आमाले स्कुलमा गुनासो गरिन्, ‘बिहान झिसमिसेमा हिँडेका बाबु राति भएपछि घर आउँछन्। उनले काम गरेनन् भने मुखमा माड लाग्दैन। छोरो मलाई टेर्दैन, अलिक तह लगाइदिनुपर्यो। यति भन्न आएकी।’
‘बुबा के काम गर्नुहुन्छ?’
‘भारी बोक्छन्। बिहान चार बजेखि गाडीले भारी खसाल्छ। ती भारी ओसारिसकेर भात खान आउँदा बाह्र बज्छ। दुई बजे घरबाट निस्केपछि राति नौ बजेतिर आइपुग्छन्। केटाकेटीसँग कुरै हुँदैन।’
‘छोरो के गर्छ? तपाईंलाई किन टेर्दैन?’
‘बिहान आठ बजेसम्म सुत्छ। तयार परेर, खाएर स्कुल हिँड्नै ठिक्क हुन्छ। बेलुका घर पुगेपछि मोबाइल (फोन) मा अलमलिन्छ। अगाडि किताबकापी फिँजाएको हुन्छ, ध्यान मोबाइलमा हुन्छ। मैले केही भन्दा त मुखमुखै लाग्छ।’
‘मोबाइल किन दिनुभएको त?’
‘नदिए त बसिसक्नु हुँदैन। झगडा गरेर तमासा हुन्छ।’
शिक्षकलाई थाहा छ– त्यो छात्र स्कुलमा लगनशील छैन, पढाइको नतिजा राम्रो छैन।
यो कथा ठूलो सहरको गरिब परिवारको हो। सहरमा केही कमाइ हुन्छ कि भनेर गाउँ छाडेर आएको र एक–दुई कोठा भाडामा लिएर गुजारा गरेको मजदुर परिवारको कथा हो।
सहरमा यस्ता परिवार र विद्यार्थी एक होइन, अनेक छन्। छोरो होओस् कि छोरी, कथा उस्तैउस्तै छ। आमाबाबुको व्यथा उस्तै छ। यस्ता विद्यार्थीका लागि शिक्षक अर्थात् विद्यालयसँग ठोस उपाय केही पनि छैन। कतिपय शिक्षककै घरमा पनि मिल्दोजुल्दो यस्तै कथा छ।
उता दुर्गम पहाडी गाउँमा आज पनि स्कुल पुग्न एक–दुई घन्टा हिँड्नुपर्छ। जंगल र खोल्सा–खहरे तर्नुपर्छ। आमाबुबालाई काम सघाउनुपर्छ। घरमा पढ्ने समय मिल्दैन। यता फेसबुक, टिकटक, भिडियो गेम र अनेक भिडियो दृश्यहरूको राप पनि लागेकै छ।
सुगम पहाडी सहरहरूको कथा केही फरक छ। नजिकमा सरकारी र निजी दुवै खाले स्कुल छन्। ठाउँअनुसार यातायात सुविधा पनि राम्रै छ। इन्टरनेटले ल्याएको आधुनिक सुविधाको प्रभाव उही हो, ठूलो सहरभन्दा केही पनि कम छैन।
तराईका सानाठूला सहर वा ग्रामीण क्षेत्रहरू लगभग उस्तै हुन्। विद्यालय पुग्न धेरै हिँड्नु पर्दैन। मोटर र मोटरसाइकलको सुविधा छ। साइकल नहुने घर त छैन भने पनि हुन्छ। सरकारी र निजी स्कुल रोजीछाडी छन्।
सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई शिक्षा निःशुल्क छ। किताब पनि सरकारले नै दिन्छ। सरकारले दिने विभिन्न थरीको आर्थिक सुविधा छ। कक्षा छसम्म विद्यार्थीका लागि खाजाको सुविधा छ। कतिपय विद्यालयलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोग पुर्याएका छन्।
सुविधा बढ्दो छ। छोराछोरीसँग आमाबाबुको गुनासो पनि बढ्दो छ।
यहाँ आमाबाबु अर्थात् अभिभावकले आफ्नो प्रभावकारी भूमिका खोजी गर्नुपरेको छ, परम्परागत भूमिकामा परिमार्जन खोज्नुपरेको छ। समायानुकूल भूमिका निर्वाह गर्नुपरेको छ।
विक्रमाब्द चालीस दशकको अन्त्यतिर निकट चिनजानका एक जना व्यवसायीसँग काठमाडौंमा भएको संवाद उसको स्मरणमा अझै ताजा छ। ऊ एक साँझ शिष्टाचार भेट निम्ति उनको निवासमा गएको थियो। ती थिए उसको गाउँका छिमेकी। काठमाडौंमा व्यवसाय थियो। निकै पैसा कमाएका छन् भन्ने चर्चा थियो।
कुरा हुँदै जाँदा उसले छोराछोरीको चासो राख्यो।
‘काका! छोराछोरी कहाँ पढ्छन्?’
