केही वर्षअघिको कुरा, पूर्वी तराई झापाको एक सामुदायिक स्कुलले सबै विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्नुपर्ने नियम लगायो। पाँच कक्षासम्म पढाइ हुने स्कुल थियो त्यो। शिक्षामा काम गर्ने कुनै गैरसरकारी संस्थाले यसको पहल गरेको थियो।
त्यही संस्थाको पहलमा स्कुलमा केही सुधारका काम भए। स्कुल परिसर र विद्यार्थीहरूको सरसफाइ राम्रो भयो। केही भौतिक सुधार पनि भयो। धेरैजसो विद्यार्थी विपन्न र सीमान्तकृत बासिन्दाका छोराछोरी थिए।
सुधारको यो काम समाचार बन्यो। समाचारमा लेखिएअनुसार स्कुलमा सकारात्मक परिवर्तन आयो, शिक्षण–सिकाइमा सुधार भयो र विद्यार्थी संख्या बढ्यो।
स-साना विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्नु शिक्षकका लागि असहज भए पनि नियम उल्लंघन गर्न नपाइने सर्त थियो। त्यो गैरसरकारी संस्थाले यस्तै केही सर्त र नियमहरूका आधारमा सुधारको पहल गरेको थियो।
झापामा भएको यो पहलको प्रभाव फाटफुट रूपमा अन्यत्रका थोरै स्कुलमा पनि पर्यो। अहिलेको अवस्थाबारे ऊ जानकार छैन तर राजधानी काठमाडौंमा पनि उसले एउटा आधारभूत सामुदायिक स्कुल भेटेको छ जहाँ विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्नु अनिवार्य छ।
त्यहाँका प्रधानाध्यापकका अनुसार शिक्षण–सिकाइमा यस्तो सम्बोधनको सकारात्मक प्रभाव छ। विद्यार्थीहरूले सम्मान अनुभव गर्छन्। ‘तपाईं’ भनेपछि शिक्षक पनि प्रकारान्तरले संयमित हुन्छ। सम्बोधनअनुसार नै सबै व्यवहार गर्न बाध्य हुन्छ।
यस सन्दर्भमा उसलाई आफू स्कुले हुँदाको अलिक पुरानो कुरा स्मरण हुन्छ।
विक्रमाब्द तीस दशकको अन्तिम वर्ष ऊ नौ कक्षाको छात्र थियो। शैक्षिक वर्षको सुरूमै नयाँ शिक्षक अर्थशास्त्र पढाउन आए। सम्भवतः स्नातकोत्तर तहको अन्तिम परीक्षा सकेर आएका थिए।
यसै पनि नयाँ शिक्षकलाई अलिक दपेट्न खोज्ने स्वभाव हुन्छ विद्यार्थीहरूको। शिक्षकको व्यक्तित्व र विद्यार्थीहरूको सामूहिक स्वभावको टकराव नै चल्छ, जित–हारकै स्तरमा।
ती शिक्षक साह्रै नरम मिजासका थिए। बिस्तारै बोल्थे। विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्थे। एउटै कक्षाकोठामा ६० जनाभन्दा बढी विद्यार्थी थिए। त्यति धेरै विद्यार्थीलाई नियन्त्रणमा राखेर पढाउनु यसै पनि सजिलो काम थिएन, उनी त नयाँ थिए।
उनले ‘तपाईं’ भन्नु विद्यार्थीका लागि निकै अनौठो थियो, सुरूमा त हाँसो नै भएथ्यो। ‘तपाईं’ त के शिक्षकहरू ‘तिमी’ पनि भन्दैनथे। केही शिक्षक छात्रालाई चाहिँ ‘तिमी’ भन्थे। अर्थशास्त्रका शिक्षक ‘तपाईं’ बाट तल झरेनन्। बिस्तारै कक्षा शान्त हुँदै गयो। ऊ दस कक्षा पूरा गरेर हिँड्यो। लगत्तै ती शिक्षक पनि स्कुल छाडेर कलेज पुगे।
ऊ स्कुल शिक्षक हो। उसले विद्यार्थीहरूलाई कहिल्यै तपाईं भनेको छैन। हुन त ऊ कहिलेकाहीँ ‘तपाईं’ मात्रै होइन, ‘हजुर’ पनि भनिदिन्छ– हजुरले होमवर्क गर्नुभएन? हजुरले भ्याउनुभएन? हजुर हिजो किन सवारी भएन? इत्यादि।
यसलाई उसका विद्यार्थी ठट्टा ठान्छन्, रमाइलो मान्छन् र सहजै जवाफ दिन्छन्। छात्रका लागि उसको सम्बोधन मिसमासमा हुन्छ। छात्रालाई ‘तिमी’ नै भन्छ, ‘तँ’ भन्न मुख लाग्दैन। साना नानीबाबुहरूलाई प्रेमले, मायाले ‘तिमी’ भन्ने नेपाली स्वभाव छ।
के साँच्चै स्कुलका विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्दा शिक्षण–सिकाइ प्रभावकारी हुन्छ? विद्यार्थीहरूले सम्मान अनुभव गर्छन्? शिक्षक संयमित हुन्छ? अभिभावकमा कस्तो प्रभाव पर्छ?
