शिशु कक्षाका नानीहरू बिहान उमंग साथ कक्षामा प्रवेश गर्छन्। शिक्षकले 'ए फर एप्पल, बी फर बल' सुरू गर्छिन्। त्यही घोकाइ महिनौं दिन कायम रहन्छ। ती वयस्क र शिक्षित भए, आज 'ए' भनेपछि मुखमा 'एप्पल' नै आउँछ।
एसइई परीक्षामा त्रिकोणलाई उल्ट्याएर कोणका अर्कै नाम दिएर प्रश्न सोधियो। धेरै विद्यार्थी अकमक्क परेर आफूले जानेको ज्यामितीको सरल साध्य प्रमाणित गर्न सकेनन्।
क्याम्पसको परीक्षामा प्रश्नलाई आलोचनात्मक बनाइयो। विषयवस्तु बुझेकाले सजिलै उत्तर दिए। तर कण्ठ पार्ने विद्यार्थीहरूले पाठ्यक्रम बाहिरबाट सोधिएको भनेर आन्दोलन गरे।
उच्च शिक्षा हासिल गरेकालाई थेसिस लेख्न कठिन भयो। परिवर्तित तथ्यांक वा कथित आधारमा अन्यद्वारा लेखाइयो। भाइभामा उत्तीर्ण हुन आफ्नै शोधपत्र घोक्नुपर्ने भयो। यस्तै घटनाहरू विश्वविद्यालयसम्म शृंखलाबद्ध भए। अपवादबाहेक यो क्रम चलिरहेकै छ।
वर्षभरि गहिरो अध्ययन गर्नुपर्ने ज्ञानलाई सस्ता 'गाइड' ले विस्थापित गरियो। गलत बाटो अपनाउँदा त्यही आदत बन्यो। प्राज्ञिक सीप तिखार्न पर्ने विद्यार्थीहरू राजनीतिमा तिखारिए। आफ्नै शिक्षामा पनि इमानदारिता कायम गरेनन् भनेर ती विद्यार्थी व्यंग्यका पात्र बने।
ती विद्यार्थीले किन त्यस्तो गरे? विद्यार्थीकै मात्र दोष हो त? कि हाम्रो शैक्षिक अभ्यास नै त्यस्तो छ? शैक्षिक अकर्मण्यताको विकास कसरी भयो?
नेल्सन मन्डेलाको भनाइ छ — कुनै देशलाई ध्वस्त पार्न परे त्यहाँको शिक्षा बिगारिदेऊ।
हामीले त आफैं बिगार्यौं।
यस्तो अवस्थाको जरैदेखि विश्लेषण गरौं।
हाम्रो शिक्षामा स्तरहीनताको जरो अर्बुद रोगजस्तै फैलिएको छ। केबाट यो घातक शैक्षिक महामारी सुरूआत भयो भन्ने हेर्दा यसका अरू थुप्रै कारक तत्वहरू फेला पर्छन्। तर यसको मूल जरो चाहिँ विद्यालय शिक्षामा विकास भएको पाइन्छ।
हामी उल्टो शिक्षण अभ्यास गरिरहेका छौं — शिक्षक सक्रिय, विद्यार्थी निष्क्रिय। शिक्षक पढाएको पढायै, विद्यार्थी सुनेको सुन्यै। यो समय र शक्ति खेर गएको अवस्था हो।
विद्यार्थीको व्यक्तिगत अध्ययनशीलताको उत्तरदायित्व शिक्षकले लिँदा शैक्षिक प्रक्रिया विपरीत दिशातर्फ सोझिएको छ। विद्यार्थीले बोध गर्ने ठाउँमा बोध गराइदिनुपर्ने गलत मान्यताले प्राथमिकता पाएको देखिन्छ। सिक्नेलाई नै ज्ञान आर्जनका लागि सक्रिय बनाउनुपर्ने थियो।
परम्परागत शैक्षिक श्रोतबाहेकको विकल्प अभावले ज्ञान आर्जनको दायरा साँघुरो बनाएको छ। विश्वले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरिरहेको समयमा हाम्रा अधिकांश विद्यार्थी थोरै अन्तर्वस्तु भएको पाठ्यपुस्तकभित्रै रूमल्लिएका छन्।
अध्ययनको क्षेत्र साँघुरो छ। नीतिगत बाध्यताले कर्णालीका विकट बस्तीलाई र विकसित सहरी क्षेत्रलाई पढाउने पाठ्यक्रम उस्तै छ। शिक्षामा हुनुपर्ने समता हो तर समानता अपनाइएको अवस्था देखिन्छ।
विद्यालय शिक्षाको अन्त्यसम्ममा आउँदा अधिकांश विद्यार्थीको सुयोग्यता क्रमशः ह्रास हुन्छ। उपलब्धिहरू न्यून हुँदै जान्छन्। विद्यालय छुट्दै जान्छ। बौद्धिक क्षमताले सम्पन्न बन्नुपर्ने विद्यार्थी वैदेशिक श्रमका लागि निर्माण हुन्छन्।
फरक विशेषता भएकालाई एउटै लाममा उपलब्धि हासिल गर्न कठिन हुन्छ।
अल्बर्ट आइन्स्टाइनको भनाइ छ — सबै प्रतिभावान् हुन्छन्, तर माछालाई रूख चढ् भनेर त्यसको क्षमता आकलन हुँदैन।
रूचि र प्रतिभा नमिल्दाको परिस्थितिमा ती विद्यार्थीका छनौट रहेनन्। प्राज्ञिक चुनौती खेप्नुपर्ने विद्यार्थीका लागि विकल्प भएन।
परीक्षामा प्रश्नले पाठ्यपुस्तकबाट जवाफ खोज्छ। राम्रा ग्रेड ल्याउन त्यसभित्रका सूचना संकलन कण्ठ गरियो। प्रयोग गरिएन। यसरी लिइएको परीक्षाको आधारमा विद्यार्थीलाई वर्गीकृत गरियो। तेस्रो श्रेणीलाई भविष्यबिहीन र विशिष्ट श्रेणीलाई उज्ज्वल मानियो। तेस्रो श्रेणीका विद्यार्थीका प्रशस्त प्रतिभा र सम्भावनाहरू खोजिएनन्।
कहाँबाट सुरू गर्न सकिन्छ?
