बेमौसमी कोभिड-१९ को दुई वर्षे उतारचढाव शिथिल अवस्थामा पुगेको छ। हाल मानिसहरू लामो समयको बन्दाबन्दीपछि विस्तारै पूर्ववत् दैनिकीमा फर्कंदै गर्दा घर बाहिर घुम्ने र खाने प्रचलन पनि बढ्दो देखिँदैछ।
परिवारमा होस् वा साथीसँग छोटो भेटघाटमा वा कुनै कारणले घर बाहिर रहँदा हामी रेष्टुराँ वा सडकमा पाइने खानेकुराप्रति आकर्षित हुने वा खाने प्रचलन पछिल्लो समयमा बढ्दो क्रममा देखिन्छ।
तर, धेरैले गर्मी महिनामा देखिने मौसमी संक्रामक रोगहरूको बारेमा भने खासै ध्यान दिएको भने पाइँदैन। यी संक्रामक रोगहरूमध्ये 'फुड पोइजनिङ' एक प्रमुख स्वास्थ्य समस्या हो र यो बर्सेनि देखिँदै आइरहेको पनि छ।
यो वर्षको गर्मी महिनाले प्रवेश गर्दै गर्दा 'फुड पोइजनिङ' को समस्या पनि देखिन सुरू भएको अस्पतालको इमर्जेन्सी कक्षमा दैनिक उपचारको लागि आउने बिरामीहरूबाट पनि थाहा हुन्छ। सम्भवत: 'फुड पोइजनिङ' को समस्या लिएर बिरामीहरू सहरका अरू विभिन्न अस्पतालहरूमा पनि पुगिरहेका होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ।
अमेरिकी संस्था सिडिसीको अनुमानित तथ्यांक अनुसार अमेरिकामा बर्सेनि झन्डै चार करोड ८० लाख 'फुड पोइजनिङ' बाट बिरामी हुने र एक लाख अठ्ठाइस हजार अस्पताल भर्ना हुने गरेका छन्। तीन हजार जनाको मृत्यु जटिल अवस्थाबाट हुने गर्दछ। नेपालमा यसको अधिकारिक वा यकिन तथ्यांक भने छैन।
'फुड पोइजनिङ' के हो र कसरी बच्न सकिन्छ?
खाना वा पानीमा जीवाणुको संक्रमण वा त्यसले उत्पन्न गर्ने विषाक्त (टकसिन) ले गर्दा बिरामी पर्नुलाई सामान्यतय: 'फुड पोइजनिङ' भएको भनेर बुझिन्छ।
भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा आदि जस्ता संक्रमणलाई 'फुड पोइजनिङ' को मुख्य कारक मानिन्छन्। यी संक्रमणले शरीरमा प्रवेश गरेको केही मिनेटदेखि घण्टाको फरकमा लक्षणहरू देखाउने गर्छन्।
अमेरिकी संस्था सिडिसीका अनुसार अमेरिकामा हुने 'फुड पोइजनिङ' का प्रमुख कारक संक्रमणहरूमा नोरोभाइरस (भाइरस), साल्मोनेला (ब्याक्टेरिया), क्लसट्रिडियम परफ्रिन्जेस (ब्याक्टेरिया), क्यम्पालोब्याक्टर (ब्याक्टेरिया), स्टाफिलाकोकास औरियस (ब्याक्टेरिया) पर्दछन्।
नेपालमा भने कुन संक्रमणको कारणले 'फुड पोइजनिङ' हुने गर्दछ भनेर व्यापक अनुसन्धान भएको भने देखिँदैन। हाल अस्पतालमा 'फुड पोइजनिङ' को कारणले संक्रमित भएका अधिकांशमा संक्रमण अज्ञात नै देखिन्छ।
यद्यपि उनीहरूको नमूना परीक्षणको लागि पठाउने गरिन्छ र उनीहरूको समस्या खानेकुरासँग नै सम्बन्धित भएको देखिन्छ।
