शिक्षामा एमफिल उत्तीर्ण एक विद्यालय निरीक्षकसँग केही समयअघि शैक्षिक भेटघाट भएको थियो। विद्यालय निरीक्षकको बैठक सकिएपछि उहाँले एक प्रश्न राख्नुभएको थियो।
उहाँले भन्नुभयो — विद्यालयमा त पढाउने हो, विद्यार्थीले सिक्ने हो, तर हामीले अध्ययन गरेका शैक्षिक दर्शन त कतै पनि व्यवहारमा आएको पाइनँ। यो त कोरा ज्ञान मात्र भयो। यसको प्रयोजन कहीँकतै देखिएन। दर्शन जानेको शिक्षकले यसको प्रयोग कसरी गर्छ?
प्रयोगमा नआउने यो विषयलाई विश्वविद्यालयमा किन प्राथमिकतामा राखिन्छ? बरू विधिशास्त्रमा र शैक्षिक सुपरिवेक्षणमा केन्द्रित गरियो भने हाम्रो काममा थप प्रभावकारिता आउने थियो। यो दर्शनले के काम गर्छ? किन चाहिन्छ सिद्धान्त?
प्रश्नको उत्तर प्रत्यक्ष भए पनि यो सवाल धेरै प्रधानाध्यापक र शिक्षा सरोकारवालाहरूलाई अर्थपूर्ण रूपमा प्रस्ट नभएको उहाँले उल्लेख गर्नुभयो। हामीले त्यसमा रहेर छलफल गर्यौं।
यहाँ त्यसैको संक्षेप राखेको छु।
दर्शन कसरी व्यवहारमा निस्किन्छ र यसको निहितार्थ के हुन्छ, एक निषेधात्मक उदाहरणबाट प्रस्तुत गर्छु। यसरी नै सबैमा लागू भएको छ भन्ने मेरो अभिप्राय होइन।
मानौं, विद्यार्थीहरूको उच्च परिणाम चाहेर कुनै कार्यक्रम निर्धारण गरेको स्कुलले एक दर्शनको यसरी प्रयोग गरेको छ।
त्यहाँ एसइई परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने लक्ष्य राखियो। विद्यालयले बिहानदेखि साँझसम्म विद्यार्थीहरूलाई अनेकन काममा व्यस्त गरायो। बौद्धिक उपलब्धिका ठाउँमा विद्यार्थीहरूलाई परीक्षा प्रणालीका छिद्र प्रयोग गर्दै ग्रेडलाई केन्द्रित गरेर विषयवस्तुका सूचना मात्रै रटाइयो।
यस अवस्थामा विद्यालयले पाठ्यपुस्तकलाई रटाउने विधिशास्त्रको एउटा आधार लियो। यसरी विद्यार्थीमा सूचना संकलन गरे अवधारणा बुझाउने झन्झट कम हुने र परिणाम उच्च आउने विश्वास लिइयो। यही विश्वास नै त्यस स्कुलको शिक्षणको एक आधार वा दर्शन बन्यो। घोकेर पढ्नु पर्छ भन्ने त्यस दर्शनले यसै अनुसार विद्यार्थीको सिकाइको दिशा तय गर्यो।
अझै विश्लेषण गरौं।
रटाएर उत्कृष्ट अंक ल्याउन उद्यत त्यस अमुक स्कुलको अर्को दार्शनिक अभ्यास अझै भयावह छ। यस अर्थमा कि, एसइई परिणाम नराम्रो भएमा विद्यार्थी संख्या घटेर आम्दानीमा कमी आउन सक्ने जोखिमले सिर्जित प्रेरणा अर्थात् विद्यार्थीको वैचारिक उन्नतिको सट्टा स्कुल सञ्चालकहरूको निहित आर्थिक स्वार्थ।
