पहिले एउटा ठूलो विद्यालय हेरौं।
यहाँ सुविधामा मात्रै केन्द्रित गरी लगानी गरिएका ठूला भवनहरू छन्। अनेक पूर्वाधारहरू र प्रशस्त अतिरिक्त क्रियाकलापहरू देखाइन्छन्। विद्यालय कुनै तारे होटलजस्तै टल्केको, झल्केको छ। त्यहाँ अधिकांश सम्पन्न अभिभावकहरू आउँछन् र आफ्ना छोराछोरीलाई शिक्षार्थीभन्दा उपभोक्ताका रूपमा भर्ना गर्छन्। महँगो विद्यालय पठाएकोमा गर्व गर्छन्।
त्यहाँ लगानीकर्ताहरू नेतृत्वमा छन्। विद्यालय व्यवस्थापनका बैठकहरूमा प्रतिफलका चर्चा गरिन्छ तर शिक्षाका छलफल प्राथमिकतामा पर्दैनन्। त्यहाँभित्र विधि नमिल्दा शैक्षिक बेथिति मौलाएको छ। शैक्षिक प्रक्रियाको सुर र अन्त्य मिलेको देखिँदैन।
अब अर्को एउटा सानो विद्यालय हेरौं।
कक्षामा विद्यार्थीहरू सही संख्यामा छन्। सफा र व्यवस्थित घर छ। सुविधाको अपेक्षाकृत कमी छ, प्रतिबद्ध नेतृत्व छ, शिक्षामा विमर्श गरिन्छ, कार्यक्रमहरू जीवन्त छन। ठिक शैक्षिक संस्कार बसाल्न शिक्षकहरू दत्तचित्त छन। सबै साना र थोरै भए पनि विद्यालय जस्तो त यही देखिन्छ।
भौतिक सुविधा अति राम्रो हो। तर त्यो 'सुविधा' हो, विद्यालय होइन। सुविधाले विद्यालय बन्दैन भन्ने यसैबाट प्रष्ट हुन्छ।
यही सन्दर्भमा प्रेरणा जगाउने एक नमूना स्कुलको उदाहरण उल्लेख गर्छु।
आफ्ना पिताको बिँडो थाम्दै रवीन्द्रनाथ टेगोरले चत्तीवन रूख छेउमा शान्ति निकेतन नामको सानो विद्यालय स्थापना गरेका थिए। रूखमुनि कक्षा सञ्चालन हुन्थे। खुला चउर नै कक्षाकोठा थिए। यो स्कुल आज विश्व भारती विश्वविद्यालय नामले प्रसिद्ध छ।
विद्यालय बन्ने मूल जग एवं स्तम्भ सुक्ष्म र अमूर्त हुन्छन्, बाहिर देखिँदैनन्। तिनले नै हुन् 'विद्यालय' बनाउने। यसको सम्बोधन विद्यालय नेतृत्वले, निहित दर्शन र आदर्शले गर्छ। नेतृत्वले ती आधारभूत कुरा बुझेर लागू गरेका छन् भने मात्रै विद्यालय बन्छ। ती तत्वहरूको अभावमा विद्यालय केबल भौतिक संरचना बन्छ।
अध्ययनको क्रममा नेपालका शिक्षाविद र सफल प्राचार्यहरूको अनुभव सुनेको छु।
संयुक्त राज्य अमेरिका र युरोपियन राष्ट्रहरूमा उपल्लो श्रेणीका शिक्षालय साथसाथै शिक्षा प्राध्यापकहरूबाट विषयवस्तु खोतल्ने जमर्को गरेको थिएँ। तिनको र आफ्नै अनुभवका आधारमा सारसंक्षेप कुरा यो लेखमार्फत राख्न चाहन्छु।
यसले रूपान्तरण खोजेका शैक्षिक नेतृत्व र शिक्षकहरूलाई सरल र व्यावहारिक मार्गदर्शन दिनेछ भन्ने आशा छ।
सुरू गरौं मेरो अनुभवको त्यो सानो स्कुलबाट।
स्कुले शिक्षामा अध्यापन कम, अनुदेश धेरै चाहिन्छ। विषयगत शिक्षण मात्रले पुग्दैन। शिक्षकले नै विद्यार्थीलाई पढाउनुपर्छ र 'राम्ररी पढाए' विद्यार्थी जान्ने हुन्छन् भन्ने मानसिकता नै स्तरीय शिक्षाको व्यवधान हो।
विचार गरौं त, त्यो 'राम्ररी पढाउने' भनेको के होला?
