ऊ स्कुल छँदा उसकी आमा भन्थिन् – काक चेष्टा बको ध्यानं स्वान निद्रा तथैव च, अल्पहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षणम्!
विद्यार्थीका सन्दर्भमा यो श्लोक परापूर्वदेखि प्रचलित रहेछ।
कुरा के भने विद्यार्थीमा पाँचवटा लक्षण हुनुपर्ने रहेछ – कागको जस्तो चेतना अर्थात् चलाखी, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै खाना र परिवारबाट पृथकता।
काग अत्यन्तै चलाख मानिन्छ। बकुलो सिकार प्राप्त गर्न ध्यानमग्न भएर ढुक्छ, कुकुरको निद्रा पातलो हुन्छ। अलिक कम खाना खाँदा शरीरमा आलस्य हुँदैन, घरपरिवारबाट अलग रहँदा पढाइमा अल्झो आइलाग्दैन।
वर्तमानमा गृहत्याग गर्ने अर्थात् घरपरिवारबाट अलग रहने कुरामा अनेक तर्क हुन सक्छन्। गुरूकुल परम्परामा गृहत्याग नगरी पढाइ लगभग असम्भव थियो। शिक्षालयहरू थोरै थिए। सबै किसिमको शिक्षाका लागि एक जना गुरू अर्थात् शिक्षक हुन्थे। तिनको आश्रम हुन्थ्यो। आश्रममा शिष्य अर्थात् विद्यार्थीहरू जम्मा हुन्थे।
निर्धारित शिक्षा पूरा गरेपछि दीक्षित भएर घर फर्किन्थे। तिनै गुरूले दीक्षा दिन्थे। आजको दीक्षान्त समारोह त्यसैको निरन्तरता हो।
शिष्यहरू सात वर्ष उमेर पूरा भएपछि आएका हुन्थे। केही वर्ष गुरूको आश्रममा बसेर पढ्थे र समयानुकूल ज्ञान अर्थात् शिक्षा प्राप्त गरेर घर फर्किन्थे। यसरी त्यो समय बाल्यकालमै गृहत्याग सान्दर्भिक थियो। अहिले पनि उच्च शिक्षा हासिल गर्न घरबाट टाढा जाने, विदेशसम्म पुग्ने चलन छँदैछ।
उसकी आमा अर्को एउटा कथा पनि हाल्थिन् – गुरूले घोकेर आउनू भनेको कुरा राति अबेरसम्म बसेर पढ्दा विद्यार्थीलाई निद्रा आउँथ्यो। कण्ठस्थ नपार्दा गुरूको सजायमा पर्ने डर हुन्थ्यो। निद्रा भगाउन विद्यार्थीहरू आफ्नो टुप्पी धागोले बाँधेर त्यो धागो टाउकाको सिधा माथि दलिनतिर अड्काउँथे। यसो गरेपछि निद्रा लागेर टाउको झुक्यो भने टुप्पी झड्याक्क गर्थ्यो अनि त केही बेरका लागि निद्रा नभागी धरै थिएन।
‘टुप्पी बाँधेर पढ्नु’ भन्ने कहावत यही कथाबाट बनेको हुनुपर्छ।
आमाले भनेका यी कथाले पढ्ने काम सजिलो होइन भन्ने संकेत गर्थे। साँच्चै, सजिलो हुन्थ्यो भने कक्षाका सबै विद्यार्थी बराबरी क्षमताका हुने थिए। सबै एक-से-एक प्रतिस्पर्धी हुने थिए। विद्यार्थीहरूको सिकाइ स्तर र नतिजा खस्कियो, एसइई (विद्यालय शिक्षा परीक्षा) र एसएलसिई (माध्यमिक शिक्षा परीक्षा) मा ठूलो संख्यामा विद्यार्थी ‘नन् ग्रेडेग’ भए भन्नुपर्ने थिएन।
यहाँ भनिएका विद्यार्थी विद्यालय तहका हुन्, भर्खरै विद्यालय जान थालेकादेखि बाह्र कक्षा सम्मका।
