निकट मित्र प्राचार्य भएको एक निजी स्कुलमा आमन्त्रित गरिएको थिएँ। यसको कार्यसूची उक्त विद्यालयले गरेका प्रगतिबारे र स्तरीय शिक्षा कसरी दिइएको छ, त्यसमा भलाकुसारी गर्ने थियो।
प्रधानाध्यापकले स्कुल देखाउन लग्नुभयो। यसक्रममा मैलै देखेका केही दृश्यहरू यहाँ राखेको छु।
यी दृश्यहरू धेरै हाम्रा निजी वा सामुदायिक स्कुलमा एक वा अर्को किसिमले मिल्दाजुल्दा छन्।
पहिलो, हामी कक्षामा प्रवेश गर्नासाथ आफ्नो पढाइको काम नै तुरून्त छाडी सबै विद्यार्थीहरूले जुरूक्क उठेर एक लयवद्ध स्वरमा शुभप्रभातदेखि शुभदिन, फेरि आउनुहोला जस्ता कृतज्ञताका शब्दहरू भने।
यही वाक्यहरू हरेक कक्षामा हुबहु दोहोर्याइए। विद्यार्थीहरूलाई 'बस' नभनेसम्म नतमस्तक उभिइरहे। प्रिन्सिपलले यसलाई उहाँले स्थापना गरेको 'असल अनुशासनको' संज्ञा दिनुभयो।
दोस्रो, कक्षामा रहेको स्मार्ट बोर्ड र प्रोजेक्टर देखाउँदै प्रधानाध्यापकले भन्नुभयो, 'हाम्रो विद्यालयमा यस्ता प्रविधि प्रयोग गरी पढाइन्छ। यसैले हाम्रो शिक्षा स्तरीय छ,' अझै थप्नुभयो, 'हरेक कक्षामा पढाइको स्तरका लागि सिसिटिभीको निगरानीमा शिक्षा दिइन्छ। मेरो कार्यकक्षमा यो सबै देखिने ठूलो स्क्रिन छ।'
प्रधानाध्यापक खेल मैदानको व्यवस्थापनमा धेरैबेर व्यस्त हुनुभयो।
एकछिनमा चेकमा सही, त्यत्तिकैमा सहयोगीहरूका समस्या समाधानतर्फ, उहाँ अर्कै बैठकमा जाने चटारो, लेखाको पैसा गनेर बैंक पठाउनुभयो। मोबाइलमा फोन बजेको बज्यै थियो र तिनको उत्तर दिँदै दुई गयल शिक्षकको व्यवस्था गर्नुभयो। यस्तै यस्तै।
स्कुलको घुमाइ सकेर उहाँको कार्यकक्षमा फर्केपछि मोबाइल फोन बन्द गर्न आग्रह गरी तीन प्रश्न मित्रवत् रूपमा राखेँ।
एक — विद्यालयको पाठ्यक्रम योजना र शिक्षणको नेतृत्व सरले कसरी गर्नुभएको छ?
दुई — सिकाइको सुपरिवेक्षणमा कति समय खर्चिनुहुन्छ? शिक्षकहरूले के कसरी पढाइरहेका छन्, स्पष्ट हुनुहुन्छ?
तीन — विद्यालयको संस्कृति, विद्यार्थीका मौलिक चिन्तन र शैक्षिक उपलब्धिमा सरको भूमिका कस्तो हुन्छ? कुन समयमा यो कार्य सम्पादन गर्नुहुन्छ?
यी धारिला प्रश्नपछि उहाँ मौन हुनुभयो। यसका उत्तर उहाँसँग थिएनन्।
उहाँले भन्नुभयो, 'यी सबै काम शिक्षकका हुन्। यसबारे मैले शिक्षकहरूसँग जानकारी लिने गरेको छु।'
लगत्तै अर्को प्रश्न राखेँ, 'कसरी लिनुहुन्छ जानकारी? शिक्षकसँग गरिएका गफगाफ मात्रले वा विद्यार्थीले राम्रो गर्नुपर्छ भन्ने अस्पष्ट र बैठकका लामा आदर्शवादी कुराले? यसरी विद्यार्थीको सिकाइ प्रभावकारी होला र? कसरी गर्नुहुन्छ यस्ता तत्वहरूको अनुगमन? सरको नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ?'
