पठन अनुभूति : शून्यको मूल्य
करनालीको ‘न्वारन’
तिब्बतको मानसरोवर तालको ‘माप्चा चुङ्गो (मुजुरको टाउको)’ बाट निस्किएर बग्ने एउटा नदी छ, जसलाई रैथाने तिब्बती भाषामा ‘माप्चा खम्बाब’ भनिन्छ। माप्छु अर्थात् मुजुरमुखे पनि भनिने यही नदी बग्दै तल आएर करनाली अर्थात् करणाली (कर्णाली) का नामले चिनिन्छ (जोशी, सत्यमोहन – कर्णाली लोक संस्कृति १, इतिहास, २०२८)।
करनाल (करणाल) बाजाझैं कलनाद गर्दै बहने यो भेगको महानदीलाई करणाली भनिएको हो। करनाल (करणाल) यो भेगमा प्रचलित मुखले जोडले फुकेर बजाइने बाजा हो। यसको ध्वनि तीव्र हुन्छ र पहरा नै थर्किने गरी टाढासम्म सुनिन्छ। करणाली नदी पनि ठूलो छ र नागबेली खेल्दै तीव्र आवाज निकाल्दै बहन्छ (योगी, नरहरीनाथ– इतिहास प्रकाश, भाग २, अंक ३, २०१३)। सिमिकोट तल खार्पुमा हुम्ला करणाली र चुवाखोला मिल्ने दोभानमा ती दुई नदी जुध्दा करणाल बाजाको आवाज सरह सुनिने भएकाले यस नदीको नाम करणाली (कर्णाली) रहन गएको (जोशी, उही) पनि भनिन्छ।
उसै पनि यस भेगमा नदीको नाम बाजाबाट राख्ने चलन रहेछ भन्ने भेरी नदीको नामबाट संकेत मिल्छ। यो नदीको नाम भेरी नामको दुन्दुभी बाजाबाटै राखिएको देखिन्छ।
कर्णाली सभ्यताको आरम्भ सिन्धु सभ्यताभन्दा पुरानो थियो भन्ने प्रमाण यहाँ उपस्थित आदिम जनसंख्या र सुर्खेत लगायत स्थानबाट उत्खनन क्रममा प्राप्त औजारहरूले दिएका छन्। चार हजार वर्षजति अघि उत्तरी मार्ग हुँदै आएका व्यासी, दोक्पाजस्ता तिब्बेतो-बर्मिज र पैंतीस सय वर्षजति अघि दक्षिणी मार्ग हुँदै आएका भारोपेली भाषी गैरतागाधारी खस (कस) हरूको आवादीले भरिनुअघिसम्म कर्णाली घुमन्ते शिकारी युगमै (कृषि र पशुपालन युग सुरू हुनुपहिले नै) आएका मानिसहरूको भूगोल थियो।
कमसेकम दस हजार वर्षअघि नै कर्णालीको भूगोलमा मानिसहरूले जीवनको लय समात्दै आइसकेका थिए भन्ने उक्त भूगोलमा उपस्थित प्राचीन घुमन्ते शिकारी आदिवासी समूहको उपस्थितिले देखाउँछ।
खेती प्रणाली र पशुपालनमा अभ्यस्त मानिसको आवादी बढ्दै गएपछि यहाँका आदिवासी घुमन्ते शिकारी समूह नामेट भएर गएको छ। विक्रम सम्बतको एक्काइसौं शताब्दीको आरम्भसम्म यहाँ उपस्थित रहेको देखिने वनमानिस र केही दशक अघिसम्म प्रत्यक्ष उपस्थित कुसुण्डालाई पछिबाट आएको जनसंख्याले नामेट गराइदिएको छ। घुमन्ते शिकारी युगको अवशेषका रूपमा अझैसम्म बचेको राउटे समूह पनि बिलोपीकरणको दहमा धकेलिइरहेको छ।
वनमान्छे, कुसुण्डा, राउटे आदिलाई छाडेर (त्यसअघिका हिममानव (?), वनझाँक्री आदिको त कुरै भएन) सेञ्जाका पावैहरू अर्थात् पहाडी जग्गाको पाखोमा बस्ने जाति (आजका बूडाक्षेत्री आदिलाई) सेञ्जाका सबभन्दा पुरानो वासिन्दाका वंशज भन्न सकिन्छ (जोशी, उही)।
यहाँको परम्परागत जनसंख्यालाई आफूमा समाहित गरेर, विस्थापित गरेर, अस्तित्व नामेट पारेर आजको कर्णाली मुगु तलको भेगमा ‘जुम्ली कुरा’ (खस भाषा) बोल्ने र माथिल्लो भेगमा ‘भोटे कुरा’ बोल्ने मानिसहरूको आवादले भरिएको छ। मस्टोपूजक गैरतागाधारीहरूको भूगोल बौद्ध र हिन्दु सम्प्रदायको बस्तीमा बदलिएको छ। पछिल्लो समय तीव्र रूपमा क्रिश्चियन धर्म पनि विस्तार भइरहेको छ।
कल्यालवंशीहरू सत्तामा नआउन्जेल सेञ्जा साम्राज्यको भूगोल बौद्ध मतमा अभिसारितहरूको भूगोल थियो। उनीहरू आएपछि बौद्ध धर्मको संरक्षणमा चासो दिएनन् र दक्षिणी भेगबाट ओइरिएका हिन्दु मतालम्बीहरूको मतले यहाँको समाज संक्रमित गराउन थाल्यो। यसप्रति सचेत गराउँदै चिनियाँ लामाले बलिराजका छोरा राजा वत्सराजलाई पत्र लेखेका थिए– ब्रह्मा, विष्णु, इन्द्रजस्ता हिन्दु देवताहरूको पूजा आराधनाका सिद्धान्तलाई कुनै हालतमा नअपनाउनू, ती सिद्धान्त विष सरह छन्। सेञ्जाका पहिलेका राजाहरूले अपनाएको दानधर्मका उदार कार्यहरूको अनुकरण गर (योगी, नरहरिनाथ, इतिहास प्रकाश, अंक २, भाग १, २०१३)।
०००
प्राचीन कालमा आजको कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो। एघारौं शताब्दीपछि यसलाई ‘सपादलक्ष्य’ (सवा एकलाख गाउँ भएको भूमि) भन्न थालियो। खस साम्राज्य खडा भएपछि यसको सिमाना पूर्वमा बेत्रावती-त्रिशूली, पश्चिममा लवणिका (?), दक्षिणमा गंगा, उत्तरमा तिब्बत थियो। यो कालमा यहाँको अधिनस्थ सवा लाख गाउँ र तिनको रेखदेख गर्न ८४ राज्य, ३६ थर्पु र एक रैकर राज्य थियो (देवकोटा, रत्नाकर – बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, २०६४)। कल्यालवंशी राजा बलिराजकै पालामा जुम्ला साम्राज्यको मुकाम सेञ्जा लामाथाडाबाट नराकोटमा सेतो चुना पोतेर बनाइएको सर्वतोभद्र दरबारमा सरेको थियो।