तसर्थ, हाल काठमाडौंमा कुन संक्रमणको कारणले अधिकांशलाई 'फुड पोइजनिङ' गरिरहेको छ भन्ने यकिन थाहा छैन। सबै संक्रमितहरूमा लक्षणहरू देखिने गर्दैन भने अधिकांशले स्थानीय औषधी पसलमा गएर स्वयम् औषधी सेवन गर्ने गर्दछ।
तर औषधी प्रयोगका बाबजुत स्वास्थ्यमा सुधार नभएपछि मात्र अस्पताल आउने गर्दछन्। अर्थात् हाल अस्पतालमा देखिएको संख्याभन्दा धेरै मानिसहरू खानेकुराबाट संक्रमित भैरहेको अनुमान गर्न सकिन्छ।
वाक-वाक/ बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने/ बाउडिने, ज्वरो आउने जस्ता समस्याहरू 'फुड पोइजनिङ' मा देखिने गर्दछ।
धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुँदैन। प्रशस्त झोलिलो खानेकुरा खाएर वा जीवन जलको प्रयोग गरेर पनि स्वास्थ्य लाभ गर्न सक्छन्।
तर, कतिपयमा भने जटिल अवस्था देखिने गर्दछ। विशेषत: जेष्ठ नागरिक, दीर्घ रोगी तथा बालबालिकामा जटिलताको जोखिम बढी हुने गर्दछ।
उच्च ज्वरो देखिनु, रगतमय पखाला हुनु, तारन्तार बान्ता हुनु, मुख/घाँटी सुक्नु, पिसाब कम/वा नहुनु, पखाला तीन दिनभन्दा बढी निरन्तर हुनुजस्ता समस्याहरू जटिल अवस्थाका संकेत हुन्। यसको लागि बिरामीलाई तुरून्त अस्पताल भर्ना गरी उपचार गर्नुपर्दछ।
'फुड पोइजनिङ' को समस्या बाहिरी खानेकुराहरूबाट मात्र नभई घरभित्रको भान्सा घरबाट पनि हुने गर्दछ। केही दिनअघि एक वृद्धा महिलाले घरमा नै तयार गरिएको खान खाएपछि 'फुड पोइजनिङ' भएको देखिएको थियो।
त्यस्तै, केही वर्ष अगाडि किनेको पानीको उपभोग गर्नेहरू पनि पखाला तथा बान्ता भएर अस्पताल भर्ना भएका थिए। पानीको उपयोग गर्दा मानिसहरू बिरामी भैरहेको छ भन्दा विश्वास नगर्नेहरूको संख्या निकै ठूलो थियो।
तर पछि अनुसन्धान गर्ने संस्था नास्टले बजारमा बिक्रीका लागि राखेका जारका पानीको नमूना संकलन गरी परीक्षण गर्दा कोलिफर्मको संख्या सामान्यभन्दा अधिक देखिएको (स्वास्थ्यमा हानी गर्न सक्ने संख्या) प्रमाणित गरेको थियो।
हाल नेपाली समाजमा सजिलोको लागि वा बाध्यताको कारणले जारका पानीको प्रयोग व्यापक गर्ने गरिन्छ। तसर्थ, जारका पानीको उत्पादन गर्ने कम्पनी आधिकारिक, दर्ता भए/नभएको निश्चित गरेर उपभोग गर्दा सुरक्षित भइन्छ। असुरक्षित वा बिना ब्रान्डका जारका पानीबाट विगतमा हैजा समेत फैलिएको अनुभव छ।
अन्तमा, 'फुड पोइजनिङ' को मुख्य कारक/स्रोत संक्रमित पानी तथा खानेकुराको उपभोग गर्नु नै हो। तसर्थ, सुरक्षित पानी, खानेकुरा र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके 'फुड पोइजनिङ' बाट सहजै बच्न सकिनेछ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)