साउन ८ - अनेकन गतेहरूको गिन्तीमा थपिएको एउटा गते। प्रिय पाठकहरू, म भने तपाईंहरूलाई विषय प्रवेश गराउन नेपाली इतिहासको समय घडी पछ्याउँदै विक्रम सम्बत् १८९६ साउन ८ मा लैजाँदैछु।
बर्खा याममा लगातार परेको पानीले उपत्यकाका नदीहरूमा भेल बढाएको छ। बर्खामा भेल नआए बागमती, विष्णुमती, इच्छुमतीहरू बहन्छन् कि बहन्नन् भन्ने पनि मेसो नपाइने गरी मृतावस्थामा हुन्छन्। हामीले हाम्रो जम्माजम्मी योग्यताको बलमा हाम्रो समाजको छातीबाट बहने सभ्यतारूपी नदीहरूलाई यस्तो मर्नु न बाँच्नुको हालतमा ल्याइपुर्याएका छौं र आफूलाई 'मेट्रो सिटीजन' भएको ढोल पिटिरहेका छौं।
अरू बखत घिटीघिटी अवस्थामा रहने उपत्यकाका यिनै नदीमध्ये विष्णुमतीमा भारी बर्खाका कारण आएको बाढीले सतह बढ्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भन्दै तपाईंहरूको मोबाइलमा पनि केही दिनअघि सतर्कता सूचना आएको हुनुपर्छ। त्यही सूचना आएको भोलिपल्ट बिहानै म विष्णुमती किनारैकिनार बालाजुबाट कालिमाटी आइपुगेको छु।
विष्णुमती किनारको कालिमाटी नजिकै रहेको सुन्धारा इलाका जहाँबाट यो आलेखको एउटा प्रसंग आरम्भ हुन्छ, विसं १८९६ साउन ८ गते।
जीवनको दर्दनाक अन्त्य
त्यही साउन ८ को मितिमा हो ३१ वर्षसम्म नेपालको मुख्तियारी सम्हालेका भीमसेन थापाले आत्महत्या प्रयास गरेको।
आफ्नो जन्मदिन (साउन ९) को एकदिनअघि नेपाली इतिहासका एक निर्णायक पात्र भीमसेन थापाले खुकुरीले आफ्नै गला रेटेर आत्महत्या प्रयास गरेका थिए।
उसो त इतिहासको निर्णायक पात्र कोही एक शासक व्यक्ति हुँदैन। सिँगो समाज र जनता नै इतिहासका निर्माता हुन्छन्। तर इतिहासको निर्माता सिँगो समाज भए पनि सामाजिक, राजनीतिक इकाईहरूमा विभक्त तत्कालीन समाजको नेतृत्व गर्ने पात्रहरू निश्चित व्यक्तिहरू नै हुने गर्छन्। यस अर्थमा भीमसेन थापालाई नेपाली इतिहासको निर्णायक पात्र भन्न गाह्रो मान्नुपर्दैन।
खुकुरीले घाँटी रेटेर आत्महत्या प्रयास गरे पनि आंशिक मात्रै घाँटी रेटिएकाले उनी तत्काल मर्न सकेनन्।
यसरी भीमसेन थापाले आत्महत्याको असफल प्रयास गरेको खबर सुनेपछि राजा राजेन्द्रविक्रम र उनकी जेठी रानी साम्राज्यलक्ष्मीले क्रूद्ध हुँदै भीमसेनको घाइते शरीरलाई विष्णुमती किनारमा लगेर मिल्काउन आदेश दिएका थिए। यो विवरण उल्लेख गर्दै ऐतिहासिक बाबुराम आचार्यले लेखेका छन्, 'रगतले लथपथ भएको यिनको अर्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको बगरमा लगेर बेवारिस अवस्थामा फ्याँक्न लगाइयो (जनरल भीमसेन थापा: यिनको उत्थान तथा पतन, पृ १६५)।
भीमसेनकै खलकका (भीमसेनका भाइ रणवीर सिहंका) छैठौं पुस्ताका सन्तान उप-प्राध्यापक सुशीलविक्रम थापा भने फरक विवरण सुनाउँछन्। उनले यस पंक्तिकारसँग भने, 'भीमसेन थापाले दोस्रोपटक नजरबन्दमा राखिएको निजी घरमै घाइते अवस्थाको आखिरी दिन बिताएका थिए। मृत्युपछि मात्रै उनको शव विष्णुमती किनारमा लगेर फालिएको थियो।' (२०७९ साउन ३ गते थापासँग गरिएको रेकर्डेड कुराकानी)
ऐतिहासिक ज्ञानमणि नेपालले पनि बाबुराम आचार्यको विवरणभन्दा भिन्न र सुशीलविक्रमकै भाकाको विवरण उल्लेख गरेको पाइन्छ।
उनले लेखेका छन्, 'परिवारको पनि ठूलो बेइज्जती गराएर कठोर दण्डशासन हुन्छ भन्ने होहल्लाले इन्साफ पाउँछु भन्ने आशा टुटेका बूढा काजीको दिल पनि टुट्यो। बेइज्जती खेपेर मारिनुभन्दा आफैं मर्नु बेस ठानी विसं १८९६ साउन ८ गते राति अँध्यारो छिँडी कोठामा खुकुरीले आफैंले आफ्नो घाँटी सेरे। भुत्ते खुकुरी भएर हो वा ठिकसँग हात नलागेर हो, उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे। रगतको धारो लाग्यो। यसरी ढलेका भीमसेन पीप, रगत, फोहोरमा मुछिएर घ्यारघ्यार गरी नौ दिनसम्म बाँचेर कन्तबिजोगसँग प्राणमुक्त भए। राजारानीसमेत सबै आएर उनको लास हेरे तर दाहसंस्कार गर्न अनुमति दिइएन। डोरीले बाँधेर घिसार्दै लगेर विष्णुमतीपारि पुर्याएर फाल्न लगाइयो।' (नेपालको महाभारत, पृ १११)
थापा परिवारमा पारिवारिक उत्तराधिकारका रूपमा अविच्छिन्न हस्तान्तरित अनुश्रुति र केही ऐतिहासिक मसीजीवीहरूले पहिलेदेखि नै उल्लेख गर्ने गरेको आत्महत्या गरेकै स्थानमा नौ दिनसम्म कन्तबिजोग भोगेर भीमसेनको प्राण गएको कुरा ऐतिहासिक बाबुराम आचार्यले उल्लेख गरेको खोला किनारमा जिउँदै लगेर फालिएको विवरणभन्दा बढी भरपर्दो लागे पनि यथोचित तथ्यको हातलागी नभएसम्म किटान गरिहाल्न उचित देखिँदैन।
आत्महत्या स्थल
तत्कालीन पदच्यूत मुख्तियार भीमसेन थापालाई दोस्रोपटक थुनिएको र उनले आत्महत्या गरेको स्थान कहाँ हो भन्नेमा पनि थापा परिवारमा प्रचलित अनुश्रुति शास्त्रीय इतिहासका खेस्राहरूसँग टकराएको पाइन्छ।
भीमसेनका पिता (सानाकाजी) अमरसिंह थापाले किनेको यंगल टोलको घर (रणवीरसिंहको सिलखाना भवननजिकै) नजिकै लगनमा भीमसेन थापाले किनेको घरमा दोस्रोपटक नजरबन्दमा परेको दाबी सुशीलविक्रमले पारिवारिक अनुश्रुतिको हवाला दिएर गरेका छन्।
थापा परिवारले गरेको त्यस दाबीउपर समुचित प्रमाणको अभावमा यसअघि ऐतिहासिक मसीजीवीहरूले उल्लेख गरिआएको टुँडिखेलको जनरल बागको (अहिले महानगर बसेको बागदरबार होइन) छिँडीमा उनी नजरबन्द परेको र त्यहीँ नै उनले आत्महत्या प्रयास गरेको विवरण खारेज गर्न सकिने अवस्था छैन। कतिपयले जन्मकैदमा राखिएको भनेर उल्लेख गरेको पाइए पनि भीमसेनको मुद्दाको आखिरी फैसला नभइसकेकाले उनीमाथि जेल सजायको फैसला भएको विवरणले तथ्यसँग वैरभाव राखेको देखिन्छ।
उसै पनि विसं १८७७ सालमा भएको मेजर गुणवन्त लगायतका साक्षी बसेर गरेको भीमसेनको पारिवारिक अंशबन्डामा भीमसेनको भागमा यंगल या लगन टोलको घर परेको देखिँदैन (चित्तरञ्जन नेपाली लिखित जनरल भीमसेन थापा र तत्कालीन नेपालमा समाविष्ट वण्डापत्रका अनुसार)। सम्भवत: पिताबाट प्राप्त अंश भीमसेनका भाइहरूमा गएको र उनको भागमा परेको काठमाडौंको नयाँ घर उनले आफैंले विभिन्न मितिमा स्थानीय बाँडा (शाक्य) हरूबाट खरिद गरेको यंगलको नयाँ घर रहेको अनुमानसम्म गर्न सकिन्छ।
ज्ञानमणि, बाबुराम लगायतले भीमसेनलाई बागको दरबारमा थुनिएको प्रस्ट उल्लेख गरेका छन्। ज्ञानमणिले लेखेका छन्, '... भीमसेन थापालाई पुरानो विषमुद्दा उठाई फेरि पक्राउ गराएर उनैको बागदरबारको छिँडीमा थुनाए (नेपाल, उही, पृ १११)।'
बाबुराम आचार्यले लेखेका छन्, 'जनरल भीमसेन थापा फेरि पनि बागको आफ्नै महलको छिँडीको आलिसान एउटा कोठामा कडाइका साथ नजरबन्दमा राखिए (अब कहिल्यै यस्तो नहोस्, पृ ८५)।'
भीमसेन थापाले बागमा बनाएको दरबार सार्वजनिक टुँडिखेलको दक्षिणपूर्वी मोहोडा अतिक्रमण गरेर बनाइएको थियो। टुँडिखेल काठमाडौं उपत्यकाको श्वास धमनीलाई आधार दिई बसेको विशाल खुला जमिन थियो। तत्कालीन टुँडिखेलको आधा हिस्सा पनि अब बाँकी छैन।
तुंख्य
लिच्छवि राजा गुणकामदेवको शासनकालमा विसं ७७८ मा सवल बहाः (मन्त्रसिद्धि महाविहार) का तान्त्रिक शाश्वतबज्र बज्राचार्यले उक्त खुला चउरको पश्चिमी बीच भागमा महांकाल भैरव स्थापना गरेका थिए। उनैले विसं ७८१ मा उक्त खुला चउरको पूर्वी भागमा बज्रतुंडीदेवी (भद्रकाली) स्थापना गरेका थिए (बज्राचार्य, इन्द्ररत्न-सदर टुँडिखेल, गोरखापत्र, ११ असार, २०४१)।
