प्रिय शिक्षक साथी! तपाईं जतिवटा कक्षामा पढाउनु हुन्छ, ती कक्षाका सबै विद्यार्थीलाई तिनको नाम भनेर बोलाउन सक्नुहुन्छ?
सक्नुहुन्छ भने त राम्रो भइगयो, सक्नुहुन्न भने तपाईंले नाम थाहा नपाएका छात्र वा छात्रालाई कक्षामा वा कक्षाबाहिर बोलाउनु पर्दा कसरी काम चलाउनुहुन्छ?
यी दुई प्रश्नबारे अहिले नै एक छिन विचार गर्नुहोस् त!
केही वर्षअघि नाम चलेको एक नेपाली पत्रिकामा विद्यार्थीको नामका सम्बन्धमा एउटा समाचार छापिएको थियो।
समाचारको सार थियो– अधिकांश शिक्षक आफूले पढाउने विद्यार्थीमध्ये थोरैको मात्रै नाम भन्न सक्छन्। कतिलाई त एक–दुई जनाबाहेकको नाम थाहै हुँदैन।
कक्षामा शिक्षकले कुनै छात्रछात्रासँग व्यक्तिगत संवाद गर्नुपर्ने अवस्था हुन्छ।
सोध्नुपर्ने हुन्छ– त्यहाँ के गफ गर्दै छौ? हिजो किन स्कुल आएनौ? गृहकार्य किन नगरेको? ध्यान कता छ? किन निदाएको? सञ्चो छैन हो? उत्तर भन त? अब लेख्न सक्छौ? गरेर देखाउन सक्छौ? अगाडि आऊ, उठ। इत्यादि।
नजिकमा गएर सार्वनामिक सम्बोधनबाट संवाद गर्न सकिने भयो तर अलिक परैबाट बोलाउनुपर्यो भने? कक्षाकोठाबाहिर वा मैदानमा टाढैबाट बोलाउनुपर्यो भने?
अक्सर नजिकमा भएको कुनै छात्रछात्रालाई अह्राउनुहुन्छ होला, नामको साटो कुनै उपाय निकाल्नुहुन्छ होला, कुनै संकेत इत्यादिबाट।
बहुधा शिक्षक साथीहरूको साझा भनाइ हुन्छ– यति धेरै विद्यार्थीको नाम सम्झेर के साध्य हुन्छ र! नाम थाहा हुनै पर्छ भन्ने पनि के छ र!
विक्रमाब्द चालीस दशकको अन्त्यतिर ऊ राज्यको एक निकायले संस्थागत रूपमा चलाएको, निजीशैलीको र निकै नाम चलेको एउटा स्कुलमा शिक्षक थियो। ऊ त्यहाँ एक शैक्षिक वर्ष मात्रै बस्यो। शैक्षिक वर्षको सुरूमै गएको थियो।
भाइस प्रिन्सिपल अर्थात सहायक प्रधानाध्यापकले शिक्षकका लागि एक सूचना जारी गरे। सूचनामा केही बुँदा थिए। तीमध्ये दुई वटा उसको स्मरणमा ताजै छन्– एक, लौरो लिएर कक्षामा जान पाइने छैन; दुई, प्रत्येक विद्यार्थीको नाम याद गरेको हुनुपर्नेछ।
उसका लागि यी दुबै बुँदा सर्वथा नौला थिए। त्यसअघि उसले आजकाल सामुदायिक भनिने दुईवटा सरकारी स्कुलमा पढाएको थियो तर त्यस्तो सूचना वा नियम जानकारी पाएको थिएन।
ऊ यहाँ नामको चर्चा गर्छ।
समान्यतया प्रत्येक समुदायमा जन्मपछिको पहिलो कर्म नामसंस्कार हो। शिशुले आफ्नो बारेमा के हुँदै छ भन्ने केही थाहा पाएको हुँदैन तर उसको नाम राखिसकिएको हुन्छ। नाम नै व्यक्तिको पहिलो पहिचान हो। नामपछि मात्रै व्यक्तित्वको कुरा आउँछ। व्यक्तिले आफ्नो नाम तयारी अवस्थामा पाउँछ, व्यक्तित्व क्रमिक रूपमा निर्माण हुँदै जाने हुँदो रहेछ।
