धनुषाकी अस्मिता मन्डल अचेल अमेरिकास्थित मिनिसोटा राज्यमा छिन्। उनी सेन्ट ओलाफ कलेजमा राजनीति शास्त्र, अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्दै छिन्।
यसअगाडि उनले नर्वेको युनाइटेड वर्ल्ड कलेज रेड क्रस नर्डिकबाट आइबी कोर्स सकेकी हुन्।
पढाइकै दौरान उनी विभिन्न क्लबमा सामेल छिन्। उनी र अर्की नेपाली साथीले सन् २०२३ मा 'नाट्य' नामक एक क्लब दर्ता गरेका छन्।
अमेरिकामा रहँदा उनीहरूलाई महसुस भयो — दक्षिण एसियाको नृत्य, संगीतको कुरा गर्दा उनका साथीहरूले बलिउड सिनेमाको मात्र कुरा गरे। धेरैलाई दक्षिण एसियामा बलिउडका अलावा पनि नृत्य र संगीतको अस्तित्व छ भन्ने थाहा थिएन।
त्यसैले उनीहरूले नेपाल र दक्षिण एसियाको नृत्यको इतिहास प्रस्तुत गर्ने उद्देश्यले यो क्लब दर्ता गरे। यस क्लबमा उनीहरूबाहेक अरू देशका २५ साथीहरू पनि जोडिएका छन्।
त्यस्तै अस्मिता 'सेलेब्रेट साउथ एसिया' नामक दक्षिण एसियाका विद्यार्थीलाई एक ठाउँ ल्याउने क्लबमा छिन्। दक्षिण एसियाको इतिहास र स्मृतिका लागि आयोजित 'ओमकारा' नामक प्रदर्शनीमा पनि उनी सहभागी भइन्।
उनी एक सेमेस्टर पढ्न सन् २०२४ को डिसेम्बरमा इटाली जान लागेकी छिन्।
यसरी सपनाको उडान भरिएको अस्मिताको वर्तमान सजिलोसँग निर्माण भएको थिएन। ६-७ वर्ष अगाडि उनी यस्तो सोच्न समेत सक्दिन थिइन्।
विगत सम्झिँदै उनी भन्छिन्, 'कहिलेकाहीँ एक्लै बस्दा सोच्छु, कतै सपना त देखिरहेकी छैन! म साँच्चिकै यहाँ हो? धनुषामा सुतिरहेका बेला सपना देखेर यहाँ आइपुगेकी त होइन नि?'
आफ्नो उपलब्धिको कारण सुनाउँदै उनी थप्छिन्, 'मेरो शिक्षकको उत्प्रेरणा, महेनत र विश्वासबाट मैले आजको उपलब्धि पाएकी हुँ। धनुषाको बघचौरामा मैले जति मेहनत गर्ने साथीहरू पनि थिए। तर सबैले म जस्तो शिक्षक र छात्रवृत्ति पाएनन्। सबैका शिक्षकले मलाई जस्तो एक्सपोजर र अवसर दिएनन्। सबैका शिक्षकले आफ्ना विद्यार्थीका लागि लडेनन्।'
आज अस्मिताका आमाबुबा खुसी छन् र आफ्नो छोरीप्रति गर्व गर्छन्। धनुषाको घरमा हुँदाभन्दा आज अस्मितालाई आफ्नो परिवारसँग नजिक महसुस हुन्छ। परिवारको निर्णयमा पहिले अस्मिताको कतै सहभागिता हुँदैन थियो। आज घर सल्लाहका लागि उनको आमाबुबाले सानो सानो कुरा पनि सोध्छन्।
