आफ्नो परिवार, विद्यालय र समाजमा बालबालिकाहरूको भोगाइ देखेपछि छटपटी र उकुसमुकुस हुन्छ।
बालबालिकाहरूलाई भविष्यका कर्णधार भनिन्छ। तर अधिकांश बालबालिकाहरूको भोगाइ देख्दा यस्तो लाग्छ, हामीले उनीहरूलाई सकारात्मक अनुभव दिन सकेका छैनौं। तिनै बालबालिकाहरूलाई गहिरिएर उनीहरूको अनुभव अवलोकन गर्ने र सोध्ने हो भने के भन्छन् होला?
प्रस्तुत छ एक बालकको मनोभाव।
'म एउटा बालक। सबैले सोध्छन्, भविष्यमा के बन्ने? मलाई के थाहा! दुनियाँ देखेको छैन। भविष्यको गोरेटो मलाई थाहा छैन। आफ्नो टोलबाहिर पाइला राखेको छैन। किताबमा अलिअलि पढेको छु- लेखक र वैज्ञानिकबारे, खेलाडी र कलाकारबारे, नेता र सन्तबारे, गिनिज बुकमा नाम भएका केही मान्छेबारे।
गाउँमा अलिअलि देखेको छु- पुल बनाउन आएको इञ्जिनियर, अस्पतालका डाक्टर र नर्स, विदेश गएका आफ्नै दाइ र दिदी, आफ्नै स्कुलको शिक्षक, खेतमा काम गरेर जसोतसो दुई छाकको जोहो गर्ने मेरा आमा र बुवा।
शिक्षकहरू कक्षामा घरिघरि भन्छन्- सपना देख्नुपर्छ। कक्षामा उठाएर जबर्जस्ती मलाई मेरो सपना सोध्छन्। म सत्य बोल्दैछु, मैले यसबारे केही सोचेको छैन। शिक्षकको प्रश्नको जवाफ दिन सक्दिनँ। अनि मौन बस्छु। चुपचाप बस्दा मेरो बेइज्जत हुन्छ।
सपना अभिव्यक्त गर्न नसक्ने विद्यार्थीहरूलाई शिक्षक गाली गर्दै भन्छन्- सपना नहुने मान्छेले केही गर्दैन। उसको जीवन बेकार हुन्छ।
आफ्नो अपमान सुन्नु भन्दा बरू म मुख खोल्छु- म डाक्टर बन्न चाहन्छु।
किन म डाक्टर भन्छु?
मैले पढ्न अल्छी गर्दा मानिसहरू मलाई गाली गर्दै भन्छन्- पढिस् लेखिस् भने डाक्टर, इञ्जिनियर बन्लास्। नाम र दाम कमाउलास्। देशविदेश घुम्लास्। नभए बाउले जस्तै हलो जोतेर खानुपर्ला। आमाजस्तै यही गाउँमा कुँजिएर जीवन जाला।
त्यसैले म पनि झुटो बोल्दै भनिदिन्छु- डाक्टर बन्छु।
मैले बोल्दैमा म डाक्टर बन्छु कि बन्दिनँ, मलाई थाहा छैन। अहिलेको उमेरमा मेरो रहर त्यो हो कि होइन, त्यो पनि थाहा छैन। तर, जबर्जस्ती भए नि मैले बोल्नैपर्छ। नभए पिटाइ खाइन्छ। तथानाम गाली खाइन्छ। बरू झुटै भए नि सही, बोलेमा स्याब्बासी पाइन्छ। असत्य कुरा नै भए नि कक्षाको चार कुनामा सुनिने गरी हाउभाउका साथ बोल्यो भने ताली पाइन्छ।
यो सबैबाट मैले सिक्दैछु- गाली नखान ढाँटेरै भए नि बोल्नुपर्ने रहेछ। सपना नदेख्ने मान्छेको जीवन बेकामे हुने रहेछ। आफ्नो मनको सत्यभन्दा पनि अगाडिको मानिसले जे चाहन्छ, त्यो बोल्नुपर्ने रहेछ।
मनले अनुभव नगरेको र आफूलाई सत्य नलागेको कुरा नि ठूलो आवाजमा बोल्यो भने वक्तृत्वकला र वादविवाद प्रतियोगितामा पुरस्कार पाइने रहेछ। विद्यालय र समाजमा हाइहाइ हुने रहेछ।
विद्यालय र समाजमा सबैको कुराले मैले बुझ्दै छु- मेरो आमा र बुवाको जीवन बेकार हो। उनीहरूले न धेरै पैसा कमाउन सके, न टेलिभिजन र पत्रपत्रिकामा उनीहरूको कथा आयो। आमाबुबाले पढ्न, नपाउनु उनीहरूको दुर्भाग्य भयो।
