६ दिनपछि एसएलसीको परीक्षा छ। शिक्षकको भूमिकाभन्दा माथि उठेर विद्यार्थीलाई सहयोग गर्ने विश्वराज ढुंगाना सरको घरमा म गणितको अभ्यास गर्दै थिएँ। बिहानको करिब साढे छ बजेको हुँदो हो।
सरले टिभी खोल्नुभयो। टिभीमा आवाज सुनेर मेरो मन अत्तालियो। समाचारवाचकले म्याग्दीको बेनीमा रहेको सेनाको ब्यारेकमा माओवादीले रातिदेखि निरन्तर आक्रमण गरिरहेको समाचार भनिरहेका थिए। मेरो हात खुट्टा काँप्न थाले।
'बेनीको ब्यारेकमा त मेरो दाइ हुनुहुन्छ,' विश्वराज सरलाई अत्तालिएको आवाजमा सुनाएर म आफ्नो घरतिर कुद्न थालेँ।
खोलाको बगरै बगर कुद्दै आधा घन्टामा घर पुग्दा घरमा छिमेकीहरूको भीड थियो। आमा, बुबा, भाउजू रूँदै हुनुहुन्थ्यो। हामीलाई दाइको अवस्था केही थाहा थिएन।
त्यस बेला न मोबाइल फोनको सुविधा थियो न त ल्यान्डलाइन नै हाम्रो पहुँचमा थियो। एकैछिनमा नजिकैको सेना ब्यारेकबाट चिनेका एक अफिसर आएर हामीलाई सुनाए, 'हामीले सम्पर्क गर्यौं। उहाँ सकुशल हुनुहुन्छ।'
तर हाम्रो चित्त बुझेको थिएन। रेडियोमा कान थापेर दिनभरि समाचार सुनिरह्यौं, भगवानसँग प्रार्थना गरिरह्यौं। भीडन्त जारी थियो। जब भिडन्त रोकियो र सेना ब्यारेकबाट दाइसँग सम्पर्क भयो, बल्ल हामी ढुक्क भयौं।
त्यति बेला बाल मस्तिष्कमा परेको असर अहिले कल्पना गर्न पनि गाह्रो हुन्छ। पछि ललितपुरको यलमाया केन्द्रमा बेनीमा गोलीले प्वाल परेको बिजुलीको पोल देखेपछि वर्षौंपछि समेत मन आत्तिएको थियो।
यस्तै त्रासमा एसएलसीको तयारी गरियो। यो त मेरो परिवारसँग सम्बन्धित एउटा घटना थियो।
सहरमा थाहा भएन, तर गाउँमा हामीले दिनहुँ जसो नै कुनै घटना सुन्थ्यौं, देख्थ्यौं। कहिले बन्दुक त कहिले बम पड्केको आवाज सुन्थ्यौं। गाउँमा भर्खर आएको टेलिभिजनमा पनि विभत्स दृश्यहरू देख्थ्यौं।
साँझमा गोली चलेको आवाजपछि धेरै रात हामीले ढुंगाको पर्खाल लाएको भुइँतलामा बितायौं। भुइँतलाको पर्खालभित्र मकै र धानको बोरा थुपारेर बंकर जस्तो बनाएको थियौं। 'केही नहोस् भगवान' भन्दै धेरै रात हामी त्यहीँ बिताउँथ्यौं।
युद्धमा हामीले आफ्नै गाउँका एक सेना दाइ गुमायौं। नजिकैको गाउँमा कहिले सेनाले माओवादी मारेको त कहिले माओवादीले सेना मारेको घटनाहरू सुन्नु हाम्रो दैनिकी थियो।
केही महिना अगाडि मात्र जंगलको छेउमा फुटबल खेलिरहँदा सेनाले आँखा छोपेर नजिकको गाउँबाट मानिसहरू ब्यारेकतिर लगेको देखेका थियौं। तीमध्ये एक जना आफ्नै शिक्षक हुनुहुन्थ्यो।
एक वर्ष अगाडि मात्र नजिकैको गाउँको बाटोमा एम्बुसमा परेर ३ जना आफैंले चिनेको सेनाको मृत्यु भएको थियो।
हाम्रो घर छेउको सामुदायिक वन पहिले जस्तो प्रवेश गर्न मनाही थियो। सेनाले तारले जंगल घेरेको थियो।
सेना ब्यारेकभित्रका विभिन्न कथाहरू हामी साथीहरूबीच छलफल हुन्थ्यो।
जस्तै — सेनाले जंगलभरि बम बिछ्याएर राखेको छ। माओवादीले आक्रमण गरिहाल्यो भने ती बमहरू बिस्फोट हुन्छन्। कति मानिसलाई सेनाले आफैंले खाल्डो खन्न लगाउँछन् र त्यही खाल्डोमा राखेर गोली हान्छन् र त्यहीँ पुरिदिन्छन्!