उपरोक्त सुरूदेखिका प्रश्नहरू शिक्षा क्षेत्रका गहनमध्येका हुन्। र, यी सबै प्रश्नले प्रधानाध्यापकको मुख्य कर्तव्य कर्मलाई र केमा समय खर्चिनुपर्छ वा केका लागि खट्नुपर्छ भन्ने जनाउँछ।
प्रशासनिक कार्य, समुदायको सम्बन्ध, आर्थिक निर्णय वा शिक्षक प्रशासन इत्यादि जिम्मेवारी व्यवस्थापकीय पाटा मात्र हुन्। माथि उल्लिखित प्रश्नका उत्तर प्रधानाध्यापकसँग छैनन् र त्यस सम्बन्धी काम त्यो नेतृत्वबाट निर्देशित भएका छैनन् भने, विद्यालयको शैक्षिक नेतृत्व कमजोर रहेको स्वतः प्रमाणित हुन्छ।
उक्त प्रश्नका उत्तरबिना नेतृत्वमा रहने व्यक्ति न त शिक्षक हो, न त प्रधानाध्यापक।
यो कटुसत्य हो।
प्रधानाध्यापकको अनुदेशात्मक सुपरिवेक्षण (इन्स्ट्रक्सनल सुपरभिजन) एक यस्तो व्यवस्थित प्रक्रिया हो जसमा शिक्षण अभ्यासको निरीक्षण, विश्लेषण र प्रतिक्रिया प्रदान गरिन्छ। जसद्वारा शिक्षकहरूको सीप बढाउन र विद्यार्थीका शैक्षिक उपलब्धिहरूलाई क्रमिक सुधार गर्न सकिन्छ।
यसैको नेतृत्व र यसका प्रक्रिया सञ्चालन नै प्रधानाध्यापकले छाड्नै नहुने काम हो, प्रशस्त समयसहित कार्यरत हुनुपर्ने क्षेत्र हो।
अनुसन्धानले देखाउँछ — प्रधानाध्यापकले अनेक कार्यव्यस्ततालाई व्यवस्था गरी कम्तीमा आफ्नो चालीसदेखि साठी प्रतिशत समय अनुदेशात्मक सुपरिवेक्षणमा खर्चिनुपर्छ।
योस लेखमा प्रधानाध्यापकको अनुदेशात्मक सुपरिवेक्षणको अभ्यास र यस्ता सुपरिवेक्षणका साधारण प्रक्रिया र यसका प्रकृतिका बारेमा छोटकरीमा राख्नेछु।
आशा छ, यी तथ्य विद्यालयमा शैक्षिकस्तर वृद्धि गर्न प्राचार्यहरूलाई थोरै भए पनि सहायक सिद्ध हुनेछ।
प्रधानाध्यापकको कुशल नेतृत्व अनुदेशात्मक उद्देश्यको साथ विस्तार हुन्छ। यसमा प्रधानाध्यापकले परिभाषित लक्ष्यहरू प्राप्तिका लागि शिक्षकलाई मार्ग प्रशस्त गरिदिन्छन्।
कुनै खेलका कोचले खेलाडीका लागि रणनीति तयार गरी मैदानमा पठाए जस्तै प्रधानाध्यापकले शिक्षकलाई शैक्षिक कार्यदिशा तय गरिदिन्छन्। नेतृत्वले शिक्षकहरूलाई यत्तिकै कक्षाकोठामा पठाउनुको सट्टा स्पष्ट खाका कोरेर कार्य प्रत्यायोजन गर्छन्।
यसपश्चात् यी प्रधानाध्यापकहरू कक्षा अवलोकन र मूल्यांकन प्रणालीमा व्यस्त रहन्छन्। शिक्षकसँग सहकार्य गरी बनाइदिएको बाटोमा शिक्षक कसरी चलिरहेका छन्, कक्षाभित्र कस्ता समस्या शिक्षक झेल्दैछन् भन्ने अवलोकन गरी तिनका निरूपण गर्ने उपाय खोजी गर्छन्। चलिरहेका शैक्षिक प्रक्रियाको प्रत्यक्ष अनुभव लिन्छन्।
मास्टर-सेफले पाककला सिकाएपछि आफ्नो कुकले कस्तो स्वादको बनायो भनेर चाखेर नुन-मसलाको सन्तुलन परीक्षण गरेजस्तै कुशल प्रधानाध्यापकले आफ्नो शैक्षिक निर्देशनपछि विद्यार्थीहरूको सिकाइको स्तरको अनुगमन गर्नमा प्रशस्त समय दिन्छन्।
