आज वैशाख १२ गते। २०७२ सालमा यही दिन आएको भुइँचालोको धङधङी हामीसँग छँदै छ। यी सात वर्षमा आइरहेका सानातिना धक्काले पनि हामीलाई त्यो दिन भुल्न दिएनन्। केही परकम्पन झस्काउने गरी आए, केही थाहै नपाई खुसुखुसु।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ सिनियर डिभिजनल साइस्मोलोजिस्ट लोकविजय अधिकारीले दिएको तथ्यांकअनुसार यो सात वर्ष अवधिमा ५५ हजारभन्दा बढी परकम्पन आइसकेका छन्। ७२ सालको भुइँचालोको परकम्पन आउने क्रम जारी नै छ।
हामीले ०७२ को भुइँचालो भने पनि गोरखा जिल्लाको बारपाक क्षेत्र इपिसेन्टर भएकाले सरकारी अभिलेख र विवरणहरूमा 'गोरखा भूकम्प' नामकरण गरिएको छ। यसको सातौं वर्षको सम्झनामा भुँइचालोबारे केही कुरा यहाँ लेखेको छु।
गोरखा भुइँचालो जाँदा संसारभरका भूवैज्ञानिकहरूको ध्यान हिमालयको हलचलले तान्यो। धेरै अध्ययन अनुसन्धानहरू भए। नेपाली भूवैज्ञानिकहरूलाई पनि सिक्ने र अनुसन्धान गर्ने मौका मिल्यो।
अध्ययनपछि थुप्रै लेख र सामग्री सार्वजनिक भए। धेरै सर्वसाधारणलाई नै भुइँचालो कसरी जान्छ भन्नेबारे धेरथोर वैज्ञानिक जानकारी भयो। धेरैले भन्न सक्छन्- हाम्रो जमिनमुनि रहेका भारतीय प्लेट (चट्टान) र युरेसियन प्लेट तल धसिँदा भुइँचालो गएको हो।
योसँगै मानिसहरूको अर्को चिन्ता र चासो देखियो- अब भुइँचालो कहिले आउँछ? कत्रो आउँछ?
अहिले पनि यी दुई प्रश्न हाम्रो समाजमा सुनिन्छ।
भूकम्प न हामीले सोचेर आउने हो, न हामीले ल्याउन सक्ने कुरा। यो हिमालयको नियमित भौगर्भिक प्रक्रिया हो। यसलाई मान्छेले रोक्न सक्ने क्षमता छैन।
हामीले गर्न सक्ने भनेको जोगिने हो। विभिन्न अध्ययनहरूका माध्यमबाट कति अन्तरालमा वा कुन बेला आउन सक्छ भन्ने अनुमानसम्म हामी गर्न सक्छौं। एउटा खाका बनाउन सक्छौं। पूर्व तयारीका रूपमा बलिया र सुरक्षित घर तथा संरचना निर्माण गर्न सक्छौं।
समग्रमा भुइँचालोबाट जोगिने एउटै उपाय हो हामी भूकम्प प्रतिरोधी हुनु। अर्थात् हामी बस्ने घर, कुनै पनि संरचना जसका कारण हाम्रो ज्यान जोखिममा पर्न सक्छ, ती बलियो बनाउने। लरतरो भुइँचालोले नछुने!
टोल बजारदेखि सम्बन्धित सरकारी निकायसम्म बारम्बार जोखिमबारे व्याख्या दिएर नथाक्ने हामीले भूकम्प प्रतिरोधी हुन भने खास चासो दिएका छैनौं। भुइँचालोले हुने क्षतिको डर हाम्रो बोलीमा छ, व्यवहारमा छैन। कमजोर संरचनाकै कारण ज्यान गुमाएका र घाइते भएकाहरूलाई हामीले भुलिसक्यौं।
यसको उदाहरणका रूपमा ०७२ को भूकम्पमा शान्तिनगर गेट र कीर्तिपुर विश्वविद्यालयमा ढलेका स्वागतद्वारलाई लिन सकिन्छ। ती संरचना ढल्दा केही मानिसको मृत्यु भयो।
अर्कातिर धरहरा ढल्दा एक-डेढ सयले ज्यान गुमाए।
अब आजको कुरा गरौं। हामीकहाँ अहिले स्वागतद्वार र धरहराजस्तै टावर बनाउने लर्को नै छ। देशभर सयौं द्वार बनिसके, भ्युटावरको त कुरै नगरौं।
यस्तो अवस्थामा हामीले सोच्नुपर्ने एउटै कुरा हो, के यी द्वार र टावर भुइँचालो धान्ने गरी बनाइएको छ? के तिनको डिजाइन र निर्माण भूकम्प प्रतिरोधी छ? कत्तिको भुइँचालो सोचेर बनाइएको छ? डिजाइन र निर्माणमा भएको त्रुटि, निर्माण सामग्रीको गुणस्तरमा हेलचेक्र्याइँकै कारण कतै हामीले सडकै र पालिकैपिच्छे द्वार र टावरका रूपमा यमराज त उभ्याएका छैनौं?