कुनै समय सेञ्जा राज्यमा केदारभूमि भनिने कुमाऊ–गढवाल, गण्डकी प्रदेश, खारी प्रदेश (कैलाश मानसरोवर भेक) समावेश भई एउटा विशाल पहाडी साम्राज्यको स्वरूप ग्रहण गरेको देखिन्छ (अधिकारी, सूर्यमणि – बाइसे राज्यको इतिहास, २०६०)। तत्कालीन सेञ्जा साम्राज्यले पन्ध्रौं शताब्दीको पचास वर्षभित्र सातपटक त नेपाल उपत्यकामाथि हमला गरेको थियो। कमसेकम विक्रम सम्बत् १४५० आसपाससम्म सल्यान, जाजरकोट, रूकुम, दुल्लु–दैलेख पनि सेञ्जा राज्यकै हिस्सा थिए। बाजुरा, मुस्ताङसमेत सेञ्जा अधिनस्थ सामन्ती रजाईथलका रूपमा क्रियाशील थिए।
पछिबाट सल्यान, जाजरकोट, दुल्लु, रूकुम अलग भइसकेपछिको जुम्ला राज्यअन्तर्गत पनि वर्तमानको जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पाका भू-भागहरू थिए। त्यस बखतको जुम्ला दिल्लीका शासकसँग मित्रता गाँस्न पुगेका थिए – डिली ज्युम्लो रेकै भयो (अधिकारी, सूर्यमणि, उही)।
विस्तारित गोरखाली राज्यले जुम्लामाथि थाना कसेर हमलाको ताक कुरिबसेको समयमा समेत जुम्लासँग बाइस हजार झराली फौज एकीकृत गर्ने तागत थियो। गोरखाली फौजी कमान्डररहरू प्रवल राना र शिवनारायण खत्री नेतृत्वको फौजले पहिले तिप्रिकोट कब्जा गरेर त्यहाँबाट विसं १८४६ असोज २३ गते दसैंको नवमीको दिन पारेर जुम्लामा (काठमाडौंमा कुमारी जात्राको दिन पारेर झुक्याएर हमला गरेजस्तै) हमला गरेको थियो। पछिबाट भक्ति थापालाई जुम्ला भेकको सुवाङ्गी दिइएको थियो। गोरखाली प्रशासनले जितेको भूगोलमा चर्को शासन थोपरेपछि सुदूरपश्चिमका भूगोलले अनेकनपटक गोरखाली शासनविरूद्ध विद्रोह गरेको देखिन्छ।
कर्णालीभित्रको भूगोल
आजको कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु जिल्ला २०१८ सालअघिसम्म पश्चिम जुमला प्रमन्ना (जिल्ला) अन्तर्गतको भूगोल थियो। विसं २००४ मा गरिएको जिल्ला विभाजनअनुसार विभाजित ३२ जिल्लामध्ये यी सबै भूगोल जुम्ला जिल्लाका नामले कारोबारमा थिए। जुमला नाम युगल शब्दलाई जनाउने युगल, युमिला, जुमलाहा (जुमल्याहा) बाट अपभ्रंशित हुँदै जुम्ला बन्न आएको विवरण उल्लेख भएको पाइन्छ।
त्यही जुम्लामा थियो, मध्यकालीन नेपालको सेञ्जा साम्राज्य। समयक्रममा सेञ्जा उच्चारण विभेदले सिञ्जा हुँदै सिंजाका रूपमा प्रचलित छ। विस्तारित गोर्खाली राज्यको अधिनस्थ नहुन्जेल अहिले कर्णाली प्रदेश भनी चिनिने तात्कालिक खस राज्य सेञ्जा राज्यका रूपमा चिनिन्थ्यो। सेञ्जालाई तिब्बती वंशावलीहरूले ‘यात्से’ का रूपमा उल्लेख गरेको पाइन्छ (जोशी, उही)। यताका दिनमा सेञ्जा खुम्चिइबसेको छ, जुम्लाको पश्चिम उत्तरी कुनाका केही बाडाहरूमा।
विभिन्न जातजातिका मानिसको बसोबास भएको बस्तीलाई बाडा भन्ने गरिन्छ। थर विशेषका मानिसको आवाद भएको क्षेत्र त्यही थरबाट परिचित हुने गरेको जुम्लाका रैथाने गाउँहरूको नामबाट थाहा लाग्छ। सार्की बाडा, ओड बाडा, खाती बाडा, जोगी बाडा, दूमाई बाडा, द्यौकोटा (देवकोटा) बाडा, अचार्ज बाडा, कार्की बाडा, राउट्या बाडा, रास्कोटी बाडा आदि नाम भएका गाउँहरू प्रशस्तै छन्।
विसं १८४६ मा विस्तारित गोरखा राज्यको आक्रमणमा पर्दा जुम्ला राज्यले बलियो प्रतिरोध गरेको थियो। जुम्ला छिनासिम र त्यसअन्तर्गत थामिडाँडाका राज्यहरूले बाइस हजार फौजसहित विस्तारित गोरखाको प्रतिरोध गरेपछि आधुनिक हतियार र अनेकौं मोर्चाहरूमा लगातार छापामार युद्धको अनुभव बटुल्दै एकीकृत फौजसहित शिवनारायण खत्री र प्रवल रानाको नेतृत्वमा आएको गोरखाली फौजसँग सुभान शाहीको जुम्ली फौजले पराजय बेहोर्नुपर्यो। त्यसपछि जुम्ला भेगको सुवाङ्गीमा भक्ति थापा नियुक्त भए।
२०१८ सालपछि जिल्ला विभाजन गर्दा पनि कालिकोट जिल्ला बनेको थिएन। त्यस बखत पुरानो जुम्ला जिल्लाका भूगोलहरू जुम्ला, तिप्रिकोट (तिब्रिकोट), मुगु र हुम्ला गरी चार जिल्लामा बाँडिएका थिए। तात्कालिक तिप्रिकोट गैरतागाधारीहरूको बसोबासस्थल थियो। डोल्पा भने धौलागिरिमा लगेर टाँसिएको थियो। विसं २०३२ मा आरम्भ गरेर २०३४ सालमा मात्रै कालिकोट जिल्ला गठन सम्पन्न गरिएको थियो – तिब्रिकोटको नाम बदलेर, जुम्लाकासमेत केही भूगोल तलबितल गरेर।
