एक दिन विद्यालयमा शिक्षक बैठक चल्दै थियो। मुख्य विषय थियो, नयाँ शैक्षिक वर्षको तयारी।
सरकारी विद्यालय न हो, छनोट गरेर भर्ना लिने त स्थानाभाव देखाएर मात्रै हो। ठूला सहरका धेरैजसो सरकारी विद्यालयले छनौटा विद्यार्थी भर्ना लिनुपर्छ — निजी विद्यालयले भर्ना नलिएका, निष्कासन गरेका र अलिक राम्रो भनिएको सरकारीले पनि छाडेका।
यस्ता अधिकांश छनौटाहरू आर्थिक रूपले निकै कमजोर परिवारका हुन्छन्। बहुधा यस्तो परिवारका बालबालिका पनि विभिन्न कारणले पढाइमा कमजोर देखापर्छन्।
ऊ पढाउने विद्यालयका बहुसंख्यक विद्यार्थी गरिब परिवारका छन्। सबै छनौटा छैनन् तर अधिकांश गरिब परिवारकै छन्। दिनदिनै कमाएर खानुपर्ने परिवारका पनि छन्।
ती विद्यार्थीले सिंगो नेपालको प्रतिनिधित्व गर्छन्। सतहत्तरै जिल्लाका छैनन् तर सबै प्रदेशका छन् र आधाभन्दा बढी जिल्लाका छन्। हिमाल, पहाड र तराईका छन्। काठमाडौं उपत्यका वरिपरिका जिल्लाका धेरै छन्, त्यसपछि बढी कर्णाली र सुदूरपश्चिमका।
जातीय विविधता त झन् गज्जबको छ। सिंगो नेपालको चित्र हेर्न यही एउटा सरकारी विद्यालय नै पर्याप्त छ भन्नु अत्युक्ति हुँदैन भन्ने ऊ ठान्छ।
यो एउटा मात्र होइन, काठमाडौं उपत्यकामा यस्ता सरकारी विद्यालय अरू पनि छन् जसले नेपालको मुहारचित्र देखाउँछन्। एकपटक एक जना प्रधानाध्यापकले मेरो स्कुलमा पैंसठ्ठी जिल्लाका विद्यार्थी छन् भनेको उसको स्मरणमा छ।
खासमा धेरैजसो देशका राजधानी सहरमा देशभरिको अनुहार देखिन्छ। गरिब वा अल्पविकसित मानिने नेपालजस्ता धेरै देशमा राजधानीको नियति यस्तै हुन्छ भन्ने उसलाई लाग्छ।
अँ! शिक्षक बैठकको कुरा; अधिकांश विद्यार्थी कमजोर छन्, औसतभन्दा पनि धेरै कमजोर। निर्धारित समयमा पाठ्यक्रम पूरा गर्नुपर्ने बाध्यात्मक अवस्थामा यस्ता विद्यार्थीको कक्षामा बहुसंख्यकको सिकाइ सुधार गर्न सकिँदैन।
किन सकिँदैन?
किनभने ती कमजोर विद्यार्थीहरू मिहिनेत गर्दैनन्। कतिपय त नियमित उपस्थित हुँदैनन्। तिनका आमाबाबुले सिकाइमा मद्दत गर्न सक्दैनन्। धेरै आमाबाबुको त मद्दत गर्न सक्ने शैक्षिक स्तर नै हुँदैन। हुनेले पनि समय दिन भ्याउँदैनन्।
बैठकमा धेरैजसो साथीहरूबाट यस प्रकारको धारणा प्रकट भयो। खासमा धारणाभन्दा पनि साथीहरूको कुरा वस्तुगत यथार्थ थियो। प्रस्ट देखिएको कुरा यही थियो। जे प्रस्ट देखिएको छ, त्यही बोल्नु त शिक्षकको धर्म नै हो। शिक्षकलाई आफ्ना विद्यार्थीका आमाबाबु–अभिभावकको आर्थिक–सामाजिक अवस्थाबारे थोरबहुत जानकारी नहुने कुरा पनि भएन।
शिक्षण–सिकाइमा अपेक्षित उपलब्धि हासिल नभएपछि, अझ न्यूनतम मानिएको उपलब्धि पनि हासिल नहुने अवस्थामा शिक्षक निराश हुनु स्वाभाविक हुन्छ।
