यस वर्ष पनि एसइईको नतिजा आयो। ५२.१४ प्रतिशत विद्यार्थीहरू कक्षा ११ पढ्न नपाउने भए।
कैयौं वर्षदेखि विभिन्न स्वरूपमा यो क्रम जारी छ।
नेपाल सरकारले शिक्षाको उद्देश्य तोकेको छ, त्यस अनुसार पाठ्यक्रम बनेको छ। पाठ्यक्रमलाई विद्यार्थीमाझ पुर्याउन सार्वजनिक विद्यालयमा सरकारकै संरचनाबाट नियुक्त शिक्षकहरू छन्। सम्पूर्ण शैक्षिक व्यवस्थापनका लागि विभिन्न निकाय र कर्मचारीहरू छन्। शिक्षाको परिकल्पनादेखि पाठ्यक्रम र मूल्यांकनसम्म नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको प्रणाली जिम्मेवार छ।
तर हरेक वर्ष एसइईको नतिजामा बालबालिकाले मात्र 'असफलता' को प्रमाणपत्र पाउँछन्।
के बालबालिका मात्र फेल भएका हुन्? शिक्षा मन्त्रीदेखि शिक्षकसम्मको समग्र प्रणाली फेल भएको होइन र?
यसरबारे हामीले निर्मम भएर समीक्षा गर्ने समय आएको छ।
किन फेल हुन्छन् बालबालिका?
खोज्दै जाँदा विभिन्न कारण हुन सक्छन् — आफूले नपढेर, शिक्षकले नपढाएर, शिक्षकलाई पढाउने सही तरिका थाहा नभएर, बालबालिकाको पढाइमा रूचि नै नभएर, परीक्षाको दिन शारीरिक वा मानसिक स्वास्थ्य ठीक नभएर, आदि।
हाम्रो मूल्यांकनको मुख्य हिस्सा लिखित परीक्षाको प्रश्नपत्र हेर्दा विभिन्न तहका प्रश्न देखिन्छन् — परिभाषा लेख्ने, कारण र प्रक्रिया लेख्ने, समाधान लेख्ने, विश्लेषण र संश्लेषण गर्ने, निबन्ध लेख्ने, हिसाब गर्ने, शाब्दिक र गणितीय समस्या समाधान गर्ने, आदि।
एसइईको नतिजाले देखाएको छ — आधाभन्दा बढी बालबालिकाले माथिका विभिन्न सीपमा संघर्ष गरेका छन्। समस्याको समाधान दिन सकेका छैनन्।
उत्कृष्ट अंक ल्याउने कुरा छाडौं, पास हुने न्यूनतम अंक ३५ पनि पाउन सकेका छैनन्।
यसको अर्थ, उनीहरूलाई विभिन्न कठिनाइ भएको आकलन गर्न सकिन्छ — अवधारणा बुझ्न, बुझेको कुरा लेख्न, प्रश्न बुझ्न र सोही अनुसारको जबाफ लेख्न, आदि।
हाम्रो विद्यालय र त्योभन्दा माथिल्लो प्रणाली यही आधारभूत कुरामा असफल भएको छ — विद्यार्थीलाई सिकाउन।
स्कुल पुगेर शिक्षकहरूलाई सोध्दा विद्यार्थी असफल हुने विभिन्न कारण सुनिन्छ — आजकालका विद्यार्थीको पढाइमा ध्यान नै छैन। सामाजिक सञ्जालमा बढी समय बिताउँछन्। शिक्षकलाई आदर गर्दैनन्। होमवर्क गर्दैनन्। प्राथमिक तहका शिक्षकले राम्रोसँग पढाएका छैनन्। घरमा अभिभावकले ध्यान नै दिँदैनन्।
विद्यार्थीहरूसँग कुरा गर्दा पनि विभिन्न कारण सुनिन्छ — कतिपय शिक्षकले पढाएको बुझिँदैन, शिक्षकले किताब हेरेर मात्र पढाउँछन्। पढ्न मन लाग्दैन। पढ्न आउँदैन। पढेर के काम! पढाउनभन्दा कमाउन सजिलो।
जनप्रतिनिधि र शिक्षासँग सम्बन्धित कर्मचारीले भने शिक्षकमाथि आरोप लाएको देखिन्छ। अनि यही अलमल र धरमरमा हामी धेरै वर्षदेखि रूमल्लिरहेका छौं। कोही आफ्नो जिम्मेवारी लिन तयार छैनौं। हाम्रो अप्रभावकारिता, अक्षमता र अकर्मण्यताले विद्यार्थीहरू फेल भइरहेका छन्। हामी भने विद्यार्थीहरूलाई प्रमाणपत्रमा नन-ग्रेड (एनजी) को छाप ठोकिदिएर भनिरहेका छौं — तिमीहरू फेल भयौ!