उसले यसमा केही परीक्षण पनि गरेको छ।
सामान्यतया स्कुलमा शिक्षक र विद्यार्थीबीच अलिक गाढा सम्बन्ध हुन्छ। शिक्षकले एकै विद्यार्थीलाई चार-पाँच वर्षजसो पढाएको हुन्छ। स्कुल भर्ना हुँदादेखि देखेको हुन्छ, बोलेको हुन्छ। विद्यार्थीको आनीबानी, आचरण, सिकाइ क्षमता आदिबारे राम्रो जानकार हुन्छ। धेरै अभिभावकसँग पनि जानपहिचान भएको हुन्छ।
ग्रामीण क्षेत्रमा त यस्तो जानकारी र सम्बन्ध झनै गाढा हुन्छ। गाढा सम्बन्धले सम्बोधनमा प्रभाव पार्छ। ‘तपाईं’ भनेर परिचय गरेका व्यक्ति साथित्व गाढा हुँदै जाँदा ‘तिमी’ हुँदै ‘तँ’ मा पुगेका हुन्छन्। धेरैलाई यसको अनुभव छ।
उसले ‘तँ’ भन्ने सीमित समवयी साथी छन्। यसो कल्पना गर्छ– त्यो साथीलाई मैले ‘तपाईं’ भने के ठान्दो हो वा उसले ‘तपाईं’ भन्यो भने मलाई कस्तो लाग्दो हो!
यो कल्पना मात्रले पनि उसलाई असहज महसुस हुन्छ। ‘तँ’ मा हुने आत्मीयता र प्रेम ‘तिमी’ वा ‘तपाईं’ मा कहाँ हुनु! ‘तिमी’ चल्ने साथी पनि छन्, ‘तपाईं’ भन्नु र सुन्नु त कटाक्ष पो ठहरिन्छ।
उसले केही विद्यार्थीलाई सोध्यो– शिक्षकले विद्यार्थीलाई तँ, तिमी वा तपाईं के भनेको राम्रो?