‘हेर भतिज! मैले छोराछोरी दुवैलाई होस्टलमा राखेको थिएँ। एक वर्ष राखेपछि निकालेँ, अहिले घरमै छन्। आफैंसँग बस्छन्। घरैबाट स्कुल जान्छन्।’
‘ए...! होस्टलमा किन राख्नुभएको थियो अनि किन निकाल्नुभयो त काका?’
‘घरमा आफूले हेर्न भ्याइने होइन, होस्टलमा भए बिहान-बेलुका पनि टिचर (शिक्षक) हरूले हेर्छन्। पढाइ राम्रो हुन्छ भन्ने लागेको थियो?’
‘अनि के भयो त?’
‘त्यो त भ्रम रहेछ भतिज! घरमा आमाबाबु छौं। हामी छोराछोरीका लागि फाइनान्सर (लगानीकर्ता) मात्रै त होइनौं नि! खालि फाइनान्स गरिदिने बैंक त होइनौं नि! जे चाहिएको पुर्याइदिने दाता मात्रै त होइनौं नि! छोराछोरीलाई आमाबाबुको माया चाहिन्छ, उनीहरू आमाबाबुसँग हुर्किनुपर्छ।’
‘होस्टलबाट निकालेको कति भयो त काका?’
‘एक वर्ष भयो, हामी आमाबाबु सन्तुष्ट छौं। एक वर्ष होस्टलमा राखेपछि हाम्रो आँखा खुल्यो। छोराछोरी पनि खुसी छन्।’
काकी चिया र बिस्कुट लिएर बैठक कोठामा पसिन्।
ऊ बोल्यो– हेर्नुस् काकाकाकी! तपाईंहरूले छोराछोरीलाई एक वर्ष होस्टलमा राखेर राम्रो गर्नुभयो।
काकीले सोधिन्– कसरी राम्रो भयो र?
‘भयो नि काकी! तपाईंहरूको आँखा खुल्यो। ज्ञान प्राप्त भयो। नत्र छोराछोरीको पढाइमा थोरै चित्त नबुझेका दिन यिनलाई होस्टलमा राख्नुपर्थ्यो, घरमा राखेर बिग्रिए भन्ने परिरहन्थ्यो। तपाईंहरूलाई अब कहिल्यै त्यस्तो हुने छैन।’
काका प्रसन्न सुनिए– ठिक भन्यौ भतिज! तिम्रो कुराले फेरि एकपटक मेरो घैंटोमा घाम लाग्यो।
काकीले भनिन्– हो नि बाबु! हाम्रो त आँखै खुल्यो।
ऊ मख्ख पर्यो र भन्यो– हेर्नुस् काकाकाकी! समय आएपछि छोराछोरी आफैं लाखापाखा लाग्छन्। म जान्छु भन्छन्, घर छाडेर हिँड्छन्, आमाबाबुले पनि जाओ भन्नुपर्छ। हेर्नुस् त, हाम्रा आमाबाबु पहाडमा छन्। हामी छोराछोरी पढ्न यता काठमाडौंमा छौं। तपाईंहरूका आमाबाबु पनि उतै छन्, तपाईंहरू यता हुनुहुन्छ।
काकीको चित्त बुझ्यो अनि भनिन्– हो नि बाबु! हरेक कुराको समय आउँछ। समय पर्खिनुपर्छ।
छोराछोरीपछि कुरो अर्को शीर्षकमा प्रवेश गर्यो; व्यवसाय, खेतीपाती, गाउँघर, बुढापाका इत्यादि।
उसको मस्तिष्कमा तीस वर्षअघिको यो संवाद गढेर बस्नुको खास कारण छ। ऊ हुर्कंदा छोराछोरीको जीवनमा आमाबाबुको–अभिभावकको बदलिँदो भूमिका खोजी गर्छ। खासमा आजकाल ऊ अभिभावकको जिम्मेवारी के हुनुपर्छ भन्ने कुरामा गम खान्छ।
साढे तीन दशकको शिक्षण अवधिमा स्कुले छोराछोरीप्रति आमाबाबुको गुनासो बढ्दो रहेको उसको अनुभव छ। उसले चालीसको दशकको मध्यतिर शिक्षण सुरू गरेको हो। लगभग पचासको दशकभरि उसले आमाबाबुको ठूलो गुनासो सुनेन, चर्को असन्तुष्टि पनि सुनेन।
