ऊ के ठान्छ भने गणितमा कमजोर विद्यार्थी सामान्यतया सबै विषयमा कमजोर हुन्छ। गणितमा जत्तिकै कमजोर भनेर किटान गर्न सकिने त होइन, तर तुलनात्मक रूपमा कमजोर।
गणित छिटो सिक्ने विद्यार्थीले अर्को विषय पनि छिटो सिक्न सक्छ भन्ने उसको ठहर छ। यसो किनभने गणित सूत्रबद्ध हुन्छ।
यहाँ सूत्रबद्ध भन्नुको अर्थ कुनै खास सूत्रमा राखेर हल गर्नु मात्र होइन। एकपछि अर्को सिलसिलाको कुरा हो, गणितलाई गणितकै भाषामा जान्नु र सरलीकृत गर्दै समाधानमा पुग्नु हो।
गणित चाँडो सिक्नुको अर्थ विद्यार्थीको दिमाग सूत्रबद्ध हुनु हो, सिलसिलाबद्ध हुनु हो। सिक्नुपर्ने सबै कुरा सूत्रबद्ध गर्न सक्नु हो।
हाम्रा विद्यालय तहका विद्यार्थी गणित, विज्ञान र अंग्रेजीमा कमजोर देखिने गरेका छन्। यी तीन विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या निकै ठूलो हुने गरेको छ। यस सन्दर्भमा शिक्षाविद्, शिक्षा प्रशासक र शिक्षकहरूले चिन्ता प्रकट गर्ने गरेका छन्।
आखिर विद्यार्थी गणितमा किन कमजोर छ?
सामान्यतया कस्तो देखिन्छ भने कक्षोन्नति हुँदै जाँदा विद्यार्थी गणितमा कमजोर हुँदै जाने गरेको छ। चार कक्षामा गणितमा राम्रो रहेको विद्यार्थी आठ कक्षामा पुग्दा निकै कमजोर भयो। दस कक्षामा पुग्दा झन् बढी कमजोर भयो।
गणितका समस्या हल गर्दै जाँदा आफ्नो दिमाग सूत्रबद्ध गराउन सक्ने विद्यार्थी दिनदिनै जान्ने हुँदै गयो, त्यसो गर्न नसक्ने कमजोर हुँदै गयो। एउटा समस्या हल गर्न नसकेपछि अर्को समस्यामा रूचि भएन। क्रमशः सिकाइ कमजोर हुँदै गयो। सिक्नुपर्ने कुरा छुट्दै गयो। अन्ततः गणितमा विद्यार्थीको चाख नै रहेन।
यसो भएपछि अनुत्तीर्ण त हुने नै भयो, कोही त कहिल्यै पार लगाउन नसक्ने गरी कमजोर भयो।
सामान्यतया गणित राम्रो जान्ने विद्यार्थी सबै विषयमा उत्तिकै जान्ने हुन्छ। गणितमा जान्ने विद्यार्थी विज्ञानमा कमजोर देखा पर्दैन। यस्तो विद्यार्थी सबै किसिमको सिकाइलाई सूत्रबद्ध गर्न सक्ने हुन्छ, सिलसिलाबद्ध गर्न सक्ने हुन्छ।
कहिलेकाहीँ अद्भूत स्मरणशक्ति भएका व्यक्ति देख्न र तिनका बारेमा पढ्न पाइन्छ। जस्तै– पचासवटा फरकफरक वस्तु लहरै मिलाएर राखिएका छन्; पुस्तक, चस्मा, फोन सेट, कलम, क्याल्कुलेटर, चम्चा...। कसैले यी वस्तु केही बेर हेरेर एकपछि अर्को नबिराई पचासवटाकै नाम भन्न सक्छ। कोही व्यक्ति दस वर्षपछिको वैशाख १ गते के बार पर्छ वा दस वर्षअघिको दसैं कुन महिनाको कति गते थियो, त्यो भन्न सक्छ।
उसको समझअनुसार यस्तो स्मरणशक्तिको राज सूत्रबद्धता नै हो। कुनै अलौकिक क्षमता होइन। यसपछि निरन्तरको अभ्यास अर्को कारण हो। 'प्राक्टिस मेक्स पर्फेक्ट' भन्ने अंग्रेजी कथन यसै कारणले बनेको हुन सक्छ।
उसले गणितमा स्नातकोत्तर गरेर विद्यालय तहमा गणित पढाउँदै गरेका एक अनुभवी शिक्षकसँग एक दिन जिज्ञासा राख्यो- सामान्यतया विद्यार्थी गणित विषयमा किन कमजोर हुन्छ?