विद्यार्थीलाई पढाउने होइन, उनीहरूलाई सिक्ने मौका दिने हो। यो भएमा विद्यार्थीले आफैं बोध गर्छन्। कक्षामा लक्ष्यसहितको संलग्नताबाट आफ्नो सिकाइलाई उनीहरू आफैंले निर्देशित गर्छन्। शिक्षकहरूले कक्षामा बोधका लागि आवश्यक सीप सिकाउने र उद्देश्यपूर्ण क्रियाकलाप गराउने हो।
त्यो सानो विद्यालयको नेतृत्वले शिक्षकलाई कक्षामा पढाउने भन्ने ठाउँमा विद्यार्थी सक्षम बन्न उसैले ज्ञान लिने वातावरण सिर्जना गर भन्ने निर्देशन दिएको छ। त्यहाँ स्पष्ट अनुदेश र मार्गदर्शनसहित ज्ञान आर्जनका लागि विद्यार्थीलाई दिशानिर्देश गरिन्छ। यो देख्दा सानो पाइलो तर ठूलो फड्को हो।
शिक्षाको एउटा गतिशील यन्त्र हुन्छ।
यसलाई तीनवटा मुख्य सहप्रणालीहरूले गति दिन्छन्– शिक्षण, पाठ्यक्रम र मूल्यांकन।
शैक्षिक प्रक्रिया प्रभावकारी हुन यी तीन अवयव समन्वयका साथ चलायमान हुनुपर्छ।
पहिलो, हाम्रोमा शिक्षकले पढाउँछन्। शिक्षणको पुर्जा चलाउँछन्। तर यसले अति थोरै काम गर्छ। यसलाई समग्र प्रणालीले जकड्याएर राखेको अवस्था छ।
दोस्रो, पाठ्यक्रमको चलिरहन पर्ने पुर्जा स्थिर राखिएको छ। धेरै विद्यालयले पाठ्यपुस्तकलाई नै पाठ्यक्रम मान्दा यो समस्या आएको पाइन्छ। शिक्षकहरू पाठ्यक्रमको प्रयोगमा अनभिज्ञ भए। यो मूल दस्तावेजलाई कसैले बुझेन वा हेरेनन्। जुन परोक्ष हुन पर्ने थियो अपरोक्ष भइदियो।
तेश्रो, शिक्षणसँगै उपलब्धिको मूल्यांकन गरिएन। अन्तिममा खाली कागजमा लेखाइएको परीक्षा लिइयो। नतिजाले विद्यार्थीको बौद्धिक, भावनात्मक, सामाजिक र अन्य विकासलाई समेट्न सकेन।
हाम्रो शिक्षामा शिक्षण, मूल्यांकन र पाठ्यक्रमको लय मिलेको छैन। यी तीन प्रक्रियालाई एकसाथ चालियो भने मात्र कार्यात्मक शिक्षा प्रणाली बन्छ। यी सबै चक्रीय रूपमा घुम्दै एकले अर्कोलाई गति दिनुपर्छ। तर यहीँनिर प्रणालीगत त्रुटि भयो।
हाम्रा विद्यालयहरूमा तिनलाई रेखीय बनाइयो। रेखीय प्रणालीले पाठ्यक्रमलाई पछाडि राख्ने, विषयगत शिक्षण गर्दै अघि जाने अनि विषयगत परीक्षा लिएर पास फेलको नतिजा दिने र वस्तुतः निकै कम उपलब्धि आउने प्रक्रिया बर्सेनि दोहोर्याउँछ।
त्यो सानो स्कुलको शैक्षिक नेतृत्वले शिक्षणको रेखीय प्रक्रियालाई चक्रीय बनाएको छ र यो निरन्तर चलिरहन्छ भन्ने बुझेको छ। त्यहाँ शिक्षा गतिमान छ, पट्टयार लाग्दो छैन।