यी प्रधानाध्यापकले कक्षा अवलोकन जीवन्त बनाँउछन्, कागजी प्रक्रियामा सीमित राख्दैनन् र यस कार्यमा शिक्षकसँग उत्पादनमूलक समय खर्चिन्छन्।
अनुदेशात्मक नेतृत्वसँग शिक्षा अनुसन्धान गर्ने बानी र यसको गहिरो ज्ञान रहनुपर्छ। अन्यथा स्कुलले सही दिशा लिन सक्दैन। दसौं वर्ष हचुवामा विद्यालय सञ्चालन गरेर मात्र अनुभवी र कुशल प्रध्यानाध्यापक बनिँदैन।
सही नेतृत्व दिने प्रधानाध्यापकले अध्ययन गर्ने, शैक्षिक ज्ञान अद्यावधिक गर्ने र नवीनता खोजी गर्न समय दिनुपर्छ। नयाँ, नौला प्रमाणित र उपलब्धिमूलक शैक्षिक अभ्यास शिक्षकहरूसँग सहकार्य गरी व्यवहारमा उतार्नुपर्छ।
यो सबैको सारांश प्रधानाध्यापक नै शिक्षकको शैक्षिक पथ प्रदर्शक भन्ने हो।
एक साथीले अर्को साथीलाई तिमीले लगाएको लुगाको सट्टा अर्को लगाएमा आजको भेटघाटमा अझ राम्रो देखिन्छौ भनेर सल्लाह दिएर फेर्न लगाएको जस्तै शिक्षकलाई चुस्त बनाउन योग्य मार्गनिर्देशन दिने हो। शिक्षकलाई शैक्षिक पृष्ठपोषण दिने समय छुट्ट्याउनुपर्छ र यसरी प्रधानाध्यापक विद्यालयमा अहोरात्र खट्नुपर्छ।
प्रधानाध्यापकले शिक्षकको पेसागत दक्षता विकासका लागि पनि अथक कार्य गर्नुपर्छ। कस्तो तालिमको आवश्यकता हो, त्यस तालिमले विद्यार्थीको सिकाइमा कस्तो प्रभाव पार्छ, थाहा पाएर शिक्षक सीप तिखो पार्न समय दिनुपर्छ।
कुनै खेलको खेलाडी बनाउन आवश्यक तालिम, समय र स्रोत जुटाएर प्रगति अनुगमन गरेजस्तै, शिक्षकलाई दक्ष र महान शैक्षिक खेलाडी बनाउन हरेक किसिमका उपायको साथसाथै यस कार्य कायम राख्न उनीहरूको वृत्ति-विकासका लागि पनि ध्यान दिनुपर्छ।
मैले प्रायः सबै शिक्षकहरू अभिप्रेरित र इच्छुक देख्छु। त्यस्ता सशक्त सम्भावना भएका शिक्षकहरूले बाटो नपाएर, विधि नजानेर, आधारभूत कुरा नबुझेर कक्षामा यसै शक्ति खर्चिँदै न्यून उपलब्धिका लागि रातदिन भौंतारिएको देख्दा दुःख लाग्छ।
एउटा साधारण तालिमको सत्रमा उनीहरूले केही सूचना बुझ्दा, ती शिक्षकहरूको अभ्यासमा तत्काल नै फरक पाएको छु। ती प्रभावकारी शिक्षक बनेको पाएको छु। यो पक्षमा प्रधानाध्यापक संवेदनशील हुनुपर्छ। पेसागत दक्षतालाई प्रधानाध्यापकले प्राथमिकतामा राख्नुपर्छ र शिक्षकको सुयोग्ताका लागि समय र ज्ञान प्रदान गर्नुपर्छ।
अभिप्रेरित शिक्षकको शैक्षिक सीपको विकास नहुनु भनेको या त प्रधानाध्यापक आफै काबिल नहुनु हो। वा, स्कुलमा समय बिताएर पनि सही नेतृत्व नगरेको हो। यसमा दुविधा छैन।
शिक्षक, परिस्थिति वा राजनीतिलाई मात्र दोष देखाउनुको साटो, एक प्रधानाध्यापकले विद्यालयको शैक्षिक र नैतिक जिम्मेवारी लिनुपर्छ।