विद्यालय तहको विद्यार्थी हुनु भनेको शिक्षकले सिकाएजति सिक्नु र शिक्षकले गर भनेजति गर्नु हो! सामान्य मान्यता यही हो।
भर्खरै विद्यालय जान थालेका बालबालिकासँग योभन्दा बढी अपेक्षा गर्ने कुरा पनि भएन। आधारभूत तह (कक्षा आठ) सम्म यति गर्ने विद्यार्थीहरू उम्दा ठहरिन्छन्। सिकाएजति सबै ठिकठिक सिके भने अनि गर्नू भनेको जति नछुटाई गरे भने पुग्छ। योभन्दा बढी चाहिँ साँच्चैको लगनशीलले मात्रै गर्छ।
माध्यमिक तहको विद्यार्थीले पनि यति काम नबिराई पूरा गर्यो भने अनुत्तीर्ण हुँदैन भन्ने उसको विश्वास छ।
यति मात्रै पर्याप्त चाहिँ हुँदैन। अलिक राम्रो नतिजाका लागि शिक्षकले दिएका उदाहरण हेरेर पाठ्यपुस्तकबाट खोज्ने र बढीभन्दा बढी अभ्यास गर्ने बानी हुनुपर्छ। अलिक बढी लगनशील हुनुपर्छ। एघार–बाह्र कक्षाको विद्यार्थी त खोजमा आधारित बन्नै पर्छ।
खोजमा आधारित हुन त्यसैअनुसारको शिक्षा प्रणाली हुनुपर्छ; पाठ्यक्रम, शिक्षण–सिकाइ र परीक्षा।
यसो भयो भने मात्रै राम्रो नतिजा प्राप्त हुन सक्छ भन्नेमा ऊ विश्वास गर्छ।
आफ्नो लामो शिक्षण अनुभवमा उसको यो विश्वास रामृकष्ण ढकालले गाएको गीत ‘...यो त सब भन्ने कुरा न हो...’ जस्तो मात्रै भएको छ। किनभने, राम्रो पढाइका लागि लगनशीलता चाहिन्छ, लक्ष्य चाहिन्छ र लक्ष्यमा पुग्ने दृढता पनि चाहिन्छ।
अधिकांश विद्यार्थीमा ऊ यी तीनवटै पक्षको अभाव देख्छ।
भर्खर स्कुल जान थालेको बालकसँग लक्ष्य र लक्ष्यमा पुग्ने दृढता खोज्नु न्याय हुन्छ। त्यो बालवयमा लक्ष्य थाहा हुने कुरै भएन। यसो भएपछि लक्ष्यमा पुग्ने दृढताको कुरा आउने नै भएन।
लगनशीलताको संकेत चाहिँ बालवयमै मिल्न सक्छ। लेखपढमा कति बेर अडिन सक्छ, गर्न दिएको काम कति बेरमा पूरा गर्छ, आफूले गर्न नसक्ने भए सहयोगका लागि कति अग्रसर रहन्छ, पढ्नु छ भनेर कति सचेत रहन्छ; यी पक्षले भविष्यको संकेत गर्छन्।
किशोरवयमा चाहना र आवश्यकता फेरिँदै र बढ्दै जान्छन्। विपरीतलिंगी आकर्षण थपिन्छ। पारिवारिक, आर्थिक, सामाजिक इत्यादि वातावरणको प्रभाव पर्छ। धेरैमा घरायसी काम पनि थपिन्छ। यी पक्षले पढाइमा सकारात्मक वा नकारात्मक दुवै प्रभाव पार्न सक्छन्।
वर्तमानमा अत्याधुनिक सञ्चार प्रविधिले ल्याएका उपकरणले समय लिन र औपचारिक पाठ्यक्रमको पढाइबाहेकमा ध्यान खिच्न थालेका छन्। यिनको सोझो असर औपचारिक शिक्षामा पर्न थालेको छ। कक्षाकोठामा सहपाठीगफ र छलफलका शीर्षकहरू बदलिँदै र थपिँदै गएका छन्। संगतको लय बदलिएको छ।