विगत र वर्तमानको फरक सुनाउँदै उनी भन्छिन्, 'आज परिवारमा मेरो विचारले पनि फरक पार्छ। मेरो आवाज सुनिन्छ। पहिले त म परिवारको हिस्सा नै थिइनँ जस्तो लाग्छ।'
के कारणले अस्मिता संसारको विभिन्न ठाउँ पुगिरहेकी छिन्? के कारणले उनी आफ्नो परिवारसँग झनै नजिक भइन्? आउनुहोस्, अस्मिताको जीवनलाई फर्किएर हेरौं।
संघर्षपूर्ण बाल्यकाल
अस्मिता धनुषास्थित हंसपुर नगरपालिकाको बघचौरा गाउँमा जन्मिएकी हुन्। उनका एक दाइ र एक भाइ छन्। प्राथमिक तहको विद्यालयमा हुँदा आफू छुकछुके भएको उनलाई याद छ। उनलाई शिक्षकको डर थिएन। विभिन्न प्रतियोगिताहरूमा भाग लिन्थिन् र ती प्रतियोगितामा अरूलाई हराउनु पर्छ भन्ने भावना उनमा थियो।
कक्षा ५ पछि अस्मिता घरमा 'छोरी ठूली भई' भनेको सुन्थिन्।
सानैदेखि घरमा उनलाई आमााबुबाले भनेको याद छ, 'खाना पकाउन सिक्नुपर्छ। पछि बिहे गर्ने हो र बुढाको घर र बच्चा सम्हाल्ने हो।'
सानो उमेरमा त्यो के भनेको होला, उनी खासै बुझ्दिन थिइन्।
उनको गाउँमै छोराहरूलाई स्कुल पठाउनेबाहेक अभिभावकले ट्युसन पनि पढ्न पठाउँथे। छोराप्रति आमाबाबुको सपना हुन्थ्यो। तर छोरीप्रति हुँदैन थियो। कसरी दाइजो कम गराउने भन्ने सोच मात्र हुन्थ्यो।
अस्मितालाई पनि ट्युसन पठाइएको थिएन। तर उनले घरमा झगडा गरिन् र जबर्जस्ती ट्युसन भर्ना गर्न लगाइन्।
घरमा आमाले गाली नगर्नुहोस् भनेर उनी बिहान ४ बजे नै उठ्थिन्। घरको काम सक्थिन् र ६ बजे ट्युसन पढ्न पुग्थिन्। ट्युसनपछि स्कुल जाँदा ५ मिनेट ढिलो भए पनि शिक्षकले पिट्ने भएकाले उनी कति दिन त खाना खान घर जाँदिन थिइन्। बेलुका ४ बजेसम्मै भोकै हुन्थिन्। बेलुका पनि उनी घरको काममा व्यस्त हुन्थिन्।
उनी आफ्नो दाइलाई देख्थिन् — घरमा केही कुराको अवरोध थिएन, जुन सुकै समयमा घर बाहिर जान सक्थे। राति जति बेला पनि आउन सक्थे। घुम्न जान बन्देज थिएन।
अस्मितालाई भने सहजै कुनै कुराको पनि अनुमति थिएन। उनी प्रायः घरकै काममा केन्द्रित हुनुपर्थ्यो।
खाने समयमा पनि परिवारमा महिला सदस्यमाथि विभेद थियो। राति सबै पुरूषलाई खुवाइसकेर मात्र उनी, आमा र हजुरआमा खाना खान्थे। भाँडा माझेर सुत्दा राति १२ बजिसक्थ्यो। उनलाई सबै गृहकार्य सकेर स्कुल जान पनि हम्मे थियो। उनी धेरै गृहकार्य एउटा कक्षाबाट अर्को कक्षाको बीचमा हुने पाँच मिनेट जति खाली समयमा गर्थिन्।
बेला बेला उनी सोच्थिन् — मेरो घरमा पनि मलाई सिकाइदिने कोही भए!
