ऊ यहाँ बालबालिकाका अभिभावकको कुरा गर्छ, अभिभावक अर्थात् मुख्य रूपमा आमाबाबु।
हजुरआमा, हजुरबा र परिवारका अन्य सदस्य पनि अभिभावक हुने नै भए। आमाबाबु र सबै अभिभावकले आफ्ना छोराछोरी–बालबालिका राम्रो पढून्, स्कुलमा सबैलाई उछिनेर राम्रो नतिजा ल्याऊन्, प्रतिस्पर्धी बनून्, कुलतमा नफसून्, मायाप्रेममा नलागून्, असल बनून्, अनुशासित रहून् इत्यादि चाहना राखेका हुन्छन्। यस्तो चाहना स्वाभाविक हुने नै भयो, हुनुपर्ने पनि यही हो।
सञ्चार प्रविधिको अत्याधुनिक विकासले अर्को जबरजस्त चिन्ता थपिदिएको छ। यसको कारण हो हामीले मोबाइल फोन अर्थात् मोबाइ लात्रै भन्ने गरेको सेल फोन। यसले आमाबाबुमा थपिदिएको चाहना हो– छोराछोरी इन्टरनेट र मोबाइलमा धेरै नअलमलियून्, नचाहिने कुरा नहेरून्, नसुनून्।
सामान्यतया के हुँदो रहेछ भने प्रत्येक आमाबाबुले आफ्ना छोराछोरी आफूभन्दा गतिला बनून् भन्ने चाहना राख्दा रहेछन्। जस्तो कि, मैले राम्रो पढ्न सकिनँ, यिनले राम्रो पढून्; मैले परीक्षामा राम्रो अंक ल्याउन सकिनँ, यिनले ल्याऊन्; मेरो जीवन दुःखी भयो, यिनको सुखी होओस्; मैले धेरै कमाइ गर्न सकिनँ, यिनले कमाउन सकून्; यिनको सुनाम होओस् इत्यादि।
धेरै आमाबाबुको स्थिति यही हो।
यही मेसोमा राम्ररी थाहा नपाउँदैदेखि बालबालिकाहरूले आफ्ना आमाबाबुको चाहना पूरा गर्न थाल्नुपर्ने हुँदो रहेछ। जस्तो कि, बाबु अंकललाई नमस्ते गर, नानी ल एउटा गीत गाइदेऊ, ल नाचिदेऊ, आन्टीलाई बाई गर इत्यादि।
यी गतिविधि पनि स्वाभाविक नै मानिन्छन्। बालबालिकाले सामाजिक व्यवहार सिक्ने यसरी नै हो।
ऊ यसलाई केही दृष्टान्तका साथ अर्को पाटोबाट पनि हेर्न चाहन्छ।
एक दिनको कुरा हो, चार वर्षजति उमेरको नातिलाई हजुरआमाले भनिन्– अंकललाई नमस्ते गर।
बालक कुनै खेलौनामा मस्त थियो। अंकलतिर हेर्दै हेरेन। हजुरआमाले फेरि आदेश गरिन्– खोइ, नमस्ते गरेको! छिटो गर।
अंकलले नै हातको नमस्ते मुद्रासहित नमस्ते बाबु भन्यो। अहँ! बालकले वास्तै गरेन।
खेलौनामा अलमलिएका कारण होइन, खासमा हजुरआमाको आदेश नै मन परेन। अनुहारमा अनिच्छाको भाव प्रकट भयो। त्यो अनिच्छा बुझेरै अंकलले आफैं नमस्ते गरेको थियो। बालकले त्यसको पनि वास्ता गरेन।
ऊ यसो सोच्छ– बालबालिकालाई नमस्ते गर भनेर आदेश दिने हो कि आफूले नै नमस्ते गरेर अभिवादनको शिक्षा दिने हो! यिनलाई आगन्तुकले नै नमस्ते गरे कसो होला!