उसको शिक्षण अनुभवले भन्छ – शिक्षण-सिकाइमा शिक्षकको प्रयासले अपेक्षित उपलब्धि दिन अभिभावकको सहयोग आवश्यक पर्छ। शिक्षकलाई जति नै बढी जिम्मेवार ठहर्याए पनि अभिभावकको केही मद्दत नभई अपेक्षित उपलब्धि सम्भव छैन।
अपवाद त जहाँ पनि हुन्छ।
बैठकमा उसको बोल्ने पालो आयो –
साथीहरू! निश्चय नै, हाम्रा आधा विद्यार्थीले पनि अपेक्षित त के, तोकिएको न्यूनतम सिकाइ नै पूरा गरेका छैनन्। यही अवस्थामा गर्न पनि सक्दैनन्। यसो भए पनि यिनको शिक्षक भएकोमा मलाई गौरव छ। गौरव किन छ भने म ती विद्यार्थी पढाउँदै छु जो अन्त्यत गरिब परिवारका छन्। तिनका आमाबाबु तै जीवन चल्छ कि भनेर टाढाटाढाबाट राजधानीमा आएका छन्।
ऊ बोल्दै गयो –
आफ्नो कमाइले मात्र नपुगेर कति आमाबाबुले त विद्यार्थी छोराछोरीलाई पनि काममा पठाएका छन्। कोही विद्यार्थी काम गरेर आउँछन् त कोही स्कुलबाट सोझै काममा जान्छन् र अबेर फर्किन्छन्। केही विद्यार्थी त घरेलु कामदार छन्। हामी सबैजसोलाई यो यथार्थ थाहा छ।
ऊ रोकिएन –
यस्तो अप्ठ्यारोबीच पनि तिनको पढ्ने चाहना छ। तिनका आमाबाबु छोराछोरीलाई शिक्षित बनाउन चाहन्छन्। कतिपय आमाबाबु त दुर्गम गाउँमा छोराछोरीको पढाइ सम्भव नहुने देखेर मजदुरी गरेरै भए पनि पढाऊँला भनेर राजधानी आएका छन्।
ती गरिब आमाबाबुलाई आफ्ना छोराछोरीले राम्रो पढ्नुपर्छ भन्ने मात्र थाहा छ। पढाउन तल्लीन छन्। जस्तोसुकै कष्ट उठाउन पनि तयार छन्। हामीमाथि भर गरेका छन्। हाम्रो विश्वास गरेका छन्।
यस्ता आमाबाबुका छोराछोरी, यस्ता विद्यार्थीलाई जति सिक्न सक्छन् त्यति सिकाउन पाएकोमा, तिनलाई पढाउन पाएकोमा मलाई गौरव छ।
उसले यसरी कुरा टुंग्यायो –
साथीहरू, घाम जत्तिकै छर्लंग तथ्य आत्मसात् गरेर अधिकतम प्रयास गरौं।
कहिलेकाहीँ उसको कुरा बढी आदर्शवादी र सैद्धान्तिक पनि ठानिन्छ। व्यावहारिक हुन सुझाव पनि आउँछ।
ऊ भन्छ – आदर्श र सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ।
२०७२ को भूकम्पपछिको समय थियो, चित्राले बारेको टहरामा शिक्षण–सिकाइ चल्दै थियो। काठमाडौं उपत्यका नजिकको एउटा जिल्लाकी एक छात्रा भर्ना भइन्। कसले ल्याएर भर्ना गरेको थियो, उनका अभिभावक कस्ता थिए, उसले मेलो पाएन।
छात्रा अनियमित थिइन्। सातामा तीनचार दिनजसो अनुपस्थित रहन्थिन्। पहिलो महिना त उसले उति वास्ता गरेन। छात्रा औसतभन्दा अलिक बढी उमेरकी जस्तो ठान्यो। औसत उमेर १४ वर्षजति हुनुपर्ने थियो।
एक दिन उसले सोध्यो – तिमी किन धेरै अनुपस्थित हुन्छ्यौ?
‘सर, म आउँन भ्याउँदिनँ।’
‘किन?’
‘काम गर्नुपर्छ।’
‘के काम गर्छ्यौ?’
‘बुटिकमा।’
‘बुटिकमा के काम?’
‘सबै काम।’
‘कसको बुटिक हो।’
‘हाम्रो गाउँतिरकी दिदीको।’
‘उहाँले स्कुल नजानू भन्नुभएको छ?’
‘कहिलेकाहीँ जानू, काम धेरै भएको दिन नजानू भन्नुभएको छ।’
‘तिमी कति वर्षकी भयौ?’
‘...’