बेला बेला जंगलतिर बन्दुक पड्किएको आवाज आउँथ्यो। हामीभन्दा उमेर बढी भएका मानिसहरू त्यो आवाज सुनेपछि भन्थे — फेरि अर्को मान्छे मर्यो।
त्यो समय अहिले सोचेर हेर्दा कहाली लागेर आउँछ। निष्फिक्री बाँच्नु र रमाउनुपर्ने बाल्यकाल हरेक क्षण डरमा बितेको हुन्थ्यो।
सबैले शान्ति खोजेर होला, हाम्रो विद्यालयको भित्ते पत्रिकामा शान्तिको गीत, कविता र कथाहरू हुन्थे।
सेनाको घेराबन्दीबीच परीक्षा
एसएलसीको केही दिनअगाडि स्कुलमा हामीलाई शिक्षकहरूले सुनाउनुभयो — एसएलसीको समयमा माओवादीले नेपाल बन्द गरेको छ। तर सेना र पुलिसले सुरक्षा दिएर भए पनि परीक्षा चाहिँ हुन्छ।
किन बन्द गरेको हो, हामी विद्यार्थीहरूलाई थाहा थिएन। अघिल्लो वर्षको एसएलसीको समयमा पनि माओवादीले नेपाल बन्द गरेको थियो।
अन्योल र डरमा परीक्षाको तयारी गर्न साह्रै कठिन भएको थियो।
एसएलसीको पहिलो दिन घरबाट परीक्षा दिन जाँदा घरअगाडिको चेकपोस्टबाट एक जना सेनाले भनेका थिए, 'नडराइ परीक्षा देऊ। हामीले सुरक्षा दिएका हुन्छौं।'
तर मनले मानेको थिएन। माओवादीले जति बेला जे पनि गर्न सक्छन् भन्ने डर थियो। किनकि, हामीले त्यस्तो देखेका थियौं।
हामीले थाहा पाएका थियौं — माओवादीले गर्दा विद्यालयमा 'श्रीमान गम्भीर नेपाली' गाउन बन्द भएको थियो। उनीहरूले नै गर्दा कक्षा ८ मा हामीले संस्कृत पढ्न पाएनौं तर जिल्लास्तरीय अन्तिम परीक्षामा भने संस्कृतको जाँच दिनुपरेको थियो।
गाउँबाट स्कुल जाने बाटोमा धेरै ठाउँमा सेनाहरू बसेका थिए। समय समयमा सेनाका गाडीहरू बाटोमा कुदिरहेका थिए।
परीक्षाको केन्द्र पुग्दा त्यहाँ भीडभाड थियो। गेटबाट सेनाहरूले विद्यार्थीको खानतलासी गरेर भित्र पठाउँदै थिए। कतिलाई जुत्ता खोल्न लगाएका थिए, मोजाभित्र लुकाएर लगेको चिट पनि खोसेका थिए।
चिट भेट्टाउँदा सेनाहरू मुखमा जे आयो त्यही अपशब्दले विद्यार्थीहरूलाई गाली गर्थे। चिट सेनाले लगेपछि विद्यार्थीहरू खिन्न हुन्थे, मानौं — उनीहरूको एसएलसीको नतिजा आइसक्यो र उनीहरू फेल नै भइसकेका छन्। कति त आँसु झार्दै परीक्षा दिन गएको पनि देखियो।
परीक्षा केन्द्रको वरिपरि बन्दुक बोकेका सेनाहरू तैनाथ थिए।
शिक्षकले नैतिकता गुमाएको अस्तव्यस्त परीक्षा
सेनाको जाँचबाट भित्र जानुअगाडि सेनाले सुन्ने गरी एक शिक्षकले हाम्रो कक्षाका केही साथीलाई भन्नुभयो — आफैंले राम्रोसँग लेख्नू है। चिट नचोर्नू। चिट चोर्दा समातियो भने जे पनि हुन सक्छ!