त्यसैले कालिकोटलाई पुराना ७५ जिल्लामध्येको कान्छो जिल्ला भन्ने गरिन्थ्यो। कालिकोटअन्तर्गत रहेका जुकोट, साप्पाटा र बाई गाउँहरू २०३८ सालमा बाजुरामा गाभिएको थियो। अहिले कालिकोटमै परेको रासकोट पहिलेको एउटा राज्य थियो। रास्कोटी मलय बर्मको राजधानी थियो, मान्म खाँडाचक्रमा। रासकोटमा मगरहरूको राज्य थियो भनेर बालकृष्ण पोखरेलले लेखेको पाइन्छ (खस जातिको इतिहास, २०५५)।
विसं १८४६ मा बृहत् जुम्ला राज्य विस्तारित गोरखा राज्यको अधिनस्थतामा गयो। जुम्लालाई गोरखाले कब्जा गर्नुअघिसम्म वर्तमान डोल्पा (डोल्पो) को भू-भाग जुम्ला राज्यअन्तर्गतको इलाका थियो। जुम्लालाई गोरखाले लिएपछि हालको उपल्लो डोल्पा (उत्तरपूर्वी) लाई मुस्ताङ राज्यअन्तर्गत राखियो। मुस्ताङमा केन्द्र आश्रित रजौटालाई राजाको अधिकार दिएर राखिएको थियो। हालको तल्लो डोल्पा भने अलपत्र अवस्थामा रह्यो (चलाउने, अंकलाल – पञ्चायत अवधिमा डोल्पा जिल्लामा निर्वाचन र नेतृत्वको निर्माण, समाज अध्ययन, सन् २०२२)।
भीमसेन थापा कालमा नेपाललाई ३९ जिल्लामा प्रशासनिक विभाजन गर्दा हालको डोल्पाको दक्षिण-पश्चिमी भेग जुम्ला जिल्लाअन्तर्गत थियो। विसं १९५२ मा नेपाललाई ३५ जिल्लामा विभाजन गर्दा हालको डोल्पा जुम्ला र मुस्ताङ जिल्लामा परेको थियो। जिल्लाभित्रका गाउँहरूको समूह चिनाउन पूर्वी भेगमा थुम र पश्चिमी भेगमा दरा चल्तीमा थियो। जुम्लालाई एघार नदी र एघार पर्वतहरूले बनाएको बाइस थर, बाइस पाखा जुम्ला भनिन्थ्यो। जुम्ली जनतालाई जनाउन बाइस पख्याली भन्ने विशेषण प्रयोग गरिन्थ्यो (अधिकारी, उही)।
तात्कालिक जुम्लाअन्तर्गत १८ दराहरू थिए। तिनैमध्ये एक दरा तिप्रिकोट (त्रिपुराकोट) दराअन्तर्गत थिए, हालको डोल्पाको दक्षिण पश्चिमका भागहरू। २०१५ सालको निर्वाचनमा हालको तल्लो डोल्पा ७४ नम्बर दक्षिण जुम्लामा र उपल्लो डोल्ला ७४ नम्बर उत्तरी बागलुङ निर्वाचन क्षेत्रअन्तर्गत परेको थियो।
विसं २०१८ मा पचहत्तर जिल्ला बनाउँदा डोल्पा सग्लो जिल्ला बनेको थियो। तिप्रिकोटका तीन गाउँ पञ्चायत, छार्काभोट र बागलुङका गरी तीन गाउँ पञ्चायत मिलाएर डोल्पा जिल्ला बनाइएको थियो। त्यस बखत डोल्पालाई धौलागिरि अञ्चलअन्तर्गत राखिएको थियो। विसं २०२२ मा तात्कालिक तिप्रिकोट जिल्लाका पहाडा, त्रिपुराकोट र जुफाल गाउँ पञ्चायत डोल्पामा लगियो।
विसं २०२३ मा तिप्रिकोटकै ल्हाँ, नर्कु र रिमी गाउँ पञ्चायतलाई डोल्पामा मिसाइएको थियो। त्यसपछि तिप्रिकोटका बाँकी बसेको भाग र जुम्लाका केही गाउँ पञ्चायत मिलाएर विसं २०३२ मा आरम्भ गरेर २०३४ मा कालिकोट जिल्ला निर्माण गरिएको थियो। २०३२ मा डोल्पालाई धौलागिरिबाट झिकेर कर्णालीमा ल्याइएको थियो (चलाउने, उही)।
तात्कालिक जुम्ला राज्य नुनको देशका रूपमा चिनिने तिब्बती इलाकासँग साँध जोडेर बसेको थियो। त्यही नुनको देश भएकाले त्यस बखत त्यसको नाम राखिएको थियो ‘खारिप्रदेश’। खारको अर्थ हुन्छ नुन। ठाउँको नामै छ, ताउलाखार। उक्त खारीप्रदेशसमेत सेञ्जा राज्य मातहतमा थियो एक समय।
डोल्पा, हुम्ला, मुगु, जुम्ला हुँदै आउने तिब्बती सामानको कारोबारका लागि ब्रह्मदेव मण्डी क्रियाशील थियो। जुम्लामा सिसा पाइन्थ्यो भन्ने कुरा विसं १९४८ मा जुम्लाका सुब्बा भूपनारायण शाहका नाममा पठाइएको आदेशपत्रबाट प्रस्टिन्छ (दाहाल, थापा र तिमिल्सिना – आधुनिक नेपालको आर्थिक इतिहास, २०५४)।
यताका दिनमा कर्णाली प्रदेश बनाएपछि साविकको वैभवशाली कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, मुगुसहित साविक भेरीका जाजरकोट, दैलेख, सुरखेत (सुर्खेत) र राप्तीको रूकुम पश्चिम जोडिएका छन्।
कर्णाली अर्थात् पराईको भूगोल
संघीयतामा मुलुक प्रवेश गरेको आजको दिनमा पनि शासकहरूका लागि कर्णाली आफ्नो शासकीय नियन्त्रणमा रहेको ‘पराई मानिसहरू बस्ने’ भूगोलका रूपमा कारोबारमा छ। देशको क्षेत्रफलको हिसाब गणना गर्ने, तर त्यहाँका मानिस, तिनको जीवन, आवश्यकता, सुविधा, दायित्व केहीप्रति पनि उत्तरदायित्व निर्वाह नगर्ने। झारा टार्ने। हिजो आफूमा गाभेपछि लामो समयसम्म गोर्खाली राज्यले जस्तो व्यवहार गर्यो, आज पनि त्यसैको निरन्तरता छ।