यही दौरान मलाई मानिसका जीवनीहरूले झन् आतंकित बनाउँछन्।
शिक्षकहरू भन्छन्- लक्ष्मीप्रसाद देवकोटा जस्तो उदार हुनुपर्छ। म्याडम क्युरी जस्तो आविष्कार गर्नुपर्छ। म्याक्सिम गोर्कीले जस्तो संघर्ष गर्नुपर्छ। महात्मा गान्धीजस्तो साधारण हुनुपर्छ। फ्लोरेन्स नाइटिंगेल जस्तो अरूको सेवा गर्नुपर्छ। विवेकानन्द जस्तो स्पष्ट बोल्न सक्ने हुनुपर्छ। शारीरिक रूपमा कठिन भए पनि झमक घिमिरे जस्तो इच्छाशक्ति भएको हुनुपर्छ।
सबैको कथा सुन्दासुन्दा मलाई यस्तो लाग्छ, म त केही पनि बन्न सक्दिनँ होला। न मेरो परिवेश उनीहरूको जस्तो छ, न ममा उनीहरू जस्तो गुण छ। सोच्छु, ममा त कति धेरै कमजोरीहरू छन्। यस्तो अवस्थामा म कसरी उनीहरू जस्तो बन्न सक्छु?
पुस्तकका पानाहरू हेर्छु। सबै अरूका कथाहरू छन्। अनि प्रश्न सोध्न मन लाग्छ, खै त आफैंबारे पढ्ने र लेख्ने पाना? खै त आफूलाई खोतल्ने पाना? खै त आफूलाई माया गर्ने पाना?
यस्तो लाग्छ, किताबमा 'म' बाहेक सबै कुरा छ। शिक्षकको कक्षामा पनि 'म' अटाउँदिनँ। कक्षामा मेरा अनुभवहरू, भावनाहरू र विचारहरूले खासै अर्थ राख्दैनन्।
मैले लेख्नु छ- तराजुलाई किन 'फर्स्ट क्लास लिभर' भनेको? माइटोकोन्ड्रियालाई कोषको 'पावर हाउस' किन भनेको? पाइथागोरसको साध्य के हो?
तर मलाई कसैले सोध्दैन र भन्दैन- म जस्तो छु, त्यस्तो किन छु? मैले जे गर्छु, किन त्यस्तो गर्छु? मैले जे सोच्छु, किन त्यस्तो सोच्छु?
मैले चित्र कोर्नु छ- 'उर्सा मेजर' तारापुन्जको, क्याल्सियमको एटोमिक स्ट्रक्चरको, ९० डिग्री कोण भएको त्रिभुजको, प्रयोगशालामा हाइड्रोजन बनाउने प्रक्रियाको।
मलाई कसैले भन्दैन- आफ्नो रहर र भोगाइको चित्र बनाऊ। आफ्नो जिन्दगीमा जस्तो रङ लाउन मन छ, निर्धक्क लाऊ।
मैले तर्क गर्नुपर्नेछ- तरबार भन्दा कलम शक्तिशाली हो भनेर, धनभन्दा विद्या ठूलो हो भनेर।
तर जब कुनै जिज्ञासाले भरिएर कक्षामा प्रश्न सोध्छु, घर र विद्यालयमा सबैले गाली गर्दै भन्छन्- यो जान्ने भयो, चुप लाग्, खुरूखुरू मेरो कुरा सुन्!
म सोध्छु- देवकोटालाई किन महाकवि भनेको? के उनीभन्दा कोही महान कवि बन्नै सक्दैन?
पुस्तकका पानामा किन 'विद्वानहरू' र 'कीर्तिमान' कायम गर्नेहरूको मात्र तस्बिर राखेको? किन मेहनती किसान किताबमा अटाउँदैन? जसले माटोलाई दिनहुँ हेरचाह गर्छ, जसले अन्न फलाएर सयौं मानिसलाई जीवन दिन्छ, जो असल छ, जसले प्रकृतिलाई बिगार्दैन- उनीहरूबारे किन नपढाएको? मेरो घरको फोहोर उठाएर सफा बनाउने मान्छे किन किताबमा अटाउँदैन?
किन युद्ध जित्ने मान्छेको मात्र कथा पढ्नुपरेको? हार्नेको कुनै कथा हुँदैन? हार्नेहरू असल हुँदैनन्? हार्नेहरूको जीवनीले प्रेरणा दिँदैन?