एसइईको नतिजाले देखाएको छ — हामी सिकाइको चरम संकटमा छौं। १०-१२ वर्ष स्कुलमा राखेर वर्णमालादेखि अंक सिकाउने हामी, भाषा र गणितीय प्रक्रिया सिकाउने हामी, बाल विकासदेखि कक्षा ९ सम्म खुरूखुरू पास गराउँदै लैजाने हामी। त्यसरी सिक्दै गएका लाखौं विद्यार्थीले केही विषयमा ३५ अंक पनि ल्याउन सकेका छैनन्। अनि त्यसको फल भोग्नुपर्ने चाहिँ ती विद्यार्थी र उनीहरूका अभिभावकले। कस्तो बिडम्बना!
अर्को दुःखद कुरा — वर्षौंदेखि सिकाइको संकट यस्तो हुँदा पनि सरकारको नेतृत्व गर्नेहरूले यसलाई नजरअन्दाज गरेका छन्। शिक्षा बलियो भयो भने देश बन्छ भन्ने सायद कसैलाई विश्वास छैन। भन्दा तीतो सुनिएला, तर शिक्षकलाई राजनीतिक नेतृत्वले बालबालिकालाई सिकाउने उत्प्रेरकका रूपमा भन्दा पनि आफ्नो राजनीतिक दलको कार्यकर्ताको रूपमा लिएको प्रतीत हुन्छ।
हामीसँग उदाहरण छन् — शिक्षक र प्रधानाध्यापकले चाहेमा गर्न सक्छन्। बालबालिकालाई उत्कृष्ट सिकाइको वातावरण तयार गर्न सक्छन्।
असल, मेहनती र इमानदार शिक्षकप्रति सम्मान छ। त्यस्ता शिक्षकका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पनि ल्याएका छन्।
तर शिक्षा मन्त्रालयदेखि विद्यालयको संयन्त्रसम्म अधिकांश सरोकारवाला हेर्दा हामी जागिर मात्र खाइरहेका छौं जस्तो लाग्छ। केही अपवादहरू पक्कै छन्, तर अधिकांशलाई हेर्दा समस्याको समाधान गर्ने इच्छाशक्ति हामीमा नभएको जस्तो लाग्छ। हामीलाई मतलब पनि छैन। हामी हाम्रा सार्वजनिक विद्यालयका लागि सपना देख्न पनि चाहँदैनौं। हाम्रा सन्तान कि विदेशमा होलान्, या कुनै निजी स्कुलमा। हामीलाई लाग्दो हो — जे छ ठीकै छ, मेरो जीवन गजबसँग चलेको छ, कुनै दिन पेन्सन पाकिहाल्छ, त्यसपछि पनि 'शिक्षाविद्' भएर मिडियामा लेखौंला, बोलौंला!
राजनीतिक नेतृत्वलाई पनि लाग्दो हो — मन्त्री वा सांसद भएर, मेयर वा उपमेयर भएर प्रोफाइल बढिहाल्यो। अर्कोपटक माथिल्लो ओहोदामा पुगिएला!