उनका बुबा ८ कक्षा मात्र पढेका थिए र पढाइमा रूचि थिएन। कापी किन्न पनि हजुरआमाको 'सोर्स' लगाउनुपर्थ्यो।
अस्मिता कक्षा ८ मा हुँदा उनका धेरै केटा साथीहरूलाई उनीहरूका अभिभावकले निजी स्कुलमा भर्ना गरिदिएका थिए। उनले पनि बुबालाई आफूलाई निजी स्कुलमा भर्ना गरिदिन भनिन्। भएन।
उनलाई धेरैजसो शिक्षकहरूको पढाउने तरिका पनि झ्याउ लाग्थ्यो। आज पनि ती शिक्षकप्रति उनको गुनासो छ।
उनी सम्झिन्छिन्, 'कक्षाको आधा समय त शिक्षकहरूले सबैले किताब ल्याएको छ कि छैन भन्ने हेर्दा नै बित्थ्यो।'
कक्षा ८ मा पढ्दादेखि नै उनको घरमा आफ्नै सहपाठी साथीहरूको बिहेको कार्ड आउन सुरू गर्यो।
एक दिन जाडो मौसममा घुर तापेर बसेका बेला उनकी हजुरआमाले पनि बुबा र आमालाई भन्नुभयो, 'अब यसको पनि बिहे गरिदिनुपर्छ।'
त्यसपछि उनलाई डर लाग्न थाल्यो। गाउँका मान्छेहरूले पनि कुरा गर्न थालिसकेका थिए। कक्षा १० सम्म पढ्यो भने दाइजो कम लाग्छ भन्ने चर्चा हुन्थ्यो। यो सबै सुन्दा उनको मन दुख्थ्यो। उनी रून्थिन्। उनलाई त्यो समयमा बिहे गर्ने मन थिएन। पढाइमा हुटहुटी थियो तर सपना थिएन। उनलाई सपना देखाउने मान्छेहरू थिएनन्।
सपना देखाउने शिक्षकहरूसँगको भेट
कक्षा ८ मा पढ्दा नै एक संस्थाबाट उनको स्कुलमा तीन शिक्षक पुगे। उनीहरूको पढाउने शैली र मेहनत उनलाई गजब लाग्यो।
एक दिन समी मिस र पार्वती मिस उनको घर पुगे। त्यो समयसम्म उनीहरू जसरी अरू शिक्षक उनको घर पुगेको अस्मितालाई थाहा थिएन।
आमाबुबाको अगाडि दुई शिक्षकहरूले अस्मितालाई सोधे, 'के पढ्न मन छ?'
जे भए पनि बोलिदिऊँ भन्ने सोचले डराउँदै अस्मिताले भनिन्, 'नर्स।'
समी र पार्वती मिसले उनका बुबालाई अहिल्यै नै अस्मिताको बिहे नगरिदिनू भनेर सम्झाएर गए।
शिक्षकले आफूप्रति चासो देखाएको देखेर अस्मितालाई अचम्म लाग्यो।
'उहाँहरूले मेरो आत्मबल बढाउनुभयो। केही सपना देख्न सकिन्छ भनेर हौसला भर्नुभयो। त्यसपछि मिसहरू मेरो रोल मोडल हुनुभयो,' अस्मिताले भनिन्।
उनले थप सम्झिइन्, 'मैले केटीहरूको सानै उमेरमा बिहे भएको मात्र देखेकी थिएँ। बिहे भएपछि बुढाको घर गएको, केही समयपछि बच्चा पाएको र बच्चालाई स्याहारेर बसेको मात्र देखेकी थिएँ। घरेलु हिंसामा परेर मृत्यु भएको देखेकी थिएँ। तर मिसहरू फरक हुनु हुन्थ्यो। उहाँहरू देश-विदेश पुग्नुभएको थियो। अरूको सेवाका लागि भनेर हाम्रो गाउँमा खटिरहनुभएको थियो।'
मिसहरू देखेर अस्मिताको आत्मबल बढ्यो।
'मैले चिनेका मानिसमा केटा र केटीलाई समान व्यवहार गर्ने उहाँहरू मात्र हुनु हुन्थ्यो। अरू सबैलाई पनि समान व्यवहार गर्नुपर्छ भनेर सम्झाउनु हुन्थ्यो,' उनले भनिन्।
एक दिन तिनै शिक्षकको पहलमा आवेदन दिएर अस्मिताभन्दा माथिल्लो कक्षाकी एक विद्यार्थीले समानता फाउन्डेसनको छात्रवृत्ति पाइन्। यो छात्रवृत्तिले काठमाडौंको एक कलेजमा चाहेको पढ्ने र खाने-बस्ने सबै निःशुल्क व्यवस्था गरिदिने रहेछ। तर परिवारले ती विद्यार्थीलाई काठमाडौं जान दिएन।
परिवारको तर्क रहेछ, 'केटी मानिसलाई एक्लै छाड्नु हुँदैन। नाक कटाउँछ, सहरीया हुन्छ!'