बज्रतुंडीदेवीलाई महांकाल भैरवले दिएको दाइजोका रूपमा ती दुई तन्त्रशक्तिका केन्द्र (महांकाल र बज्रतुंडिदेवी) को अघिल्तिरको विशाल जमिन समर्पित गरिएकाले 'तुंख्य' का रूपमा उक्त चउर परिचित हुन थालेको थियो। विसं १७६५ को अभिलेखमा तुंखेलका रूपमा उक्त चउरको उल्लेख भएको पाइन्छ (बज्राचार्य, गौतमबज्र–हनुमानढोका राजदरबार, पृ २४७)। राणा काल सुरू हुनुअघिसम्म आज टुँडिखेल भनेर परिचित उक्त मैदान तुंडिखेलकै रूपमा उच्चारित हुन्थ्यो।
प्रारम्भिक समयमा कतै अरू जमिनभन्दा अलिक उठेको ढिस्कोजस्तो र कतै समथरजस्तो उक्त चउर रानीपोखरीदेखि अहिलेको दशरथ रंगशालासम्म फैलिएको थियो। प्रताप मल्लकालीन समयमा रानीपोखरी बनाएपछि पनि निकै लामो समयसम्म बाँकी भाग टुँडिखेलका रूपमा अस्तित्वमा रहिरह्यो। हुनसक्छ कुनै समय यो खुला मैदानमा उखु घारी थियो। रैथाने भाषामा तु जोडिएका अनेकन स्थानहरू छन् काठमाडौंमा जसले उखुमार्फत नै परिचय प्राप्त गरेको पाइन्छ। तुसाल (टुसाल– यो नामको स्थान काठमाडौं, पाटन दुवैतिर छ), तुख्य (टोखा), तु खुशी (टुकुचा) आदि। उखुले भरिएको मैदानका रूपमा पनि तुख्यले रैथाने भाषाको अर्थ वहन गर्छ।
कम्तिमा लिच्छविकालीन समयदेखि नै तुंख्य (तिनिख्यः) को सार्वजनिक महत्व उल्लिखित भएको पाइन्छ। गुणकामदेवको समययता त यो सार्वजनिक अर्थात् जनताको सम्पत्तिका रूपमा रहँदै आएको थियो। शाह र राणाकालीन हुकुमी मनोमानीको अढाई सय वर्षमा रैथानेहरूको विशाल जमिन उनीहरूबाट खिच्ने र सत्तासीनहरूबाट निजीकरण गर्ने शासकीय अभियानै चलाइयो।
त्यसरी काठमाडौंले खुला रूपले सास लिने टुँडिखेल अतिक्रमणको सुरूआत भीमसेन थापाको समयबाट भएको पाइन्छ।
उनले बागमा रहेको महल वीरभद्र शाह, भीमप्रताप शाह, भीमरूद्र शाह (चौतारा श्रीकृष्ण शाहका छोरा तथा चौतारा बलभद्र शाहका भतिजा) हरूको आँखा फुटाई नजरबन्दमा राखी उनीहरूबाट विसं १८६१ मा कब्जा गरेका थिए। त्यहाँ उनका पिता अमरसिंह थापाले घर बनाएका थिए।
पछि त्यहीँ उनले दरबार बनाउन १ सय २० रोपनी जमिन अधिग्रहण गर्ने क्रममा सानो टुँडिखेल (हाल रंगशाला) र टुँडिखेलबीचको केही जमिन हडपेका थिए। त्यहाँ उनले भव्य दरबार बनाएको त्यस बखतका पुराना तस्बिरहरूमा देखिएको जनरल बाग (भीमसेनको दरबार) को भव्यताले पुष्टि गर्छ।
दरबार बनाइवरी त्यहाँ उनले बाग (बगैंचा निर्माण) विस्तार गरेका थिए। यसै कारण त्यस दरबारको नाम जनरल बाग रहन गएको थियो। भीमसेनले आफ्नो महल बनाएको स्थानमा मात्र होइन, अन्यन्त्र पनि बगैंचाहरू निर्माण गराएको विवरण पाइएकाले उनमा बगैंचा निर्माणमा विशेष अभिरूचि रहेको आकलन गर्न सकिन्छ।
भीमसेन थापा अंग्रेजको नक्कल गरेर परम्परागत तवरले चलेको काजी, सरदार आदि नेपाली पदहरूको ठाउँमा आफूलाई जनरल र कमान्डर इन चिफ भनाउन लागिपरेका थिए। तिनै जनरल भनिने भीमसेनको बगैंचामा भएको महल भएकाले त्यस महलको नाम 'जनरल बाग' रहन गएको थियो।
विसं १८९५ मा राजेन्द्रविक्रमद्वारा भीमसेन थापाको नाममा जारी लालमोहरमा उल्लेख छ– 'आगे भीमसेन थापाके तिम्रो ९४ सालमा जफ्त भयाका घर षेतमध्ये टुँडिखेलको ठूलो घर र पर्षालभित्रको बघैंचा, पर्षाल वरिपरिका गोठकट्यारा औ त्यसै बघैंचानेरका पाषामा बनाएका चाकर नोकर रहनाका घर बघैंचाका मर्मतका निमित्त षरीद गर्याका ...।'
यस विवरणले भीमसेन थापाको महल भएको स्थानमा उल्लेखनीय बाग बगैंचा थियो र त्यही बगैंचाका कारण जनमानसले त्यस स्थानलाई जनरल बाग भन्ने गर्थे भन्ने कुरा तथ्यसंगत देखिन्छ। भीमसेन थापाको आत्महत्यापछि उनको सम्पत्ति जफत गर्ने क्रममा यो बागको महल पनि सरकारीकरण भयो। पछि छोटा जनरल माथवरसिंह थापा (भीमसेनका भतिजा) मुख्तियार भएपछि यो महल उनको हकभोगमा गयो।
माथवरको हत्या भएपछि यो महल दरबारले जफत गर्यो। इलाहाबाद जेलबाट काठमाडौं ल्याइएका साहेबज्यू उपेन्द्र विक्रमलाई यही जनरल बागको महलमा राखिएको थियो। पछि उनैलाई यहाँको महल दिएर राखियो। यहीँ उनले तलेजु मन्दिर लगायत अन्य संरचना बनाएका थिए जहाँ आजसम्म पनि दुई सय वर्षभन्दा लामो समयदेखि नखोलिएको तन्त्रकोठा भएको घर तिलस्मी रहस्य बोकेर मध्य सहरमा ठडिइरहेकै छ।
पछि जुद्धशमशेर श्री ३ बनेर शक्तिमा आएपछि उनका छोरा तथा राजा महेन्द्रका ससुरा हरिशमशेरले उक्त जनरल बागको विशाल हिस्सामा कब्जा जमाएर विसं १९९० को भुइँचालोले क्षतिग्रस्त भीमसेनको जनरल बागको महल भत्काई भव्य दरबार बनाए।
अहिले काठमाडौं महानगरपालिका रहेको बागदरबार तिनै हरिशमशेरले बनाएको हरि दरबार हो। कतिपयले त्यसलाई भीमसेनकालीन बागदरबार भने पनि पुरानो तस्बिरमा देख्न सकिने भीमसेन थापाकालीन जनरल बाग र अहिले पनि ठडिइरहेको बागदरबारको तुलनात्मक अध्ययनबाट पछिल्लो समयको दरबार भीमसेनकालीन नभई हरिशमशेरको हरिदरबार हो भन्ने प्रस्टै हुन्छ।
भीमसेनकालीन दरबारको क्षेत्रफल निकै फराकिलो थियो। भद्रबन्दी गृह, चाइना टाउन, जेडिए कम्प्लेक्स, बागदरबारदेखि सुन्धारा टेलिकमसम्म पुरानो जनरल बागको क्षेत्रफल थियो। सेतोपाटी अनलाइनमा पत्रकार सबिना श्रेष्ठले उल्लेख गरेअनुसार धरहराबाट बायाँ मोडिएर भोटेबहाल निस्कने गल्लीसम्म फैलिएको थियो बागको त्यो दरवार क्षेत्र (हेर्नुहोस्: दुई सय वर्षदेखि बन्द बागदरबारको त्यो ढोका, सेतोपाटी, साउन १२, २०७५)।
त्यसरी जमिन अधिग्रहण गरिवरी बनाइएको भीमसेनको दरबार भने हेनरी एम्ब्रोज ओल्डफिल्ड आएको बखत निकै उपेक्षित अवस्थामा रहेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। भीमसेन र माथवर मारिएपछि बागदरबारको फूल बगैंचा निकै उपेक्षित अवस्थामा रहेको, दरबार रहेको क्षेत्र झाडीले भरिएको, माछा पाल्न बनाइएको पोखरी सुख्खा भएको, दरबारको भवन उपेक्षित अवस्थामा पुगेको थियो (ओल्डफिल्ड, स्केचेज फ्रम नेपाल, भाग १, पृ १०९)।
थापा परिवारको आर्थिक र सूचना स्रोतका आधारमा ज्ञानु ढुंगेलद्वारा लिखित 'मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य' मा भने भीमसेनलाई इकुबहाल समिपको यंगालकै भवनमा थुनिएको उल्लेख गरेको देखिन्छ। यद्यपि उनले पनि यसको समर्थनमा बल पुग्ने कुनै प्रमाण दिएका छैनन् जसरी बागको दरबारमा थुनिएको भनेर उल्लेख गर्नेहरूले आफ्नो विवरणलाई कल्पित निबन्धको सिलसिला बन्नबाट बचाउन कुनै तथ्यपरक प्रमाणहरूको जोहो गरेका छैनन्।
यताका दिनमा प्रमाणहरूको सर्वथा भ्रष्टीकरण र अभाव भोगिरहेको बखत हामीले यसउपर बिनाप्रमाण किटानी विवरण छपाउनु इतिहास लेखनको आधारभूत आधारमाथि मनमौजी गर्नु सिवाय अरू केही हुने छैन।
भीमसेनले आत्महत्या गरेको भनिएको यंगलको उक्त घर रहेको जमिन भीमसेन थापाले खरिद गरेको र राज्यले बक्सिसमा दिएको विसं १८७४ को एउटा, १८८५ का दुईवटा र १८९२ का चारवटा राजेन्द्रविक्रमको नामबाट जारी लालमोहर सुशीलविक्रमबाट पंक्तिकारलाई प्राप्त भएका छन्।
यी लालमोहरमा उल्लेख भएअनुसार भीमसेनले स्थानीय भेषविर बाँडा, देव बाँडा, राजिन्द्रपति बाँडा, राजमानसिहं, रतनवीर सिंह लगायत बाँडाहरूबाट लगन (यंगल ?) को जमिन खरिद गरेको देखिन्छ। कतिपय जमिन राजाद्वारा लालमोहरमार्फत भीमसेनको स्वामित्वमा अधिनस्थ गरेको पनि पाइएको छ। राणाकालीन समयारम्भ भएपछि थापा परिवारबाट खोसिएर बमबहादुर राणाको अधिनस्थ गएको सुशीलविक्रमको भनाइ छ।
बेवारिस भीमसेन, लावारिस भीम मुक्तेश्वर
भीमसेन अवसानको घटना बिजारोपण नेपाल-अंग्रेज युद्धमा नेपालले विशाल भूगोल गुमाएपछि पैदा भएको नागरिक असन्तोषको जगबाटै आरम्भ हुन्छ। त्यसलाई पाइन दिन्छ राजेन्द्रविक्रमका दुई पत्नीहरूको आफ्ना छोराहरूलाई गद्दीको उत्तराधिकारी बनाउने अवाञ्छित प्रतिस्पर्धाले। उत्कर्षमा भीमसेन अवसानको यस घडीलाई सिरानी हाल्न पुग्छ विसं १८९४ साउन ११ गते राजेन्द्रविक्रमकी जेठी पत्नी साम्राज्यलक्ष्मीतर्फका छ महिने छोरा देवेन्द्रविक्रम शाहको निधनले।