‘ठिकै छ, भन्न मन लाग्दैन भने नभन, भन्दिनौ?’
‘...’
‘भन्दिनौ? ल भइ’गो, भन्नु परेन।’
फ्याट्ट बोलिन्, ‘बाईस वर्षकी भएँ!’
उसको अनुमान ठिक ठहरियो।
फेरि सोध्यो – बीचमा पढाइ छाड्यौ कि ढिलो पढ्न थालेकी हौ?
‘छाडेको।’
‘तिमीले बुटिकको काम जानेकी रहिछौ। नियमित स्कुल आउन पनि नपाउने रहिछौ। आखिर गरिखानु हो, काम जानेपछि त भइ’गो। किन स्कुल भर्ना भयौ त?’
‘मलाई पढ्न मन छ। एसलएसी (कक्षा दस) पास गर्न मन छ।’
‘तिमीले धेरै मिहिनेत गर्नुपर्छ। नियमित स्कुल आउनुपर्छ। त्यसो गर्न सक्छ्यौ त?’
‘...’
‘ल भइ’गो, तिमी बाइस वर्षकी भयौ, कुरा बुझ्न सक्छ्यौ। तिम्रो पढ्ने चाहनालाई सलाम छ। म सकेको सहयोग गर्छु। मलाई भन्न अप्ठ्यारो नमान्नू।’
‘हस् सर।’
‘अँ, तिमी यहाँ (काठमाडौंमा) कोसँग बस्छ्यौ।’
‘एक्लै बस्छु।’
‘तिम्रा आमाबुबा नि?’
‘गाउँमै हुनुहुन्छ।’
‘तिम्रो पढाइमा आमाबुबाले मद्दत गर्नुहुन्छ होला नि?’
‘...’
‘किन तिमी त...! आमाबुबालाई भेट्दिनौ र?’
‘...’
उसले छात्राको अनुहारको भाव फेरिएको अनुमान गर्यो। तैपनि रोकिएन।
‘आमाबुबा दुवै जना हुनुहुन्छ?’
‘हुनुहुन्छ।’
‘उहाँहरू दुवै जना तिमीलाई जन्म दिने नै हो?’
‘हो।’
‘अनि? आमाबुबासँग सम्बन्ध राम्रो छैन?’
‘...’
‘लौ तिमी त रून थाल्यौ, किन? के भयो?’
‘...’
‘ल, नरोऊ। सायद मैले तिम्रो कुनै घाउ कोट्याएँ। सरी! अब कहिल्यै सोध्दिनँ। नरोऊ। म सकेको मद्दत गर्छु। पढाइ नछोड्नू।’
अर्को कुनै दिन उसले फेरि छात्रासँग कुरा गर्यो।
‘बुटिककी दिदीलाई भेटेर तिम्रो पढाइमा मद्दत गर्न आग्रह गर्छु, मलाई ठाउँ देखाइदेऊ है।’
‘पर्दैन सर।’
‘किन?’
‘दिदीले मान्नुहुन्न।’
‘यसरी त तिम्रो पढाइ राम्रो हुँदैन नि! धेरै वर्ष छुटिसक्यो। पढाइको नाममा तिम्रो समय मात्रै खेर जान्छ। म दिदीलाई आग्रह गर्छु नि।’
‘म मिहिनेत गर्छु।’
‘मैले अनुमान गरेँ, तिमी कुनै न कुनै समस्यामा छ्यौ। जिन्दगी यस्तै हो नानु! अनेक समस्या झेल्नुपर्छ। तिमीले पढ्ने आँट गर्यौ, तिम्रो आँटलाई र मिहिनेत गर्छु भन्ने अठोटलाई फेरि पनि सलाम छ। सक्नेसम्मको सहयोगका लागि तयार छु। भन्न अप्ठ्यारो नमान्नू।’
‘...’