पालैपालो जवाफ माग्यो। अधिकांशको आशय थियो– ‘तिमी’ भन्नु ठिकै हुन्छ, ‘तपाईं’ भन्नु आवश्यक छैन, ‘तँ’ भने पनि हुन्छ।
उसले कसैलाई पनि तँ भन्नु राम्रो होइन भन्ने विचार प्रकट गर्यो र केही तर्क दियो।
अलिक टाठो र आफ्नो विचार राख्न नधकाउने स्वभावको एक छात्र उठ्यो र भन्यो– सर! शिक्षकले तँ, तिमी, तपाईं के भनेको छ त्यो ठूलो कुरा होइन; कसरी भनेको छ त्यसको महत्व हुन्छ। हामीलाई थाहा हुन्छ कसरी भनेको हो भन्ने।
सबैले त्यसमै समर्थन जनाए।
साँच्चै! ‘तपाईं’ भने पनि त्यसमा प्रेम छैन, सद्भाव छैन भने त्यसको के काम! प्रेमले भनेकोमा त ‘तँ’ पनि उम्दा सुनिन्छ।
एक समय उसले धेरै छात्रछात्रासँग व्यक्तिगत र सामूहिक रूपमा कुरा गर्यो, छलफल गर्यो। विचार बुझ्यो।
उसले केही अभिभावकसँग पनि यस विषयमा छलफल गर्यो। धेरैजसो अभिभावक निरपेक्ष देखिए। केहीको विचार चाहिँ ‘तपाईं’ भन्नु आवश्यक छैन, ‘तिमी’ भने हुन्छ भन्ने थियो।
उसले यस्तो परीक्षण धेरैपटक गरेको छ र निष्कर्ष उस्तैउस्तै आउने गरेको छ।
नेपाली भाषा लेखन र बोलीचालीमा सामान्यतः आदरार्थीका चार रूप छन्– तँ, तिमी, तपाईं, हजुर। राजसंस्था रहँदा ‘मौसुफ’ पनि थियो।
नेपाली भाषामा आदरार्थीका यी सबै आधारमा क्रियापदको रूप चल्छ। अंग्रेजी भाषामा जस्तो एउटै ‘यु’ र त्यसको एउटै क्रियापदले काम चल्दैन।
नेपाली भाषामा आदरार्थीका तहहरूको खास खास भिन्नता छ र महत्व पनि। सम्भवतः स्कुले विद्यार्थीलाई सम्बोधन गरिने आदरार्थी शब्दको भिन्नताले शिक्षण–सिकाइमा कस्तो प्रभाव पारेको छ वा पार्छ भन्ने कुराको वैज्ञानिक र विश्वसनीयता अध्ययन भएको छैन। भएको भए पनि उसको जानकारीमा छैन।
उसले सामान्यतः धेरै स्कुलमा पुरूष शिक्षकले छात्रलाई ‘तँ’ र छात्रालाई ‘तिमी’ भन्ने अभ्यास देखेको छ, महिला शिक्षकले छात्रालाई ‘तँ’ र छात्रलाई ‘तिमी’।
यही मात्रै हो भनेको होइन, अभ्यासमा बहुधा यस्तो पाएकोसम्म हो।
कुनै स्कुलमा केही भिन्न वा खास अभ्यास छ भने स्कुलकै तहमा भएको हो। यसमा सरकारी स्तरमा कुनै ठोस नियम वा आचारसंहिता छैन। स्थानीय तहहरूले पनि यसमा कुनै ठोस पहल गरेको उसलाई जानकारी छैन।
निश्चय नै, शिक्षण–सिकाइका क्रममा शिक्षकको बोलीवचनमा शिष्टाचार, सम्मान र सद्भाव प्रकट भएको हुनुपर्छ। विद्यार्थीले शिक्षकबाटै सिकिरहेको हुन्छ भन्ने ख्याल गरेको हुनुपर्छ।
कोही शिक्षकले मोटो विद्यार्थीलाई, ठट्टैमा सही, ‘हात्ती’ भनिदियो, होचोलाई डल्ले–डल्ली भनिदियो भने साथीले त्यही शब्द प्रयोग गर्छ। मोटो र होचोले हीनताबोध गर्न सक्छ। यसले अवश्य पनि सिकाइमा नकारात्मक प्रभाव पर्न सक्छ।
त्यही शब्द शिक्षकले नभई साथीले मात्रै भनेको हो भने साथीकै स्तरमा सीमित रहन्छ।
प्रधानमन्त्री रहेका बखत एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमले उच्चपदस्थ राजनीतिक व्यक्तिहरूलाई ‘तिमी’ लेख्ने गरेकोमा निकै चर्को असन्तुष्टि जनाएका थिए। खासमा राष्ट्रपतिलाई ‘तिमी’ लेखेकोमा उनको विरोध थियो। महिलाको सम्मान गर्न नजानेको भन्थे, अंग्रेजीको ‘यु’ जस्ताको तस्तै नक्कल गरेको उनको आरोप थियो।
उनको अर्को आरोप थियो– सञ्चारमाध्यमले नेपाली भाषामा प्रयोग हुने आदरार्थीको विशिष्ट पहिचान नामेट गरिदिए। अनि प्रश्न गर्थे– एउटा विदेशीले नेपाली पत्रपत्रिका पढेर के सिक्छ?