यसो भन्दैमा द्वार र टावर बनाउनै हुँदैन भन्ने मेरो भनाइ होइन। यसबारे सम्बन्धित निकायले अध्ययन र निधो गर्नुपर्छ।
भूगर्भविदका रूपमा मेरा केही सुझाव भने छन्।
संरचना बनाउँदा नक्सा बनाएर पास गर्नुपर्ने नियम त छ। तर ती बनाउँदा प्राविधिक अनुगमन, निर्माण सामग्रीको गुणस्तर परीक्षण, वातावरणीय पक्षको अध्ययन लगायत काम विरलै हुन्छन्। हरेक संरचनामा यी काम गरिनुपर्छ।
त्यस्तै भवन निर्माण संहितामा रहेको चौडाइ र उचाइको अनुपात अधिकांश संरचनामा पालना भएको देखिँदैन। यो कुरा टावरहरूमा झनै धेरै लागू हुन्छ। नियम र कानुन भन्ने कुरा कागजमा मात्र बनाएर भूकम्पबाट सुरक्षित हुन सकिँदैन।
गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाए। एक जनाको पनि मृत्यु कम होइन तर हामीले जुन ओजको भुइँचालो झेल्यौं, त्यसको असरका रूपमा मानवीय क्षति कम हो। शनिबारको दिउँसो मध्याह्न भएकाले मान्छे ब्युँझिएका थिए, उज्यालो थियो, गाउँले घरमा बस्नेहरू बाहिरै हुने बेला थियो। त्यसैले घर भत्केर पुरिएकालाई निकाल्न तत्कालै सक्रिय हुन सके। राती आएको भए पूर्ण रूपमा क्षतिग्रस्त ६ लाख दुई हजार दुई सय ५७ निजी घरमा सुतिरहेका मानिसमध्ये कतिले ज्यान गुमाउने थिए?
अर्कातिर स्कुल, कलेज र सरकारी कार्यालयहरू बन्द थिए। बिदाको दिन नभएको भए सोचौं, पूर्ण रूपमा भत्किएका आठ हजार विद्यालय र दुई हजार ६ सय ७३ सरकारी कार्यालयमा कति मानवीय क्षति हुन्थ्यो होला?
अनुमान मात्र पनि कहालीलाग्दो हुन्छ।
नेपालको हिमालय-भूकम्प अध्ययन अनुसन्धानमा लामो समय काम गरेका फ्रेन्च प्रोफेसर जँ फिलिप एभुआकले गोरखा भुइँचालो बेलाको आफ्नो अवस्था सुनाएका थिए। उनी त्यस समय क्याम्ब्रिज विश्वविद्यालयमा कार्यरत थिए। त्यहाँको समयअनुसार बिहान सात बजेर ११ मिनेटमा नेपालमा भुइँचालो आएको थियो। यसको केही मिनेटपछि नै मिडियामा खबर आउन थाल्यो।
हाराहारी ८ रेक्टर स्केलको भूकम्प गएको थाहा पाएपछि प्रोफेसर एभुआक शिथिल भएछन्। उनले अध्ययनका आधारमा अनुमान गरे- आधा काठमाडौं उपत्यका ध्वस्त भयो। लाखौं मानवीय क्षति भयो होला!
बुझ्दै जाँदा त्यति ठूलो क्षति नभएको थाहा पाएर उनले राहतको सास फेरेछन्।
उनीजस्ता विज्ञहरूको अध्ययन र ज्ञानलाई हाम्रो प्रणालीले वास्ता गर्दैन। भुइँचालो लगायत प्रकोप व्यवस्थापनमा नेपालकै विज्ञहरूले पनि सुझाउन सक्छन्। तर लामो अध्ययन र अनुसन्धान गरेर विशेषज्ञता हासिल भएकाहरूको सुझावलाई हामी वास्ता गर्दैनौं। पदलाई मात्र महत्व दिन्छौं। यसकारण पनि हाम्रा धेरै प्रकोपको व्यवस्थापन कागजमा मात्र सीमित हुन्छ। साँच्चै प्रकोप आएपछि बल्ल विशेषज्ञ खोजिन्छ जुन बेला धेरै ढिला भइसकेको हुन्छ।
त्यसैले हामीले सल्लाह र सुझाव लिँदै विगतबाट शिक्षा नलिने हो भने पटकपटक प्रकोपको मारमा पर्नेछौं। २०७२ सालको भूकम्प भोगेपछि हामीले बुझ्नुपर्छ, पश्चिम नेपालमा विगत पाँच सय वर्षको अवधिमा ठूलो भुइँचालो गएको छैन। अब हामीले व्यापक तयारी गर्नु छ। यो महसुस गरेर पूर्वतयारी गरेनौं भने फेरि ठूलो क्षति बेहोर्नुको विकल्प हुँदैन।
(लेखक द्विवेदी वरिष्ठ भूगर्भविद हुन्।)