नाटकार विलियम शेक्सपियरले उनको प्रसिद्ध नाटक ‘रोमियो एन्ड जुलियट’ मा भनेका छन्– नाममा के नै छ र? गुलाबलाई हामीले जे नाम दिए पनि आखिर त्यसले दिने त मीठो बास्ना नै हो।
साँच्चै हो तर मिठो बास्ना दिने त्यो फूललाई कुनै न कुनै नाम त दिनै पर्यो। आखिर शेक्सपियरले पनि गुलाब नै भनेका छन्।
उसले आफू पढेको स्कुलको एउटा घटना सुनेको थियो।
स्कुलले एक जना शिक्षकलाई कुनै विशेष अवसरमा सम्मानपत्र दिएछ। उनको नामको सुरूका दुई अक्षरमा ‘इकार’ थिए। प्रधानाध्यापकले दुबै ‘इकार’ लेख्नमा गल्ती गरेछन्।
ती शिक्षक आफूले पाएको सम्मानपत्र घरको भित्तामा सजाउन चाहन्थे, लेखाइमा गल्ती भएकै कारणले त्यसो गर्न सकेनन्। केही दिनपछि उनले सबै शिक्षकका सामु प्रधानाध्यापकले गरेको गल्तीमा कटाक्ष गरेछन्। धन्य भन्नुपर्छ, ती प्रधानाध्यापकले गल्ती स्वीकार गरेछन्।
यो घटना सुनेपछि उसलाई नामको गरिमा र शब्दको वर्तनीको महत्व बोध भएको थियो।
कुनै समय अंग्रेजीभाषी विदेशीसँग परिचय हुँदा त्यो व्यक्तिले ‘हाउ डु यु स्पेल’ भनेर सोधेको थियो। सम्भवतः अंग्रेजीभाषीको मुखबाट यस्तो प्रश्न उसले पहिलोपटक सुनेको थियो।
उसले त त्यो व्यक्तिको नामको स्पेलिङ सोधेन। सम्भवतः त्यसरी सोध्नु ऊ र उसको समाजको संस्कार नै बनेन। त्यस्तो संस्कार बनेको भए सरकारी कार्यालयबाट जारी हुने प्रमाणहरूमा नाम सच्याउने झन्झट किन पर्थ्यो र! सुनेरै नाम लेखिदिएको हुन्छ। कसरी लेख्छौ भनेर सोध्ने चलन नै छैन।
यसको भुक्तभोगी ऊ आफैं पनि हो। एउटा सरकारी कार्यालयले दिएको प्रमाणमा उसको नाममा ‘व’ सट्टा ‘ब’ लेखिएको थियो। उसले आपत्ति प्रकट गर्यो र सच्याएर मात्र ग्रहण गर्यो।
अर्को एकपटक पनि त्यस्तै भयो। कुरो सरकारी कार्यालयकै हो, ऊ आफ्नो नाममा नेपाली अक्षर ‘व’ का लागि अंग्रेजी अक्षर ‘भी’ लेख्छ। सरकारी कागजमा ‘बी’ लेखेर आयो। यहाँ पनि आपत्ति जनायो र सच्याएर मात्रै ग्रहण गर्यो।
करिब दुई दशकअघि उसले एकपटक आफूले पढाउने एउटा कक्षाका विद्यार्थीहरूलाई सामूहिक प्रश्न राख्यो– शिक्षकले कक्षाका सबै विद्यार्थीको नाम थाहा पाउनुपर्छ कि पर्दैन?
सामूहिक जवाफ आयो– पर्छ।
फेरि सोध्यो– यो कक्षामा ४० जना छौ। म चार वटा कक्षामा पढाउँछु। सबै गरेर १३० जनाभन्दा धेरै छन्। यी सबैको नाम कसरी याद गर्नु?
उनीहरूको सामूहिक जवाफ आयो– नगरी हुन्न भनेर प्रयास गर्दा दुई-चार दिनमा थाहा भइहाल्छ।
उसले अर्को प्रश्न सोध्यो– शिक्षकले सबै विद्यार्थीको नाम थाहा पाउन किन जरूरी छ?
