिक व्यवस्था आए पनि नेपालीहरूको आर्थिक अवस्थाले छलाङ मार्न सकेको छैन। पैसा कमाउने उपायका नाममा जग्गा किनबेच र सेयर कारोबार बाहेक अन्य उपाय नदेखेका मानिसहरू नेपाल छाडेर अन्यत्र गइरहेका छन्। यसमा राजनीति गर्दै सबै नेता र दलले आफ्नो सत्ता आएका बेला, सो अवस्थाको अन्त्य हुने उद्घोष गर्छन्।
नेताहरूलाई नेपाली विदेश बसेकामा समस्या भए नेपालीलाई विदेशबाट फर्काउने नीति बनाउनुपर्नेमा उल्टै झन् पर धकेल्ने भाषण गर्छन्। नीतिगत तहमा बिदेसिएका नेपालीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न पछिल्ला बीस वर्षमा के भए? ग्लोबलाइज्ड (भूमण्डलीकरण) को विश्व अर्थतन्त्रले आइटीमा फड्को मार्दा सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्ने के कस्ता प्याकेज ल्यायो? आइटी बाहेकका सामान्य नेपालीले काम गर्ने क्षेत्र, जस्तै शिक्षण, ज्यालादारी, कृषि, पर्यटन, होटल, व्यवसायमा काम गर्ने मानिसले लाखौं कमाउने वातावरण बनाउन सरकारले के गर्यो?
नेपालीहरूले विदेश गएर गरेका उडानहरूलाई उदाहरणीय घोषित गरेर उनीहरूको सीप, ज्ञान र क्षमताबाट फाइदा लिन नेपालले के गर्यो? रौं ठाडा हुने भाषण बाहेक नेपाली नेताले के गरे?
बिदेसिनुलाई दानवीकरण गर्नुको साटो यसबाट सम्भावना खोज्न र विदेश गएकाहरूले कमाएको पैसा, आर्जन गरेको ज्ञान र सिकेको सीपको कदर गर्न ढिलो भइसकेको छ।
विश्वका थुप्रै देशहरू तीव्र आर्थिक विकास गरिरहेका बेला नेपालको आर्थिक उन्नति अझै कछुवा गतिमै छ। आफू कछुवा गतिमा विकास गर्ने अनि आफ्ना नागरिकलाई विदेश नजाऊ वा विदेश जानु ठीक होइन भन्ने कुरा त मिलेन नि!
(लेखक सञ्जय शर्मा समाजशास्त्री हुन्। उनी विगत डेढ दशकदेखि नेपालको आप्रवासन अध्ययन गर्दैछन्। हाल उनी डेनमार्कको अहुस युनिभर्सिटिसँग आबद्ध छन्।
एक्स (ट्वविटर)- @khetaarey