इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको साउन १४ गते सम्मको तथ्यांक अनुसार हालसम्म ७३ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ। उक्त संक्रमणबाट दुई हजार ६१ जना संक्रमित छन्।
सबभन्दा बढी डेंगी संक्रमित काठमाडौंमा १२.१ प्रतिशत छन् भने झापामा ६.३ प्रतिशत र चितवनमा ५.१ प्रतिशत छन्। सबैभन्दा कम संक्रमित ओखलढुंगा र धनकुटामा छन्।
अहिलेसम्मको तथ्यांक हेर्दा मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ। अर्थात् यी चार जिल्लाहरूलाई छोडेर बाँकी सबै हिमाली जिल्लाहरूमा संक्रमण पुगेको देखिन्छ। त्यसो हो भने के डेंगी लामखुट्टेले हिमाली हावापानी पछ्याएको हो?
सन् २००४ मा पुष्टि भएको डेंगी भाइरस दुई दशक पनि पूरा नहुँदै नेपालका हिमाली भेगसम्म देखिन सुरू हुनु गम्भीर कुरा हो। यसको कारण जलवायु परिवर्तन हो भन्ने मत धेरै छ।
अध्ययनहरूले पनि नेपालमा बर्सेनि तापक्रम बढ्दै गएको देखिएको छ। यसबाट उष्ण प्रदेशीय क्षेत्र (तराईका क्षेत्रहरू) मा मात्र देखिँदै आएको संक्रामक रोगहरू बिस्तारै पहाडी क्षेत्र हुँदै हिमाली भेगसम्म देखिन सुरू भएको छ।
केही समयअगाडि म सम्मलित एउटा टिमले गरेको एक अनुसन्धानले तराईमा मात्र देखिने कालाज्वरो रोग डोल्पा जस्तो हिमाली भेगमा समेत पत्ता लगाएका थियौं। त्यस्तै मलेरिया परजीवी पनि भारत तथा भुटानका हिमाली भेगमाहरूमा देखिँदै आइरहेको छ।
मैले नै सन् २०११ मा नेपालमा पहिलोपटक उष्ण प्रदेशीय क्षेत्र (तराईका १३ जिल्ला) मा मात्र देखिँदै आइरहेको किटजन्य संक्रामक रोग कालाज्वरो पहाड उक्लिएको लेख मेडिकल जर्नलमा प्रकाशित गरेको थिएँ।
डेंगीको सवालमा पनि सन् २०१० मा मैले अनुसन्धानबाट सुरूका डेंगीका बिरामीहरू काठमाडौंमा नै संक्रमित भएको प्रमाणित गरेको थिएँ। त्यसयता काठमाडौंमा दुई तीन वर्षको अन्तरालमा डेंगी प्रकोप देखिँदै आइरहेको छ। डेंगीको सबैभन्दा ठूलो प्रकोप पनि सन् २०२२ मा काठमाडौंमै देखिएको थियो।
काठमाडौं पहाडी क्षेत्रमा पर्ने सहर हो र यसले उष्ण प्रदेशीय क्षेत्र (तराईका क्षेत्रहरू) बाट पहाडतिर फैलिँदै गएको संक्रामक रोगको भौगोलिक 'सिफ्टिंङ ट्रेन्ड' स्पष्ट देखिन्छ। अर्को कुरा भनेको तराईमा मात्र देखिँदै आएको किटजन्य संक्रामक रोगहरू पहाड तथा हिमाली क्षेत्रमा पनि फैलिँदै जानुमा यातायातको सहज पहुँचलाई पनि मान्न सकिन्छ। यातायातको सहज पहुँचले लामखुट्टेको आवतजावतलाई पनि सहज बनाइरहेको हुन्छ।