त्यो देखेपछि अस्मिताले पनि सोचिन् — त्यो छात्रवृत्ति मैले पाएँ भने के हुन्छ?
उनलाई सोचेरै डर लागेर आयो।
उनलाई जबाफ थाहा थियो — हाम्रो समाजमा केटा र केटीमाथि भेदभाव छ। मलाई काठमाडौं जान दिँदैनन्।
शिक्षकको बोलीले बदलिएको कथा
पछि उनको स्कुलमा दुई जना नयाँ शिक्षक आए, महेश सर र लव सर।
उनीहरूलाई सम्झिँदै अस्मिताले भावुक भएर भनिन्, 'उहाँहरूले मेरो जिन्दगी बदलिदिनुभयो।'
उनीहरूले अस्मितालाई समानता फाउन्डेसनको छात्रवृत्तिमा आवेदन दिन लगाए। छात्रवृत्ति पाए पनि जान पाउँछु भन्ने उनको मनमा रत्तिभर विश्वास थिएन।
एकपटक चार दिनको शैक्षिक भ्रमणमा बाहिर जान पनि उनलाई परिवारमा एउटा ठूलै युद्ध जितेजस्तो महसुस भएको थियो। एकपटक केही दिनका लागि उनी जनकपुर बसेकी थिइन्। त्यो बेला घरबाट बाहिर पाइला राख्न पनि अरूको अनुमति लिनुपर्थ्यो।
उनी भन्छिन्, 'आफ्नै गाउँमा घरबाट खेतसम्म जान पनि परिवारलाई विश्वास थिएन।'
आवेदनको प्रक्रियामा अगाडि बढ्दै अस्मिताले काठमाडौंमा गएर पढ्ने छात्रवृत्ति पाइन्। खुसी हुन भने सकिनन् किनकि उनलाई आफ्नो स्कुलकी सिनियर विद्यार्थीको झल्झल्ती याद आइरहेको थियो। उनको मनमा हर्ष र विस्मात दुवै भयो। उनी हाँस्दै रोइरहेकी थिइन्।
उनको मुटुको धड्कन बढ्न थाल्यो जब महेश सर उनका बुबालाई यो खबर सुनाउन गए। छोरीको उपलब्धिमा बुबालाई छोरीजस्तो खुसी मिलेन। बुबाको मनमा शंका-उपशंका उब्जियो। आफ्नी छोरीलाई काठमाडौं पठाउन बुबालाई डर लाग्यो।
महेश सर बुबालाई सम्झाउन थाले।
बुबा डराउनुको कारण छिमेकमा कहिलेकाहीँ हुने कुराकानी पनि थियो — काठमाडौं गयो भने कसैले तिम्रो छोरी बेचिदिन्छ। तिम्रो परिवार र गाउँको नै इज्जत जान्छ।
महेश सरले बुझाउन धेरै बल गरेपछि बुबाले सोध्नुभयो, 'यो छोरी मान्छे कसरी एक्लै जान्छे? यसले हाम्रो नाक काट्छे।'
महेश सरले हार नमानी सम्झाए — तपाईँको छोरीले तपाईँको नाक काट्दिन। उसले राम्रो काम गर्छे भन्ने मलाई पूरा विश्वास छ।
धेरै समय सम्झाएपछि बुबाले सोधे, 'मलाई केही पनि थाहा छैन। तपाईँ उसको जिम्मा लिन सक्नु हुन्छ?'