राज्यका प्रशासनिक इकाईहरू कर्णालीमा जनतालाई सेवा सुविधा दिन होइन, उनीहरूमाथि हैकम लाद्न, शासन थोपर्न त्यहाँ राखिएका छन्। निर्मम र निष्ठुर शासकीय इकाईका रूपमा। तिनलाई सुत्केरी हुनसमेत नसकी मरेका महिलाहरूको लास देखेर दुख्दैन। प्रशोधन, संशोधन र बजारीकरणको अभावमा माटोमा मिलिरहेको वैभवशाली कर्णालीको जडिबुटीको बेहाल देखेर दुख्दैन। चरम बेरोजगारीका कारण आफूलाई दासको स्तरमा भारतका गल्लीमा कौडीको भाउमा श्रम बेच्न विवश मानिसहरूको लर्कोले पोल्दैन। आधारभूत औषधि नपाएर हैजाले मरिरहेका मानिसको चाङले दुख्दैन। तुइनबाट खसेर मरेका मानिसका आफन्तको चिच्याहटले छुँदैन। छोएको भए आज कर्णाली जुन अवस्थामा छ, कर्णाली जम्माजम्मी यत्तिका लागि मात्रै योग्य त होइन नै।
०००
जुम्लालाई गोरखाले आफ्नो अधिनमा पारेको चार वर्षभन्दा बढी समयसम्म लगातार जुम्ली सुभान शाहीको नेतृत्वमा प्रतिरोध गरिराख्नुका पछाडि गोर्खाली शासनबाट मुक्तिको प्रयाससमेत संलग्न थियो। पछिबाट उनीसहित कर्णाली भेगमा मानिसहरूको प्रतिरोध प्रयास विफल भयो। जुम्ला गोर्खाली प्रभुत्वको शासनमा पर्यो। त्यसको निरन्तरता आज पनि जारी छ। शासक फेरिएका छन्। प्रवृत्ति बदलिएको छैन।
कर्णाली उपेक्षित छ। यहाँको वैभव उपेक्षित छ। उपयुक्त बजार, सहजता र सुविधाको अभावमा कर्णाली परित्यक्त भूगोलका रूपमा व्यवहारमा छ। साथी सुमन मल्ल भन्थ्यो– ‘कर्णालीलाई काठमाडौं दयाको पात्र ठान्छ, समानुपातिक र न्यायोचित अवसरहरूको स्वाभाविक हकदार ठान्दैन। टीठ, दया देखाउँछ, जिम्मेवारी प्रदर्शन गर्दैन। जीवन चलाउन कर्णालीका मानिसहरू छ महिना हाट जान्छन् दशकौं दशकदेखि। खेतीको सिजनअगाडि फर्कने गरी आधा वर्ष कालापारको ‘हाट’ मा श्रम बेच्न कर्णाली आज पनि कर्णालीसँगै दक्षिण बग्दो छ।’
त्यसरी दक्षिण ताकेर लाम लागेर बगेको नदीझैं दक्षिण बत्तिइरहेका कर्णालीका मान्ठहरूको जीवनगाथाले भरिएको ‘कर्णाली दख्खिन बग्दो छ’, ‘सुइना कर्णाली’ जस्ता नाटक हेरेको थियो काठमाडौंले, जो देखाएका थिए सुमनहरूले। मेरा मुगाली मित्र सुमनले मलाई काठमाडौंमा मात्रै देखाएको थिएन उक्त नाटक। यहाँबाट डोहोर्याएर कर्णालीको माटोमा लगेर उभ्याएको थियो र देखाएको थियो – कात्तिक-मंसिरका दिनमा दख्खिन बग्न भेलबाढी बनेर लाम लागेका कर्णालीका मानिसहरूको ताँती।
पत्रकारिता, रंगमञ्चमा जमेको सुमन समयमै गतिलो उपचार नपाएर मर्यो। पाओस् पनि कसरी! काठमाडौंमा हामीले सँगै गरेका संघर्षहरूलाई बिट मार्दै ऊ आफ्नै कर्णाली फर्किएको थियो। उतै रेडियो पत्रकारितामा अडिएको थियो। कर्णालीका सारा मानिसहरूको नियति ब्यहोरेर ऊ पनि बिलायो।
भौतिक रूपमा ऊ बिलाए पनि, उसका सम्झनाहरू भने अनेकनपटक बत्तिइरहन्छन् मनमा। बागबजारका गल्लीहरूमा पुग्दा पैसाको अभावले डामेको दिनमा एक कप चिया र एउटा दुनोट बाँडेर खाएको यथार्थहरूको सम्झना आउँछ। समाचारमा केपी ओलीको तस्बिर र नाम देखेपछि पाँच रूपैयाँ गाडी भाडा नभएर केपी ओलीको अन्तर्वार्ता लिन बागबजारबाट ऊ हिँड्दै बाल्कोट जान्छु भनेर निस्किएको याद आउँछ। यहाँको जर्जर वास्तविकतासँग तर्सेर ‘बरू ढिँडो फाँडो त खान पाइन्छ, उतै अडिने हो–उतै जम्ने हो’ भनेर ऊ मुगु फर्किएको सम्झना आउँछ।
सहरमा अनेकन राम्रा नाटक प्रदर्शन हुन्छन्। तर म नाटक हेर्न सकिरहेको छैन केही वर्षदेखि। किनकि, काठमाडौंमा नाटक घर हुन्छ र त्यहाँ नाटक हेर्न पाइन्छ भनेर मलाई बुझाउने, नाटकमा लत बसाउने नै सुमन थियो। अब ऊ छैन। एक्लै चिसो नाटकघरको कुनामा बसेर उसलाई सम्झिएर सुक्सुकाउँदै नाटक हेर्ने साहस मसँग बाँकी छैन।
यस्तै सम्झनामा ऊ बाँचिबसेको बेला कर्णालीरूपी त्यही उपेक्षित र अपहेलित भूगोलमा बाँचिबसेका लालाबालाको स्वास्थ्यको रखबारी गरिबसेका, कर्णालीमै थातथलो भएका चिकित्सक नवराज केसीको हालैको दिनमा प्रकाशित पुस्तक ‘शून्यको समय’ को पठन अवसर जुरेपछि यो एउटा अनुभूतिजस्तो, टिप्पणीजस्तो केही लेखिएको छ।
०००
नवराज केसीले पुस्तकमा र सार्वजनिक बहसका मञ्चहरूमा मात्र होइन, व्यक्तिगत कुराकानीमा पनि पटकपटक जोड दिएर उठाएको विषय हो, कर्णालीका आमाको स्वास्थ्य। कर्णाली र देशकै भविष्यरूपी बालबालिकाको स्वास्थ्य।