साम्राज्यलक्ष्मी अंग्रेजहरूका कट्टर विरोधी थिइन्। उनी विसं १८७२ मा अंग्रेजसँग भएको सन्धिलाई देशको कलंक तथा त्यसको कर्ता मानेर भीमसेन थापासँग चिढिएकी थिइन् (उपाध्याय,रामजी–नेपालको इतिहास, पृ २२९)।
साम्राज्यलक्ष्मीले आफ्नो छोरालाई विष मिसाएको औषधि भीमसेनले सरदार एकदेव वैद्य प्रयोग गरी खुवाएको अरोप लगाइदिइन्। एकदेवले भाजुमान वैद्यलाई अह्राएर देवेन्द्रविक्रमलाई विष खुवाई मारेको आरोपमा भीमसेनलाई पक्राउ गरियो। त्यसपटक राजगुरू रंगनाथ पौडेलको आग्रहमा छुट्कारा पाएर गोर्खा बोर्लाङ्ग गई बसेका भीमसेनलाई १८९६ सालमा नेपाल–अंग्रेज असमझदारी हटाउन भनी काठमाडौं बोलाइयो।
भीमसेनको काठमाडौंको सत्तामा फिर्ती हुने देखिएपछि असमझदारी छाडेर अंग्रेज पछि हट्यो। यो सबै बुझेकी साम्राज्यलक्ष्मीले भीमसेनलाई सदाका निम्ति सिध्याउन पुनः विष मुद्दा उल्ट्याइन्, रणजंग पाँडेहरूको आडभरोसाको बलमा। भीमसेन फेरि थुनिए।
भीमसेनको तेजोवध गर्न सत्तामा रहेका उनका विरोधी पाँडेहरूले 'भक्तकुमारीलाई नांगै सहर घुमाइँदैछ' भन्ने खबर उनको कानमा पुर्याउन लगाए। त्यसबाट सार्वजनिक बेइज्जती हुने ठानी विसं १८९६ साउन ८ गते खुकुरीले घाँटीको श्वास नली फुटाउने प्रयास गर्दा आंशिक मात्रै फुटेर रगतपच्छे भएर ढले।
भीमसेनको आत्महत्या सम्बन्धमा चित्तरञ्जन नेपालीले छापेको एउटा पत्रमा उल्लेख भएको विवरण उद्धृत गर्नु मनासिबै हुनेछ– 'एकदेव वैद्यले अघिपछिको सबै कुरा वक्याको थाहा पायेछ र आफूले गर्याको अघिको र पछिको कुकर्म प्रकाश हुन लाग्यो भन्या डरले कसैले थाहा नपाई हतियार मगाई ९६ साल श्रावण महिनाको दिन ८ जाँदा हतियारले आफ्नु गला आफैंले काटी अपहत्या गरि ९ दिन बची श्रावण १६ दिन जाँदा भीमसेन थापा मर्यो (जनरल भीमसेन थापा र तत्कालीन नेपाल, पृ २७९–२८०)।
चित्तरञ्जन लगायतले भीमसेन थापाले झ्यालको सिसा फुटाई त्यसैको टुक्राले रेटिएर आत्महत्या गरेको पनि लेखेको पाइन्छ। त्यसबखत बनेका दरबार एवं भवनहरूमा सिसाको झ्याल हाल्ने गरेको देखिँदैन। बरू उनका सत्तासीन विरोधीहरूले उनलाई आत्महत्या गर्न प्रेरित गराई खुकुरी कुनै तरिकाले उनीकहाँ पुग्ने चाँजो मिलाएको तर्क बलियो देखिन्छ।
त्यसरी आत्महत्याको असफल प्रयास गरी घाइते भएका भीमसेनको अर्धचेत शरीरलाई पहिले उनैले पृथ्वीपाल सेन, शेरबहादुर, विदुर शाहीसहित दर्जनौं भारदारलाई मारेर स्याल, गिद्ध, कुकुरलाई लुछाउन फालिएको विष्णुमती किनारमा लगेर फालियो र कसैले उपचारमा लान नपाओस् भनेर हतियारधारी पहरेदार खटाइए।
मध्य बर्खाको घामपानी खेपेर स्याल, गिद्ध, काग, कुकुरबाट घेरिएर घ्यारघ्यार श्वास लिँदै नवौं दिनमा उनले विसं १८९६ साउन १६ गते प्राण त्यागे। अन्तिम संस्कारसमेत गर्न नदिई उनको लास स्याल, गिद्ध, कुकुरलाई खुवाइयो (भीमसेन थापाः यिनको उत्थान तथा पतन,पृ १६०–१६५)।
मरेपछि फालिएको भए पनि या घाइते भएपछि फालिएको भए पनि भीमसेन थापाको शरीर विष्णुमती किनारमा बेवारिसे अवस्थामा कैयन दिन बर्खे भेल खेप्दै लत्रिइरह्यो। नेपाल देशको ३१ वर्ष मुख्तियारी चलाएका र देशलाई पुरातन बाटोबाट आधुनिकीकरणको बाटोमा अग्रसर गराएका एक जना उच्च प्रशासकको आखिरी अवस्थाले जसरी बेवारिसे अवस्थाको सामना गर्नुपर्यो, उसैगरी उनको 'प्राणमुक्ति' को उद्देश्यले विसं १९०१ मा माथवरसिंह थापाले बनाएको भीममुक्तेश्वर महादेव मन्दिर आजको दिनमा लावारिस अवस्थाबाट गुज्रिइरहेको छ।
विष्णुमती किनार निर्मित पक्की सडक पछ्याउँदै म बालाजुबाट कालिमाटी पुग्नुको कारण केही वर्षअघि २०७२ को भुइँचालो नजाँदै देखेको त्यही भीममुक्तेश्वर महादेवको वर्तमान झलक हेर्न थियो। सय वर्ष कटेका भवनहरू पुरातात्विक हुने भन्दै भत्काउने कि जोगाउने भनेर अनेकन स्थानमा रस्साकस्सी चलिरहेका बेला भीममुक्तेश्वर महादेव मन्दिर भने भुइँचालोको धक्काले जराजीर्ण भएर झाडीभित्र राज्ययन्त्र र समाजको अप्रिय उपेक्षा भोग्दै लावारिसे अवस्थाको सामना गरी बसेको छ।
कतिसम्म भने भीममुक्तेश्वरको झाडीले छोपिएको भव्यतम कामदेवको शिला मूर्ति शिवालय परिसरबाट चार महिनाअघि चोरी भएको छ। चोरी भएको मूर्ति आजसम्म कसले लग्यो भन्ने सुइँकोसम्म पाउन नसकिएको अवस्था छ।
शिवालयको सीमा कायम गरी बनाइएका कुरूवा घर पर्खाल भत्किएर विद्रुप अवस्थामा छ। शिवालयमा पिपलको रूख उम्रिएको छ। मन्दिर जुनसुकै बेला ढल्नसक्ने गरी चिराचिरा भएको छ। गुठी संस्थानअन्तर्गतको यस शिवालयको निर्माणको काम कत्ति पनि अघि नबढ्दा बेवारिसे अवस्थामा फालिएका भीमसेनको आत्मामुक्तिको शास्त्रीय विश्वासअन्तर्गत बनाइएको १७८ वर्ष पुरानो पुरातात्विक मन्दिरले भीमसेनको आखिरी कालको जस्तै टिठलाग्दो लावारिसे अवस्था सामना गर्दै झरी र हुरी खेप्दै उद्धारको प्रतीक्षा गरी बसेको छ।
भीमसेनको आखिरी अवस्था र भीममुक्तेश्वर शिवालयको बेहाल अवस्थालाई आजको नेपालको अवस्थासँग तुलना गरी हेर्ने हो भने देश उस्तै बेहाल, जीर्ण अवस्थाबाट गुज्रिइबसेको छ। कोही नायक आएर यसको जिर्णोद्वार गरिदेला भन्ने युगिन प्रतीक्षामा बसिरहेको परित्यक्त दुखियाको हालतमा नेपाली समाजको मनोदशा बिघटित भएको छ।
आफ्नै तागतको बलमा जराजिर्ण बनाइबसेको धूलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने आत्मविश्वासको लौरोसमेत अरू कसैले दिइदेला भनेर उद्धारको प्रतीक्षामा बसेको देश र देशवासीको यथार्थ वर्तमान भीमसेन थापाको बेवारिसे शव र आजको लावारिस भीममुक्तेश्वर शिवालयजस्तै कारूणिक अवस्थामा गुज्रिइरहेको दुखद यथार्थ हाम्रोसामु छ।
भीमसेनको जग
विसं १२४६ मा डोटीको काँडामालिकाको रजाइँँ गर्ने कालु थापाबाट आजको नेपाली सरहदमा आफ्नो पुर्खाको उपस्थितिको कथन थापाहरूले प्रचार गर्ने गरेको देखिन्छ पारिवारिक वंशावलीलाई सिरानी हालेर। त्यहाँबाट पुलाचौर, रूकुमकोट, ज्यामरूककोट रजाइँँ गर्न आएको वंशावलीमा उल्लेख भएको पाइन्छ। तिनै कालु थापाको वंशजका वीरभद्र थापा तनहुँबाट गोर्खा गएको देखिन्छ। पृथ्वीनारायणकालीन समय कालमा गोर्खा दरबार पसेका वीरभद्रका छोरा थिए सानाकाजी अमरसिंह थापा अर्थात् भीमसेनका पिता। भीमसेनको जन्म विसं १८३२ मा गोर्खामा भएको थियो।
इतिहासज्ञहरूले भीमसेनको जन्म बोर्लाङ्गमा भएको र थापा परिवारले भने गोरखा बजारनेरको पिपलथोकको पुर्ख्यौली घरमा भीमसेनको जन्म भएको उल्लेख गर्ने गरेको पाइन्छ। बोर्लाङ्गको जमिन भीमसेनले कुलानन्द जैसी (ढकाल) बाट विसं १८८४ मा किनेको लालमोहर थापा परिवारबाट पंक्तिकारलाई प्राप्त भएको छ। यद्यपि पंक्तिकारको जानकारी स्रोतबाट टाढा नरहेको बोर्लाङ्ग भेगमा गरिएका अनेकन सोधखोजमा त्यस इलाकामा भीमसेन थापाको अनकेन कित्ता जमिन रहेको पाइएको छ।
बोर्लाङ्ग, नामजुङ्ग, दर्बुङ्ग, मकैसिङ्ग, खरि, मैदी लगायत विशालतम भेगमा उनको जमिन रहेको र कुलानन्दबाट त्यस भेगमा ती सबै जमिन एकैपटक नकिनिएकाले र त्यस इलाकाको तमाम भेग त्यसबखत बोर्लाङ्ग प्रमन्नाअन्तर्गत रहेकाले विसं १८८४ मा किनेको जमिन कुन चाहिँ हो भनेर यकिनसाथ भन्न सकिँदैन। के चाहिँ भन्न सकिन्छ भने त्यो भेगका साराका सारा जमिन एकैपटक भीमसेनले विसं १८८४ मा मात्रै खरिद गरेका नभई पुर्ख्यौली जमिनमाथि थप गरेको देखिन्छ।