तर यही सपना-विहीनता र अल्छ्याइँमा हाम देश बिगारिरहेका छौं। हामीभन्दा पछिल्लो पुस्तालाई नैराश्य दिइरहेका छौँ। 'असफल' बनाइरहेका छौं। देशमा केही छैन भन्दै विदेशमा सपना देख्न बाध्य बनाइरहेका छौं।
शिक्षालाई यस्तो अवस्थामा ल्याइपुर्याउने हामी सबै अपराधी हौं। कानुनतः अपराध नगरे पनि हामीले बालबालिकाको सपना मार्ने अपराध गरेका छौं। तिम्रो क्षमता यति हो भन्दै उनीहरूको उडान सीमित गरेका छौं। तिम्रो देशको शिक्षाको ताल यही हो, जाऊ विदेशमा गएर सपना देख भन्दै उनीहरूलाई निरीह महसुस गराउने हामी हौं।
सायद कसैलाई बालबालिकाको मतलब छैन। किनकि, उनीहरू साना छन्, अबोध छन्, निर्दोष छन्। भोट दिने बेला भएको छैन। अधिकारका लागि चिच्याउँदैनन्।
सम्पूर्ण शिक्षा प्रणालीले बालबालिकालाई कस्तो व्यवहार गरिरहेको छ भनेर बुझ्न एउटा दृश्य हेरे काफी हुन्छ।
विद्यार्थीहरूको उपलब्धिको उत्सव मनाउने वार्षिक कार्यक्रममा चिटिक्क सजिएका सोफामा अतिथिहरू माला र खादा लाएर गजधुम्म परेर बसेका हुन्छन्। कतिपय स्कुलमा त त्यो स्टेज पनि विद्यार्थीले नै बनाएका हुन्छन्। जसका लागि कार्यक्रम आयोजना गरिएको हो, उनीहरू भने तातो घाम वा झरीमा, चौरमा उभिएका हुन्छन्। तिनै विद्यार्थीका नाममा अतिथिहरूले सम्मान र सुविधा पाएका हुन्छन्।
हाम्रो समग्र शिक्षा प्रणाली उस्तै छ। विद्यार्थीका लागि काम गर्ने भनेर मानिसहरूले पद पाउँछन्, सुविधा पाउँछन्, सम्मान पाउँछन्। तर तिनै विद्यार्थी उपेक्षित छन्। विद्यार्थीका नाममा हाम्रो देशमा सरकारको, गैरसरकारी संस्थाको, अभिभावकको कति खर्च भयो, लेखाजोखा छैन। तर आजको दिनसम्म शैक्षिक अवस्था उँभो लाग्ने संकेत कतै छैन।
आजको शिक्षा काम लाग्ने भएन भन्ने बहस पनि सुनिन्छ।
हो, शिक्षामा बदलाव आवश्यक छ। शिक्षामा सीप, दैनिक जीवन, समाज जोडिनुपर्छ भन्ने तर्क जायज छ। तर आजको जुन प्रणाली छ, त्यसमा हामीले कति इमानदार भएर प्रयत्न गरिरहेका छौं त, त्यो पनि अहम प्रश्न हो।
यस्तै अल्छी हुने, मतलब नगर्ने र जागिर मात्र खाने हो भने जुन सुकै प्रणालीमा गए पनि केही हुनेवाला छैन।
यस्तो अवस्थामा सबै नागरिक जागरूक हुने बेला आएको छ। शिक्षाबारे सबै सरोकारवालालाई सबैले झकझकाउने बेला आएको छ। शिक्षामा काम गरेनौ भने निर्वाचनमा बहिस्कार गर्छौं भन्ने बेला आएको छ। शिक्षामा काम गरेनौ भने आफ्ना जनप्रतिनिधिको विरोध गर्छौं भन्ने समय आएको छ।
पत्रकार, नागरिक समाज, उद्यमी र हरेक नागरिकले शिक्षाको जिम्मा पाएका हरेकलाई खबरदारी गरौं।
प्रधानाध्यापकलाई सोधौं — नपढाउने शिक्षकलाई किन कारबाही गरेनौ? राजनीतिक दबाबले कारबाही गर्न नसकेको भए किन माथिल्लो निकायमा उजुरी गरेनौ? पढाउन नजान्ने शिक्षकलाई किन सिकाउने व्यवस्था गरेनौ? सिकाउँदा पनि पढाउन नसक्ने शिक्षकलाई पदमुक्त गराउन किन पहल गरेनौ?
शिक्षकलाई सौधौं — किन पढाएनौ? पढाउने सीप थिएन भने किन कसैबाट सिकेनौ? यति जिम्मेवारी लिने आँट नभएको भए किन जागिर छाडेनौ?
कर्मचारीतन्त्रलाई सोधौं — आफ्नो क्षेत्राधिकारमा रहेको विद्यालयमा प्रभावकारी शिक्षण सिकाइ नहुँदा पनि किन चुपचाप बस्यौ? आफ्नो बलबुताले भ्याएको काम किन गरेनौ?