त्यहाँ प्राथमिकताका आधारमा शैक्षिक र आर्थिक प्रशासन नेतृत्वले नै हेर्छ। तर सिकाइ कसरी चलिरहेको छ भन्नेमा चाहिँ हरबखत एकध्यान रहिरहन्छ। यो प्रक्रिया शिक्षकको जिम्मेवारी बाँडफाँट गरी निगरानीपूर्वक दिइन्छ। पढाइ चलिरहेकै छ, समयमा परीक्षा भइरहेकै छ, शिक्षक छन्, कक्षा खाली छैन भन्ने बुझाइ त्यो सानो विद्यालयमा पटक्कै छैन।
त्यो सानो स्कुलको शैक्षिक नेतृत्वले असी प्रतिशत समय शैक्षिक सुपरीवेक्षणमा दिन्छ। बाँकी समय प्रशासनिक कामलाई दिइन्छ। नेतृत्व हरदम शैक्षिक गतिविधि नियाल्दै विद्यार्थीले कसरी, के सिकिरहेका छन् भन्नेमा निरन्तर चनाखो रहन्छ।
त्यहाँ शिक्षा शिक्षणबाट अपेक्षित नतिजा प्राप्त भएको वा नभएको सधै निरीक्षण गरिन्छ। योगात्मक परीक्षाफल भन्दा निर्माणात्मक मूल्यांकनबाट विद्यार्थीमा बोध गर्ने क्षमतासहित अन्य क्षेत्रका विकासको मापन गरिन्छ।
पाठ्यक्रम यथार्थमा भौतिक वस्तु होइन, मुद्रित दस्तावेज पाठ्य विवरणको देखिने रूप मात्रै हो। 'सिलेबस' का कुरा किन पढाइयो? पढिसकेपछि के हुन्छ? विद्यार्थीको व्यवहार र स्वाभाव कस्तो हुन्छ? अन्तर्य दर्शन के छ? के गराउन खोजिएको हो? यी प्रश्नका उत्तर सानो स्कुलका सबै शिक्षकले छर्लंग दिन सक्छन्।
त्यो सानो विद्यालयको शैक्षिक नेतृत्वले धेरैले नदेख्ने दर्शन पाठ्यक्रममा देखेको छ। विद्यार्थीका अनुभवहरूको संगालो र उनीहरूको सोचको दिशा कता जान्छ भन्ने कुरा ठम्याइन्छ। पाठ्यक्रमको उद्देश्यसहित विद्यार्थीले यति कुरा जान्नुपर्छ भनेको मार्गदर्शन नेतृत्वले देख्छ।
नेतृत्वले शिक्षकहरूलाई नै शैक्षिक योजना तर्जुमा र कार्यान्वयन गर्ने स्वायत्तता दिनुपर्छ। आफ्नो सिर्जनशीलतालाई शिक्षकहरूले प्रयोग गरे शिक्षण प्रभावकारी हुने अध्ययनले देखाउँछ। त्यस अवस्थामा गहिराइ कति जाने भन्नेमा, विद्यार्थीका सन्दर्भ र आवश्यकताको प्रसंगलाई शिक्षकहरूले जोड्न सक्छन्। पाठ्यक्रमका अपुग विषयवस्तु विद्यार्थीलाई सिकाउने स्वायत्तताले सिकाइ क्षेत्र विस्तृत बनाउँछ।
त्यहाँ कुनै विशेष खुबीको प्रदर्शनका लागि खेलमा प्रतिस्पर्धा गरिन्छ। व्यक्तिगत र बौद्धिक तुलना कसैसँग गरिँदैन किनभने हरेक विद्यार्थी अद्वितीय हुन्छ, आआफ्नै क्षमता र विशेषताले पूर्ण हुन्छ भन्ने मान्यतामा विद्यालय स्थापित छ। कक्षामा विद्यार्थीबीच प्रतिस्पर्धा गरी जान्ने र नजान्ने बीचमा उत्पन्न हुने विभेदको ठाउँमा उनीहरूका अन्तरनिहीत सम्भावनाको खोजी र विकास गरिन्छ।
