गुणस्तरीय शिक्षाको सन्दर्भमा हाम्रोमा एउटा भाष्य जबर्जस्त स्थापित छ – निजी विद्यालयले गुणस्तरीय शिक्षा दिएका छन् तर सरकारी विद्यालय धेरै कमजोर छन्, तिनले दिने शिक्षा गुणस्तरीय छैन।
जबकि, शिक्षक सेवा आयोगबाट छानिएका र तालिमप्राप्त शिक्षक सरकारी स्कुलमै छन्। निजी विद्यालयका शिक्षक तालिमप्राप्त छैनन्, सरकारी शिक्षकले जति तलब पाउँदैनन्, सेवानिवृत्तिपछिको आर्थिक सुविधा पनि छैन। तैपनि निजीले गुणस्तरीय शिक्षा दिँदा सबै सुविधा पाएका सरकारी शिक्षकले किन राम्रो नतिजा दिँदैनन्?
गुणस्तरीय शिक्षाबारे जबर्जस्त स्थापित उपर्युक्त भाष्यकै अंग बनेर उक्त प्रश्न पनि उठ्ने गरेको छ।
बहुधा सरकारी विद्यालयको तुलनामा निजीका विद्यार्थीले परीक्षामा अभिभावकको चित्त खुस हुनेगरी अंक/ग्रेड प्राप्त गर्ने गरेका छन्। अधिकांश सरकारी विद्यालयमा यो पक्ष निकै निराशाजनक छ भन्ने मानिएको छ। देखिन्छ पनि त्यस्तै।
यही सन्दर्भमा सरकारी विद्यालय र त्यहाँका शिक्षक चौतर्फी आलोचनमा पर्ने गरेका छन्।
सरकारी र निजी विद्यालयले पढाउने पाठ्यक्रम र पाठ्यपुस्तक एकै हो। सहायक पाठ्यसामग्री र शैक्षिक उपकरण पनि करिब उस्तै हुन्। तर गुणस्तर किन फरक? नतिजा किन फरक?
प्रश्न स्वाभाविक छ। प्रश्न उठेपछि जवाफ आवश्यक हुन्छ। जवाफदेयी निकायहरू जिम्मेवार हुनै पर्छ।
यहाँ सरकारी र निजी विद्यालय तुलना गरेर जबर्जस्त रूपमा स्थापित गुणस्तरीय र गुणस्तरहीन शिक्षाको भाष्य नै भ्रमपूर्ण छ। किन?
किनभने यो भाष्यले शिक्षण–सिकाइ गतिविधि मात्र समेट्छ। शिक्षाको गुणस्तर समेट्दैन। विद्यार्थीले अभिभावकको चित्त खुस हुने गरी, अझ भनौं निकै उत्कृष्ट अंक वा ग्रेड प्राप्त गर्नु मात्र गुणस्तरीय शिक्षाको मानक होइन।
त्यसो भए के हो त गुणस्तरीय शिक्षाको मानक?
शिक्षासम्बन्धी अध्येता, नीति निर्माता, राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ-संस्थाहरू अनेकले गुणस्तरीय शिक्षाको मानक निर्धारण गरेका होलान्। शिक्षा, विज्ञान तथा संस्कृतिसम्बन्धी राष्ट्रसंघीय निकाय ‘युनेस्को’ र राष्ट्रसंघीय बालकोष ‘युनिसेफ’ का गुणस्तरीय शिक्षासम्बन्धी मानकहरू छन्।
नेपालको सन्दर्भमा राष्ट्रिय स्तरमा पनि शिक्षाको गुणस्तरको मानक लेखिएको होला।
अहिले त्यतातिर जानु उसको उद्देश्य होइन। करिब साढे तीन दशकदेखिको आफ्नो शिक्षण अनुभव प्रस्तुत गर्ने मात्र उद्देश्य हो।
गुणस्तरीय शिक्षाले व्यक्तिभित्रको प्राज्ञिक क्षमता प्रस्फुटन गराउँछ। व्यक्तिलाई विनयशील र विवेकी बनाउँछ। परोकारी भावना सिर्जना गर्छ। आफ्नो परिवार, समाज, देश–राष्ट्र र सिंगो विश्वमा भाइचारा उन्नयनका लागि चिन्तन गर्न सिकाउँछ। आफू र अरूको आत्मसम्मानको ख्याल राख्ने बनाउँछ र समग्रमा स्वस्थ समाज निर्माणमा चिन्तनशील बनाउँछ।
गुणस्तरीय शिक्षाले सामयिक ज्ञान, सिप र मूल्यमान्यताहरू प्रवर्द्धन गर्न व्यक्तिलाई सक्षम बनाउँछ। व्यक्तिमा सुषुप्त रहेको क्षमता बाहिर निकाल्छ। मानवता प्रवर्द्धन गर्छ। समतामूलक समाज निर्माणका लागि योगदान गर्न सिकाउँछ। समभाव प्रवर्द्धन गर्छ।