विद्यार्थीलाई वास्तविक जीवनमा सफलता दिलाउन र बौद्धिक विकासका लागि विद्यालयबाटै सही शिक्षण हुनुपर्छ। उच्च उपलब्धि हासिल गराउन उनीहरूको सोचाइका सीपलाई प्रमाणसिद्ध विधिहरू प्रयोग गरी अध्यापन गर्न सकिन्छ।
उत्तम अभ्यासका मार्गदर्शनहरूलाई प्रयोगमा ल्याएमा स्कुलमै विद्यार्थीको शैक्षिक प्रतिमान परिवर्तन हुन्छ। यसरी शिक्षित विद्यार्थीको उच्च शिक्षा सफल हुने अनुसन्धानले देखाउँछ। यस्ता विधिले हाम्रा विद्यार्थीहरू सुयोग्य बन्छन्।
केही सरल र उत्तम अभ्यासका नमूनाहरू उल्लेख गर्छु। यिनले कक्षाकोठाहरू जीवन्त बन्ने छन्। शैक्षिक उत्कृष्टताको छाप बस्नेछ।
औसतमा शिक्षकले विद्यार्थीलाई एक घन्टामा असी वटा र विद्यार्थीले शिक्षकलाई दुईदेखि पाँचवटा प्रश्न सोध्ने गरेको अध्ययनले देखाउँछ। यो अवस्था उल्टाएर विद्यार्थीले धेरै प्रश्न गर्ने वातावरण बनाउनुपर्छ।
ज्ञान ग्रहण गर्ने चाहनाको प्रकट रूप जिज्ञासा हो। प्रश्न गरेको समयलाई शुभ साइतका रूपमा लिएर विद्यार्थीमा ज्ञान स्थापित गर्नुपर्छ। विद्यार्थीले प्रश्न गर्दा उनीहरूको सक्रिय सहभागिता धेरै हुन्छ।
शिक्षकको अपेक्षा अर्को एक सकारात्मक उत्प्रेरणा दिने अभ्यास हो। म त्यहाँसम्म पुर्याउँछु भन्ने अठोट लिएर अघि बढेको शिक्षकले विद्यार्थीलाई गन्तव्यमा पुर्याएरै छाड्छन्। शिक्षकले विद्यार्थीमा स्वनिर्देशनको संस्कार विकास गर्छन्। उनीहरूलाई उत्तरदायित्वको बोध गराउँछन्। आफ्ना विद्यार्थीले सिक्न सक्छन् भन्नेमा विश्वस्त हुँदै विद्यार्थीमा सिक्न सकिन्छ भन्ने आत्मविश्वास जगाउँछन्। र, संघर्षरत विद्यार्थीलाई पनि मूलधारमै ल्याउँछन्।
परासंज्ञान (मेटा-कग्निसन) विधि विद्यार्थीले कसरी विचार गरिरहेको छ भनेर संज्ञानभन्दा पर पुगी उनीहरूलाई नै आफ्ना विचारको निगरानी गराउने एक अभ्यास हो।
उनीहरूले परासंज्ञानमा ज्ञानको सिद्धान्त सिक्छन् र प्राप्त ज्ञानको व्याख्या गर्न जान्दछन्। के र कसरी विचार गर्छु भनेर उनीहरुले आफ्ना वैचारिक प्रक्रियाको अवलोकन गर्छन्। यस 'मेटाकग्निसन' विधिमा 'कसरी सिक्ने’ भनेरै सिकाइन्छ। यसले सिकाइको प्रक्रिया द्रूत बनाउँछ।
शिक्षालाई जीवनको तयारी भनिन्थ्यो। तर शिक्षा-दार्शनिक जोन डिवे 'शिक्षा आफैंमा जीवन हो' भन्छन्। समस्यामा आधारित अभ्यासले विद्यार्थीलाई नै जीवनका वास्तविक समाधान गर्ने जिम्मा दिन्छ। विद्यार्थीलाई यथार्थताको बोध गराएर आलोचनात्मक चेतनाको विकास गर्छ र समस्या समाधान गर्ने कुशलता विकास हुन्छ। विभिन्न विषयका सूचनाहरू संश्लेषण गर्दै एकिकृत ज्ञानको निर्माण गर्न सिक्छन्।