त्यस अमूक स्कुलले मुनाफा आर्जन गर्नुलाई विद्यालय स्थापनाको प्रमुख अघोषित आधार लियो। यो नै त्यस स्कुलको आधारभूत नैतिक र दार्शनिक भुल हो।
यो शिक्षाको स्थानलाई वाणिज्य दर्शनले विस्थापित गरेको त्रुटिपूर्ण अवस्था हो। व्यापार र शैक्षिक दर्शन वस्तुगत रूपमा बेग्लाबेग्लै हुन्। प्रस्ट छ, शैक्षिक दर्शनको ठाउँ वाणिज्य दर्शन हुन सक्दैन।
उक्त विद्यालयले त्यस्तो ध्येय र विश्वासको स्थानमा मौलिक चिन्तन, उद्देश्यपूर्ण सिकाइ, चरित्र निर्माण, संस्कारको विकास जस्ता विचारलाई विस्थापित गरिदिएको भए शिक्षाको स्वरूप नितान्त भिन्न बन्ने थियो। स्कुलले सही गन्तव्य लिने थियो।
यस उदाहरणले शिक्षामा गतल दार्शनिक संस्कृति बसेमा विसंगति मौलाउन सक्ने कुरा स्पष्ट पार्छ। दर्शनले यसरी काम गर्छ र त्यसैअनुसार विद्यालयको प्रवृत्ति र कार्यपद्धतिको आधार तयार हुन्छ।
शिक्षाको दार्शनिक पक्षका मुख्यतः दुई प्रायोगिक भाग रहन्छन्।
पहिलो भाग दर्शन आफै हो भने दोस्रोमा सिद्धान्त रहन्छ। र, यी दुवै मूलभूत रूपमा फरक रहे पनि निकट रूपमा परस्पर सम्बन्धित हुन्छन्।
पहिला, विद्यालयको दार्शनिक पाटो हेरौं। त्यसपछि त्यसमा अन्तरनिहित सिद्धान्तको सम्बद्धतालाई लेखको दोस्रो भागमा राख्ने छु।
शैक्षिक दर्शनलाई केबल बौद्धिक तर्क र विषयगत परावर्तन मात्र मानिनुले यसको कार्यात्मक पक्षलाई कुण्ठित बनाउँछ। दर्शनले शिक्षा प्रणालीलाई दिने ठोस वैचारिक आधारशिला नै यसको पहिलो र प्रमुख व्यावहारिक पक्ष हो।
उदाहरण लिऔं।
एउटा प्रशस्त फल लागेको विशाल वृक्ष छ। बाहिरबाट हेर्दा काण्ड र माथिको भाग मात्र देखिन्छ तर त्यसको जमिनमुनिको मूल देखिँदैन। त्यस वृक्षको आधार बाह्य रूपमा लुप्त जरा रहन्छ। यसले नै वृक्षलाई अड्याउनेदेखि पानी र पोषण पुर्याउँछ। ठीक यही उपमान विद्यालयको बाहिरी कार्यात्मक, भौतिक स्वरूप र यसका अन्तरनिहित दर्शनसँग दाँज्न सकिन्छ।
बिना शैक्षिक आधारशिला वा त्यो मूल जराको अभावमा विद्यालय खडा हुन सक्दैन। आधारशिला कमजोर भएमा वा गलत भएमा विद्यालयको दिशा अस्तव्यस्त हुन्छ। शिक्षा निर्दिष्ट बन्दैन। परिकल्पना गरौं, सतहमा मक्किएको जरो रहेको रूख कति टिक्ला? फल कति दिन सक्ला?