अर्कातिर गोरखा बजारछेउको पिपलथोकमा भीमसेन थापाको परिवारको पुर्ख्यौली जमिन थियो या थिएन भन्ने कुरा अमरसिंह थापाको शेषपछि उनका छोराहरूमा भएको अंशबन्डामा पिपलथोकको जमिन कसैको पनि भाग नलागेको देखिनुले अन्यौलमा पार्छ।
सिलसिला
पृथ्वीनारायणको समयकालमा उनैको नेतृत्वमा सुरू भएको गोरखा राज्य विस्तारको अभियान रणबहादुरको समयकालमा आएर शिथिल भयो। बाह्र हजार कुरिया भएको गोरखा बाउन्न लाख विस्तारित गोरखाका रूपमा फैलिएको थियो जसले कालान्तरमा नेपाल भूगोलका रूपमा परिचय ग्रहण गर्यो। विसं १८३१ मा पृथ्वीनारायणको मृत्युपछि सिंहप्रताप शाह गद्दीनासिन हुन पुगे।
सिंहप्रताप जसलाई इतिहासमा प्रतापसिंहका नामले परिचय दिने गरिएको छ, उनको समयमा देशको भूगोल बढाउने काममा उनको अभिरूचि खासै जागृत भएको देखिँदैन। तीन वर्षकै अन्तरालमा सिंहप्रतापको मृत्यु भएपछि रणबहादुर गद्दीनासिन हुन गएपछि उनलाई राजा थापेर नायबी चलाएका राजेन्द्रलक्ष्मी र पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा देशको भूगोल विस्तार गर्ने अभियान तीव्रतर भएर गयो।
तनहुँमा थाना हालेर अघि बढेको पश्चिमको विजय अभियान काँगडासम्म पुग्यो। पूर्वमा पृथ्वीनारायणको समयमै सुखिमसँग सम्झौता गरेर टिष्टालाई दुई राज्यबीचको पानीढलो बनाइसकिएको थियो।
जब उमेर पुगेपछि रणबहादुरले नायबहरूबाट सत्ताको बागडोर आफ्नो हातमा लिए, त्यसपछि राज्य विस्तारमा अग्रसर नेपाली राजनीति आन्तरिक कलह, खिचातानी, मारामार र विघटनको दिशातिर तीव्रतर भएर गयो।
रणबहादुरले दरबारभित्र आफ्नै खलकको हत्याको शृंखला सुरूआत गरे। आफ्नै काका नेपाल विस्तार अभियानका एक सिद्धहस्त नेतृत्वकर्ता बहादुर शाहलाई कैद गरे। अहिलेको परोपकार भवन भएको ठाउँतिर तत्कालीन समयमा रहेको बन्दीगृहमा कैद गरिएको अवस्थामा विसं १८५४ असार १४ को राति हत्याराहरू पठाई बहादुर शाहको हत्या गराए रणबहादुरले (आचार्य, बाबुराम–भीमसेन थापाः यिनको उत्थान तथा पतन, पृ २१)।
रणबहादुरकी जेठी पत्नी राजराजेश्वरी (बुद्धिलक्ष्मी ?) तर्फ छोरी मात्रै भएको थियो भने कान्छी सुवर्णप्रभाको तर्फबाट रणउद्योत शाह र शमशेर शाह नामका छोराहरू जन्मिइसकेका थिए। रणउद्योत स्वभावत: राजगद्दी उत्तराधिकारीका रूपमा दाबेदार थिए, राजाको जेठो छोरा राजा हुने परिपाटीका आधारमा।
विसं १८५२ को शिवरात्रिमा पशुपति दर्शनमा तिरहुतबाट आएकी विधवा ब्राह्मणी कान्तवती मिश्रको रूप, यौवन र सुन्दरताको खबर सुनेपछि रणबहादुरको आदेशमा कान्तवतीलाई पक्राउ गरी म्यानमा हालेर वसन्तपुर दरबार ल्याइयो (आचार्य, उही, पृष्ठ १६)।
सत्तासीन सनकी राजाको हठपूर्ण विवाह प्रस्तावबाट आजित उनले आफूबाट जन्मेको छोरालाई राजगद्दीको उत्तराधिकारी बनाउने असम्भवजस्तो प्रस्ताव रणबहादुरसमक्ष पठाइन्। कान्तवतीको मोहक यौवन र सौन्दर्यमा लट्ठिएका रणबहादुरले बाचासहित स्वीकार गरेपछि कान्तवती र रणबहादुरबीच शाहहरूको मूलभवन गोर्खा दरबारमा विसं १८५२ को उत्तरार्द्धमा बिहे भयो (आचार्य, उही, पृ १७)।
राजतन्त्रको स्थापित परम्परामा राजाको जेठो छोरा राजा हुने थिति बाँधिएको थियो। आफ्नो यौन उन्माद र स्त्रीलम्पट प्रवृत्तिलाई मल हाल्न रणबहादुरले स्थापित परम्परामाथि तोप पड्काए र जेठो छोरा रणउद्योत हुँदाहुँदै कान्तवतीबाट जन्मिएका गिर्वाणयुद्धलाई युवराज घोषणा गरे।
गिवार्णयुद्ध जन्मिएको वर्षदिन नपुग्दै कान्तवती क्षयरोगबाट ग्रसित भएपछि 'साँढे वैद्य' लक्ष्मीनारायण दाहाल र त्यस बखतका प्रख्यात वैद्य मिलह्म वैद्य उपचारमा खटाइए। मिलह्मले कान्तवतीको उपचारका लागि गेरूवा वस्त्र धारण गरी ब्रह्मचार्य–ब्रतमा बस्नुपर्ने बताएपछि रणबहादुरले म पनि रानीसँगै गेरूवा धारण गर्छु भनी स्वामी बन्न कस्सिएपछि त्यसको आलोचना गरेका राजगुरू गजराज मिश्र, श्रीकृष्ण शाह निर्वासित हुन बाध्य पारिए (आचार्य, उही, पृ २३, २४)। रेसुंगाका स्वामी शशिधर मरासिनीले स्वामी निर्वाणानन्द नामाकरण गराइदिए रणबहादुरको (सुवेदी, राजाराम–नेपालको तथ्य इतिहास, पृ १९८) र राजपाठ त्यागेको घोषणा गर्दै गिर्वाणयुद्धलाई राजतिलक दिलाई सत्ताबाट बाहिरिए।
कान्तवती मरेपछि अर्धपागलको अवस्थामा पुगेका उत्तेजित रणबहादुरले कान्तवतीको उपचारमा संलग्न मिलह्म वैद्यको औषधि बनाउने हात तेल पेल्ने कोलमा हालेर पेल्न लगाएर उनको हत्या गरे भने लक्ष्मीनारायणको आँखामा सिउँडीको चोप खन्याएर चारपाटा मुडी भारततर्फ लखेटियो।
पशुपतिनाथको मूर्ति तोपले उडाउन कस्सिएका उनलाई भारदारहरूले रोके पनि 'तुलजा भवानी' को मूर्ति उखेली मसानघाटमा मिल्काइदिए। स्वयम्भूको 'हारती माता' को मूर्ति उखेलिदिए। भक्तपुरको 'बेताल' को मूर्ति बञ्चरोले फोरे भने कुम्भेश्वरको शिवलिंगमा दिसा लेपन गराइदिए।
कान्तवतीको उपचारमा लागेका ठूला–साना तान्त्रिक–वैद्य–पण्डितहरू अपमानित गरिए, डामिए, सर्वस्वहरण गरिए। त्यसै बखतदेखि दरबारको कुदृष्टिबाट बच्न वैद्य–तान्त्रिकहरू पलायन भए र देशमा वैद्य–तन्त्र विद्या निम्छरो हुँदै जान थाल्यो। बिफर नै नआएका कलिला बच्चाहरूसमेत काठमाडौंबाट निकाला गरिए। आफूले पहिले भारदारहरूलाई धर्मपत्र भकाएर गिर्वाणलाई गद्दी हस्तगत गरेका थिए। धर्मपत्रप्रति प्रतिबद्ध भारदारले बालक गिर्वाणयुद्धलाई भगाएर नुवाकोट लगे र त्यहीँबाट देशको शासन, प्रशासन चल्न थाल्यो। स्वयं रणबहादुर देउपाटनबाट पाटन सरे (पाँडे, भीमबहादुर–राष्ट्रभक्तिको झलक, पृ ८३)।
संन्यास ग्रहण गरेर राजपाठ त्यागेका उनी फेरि आफैं सत्ताको भोग गर्न अधिकार हात लिने उद्यममा अग्रसर भए। त्यसले देशमा समानान्तर सत्ता अभ्यास अघि बढ्यो। त्यही सत्ता छिनाझम्टीका क्रममै नुवाकोट पुगेका रणबहादुरले सत्ता र शक्तिको सनकमा बिना कुनै अपराध सरदार अमरसिंह थापा (बूढाकाजी) र रणबम पाँडेलाई खुट्टामा बाँधेर झुन्ड्याइदिए भने परशुराम थापालाई छालामा राखेर घिसार्दै बजार घुमाइदिए। सरदार प्रबल रानालाई श्रीमतीको पोसाक पहिराएर बजार घुमाए।
रणबहादुरको उदण्ड स्वभावबाट आजित नुवाकोटमा गिर्वाणयुद्धको भारदारीसभामा कार्यरत भारदारहरूले रणबहादुर र राजराजेश्वरीसमेतलाई नजरबन्दमा राख्ने मतो गरेपछि त्यसमा असहमत बलभद्र शाह नुवाकोटबाट पाटन गई रणबहादुरलाई नुवाकोट योजनाको पोल खोलिदिए। त्यसबाट आक्रोशित रणबहादुरले राजगद्दी आफैंले फिर्ता लिएको भन्दै पाटनमा नयाँभारदारी सभा घोषणा गरे। यसरी पाटन र नुवाकोट गरी देशमा एकसाथ द्वैध सत्ताको अवस्थाबाट नेपाल गुज्रियो।
रणबहादुर पक्षधरले नुवाकोटको ककनीमा गद्दीनासिन राजा गिर्वाणयुद्धविरूद्ध किल्लाबन्दी गरे। तारादल, रणशेर, रणभीम, देवीदत्त पल्टनहरू रणबहादुरको पक्षमा गए पनि बाँकी देशभर खटिएको सैनिक बल गिवार्णयुद्धको पक्षमा उभिँदै नुवाकोट दरबारमा हाजिरी जनाउन आइपुग्यो।
उक्त फौज लिई पाटन हान्न बढेका काजी दामोदर पाँडे ककनीको किल्ला भत्काई मुड्खु आइपुगेको खबर सुन्नासाथ रणबहादुर भागेर वनारसतिर लागे। त्यसरी भाग्दा रणबहादुरसँगै वनारस जानेको हुलमा थिए– भीमसेन थापा, रंगनाथ पौडेल, दलभञ्जन पाँडे, रणध्वज थापा, उदय गिरी लगायत ५० जना पुरूष र ४ बग्गी महिला पनि (पन्त, नयराज–भीमसेन थापा, पूर्णिमा, पूर्णांक ३२, पृ २२०)।
धर्मरमा विस्तारित नेपाल