‘किनभने सानो कक्षादेखि नै गणित कठिन विषय हो भन्ने हौवा खडा भएको छ। हरेक विद्यार्थीमा गणित गाह्रो विषय हो भने धारणा बनेको छ।’
‘अर्को कारण?’
‘गणितमा अलिक बढी अभ्यास चाहिन्छ, विद्यार्थी पर्याप्त अभ्यास गर्दैन। कुनै समस्या एकपटकमा हल भएन भने अर्कोपटक प्रयास नै गर्दैन।’
‘यो कुरा विद्यार्थीतर्फको भयो, शिक्षकतर्फको पनि केही छ कि!’
‘छ, शिक्षकले गणितलाई दैनिक व्यवहार र उपयोगितासँग जोडेर सिकाउन सकेन। अंक गणितलाई दैनिक व्यवहारसँग सजिलै जोड्न सकिने भए पनि शिक्षकले प्रश्नको उत्तर निकाल्न मात्र सिकायो। कक्षामै गर्न सकिने व्यवहारमा पनि सिकाएन।’
‘अंक गणितलाई नै शिक्षकले दैनिक व्यवहारसँग जोड्ने प्रयास गरेन भने बिजगणित र ज्यामितिको अवस्था के होला?’
‘ज्यामितिलाई केही मात्रामा दैनिक जीवनका वस्तुसँग जोडेर हेर्न र सिकाउन सकिन्छ तर बिजगणितमा त्यसो गर्न अलिक कठिन हुन्छ। यसमा पनि विद्यार्थीमा भविष्यको सम्भावना देखाएर उत्प्रेरण जगाउन सकिन्छ।’
‘शिक्षकले यस्तो काम कति गर्न सकेको छ?’
‘नगन्य! अपवादमा भएको होला, म आफैंले पनि गरेको छैन। म सधैं पाठ्यक्रम पूरा गर्ने दबाबमा हुन्छु। यस्तो दबाबले कमजोर विद्यार्थी कमजोरै छाडिन्छ, झन् कमजोर हुँदै जान्छ। यस्तो विद्यार्थीले उत्तीर्ण हुने गरी गणित सिक्न अतिरिक्त कक्षा लिनुपर्छ, अतिरिक्त मिहिनेत गर्नुपर्छ।’
‘तपाईंले बीस वर्षको शिक्षण अवधिमा चक डस्टर र ज्यामितिका रेखा खिच्ने उपकरणबाहेक के के शैक्षिक सामग्री प्रयोग गर्नुभएको छ?’
‘इमानदारीपूर्वक भन्छु, मैले तपाईंले भनेकाबाहेक कुनै पनि सामग्री प्रयोग गरेको छैन। जे जति गरेको छु, सबै चित्रका भरमा गरेको छु।’
‘यस्तो हुनुको कारण के हो?’
‘इच्छाशक्तिको अभाव होला वा शैक्षिक सामग्री बनाउने र प्रयोग गर्ने सिपको अभाव होला। बजारमा के के शैक्षिक सामग्री उपलब्ध छन् भनेर खोज्ने र प्रयोग गर्ने जाँगर नभएर होला। शैक्षिक सामग्री प्रयोग नगरेकोबारे उत्तरदायी हुनु नपरेर पनि होला।’
‘प्रामाणिक रूपमा त होइन, तर मेरो करिब पैंतीस वर्षको शिक्षण अनुभवमा हाम्रा विद्यालयमा सबभन्दा कम शैक्षिक सामग्री प्रयोग हुने विषय गणित हो, तपाईं यसमा के भन्नुहुन्छ?’