विद्यालय नेतृत्व यही अर्मूत र गुप्त दार्शनिक आधारमा अलमलिन सक्छ। सुक्ष्म र शक्तिशाली अपरिहार्यता नपहिल्याएर वा पाखा लगाएर बाह्य स्वरूपमा गरिने भौतिक लगानीले स्कुललाई स्थायित्व दिन खोज्दा त्यो संरचनामा मात्र सीमित हुन्छ।
जबसम्म विद्यालयले अंगिकार गरेको दार्शनिक शिराबाट बाटो पहिल्याउँदैन, तबसम्म विद्यालयको वास्तविक स्वरूप बन्दैन। हाम्रा धेरै स्कुलले यस्तो गहन पक्ष नदेखेझैं गर्नु नै तिनले प्रदान गर्ने शिक्षा कमसल हुने प्रमुख कारणमध्ये एक हो। दर्शनरहित हचुवा अवधारणाले विद्यालय बन्दैन।
शिक्षा दर्शनको अर्को महत्त्वपूर्ण पाटो त्यस स्कुलको शिक्षाको प्रकृति परिभाषित गर्नु हो। कस्तो शिक्षा दिने हो? कसरी दिने हो? त्यस विद्यालयको शिक्षाको लक्ष्य के हो? कता लग्न खोजिएको हो? कस्तो ज्ञान मानवीय तवरले योग्य छ? विद्यार्थीको व्यक्तिगत जीवनमा र समाजमा यसले कसरी योगदान पुर्याउँछ?
यस्तै यावत प्रश्नका विशिष्ट उत्तरहरूको कार्यान्वयनबिना विद्यालय बन्ला र? यी आधारभूत प्रश्नहरूको उत्तर, स्कुलले आफ्नो दर्शनलाई आधार मानेर कार्य दिशा लिनु र विद्यालयको दर्शन व्यवहारमा आउनु हो।
उद्देश्यसहितको शिक्षाले विद्यार्थीलाई निर्दिष्ट गर्छ। ती उद्देश्य त्यस विद्यालयका विश्वासमा आधारित हुन्छन्। तर हाम्रा धेरै विद्यालयहरूका शैक्षिक क्रियाकलापको उद्देश्य अपरिभाषित देखेको छु। कुनै काम किन गरियो भन्ने प्रश्नको उत्तरबिनै कक्षाहरू सञ्चालन भएको देखेको छु।
क्रियाकलापका लागि मात्र क्रियाकलाप, विधिबिनाको वा अस्पष्ट सिकाइ प्रक्रिया, कतै संरेखित नभएका कार्ययोजना र शैक्षिक दिशाहीनता जस्ता कमजोरीहरू दर्शनरहित विद्यालयका लक्षण हुन्। बिनादर्शन शिक्षा र शिक्षण जीवन्त बन्दैन।
स्कुलको शैक्षिक दर्शनले यस्ता समस्यालाई समाधानको मार्गदर्शन दिन्छ। दार्शनिक आधारले शिक्षा प्रक्रियाको निर्धारण गर्न मद्दत गर्छ। कस्ता मूल्य र प्रदान गर्ने हो भन्ने निर्क्यौल गर्छ। यसका लागि कस्तो विधिशास्त्र लागू गर्ने हो, शिक्षा कस्तो प्रकृतिको निर्धारण गर्ने हो, यी सब प्रश्नको उत्तर त्यहीँबाट सिर्जित हुन्छ।
नेतृत्वले गरेको दूरदृष्टि निर्माणपछि विद्यालय रूपान्तरणको प्रक्रिया सुरू हुन्छ। त्यो दूरदृष्टि पनि त्यस स्कुलको दर्शनबाटै जन्मिन्छ। बिनाशैक्षिक दर्शनको भिजन मिसन केबल निष्क्रिय वाक्य बन्छ र यसले कार्यात्मक गति दिन सक्दैन। तसर्थ दूरदृष्टि निर्माणअघि नै विद्यालय नेतृत्वले आफ्नो विद्यालयको दर्शनलाई पहिल्याउने र तत्पश्चात दर्शनलाई लिखित वाक्यमा परिभाषित गर्न पर्छ।