एउटा कहावत छ – विद्या ददाति विनय अर्थात् विद्याले व्यक्तिलाई विनयशील बनाउँछ। विनयशील व्यक्तिले कहिल्यै कसैको अहित गर्दैन, व्यभिचार गर्दैन। निजी स्वार्थ मात्रलाई लक्ष्य बनाउँदैन।
गुणस्तरीय शिक्षा प्राप्त गरेको व्यक्तिले आफ्नै श्रममा बाँच्न सिकेको हुन्छ। अरूको श्रमको सम्मान गर्न जानेको हुन्छ। स्वाभिमान सिकेको हुन्छ। अरूको स्वाभिमानको सम्मान गर्न जानेको हुन्छ। यी गुणले युक्त व्यक्ति आर्थिक–सामाजिक रूपमा सबल हुन्छ। आफ्नै आर्जनले बाँच्न सक्ने हुन्छ।
विद्यालयमा विद्यार्थीले प्राप्त गर्ने अंक वा ग्रेड यी गुणको आलोकमा मात्र चम्किन्छ। गुणस्तरीय शिक्षा पाएको व्यक्तिमा मात्र यस्तो योग्यता हुन्छ।
गुणस्तरीय शिक्षाको उल्लिखित पहिलो पाटोले समग्रमा व्यक्तिको आन्तरिक क्षमता विकास गर्न सघाउँछ, व्यक्तित्व विकासमा मद्दत गर्छ। व्यक्तिलाई गहिराइबाटै प्रज्ञावान बनाउँछ। युगअनकूल ठिक–बेठिक पर्गेलेर आफ्नो निर्णय दिन सक्ने बनाउँछ। यस्तै व्यक्ति विद्वान कहलिन्छ र सुनाम फैलिन्छ।
‘स्वदेशे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते’ भन्ने कहावत यसै मेसोमा चलेको हुनुपर्छ। नेपाली बोलीको ‘फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारि’ पनि यस्तै विद्वान व्यक्तिको महिमागानकै लागि बनेको हुनुपर्छ।
गुणस्तरीय शिक्षाको दोस्रो पाटो छ। यो पाटो आम्दानी गर्न सक्ने सिपसँग सम्बन्धित छ। वर्तमानमा शिक्षाको गुणस्तरको कुरा हुँदा उल्लिखित पहिलो पाटोको सापेक्षमा दोस्रो पाटो सबल भएको छ।
अहिलेको शिक्षामा अभिभावक र विद्यार्थीहरूले व्यक्तिले पैसा कमाउन सक्ने क्षमताको विकास खोज्न थालेका छन्। ज्ञानको गहिराइको सापेक्ष व्यक्तिले सिकेको प्राविधिक प्रकृतिको सिप बढी आवश्यक हुन थालेको छ।
आजको हाम्रो विद्यार्थीले प्राप्त गरेको अंक/ग्रेडले गुणस्तरीय शिक्षाको उल्लिखित पहिलो पाटो समेट्दैन।
निश्चय नै, तुलनात्मक रूपमा सरकारीभन्दा निजी विद्यालयका विद्यार्थीहरूले राम्रो अंक/ग्रेड हासिल गर्ने गरेका छन्। यो अंक/ग्रेड शिक्षण–सिकाइसँग सम्बन्धित छ। यस अर्थमा मान्नुपर्यो कि तुलनात्मक रूपमा निजी विद्यालयको शिक्षण–सिकाइ गुणस्तरीय छ तर यतिले मात्र शिक्षाको गुणस्तरका मानकहरू समेट्दैन। उसको विचारमा शिक्षण–सिकाइको गुणस्तर गुणस्तरीय शिक्षाको एक अंग मात्र हो।
शिक्षा गुणस्तरीय हुन नीति निर्माता, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण उपकरण र शिक्षण विधि गुणस्तरीय हुनुपर्छ। शिक्षण विधि गुणस्तरीय हुन शिक्षक गुणस्तरीय हुनुपर्छ। शिक्षक गुणस्तरीय हुन तालिम गुणस्तरीय हुनुपर्छ। विद्यालयको भौतिक सुविधा गुणस्तरीय हुनुपर्छ। शिक्षकले पाउने सुविधा गुणस्तरीय हुनुपर्छ।
यी आधारहरूको कसीमा हेर्दा समग्रमा नेपालको शिक्षाको गुणस्तर कमजोर देखापर्छ। खासमा नेपालको शिक्षा नीति नै गुणस्तरीय बन्न सकेको छैन; विद्यालयमा मात्र होइन, विश्वविद्यालयको उपल्लो शिक्षासम्म पनि।