गुनासो लिएर आउनेहरू पनि ‘पढ्दैन’ भन्दैनथे; अलिक कमजोर छ, कक्षामा राम्रो हेरिदिनू, अलिक जोड गरिदिनू भन्थे।
साठीको दशक उकालो लाग्दै जाँदा आमाबाबुको गुनासो बढ्दै गयो; टिभी (टेलिभिजन) हेर्छ, साथीहरूसँग अलमलिन्छ, पैसा माग्छ, लुगामा चित्त बुझाउँदैन, भनेको टेर्दैन इत्यादि।
इन्टरनेट र स्मार्ट फोनको व्यापकतापछि आमाबाबुको गुनासो बढेको मात्रै छैन, उनीहरू चिन्तित देखिएका छन्। स्कुलमा आउनेमध्ये अपवादबाहेक सबैजसो अभिभावकको गुनासो मोबाइल फोनकै विषयमा छ– मोबाइल साथमा नलिई बस्दैन, नपाए झगडा गर्छ, राति अबेरसम्म मोबाइलमै हुन्छ, बिहान अबेरसम्म सुत्छ, पढाइमा ध्यान दिँदैन इत्यादि।
कसैले माने वा नमाने पनि इन्टरनेटयुक्त मोबाइल फोन जीवनको अनिवार्य अंग भएको छ। फरक कसले कति चलाउँछ र के-केमा भुल्छ भन्ने मात्रै हो। कुरा बालबालिकाको मात्रै होइन, युवा र बुढापाकाको पनि उस्तै हो।
चार जना युवा एक ठाउँमा बसेको देख्नुभयो भने विचार गर्नुहोस्, तिनीहरू आ-आफ्नै धुनमा हुन्छन्। चारै जना मोबाइलमा निहुरिएका हुन्छन्। आपसमा गफ हुँदैन।
घरमा आमा मोबाइलमा, बाबु मोबाइलमा, खानाखाँदा मोबाइलमा, सोफामा मोबाइल, ओछ्यानमा मोबाइल; हुँदाहुँदा बिहान शौचालय पस्दा पनि मोबाइल; बाललबालिकाले पनि यस्तै परिवेशबाट सिक्ने हुन्। आमाबाबुबाट सिक्ने हुन्।
यसो हो भने स्कुले छोराछोरी वा तीभन्दा साना बालबालिका अपवाद हुने कुरै भएन। तिनीहरू अबोध छन्। टाढा हेर्न जान्दैनन्, नजिकको मात्र देख्छन्। यिनलाई टाढाको भविष्य देखाउने र त्यताको बाटो डोहोर्याउने र हिँडाउने काम आमाबाबुकै हो, निकट अभिभावकहरूको हो।
यस्ता बालबालिकाले आफ्नो दूर भविष्य देखेर आजै बाटो लिने सम्भावना अत्यन्तै कम हुन्छ। मोबाइल छुँदै नछोऊ, हेर्दै नहेर; यसो हुन सम्भव छैन। आमाबाबुले सिकाउने मोबाइलको उपयोगिता हो, मोबाइल चलाउने सभ्यता र संस्कृति हो।
कामले आमाबाबुलाई हतार छ। बच्चालाई खाना खुवाउन धेरै समय लगाउने फुर्सद छैन। मोबाइलमा एउटा भिडिओ देखाइदिएपछि खुरूखुरू खान्छ। आजै नभ्याई नहुने काम छ, बच्चाले काम गर्नै दिँदैन; एउटा भिडिओ खोलेर हातमा मोबाइल दिएपछि ढुक्क भइजान्छ।
यसैगरी हो बालबालिकालाई लत लाग्ने। लत लागेपछि छुटाउन कठिन हुन्छ। आमाबाबुको जिम्मेवारी लत लाग्न नदिने हो। यस निमित्त उपायहरू अपनाउने हो।