महेश सरले भावुक भएर भने, 'अस्मिता मेरो बहिनी हो। म उसको जिम्मा लिन्छु।'
त्यो क्षण सम्झिँदै अस्मिताले भनिन्, 'महेश सरले यति भनेपछि बाबाको केही लागेन। भारी मुटु गरेर मलाई काठमाडौं जाने अनुमति दिनुभयो।'
महेश सरको त्यो एक वाक्यले अस्मिताको जीवनमा चमत्कार गर्यो। उनको जीवन सबै रूपरङ फेरियो।
कहिलेकाहीँ उनी सम्झिन्छिन् — महेश सर उनको स्कुलमा नआइदिएको भए, महेश सरले उनलाई विश्वास नगरिदिएको भए, महेश सरले त्यो क्षणमा त्यो वाक्य नबोलेको भए!
यो कल्पना गर्दा आज पनि उनको मुटु फुलेर आउँछ।
त्यस्तो नभएको भए उनलाई लाग्छ, 'मेरो कतै बिहे भइसक्थ्यो, बालबच्चा भइसक्थे। मेरो एक्लो विद्रोहलाई कसैले सुन्ने थिएन।'
उनको जीवनमा त्यसपछि चमत्कार हुँदै गयो। उनले छात्रवृत्ति पाउँदै गइन्।
नर्वेमा पढ्न पाएको छात्रवृत्ति
समानता छात्रवृत्तिमा हुँदै गर्दा शिक्षकहरूकै सहयोग र सल्लाहमा अस्मिताले 'युनाइटेड वर्ल्ड कलेज' मा छात्रवृत्तिका लागि आवेदन दिइन्। दोस्रोपटक, सन् २०१९ डिसेम्बरमा उनले सफलता पाइन्। यस छात्रवृत्ति अन्तर्गत उनी नर्वेस्थित 'युनाइटेड वर्ल्ड कलेज रेड क्रस नर्डिक' मा भर्ना भइन्।
कलेजमा उनले विश्व राजनीति, अर्थशास्त्र र अंग्रेजी 'हाइअर लेभल' का विषयका रूपमा अध्ययन गरिन् भने 'स्ट्यान्डर्ड' विषय अन्तर्गत गणित, वातावरण अध्ययन र नेपाली साहित्य लिएकी थिइन्। आइबी कोर्सको क्रियाकलाप अन्तर्गत उनी एसओएस स्टुडेन्ट भिलेज, वातावरणीय क्लब, ब्याडमिन्टन र प्राथमिक उपचार टिममा थिइन्।
कोभिडका कारण एक सेमेस्टर उनले नेपालबाटै अनलाइन कक्षा लिइन्। अनि दोस्रो सेमेस्टरका लागि सन् २०२० डिसेम्बरमा नेपालबाट नर्वे लागिन्।
नर्वेमा सुरूआती अनुभव
उनको कलेज नर्वेको फ्लेके भन्ने ठाउँमा थियो। उनी फोर्डाको एयरपोर्टमा ओर्लेर त्यहाँबाट ट्याक्सीमा कलेजतर्फ लागेकी थिइन्।
उनलाई लागेको थियो — धनुषाको उनको गाउँभन्दा जनकपुर ठूलो छ, त्यहाँ ठूला भवन छन्। जनकपुरभन्दा काठमाडौंको संरचना ठूलो छ। काठमाडौंभन्दा त नर्वे ठूलो छ होला।
तर उनले फरक दृश्य देखिन्।
फोर्डाबाट कलेज जाँदै गर्दा बाटामा काठका साना-साना घर देखिए। पानी परिरहेको थियो। वातावरण शान्त र चिसो थियो। बाटोमा कोही मानिस देखिएन। उनलाई आफ्नै गाउँको झल्को आइरहेको थियो।
फोर्डाबाट एक घन्टाको यात्रा उनलाई मुग्लिनबाट काठमाडौं आएजस्तै लाग्यो। डाँडामा केही घर थिए। बाटो घुमाउरो थियो। क्रिसमस आउन लागेकाले बत्तीको झिलिमिली देखिन थालेको थियो।
उनलाई रिँगटा लागे पनि ट्याक्सी चालक उत्साहित भएर देखाउँदै थिए — यो तिमीहरू कहिलेकाहीँ घुम्न आउने ठाउँ हो, यो सपिङ गर्न आउने ठाउँ हो!
