'हैन कति धेरै डेंगी फैलिएको? परिवारमा बुवालाई डेंगी पुष्टि भएर निको हुन पाएको छैन, छोरालाई देखिने, छोरालाई ठिक हुन नपाउँदै आमामा देखिने, आमालाई ठिक हुनेबित्तिकै छोरीमा देखिने'। यो मेरा ललितपुर निवासी मित्रसँग भएको कुराकानीको एक अंश हो।
यो सानो संवादबाट कसरी घरै पिच्छे डेंगीले आतंक मच्चाइरहेको छ भन्ने स्पष्ट हुन्छ।
काठमाडौं अहिले डेंगीको 'हटस्पट' बनेको छ। सन् २०१९ को डेंगी महामारीमा प्रत्यक्ष उपचारमा खटिँदा त्यसबाट सृजित अवस्थालाई नजिकबाट नियाल्ने र अनुभव गर्ने मौका पाएको थिएँ।
डेंगी फैलाउने एडिस जातको लामखुट्टे अर्थात् हेर्दा कालो-सेतो रंगको 'जेब्राजस्तै देखिने लामखुट्टे' हो।
काठमाडौंमा यो लामखुट्टेले व्यापक सक्रियता बढाएको देखिन्छ। तर यसको नियन्त्रणतर्फ भने नागरिक तथा सम्बन्धित निकायको ध्यान अझै गएको देखिँदैन।
मेरो मित्रले घर-घरमा डेंगी आतंकको बारेमा वर्णन गर्दैगर्दा नियन्त्रणको बारेमा भने अनविज्ञता प्रकट गरे। अर्थात् डेंगी व्यापक फैलिसक्दा पनि अझै लामखुट्टे नियन्त्रणतिर ध्यान नगएको, नदिएको वा योजना रहेछ भने पनि कार्यान्वयन गर्नेतर्फ सुरसार नगरेको प्रष्टै देखिन्छ। लामखुट्टेले संकलित सफा पानीमा आफ्नो वृद्धि विकास र आफ्नो जीवन चक्र पूरा गर्ने गर्दछ। यो लामखुट्टे विशेषत सूर्योदय भएपछि र सूर्यास्त हुनुभन्दा केही घण्टा अगाडि बढी सक्रिय हुने र टोक्ने गर्दछ। तसर्थ, सोही समयमा डेंगी संक्रमण फैलने सम्भावना पनि बढी हुने गर्दछ।
हाल कतिपय संक्रमितलाई कार्यस्थलमा संक्रमण हुने देखिएको लेखकको अनुभव छ।
डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा लक्षण नदेखिन सक्छ। लक्षण देखिएका अधिकांश घरमै बसेर पनि स्वास्थ्य लाभ गर्न सक्छन्। तर त्यसमध्ये कतिपयमा भने डेंगीले कडा रूप लिन सक्छ। तर घरमा बस्दै गर्दा कस्तो अवस्था देखिए त्यो जटिलताको संकेत हो भन्नेबारे चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ भन्नेमा भने अधिकांश संक्रमितलाई थाहा नहुन पनि सक्छ।
तारन्तार बान्ता भए, अत्यधिक पेट दुखे, नाक, गिजाबाट रगत बगेमा, दिसा, पिसाब वा बान्ता गर्दा रगत आएमा, बेचैन भए, श्वासप्रश्वासमा तीव्रता/कठिनाइ देखिए संक्रमितको स्वास्थ्य जटिलतातिर जान सक्ने संकेतको रूपमा लिनुपर्छ।
यस्तो अवस्था देखिए तुरून्त चिकित्सकको सम्पर्कमा जानुपर्छ। यी लक्षणसँगै शारीरिक परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको र कलेजको आकार बढेको, रगत परीक्षणमा प्लेटेलेट्सको संख्यामा तीव्र गिरावट हुने गर्छ। यी उल्लेखित स्वास्थ्य समस्या देखिए 'वार्निङ साइन' पनि भन्ने गरिन्छ।
उच्च ज्वरो आए वा शरीरमा अत्यधिक पीडा भएमा औषधि पसलमा आफैं गएर सबभन्दा कडा/छिटो निको हुने औषधि माग्ने चलन पुरानै हो। सिटामोलले छुँदैन (दुखाइ कम भएन) भनेर धेरैको रोजाइमा फ्लेकसन, ब्रुफेनजस्ता औषधि बढी प्रयोग गरेको पाइन्छ।
डेंगी संक्रमणको दुखाइ पनि अति कडा हुने भएकोले फ्लेकसन, ब्रुफेन जस्ता औषधि संक्रमितले रोज्नु स्वाभाविक हो। तर यसको प्रयोगले संक्रमितमा रक्तस्राव हुने सम्भावना बढेर जानेछ। डेंगीमा रक्तस्रावलाई जटिल स्वास्थ्य समस्याको रूपमा पनि लिने गरिन्छ। र यो अवस्थालाई बेवास्ता गरिए बिरामी
'डेंगी सक सिन्ड्रोम' मा जान सक्ने र त्यसपछि पनि उपचारमा बेवास्ता गरिए मृत्यु समेत हुनसक्छ।
अन्तमा, हालको डेंगी फैलावटले सन् २०१९ मा देखिएको डेंगी महामारीमाको सम्झना गराइदिएको छ। सो समयमा पनि काठमाडौंको घर-घरमा परिवारका सदस्य नै संक्रमित हुने गरेका थिए।
अचम्म के थियो भने अधिकांश काठमाडौंवासीलाई डेंगी के हो र कसरी सर्दछ भन्ने पूर्ण जानकारी भएको भने देखिँदैन थियो। डेंगीसम्बन्धी मिथ्या भ्रमले भने व्यापकता पाएको देखिन्थ्यो।
घर-घरमा डेंगी फैलँदा पनि यसको नियन्त्रणप्रति अहिले पनि उदासिन देखिनु बिडम्बना नै हो। डेंगी नियन्त्रण 'जेब्रा लामखुट्टे'को नियन्त्रणबिना सम्भव छैन। तसर्थ, एडिस जातको लामखुट्टे अर्थात् 'जेब्रा लामखुट्टे'को नियन्त्रणतर्फ ध्यान जान ढिला भैसकेको छ। त्यसैले सचेत होऔं।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(डाक्टर पुनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)