कर्णालीका आमाको स्वास्थ्य बलियो बनाउन ग्रामीण स्वास्थ्य चौकी बलियो बनाउनुपर्छ भने बालबालिकाको स्वास्थ्य बलियो बनाउन गर्भदेखि नै विशेष ख्याल र हेरविचार गनुपर्छ भनेर उनले पुस्तकमा जोड दिएका छन्।
डाक्टर केसी आफ्नो पुस्तक विमोचनको औपचारिकता भ्याउन काठमाडौं उत्रिएका थिए। त्यसैको हतारोमा थिए। पत्रपत्रिका, अनलाइनलाई अन्तर्वार्ताको उस्तै धपेडी। त्यही हतारो र धपेडीबीच मैले डाक्टर केसीलाई भेटेको थिएँ, बागबजारको गल्लीमा। कहिले चिया पसलमा चिया पिउँदै त कहिले अन्तर्वार्ता दिन जाँदा बाटोमा गाडीमा बसेर उनीसँग किताबको सेरोफेरोमा, कर्णाली र त्यहाँको स्वास्थ्य सेवाबारे उनको ज्ञानबाट आफ्नो अँध्यारो अलिकति भए पनि मेटाउने प्रयास गरेको थिएँ।
केही दिन मात्रै भएको थियो, उनको पुस्तक पढेको। रातको समयमा पढेको थिएँ। पढेर कतिपटक आँसुले आँखा भिजाएको थिएँ र मन हुँडलिएको थियो भने किताबका आधाजसो पानाहरू आँसुले भिजेका थिए। पुस्तकको अन्तिम पातोमा हाम्रो पुस्ताका ख्यातानाम लेखक मित्र बुद्धिसागरले लेखेका रहेछन् – ‘पुस्तक सकिसकेपछि म धेरै बेरसम्म टोलाइरहेँ। पात्रहरू यसरी बसेछन् कि जाँदै जाँदैनन्। यस्ता पुस्तक बिरलै लेखिन्छन्।’
त्यस्तै थियो मेरो मनस्थिति – टोलाइरहेजस्तो। पुस्तकका पात्रहरूमा गएर अड्किई बसेजस्तो। मनमा एक किसिमको रिक्तताजस्तो, सन्नाटाजस्तो भाव लिएर भेट्न पुगेको थिएँ उनलाई। उनले मेरो मनको सन्नाटा तोड्दै मलाई लयमा फर्काएर भनेका थिए – खासमा मान्छेले आफ्नो बीउ राम्रोसँग राख्नै जानेन। मकैको, सिमीको, धानको, गेडागुडी, अनाज आदिको बीउ जतनले राख्ने मान्छेले आफ्नै बीउ भने बडो खेलाँची गरेर राख्छ। आफ्नो बीउ बोकेकी आमाको गतिलो हेरविचार, ख्याल कहिल्यै गरेनन्। न त बीउ राख्न आमाको उमेर उपयुक्त भयो कि भएन भनेर नै ध्यान दिने भए।
धान रोप्न सिजन हेनुपर्ने। पानीको पर्याप्तता हेनुपर्ने। माटो उपयुक्त भयो कि भएन भनेर हेर्नुपर्ने। रोपेपछि पनि पटकपटक गोडमेल गर्नुपर्ने। पानी लगाई राख्नुपर्ने। तर मान्छेको बीउ राख्न र राखेपछि खेतमा रोपिएको धानका लागि जति पनि जागरूकता नदेखाउने। हेरविचार नगर्ने। कर्णालीको मुख्य समस्या नै यहाँबाट सुरू हुन्छ। बाल चिकित्सकसमेत रहेका लेखक केसीले यो समस्या कर्णालीको हो भने पनि मलाई भने यो हाम्रो सिंगो समाजको, सिंगो देशको साझा समस्या हो भन्ने लागिरह्यो।
मानव विकासमा लगानी नगरिनु नै कर्णालीका मानिसलाई बेहालत अवस्थामा पुर्याउने वर्तमानको सबभन्दा ठूलो र आधारभूत समस्या हो भन्ने लेखक केसीको बुझाइलाई नीति निर्माण तहमा बसेकाहरूले गम्भीरतापूर्वक लिनु जरुरी छ।
उनी भन्छन् – कर्णालीका मानिस जसोतसो जीवनलाई शून्यको रेखाबाट घिसारिरहेका हुन्छन्। जब ती बिरामी पर्छन्, तिनको जीवन ऋणात्मक रेखामा जान्छ। दूर गाउँका मानिसलाई स्वास्थ्यकै कारण ऋणात्मक रेखामुनि झर्न नदिन कर्णालीका हेल्थपोस्टहरूलाई सुविधासम्पन्न बनाउनुपर्ने उनको बुझाइ छ। सामान्य सुत्केरी लगायत सेवा दिइरहेका कर्णालीका तीन सय सोह्र स्वास्थ्य चौकीलाई कमसेकम आजको जिल्ला अस्पतालको स्तरमा लैजाने र कर्णालीमा रहेका जिल्ला तहका पच्चीस अस्पताललाई आजको प्रदेश अस्पतालको तहमा सुविधा दिने बनाइहाल्नु नै कर्णालीका मानिसलाई थप ऋणात्मक रेखामुनि जानबाट बचाउनु हो भन्ने उनको हारगुहारलाई सत्ता, शक्ति भने सुनेको नसुन्यै गरिरहेको छ।
निकै लयालु भाषा छ पुस्तकको। पढ्न थालेपछि छाड्नै मन नलाग्ने। सुकसुकाउँदै पाना पल्टाइरहनुपर्ने। हिक्का छाड्दै अक्षर भिजाइरहनुपर्ने। उनले लेखेका छन् – किताबमा उल्लिखित कथा (घटनामा आएका पात्रका विवरण) नामबिना बाँचेका आमाहरूले सन्तानको नाम सारा संसारले थाहा पाओस् भनेर गरेको संघर्ष र समर्पणका कथा हुन्।
कर्णालीतिर फर्किएपछि उनले त्यहाँको समाजसँगको अन्तर्क्रियाको अनुभूति यसरी उतारेका छन्, मनै हुरुक्क बनाउँछ।
उसले खुरूखुरू पढिरह्यो। किताब सक्किए। प्रोफेसरहरूलाई बाईबाई गर्ने दिन पनि आयो। अनि एक दिन ऊ डाक्टर बन्यो। कर्णाली पुग्दा पो उसले थाहा पायो, पढ्न त अझै बहुत बॉकी नै रहेछ। समाजको पढाइ त सुरू नै भएको रहेनछ।
समाजको यो अर्को डाक्टरी कसले पढाइदेला?