क्याम्पस पुगेपछि उनी एक हप्ता क्वारेन्टिनमा बसिन्। क्याम्पसमा उनलाई सुरक्षित महसुस भयो। कहिलेकाहीँ राती १-२ बजे पनि घुम्न निस्किन्थिन्।
यति सुनाउँदै गर्दा अस्मिताले भनिन्, 'म एउटा यस्तो मान्छे थिएँ जसलाई जानकी मन्दिरको बाटो थाहा थिएन। त्यहाँ जान डर लाग्थ्यो।'
निकै सोचमग्न भएर उनले थप सुनाइन्, 'मलाई बघचौरादेखि जनकपुरको बाटो सुरक्षित लाग्दैन थियो। तर यहाँ मध्यरातमा पनि पूरै सुरक्षित महसुस गरेर बाहिर घुमिरहेकी थिएँ।'
कलेजमा सुरूआती अनुभव
सुरूको कक्षामा प्रोफेसरले परिचय गर्न लगाए। उनी थरथर भएर बोलिन्। वातावरण अध्ययनको कक्षा थियो। धेरै कुरा बुझिनन्। प्रोफेसरले कति छिटो बोलेको जस्तो लागेको थियो। शब्दहरू उल्झेको जस्तो लागेको थियो। उनी कक्षामा गुगलमा शब्दको अनुवाद गर्दै बसेकी थिइन्।
पहिलो अर्थशास्त्रको कक्षामा त झन् केही पनि बुझिनन्। प्रोफेसर हंगेरीका थिए। परिचय गर्ने बेला सबैले उनलाई हेरे। उनी डरले थरथर काँपिन्।
त्यते बेला प्रोफेसेले उनलाई सम्झाए, 'नडराऊ, बोल। यिनीहरू तिम्रा साथी हुन्। तिमीहरूले एकअर्कालाई सहयोग गर्ने हो।'
अनि उनलाई साथीहरूले पनि सहज महसुस गराए र उनको आत्मबल बढ्दै गयो।
सुरूमा उनलाई आफ्नो अंग्रेजी राम्रो छैन जस्तो लाग्थ्यो। उनी केही बोलेपछि साथीहरूसँग माफी माग्थिन्। उनलाई लाग्थ्यो — उनले राम्रोसँग कुरा बुझाउन सकिनन्।
पछि साथीहरूले उनलाई सम्झाए — तिमीसँग आधारभूत ज्ञान छ, अंग्रेजी तिम्रो मातृभाषा होइन। त्यसैले माफी नमाग।
नर्वेमा उनी धेरै कुरा देखेर अचम्म परिन् — शिक्षकहरूले पढाउने शैली, विद्यार्थीलाई प्रदान गरेको हौसला, शिक्षकले गर्ने मेहनत, कलेजको सौहार्दपूर्ण र सुरक्षित वातावरण।
उनी धेरैपटक सोच्थिन् — यस्तो नेपालमा पनि भइदिए!
नर्वेपछि अस्मिताले स्नातक पढ्न अर्को छात्रवृत्तिमा आवेदन दिइन्। उनले अमेरिकामा पढ्न पाउने गरी नाम निकालिन्।
भविष्यमा उनलाई व्यवसायमा लाग्न मन छ। अनि नेपालकै अर्थ मन्त्रालय वा विदेशी सहयोगको क्षेत्रमा काम गर्न मन छ।
अस्मिताको नजरमा आदर्श शिक्षक
विभिन्न देशका शिक्षकसँग संगत गरेकाले मैले उनलाई सोधेँ, 'अस्मिता जस्तो विद्यार्थीलाई सिकाउने शिक्षक कस्तो हुनुपर्छ?'