बालबालिकाका लागि पुलिस घरमै आउँछ, भूत र हाबु कोठाभित्रै छिर्छ। बाघ आँगनमै आइपुग्छ।
घरमा यसरी जानी–नजानी र प्रत्यक्ष–परोक्ष सुरू हुँदो रहेछ छोराछोरी तर्साउने काम। बिस्तारै मतभेदको समय आउँदो रहेछ। छोराछोरीहरू आमाबाबुको कुरा मान्न छाडिदिन्छन् वा बेवास्ता गर्न थाल्छन्।
यही कुरा आजकाल पुस्तान्तरको समस्या मानिन्छ। आजको मात्र कुरा होइन, पुस्तौंदेखि यही चल्दै आएको हो, चल्दै जानेछ। उसको विचारमा प्राविधिक विकासको तीव्र गतिसँगै पुस्तान्तरले मतभेदको गति पनि बढाएको हुन सक्छ।
आफ्नो युवावयमा बिहान आठ बजेसम्म सुतेका आमाबाबु स्कुले छोराछोरीलाई पाँच बजे नै उठाएर पढ्न बसाउन चाहन्छन्। यसो गर्छन् पनि, तर एउटा समय आउँछ जहाँ ती छोराछोरी पनि आठ बजेसम्म सुतिदिन्छन्।
आमाबाबुले त त्यसरी सुत्नुको र समय खेर फाल्नुको क्षति व्यहोरेका छन्। तिनको चेत खुलेको छ, तर समय घर्किसक्यो। आफ्नो नियति छोराछोरीमा नदोहोरियोस् भन्ने चाहन्छन्। त्यसैले छोराछोरी ठिक समयमा सुतून्, ठिक समयमा उठून्, ठिक समयमा काम पूरा गरून्, समय खेर नफालून् भन्ने चाहना राख्छन्।
यस्ता चाहनाका बीच छोराछोरीसँग सन्तुष्ट आमाबाबु कति होलान्!
छोराछोरीका आफ्नै गुनासा छन्– हाम्री आमा कुरै बुझ्दिनन्। बा मेरो कुरै सुन्दैनन्, जति बेला पनि कचकच गर्छन् इत्यादि।
धेरै परिवारमा यस्तै परिवेशमा किशोर उमेरका छोराछोरीको पढाइ चलिरहेको हुन्छ। पारिवारिक वातावरणले यस्ता विद्यार्थीको पढाइ–सिकाइमा प्रभाव पारेको हुँदो हो। बालबालिका तथा किशोर उमेरका छोराछोरीका लागि आमाबाबु–अभिभावकले खास किसिमको वातावरण जुटाइदिनुपर्छ जसमा विद्यार्थी छोराछोरी ढुक्कले पढ्न सकून्, पढाइमा रमाउन सकून्।
यस्तो वातावरणका अनेक तत्व हुन सक्छन्। मुख्य तत्वहरू परिवारजनको आपसी सम्बन्धको अवस्था, आर्थिक अवस्था, उत्प्रेरणा नै हुन्। यी तत्वको सकारात्मक अवस्थाले पढाइ–सिकाइका सकारात्मक प्रभाव पार्छन्। नकारात्मक अवस्थाको प्रभाव नकारात्मक हुने नै भयो।
पढाइ–सिकाइका लागि पारिवारिक वातावरण प्रतिकूल हुँदै जाँदा त्यसको चाप विद्यालयमा पर्दो रहेछ। घरमा पढाइ हुन नसकेपछि त्यस्तो विद्यार्थीलाई कक्षाकोठामा बढी जोड गराउनुपर्यो, तर यसो गर्नु सजिलो हुँदैन।
वर्तमान नेपाली समाजमा यस प्रकारका विद्यार्थी कति होलान्! यस्ता विद्यार्थीले आफ्नो दूर भविष्य कल्पना गरेर जुनसुकै परिस्थितिमा पनि पढाइबाट डगमगाउनु हुँदैन भन्ने अठोट लिन्छन् कि भड्किन्छन्!