तर कर्णाली आफैंमा एउटा विश्वविद्यालय रहेछ। यहाँ जिन्दगीको पढाइमा विद्यावारिधि गरेकाहरूले उसको अपुरो सिकाइको थैली भरिदिए। यो सामाजिक विश्वविद्यालयभित्र जीवनवारिधिको यात्राको पुछारमा उसले हराएको आफूलाई, नदेखिएको आफ्नो समाज र नभेटिएको देश भेटायो।
०००
पुस्तकका हरेक कथाले मन हुँडल्छ। एउटा कापी आलोपालो गरेर भिन्न श्रेणीका कक्षामा पढिरहेका दिदीभाइले काम चलाएको मर्मपर्शी घटना पनि छ पुस्तकमा।
हाम्रा विद्यालयका शिक्षकहरू विद्यार्थीले कापी किन ल्याएनन् भनेर सोच्दैनन्, सोध्छन् मात्रै। बुझ्दैनन्, कुट्छन् मात्रै। मीना र उसको भाइ बुधे भने फुपूआमाले गिट्टी कुटेर दोकानको रासनको मूल्य घटाएर पैसा बचाएर किनी ल्याइदिएको एउटा कापीले पालो लगाएर काम चलाउन विवश छन्। उनीहरूका लागि कापी विलासिताको माल बनिदिन्छ, जसलाई हातमुख जोर्नु नै अत्यासको पहाड उठाउनुजस्तो भइदिन्छ। शिक्षकले कुट्लान् भनेर, गाली गर्ने शिक्षकका पालामा देखाउने गरी ती विपन्न परिवारका दिदीभाइ एउटा कापीले आफ्नो अभावको प्वाल टाल्ने रचनात्मकताको उच्च प्रयोग गरिरहेका छन्।
बुधे र मीनाका आमाबुवा छैनन्। उनीहरू आफ्नी फुपूसँग बस्छन्। फुपूका पनि श्रीमान छैनन्। उनी बुधे र मीनासँग बस्छिन्। विद्यालयमा झोला र कापीकलम बाँड्न पुगेका छन् उनै डाक्टर केसी। त्यही लाइनमा भेटिएको हो बुधे। डाक्टरबाट कापीकलमसहितको झोला पाएपछि पनि बुधेले लाइन छोडेन।
त्यसको रहस्य खोल्दै जोडपूर्वक बुधे बोल्यो – मेरी दिदी पनि छे क्या, अर्को झोला देऊ न ... नत्र उसले यो पनि लगिदिन्छे। उसले पनि झोला पाएकी छैन अहिलेसम्म। पाँच कक्षा पुगिसकी।
यो सुनेर रमेश सर परैबाट कराए, सामान धेरै छैन। योपटक एउटा परिवारको एक जनालाई मात्र। रमेश सरका शब्द सुनेर बुधेको सातो गयो। थरथर काँप्यो अनि बडो नीरस अनुहार लगाएर स्कुलको गेटतर्फ लाग्यो।
तर अझै पनि उसका चम्किला आँखा झोलाहरूको थुप्रोमा थियो। डाक्टरले कापीकलम भरिएको अर्को एउटा गह्रुंगो झोला सुटुक्क पछाडिबाट उसको हातमा झुन्ड्याइदियो। तिम्री दिदीलाई दिनू है! डाक्टरले माया भरिएका आँखा र मुस्कान लेपिएको ओठले ऊतिर हेर्यो अन्तिमपटक।
बुधेलाई धेरै माया गर्ने यशोदा म्यामबाट बुधेले राम्ररी धेरै पढेर मास्टर बन्ने उत्प्रेरणा पाएको हुन्छ। त्यही उत्प्रेरणाले ओतप्रोत भएर आफ्नी दिदी मीनालाई भन्छ – दिदी, तँ खुब पढ्, यशोदा म्यामजस्तै बन् है। रमेश सरजस्तै बन्। दुवै जनालाई नपुगे बरू सबै कापीकलम तैं लैजा। म त अलिअलि मात्रै पढ्ने। अनि पछि घन्टी बजाउने हो, चाहिँधरी (पियन चौधरी) दाइ जस्तै।
बुधे पढाइमा अति जेहन्दार छ। बिना कापीकलम ऊ कक्षामा सधैं प्रथम हुन्छ। उसलाई पढाएको कुरा लेख्नै पर्दैन। शिक्षकले पढाउँदा पढाउँदै दिमागमा लेखिसक्छ। कापीमा लेख्न त ऊसँग अक्सर कापीकलम नै हुँदैन। सानामा ऊ फुपूले गाएको गीत खुब ध्यान दिएर सुन्थ्यो। अनि कण्ठ पार्थ्यो। ऊ त्यसैगरी अभ्यस्त भयो। विद्यालय गयो। अब फुपूले गीत गाउने ठाउँमा विद्यालयमा शिक्षकले पढाउन थाले। बुधे भने फुपूको गीत कण्ठ पारे जसरी नै शिक्षकले पढाएको पाठ कण्ठ पार्न अभ्यस्त हुँदै गयो।
बाआमाले छाडेको बादी सन्तान बुधेको स्वामित्वको सिमाना बहुत साँघुरो छ। एकदिन साइकल चलाउँदै उसको बुकुरोतिर पुगेको डाक्टरसँग ऊ सोध्छ – तिमी झोला दिने डाक्टर हैनौ र? यो साइकल पनि तिम्रै हो?