राज्य विस्तार क्रममा तरबार र खुकुरीको भरमा जितिएका नयाँ भूगोलमा आन्तरिक व्यवस्था बलियो भइसकेको थिएन। अधिनस्थ भूगोलका मानिसले विस्तारित नेपालको आधिपत्य अन्तरमनदेखि शिरोपर गर्न मानिरहेका थिएनन्। त्यसले नयाँ भूगोलमा आन्तरिक अव्यवस्था कायमै थियो। त्यसलाई व्यवस्थापन गर्नुपर्ने बेला केन्द्रमा भने रणबहादुरले भयानक अराजकता मच्चाइदिएर केन्द्रीय भारदारहरूलाई सत्ताको छिनाझम्टीमा रणबहादुरको पक्ष लिने कि गिर्वाणको भन्ने स्तरहीन कटाक्षको पक्षविपक्षमा फसाइदिएका थिए।
पृथ्वीनारायणको पालादेखि राज्यको भूगोल विस्तारमा आफूलाई दत्तचित्त भएर लगाएका भारदारहरूले राज्य विस्तार र विस्तारित भूगोलको आन्तरिक अव्यवस्था सुलह गराउनमा समय लगाउनै पाएनन्। जसको उत्कर्षमा विजित भूगोलभित्र नागरिक स्तरमै आन्तरिक कलहले आकार लिँदै गरेको परिणाम पछिबाट नेपाल-अंग्रेज युद्धमा नेपालले चुकाउनुपर्यो।
पछि अनेक परिबन्द मिलेर विसं १८६० मा रणबहादुर नेपाल फर्किए। संन्यास ग्रहण गरेर राजपाठ त्यागिसकेका रणबहादुर नेपाल फर्किएपछि भीमसेन थापाको सल्लाह र उत्प्रेरणामा गेरूवस्त्र फालेर राजदरबार छिरे। त्यहीँबाटै नेपालको अधोपतन झनै तीव्रतर भएर गयो।
वनारसबाट फर्किएका रणबहादुर र उनको टोलीलाई रोक्न थानकोट फेदी पुगेका मूल–काजी दामोदर पाँडे र सरदार प्रबल राना रणबहादुरको आदेशमा पक्रिई खुट्टामा नेल, हातमा हतकडी पहिराएर ल्याई लुमडी (भद्रकाली) नेरको सत्तलमा बन्दी बनाएर राखियो। राति पहरेदार निदाएको मौकामा प्रबल रानाले भाग्ने मतो गर्दा 'पाल्पा पुग्न सके पृथ्वीपाल सेन आफ्नो पक्षमा आउने र पाल्पा–पर्वतदेखि गढवालसम्म आफ्नो नियन्त्रण कायम गर्न सक्ने तर त्यसो गर्दा आफ्ना दिवंगत पिता काजी कालु पाँडे, दाजु काजी वंशराज पाँडे र आफैंले समेत प्राणको बाजी लगाई, रगत पसिना बगाई जोडेको मुलुक आफ्नै हातले दुई टुक्रा हुने र कालान्तरमा नेपाल नै फिरंगीहरूको शिकार बन्ने' भनेर भाग्न अस्वीकार गरेका दामोदर पाँडेलाई १८६० चैत ३ गते लुमडी नजिकको घाट (उक्त सार्वजनिक घाट अहिले सैनिक मुख्यालयको भागले कब्जा गरिबसेको छ) मा गिँडियो।
दामोदर पाँडेका कलिला छोराहरू ललितबम, रणकेशर, गजकेशर पाँडे बिनाकसुर त्यहीँ गिँडिए। टक्सारी भीम खवास र उनका एक छोरालाई विष्णुमती लगेर काटियो। खवासका अर्का एक छोरालाई टौदहको पोखरीमा डुबाएर मारियो भने अर्का छोरालाई तीन दिनसम्म खुट्टामा पासो लगाई रूखमा झुन्ड्याउँदा पनि नमरेपछि काटेर मारियो।
शंखधर खवासलाई खाडल खनी कुमसम्म पुरेर कपालमा खोटो दली आगो लगाई जिउँदै पोलियो। सरदार इन्द्रमान खत्री, द्वारे समनसिंह र सुबेदार मानधनलाई पनि गिँडियो र भीमसेन थापाको सत्तारोहको यात्रा रगतको वीभत्स भेलबाट रंगीन बनाएर सुरू गरियो।
वनारस छँदै सल्लाह भएको थियो– रणबहादुर नेपाल फिरेपछि नेपालको वैधानिक मन्त्रिपरिषद भंग गरी आपसमा पद बाँडफाँड गर्ने। सोही पूर्वयोजनाअनुरूप सरदारबाट हटाइएका भीमसेन थापा एकैचोटि काजी भए। उनका पिता र भाइ पनि काजी भए।
विसं १८४४ मा १२ वर्षको उमेरदेखि रणबहदुरको बालसखा बनेका भीमसेन थापा पछिबाट रणबहादुरका अंगरक्षक नै बन्न पुगे (उपाध्याय, श्रीरामप्रसाद–नेपालको समीक्षात्मक इतिहास, पृ १९३)। त्यस बखत एकै समय अमरसिंह थापा नामका दुई जना भारदारहरू नेपाल दरबारमा कार्यरत थिए। भीमसेनका पिता सानाकाजी भनेर चिनिन्थे भने राष्ट्रिय विभूति अमरसिंह थापा बूढाकाजीका रूपमा, जो पछिबाट बडाकाजीका रूपमा समेत चिनिए जसरी पहिले बूढामहाराजका रूपमा सम्बोधित पृथ्वीनारायण पञ्चायतकालीन सौन्दर्यगाथाको परितोषले सजिएर बडामहाराज बनाइए।
तिनै बडाकाजी अमरसिंह विसं १८४१ अघि नै सरदार भइसकेका थिए भने त्यस बखत भीमसेनका पिता जमदार पदमा कार्यरत थिए। विसं १८५६ मा सुबेदारबाट एकैचोटि सरदार भएका थिए उनी र उनकै खान्गीमा भीमसेन पनि सुबेदारबाट सिधै सरदार भएका थिए (नेपाली, चित्तरञ्जन–भीमसेन थापा र तत्कालीन नेपाल, पृ २५३–२५४)।
यहीँनेर थपौं, विरोधीहरूको दमन गरी सत्ता हातमा लिएपछि भीमसेन थापा, रंगनाथ पौडेलहरूले वनारसमा छँदै बनाएको योजनामुताबिक पृथ्वीनारायणका माइला भाइ महोद्यामकीर्ति र साहिँला भाइ दलमर्दन शाहका सन्तानहरू बसिरहेको घर कब्जा गरे।
महोद्यामका सुस्त मनस्थितिका जेठा छोरा पहलमानसिंहका भीमप्रताप र भीमरूद्र नामका छोरा थिए। माहिला बलभद्रको कुनै सन्तान थिएन। उनी राजराजेश्वरीको संरक्षक भएर वनारसबाट फर्कंदा रौतहटको बडरहवामा मरेका थिए। कान्छा श्रीकृष्ण शाहको मृत्यु भएकाले उनका छोरा वीरभद्र पनि पहलमानसिंहकै छोराहरूसँग एउटै भवनमा बस्थे।
उता पृथ्वीनारायणका अर्का भाई दलमर्दन शाहको वृद्धावस्थामा जन्मेका छोरा कुलचन्द्र (कुलदीप ?) शाह दस वर्ष आसपासका मात्रै थिए। दलमर्दनको मृत्यु भइसकेकाले कुलचन्द्र आमासँग पुर्ख्यौली घरमा बस्थे।
तत्कालीन मकवानपुरले चर्चेको तराई भेगको प्रशासक भएर बसेका महोद्दामकीर्तिले मकवानपुरको राजा हुने दाबीलाई पृथ्वीनारायणले 'विभाजित र टुक्रे राज्यलाई एउटै राज्यमा मिलाएको भाइभतिजालाई पगरी बाँड्न होइन' भनेर सातो लिए पनि उनले राजा हुन्छु भनेर पगरी नै बनाएको खबर केहरसिंह बस्नेतले पृथ्वीनारायणलाई पठाइदिए। त्यसपछि पृथ्वीनारायणले 'त्यसो गरिस् भने तेरा आँखा झिकिदिन्छु' भनेर डाँटेपछि महोद्दामकीर्ति विभिण्डिएर हिँडे र उनलाई खुसी पार्न रोजेको दरबार दिइएको थियो।
उनले काठमाडौंमा उपलब्ध मध्य हनुमानढोका दरबारपछिको सबभन्दा भव्य बाग–बगैंचाले सुशोभित, टुँडिखेलको पश्चिम दक्षिणतिर रहेको भव्य र सुन्दर महल महोद्दामकीर्तिलाई दिएका थिए। मनमोहक बाग–बगैंचाको आबादीभित्रको महल हुनाले उक्त महल बाग महल (दरबार) का नामले चिनिन्थ्यो जो फैलिएको थियो अहिलेको सुन्धारादेखि त्रिपुरेश्वरसम्म। त्यहीँकोे जमिनमा पछि हाडनाता करणीमा परेका भद्रशमशेरलाई राख्न बनाइएको जेल अहिले भद्रगोल जेलका नामले चिनिन्छ।
अर्का भाइ दलमर्दनलाई पृथ्वीनारायणले अहिलेको जुद्ध सडकबाट इन्द्रचोक जाने बाटोको धर्मपथको भवन दिएका थिए। महोद्दामकीर्ति र दलमर्दनका नाबालक नाति र छोराहरू वीरभद्र, भीमप्रताप, भीमरूद्र र कुलचन्द्र शाहहरूका आँखा फुटाएर उनीहरूलाई भण्डारखालमा कैद गरियो। वीरभद्रहरूको भव्य बागदरबार विसं १८६१ फागुन २८ भीमसेन थापाले कब्जा गरे भने धर्मपथको कुलचन्द्र बसिरहेको भवन रंगनाथ पौडेल (पण्डित) लाई दिलाइयो। धर्मपथको उक्त भवनमाथि शेरबहादुर शाहीले पनि आँखा लगाएका थिए। नपाएपछि त्यही विवाद लम्बिँदै गएर रणबहादुरको हत्यासम्म पुग्यो।
रक्तपातको संगठित श्रृंखला
यसै क्रममा विसं १८६३ वैशाख १६ को राति राज्यकोषको १८ हजार रकम हिनामिना भएको भन्दै त्यसउपर छलफल गर्न पहिले त्रिभुवन प्रधानको स्वामित्वमा रहेको र पछि रणबहादुर र भीमसेनको चाँजोपाँजोले कीर्तिमानसिंह बस्न्यातकी आमा चित्रावतीको नाममा बकस दिइएको हालको रणमुक्तेश्वरको भवनमा भारदारी कचहरीको आयोजना भयो।
सवालजवाफ क्रममा रणबहादुरले शेरबहादुरलाई हियाउँदा रिसाएका शेरबहादुरले आफूले भिरिराखेको तरबार झिकेर रणबहादुरमाथि प्रहार गरे। रणबहादुरको पेटमाथि तरबार बज्रियो। शेरबहादुरले तत्काल अर्को प्रहार थपेर रणबहादुरको वीभत्स अवस्था सिर्जना गरी भाग्न लाग्दा उनी जंगबहादुरका पिता बालनरसिंह कुवँरद्वारा गिँडिए।
रगतको आहालमा वीभत्स रूपमा डुबेका रणबहादुरको तत्कालै मृत्यु भयो। सत्ताको बालिग भएपछि आफ्नै काका बहादुर शाहलाई जेलभित्रै हत्या गरेको एक दशक पनि नपुग्दै रणबहादुर आफ्नै भाइबाट वीभत्स रूपमा मारिए।