उसले एकएक गरी धेरैलाई सोध्यो। विद्यार्थीहरूले अनेक कारण बताए। उसले सबैका जवाफ जायज ठहर्यायो।
चारवटै कक्षामा यही प्रक्रिया दोहोर्यायो। सबैको धारणा समान थियो।
विद्याथीहरूसँगको छलफल, उनीहरूको जवाफ र उसले पर्गेल्न सकेसम्मको मनोविज्ञानका आधारमा ऊ निष्कर्षमा पुग्यो– शिक्षकले प्रत्येक विद्यार्थीको नाम थाहा पाउनुपर्छ र नामले नै बोलाउनुपर्छ।
डेल कार्नीगी बीसौं शताब्दीका पूर्वार्द्धका अमेरिकी प्राध्यापक थिए। व्यक्तित्व विकास, पेसागत सिप विकास, व्यक्तिको आन्तरिक क्षमता अभिवृद्धि लगायतका विषयमा लेख्थे र सार्वजनिक प्रवचन गर्थे।
उनले व्यक्तिको नामको महत्वका विषयमा लेखेका–बोलेका छन्। उनका अनुसार कोही व्यक्तिलाई नाम पुकारेर बोलाउनुको अर्थ नामलाई महत्व दिनु र महत्वबोध गराउनु हो, नामसँग व्यक्तिको आत्मसम्मान जोडिएको हुन्छ। नामले सम्बोधन गर्दा आफ्नो सम्मान अनुभव गर्छ।
कुनै महत्वपूर्ण गोष्ठी, कार्यशाला वा सभामा सहभागीहरूले ‘नेम ट्याग’ अर्थात नाम लेखिएको एउटा कार्ड भिरेका वा छातीको एकापट्टि उनेका हुन्छन्। आयोजकले सहभागीहरूका लागि यस्तो प्रबन्ध गरेको हुन्छ।
किन होला?
डेल कार्निगीका अनुसार यसको मुख्य कारण हो– एकलाई अर्काको नाम थाहा होओस् र सहभागीहरूले एकअर्कालाई नामले सम्बोधन गरेर संवाद गर्न सकून्।
उनी नामलाई परिचय र संवादको अति आधारभूत र अत्यावश्यक तत्व मान्छन्।
गाउँ, समाज, देशको अलिक प्रतिष्ठित, सम्मानित र उच्च ओहोदाको व्यक्तिले नामै लिएर तपाईंसँग बोलेको क्षण अहिले एकै छिन स्मरण गर्नुहोस् त!
अवश्य पनि तपाईंलाई गौरवबोध भएको थियो होला! यिनलाई पनि मेरो नाम थाहा रहेछ भन्ने लागेको थियो होला।
व्यक्तिले आफ्ना लागि पाएको सबैभन्दा पहिलो उपहार नै नाम हो। यसै कारणले होला, प्रत्येक व्यक्तिलाई आफ्नो नाममा गौरव हुन्छ।
लेखपढको जमाना नहुँदा पनि प्रत्येक व्यक्तिको नाम थियो।
बोली फुटेपछि व्यक्तिले आफ्नो नाम भन्न सिक्छ। अक्षर चिनेपछि आफ्नै नाम लेख्न सिक्छ। आफूलाई चिनाउँदा सबैभन्दा पहिले नाम नै भन्छ।
यति गहिरो रूपमा आत्मसात गरेको आफ्नो नाम प्रत्येक व्यक्तिका लागि प्रिय हुन्छ, नाममा गौरवबोध हुन्छ। त्यसैले शुद्ध उच्चारणसहित नामले बोलाएको प्रिय लाग्छ।
एकले अर्कोलाई नामले सम्बोधन गर्नुमा आत्मीयता र आत्मसम्मान बोध हुन्छ। त्यसैले त प्रत्येकका लागि आफ्नो नाम अपरिमेय छ।
यसो हो कि होइन, अहिले नै एक छिन विचार गर्नुहोस् त!