त्यो सानो स्कुलमा शिक्षक र विद्यार्थी सहकार्य गर्छन्। विद्यार्थीले शिक्षकसँगै सहपाठीलाई पनि पढाउँछन्। विद्यार्थीबाट स्वयं एकअर्काका कार्य सम्पादन गर्दै कमजोरीलाई दुवै मिलेर सच्याउने अभ्यास गर्छन्।
त्यहाँ सबैले सहकार्य गर्नुपर्छ भन्ने मान्यता छ। शैक्षिक सहकार्य गुणस्तरको प्रस्थान बिन्दु हो र यो निरन्तर चलिरहन्छ भन्ने ज्ञान छ। यसो गरेमा सबैले जित्छन् र यो शैलीले विद्यालयको गुणस्तर उकासिन्छ भन्ने सबैलाई स्पष्ट छ।
त्यस सानो स्कुलमा ज्ञान प्राप्त गर्ने प्रक्रियालाई ज्ञान जत्तिकै महत्व दिइन्छ। विद्यार्थीका सर्वांगीण विकासलाई अघि राखिन्छ र ग्रेडिङलाई सिकाइका निर्माणात्मक तथ्यांक मानिन्छ। विद्यार्थीले राम्रो ग्रेड ल्याउनुपर्छ भन्ने ठाउँमा सिकाइ उपलब्धिलाई प्रवर्तन गरिन्छ। क्रियाशील सिकाइका विधिलाई प्रयोगमा ल्याइन्छ, विद्यार्थीका रूचि र प्रतिभाअनुसार सहभागिता गराइन्छ। विद्यालय कार्यक्रमले ज्ञानका अनिवार्य तत्वहरूलाई नछुटाई सम्बोधन गर्छन्।
त्यहाँ अन्त सजिलै नपाइने अर्को विशेष कुरा छ– मानवीय सम्बन्ध। शिक्षक र विद्यार्थीबीचको हार्दिकता र सबैले एकअर्कालाई गर्ने सम्मान। त्यहाँ सानो र ठूलोबीच भेद नराखी पारस्परिकता अपनाइन्छ।
त्यो सानो घरले विद्यार्थीप्रतिको दायित्वलाई पूर्ण अंगिकार गर्छ। समाजका वास्तविक पक्षसँग घुलमिल गराउन विभिन्न सामाजिक कार्यक्रममा विद्यार्थीलाई सहभागी गराइन्छ। विद्यालय समुदायलाई विद्यार्थीका उन्नति प्रगतिमा सामेल गराइन्छ र विद्यालय एक हितकारी संस्थाका रूपमा स्थापित गरिन्छ।
थोरै प्रतिबद्धतासहितको लगनशील नेतृत्व र शिक्षाको आधारभूत सिद्धान्त र दर्शन अभ्यासमा अनुवाद गर्न सक्ने शिक्षक भए वास्तवमा विद्यालय बन्ने रहेछ।
उदाहरणमा उल्लेखित सानो र ठूलो स्कुल खासमा साटिएका छन्। ठूलो स्कुल सानो र लघु बनेको छ, सानो चाहिँ विशाल र विस्तृत। वास्तवमा पहिला पनि त्यही नै थियो, साना स्कुलको केबल बाह्य भौतिक स्वरूप मात्र सानो देखिन्थ्यो। तर यस्तै साना विद्यालयहरू नै हाम्रा आवश्यकता हुन्।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)