हाम्रो शिक्षा प्रणालीले अठोट लिनुपर्छ, भड्किनु हुँदैन भन्छ। शिक्षाविद् भनेर कहलिएकाहरू यसै भन्छन्। नियामक निकायका अधिकारी र तालुकदारहरू यसै भन्छन्। विद्यार्थीका आमाबाबु पनि यस्तै ठान्छन्। शिक्षकहरू पनि झन्डै यस्तै ठान्छन्। प्रधानाध्यापकले पनि शिक्षकसँगै नतिजा खोज्ने प्रयास गर्छन्।
उसले विद्यालय शिक्षकका रूपमा साढे तीन दशकमा हासिल गरेका अनुभवहरूको एउटा पाटो यही हो।
विद्यालयमा हुने शिक्षण–सिकाइ र विद्यार्थीको पढाइ–सिकाइको नतिजा शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासमा भर पर्छ। यी तीन पक्षलाई तीन भुजा मान्ने हो भने तिनले त्रिकोण बनाएको हुनुपर्छ। तब मात्र कोणको नाप केही कमबेस भए पनि योगफल एक सय असी हुन्छ। धेरै विद्यार्थीको हकमा यस्तो त्रिकोण बन्दैन।
एक दिन एक शिक्षक साथीले एउटा घटना सुनाए। घटना काठमाडौंको एक स्कुलको हो।
एक छात्र विरलै गृहकार्य गर्दो रहेछ। एक दिन कुन धुनमा हो, त्यो छात्रलाई ती शिक्षकले एक थप्पड हानेछन्। छात्र निकै चित्त दुखेझैं रोएछ। आफू कहिल्यै गृहकार्य नगर्ने अनि एक थप्पडमै रूने! शिक्षकले कक्षामा बेवास्ता गरे।
बाहिर निस्कने बेला शिक्षकले त्यो छात्रलाई बोलाए अनि एक्लै पारेर सोधे– साँच्चै तिमी किन कहिल्यै गृहकार्य गर्दैनौ?
छात्रले बेलिविस्तार लगायो– म स्कुल छुट्टी भएपछि रेस्टुरेन्टमा काम गर्न जान्छु। सबै काम सकेर उताबाट फर्किंदा राति दुई बजेको हुन्छ। त्यति बेला सुतेपछि म गृहकार्य गर्नै भ्याउँदिनँ। आफूलाई चाहिने पैसा म आफैंले कमाउनुपर्छ।
यति कुरा सुनेपछि शिक्षकले छात्रको पारिवारिक अवस्थाको खोजी गरे। कुरा सुनेर भरंग भए, हुनसम्म पछुतो भयो। माफी माग्न मन लाग्यो। सिधै माफी पाऊँ पनि कसरी भन्नु; मलाई तिम्रो यस्तो कुरा थाहा भएन, अब कहिल्यै यस्तो हुने छैन भनेर आफ्नो स्वाभिमानको खास्टो जोगाए।
यो त भयो बाध्यात्मक परिस्थितिको कुरा।
यता इन्टरनेट र मोबाइल फोन सेटले निम्त्याएका नकारात्मक परिणाम देखिन थालेका छन्। ऊ यहाँ एउटा दृष्टान्त पेस गर्छ।
ऊ कक्षामा विद्यार्थीले गृहकार्य गरे नगरेको हर्दै थियो। गृहकार्य नगर्नेमध्ये एक छात्रलाई सोध्यो– किन नगरेको?
‘गर्नै भ्याइनँ सर!’
‘किन? स्कुलबाट गएर के गर्यौ?’
छात्र आफ्नो विवरण सुनाउँदै गयो। कुरा ठिकठिकै थियो।
‘... अनि मोबाइल (फोन) हेरेँ।’
‘मोबाइलमा के हेर्यौ?’
‘भिडियो।’
‘कस्तो भिडियो?’
‘यस्तै केके।’
‘यस्तै केके भन्ने पनि केही हुन्छ? खास हेरेको चाहिँ के हो?’
‘सर्ट फिल्म।’
‘अनि कति बजे सुतेको?’
‘तीन बजे।’
‘सर्ट फिल्म हेरेर तीन बज्छ? कतिवटा हेरेको?’