त्यसपछि म लगायत पहिलेका परीक्षामा केही राम्रो अंक ल्याउने साथीलाई एकान्तमा लगेर उही शिक्षकले भन्नुभयो — साथीहरूलाई सहयोग गर्नू। आफ्नो जबाफ लेखेपछि कापी साथीलाई दिनू। तिमीहरूको कापी सुरक्षित हुन्छ। तिमीहरूले मात्र राम्रो गरेर भएन नि, स्कुलले नि राम्रो गर्नुपर्यो नि!
सरको कुरा सुनेर म ट्वाँ परेँ।
त्यस समय त्यो सरप्रतिको मेरो सम्मान भताभुंग भयो। केही वर्षदेखि कक्षामा उहाँले सिकाएका नैतिकताको कथाहरू मलाई झलझल्ती याद आयो।
साथीहरूलाई सहयोग गर्न सरले भन्नै पर्दैन थियो, तर सरले हामीलाई चिट चोराउन भनिरहनुभएको थियो। त्यो पनि आफ्ना विद्यार्थी पास होउन् भन्ने मनसायले होइन, धेरैभन्दा धेरै पास भएर आफ्नो विद्यालयको इज्जत बढोस् भन्ने मनसायले।
शिक्षकप्रति खिन्न हुँदै सेनाको चेकिङ पास गरेर कक्षाकोठामा पुगियो। हाम्रो परीक्षा केन्द्रमा करिब २ हजारको हाराहारीमा परीक्षार्थी थिए।
भित्र गएपछि थाहा भयो — त्यहाँ त चिट चोराउनका लागि विद्यालयहरूको सेटिङ थियो। प्रश्न पत्र आएलगत्तै कापीमा प्रश्न सारेर बाहिर पठाउने विभिन्न विद्यालयका शिक्षकहरू तैनाथ थिए। बाहिर पनि विषयगत शिक्षकहरू तयारी अवस्थामा बस्ने रहेछन्।
आफ्नो सिटमा बसेपछि थाहा भयो — सिट प्लानमा पनि सेटिङ हुने रहेछ। आफ्नो विद्यालयका साथीहरू त सँगसँगै रहेछौं। सेटिङ नमिलाउने विद्यालयका विद्यार्थीहरू मात्र नियमानुसार छुट्टाछुट्टै राखिने रहेछ।
झ्याल बाहिर सेनाहरू उभिइरहेका थिए। मेरो त घर छेउ नै सेनाको ब्यारेक, मलाई सेना र सेनाले बोकेको बन्दुक देखेर डर लागेन। तर कतिपय सेनालाई नजिकबाट नदेख्ने साथीहरूलाई डर लाग्ने रहेछ। उनीहरू निकै 'नर्भस' थिए।
घन्टी लाग्यो। प्रश्न आयो। सुरूमा दिएको कापी भरिएपछि मैले अर्को कापी मागेँ। त्यसलगत्तै एक शिक्षकले आएर मेरो कापी लानुभयो। कता लानुभयो भनेर हेरेको, पढ्न अलिक संघर्ष गर्ने साथीहरूलाई दिनुभएको रहेछ। परीक्षामा राम्रो अंक ल्याउने अरू साथीहरूको कापी पनि त्यसै गरी बाँड्नुभएको थियो। अर्को कापी थपेलगत्तै जबाफ लेखेको कापी सरले लगिहाल्नु हुन्थ्यो।
अर्को अचम्मको कुरा, केही समयपछि बाहिर गएको प्रश्नको जबाफ पनि कक्षाभित्र आइपुग्यो। विभिन्न विद्यालयका शिक्षकहरू बेन्च बेन्चमा गएर आफ्ना विद्यार्थीहरूलाई सिकाइरहेका थिए।
साँच्चिकै कक्षामा ती शिक्षकहरूले त्यसरी विद्यार्थीहरूलाई प्रेम गरेर सिकाउनुभयो कि भएन, थाहा भएन। तर त्यहाँ भने हरेक विद्यार्थीहरूलाई सोधी सोधी जबाफ भन्दिरहनुभएको थियो।
बन्दुक बोकेका सिपाहीले झ्यालभित्र हेरेका बेला शिक्षकहरूले शान्त रहन निर्देशन दिनुहुन्थ्यो, सिपाही ओझेल परेको बेला भने कक्षाकोठा अस्तव्यस्त भइरह्यो।
समय सकिनुअगाडिको जनाउ घन्टी लागेपछि चाहिँ शिक्षकले आफ्नो कापी हातमा ल्याएर थमाइदिनुभयो। कुनै पाना पसिनाले भिजेको थियो भने कुनै पाना अलिअलि च्यातिएको थियो।
शौचालयमा जाँदा कापी, किताब र गेस पेपरको चाङ थियो — च्यातिएका, फालिएका।
अचम्म लागेको थियो, सेनाले त्यस्तो कडा गर्दा पनि कसरी किताब र कापी भित्र आयो होला!