उपाय के-के होलान्? यसमा सिधा नियम, सिधा उपाय छैन। आ-आफ्नो परिवेशअनुसार उपाय खोज्ने आमाबाबुले, अभिभावकले नै हो। बालबालिकाको दोष देख्नुअघि आफ्नो जिम्मेवारी र दोष खोज्ने काम आमाबाबुकै हो, अभिभावककै हो।
बिहान कति बजे उठ्ने, उठेर के-के गर्ने, कति बेला के खाने, कति समय पढ्ने, कति समय खेल्ने र के खेल्ने; यसको योजना मिलाइदिने काम आमाबाबुकै हो।
के खाने, के नखाने, बेलुका कति बजे सुत्ने, बिदाको दिन के गर्ने, कुन दिन घुम्न जाने; इत्यादि योजना बनाइदिने काम पनि आमाबाबुकै हो।
आधुनिकता र बढ्दो सहरीकरणसँगै बालबालिकाहरू व्यक्तिगत र घरायसी काममा कमजोर हुँदै गएको धेरैको अनुभव छ। स्कुल आउँदा–जाँदा किताबको झोला आमाबाबु, हजुरबा–हजुरआमा वा अर्को कसैले बोकिदिन्छ। घरमा लुगाको हिफाजत र सरसफाइ यिनैमध्ये कसैले गरिदिन्छन्। चाहियो भनेपछि ठाउँमै पुगिहाल्छ।
थुप्रै वर्षअघि नेपाल टेलिभिजनमा राजनीतिज्ञ पशुपतिशमशेर रणासँग पत्रकार विजयकुमारले गरेको एउटा अन्तर्वार्ताको एक अंश उसको स्मरणमा छ।
कुराको मजबुन यस्तो थियो– राणा प्रधानमन्त्री मोहन शमेशरका नाति (नाति जर्नेल) पशुपतिशमशेर पढाइका लागि कलिलै उमेरमा बेलायतको अक्स्फोर्ड पठाइए। यहाँ दरबारमा उनका लागि सुसारे नै सात–आठ जना थिए। आफ्नो कुनै पनि काम आफैंले गर्नुपर्दैन थियो। उता अक्स्फोर्डको होस्टलमा आफ्नो सबै काम आफैं गर्नुपर्ने भयो।
लुगा धुने, कोठा सरसफाइ गर्ने, जुत्तामा पालिस लगाउने र यस्ता सबै व्यक्तिगत काम आफैं गर्नुपर्थ्यो। राणा दरबारका नाति जर्नेल यस्ता काममा अन्जान थिए। होस्टलमा त उनको एक जना पनि सहयोगी थिएन, सुसारेको कुरै भएन।
उनले होस्टल जीवनमा यस्ता सबै काम जाने। नगरी नभएपछि अभ्यस्त भए। उनका अनुसार अक्स्फोर्डको विद्यार्थी हुनुको सभ्यता र संस्कृति नै अलग थियो, आज पनि त्यस्तै छ। नाति जर्नेलले आफ्नो व्यक्तिगत काम आफैं गर्नुको महत्व थाहा पाए।
अन्तर्वार्ताको उक्त अंशले ऊ अति प्रभावित भएको थियो। सन्दर्भअनुसार धेरै आमाबाबुलाई सुनायो पनि।
पढ्नु भनेको ज्ञानआर्जन गर्नु हो। सभ्यता र सुसंस्कृतिको मार्गमा अघि बढ्नु हो। प्रज्ञावान बन्नु हो। नयाँ कुरा सिक्नु हो। जीवन थाहा पाउनु हो। उसको विचारमा ज्ञान आर्जन गर्नु र सिक्नु पनि फरक हो। महात्मा गान्धीले कतै भनेका थिए– विद्याका साथ जीवनको आदर्श केही उच्च हुँदैन भने पढ्नु व्यर्थ छ।
उसलाई लाग्छ– जति कम उमेर उति नै बढी सिकाइ। जन्मदेखि पाँच वर्षको उमेरमा एउटा शिशुले जे जति कुरा सिक्छ, जान्दछ; उपयोगिताका दृष्टिले त्यति कुरा जीवनभर पनि जान्दैन, सिक्दैन।