‘फिल्म पनि हेरेको। तीन बजे सकियो।’
खाना खाएर मोबाइल फोन सेटमा फिल्म हेर्न बसेको छात्र पूर्वाह्न तीन बजे सुत्यो भनेपछि बिहान उठेर गृहकार्य हुने कुरै भएन।
यो एउटा दृष्टान्त मात्रै हो। त्यो छात्र पूर्वाह्न तीन बजे सुत्यो। अर्को एक बजे सुतेको हुन सक्छ, अर्को बाह्रै बजे सुतेको होला! यस्ता छात्रछात्राको गृहकार्यको स्थिति भने उस्तैउस्तै हुन्छ।
एउटा शिक्षक भएर उसले यस्ता छात्रछात्रालाई के भन्नु! के गर्नु! गृहकार्य गरिनस्, पढिनस् भनेर पटापट कुट्नु! कि बेस्सरी गाली गर्नु! प्रधानाध्यापकमा उजुरी गर्नु! कि अभिभावकसमक्ष उजुरी गर्नु!
यस्तो समय अक्सर ऊ किंकर्तव्यविमूढ हुन्छ।
उसले अभिभावकसमक्ष उजुरी गरेर पनि हेरेको छ। अहँ, परिणाम अपेक्षित रूपमा सकारात्मक आएको छैन। आमाबाबु नै हैरान छन्। उल्टै उनकै उजुरी छ– भनेको मान्दै मान्दैन, मोबाइलबिना एकै छिन बस्दैन, मोबाइलमा धेरै नभुल् भनेर सम्झाँउदा रिसाउँछ, पढाइकै कुरा हेर्दैछु भन्छ, हामीलाई केही थाहा हुँदैन।
आमाबाबु छोराछोरी सुतेको ठान्छन्। सिरक ओढेर सुतेको हुन्छ। कोठामा बत्ती निभेको हुन्छ। अहँ केहीले पनि छेक्दैन जसरी खाने मुखलाई जुँगाले छेक्दैन। सिरकभित्र झन् ढुक्क, मोबाइलमा जति बेर भुले पनि भयो।
उता आमाबाबु वाइफाइ बन्द गरिदिन्छन् र लौ खा भनेर ढुक्क हुन्छन्। छोराछोरीलाई झन् ढुक्क! डाटा प्याक लिन छेक्न सक्ने हुन् र!
यसरी आमाबाबुको मन छोराछोरीमाथि हुन्छ, छोराछोरीको मन ढुंगामूढामाथि हुन्छ।
अब शिक्षकले के गर्नु! परिणाम खोज्नेले शिक्षकसँगै खोजेको हुन्छ। शिक्षक उम्किन मिल्दैन। उम्किन खोज्नु नैतिक दायित्वविपरीत हुन्छ। शिक्षक यहीँनेर समातिन्छ। अभिभावक पनि शिक्षकलाई नै दोषी देख्ने टुंगोमा पुगेको हुन सक्छ।
भनिन्छ, बालबालिकाका लागि घर नै पहिलो विद्यालय हो। आमाबाबु नै पहिला शिक्षक हुन्। बालबालिका घरमा कसरी हुर्किंदै छन् र तिनको व्यक्तित्व विकास कसरी अघि बढ्दै छ भन्ने कुरा निकै महत्वको हुन्छ भन्ने उसलाई लाग्छ।
ऊ यहाँ जनश्रुतिको एउटा लघुकथा प्रस्तुत गर्छ।
एक दम्पतीका दुई सन्तान थिए, दुवै छोरा। बाबु पियक्कड थिए। सधैं रक्सीले मातेर घर आउँथे र बबन्डर मच्चाउँथे। छोरा हुर्किंदै गए। दुवै छोरा बाबुको पिउने बानीबाट हैरान थिए।
एउटा छोराले बाबु त पिउँछन् भने किन नपिऊँ, मलाई कसले रोक्ने भन्ने ठान्यो। अलिअलि गर्दै त्यो छोरो पनि पियक्कड भयो र भन्न थाल्यो– बाबु नै जँड्याहा भएपछि म कसरी गतिलो हुन्थेँ! बाबुबाटै सिकेको हुँ।
अर्को छोरो बाबुको बानी ठिक होइन भन्ने निष्कर्षमा पुग्यो र म कहिल्यै रक्सी पिउँदिनँ भन्ने अठोट गर्यो। सोध्नेहरूलाई भन्थ्यो– रक्सी पिउनु ठिक होइन भन्ने कुरा बुबाबाट सिकेँ।
कथा सकियो।
यहाँ दुवै छोराको परिवेश एउटै हो, तर सिकाइ अलगअलग भयो।
समयको प्रवाह रोकिन्न, प्रविधिको विकास रोकिन्न। यसो नहुँदो हो त मानिस ढुंगे युगमै रहने थियो होला। ढुंगे युगअघि पनि कुनै युग अवश्य थियो। एक शताब्दीअघिको र आजको भौतिक सुविधा र मानिसको चिन्तनको परिमाण अपरिमेय छ। बीस वर्षअघिको र आजको समयमा कति भिन्नता छ, यसो विचार गरौं त!