यसरी सत्ता र शक्तिको उन्मादले टिठलाग्दो अवसानको नियति बेहोर्यो।
फ्रान्सिस बुचनान ह्यामिल्टनका अनुसार रणबहादुरले शेरबहादुरलाई लडाइँमा पठाउन खोजेको तर शेरबहादुरले हामी दुवै एउटै बाबुका छोरा हौं, लडाइँमा जानैपर्ने हो भने दाजु अघि लागे म पछ्याउँछु भनेपछि क्रोधित रणबहादुरले उनलाई तत्काल पक्राउ गरी काट्न आदेश दिए। त्यसपछि कसैले याद नगरेको अवस्थामा शेरबहादुरले कम्मरको तरबार निकालेर रणबहादुरमाथि प्रहार गरिदिए (एन एकाउन्ट अफ दी किङ्गडम अफ नेपाल,पृ २६०)।
आफैंले सहमतिमा बोलाउन लगाएको कचहरीबाट खाना खाने बहानामा निस्किएका भीमसेन थापा रणबहादुर र शेरबहादुरको वीभत्स अवस्था सिर्जना भएपछि मात्रै फर्किए। शेरबहादुरका दुई जना कमरा केटाहरूलाई तत्कालै काट्न लगाए। विदुर शाही, त्रिभुवन प्रधान, नरसिंह गुरूङ, पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ थुनिए र भोलिपल्ट भण्डारखालको बगैंचामा गिँडिए।
सत्ता आफ्नो हातमा आएको उन्मादमा भीमसेनले हेलम्बुमा निर्वासित राजराजेश्वरीलाई आफ्ना अनुत्तरदायी पतिको सतीको चितामा रणबहादुर मरेको नवौं दिनमा १४ जना सुसारेसहित जलाएर उनको उपस्थितिले आफ्नो हालीमुहालीमा पर्नसक्ने बाधा सधैंका लागि पन्छाउन सफल भए (ह्यामिल्टन, उही, पृ २६१)।
पृथ्वीपाल सेनसहितका १८ पाल्पाली निरपराध अंगरक्षकलाई भण्डारखालको बगैंचामा काटेर लासलाई दाम्लाले घिसारेर विष्णुमतीको बगरमा फाली स्याल, कुकुर, गिद्धलाई खुवाइयो। जगत खवास विष्णुमतीमा काटिए। चौतारा विदुर र शेरबहादुर शाहीका निरपराध पत्नीहरू पोडेलाई भिडाइयो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त बृत्तान्त,पृ २८७–२९०)।
रणबहादुर मारिँदा गिर्वाणयुद्ध नौ वर्षका थिए। भीमसेन थापाले यो मौका छोपी आफू हर्ताकर्ता बन्ने काममा बाधकजस्ता सम्झेका भारदारहरूलाई रणबहादुर हत्याको मतियार हुन् भन्ने दोष लगाई निर्दयतापूर्वक मराए। आफ्ना बाबु, चार भाइ तथा आफूसमेत छ जनाले नै राजाको तथा सारा नेपालको रक्षा गरिरहेछन् भन्ने कुरा फैलाई (बागमतीको भीमसेन थापाको स्तम्भलेखन) नेपाल राज्यको हर्ताकर्ता बन्न पुगे (बाँडा, सुन्दरानन्द–त्रिरत्न सौन्दर्यगाथा,सम्पादक–धनबज्र बज्राचार्य, पृ ६०)।
रणबहादुरसँगै उनका दुई भाइ विदुर र शेरबहादुर मारिएकाले तत्कालीन नेपालको केन्द्रीय राजपाठमा पृथ्वीनारायणका सन्तानमा प्रभावशाली व्यक्ति कोही पनि बाँकी रहेन। त्रिभुवन प्रधान र नरसिंह गुरूङ मारिँदा नेवार र गुरूङ राजकाजबाट बेदखल भए।
यस किसिमबाट अरू जातको प्रभाव गिराई भीमसेनले खसराज्य खडा गरे। खसमा पनि अनुभवी राजनीतिज्ञ दामोदर पाँडे अघिबाटै काटिएका र बखतवारसिंह बस्न्यात र बडाकाजी अमरसिंह थापा काजको बहाना गरी काठमाडौंबाट दूर भूगोलमा अल्मल्याइएकाले पृथ्वीनारायणको पालादेखि राजकाजमा अनुभवीहरू कोही पनि काठमाडौंको केन्द्रीय सत्तामा रहेनन्।
अनुभवहीन भीमसेन र उनका अनुयायीहरूको हातबाट राजकाज चल्न लाग्यो। आफू बसिआएको बाग महलको स्थानमा ठूलो दरबार बनाए। उनको पालाभर भीमसेन, उनका बाबु, भाइभतिजाबाहेक अरू जर्नेल भएको थाहा पाइएको छैन (पन्त, नयराज –उही, पृ २३३)।
जब भीमसेन सत्ताको हर्ताकर्ता बने, भीमसेनको वंश नै ठूलाठूला वीरहरूका भन्दा माथिल्ला पदमा पुगेको देखिन्छ।
काँगडाको लडाइँमा बडाकाजी अमरसिंह थापाले गरेको कामलाई छोपी भीमसेन थापाका भाइ काजी नयनसिंह थापाले गरेको भनेर प्रचार गराए (बागमती स्तम्भलेखन)। लड्दा लड्दा जीवन बिताएका भारदारहरको नाम नलिई भीमसेनले मेरो बाबु अमरसिंह (साना) ले अंग्रेजको बललाई रोकिरहेछन् भन्ने कुराको प्रख्यापन गराई आफूलाई र आफ्नो बाबुलाई जनरल बनाई आफ्नो वंशबाहेकका अरू भारदारलाई होच्याउने प्रथाको श्रीगणेश गरे। यसको परिणाममा भीमसेन सत्तामा बहाली रहँदाको नेपालको एकतिहाइ भाग गुमाउन देशले धेरै वर्ष कुर्नै परेन (बॉडा, उही, पृ ६९, ७२)।
बुटवल, स्यूराजसहितका केही विवादित स्थानहरूको सवाललाई लिएर इष्ट इन्डिया कम्पनीले नेपालसमक्ष असहमति पत्र पठाएको थियो। विस्तारित नेपालको व्यवस्थापन र प्रशासन सम्हाल्न गौंडा गौंडामा खटिएर गएका लडाइँमा लडे-भिडेका पुराना सेनानायकहरूले लडाइँलाई जसरी पनि टार्ने उपाय खोज्न भीमसेनलाई पत्र लेखेका थिए। बडाकाजी जनरल अमरसिंह थापा, मुलुकी सुब्बा चौतारा बम शाह, राजगुरू रंगनाथ पौडेल, काजी भक्ति थापा, दलभञ्जन पाँडे, हस्तदल शाहीसमेत युद्धको विपक्षमा थिए।
अमरसिंहले सैनिक तयारी पूरा नभएकाले बुटवल क्षेत्रका केही मौजाहरूको विवादलाई लिएर आफूभन्दा बलियो शक्तिसँग अनावश्यक मुकाबिला गर्दा जोडेको भूगोल पनि गुम्न सक्ने भएकाले बुटवल र स्यूराज दिएर भए पनि लडाइँ टार्नुपर्ने भाकाको पत्र पठाएका थिए।
लडे-भिडेका भारदारहरूको शृंखलाबद्ध रूपमा भीमसेनले हत्या गरिसकेका थिए। बाँकी रहेका लडाइँमा खारिएका भारदारहरूले देशको तागत नापिसकेका थिए। तर भीमसेन थापा आफूले मच्चाएको श्रृंखलाबद्ध हत्याकाण्डबाट भित्रभित्रै आक्रोशित जनभावना मोड्न देशलाई युद्धमा होम्न कटिबद्ध थिए, ताकि नागरिक आक्रोश युद्धतिर मोडियोस् र आफ्नो सत्तामाथिको संकटलाई विषयान्तर गर्न सकियोस्।
भीमसेनलाई पठाएको सुझाव नसुनिएको भान भएपछि बडाकाजी जनरल अमरसिंह थापाले काठमाडौं दरबारमा पत्र पठाए– 'यो लडाइँ हुन नपाओस् भनि हालै दखल गरिएका सब जग्गा छोडियून् भन्ने हाम्रो महाराजधिराजसँग प्रार्थना छ। अंग्रेजसँग राम्रै झगडा पर्यो भने हाम्रो राज्यका सम्पूर्ण व्यवस्था बिग्रने छ। लडाइँ गर्नैपर्छ भन्ने जो मानिस हो, सो दरबारमा बढेको हो, औ सैनिक जीवनको गाहारो साङुरोको कुरा उसलाई थाहा छैन (ज्ञवाली, सूर्यबिक्रम–अमरसिंह थापा, पृ ६०)।'
त्यसरी देशको तागत छामेर पत्र लेखेका अमरसिंह, बम शाह, दलभञ्जन, हस्तदल शाहीहरूलाई अंग्रेजसँग मिलिसकेको, लडाइँसँग डराएको भनेर आरोपित गरी आफ्नो योजनामुताबिकै भीमसेनले देशलाई युद्धमा होमे र परिणाममा नेपालले विजय हासिल गरेको विशाल भू–भाग नेपालले गुमाए पनि भीमसेनको सत्ता भने अकण्टक जारी रह्यो।
अमरसिंहहरू अराष्ट्रिय भए। त्रिहत्तर वर्षको उमेरमा देशको माटो जोगाउन विदेशी तोपको मोहरा छोप्न छाती थाप्ने भक्ति थापा राष्ट्रिय विभूति भएनन्। देशलाई लत्याएर विदेशी दरबानमा छाती नाप्न पुगेका बलभद्र बालकृष्ण समका पुर्खा भएकै कारण विभूतिको सूचीमा टांगिए (हालैको दिनमा भक्ति थापा राष्ट्रिय विभूति भएका छन्, यो बेग्लै कुरा हो)।
कतिसम्म भने आफ्नो निहीत स्वार्थमा पाइन लगाउन देशलाई अनावश्यक युद्धमा होमेर देशको एकतिहाइ भूगोल गुमाउने भीमसेन थापा राष्ट्रिय विभूति बनाइए। नेपाली समाजको चेतनामाथि सत्ता र शक्तिको बलमा शासकहरूको मजाक गर्ने सिलसिला जो आजपर्यन्त जारी छ, त्यसको नाभी भीमसेनमै गएर अडिन्छ।
देशका लागि लड्ने अमरसिंहहरू विरक्तिएर हिँड्नुपर्ने र जीवनभर देशको भूगोल बढाउन युद्ध लडेका पृथ्वीनारायणकालीन योद्धाहरूले देशलाई युद्धमा नहोम भन्दा पनि नागरिक असन्तोषबाट आफ्नो सत्ता जोगाउन जबर्जस्ती देशलाई युद्धकुण्डमा होमेर देशको विशाल भूगोल हार्ने अभियानको नेतृत्वकर्ता भीमसेन थापा राष्ट्रिय विभूति हुने।
भीमसेनको हातमा देशको सत्ता र शक्ति आइपुग्दा विस्तारित नेपालको पूर्वी सिमाना टिष्टा र पश्चिमी सिमाना काँगडासम्म पुगेको थियो। उनले सर्वेसर्वा भएर ३१ वर्ष सत्ता चलाएर सत्ताबाट विदा हुँदै गर्दा नेपालको सिमाना एकतिहाइ घटेर आजको नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाहेकमा विघटित भएको थियो।