अनि आफैं जवाफ पनि दिन्थे– नेपाली भाषामा ‘तिमी’ बाहेक ‘तपाईं’ पनि छ भन्ने थाहा पाउँदैन।
ओलीको मतमा असहमतहरू उनका लागि प्रयोग भएको ‘तिमी’ पच्न नसकेको र उनको सामन्ती चरित्र प्रकट भएको आरोप लगाउँथे। आफूलाई ‘तपाईं’ भन्नुपर्छ भन्ने उनको रोइलो हो भन्थे।
सञ्चारमाध्यमहरूले सबैलाई ‘तिमी’ लेख्न सुरू गरेपछि बहस पनि चलेको थियो। विरोध र समर्थनमा तर्कहरू आएका थिए।
विरोध गर्नेको साझा मत थियो– सबैलाई ‘तिमी’ लेख्दा एकातिर सम्मानित व्यक्तिको अपमान भयो, अर्कातिर आदरार्थीको तह मासियो।
समर्थकको साझा मत थियो– लोकतन्त्रमा सबै बराबर हुन्। कसैलाई ‘तपाईं’ लेख्नुपर्ने हो भने अर्को कसैलाई लेख्न नपर्ने कारण के हो? सबैलाई ‘तपाईं’ लेख्नु व्यावहारिक कठिनाइ हुन्छ।
यस्तो समर्थन र विरोधको बेवास्ता गरेका सञ्चारमाध्यमले ओलीको चर्को विरोधको पनि वास्ता गरेनन्।
स्कुल तहमा विद्यार्थीलाई गर्ने सम्बोधनले शिक्षण–सिकाइमा पर्ने प्रभावको वैज्ञानिक अध्ययन हुनुपर्ने आवश्यकता उसले देखेको छ। अध्ययनको निष्कर्षका आधारमा एउटा ठोस आचारसंहिता बनाउनु उचित हुन सक्छ।
एउटै सामुदायिक विद्यालयमा अनेक वर्गका विद्यार्थी जम्मा हुन्छन् र उनीहरू कलिला हुन्छन्। कथन नै छ– कलिला बालबालिका काँचो माटो हुन्, जस्तो बनायो त्यस्तै बन्छन्।
बालबालिकाहरू घरमा आफूलाई ‘तँ’ वा ‘तिमी’ भनेको सुनेर आएका हुन्छन्। स्कुलमा पनि यसमाथिको सम्बोधन अपेक्षा गर्दैनन् तर जति सानो भए पनि उनीहरू आफूसँग प्रेम भएको छ कि हेपिएको छु भन्ने थाहा पाउने क्षमता राख्छन्।
ऊ शिक्षक अलिक विवेकी हुनुपर्छ र आफ्नो आचारसंहिता आफैं बनाउनुपर्छ भन्ने विश्वास गर्छ। कोही पनि विद्यार्थीले आफू शिक्षकबाट अपमानित भएको वा हेपिएको अनुभव नगरोस्। प्रेम अनुभव गरोस्।
उसको अनुभव के छ भने भर्खरै स्कुल आएका वा भर्खरै बानी पर्न थालेका बालबालिका ‘तिमी’ भनेको राम्रो मान्छन्। यसमा माया देख्छन्। ठूलो हुँदै गएपछि उनीहरू सम्बोधनको शब्दमा होइन, त्यसको भावमा ध्यान दिन्छन्।
त्यसैले त सम्बोधनको सन्दर्भका उसको एक छात्रले भनेको थियो– सर! शिक्षकले के भनेको छ भन्ने कुरा महत्वको होइन, कसरी भनेको छ, महत्व त्यसको हुन्छ।
त्यसैले भनेको, शिक्षक विवेकी हुनुपर्छ र आफ्नो आचारसंहिता आफैं बनाउनुपर्छ। शिक्षण–सिकाइ केन्द्रमा हुनुपर्छ र प्रेमपूर्ण परिवेशमा हुनुपर्छ।