अबको बीस वर्षपछिको सञ्चार प्रविधि कस्तो होला! कल्पनातीत छ।
हुँदाहुँदा मानवअस्तित्वको भविष्यमाथि पनि चिन्ता प्रकट हुन थालेको छ। तैपनि केही रोकिएको छैन। हरेक दिन कुनै न कुनै नयाँ प्रविधि विकास भएको छ र मानिसको हातैमा आइपुगेको छ। यसै कारणले त आज विश्व एउटा सानो गाउँजस्तो भयो भन्ने गरिएको छ।
भारतीय दार्शनिक ओशो बीस वर्षको एक युग हुन्छ भन्थे। अहिले प्रत्येक दिन एक युग हुन आँटिसक्यो!
यो क्रम कहाँसम्म पुग्ला! कसरी अनुमान गर्नु! यो पनि कल्पनातीत छ।
उसको निष्कर्षअनुसार उल्लिखित लघुकथाका पियक्कड बाबु र आज हातहातमा रहेको इन्टरनेटयुक्त मोबाइल फोनसेट एकै हुन्। यसबाट ककसले केके लिन्छ, केके सिक्छ, फरक यति मात्रै हो।
र, यो पनि पक्का हो, जसरी बाबुबाट दुई छोराले फरक फरक शिक्षा–दीक्षा लिए, त्यसरी नै इन्टरनेटयुक्त मोबाइल अर्थात् सेलफोनबाट पनि भिन्नाभिन्नै कुरा ग्रहण गर्नेछन्।
आजका बालबालिका एक्लै कसैको नियन्त्रणमा छैनन्, न आमाबाबुको न शिक्षक अर्थात् विद्यालयको। त्यसैले उसले त्रिकोणात्मक सम्बन्धको कुरा गरेको हो। संयुक्त प्रयासको कुरा गरेको हो।
आजको समयका बालबालिकाको सिकाइ विद्यालय प्रवेश गर्दासम्म आमाबाबु र शिक्षकको सामान्य कल्पनाभन्दा निकै बाहिर पुगिसकेको हुन्छ। तिनीहरू इन्टरनेटयुक्त मोबाइल फोन, ल्यापटप इत्यादिमा अभ्यस्त भइसकेका हुन्छन्।
प्रिय अभिभावक!
युग जसरी कसैको नियन्त्रणको कुरा होइन, त्यसरी नै छोराछोरी अर्थात् बालबालिका पनि नियन्त्रणका होइनन्। तिनलाई तपाईं एक्लैले रोजेको बाटो मान्य छैन। आफू पनि एक्लै बाटो रोज्न कच्चा छन्। यस कारण तपाईं र तपाईंका छोराछोरीको संयुक्त प्रयास आवश्यक छ। समन्वय र सम्यक छनोट आवश्यक छ।
यसमै मिसिन आउँछ शिक्षक अनि अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोण बन्छ। कोणको नाप फरक परे पनि योगफल एक सय असी हुन्छ।
ऊ अभिभावकसँग यही अपेक्षा गर्छ।