नेपाली समाजले आफ्नै ऐतिहासिक सामर्थ्यको विघटनका पात्रलाई कुन अभिसप्तताको मारबाट बच्न राष्ट्रिय विभूति मानेर शिरमा बोकी बसेको हो भनेर भीमसेन थापामाथि ऐतिहासिक मसीजीवीहरूले उठाएको सवाललाई बेवास्ता गर्न मिल्दैन। जसरी आजकै दिनमा पनि हामी नेपाली समाजलाई चुस्ने र खोक्रो बनाउनेहरूलाई पालैपालो सत्ताको शिखरमा राखेर आफ्नो शिरमा पहिरिइबसेका छौं। आफैंप्रतिको सदाबहार रामरमिता सायद हाम्रो मौलिक योग्यता हो।
इतिहासको पानीढलो
भीमसेन थापा सर्वेसर्वा भएर नेपालको सत्तामा बसेको दिन गिर्वाणयुद्ध नाबालक नै थिए।
जब उनी हुर्कंदै थिए, राजकीय संरक्षक ललितत्रिपुरासुन्दरीको हातमा थियो जसलाई ऐतिहासिकहरूले भीमसेनको भतिजी भनेर उल्लेख गरेका छन्। तर थापा परिवारका सन्तति उप–प्राध्यापक सुशीलविक्रम थापाले भने ललितत्रिपुरसुन्दरी भीमसेनकी भतिजी नभएको दाबी गरेका छन्।
नातासम्बन्ध जे भए पनि या नभए पनि ललितत्रिपुरासुन्दरीले आफ्नो जीवनकालभर भीमसेनको पक्षधर भएर दरबारबाट गराउनुपर्ने सारा प्रबन्ध बलियोसँग भीमसेनको पक्षमा मिलाएको देखिन्छ। हुर्किंदै गरेका गिर्वाण, रानीसहित तीन जनाको १८७३ मा महिनादिनको अन्तरालमा भएको मृत्युमा पनि भीमसेनमाथि विष खुवाएको आरोप जनस्तरमा लागेको पाइन्छ। यसलाई भीमसेनको मृत्युपछि प्रसारित पत्रमार्फत राजकीय स्तरमै उधिन्ने प्रयास गरेको देखिन्छ।
गिर्वाणको मृत्युपछि सत्तामा बसेका राजेन्द्रविक्रम त झनै साना बालक थिए, तीन वर्षका। ललितत्रिपुरासुन्दरी नायब। भीमसेन थापा मुख्तियार। यिनै दिनहरू थिए जहाँ भीमसेनको आधिपत्य र हैकम तेजतर्रार तवरले क्रियाशील थियो।
पृथ्वीनारायणको पालादेखि राष्ट्रिय अभियानका रूपमा सिँगो राज्य र जनताको तागत देशको भूगोल बढाउने अभियानमा संकेन्द्रित थियो। खासमा यो अभियान पृथ्वीनारायणको पालाबाट मात्रै आरम्भ भएको पनि थिएन। राज्यको उत्पत्ति भएदेखि नै मानव समाजमा आफ्नो भूगोल बढाउने उद्योग निरन्तर जारी थियो। आजको नेपाली सरहदमा रहेका तमाम समयमा पनि यो उद्योग निरन्तर थियो।
पृथ्वीनारायणको पालामा भने निर्णायक तवरले यो अभियान यति तीव्र विस्तारित भइरहेको थियो, गोरखाको भिरालो पखेराहरूबाट विस्तारमा अघि बढेको अभियान (गोरखाझैं विस्तारित हुने अभिलाषा पाली बाँचेका तर सामर्थ्यको अभाव झेलेका) अनेकन भुरेटाकुरे राज्यहरूलाई आफूमा समाहित गर्दै ब्रिटिस साम्राज्यवादसँग टकराउन उसको अधिनस्थ भूगोलको नाकैमा धून्य फहराउन पुगेको थियो टिष्टादेखि काँगडासम्म।
विस्तारित नेपालको भूगोल यतिविधि फैलिसकेपछि मात्रै भीमसेन यो विशालतम भूगोलको हर्ताकर्ता बन्न आइपुगेका थिए। यो भूगोलको विस्तारमा उनको कुनै भूमिका थिएन। उनका पिता भने यो अभियानको एक जना कनिष्ठै भए पनि (जमदार) कर्मठ सिपाही थिए। विसं १८५५ मा भीमसेन उनको पिता सानाकाजी अमरसिंहको खान्गीमा पितासँगै सरदार बनेका थिए।
विसं १८६३ को रणमुक्तेश्वरको हत्याकाण्डपछि लडाइँभिडाइँमा सिद्धहस्त पृथ्वीनारायणकालीन मुख्य योद्धाहरूको भीमसेनले छानी छानी कत्लेआम गरेका थिए। त्यसअघि नै रणबहादुर नेपाल फर्कनासाथ दामोदर पाँडे लगायतका लडाकू फौजी नेतृत्वलाई भीमसेनले सिध्याइसकेका थिए। लगातारको दमन र कत्लेआमबाट प्रत्यक्ष रूपमा शक्तिशाली भीमसेन थापाविरूद्ध बोल्न नसके पनि जनस्तरमा उनका विरूद्ध भुसको आगोझैं असन्तोषहरू फैलिइरहेको ऐतिहासिकहरूले उल्लेख गरेको पाइन्छ।
अर्कातिर नवविजित इलाकाहरूमा भएको रैथाने फौजी कमाण्डरहरूको चर्को शासनबाट नागरिकहरू असन्तुष्ट थिए। भीमसेन सत्तामा आएपछि आन्तरिक भूगोलमा उठेका नागरिक असन्तोषहरूलाई सम्बोधन गर्न देशको तागत संकेन्द्रित गराउनमा होइन, दरबामा आफ्नाविरूद्ध उभिन सक्ने सम्भावना भएका फौजी र गैरफौजी नेतृत्वको सफाया गराउने बाटोमा अग्रसर भए। आफ्ना सम्भावित विरोधीहरूमाथि निर्मम दमन गरे।
विसं १८७१ मा नेपालमाथि अंग्रेज हमलाको कालो बादल मडारिन थालेपछि युद्धमा सिँगो जीवन लगानी गरेका बूढाकाजी अमरसिंह थापा, मुलुकी सुब्बा बम शाह, दलभञ्जन, हस्तदल शाहीहरूले बुटवल र स्यूराज दिएर भए पनि युद्धको बादल सुलह गराउन विभिन्न फौजी मोर्चा र गौंडाहरूबाट भीमसेन र गिर्वाणका नाममा बारम्बार पत्र लेखेका थिए भनेर यसअघि नै उल्लेख गरिसकिएको छ। युद्ध गर्ने र सम्झौता गर्नेसमेत अधिकारको लालमोहर गोजीमा बोकेर बसेका भीमसेन भने देशलाई युद्धमा झोसेर आफूविरूद्ध उठेको असन्तोषलाई विषयान्तर गर्न कटिबद्ध थिए। उनले अंग्रेजको चेतावनी टार्ने कुनै उपाय जुगाड गरेनन्।
परिणामत: देश युद्धमा होमियो। युद्ध रोकिएर नेपाल र अंग्रेजबीच सुगौलीको सन्धि हुँर्दै गर्दा नेपालको अधिनबाट एकतिहाइ भूगोल गुमिसकेको थियो।
त्यही सुगौली सन्धि थियो जसले नेपाली समाजको सिँगो राष्ट्रिय संकल्पको लय मोडिदिएको थियो। कमसेकम राज्यको उदय, शासकको थापना र भूगोलको अधिपतिको अभ्यास मानव समाजमा आरोपित भएर त्यसलाई शिरमा बोकेर अघि बढेदेखि यताको एकालय नेपाली समाजको हकमा टुटेर नयाँ सामाजिक थितिको बाटोमा अग्रसर भएको थियो।
ऐतिहासिकहरूले नेपाली समाजको ऐतिहासिक कालक्रमलाई युरोपेली इतिहासको भाकामा दाँजेर विभिन्न कालक्रममा विन्यास गरेको पाइन्छ। नयाँ सामाजिक–आर्थिक उत्पादन प्रणालीले पैदा गरेको आन्तरिक र वाह्य अन्तरविरोधको समन गर्न राज्यको उत्पत्ति भएदेखि नै मानव समाज आफ्नो कजाइ र रजाइँको भूगोल विस्तार गर्ने अभियानमा निरन्तर क्रियाशील रहिआएको थियो।
बनिबनाउ राज्यमा आफ्नो कजाइ कायम गर्ने, आफ्नो रजाइँको भूगोल विस्तार गर्ने क्रममा यहाँ भएका अनेकन युद्ध गाथाहरूले भारतीय उपमहाद्वीपको साहित्यकथाहरू लछप्पै भिजेको पाइन्छ। रामायण र महाभारतजस्ता यहाँका लोकप्रिय गाथाहरूदेखि लामो समयकालसम्म चलेका अनेकन जातीय, धार्मिक युद्धहरूमा पनि त्यही रजाइँ र कजाइको भूगोल हस्तगत गर्ने अभिलाषाहरूको लोमहर्षक विवरण उल्लिखित भएको पाइन्छ।
विस्तारको तीव्रतर यात्रामा जति बेला गोरखाले आफूलाई अभिसारित गरिरहेको थियो, त्यस बखतसमेत आजको नेपाली सरहदभित्र अनगिन्ती अन्य 'गोरखा' हरू अस्तित्वमा थिए। ती हरेक 'गोरखा' राज्यमा आ–आफ्ना 'पृथ्वीनारायण' थिए। हरेक 'पृथ्वीनारायण' हरू आफ्नो राज्य विस्तार गर्ने अभिलाषासहति राज्यको सामर्थ्यले भ्याएसम्म फौजी तागत सन्केन्द्रित गरेर बसेका थिए। तिनीहरू सके अरूलाई आफूमा समाहित गर्ने ध्याउन्नमा थिए। सकेनन् र मात्रै गोरखाको अधीनमा गए। पृथ्वीनारायण बन्न नसकेका अनेकन 'पृथ्वीनारायण' हरूको राज्य र रजौटाहरू निल्दै गोरखाले आफूलाई विस्तारित गरेको हो।
त्यो अभियान संसारभर सञ्चालित थियो। आफूलाई विस्तार गर्ने अभियानकै घोडचढीमा सवार भएर ब्रिटिस साम्राज्यवाद भारतीय भूगोलमा कजाइ गर्न आइपुगेको थियो। त्यस्तोमा पहिलेको गोरखा र विस्तारपछिका नेपालीहरूले आफ्नो राज्यको साँधसीमा विस्तार गर्न खुँडामा साँद लगाएर युद्धमोर्चामा अग्रसर हुनु कुनै आश्चर्यको विषय थिएन। देशको भूगोल विस्तार गर्ने, देशका लागि जमिन जोड्ने अभियान नागरिकहरूको समेत राष्ट्रिय अभियान थियो।
युगौंदेखि जारी यो अभियान भीमसेन थापाको कालमा भएको सुगौली सन्धिपछि नेपाली मानसका हकमा सधैंका लागि विघटित भयो। उप्रान्त राज्यका लागि जमिन जोड्ने अभियान विघटित भएपछि यहाँका नागरिकमा साँधसीमा लागेको देशको भूगोलभित्र रहेको जमिनमा आफ्नो स्वामित्वको जमिन विस्तार गर्ने अभियान सामाजिक, सांस्कृतिक, आर्थिक तवरले तीव्र भयो। राष्ट्रका लागि जमिन जोड्ने ऐतिहासिक मार्ग राज्यभित्र आफ्ना लागि जमिन जोड्ने बाटोतिर मोडियो।