ती छात्राको उपस्थिति झन् पातलो भयो।
आखिर, आउनै छाडिन्। प्रथम त्रैमासिक परीक्षामै उपस्थित भइनन्।
ऊ प्रस्ट छ, यो घटना प्रतिनिधिमूलक होइन। औसत घटना त हुँदै होइन। अपवाद हो।
आठ वर्ष बित्यो। ती छात्रासँग आमनेसामने भएछ नै भने पनि ऊ चिन्ने छैन तर उनीसँगको उल्लिखित संवाद स्मरणमा ताजा छ। संवाद हुँदाको उनको मनस्थिति जो देखेको थियो त्यो झल्झली छ।
कहिलेकाहीँ अपवाद नै बलशाली भइदिन्छ। नियमले नभेट्ने अपवाद अलग्गै स्मरण गर्नुपर्ने हुन्छ। उक्त अपवाद संवाद र समय उसले बल गरेर स्मरण गर्नुपरेको छैन। शिक्षण पेसाको एउटा अविस्मरणीय घटना भएर बसेको छ।
ऊ पेसा जुनसुकै होओस्, त्यसको सफलता आफू त्यो पेसाकर्मी भएकोमा गौरव गर्नुमा छ भन्ने विश्वास गर्छ। शिक्षण गर्नु अर्थात् शिक्षक हुनु पेसाभन्दा बढी जिम्मेवारी हो। शिक्षक हुनु जागिर खानुभन्दा अलिक फरक काम हो। शिक्षक हुनु देशका लागि भावी जनशक्ति तयार गर्ने कामको महत्वपूर्ण एक अंश जिम्मा लिनु हो।
आज काम हुँदैन भन्ने सुविधा शिक्षकलाई हुँदैन। फलानो फलानो कागजपत्र पुगेन, पुर्याएर ल्याऊनू अनि मात्रै काम हुन्छ भन्ने सुविधा हुँदैन। सिफारिस लिएर आउनू भनेर काम पन्छाउने छुट पनि हुँदैन। मेरो काम गरिँदिँदै गर है भनेर सहकर्मीलाई जिम्मा दिने सुविधा पनि हुँदैन।
‘निष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर/देश र जनताका नाममा शपथ लिन्छु...’ भनेर तलुकवाला अधिकारीका सामु शपथपत्र अनुपाठ गरेर पालना नगरे पनि हुने सुविधा पनि शिक्षकलाई हुँदैन।
सुविधा हुँदैन भन्नुको अर्थ सुविधा हुनुपर्थ्यो भन्ने होइन। छुट हुँदैन भन्नुको तात्पर्य छुट हुनुपर्थ्यो भन्ने पनि होइन। जिम्मेवारी र कर्तव्यको गम्भीरता जनाउन चाहेको हो।
शिक्षकले तत्काल परिणाम दिनुपर्छ। परिणामको जिम्मा पनि लिनुपर्छ। त्यसैले भनेको शिक्षण पेसा जागिरभन्दा बढी जिम्मेवारी हो भनेर।
यति गहन जिम्मेवारी पूरा गर्न लगनशीलता र प्रतिबद्धता चाहिन्छ। शिक्षकले आफैंसँग शपथ लिएको हुनुपर्छ, आफैंप्रति इमानदार भएको हुनुपर्छ।
आफूसँग शपथ लिन नसक्ने र आफैंप्रति इमानदार हुन नसक्ने व्यक्ति शिक्षक हुन योग्य हुँदैन। शिक्षक हुने आवश्यक पहिलो योग्यता यही हो। विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र एक्लैले यस्तो योग्यता दिन सक्दैन। शिक्षक व्यक्ति स्वयंले हृदयबाट हासिल गर्नुपर्छ।
शिक्षक हुनु भनेको पाठ्यपुस्तक पढाउनु मात्रै होइन। सेवा गर्नु हो, त्यसैले भनेको शिक्षासेवा। सेवामा समर्पणको भाव आवश्यक हुन्छ। शिक्षकले आफूलाई विद्यार्थीमा निःसर्त समर्पण गरेको हुनुपर्छ। तब मात्र शिक्षण साँचो अर्थमा शिक्षण हुन्छ। शिक्षक साँचो अर्थमा शिक्षक हुन्छ।
यसो भनेर शिक्षक सबथोक हो, अचुक औषधि हो भनेको पनि होइन। शिक्षक हुनुको मर्म आत्मसात् गर्दै शिक्षण–सिकाइ अब्बल बनाउन प्रयत्नरत रहनुपर्छ भनेको हो। अनुभवलाई व्यवहारमा रूपान्तरण गर्दै जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेको हो।
शिक्षक हुनु भनेको आफ्ना विद्यार्थीहरूलाई सत्यको मार्गमा हिँडाउन सक्नु पनि हो। अँध्यारोबाट उज्योलोतिरको बाटो देखाउनु हो। मृत्युको कला सिकाउनु पनि हो।
ॐ असतोमा सद्गमय।
तमसोमा त्योतिर्गमय।
मृत्योर्मा अमृतं गमय।
ॐ शातिः शान्तिः शान्तिः।।
***
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)