किन प्रथम हुने मानिसहरूको मात्र कथा पढ्नुपरेको? सबैजना प्रथम हुन मिल्छ र? कुनै कुरामा दोस्रो हुँदा जीवन सकिने हो र?
मेरो शरीर देख्दा मलाई अचम्म लाग्छ। जिज्ञासा लाग्छ- मेरो आवाज कहाँबाट आएको हो? मेरो जीउडाल मेरा साथीहरूको भन्दा फरक किन छ? मभित्र मुटु किन धड्किरहेको छ?
मलाई प्रकृतिको हरियालीमा गएर डुब्न मन लाग्छ। तोरीका फूलहरू हेर्दै सपना देख्न मन लाग्छ। चुंगी, गुच्चा खेल्दै र फिरफिरे घुमाउँदै आनन्द लिन मन लाग्छ। मलाई बगरमा डुल्दै अचम्मका ढुंगाहरू बटुल्न मन लाग्छ।
तर म यस्ता कुराहरूमा रमाउन पाउँदिनँ। दिनभरि म चार पर्खालभित्र कक्षाकोठामा बस्नुपर्छ। बिहान बेलुका होमवर्क गर्नुपर्छ। मलाई खेल्ने समय छैन। खोलामा गएर माछाहरूसँग जिस्किने समय छैन। उदाएको र अस्ताएको घाम हेर्ने फुर्सद नै छैन।
मलाई फूलबारीबारे ५ सय शब्दको निबन्ध लेख्नुपर्नेछ। तर मलाई कसैले भन्दैन- आफ्नो घरको बगैचामा पनि फूल रोप। ती फूलहरूलाई माया गरेर हुर्काऊ। अनि तिनै फूलहरूको गीत गाऊ।
मैले सामाजिक शिक्षाको सामाजिक उत्तरदायित्व विषयको जवाफ लेख्नुपर्नेछ। तर मलाई कसैले भन्दैन- हिँड सँगै जाऔं, बाटोको फोहोर सफा गरौं!
बेलामौकामा फोन चलाउन पाइन्छ। फोन छोयो कि सबै गाली गर्न थाल्छन्, यो बिग्रिने भयो भन्दै। तर कसैले भन्दैनन्- फोनको फुटबल छाडिदेऊ, साँच्चिकै मैदानमा खेल खेल्न जाऔं। फोनमा बज्ने गीतजस्तो जंगलमा गएर आफैंले गीत बनाऔं।
हामी बालबालिकालाई सबैले भविष्यको कर्णधार भन्छन्। हाम्रो लागि सरकार, विभिन्न संघसंस्था र विद्यालयहरू 'भिजन' बनाउँछन्, उद्देश्यहरू बनाउँछन्। हामी ठूलो हुँदा कस्तो बनाउने भन्नेबारे घन्टौं छलफल गर्छन् र रिपोर्ट निकाल्छन्।
उनीहरू हाम्रो भोलिबारे सोच्छन्, आजबारे कोही सोच्दैनन्। उनीहरू हामीलाई त्यस्तो मानिस बनाउन चाहन्छन् जस्तो बन्दा उनीहरूलाई 'कम्फर्टेबल' हुन्छ।
उनीहरू चाहन्छन्- विद्यार्थीले उनीहरूलाई सम्मान गरून्, उनीहरूको मूल्य, मान्यता र व्यवहारमाथि प्रश्न नगरून्। उनीहरू पढाउन त लोकतन्त्र र सचेत नागरिक हुने तरिकाहरू पढाउँछन् तर उनीहरू आफ्नो भक्त, अनुयायी चाहन्छन् जसले सर्वत्र उनीहरूको महिमागान गर्दै हिँडोस्। गुरुभेटी चढाओस्।
म बालक- भोलिका लागि मात्र होइन, आज पनि बाँच्न चाहन्छु। भोलिको समाज मात्र होइन, आजको समाज बनाउने काममा पनि सहभागी हुन चाहन्छु।
सबै ठूला मानिसहरूलाई मेरो आग्रह छ- मलाई आजका लागि खुसी राख्ने र भोलिका लागि तयार गर्ने शिक्षा मिलोस्। मलाई समाज मात्र होइन, 'म' बारे पनि सिकाउने पाठ्यक्रम र शिक्षकहरू मिलून्। प्रकृतिको काखमा रमाउँदै हुर्किने र सिक्ने अवसर मिलोस्। सबैलाई उछिन्ने प्रतिस्पर्धा र महत्वकांक्षा होइन, प्रेम र सहकार्य सिक्ने अवसर मिलोस्।'
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)