हरेक विद्यार्थी अद्वितीय हुन्छ। उनीहरूको आ-आफ्नै मौलिक बोधमार्ग हुन्छ र त्यसलाई सम्बोधन गर्न विभेदित शिक्षण अभ्यास गरिन्छ। विद्यार्थीका लक्षित समूहलाई सिकाइको उपयुक्त जुक्ति प्रयोग गरिन्छ। हरेकका लागि छुट्टाछुट्टै रणनीति बनाउन सम्भव नभए उस्तै गुण, प्रतिभा भएकाहरूलाई समूहगत गरी विभेदित अनुदेशको योजना बनाइन्छ।
विचार उन्नत गर्ने एक उत्तम अभ्यास 'सुकरात गोष्ठी' दार्शनिक सुकरातले खुलाएका छन्। कुनै विषयमा के, कहाँ, कहिले, किन, कसरी जस्ता प्रश्न राखी सरल तरिकाबाट ज्ञान विस्तृतीकरण गर्ने यो विधि प्रमाणितमध्येको पर्छ। कक्षामा विद्यार्थीलाई कुनै विषयवस्तुमा ती प्रश्नहरू गर्न र तिनका उत्तर अन्वेषण गर्न लगाइन्छ। यसरी गरिएको खोज र अनुसन्धानको प्रक्रियाले उनीहरूको सोच–विचार क्षमता उच्च भएको अध्ययनहरूको निष्कर्ष छ।
एकीकृत अवधारणाअनुसार ज्ञानका सबै विषय एकआपसमा अन्तरसम्बन्धित हुन्छन्। यही सिद्धान्तलाई 'स्टेम' विधि बनाइएको छ। यस तरिकाबाट धेरै विषयहरूका मूलभूत ज्ञानलाई एकै साथ शिक्षण गर्न सकिन्छ।
विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित जस्ता विषयहरूको ज्ञान एउटै योजनामा गाभ्दै एकीकृत ज्ञान निर्माण गर्ने स्टेम एक सर्वमान्य उत्तम अभ्यास हो। यस विधिले ती विषयमा खोज गर्न, जोड्न र अन्तरसम्बन्ध स्थापित गर्न सिकाउँछ। विद्यार्थीले व्यावहारिक तवरबाट ज्ञान लिन्छन्।
सामाजिक शिक्षा र नेपालीलाई संयुक्त रूपमा सिकाउनु एकीकृत पाठ्यक्रमको एक सरल उदाहरण हो। सामाजिक शिक्षाको प्रबन्ध नेपाली भाषामा लेखाउँदा विद्यार्थीले तथ्यपरक लेख लेख्ने, विश्लेषण गर्ने सीपसँगै नेपाली भाषा र व्याकरणको पनि ज्ञान आर्जन गर्छन्। साहित्यिक रचनामा समालोचनात्मक दृष्टिकोण राख्ने क्षमताको विकास गर्छन्।
हामीले प्रयोगमा ल्याएको प्रत्यक्ष शिक्षणलाई थोरै परिमार्जन गरे त्यो पनि उत्तम अभ्यास बन्न सक्छ। शिक्षकले प्रवचन दिने परम्परागत शैलीलाई थोरै परिमार्जित गर्नुपर्छ। शिक्षकले विषयको अवधारणा मात्रै दिनुपर्छ र त्यसभित्रको ज्ञान बृहत् बनाउने जिम्मेवारी विद्यार्थीले निर्वाह गर्नुपर्छ। यस प्रक्रियामा शिक्षकले सहजीकरण गरी सिकाइलाई क्रियाशील बनाइदिँदा उनीहरूले स्वअध्ययनको बानी विकास गर्छन्।
उत्तम शिक्षण रणनीति र अभ्यास अरू पनि छन्। ती विषयवस्तु अनुसार विशिष्ट किसिमका पनि हुन्छन्। ती कक्षाकोठामा लागू गरे विद्यार्थीले वैचारिक क्षमताको विकास गर्दे सुयोग्यता हासिल गर्न सक्छन्। अध्ययनशीलताको विकास हुन्छ।
यी अभ्यासले उनीहरूलाई अर्थपूर्ण पढाइका साथ निर्विघ्न प्रगति गराउँछ। हाम्रा चम्किला विद्यार्थीले स्तरीय शिक्षा पाउँछन्। कसरी विचार गर्ने भन्ने संस्कार छापिन्छ। घातक स्तरहीन शैक्षिक अर्बुद जरैदेखि उखेलिन्छ।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)