‘मलाई पनि त्यस्तै लाग्छ, किनभने मैले प्रयोग गरेको छैन भनेपछि मजस्ता धेरै हुन सक्छन्।’
एक समय उसले राजधानी काठमाडौं र काठमाडौंबाहिरका सामुदायिक विद्यालयमा पढाउने केही गणित शिक्षकहरूसँग उपर्युक्त प्रकारको संवाद गरेको थियो। शब्द फरक परे पनि सबैको भनाइको मजबुन उस्तै थियो।
हाम्रा अधिकांश विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग निराशाजनक देखा पर्छ। यसमा अनेक कारण होलान्, जसमध्ये शिक्षकमा इच्छाशक्ति र उपयोगी शैक्षिक सामग्री तयार गर्ने सिपको अभाव मुख्य कारण हुन सक्छ। अर्को, शैक्षिक सामग्रीको व्यावसायिक उत्पादन र प्रचारप्रसार पनि नगन्य रहेको हुन सक्छ। शैक्षिक सामग्रीको प्रयोग बढाउन नियामक निकाय उदासीन रहेकाले पनि हुन सक्छ।
अब विज्ञानको कुरा, विज्ञान पनि सूत्रबद्ध विषय हो। विज्ञान भन्नु नै सूत्रबद्धता हो। प्रमाणले नै हो रहेछ सूत्र बन्ने। सूत्र भन्नु प्रकारान्तरले अनेकन अभ्यासको निष्कर्ष हो रहेछ। मन्त्र भन्नु सूत्र नै हो रहेछ। मन्त्र जहिले पनि सूत्रात्मक हुन्छ।
अंग्रेजी दोस्रो भाषा भइहाल्यो। दोस्रो भाषामा विद्यार्थी कमजोर हुनु सामान्य ठानिने भयो। दोस्रो भाषा सिकाउन अलिक फरक तालिम र सिप आवश्यक पर्छ भन्ने उसलाई लाग्छ। हाम्रा विद्यालय शिक्षकहरू दोस्रो भाषाका रूपमा अंग्रजी शिक्षण गर्न कति सिपयुक्त छन्? राज्यले यसमा कति प्रयास गरेको छ? शिक्षक स्वयंले म दोस्रो भाषा सिकाउने शिक्षक हुँ भनेर सिप सिक्न कति प्रयास गरेको छ?
उसको मनमा यी प्रश्न हमेसा उठिरहन्छन्।
उसको अनुभवमा सिकाइ भन्नु नै सूत्रात्मकता रहेछ। सिकाइलाई सूत्रबद्ध गराउन सक्ने शिक्षकले राम्ररी सिकाउन सक्ने रहेछ। आफूलाई सूत्रबद्ध गर्न सक्ने विद्यार्थीले छिटो सिक्ने रहेछ। यस्तो विद्यार्थी तीक्ष्ण र कुशाग्र हुने रहेछ।
ऊ पनि शैक्षिक सामग्री उति धेरै प्रयोग गर्दैन। यसको कारण पनि उही हो, इच्छाशक्तिको अभाव, जाँगरको अभाव र कहिलेकाहीँ सिपको पनि अभाव। तालुकवालाप्रति उत्तरदायी हुनु नपरेका कारणले पनि होला।
प्राकृतिक रूपमै पाइने, शिक्षक आफैंले बनाउन सक्ने, बजारमा पाइने अनि कक्षाकोठामै प्रयोग गर्न सकिने शैक्षिक सामग्री प्रयोगमै यति उदासीनता छ भने समाजमा गएर अन्तर्क्रियात्मक सिकाइ त झन् नहुने नै भयो।
यसो भएपछि दूध कहाँबाट प्राप्त हुन्छ भन्ने प्रश्नमा ‘बजारबाट’ भन्ने जवाफ आउन सक्ने भयो।
केही वर्षअघिको कुरा, ऊ विज्ञानमा एक दलीय र दुई दलीय बिरूवा पढाउँदै थियो। उदाहरणमा धानको कुरा आयो, बोटको जरा र पातको कुरा आयो। धानसँगै चामलको कुरा आयो। एक छात्रले सोध्यो– सर चामलको बोट कस्तो हुन्छ?