डाक्टरले दिएको कापीकलमको खातमा एउटा ड्रइङ कापी पनि परेको हुन्छ। बुधे त्यसैमा चित्र कोरी बस्छ। उही आफू र दिदीलाई झोला दिने डाक्टरको चित्र। बुधेलाई चित्र बनाउन मनपर्छ। तर उसलाई धेरै चित्र बनाए कापी चाँडै सकिन्छ भन्ने पिर छ।
यो देश यस्तै छ। तमाम सत्ताव्यवस्था कज्याएर बसेकाहरूलाई बाहेक हरेक भुइँमानिसहरूसँग सियोजस्ता मुटु घोच्ने पीरैपीरको चौतारो छ। त्यही चौताराका केही सुसेलीहरू खिपेर लेखकले पुस्तकमा अक्षरको माला बुनेका छन्।
त्यो मालामा बुनिएका शब्द थुंगाहरूले बताएअनुसार – त्यो दिमागमा मेमोरीचिप्सले भरिएको बुधेको फुपूको मृत्यु हुन्छ। उनीहरूको उभिने जमिने र समाउने खाँबो एकसाथ भासिन्छ। बुधे जन्मेको छ महिना नहुँदै उसकी आमाले उसलाई छाडेर गएकी थिइन्। बाउ त ऊ नजन्मँदै लापता भएको थियो। फुपूको छातीमा टाँसिएर हुर्किएको थियो बुधे। गाउँकै छिमेकमा टुहुरी बनेकी सानी नानी थिइन् मीना। कसैले नहेरेपछि बुधेकी फुपूकोमा बस्न आएकी थिइन्। यसरी उनी बुधेकी दिदी बनेकी थिइन्।
त्यसरी जोडिएका थिए फुपू, मीना र बुधे। फुपूको मृत्युपछि अब कलिला मीना र बुधे मात्रै भए बुकुरोमा। जीवनको भरोसा नभएपछि कर्णालीको भविष्यका अनमोल रत्नहरू बुधेको मामाको साथ लागेर कालापार जान्छन्। उतै हराउँछन्।
यस्तो दुखान्त यो देशका अनेकन ‘कर्णाली’ का अनेकन पाखाहरूले, ती पाखाका अनेकन बुकुराहरूले बेहोरिरहन्छन्। एकपटक होइन, पटकपटक। एउटा बस्तीमा होइन, अनेकन बस्तीमा। एउटा बुधेको जीवनमा मात्रै खस्दैन अत्यासको ‘आकास’। अनेकन बुधेहरूको जीवनमा अनेकन पटक खसिरहन्छ।
पढ्दापढ्दै, निख्रिएपछि भरोसा कति बुधेहरू भासिए होलान् आजसम्म कालापारमा? कर्णालीका कति एलन मस्कहरू बेपत्ता भए होलान् कर्णाली नदीको भङ्गालोमा? दख्खिन बग्दैबग्दै कर्णालीको भङ्गालोसँगै कति मीनाहरू हराए होलान् कालापारका हाटबजारमा?
०००
पुस्तकमा मरेको बच्चा जन्मे पनि त्यही बच्चालाई दूधको लाम्टो एकपटक भए पनि चुसाउन हत्तेप्राण गरेकी आमाको कथा उस्तै मार्मिक छ। यस्तो कथा कर्णालीको मुकामको अस्पतालमा काम गर्ने डाक्टरले जति बढी कसले बेर्होला र?
जुम्ल्याहा बच्चा जन्माएकी मीना चौधरी र उनको श्रीमानले आफ्नै जीवनका गल्तीहरूबाट सिकेको पाठ र जीवनमा आइपरेका आर्थिक अभावको पहाड आफ्नै हिम्मतिलो मनोभावले भत्काएर तैबिसेक सजिलो जिन्दगीको किरमिरे बाटोको धर्सो कोरेको कथा उत्तिकै स्तुत्य छ। उसैगरी भेडिनी कान्छीको टुहुरो श्रीमान हिम्मतबहादुरले कान्छीलाई गरेको प्रेम, दु:खहरूमा नहारीकन पाखुरा र पसिनाको बलमा जीवनको लयलाई आकार दिन गरेको हिम्मतिलो प्रयासको कथा ‘वर्ल्ड क्लास मास्टरपिस’ भन्न सकिने खालको छ।
सबभन्दा स्तुत्य छ, जीवनका अनेकन सम्भावित अवसरहरूको पछि लागेर ‘अवसरवादी’ बन्ने अवसर लत्याएर कर्णालीका अस्पतालमा बसेर कर्णालीका मानिसहरूको स्वास्थ्यमा सकेको सेवा गरेर खुसी थपिरहेका किताब लेखक डाक्टर र डाक्टरहरू, स्वास्थ्यकर्मीहरूको योगदान। कुनै दिन कर्णाली आफैंले लेखेछ भने आफ्नो निलडामको कथा, त्यो निलडाममा मलमपट्टी गरिदिनेहरूको कथा – आजको दिनमा कर्णालीमा सेवाको हात चलाइरहेका स्वास्थ्यकर्मीहरूको योगदान कसरी छुटाउला र कर्णालीले!