पछि थाहा भयो — ती किताबहरू ओसार्ने पनि शिक्षकहरू नै हुनुहुन्थ्यो।
नराम्रो देख्दा त्यस्तो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा किताबमा पढिएको थियो। यस्तो देखेपछि भोलिपल्ट परीक्षा निरीक्षकलाई गुनासो गरेर एउटा निवेदन लेख्दै थिएँ।
दिदी आएर मलाई गाली गर्नुभयो — उल्टै तँलाई फेल गरिदेलान् नि!
डर लागेर गुनासो गरिएन।
हरेक विषयमा आउने वस्तुगत प्रश्नको जबाफ त शिक्षकले कक्षाकोठा अगाडिबाटै भनिदिनुभएको थियो।
सबै विषयमा यसरी नै परीक्षा भयो। सेनाको अफिसर र परीक्षा निरीक्षक आएका बेला अगाडि नै हामीलाई चेतावनी दिएर कक्षा शान्त बनाइन्थ्यो। तर परीक्षा निरीक्षकलाई पनि यस्तो हुन्छ भन्ने थाहा त पक्कै थियो होला।
एक दिन परीक्षा दिँदै गर्दा नजिकैको खोलामा माओवादीले बम पड्काए। सेना सतर्क भए। हामी डरायौं। तर त्यो अस्तव्यस्तता रोकिएन।
आफैं लेख्न खोज्नेहरूलाई पनि कक्षाकोठाको माहौलले अवरोध भएको थियो।
दुर्भाग्य भनौं या आश्चर्य, शिक्षकले वर्षभरि गर्नेभन्दा बढी मेहनत गर्दा पनि कतिपय विद्यालयका धेरै विद्यार्थीहरू अनुत्तीर्ण थिए।
अहिले फर्केर हेर्दा
दुई दशक अगाडिको त्यो एसएलसी अहिले सम्झिँदा हाँस उठेर आउँछ। माओवादी युद्ध चर्किएका बेला सेनाको पहरेदारीमा हुने परीक्षामा त यस्तो थियो भने पछाडि झन् कस्तो भयो होला?
त्यस समय हाम्रो परीक्षा केन्द्रमा मात्र यस्तो होला भन्ने लागेको थियो। पछि थाहा भयो, यो त धेरै ठाउँको वास्तविकता रहेछ।
योभन्दा पनि अझ कुरूप हिसाबले परीक्षा हुने ठाउँहरू रहेछन्। 'फलामको गेट' बनाइएको एउटा साधारण परीक्षामा पैसाको चलखेल समेत हुने रहेछ।
विद्यालय मात्र होइन, कलेजमा पनि उस्तै थियो।
केही दिनअगाडि काठमाडौंको एउटा विद्यालयमा पढ्ने कक्षा ८ का एक आफन्त भाइ परीक्षा केन्द्रको आफ्नो अनुभव सुनाउँदै थिए, 'एक घन्टासम्म शिक्षकहरूले अलिक कडाइ गर्छन्। त्यसपछि त बेन्च बेन्चमा नै गएर सिकाउँछन्।'
कतिपय विद्यालयहरूको वर्षको अन्तिम परीक्षा, कक्षा ८ को पालिका स्तरीय परीक्षा र एसइई परीक्षामा यस्तो गलत अभ्यास अझै देख्न सकिन्छ।
केही विषयमा हुने प्रयोगात्मक परीक्षाको अधिकार विद्यालयलाई नै दिएको छ। त्यसलाई इमानदार भएर मूल्यांकन गर्ने विद्यालयहरू कति होलान्?