जुनसुकै उमेरको भए पनि प्रेमपूर्वक नाम लिएर विद्यार्थीलाई बोलाउनुहोस् र शरीरको भाषा पढ्नुहोस् त! तपाईंले नामको महत्ता बोध गर्नुहुनेछ।
कक्षाकोठामा प्रत्येक विद्यार्थीको ध्यान पाठमा केन्द्रित भएको हुनुपर्छ। शिक्षकले ध्यानाकर्षण गर्न सकेको हुनुपर्छ। यसो भएन भने कक्षाकोठा अस्तव्यस्त हुन्छ। शिक्षण–सिकाइमा नकारात्मक प्रभाव पर्छ। शिक्षक निराश पनि हुन सक्छ।
स्कुल तहका विद्यार्थीहरू स्वाभाविक रूपमै अलिक चञ्चले हुन्छन्। यस्ता विद्यार्थीको ध्यानकर्षकण गराउने सजिलो उपाय नै नाम लिएर बोलाउनु हो।
ऊ परीक्षणका लागि यहाँ एउटा दृष्टान्त पेस गर्छ।
कक्षाकोठामा अलिक पछाडितिर बसेकी एक छात्रालाई एक दिन ए, तिमी के गर्दैछ्यौ भनेर सोध्नुहोस्। तपाईंले सोधेकी छात्राको भाव पढ्नुहोस्, नजिकमा बसेका साथीहरूलाई नियाल्नुहोस्।
एकछिनपछि अर्की एक छात्रालाई नामै लिएर; ए, समिता (मान्नुहोस्, नाम समिता हो) के गर्दै छ्यौ भन्नुहोस् र तिनको भाव पढ्नुहोस्, नजिक बसेका साथीहरूलाई पनि नियाल्नुहोस्।
दुई जना छात्रमा पनि यस्तै परीक्षण गर्नुहोस्।
प्रिय शिक्षक साथी! तपाईंले कहिल्यै यस्तो परीक्षण गर्नुभएको छ? गर्नुभएको छ भने तपाईंले नाम लिनु र नलिनुको फरक थाहा पाएको हुनुपर्छ। गर्नुभएको छैन भने एक पटक गरेर हेर्नुहोस् त!
नाम लिनु र नलिनुको फरक ठाउँको ठाउँ थाहा पाउनुहुनेछ।
साँच्चै हो, धेरै विद्यार्थी संख्या भएको स्कुलमा आफूले पढाउने मात्रै पनि सबैको नाम स्मरणमा राख्नु सजिलो काम होइन। यसै कारणले होला स्कुलहरूले परिचयपत्र दिएका हुन्छन्।
यसो भएपछि शिक्षकलाई अलिक सजिलो हुने भयो।
शिक्षा क्षेत्रका अध्येताहरूका अनुसार कक्षाकोठामा एउटा समुदाय निर्माण भएको हुन्छ। त्यो समुदायमा सहजीकरणको काम शिक्षकले गरेको हुन्छ। सहजीकरणका लागि सबै विद्यार्थीको नाम थाहा पाउन आवश्यक हुन्छ।
नामै लिएर बोलाउने गरेपछि विद्यार्थी पनि शिक्षकसँग सहज हुन्छ। आफ्ना जिज्ञासा, प्रश्न र समस्याहरू शिक्षकलाई भन्न धकाउँदैन। कक्षा कोठामा विद्यार्थीको सन्तुष्टि बढ्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, विद्यार्थी समुदायमा शिक्षकले प्रत्येकको ख्याल राखेको छ, हरेकप्रति आफ्नो जिम्मेवारी बोध गरेको छ भन्ने विश्वास सिर्जना हुन्छ। यस्तो विश्वासले शिक्षण–सिकाइमा सकारात्मक प्रभाव पार्छ।
यसर्थ, के छैन र नाममा!
व्यक्तिको पहिचान छ, आत्मसम्मान र गौरव छ, आफ्नो अस्तित्वको महत्वबोध छ। अस्तित्वको महत्वबोध नै नाममा छ भने नाममा के छैन?
सबथोक छ।
यो महत्व प्रत्येक शिक्षकले आत्मसात गर्न सके शिक्षण–सिकाइ प्रभावकारी हुनेछ भन्नेमा ऊ विश्वास गर्छ।