परिणामस्वरूप किशोरवयको विद्यार्थीलाई कक्षामा सिकाएको कुरा तत्कालै सिक्न, शिक्षकले गर भनेको काम निर्धारित समयमा पूरा गर्न र आफूले खोज्न समय अभाव हुन थालेको छ। पढाइको समय खण्डित हुँदै गएको छ।
माध्यमिक कक्षाको विद्यार्थीलाई दूरभविष्यको लक्ष्य दिइहाल्नुपर्छ भन्ने ऊ ठान्दैन। वर्षभरिको लक्ष्य निम्ति अभिभावक र शिक्षकले सजग गराउनुपर्छ भन्ने उसको मान्यता छ। सबै विषयको ग्रेड ‘ए’ हुनुपर्छ, सकेसम्म ‘ए प्लस’ नै हुनुपर्छ, ‘बी’ भन्दा कम त हुनै हुँदैन भन्ने लक्ष्यमा ध्यानाकर्षण गराउन सकिन्छ।
यस्तो ग्रेड प्राप्त गर्न आवश्यक लगनशीलताका लागि उत्साहित गराइराख्न र दृढता अभिवृद्धिमा प्रेरित गर्न सकिन्छ। यसो गर्नु अभिभावक र शिक्षकको स्वाभाविक कर्म हो भन्ने ऊ ठान्छ।
उसको अनुभव छ – विद्यालय तहमा थोरैबाहेक अधिकांश विद्यार्थीका लागि पढ्नु वा पढाइमा राम्रो गर्नु प्राथमिकताको काम होइन। उसले यति पाठ पूरा गरेर मात्रै बाहिर निस्कन्छु वा खेल्न जान्छु, यति गृहकार्य पूरा गरेर मात्रै सुत्छु वा सिनेमा हेर्छु भन्ने सजगता साह्रै थोरैमा मात्रै देखेको छ। ऊ आफू स्कुलको विद्यार्थी छँदा पनि अधिकांशभित्रै पर्थ्यो।
कुनै शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरू रमाउँछन्। सट्टा शिक्षक आएको राम्रो लाग्दैन, ‘झ्याउ’ मान्छन्। ‘आज शिक्षक बैठक भएकाले पाँचौं घन्टीपछि पठनपाठन हुँदैन’ भन्ने सूचना आयो भने उत्सवझैं ठान्छन्।
सायद, विद्यार्थी हुनुको प्रकृति नै यस्तै हो!
आफू स्नातक र स्नातकोत्तर तहको विद्यार्थी हुँदा पनि ऊसँग यस्तै मिल्दोजुल्दो अनुभव छ। आज शिक्षक आएनन् त के भयो! क्यान्टिनमा चिया खाऔं, खाजा खाऔँ, चौरमा बसेर गफ हाँकौं! मन लागे पुस्तकालयतिर पसौंला।
स्नातक र स्नातकोत्तर तहका विद्यार्थीमै यस्तो प्रकृति देखापर्छ भने विद्यालय तहको विद्यार्थीसँग कति अपेक्षा गर्ने! प्रस्ट हुनै पर्छ!
त्यसैले भनेको ‘विद्यार्थी पञ्च लक्षणम्’ र ‘टुप्पी बाँधेर पढनु’ त भन्ने कुरा मात्र भएका छन्।
पाठ्यक्रममा पाठ पूरा गर्ने र पाठको उद्देश्य हासिल गर्ने समय निर्धारित हुन्छ। पाठ्यक्रमको मान्यता हुन्छ – प्रत्येक विद्यार्थीले पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि हासिल गर्छ, न्यूनतम उद्देश्य पूरा गरेको हुन्छ।
यसैअनुसार माथिल्लो कक्षाको पाठ्यक्रम बनेको हुन्छ। विद्यार्थीको सिकाइ परीक्षण गर्न ‘परीक्षा’ नामको पद्धति छ। विद्यार्थीले न्यूनतम उद्देश्य हासिल गरेन भने शिक्षक दोषी ठहर्ने भाष्य स्थापित छ। विद्यार्थीले किन सिक्न सकेन; अभिभावकले पो प्रेरित गर्न सकेनन् कि, घरायसी वातावरण पो अनुकूल भएन कि, विद्यालयमा पो अनुकूल वातावरण पाएन कि!