जस्तो कि सन् १९६९ मा पहिलोपटक 'एयरपोर्ट मलेरिया' देखिएको थियो। त्यसयता दर्जनौं एयरपोर्ट मलेरिया खासगरी लामखुट्टेमुक्त देशहरूमा देखिँदै आएको छ। विगतको दशक (सन् २००० देखि २००९) भन्दा अहिले (सन् २०१० देखि २०२०) युरोपमा ७.४ गुणा बढी 'एयरपोर्ट मलेरिया' को बिरामी बढेको अनुसन्धान (जर्नल माइक्रोअर्गानिजम, २०२१) ले देखाउँछ।
'एयरपोर्ट मलेरिया' भन्नाले लामखुट्टेमुक्त देशमा लामखुट्टे (मलेरिया संक्रमण) कुनै माध्यमबाट जहाज वा यात्रुको समानभित्र बसेर एयरपोर्टलाई आफ्नो बासस्थान बनाएर बस्ने भन्ने बुझ्नुपर्छ। त्यस्तै डेंगी फैलाउने लामखुट्टे (एडिस जातको लामखुट्टे) पनि यातायातका साधनमार्फत् उच्च पहाडी वा हिमाली भेगसम्म पुग्न सक्छ र पछि त्यस क्षेत्रलाई आफ्नो बासस्थान बनाई आफ्नो वृद्धि विकास गरी जीवनचक्र पूरा गर्न थाल्छ। सम्भवत 'एयरपोर्ट मलेरिया' जस्तै नेपालमा पनि डेंगी फैलाउने लामखुट्टे नयाँ स्थानमा पुगेर स्थानीय रूपमा संक्रमण फैलाएको हुनसक्छ। सो अवस्थामा जलवायु परिवर्तन मात्र नभएर लामखुट्टे स्वयंले नयाँ भूगोलमा आफूलाई ढाल्न सक्नु पनि हो।
डेंगी हाल हिमाली लगायत ७३ जिल्लाहरूमा पुष्टि हुनुले ती सबै जिल्लाहरूमा डेंगीको थ्रेट छ भन्ने हुँदैन। किनकी ती ठाउँमा स्थानीय लामखुट्टेले मात्र टोकेर संक्रमित भएको नहुन सक्छ। अर्थात् संक्रमण आयातित पनि हुनसक्छ।
जस्तै: काठमाडौंमा डेंगी प्रकोप देखिनुपूर्व दक्षिण भारतमा पढ्न गएका संक्रमित विद्यार्थीलाई मैले नै उपचार गरेको थिएँ। उनीहरूमा त्यो बेला देखिएको डेंगी संक्रमण आयातित थियो। तसर्थ नेपालका ७३ जिल्लामा देखिएको भनिएको सबै संक्रमित स्थानीय लामखुट्टेको टोकाइबाट मात्र नभई आयातित पनि भएको हुनसक्छ। किनभने कतिवटा जिल्लामा लामखुट्टे स्थानीय रूपमा आफ्नो जीवनचक्र पूरा गरिरहेको छ भन्ने ठोस अध्ययन भएको देखिँदैन। हाल सबै जिल्ला (४ जिल्ला छोडेर) तराई, पहाड र हिमालमा डेंगी सक्रमण देखिँदा लामखुट्टेको उपस्थिति र जीवनचक्र यकिन गर्न आवश्यक छ।
अन्ततः डेंगी संक्रमण नेपालको ७३ जिल्लामा देखिनु राम्रो संकेत भने पक्कै होइन। तर यसलाई लिएर अहिले नै डेंगी लामखुट्टेले हिमाली हावापानी पछ्याएको हो भनेर भनी हाल्ने अवस्था पनि होइन। यसका लागि डेंगी लामखुट्टेको भौगोलिक 'सिफ्टिंङ ट्रेन्ड' कसरी भइरहेको छ भनेर अनुसन्धान गर्न जरूरी छ। साथै पछिल्लो समय डेंगी संक्रमण वर्षको बाह्रै महिनाजसो देखिने हुँदा अनुसन्धानको विषय थप पेचिलो बनेको छ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)