उनले केही बुँदामा यसको जबाफ दिइन्।
पहिलो, विद्यार्थीले नभनी वा भन्न नजान्दा पनि उसलाई के चाहिएको छ भनेर थाहा पाउने हुनुपर्छ। शिक्षण पेसा मात्र होइन, विद्यार्थीलाई सही बाटो देखाइदिने मार्गदर्शक पनि हो।
दोस्रो, आफूले पढाएको कुरा व्यवहारमा उपयोगी होस् भन्ने सोचले सिकाउनुपर्छ।
तेस्रो, विद्यार्थीलाई निरन्तर उत्प्रेरणा दिनुपर्छ। कुनै ज्ञान वा सीप आज आएन भन्दैमा त्यसलाई नराम्रो भन्नु हुँदैन। आत्मविश्वास गुम्ने गरी गाली गर्नु हुँदैन। सम्झाउनुपर्छ। फकाउनुपर्छ। नआएको किन हो भन्ने कारण बुझ्नुपर्छ र त्यहीँबाट समाधान निकाल्नुपर्छ।
चौथो, शिक्षकले विद्यार्थीहरूलाई कथाहरू सुनाउनुपर्छ। कथाहरूले प्रेरणा दिन सक्छन्। विद्यार्थीहरूले परिकल्पना गर्न सक्छन्, सपना देख्न सक्छन्। आफ्नो 'हिरो' देख्न सक्छन्। कथाबाट कुनै कठिनाइ कसरी पार गर्ने, समस्याको समाधान कसरी निकाल्ने, हामी पनि गर्न सक्छौं भन्ने आत्मविश्वास बढ्छ।
पाचौं, कतिपय शिक्षक विद्यार्थीको सफलतामा इर्स्यालु भएको देखेको छु। शिक्षकले त अवसर देखाउनुपर्छ र अवसर दिनु पनि पर्छ। विद्यार्थीको सफलतामा खुसी हुनुपर्छ।
अस्मिताको जिन्दगीको पाठ
केही महिनाअगाडि मैले अस्मिताभन्दा फरक पृष्ठभूमि भएकी संगीता जिम्बाको यस्तै कथा लेखेको थिएँ।
अस्मिता र संगीता दुवैले स्वीकार गर्ने एउटा तीतो यथार्थ हो — उनीहरूलाई शिक्षकले मार्गदर्शन नगरेको भए वा छात्रवृत्ति नपाएको भए उनीहरूको जीवन आज अर्कै हुन्थ्यो। उनीहरू उमेर नपुगी बिहे गर्ने र अपरिपक्व हुँदै बच्चा जन्माउने लाखौंको भिडमा मिसिन्थे। सधैं पितृसत्ताबाट हुने विभेदको सिकार भइरहन्थे। आर्थिक रूपमा परनिर्भर भइरहन्थे।
आज उनीहरूको जीवन फेरिएको छ।
उनीहरूसँग अब जिन्दगीमा धेरै अवसर हुने छन् र त्यसबाट उनीहरूले छनौट गर्न सक्ने छन्। उनीहरूको उपस्थितिबाट उनीहरूको परिवार र समुदायमा परिवर्तन आउने छ। उनीहरू आफै धेरैका 'रोल मोडल' भइसकेका छन्।
उनीहरूको प्रगतिका मूल ३ कारण देखिन्छन्।
एक, शिक्षकले उनीहरूलाई गरेको विश्वास, सहयोग र मार्गदर्शन।
दुई, आर्थिक कठिनाइ भए पनि उनीहरूले छात्रवृत्ति पाउनु।
र, तीन, उनीहरू पढे्न कलेज र त्यहाँका प्रोफेसरहरूले उनीहरूलाई दिएको सहज, सुरक्षित र सिक्ने वातावरण।
हाम्रो देशमा पनि नीतिगत तहदेखि कक्षाकोठासम्म यी पक्षका लागि पहल गर्न सकिन्छ। ताकि, अस्मिता र संगीताले आफ्नै देशमा यस्ता अवसरहरू पाउन्।
असल शिक्षक, अब्बल शैक्षिक वातावरण र आर्थिक प्रत्याभूति हुने हो भने जस्तो पृष्ठभूमिका बालबालिकाहरूको जीवन पनि परिवर्तन हुनेछ।
आखिरमा देशको परिवर्तन भनेको यही नै होइन र?
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)