यस्ता अनेकन पक्ष पर्गेल्नुको साटो सोझै शिक्षक दोषी ठहर हुने गरेको छ। सरकारी निकाय, अभिभावक, समाजका अगुवा, शिक्षाविद्, नीतिनिर्माता सबै एकै ड्याङमा खडा भएका देखिन्छन्।
भारतीय दार्शनिक ओशोले कुनै प्रवचनमा भनेका छन् – एकपटकमा एउटा काम गर, फगत एउटा काम।
उनको आसय हो – खाँदै छौ त खाऊ मात्र, गफ नगर; पढ्दै छौ त पढ मात्र, नजिकमा रेडियो नबजाऊ; विद्यार्थी हौ त विद्यार्थी मात्र रहू, सँगै जागिरमा नजाऊ; इत्यादि।
सांसारिक जीवन र दैनिक व्यवहारमा यस्तो कुरा फगत दर्शन मात्रै लाग्न सक्छ। दर्शन र व्यवहार फरक कुरा हुन् भन्ने लाग्न सक्छ। हो पनि, हाम्रा दर्शनले भनेका कुरा व्यवहारमा जस्ताको तस्तै उतार्न सके मानव जीवन चिन्ता र तनावरहित हुने थियो होला; मानव समाज सुखी–समृद्ध हुने थियो होला; संसार शान्त रहने थियो होला!
यस्तो छैन। छँदै छैन भन्ने पनि होइन। आधा–आधा होला वा धेर–थोर होला तर पूर्ण कतै पनि छैन।
यसरी हेर्दा शिक्षक पनि पूरा शिक्षक हुन सकेको छैन होला, अभिभावक पनि पूरा अभिभावक हुन सकेका छैनन् होला। विद्यालय पूरा विद्यालय हुन सकेको छैन होला। नीतिनिर्माताहरू, पाठ्यक्रम निर्माताहरू र सरकारका नियामक निकायहरू पूर्ण हुन सकेका छैनन् होला। सरकार नै पूर्ण सरकार हुन सकेको छैन होला। तब विद्यालय तहको विद्यार्थी पूर्ण विद्यार्थी हुने कुरै भएन।
विद्यार्थी मात्रमा र शिक्षक मात्रमा पूर्णता खोज्नु अपूर्णताको अर्को पाटो हो भन्ने उसलाई लाग्छ।
यसरी केही, कोही पूर्ण छैन; कतै पूर्णता छैन भनेर बहानाबाजी गर्न खोजेको त होइन? शिक्षक आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको त होइन?
यी प्रश्न उठ्नु स्वाभाविक हुन्छ। यहाँ उसको आसय बहानाबाजी गर्नु होइन। उसको साढे तीन दशक लामो शिक्षण अनुभवको निष्कर्ष प्रस्तुति हो, एउटा लेखोटका रूपमा प्रस्टीकरण हो।
ओशोले भनेझैं एकपटकमा एउटा काम, चरणबद्ध काम नै उद्देश्य र लक्ष्य हासिलको उत्तम उपाय हो। अपवादबाहेक कोही पनि स्वतः मेधावी हुँदैन। तीव्र सक्रिय मस्तिष्कको चन्चले किशोरवयको विद्यार्थीलाई पढाइको उद्देश्यमा केन्द्रित गराउनु सजिलो काम होइन।
यो असजिलो काम गर्न अभिभावक र शिक्षकको सहकार्य आवश्यक पर्छ भन्ने उसको निष्कर्ष छ तर नगन्य मात्रै हुने काम पनि यही हो।
एकै जना गुरूसँग सबथोक पढेर दीक्षित हुने समय पनि रहेन। ध्वाँसो र तितेपातीको मसी बनाएर बाँसका खपटामा बाँसकै कलमले लेखेर पढ्ने वा धुलौटोमा अक्षर सिक्ने समय एकादेशको कथा भइसक्यो। आज अधुनातन प्रविधि हातहातमा पुगेको छ। शिक्षा र ज्ञानको दायरा फराकिलो भएको छ। आवश्यकताहरू बदलिएका छन्। यस सन्दर्भमा कस्तो विद्यार्थी भन्ने प्रश्न गौण होइन।
आजको विद्यार्थी शिक्षकबाट धेरै टाढा छैन। शिक्षक र अभिभावकको अपेक्षाबाट मात्र टाढा हो। त्यो दूरी घटाउनु आजको युगको आवश्यकता र माग दुवै हो।
कस्तो विद्यार्थी भन्ने प्रश्नसँगै कस्तो अभिभावक, कस्तो शिक्षक, कस्तो विद्यालय, कस्तो पाठ्यक्रम, कस्तो परीक्षा जस्ता प्रश्न पनि ज्वलन्त छन्।