धनार्जनका लागि, भौतिक सुखसयलका लागि पढ्नु र ज्ञानका लागि पढ्नु फरक कुरा हो। ज्ञानले मानिसलाई जीवनदर्शन दिन्छ, सभ्यता र सुसंस्कृति दिन्छ। दिँदैन भने त्यो ज्ञान होइन।
आजको अधुनातन युगमा धनार्जनका लागि धेरै पढ्नु, धेरै ज्ञान आर्जन गर्नु आवश्यक देखिन छाडेको छ। धनार्जनका लागि मस्तिष्कमा ज्ञानभन्दा बढी चातुर्य आवश्यक भएको छ, हातमा सिप बढी आवश्यक भएको छ।
तुलनात्मक रूपमा आजको युगका आमाबाबुको जिम्मेवारी दुई दशकअघिका आमाबाबुको जिम्मेवारीसँग आनका तान फरक परेको छ। करिब एक दशकयता ज्यामितीय गतिमा समयको सन्दर्भ फरक पर्न थालेको छ। आमाबाबुको जिम्मेवारी पनि त्यही गतिमा फरक पर्दै गएको छ।
भनिन्छ नि, बालबालिकाका लागि घर नै पहिलो विद्यालय हो; आमाबाबु नै पहिलो शिक्षक हुन्। स्कुलका शिक्षक दोस्रा हुन्। प्रारम्भिक अर्थात् पहिलो शिक्षाअनुसार नै बालबालिकाको जीवन अघि बढ्छ। स्कुलमा थप खारिँदै, माझिँदै, चम्किँदै उज्यालो हुने हो।
उसलाई लाग्छ, आजका छोराछोरी आमाबाबुको इच्छाअनुसार मात्र चल्न र तिनको विरासत बोक्न उति धेरै उत्सुक छैनन्। यो कुरा आधुनिक शिक्षाले सिकाएको होइन, विद्याले ज्ञान दिएर भएको पनि होइन; समयले ल्याएको हो।
शिक्षा, अन्तरआत्माको निर्देश, आर्थिक हैसियत इत्यादिका आधारमा अभिभावकत्वको भाव पनि फरक पर्दो हो। प्रत्येक व्यक्ति आनुवांशिकताले एकआपसमा त फरक छँदैछ; शिक्षा र आर्थिक हैसियतले पनि फरक छ। यी आधारमा छोराछोरीमा पर्ने प्रभाव पनि फरक फरक हुँदो हो।
आजको युगमा अभिभावक हुनुको अर्थ आफ्नो चाहनाअनुसार छोराछोरीलाई अघि बढाउनु मात्रै होइन, तिनको चाहनाअनुसार अघि बढ्ने बाटो खुला गरिदिनु पनि हो। तिनको आफ्नै बाटोका लागि तयार हुन सघाउनु हो।
यही कामका लागि स्कुल बलियो सहयोगी हो। छोराछोरी अर्थात् विद्यार्थीका लागि सामूहिकतामा स्कुल बलियो साधन हो, एक्लाएक्लैमा अभिभावक बलिया हुन्।
बालिबालिकाका लागि असल अभिभावकत्व नै सबभन्दा बढी महत्वपूर्ण हुन्छ। तिनमा आमाबाबु–अभिभावकको बोलिवचनको, आनीबानीको, दैनिक व्यवहारको कार्यशैलीको अर्थात् समग्र व्यक्तित्वको गहिरो प्रभाव पर्छ।
प्रिय अभिभावक!
तपाईं छोराछोरीबाट के चाहनुहुन्छ? आफ्नो चाहना पूरा गर्न के गर्दै हुनुहुन्छ? अर्थात् तपाईं कस्तो अभिभावाक? तपाईंका छोराछोरीको युगसापेक्ष कि तपाईंका अभिभावकजस्तै?
यी प्रश्नमा अवश्य केही विचार गर्नु हुनेछ भन्ने उसको विश्वास छ।