अध्ययनहरूले शिक्षक दक्षता कमी हुनुमा शैक्षिक नेतृत्व पनि उत्तिकै जिम्मेवार हुने देखाउँछन्। शिक्षकलाई गलत करार गरेर वा उनीहरूप्रति नकारात्मक धारणा राखेर शिक्षणजस्तो पवित्र र चुनौतीपूर्ण काम सम्पन्न हुँदैन।
प्रधानाध्यापकले शिक्षकसँग सहकार्य गरी विद्यालयमा समर्पित शैक्षिक टोली निर्माण गर्न र यसको कार्य निर्देशनमा उत्तिकै समय दिनुपर्छ।
यसलाई यसरी बुझौं — एक सांगीतिक टोली छ जसमा विभिन्न बादकहरू छन्।
त्यसका सदस्यहरूले आ-आफ्ना स्थानमा बादन गरेर धुन पैदा गरे जस्तै शिक्षकहरूका दक्षता पहिचान गर्दै उनीहरूको क्षमताका आधारमा कार्यगत स्वतन्त्रता र जिम्मेवारी दिने आँट गर्नुपर्छ।
विद्यालयमा यस्तो शैक्षिक टोली निर्माण गर्दा नेतृत्व अझ सबल बन्छ र अन्यलाई पनि उदाहरण हुन्छ। यस्तो टोलीसँग शैक्षिक उन्नयनका लागि प्रधानाध्यापकले प्रतिबद्धतासाथ समयको सदुपयोग गर्नुपर्छ।ा
प्रधानाध्यापकले विद्यार्थीको प्रगतिलाई सूक्ष्मदर्शक यन्त्रले हेरेजस्तै गरी समस्त विद्यालयको वास्तविक अवस्था थाहा पाउन लाग्ने समय दिनुपर्छ। सर्सतीको बाहिरी हेराइले पुग्दैन, कक्षामा भइरहेका क्रियाकलाप पर्यवेक्षण गर्नमा समय खर्चिनुपर्छ।
यसका लागि निरन्तर मूल्यांकनका ढाँचा तयार गरेर, तथ्यांक संकलन र विश्लेषण गरी, त्यसैअनुरूप शैक्षिक समायोजनमा ध्यान पुर्याउनुपर्छ।
एक चिकित्सकले लक्षणहरू पहिचान गरी कुन उपचार उपयुक्त हुन्छ भनेर थाहा पाए जस्तै, प्रधानाध्यापकले समस्यामूलक पक्षका शैक्षिक उपचार गर्न, प्रभावकारी योजना निर्माणमा लाग्नु अपरिहार्य हुन्छ।
प्रधानाध्यापकको कार्यहरू बहुमुखी प्रकृतिका हुन्छन्। उल्लेख गरिएबाहेक अन्य पक्षहरू पनि छन्। शिक्षक र सहयोगीहरूसँग गरिने सूचनाका आदान प्रदान, शिक्षाका उत्तम अभ्यासका नमूना प्रयोग, विद्यार्थी केन्द्रित शिक्षा र शैक्षिक संस्कृति निर्माण लगायत यावत अनुदेशात्मक सुपरिवेक्षणका आयामहरू हुन्।
यो लेखको अन्त्यमा प्रधानाध्यापकहरूलाई एक गृहकार्य दिन चाहन्छु।
एकछिन बसेर मनन गरौं — यो लेखको सुरूका प्रतिनिधि प्रधानाध्यापकको व्यस्ततालाई यस अनुसन्धानमा आधारित तथ्यका कसिहरू लगाएर पर्गेलौं। अनि हेरौं उहाँको कार्यव्यस्ततासँग एक कुशल प्रधानाध्यापकको वास्तविक शैक्षिक कार्यसँग कति मेल खान्छ!
यसैमा आधारित भएर एउटा सानो जर्नल लेखौं। अलिकति अनुसन्धान र अध्ययन गरौं। धेरै कुरा खुल्नेछ। कार्यव्यस्ततालाई निर्देशित गर्न सकिनेछ र तीव्र वेगको समय प्रवाहलाई व्यवस्थापन गर्न सकिनेछ।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)