कर्णालीकी स्टिब्स जब्स भनेर लेखकले सराहना गरेकी कर्णालीका भित्तामा पटुकी बैंक चलाउने कर्किनी आमाहरूको संघर्ष र अदम्य साहसको लोमहर्षक कथा जीवनसँग हारेँ भनेर निरास भइबसेकालाई समेत उत्साह दिने खालको छ।
०००
पुस्तकको सबभन्दा भव्य वैचारिक आलोक भने यसको पुतली आमा शीर्षकको पाठ हो। मैले अनेकन संयोगका कारण कार्ल मार्क्स र उनका साथी फ्रेडरिक एंगेल्स लिखित वैचारिक सामग्री छिमोल्ने अवसर प्राप्त गरेको छु।
मार्क्सले वर्ग संघर्षका कुरा गरेका छन्। अलौकिकजस्तो लाग्ने साम्यवादी समाजको कल्पना गरेका छन्। त्यतातिर पुग्ने मार्गनिर्देश गरेका छन्। वर्ग संघर्षको वैचारिकीमाथि व्यावहारिक विद्रोहको पटाक्षेप गराउने पेट्रोलका रूपमा अतिरिक्त मूल्यको सिद्धान्तमाथि लामो व्याख्या गर्दै ‘पुँजी’ जस्ता गहनतम कृति लेखेका छन्।
पुँजीमा मार्क्सको लेखन क्लिस्ट छ। धेरै पाठकहरू भन्छन्, बुझिन्न।
निश्चित पुँजीको लगानीमार्फत् मानिसहरूको श्रम र बजारबीच खेलो मच्चाएर मालिकहरूले कसरी अतिरिक्त मूल्य निर्माण गरिरहेका हुन्छन् भन्ने कुरा नवराज केसीले आफ्नो पुस्तकमा यति सरलसँग बुझाएका छन् कि चकित परिन्छ। कुनै राजनीतिक, वैचारिक नाराबाजी नगरिकनै लेखकले सामाजिक शोषणको, आर्थिक उत्पादन प्रणालीले पैदा गरेको वर्गीय अन्तरविरोधको भव्यतम पोट्रेट कोरेका छन् पुस्तकमा।
मानिसलाई यति सरल, बिनाराजनीतिक प्रसंग, जटिल र बिरसिला पदावली प्रयोग नगरीकनै पनि कसरी सामाजिक संघर्षको उज्यालोले आलोकित गर्न सकिन्छ भनेर जान्न हाम्रा शास्त्रीय मार्क्सवादीहरूले नबिर्सिकन एकपटक नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ अध्ययन गरे हुन्छ।
०००
पुस्तक पढ्दा यी अनेकन फूलहरू गाँसेर बुनेको एउटा सग्लो मालाजस्तो लाग्छ। जसमा कर्णालीका मानिसहरूको दैनिक संघर्ष र सफलताको, दु:खसुख, दु:खसँगको लडाइँमा भएका हारजितका, सफलताको घटना विवरणका थुंगा मात्रै उनिएको छैन, हुर्किइरहेका हरेक किशोरकिशोरीले, सन्तान जन्माउने बाउआमाले, समाजले, देशले नजानी नहुने अति नै महत्वपूर्ण जीवन विज्ञानका सुनौला थुंगाहरू पनि उनिएका छन्। उनिएका छन्, दु:खका थुंगा, आँसुका थुंगा, संघर्षका थुंगा, पलायनका थुंगा पनि। तर यी थुंगाहरूभन्दा चहकिलो अर्को फूलको थुंगा पनि छ पुस्तकरूपी मालामा – अनेकन प्रतिकूलतासँग लड्दै जीवनलाई उज्यालोतिर डोहोर्याउन सफल मानिसका संघर्ष र सफलताको थुंगा।
यति सरल र सजिलोसँग जीवनमा नबुझी नहुने आधारभूत जीवन विज्ञान बुझाउन सक्ने यस्ता पुस्तक हरेक विद्यार्थीलाई अनिवार्य पढाइनुपर्छ। विद्यालयका पुस्तकमा शासकहरूको रमिताको निबन्ध, मालचरीहरूको गीत नपढाए पनि केही हुन्न। त्यसको सट्टा यस्ता जीवनोपयोगी पुस्तकलाई अनिवार्य गराएर पढाइयो भने नेपाली समाजको चेतनाको ओढार तैबिसेक उज्यालो हुनेछ। अरूले नपढाए पनि कर्णाली प्रदेश सरकारले यो पुस्तकलाई कक्षा आठ माथिका विद्यार्थीलाई अनिवार्य विषयका रूपमा पढाए हुन्छ।
किन पनि भने, पुस्तक त अनेकन शीर्षकमा लेखिइरहनेछन्। छापिइरहनेछन्। यति सरल र महत्वपूर्ण पुस्तक भने पटकपटक लेखिन्न। यसमा समाज विज्ञान छ। जीवन विज्ञान छ। मानवशास्त्र छ। रसायनशास्त्र छ। चिकित्साशास्त्र छ। अर्थशास्त्र छ। राजनीतिशास्त्र छ। भूगोल छ। भाषा छ। इतिहास छ। बाल मनोविज्ञान छ। लैंगिक चेतनाको पाठ छ। भ्रूणका रूपमा बच्चाको विकास भएदेखि जन्माएर हुर्काउने बेलासम्मका लागि नजानी नहुने ज्ञान छ। दूर ग्रामीण भेगका मानिसहरूको जीवन तैबिसेक सजिलो बनाउन नीति निर्माता, सत्तासीनहरूले जान्नैपर्ने प्रज्ञान छ।
एउटै पुस्तकमा यति बहुविधाको चेतले भरिएको तर अति गहन पुस्तक लेखनमा फेरि फेरि पनि कर्णाली अघि आउन यो पुस्तक कर्णालीको समाजले त पढ्नैपर्छ नै, सिंगो नेपाली समाजले पनि पढ्नुपर्छ।
०००
यो लेखोट गौरवमय कर्णालीसम्बद्ध विषयमा एउटा पाठकको पठन अनुभूतिको शब्दाकार भएकाले पुस्तकको समीक्षा यसमा समाविष्ट छैन।
कच्चा सम्पादन, भाषिक–व्याकरणीय त्रुटि, विम्वको-भावनाको अनावश्यक दुरूपयोग, सिर्जनात्मक गैरआख्यान भनिए पनि चिकित्सकीय प्राविधिक दृष्टिबाट हेर्दा अमिल्दा परिघटना, आर्थिक सामाजिक उत्पादन प्रणालीले पैदा गरेको सामाजिक अन्तरविरोधहरूको निर्मम र कठोर जमिन हुने यथार्थविपरीत संघर्षशील मानिसलाई दिएको कोरा सफलताको अविश्वसनीय घटनाबारे समीक्षकहरूले लेख्दै गर्लान्।
अहिलेलाई नेपाली समाजलाई शब्दचित्रमार्फत कर्णालीको समाजको वर्तमान चिनाउने अनमोल गुन लगाएकोमा बाल चिकित्सक केसीलाई साधुवाद।