यस्तो अभ्यासले हाम्रो समाजको एउटा डरलाग्दो दृश्य देखाउँछ। त्यो परीक्षापछि म र मेरा साथीहरूको नजरमा हाम्रा शिक्षकहरूको साख खस्केको थियो। जसलाई चिट चोराएर सहयोग गरे, उनीहरूको नजरमा पनि शिक्षकहरू गिरेका थिए।
नैतिक शिक्षा फेरि पढाउनुपर्छ भन्ने बहस सुन्न थालिएको छ। केही महिनाअगाडि प्रधानमन्त्री समेतले नैतिक शिक्षा आवश्यक छ भन्दै थिए। तर नैतिक शिक्षा पढाउने कुरा होइन। यो त शिक्षक र अग्रजहरूले गरेर देखाउने कुरा हो। सरकार, विद्यालय, शिक्षक सबैले आफ्नो कर्मबाट विद्यार्थीहरूलाई नैतिक शिक्षा सिकाउन सक्छन्।
तर हाम्रो समग्र शैक्षिक प्रणालीमा अग्रजहरूले मोडल गरेर देखाउने नैतिकताको खडेरी छ।
हो, आजको मूल्यांकन प्रणाली अपूर्ण छ। लिखित जबाफबाट अधिकांश मूल्यांकन गरिने प्रणाली छ। मूल्यांकनमा पनि विविधता ल्याउनुपर्ने छ। तर जुन दिनसम्म हामी कुनै प्रणालीमा रहन्छौं, त्यसलाई इमानदार भएर गराउनु हाम्रो दायित्व हो।
सक्छौं, मूल्यांकनको विविध मोडल ल्याऔं। विद्यार्थीहरूलाई विविध तरिकाबाट सिकाऔं। विद्यार्थीहरूलाई माया गरौं। वर्षभरि इमानदार भएर सिकाऔं, सिकाइमा संघर्ष गर्नेहरूलाई अतिरिक्त समय दिएर सिकाऔं। साथी साथीबीच सिक्ने वातावरणको अवसर सिर्जना गरौं।
उनीहरूको जबाफ मूल्यांकन गर्न बरू लचक बनौं। तर परीक्षामा इमानदार हुन सिकाऔं। अरूको कुरा हुबहु सार्नु बौद्धिक चोरी हो भनेर सिकाऔं।
बरू परीक्षाप्रतिको डर भगाउन सहयोग गरौं।
हो, शिक्षकहरू चाहन्छन् — आफ्ना विद्यार्थीहरू पास होउन्, विद्यालयको इज्जत बढोस्।
यो चाहना गलत होइन।
तर यसका लागि गलत तरिका नअपनाऔं। देशको शिक्षाका आधार शिक्षकले नै गलत तरिका अपनाए भने हामी सधैं अधोगतिमा नै लागिरहने छौं। प्रगतिको आशा नगरे हुन्छ।
खुसीको कुरा, दुई दशक अगाडिको जस्तो आज देशमा युद्ध छैन। बालबालिकाहरू युद्धको त्रासबाट गुज्रिनुपर्ने अवस्था छैन। त्यस बेला युद्ध गर्ने दलको अध्यक्ष नै देशको प्रधानमन्त्री हुनुहुन्छ।
तर देशको अवस्थाले एसइई दिने कैयौं विद्यार्थीहरूको मन भित्र निराशा र अन्योलको युद्ध महसुस गर्न सकिन्छ। परीक्षाको प्रणाली र डर उस्तै नै छ।
अग्रजहरूले उनीहरूलाई परीक्षाको तयारी गर्न सहयोग गरौं। इमानदार भएर परीक्षा दिन अनुरोध गरौं। सफल वा असफल जे भए पनि, उस्तै माया दिन्छौं भन्ने विश्वास दिलाऔं। उनीहरूको मनोबल बढाऔं।
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)