ती विद्यालय निरीक्षकको प्रश्नहरूको उत्तरलाई नै शिक्षा दर्शनको आधार चाहिन्छ। प्रस्ट छ, विधिशास्त्रमा र शैक्षिक सुपरिवेक्षणलाई नै दर्शनको आधार खडा गर्नु पर्छ। अन्यथा त्यो कार्य प्रणाली अप्रभावी बन्छ।
विद्यालय संस्कृति अलिखित पाठ्यक्रम हो र यसको आधार पनि विद्यालयकै निहित दर्शन हो। शैक्षिक उपलब्धि र मानवीय मूल्यमान्यता स्थापित नभए विद्यार्थीका विचार फैलिँदैनन्। त्यस अवस्थामा ती विद्यार्थी वयस्क बनिसक्दा दिशाहीन बन्ने जोखिम उच्च हुन्छ। यस्तो अवस्था आउन नदिन दर्शनको आधारलाई प्रयोगमा ल्याउन अपरिहार्य छ।
सारांशमा पाठ्यक्रमको स्वरूप निर्धारण दर्शनले गर्छ। विद्यालय दर्शनका आधारमा विधिशास्त्रको खाका तयार हुन्छन्। शिक्षक र विद्यार्थीको भूमिकालाई दर्शनले परिभाषित गर्छ र विद्यालयको वैचारिक आधार सिर्जना हुन्छ।
केही स्कुलका प्राचार्यसँगको अन्तरक्रियामा दुःखलाग्दो कुराको अनुभव छ।
ठूलो स्कुल बनाउने खाका तयार गरिएको छ, भिजन वाक्य पनि छ। सुन्दा सही र राम्रो लागे पनि अलिकति कोट्याउँदा ती प्राचार्यहरूले त्यही वाक्यमा विश्वास नगरेको स्पष्ट हुन्छ। यसरी दर्शन राखेर त विदेशमा सम्भव होला, यो देखाउनका लागि मात्र हो, हाम्रो परिप्रेक्ष्यमा यो चाहिँदैनसम्म भनेको सुनेको छु।
यो प्रवृत्तिले विद्यालय कस्तो बन्ला?
अब शैक्षिक सिद्धान्त हेरौं। स्कुलहरू शैक्षिक सिद्धान्त र दर्शनका प्रयोगस्थल हुन्। सिद्धान्त, दर्शन र व्यवहार एउटै सिक्काका दुई पाटा हुन्। बिनासिद्धान्त अभ्यास हुँदैन र अभ्यासबिना सिद्धान्त जड बन्छ। यी दुवै सँगसँगै जान्छन्।
एक उदाहरण प्रस्तुत गर्छु।
भौतिक विज्ञानमा न्युटनको गतिको तेस्रो सिद्धान्तले क्रिया र प्रतिक्रिया सदैव बराबर र विपरीत हुन्छ भनेर प्रमाणित गर्छ। यो सिद्धान्त मात्र भयो। यसको अभ्यासबाट जहाज उड्छ। अन्तरिक्षयान पृथ्वीको गुरूत्वाकर्षणबाट बाहिरिन्छ। शिक्षाका सिद्धान्तमा पनि यही सदृश्य हुन्छ।
विद्यार्थीका बौद्धिक विकासका सिद्धान्तहरू छन्। ती सिद्धान्त शैक्षिक दर्शनलाई पूर्णता दिने अनुसन्धानबाट प्राप्त नियमहरू हुन्। स्थापित बृहत दर्शनका पूरक भाग हुन्। र, तिनको प्रयोग स्कुलहरूमा गरिएमा दर्शन अनुरूप वाञ्छित परिणाम आउँछन्।
उदाहरणका लागि, प्रगतिशीलता एक शिक्षादर्शन हो भने भाइगोत्सकी, जाँपियाजेका सिद्धान्त यसै दर्शनलाई पुष्टि गर्ने तथ्यहरू हुन्।
यसरी दर्शन, सिद्धान्त र शैक्षिक अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याए हाम्रा विद्यार्थीहरूले विचार गर्ने क्षमतासहितको असल शिक्षा पाउने छन्। ज्ञान व्यावहारिक बन्नेछ र विद्यालयको शिक्षादर्शन जीवन्त बन्नेछ।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)