त्यो समय अहिलेजस्तो तुरून्तै स्मार्टफोन सेटमा गुगल गरेर फोटो देखाउन सकिने थिएन। उसले कक्षामा एक दलीय र दुई दलीय बिरूवाको बोट लगेको पनि थिएन। बोटको त के कुरा, बिउ पनि लगेको थिएन।
केही उपाय त गर्नै पर्यो। उसले सोध्यो– ल भन, चामलको बोट कसले देखेको छ?
चामलको बोट देख्ने कोही पनि फेला परेन। तर चामल बन्ने तरिका थाहा पाउने छात्रछात्रा खडा भए। चामलको बोट कस्तो हुन्छ भनेर सोध्नेले धानको बोट देखेकै रहेनछ।
एक हिसाबले यसो हुनु सामान्य कुरा हो। तर विद्यार्थीले जवाफ पाउनै पर्छ।
ताप्लेजुङको स्कुलमा र पोखराको स्कुलमा फेवातालबारे पढाउने तरिका र शैक्षिक सामग्री अवश्य पनि एउटै हुँदैन। विद्यार्थीका प्रश्न पनि एकै किसिमका हुँदैनन्।
विद्यालयको शिक्षण–सिकाइ दैनिक व्यवहारसँग, समाजसँग र प्रकृतिसँग नजोडिएसम्म वास्तविक सिकाइ नहुने रहेछ भन्ने उसको लामो शिक्षण अनुभवको निष्कर्ष छ। विषाद पनि यसमै छ, किनभने शिक्षण–सिकाइ यी तीनवटै पक्षसँग यथोचित रूपमा जोडिन सकेको छैन। एउटा शिक्षकका रूपमा ऊ आफैंले जोड्न सकेको छैन।
व्यक्तिको सिकाइ क्षमता फरकफरक हुन्छ। कोही जन्मजात तीक्ष्ण हुन्छ, फटाफट सिक्छ। कोही अलिक ढिलो सिक्छ, तर सिक्नुपर्नेमध्ये धेरैजसो सिक्छ। कोही साह्रै थोरै सिक्छ, नसिकी नहुने पनि सिक्दैन। यो तेस्रो प्रकारको विद्यार्थी सधैं तेस्रोमै रहन्छ। अनुत्तीर्ण हुने पनि यही हो। धेरै स्कुलमा अधिकतम संख्या तेस्रो प्रकारकै विद्यार्थीको हुन्छ।
हाम्रो शिक्षा पद्धतिमा यस्ता विद्यार्थी राख्ने छुट्टै डालो छैन। यिनको सिकाइमा सुधार ल्याउन हाम्रा विद्यालयहरूसँग विशेष कार्यक्रम छैन। विशेष कार्यक्रम बनाउन सक्ने गरी विशेष सुविधा पनि छैन। हाम्रो पद्धतिले सबैलाई एउटै डालोमा मिसमास गर्नु र बराबर सिकाउनु भन्छ, बराबर जान्ने बनाउनु भन्न खोज्छ, तर यसो हुन सम्भव छैन।
शिक्षकले विद्यार्थीको नतिजामा आफू जोगिने उपाय खोज्छ। पढ्दै पढ्दैन, गृहकार्य गर्दैन, कक्षामा ध्यान दिँदैन, सिक्ने जाँगरै छैन इत्यादि भनेर आफ्नो बचाउ खोज्छ अनि भन्छ– पढ्दै पढ्दैन त कसरी पास हुन्छ!
निश्चय नै, विद्यार्थीको सिकाइमा अनेक पक्षहरूको प्रभाव हुन्छ। सिकाइ क्षमता, इच्छाशक्ति, घरायसी वातावरण, सहपाठी संगत इत्यादि अनेक पक्ष हुन्छन्। सबभन्दा महत्वपूर्ण पक्ष चाहिँ कक्षाकोठामा हुने शिक्षण सिकाइ नै हो, शिक्षक नै हो भन्ने उसको निष्कर्ष छ।
उसले विद्यालयमा कठिन मानिएका र धेरैजसो अनुत्तीर्ण हुने विषयका रूपमा गणित, विज्ञान र अंग्रेजीको दृष्टान्त अघि सारेको हो। विषयको चरित्रअनुसार सबैका शिक्षण–सिकाइमा पर्याप्त गम्भीरता आवश्यक पर्छ भन्ने ऊ ठान्छ।