जनप्रतिनिधिलाई सोधौं — विभिन्न मुद्दामा संसद वा नगर-गाउँसभा अवरूद्ध गर्नेहरूले तराईको धेरै स्कुलमा एउटै कक्षामा सयभन्दा बढी विद्यार्थी बस्न बाध्य हुँदा किन नारा लाएनौ? स्वर चर्को गरेर संसद वा नगर-गाउँसभामा किन चिच्याएनौ? शिक्षा सम्बन्धी मुद्दामा किन बोल्न हिचकिचायौ?
सबै जीवित शिक्षा मन्त्रीहरूलाई सोधौं — आजको अवस्था देख्दा ग्लानी महसुस हुँदैन? किन यस्तो प्रणाली डिजाइन गर्यौ? समस्या थाहा पाउँदा पनि समाधानका लागि किन पहल गरेनौ? आफूले नसक्ने भए किन पद छाडेनौ? पढाएको विद्यार्थी हरेक वर्ष फेल भए पनि मस्त जागिर खान दिने सुविधा किन दियौ? शिक्षामा किन सपना देखेनौ?
सबै जीवित प्रधानमन्त्रीहरूलाई सोधौं — समस्या देख्दा देख्दै पनि किन समाधान निकालेनौं? काम गर्न नसक्ने शिक्षा मन्त्रीलाई किन नियुक्ति दियौ? शिक्षा यति ध्वस्त हुँदा पनि किन टुलुटुलु हेरेर बस्यौ? यतिका वर्ष बित्दा आधुनिक समयको मुद्दामा केन्द्रित शिक्षा ऐन किन ल्याउन सकेनौ? नपढाउने शिक्षकलाई राजनीतिक आड किन दियौ?
एकअर्कालाई प्रश्न सोधौं — के बर्सेनि लाखौं बालबालिकाको अनुहारमा असफल हुनुको दुःख देख्दा हाम्रो चित्त दुख्दैन? वर्षभरि स्कुल गए पनि फेल हुने बालबालिका देख्दा मन कतै पोल्दैन?
यो संकटको समय हो। यसको समाधान यथाशीघ्र निकाल्नुपर्छ। हाम्रो समस्या यति जकडिएको छ कि, शिक्षा मन्त्रालयको नेतृत्व गर्ने शिक्षा मन्त्री वा कुनै एउटा राजनीतिक दलले मात्रै पनि यसको रूपान्तरणकारी समाधान निकाल्न कठिन देखिन्छ। प्रधानमन्त्रीकै अग्रसरतामा विद्यार्थीलाई हामीले सिकाउने 'समस्या समाधान' को सीप आफूले पनि प्रयोग गरेर शिक्षामा बृहद रूपान्तरण थालनी गर्न आवश्यक छ।
अहिलेको नेपालमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिल्दा समाधान हुन नसक्ने समस्या सायद केही छैन। आफूले गरेको कतिपय काममा तपाईँहरूलाई कत्तिको ग्लानी महसुस हुन्छ, थाहा छैन। तर आजको शिक्षालाई यस्तो अवस्थामा ल्याउने 'पाप' को महत्त्वपूर्ण हिस्सा तपाईँहरूमा पनि बाँडिएको छ।
तपाईँहरू चाहेको कानुन ल्याउन सक्नु हुन्छ। सबै जना मिल्नुभयो भने संघीय, प्रदेश, स्थानीय सरकार र कर्मचारीलाई झकझकाउन सक्नु हुन्छ। सही मानिसलाई सही ठाउँमा पुर्याउन सक्नु हुन्छ। देश-विदेशमा रहेका योगदान दिन चाहने नेपालीलाई बोलाउन सक्नु हुन्छ। पैसा जुटाउन सक्नु हुन्छ।
अन्य ठाउँमा विवाद गर्नु होला, तर कृपया शिक्षा र स्वास्थ्य जस्तो विषयमा एकै ठाउँ आइदिनु होला।
अत्यावश्यक बाहेक भौतिक विकास बरू केही वर्षलाई पछि सारौं, अहिले विद्यार्थीमा केन्द्रित हौऔं। शिक्षकमा लगानी गरौं। गरिरहेका शिक्षकलाई सम्मान गरौं, मनोबल बढाऔं, प्रशिक्षित गरौं, सिकाऔं। गर्न नसक्नेहरूलाई बिदा गरौं। जे गर्न आवश्यक छ, त्यो गरौं।
आजबाट केही बदल्ने हो भने अर्को वर्षको आज केही बदलिने छ।
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)