ठिक यही समय थियो जसले सिँगो नेपाली समाजलाई सामूहिक र राष्ट्रिय अभियानहरूबाट विचलित गराएर निजी र व्यक्तिगत स्वार्थको भीरतिर धकेलेको थियो। सम्पत्ति र शक्तिमा आफ्नो अधिकार क्षेत्र विस्तार गर्ने त्यही जरो फैलिँदै जाँदा भएको थियो राज्यशक्तिको केन्द्रमा हानाथाप र परिणामको कोतपर्व। जंगबहादुरको उदय यही व्यक्ति केन्द्रित सामाजिक शिक्षालयको आधारभूमिबाट भएको थियो।
यताका दिनमा लोकतन्त्रको जामा पहिरिएर जहानियाँ राजनीतितन्त्र सञ्चालन गर्नेहरूको अभिप्रेरणाको मूलस्रोत पनि यही सुगौली सन्धिले बदलेको नेपाली समाजको नयाँ सामाजिक परिपाटीको निरन्तरता अर्थात् राष्ट्रका लागि लड्नेबाट विघटित भएर आफ्ना लागि लड्ने बाटोको निरन्तरता मात्रै हो।
आफूलाई केन्द्रमा राखेर, आफ्ना लागि लड्ने चिन्तनले स्वतस्फुर्त राज्यको फौजमा सामेल हुने अभियानमा गिरावट आयो र तलबी सिपाहीमा राष्ट्रिय भावनालाई समर्पण गरायो। अब गुरिल्ला शैलीको फौजी संरचनाले स्थायी संरचनाको बाटो समायो। ब्यारेकहरू खडा गरिए। तलबी सिपाहीहरू भर्ती गरिए। राज्यका लागि वफादार बन्ने परिपाटी निखारेर जागिर दिनेप्रति वफादार हुने चिन्तनको आरोपण गरायो।
यहीँबाट नेपाली समाज इतिहासको नयाँ अक्षरहरूको विन्यास गर्न अग्रसर भयो- सुगौली सन्धि पहिलेको नेपाली समाज र त्यसपछिको नेपाली समाज। यसका भाका र लयहरू फेरिए। पद्धति र परिपाटीहरू बदलिए। पुरानो आर्थिक उत्पादन प्रणालीमा अभिसारित समाजले नयाँ आर्थिक उत्पादनको नयाँ परिपाटीमा आफूलाई अभ्यस्त गराउन अग्रसर भयो। नयाँ सांस्कृतिक परिपाटी आफूमा आरोपित गरेर समाज अघि बढ्यो।
यसो हुनु स्वाभाविक पनि थियो। संयोग हो, भीमसेन थापाको पालामा त्यसो भयो। अस्थिर भौगोलिक सीमासहितका राज्यहरू स्थिर भौगोलिक परिचयसहित अघि आउने क्रम तीव्र भइरहेको थियो। सामाजिक आर्थिक प्रणालीले समाजभित्र र बाहिर तीव्र अन्तरविरोधहरू पैदा गरिरहेका थिए। त्यसलाई थेग्न अस्थिरताबाट स्थिर फौजी, प्रशासनिक, राजनीतिक संरचनाहरूको निर्माण विश्वव्यापी रूपमा हुन थालेको थियो। देशको सिमाना निश्चित हुन थालेको थियो।
उसै पनि नेपाल विस्तारको अभियानले कहीँ न कहीँ पुगेर अभेद्य पहरासँग टकराउनु नै थियो। त्यो समय सन्निकट आइसकेको थियो। किनभने आफूभन्दा भयानक शक्तिशाली इष्ट इन्डिया कम्पनीले रजाइँ गरेको सीमासम्म नेपाली फौजले सिंहनाद गर्दै विजयश्रीको धून्य फहराइसकेका थिए। अब त्यसभन्दा अघि बढ्न अंग्रेजसँग टकराउनुपर्थ्यो। लडाइँभिडाइँमा जीवन समर्पित गरेका भारदारहरू यताका कैयन वर्षदेखि थप युद्धको मोर्चा खोल्न नपाएर जमिबसेका थिए।
तिनलाई वाह्य युद्धमा नलगाए या तिनको महत्वाकांक्षामा बन्देज नलगाए त्यसले आन्तरिक युद्धको अनिवार्य मोर्चातिर देशलाई अग्रसर गराउने थियो। अन्ततः अंग्रेजसँगको मोर्चा निर्णायक बनेर अघि आयो जुनसुकै सर्तमा आरम्भ भएको भए पनि र त्यसले नेपाली फौजी सरदारहरूको महत्वाकांक्षामाथि निर्णायक अवरोधको पर्खाल खडा गरिदियो। त्यस उप्रान्त नेपाली समाजका सबै लयहरू परम्परागत निरन्तरतामाथि क्रमभंग गर्दै नयाँ निरन्तरताको बाटोतिर अग्रसर भयो।
यसैको परिणाममा निर्माण भएको नयाँ सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक प्रणालीमाथि गहनतापूर्वक विचरण गर्दा सिँगो नेपाली इतिहासलाई सुगौली सन्धि अघि र त्यसपछिको सामाजिक परिपाटीका रूपमा अध्ययन गर्नुपर्ने पानीढलोमा निर्माण गरेर अघि बढ्यो। भीमसेन थापाकालीन सुगौली सन्धिअघिको सिंगो इतिहासमा अनेकन वंश र खलकका राजाहरू, शासकहरू आए, गए त्यो बेग्लै कुरा हो। तर ती सबै शासकहरूको, खलकहरूको, वंशहरूको अभियान आफ्नो राज्य विस्तारको अभियानलाई अघि बढाउने थियो। त्यो निरन्तर अघि बढ्ने र पछि हट्ने भइरहेको पाइन्छ।
भीमसेनकालीन सुगौली सन्धि नै त्यस्तो नयाँ पानीढलो बन्यो नेपाली समाजको जहाँदेखि यता सिँगो समाज राज्य विस्तारको अभियानबाट पछि हटेर राज्य जोगाउने शीर्षकमा अभिसारित भयो। राज्यको जमिन विस्तारको ऐतिहासिक पुरानो नदीको पानी सुकाएर राज्यभित्र आफ्नो जमिन विस्तार गर्ने नयाँ नदीलाई प्रवाहित गराउँदै अघि बढ्यो।
भीमसेनकालीन सुगौली सन्धिले विस्तारित नेपाली भूगोलको सरहदमाथि जतिसुकै तलबितल पारेको भए पनि त्यो निरन्तरताको निरन्तरता मात्रै थियो। किन पनि भने, सानो गोरखाबाटै विस्तारित भएर जोडिएको थियो विस्तारित भूगोल। नेपालले बल पुगेकैले अरूबाट छिनेको थियो त्यो। आफूभन्दा बलियोसँग टकराउँदा बलबाटै छिनियो नेपालले विजय गरेका भूगोलहरू।
राज्य निर्माणको यो निरन्तर प्रक्रिया थियो। सुगौली सन्धिले त्यसमा स्थिरताको लेपन लगाइदियो। अरू कैयन देशभन्दा केहीपहिले या कैयन देशभन्दा केहीपछि यसको स्थिरताको बाटो तय भयो होला, यसो हुनु नै थियो। इतिहासका निर्णायक परिघटनाहरू निर्णायक पात्रहरूकै नेतृत्वमा अघि बढ्छ चाहे त्यो सकारात्मक होस् या नकारात्मक। संयोगले इतिहासको त्यो नियति भीमसेनकालीन समयमा परिघटित भयो र जस-अपजसको भागिदार उनैले बन्ने अवस्था आयो।
यसले राम्रै पनि गर्यो। भीमसेन थापाले सिँगो शासनकालमा गलतै गलत मात्रै गरे भन्नु नेपाली समाजको आधुनिकीकरणमा उनले गरेको अद्वितीय योगदानमाथि कृतघ्न बन्नु ठहरिन्छ। नेपाली समाजको तमाम तवरले आधुनिकीकरण भीमसेनकालीन समयमै अघि बढ्यो। ऐतिहासिकहरूले अनेकन समय-मितिलाई नेपाली इतिहासको आधुनिक काल भनेर विन्यास गर्ने गरे पनि सामाजिक थिति र फौजी, सांस्कृतिक, आर्थिक परिसूचकहरूको उलटफेरको निर्णायक बाटोमा नेपाली समाजको यात्रारम्भको परिप्रेक्ष्यमा राखेर हेर्दा नेपाली समाजको आधुनिक काल सुगौली सन्धिपछिबाट भीमसेनकालीन समयमै आरम्भ भएको देखिन्छ।
देशको स्थिर सीमा निर्माण, नियमित र संगठित फौजी संरचना, बदलिँदो सामाजिक लय, व्यवस्थित परराष्ट्र नीतिको परिशीलन, संगठित र व्यवस्थित कानुनी उहापोह, (पहिलो मुलुकी ऐन त्यसैको परिणाम थियो, जंगबहादुरद्वारा जारी), समाजमा निर्माण भइरहेको नयाँ सांस्कृतिक गोरेटो सबैले समाजलाई आधुनिक परिपाटीमा अग्रसर गराएको थियो।
इतिहासका केही परिघटना हुन्छन्, चाहेर या नचाहेर त्यसले समाजको दिशा र दशा बदलिदिन्छ। सत्ता र शक्ति जोगाउने ध्याउन्नमा राष्ट्रिय सामर्थ्यको गलत या सही प्रयोग या दुरूपयोगले तत्कालको समस्यालाई समाधानको बाटोमा अग्रसर गराए पनि कालान्तरमा त्यसले समग्र देश र जनताको भविष्य भने तलबितलमा पारिदिन्छ। तलबितलमा पारिदिने पानीढलो बनिदिन्छ।
आज पनि हामी इतिहासबाट सिक्न तत्पर छैनौं। इतिहास आफैं छडी लिएर आफूबाट सिक्न मानिसहरूलाई बाध्य बनाउन अघि सर्दैन। नसिक्नेहरूलाई त्रासदी र प्रहसनको पात्र बनाएर अट्टहास गरिबस्छ।
आज हामी सत्ता जोगाउने या पाउने शीर्षकमा के के गरिबसेका छौं? शासनमा बस्नेहरूको सत्ता खेललाई कसरी मौनताले अनुमोदन गरिबसेका छौं? त्यसको हिसाब भविष्यले आजलाई इतिहास बनाएर हामीमाथि सोध्ने नै छ।
वर्तमानले सधैंभरि भविष्यको कठघरामा उभिनुपर्ने हुन्छ, इतिहासको कालखण्डका रूपमा। त्यस बखत जवाफ दिन हाम्रा कर्मबाहेक हामी हुने छैनौं जसरी आज हाम्रा प्रश्नहरूको जवाफ दिन भीमसेनकालीन कर्महरू मात्रै हाम्रा अघिल्तिर मौजुद छन्।