आज विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो भए भनेर चौतर्फी आलोचनामा परेका छन्। यसो हुनुमा शिक्षाको कमजोर गुणस्तर त जिम्मेवार छँदै छ, यससँगै शैक्षिक प्रमाणपत्रका आधारमा कमाइ खोज्ने प्रवृत्ति बढी जिम्मेवार छ। शिक्षाका अनेक आयाममध्ये कामको सिप सिकाउने शिक्षा एक आयाम हो। सिप सिक्नु, त्यही सिपका आधारमा काम गरेर पैसा कमाउनु र शिक्षाको आलोकमा ज्ञान हासिल गर्नु फरक कुरा हो।
गुणस्तरीय शिक्षा कुनै व्यक्ति विशेष, शिक्षक विशेष वा विद्यालय विशेषसँगमात्र सम्बन्धित हुँदैन। यो त समग्र शैक्षिक पद्धतिसँग सम्बन्धित हुन्छ।
शिक्षाको गुणस्तर अभिवृद्धिमा व्यक्ति विशेष, शिक्षक विशेष वा विद्यालय विशेषको योगदान अवश्य हुन्छ। यिनले केही सकारात्मक प्रभाव पार्न सक्छन् तर यसको दायरा साँघरो हुन्छ। पद्धतिले मात्र सबैलाई समेट्न सक्छ।
मानौं, काठमाडौं उपत्यकाका दसवटा विद्यालयको शिक्षण–सिकाइ उच्च गुणस्तरीय छ। ती दसवटा विद्यालयमा १५ हजार विद्यार्थी छन्। देशभरिमा सयवटा विद्यालय यस्तै स्तरका होलान्। ती सबैमा गरेर दुई लाख विद्यार्थी होलान्। देशभरमा त झन्डै ७० लाख विद्यार्थी छन्।
पाठ्यक्रम त गुणस्तरीय मानिएका र गुणस्तरहीन भनिएका सबै विद्यालयको एकै हो। शिक्षाको गुणस्तर उच्च हुन उच्च गुणस्तरको पाठ्यक्रम–पाठ्यपुस्तक र स्रोतसाधन चाहियो। सबै विद्यालयमा चाहियो। नमूना भन्नु विभेद हो।
हाम्रो सन्दर्भमा अभिभावकको पनि गुणस्तर हुँदो रहेछ। कक्षा एक पूरा गर्न एक लाख रूपैयाँ लाग्ने निजी विद्यालय काठमाडौं उपत्यकामा धेरैवटा छन्। सरकारी विद्यालयमा सिद्धान्ततः एक रूपैयाँ पनि लाग्दैन। व्यावहारिक रूपमा लागे पनि बढीमा पाँच हजार रूपैयाँ लाग्ला।
यस्तोमा छोराछोरी सरकारी र निजीमा पढाउने आमाबाबुको आर्थिक–सामाजिक गुणस्तर एकै हुने कुरै भएन। एकै हुने कल्पना गर्न सकिँदैन। यस्तो अवस्थाले शिक्षण–सिकाइमा कस्तो प्रभाव पर्दो हो! कि यो गौण विषय हो!
ऊ मान्छ– प्रभाव पर्छ, गौण विषय होइन तर यो पक्षको सूक्ष्म अध्ययन कति भएको होला!
यसरी हेर्दा सरकारी विद्यालयको शिक्षण–सिकाइ गुणस्तर अति कमजोर हुनुमा शिक्षक कति जिम्मेवार देखापर्ला! नीति निर्माता, शिक्षाविद्, राजनीतिक नेतृत्व, पाठ्यक्रम–पाठ्यपुस्तक, विद्यालयको भौतिक अवस्था, शैक्षिक उपकरण इत्यादि कस्तो अवस्थामा देखापर्लान्!
छिमेकी मुलुकहरू भारत र चीन, एसियाको सम्पन्न मुलुक जापान अनि युरोप र अमेरिकी मुलुकको तुलनामा शिक्षामा हाम्रो राज्यको लगानीको गुणस्तर कस्तो होला!
आशावादी हुनै पर्छ। हाम्रो राज्यले गुणस्तरीय शिक्षाका लागि वर्तमानको पद्धति पुनरावलोकन गरोस्। हालको स्रोतसाधन पुनरावलोकन गरोस्। शिक्षकको गुणस्तर सुधार गर्ने कार्यक्रम ल्याओस् र कार्यान्वयन गरोस्।
होइन भने निजी विद्यालय गुणस्तरीय शिक्षा दिन्छन् र सरकारी विद्यालय दिँदैनन् भन्ने भ्रमपूर्ण भाष्य नै नेपालको विद्यालय शिक्षाको नियति भएर रहने छ। सरकारी विद्यालयका शिक्षक सधैं एकोहोरो आलोचनाको तारो हुनेछन्।
यस्तो अवस्थाले शिक्षामा व्याप्त वर्ग विभाजन अझ सघन बनाउँदै लैजानेछ। शिक्षाका कारण वर्गीय भेद झन् गहिरिँदै जानेछ। ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ र ‘समाजवाद उन्मुख गणतन्त्रात्मक राज्य’ संविधानको अक्षरमा सीमित हुनेछ।