नेपालले कोभिड-१९ को तीन लहर सामना गरिसकेको छ। विश्वमा कतिपय देशहरूले थप लहरहरूको समेत सामना गरेका थिए। भाइरसले उतारचढाव लिएको पनि २ वर्ष भैसकेको छ।
विगत दुई दशकदेखि विभिन्न सरूवा रोगसँग लड्दै गर्दा कोरोनाको जस्तो निरन्तर उतारचढाव अरू संक्रामक रोगहरूमा देखिएको थिएन।नेपालमा देखिएका जति पनि ठूला प्रकोपहरू/संक्रामक रोगहरू या त मौसमी हुन्थे/छ (हरेक वर्ष देखिने) वा २-३ वर्षको अन्तरलमा देखिने गरेका देखिन्छन्। अझ, सन् २००२ मा देखा परेको 'सार्स-कोभ-२' कोरोनाको अघिल्लो प्रजातिमा (तत्कालीन समयमा 'सार्स भाइरस' भन्ने गरिन्थ्यो) यति लामो उतारचढाव र मानवीय क्षति देखिएको थिएन।
सन् २००२ को 'सार्स भाइरस' देखिँदा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मेडिकल अधिकृतको रूपमा सेवारत थिएँ।
'सार्स-कोभ-२' नयाँ भाइरस भएको र खोप पनि नभएकोले संक्रमणबाट बच्ने विकल्प भनेको जनस्वास्थका मापदण्डहरू पालना गर्नु नै थिए। यसका अधिकांश मापदण्डहरू फ्लु प्रकोपमा अपनाउने बच्ने उपायहरूसँग मिल्दाजुल्दा छन्। जुन विगतमा पनि प्रकोप देखिँदा अनुसरण गर्न अनुरोध गर्दै आइरहेका थियौं। तर फ्लुको प्रकोप (मौसमी) केही हप्ताको मात्र हुने हुँदा सर्वसाधारणलाई स्वास्थ्य मापदण्डहरू अनुशरण गर्न खासै अप्ठ्यारो परेको देखिँदैन। तर कोरोनाको लहरले सोचेभन्दा बढी समयसम्म निरन्तरता पाउँदै जाँदा नागरिकहरूले पनि स्वास्थ्य मापदण्डहरू अपनाउन हिच्किचाएका देखिन्छन् जुन स्वाभाविक पनि देखिन्छ।
ओमिक्रोनको लहर सोचेजस्तो जटिल नदेखिएको र खोप अभियानले पनि निरन्तरता पाउँदै गर्दा धेरैको मनमा एउटा प्रश्नले घच-घचाएको देखिन्छ। अब हामी 'मास्क फ्री' कहिले हुन्छौं?
'सार्स-कोभ-२' भाइरस कोरोनाको नयाँ प्रजाति भएकोले विश्वले यसको बारेमा अध्ययन/अनुसन्धान गर्न वा पर्याप्त जानकारी थाहा हुनुभन्दा अगाडि नै धेरैको ज्यान लिएको थियो।
चीनको वुहानबाट फैलिएको यो भाइरस युरोप, अमेरिका र भारत हुँदै नेपालमा प्रवेश गरेको देखिन्छ। यद्यपि दुई महिनाको अन्तरालमा पहिलो र दोस्रो 'सार्स-कोभ-२' को पुष्टि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै भित्रिएका बिरामीहरूमा भएका थिए।
भाइरसको तीव्रता र थप मानवीय क्षति रोक्न खोपको विकल्प थिएन। तर विगतको इतिहास हेर्ने हो भने एउटा खोपको विकास गर्न नै वर्षौं लाग्ने देखिन्थ्यो। तसर्थ, खोप विकास नहुँदासम्म कोरोना समुदायमा नफैलियोस् र थप मानवीय क्षति नहोस् भन्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प थिएन।
मास्क सो मापदण्डको प्रमुख उपायमध्येमा पर्दछ। खोक्दा वा हाछ्युँ गर्दा संक्रमितको र्यालका छिटाबाट संक्रमण सर्ने हुँदा र त्यसलाई रोक्न मास्कको अनिवार्यता भएको हो।
प्रतिष्ठित जर्नल 'द ल्यान्सेट' मा एकपछि अर्को प्रकाशित अनुसन्धानहरूमा पनि मास्कले कोरोना फैलनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने नतिजाहरू प्रकाशित भएका थिए।
कोरोना भाइरस नेपाल भित्रिएसँगै जनस्वास्थ्यका मापदण्डमा मास्कलाई प्राथमिकता दिइएको थियो। सो क्रम आजको मितिसम्म पनि कायम नै छ। मास्क लगाउने बानी व्यवहारमा लागु गर्न भने सहज थिएन।
धेरैले मास्क अनुहार लगाउने गरेको भएता पनि सही तरिकाले लगाउने गरेको भने पाइँदैन थियो/पाइँदैन। फलस्वरूप, कतिपयले मास्क लगाउँदा लगाउँदै पनि संक्रमित हुँदा अचम्मित हुने गर्थे। एक्लै हुँदा मास्क नाक मुख छोपेको हुने तर आफन्त, साथीभाइ वा समकक्षीसँग भेटघाट हुँदा मास्क खोलेर कुरा गर्ने गरेको पाइन्छ।
मास्क खोलेर कुरा गर्नु भनेको 'मास्क नलगाउनु सरह' नै हो। मास्क विशेषत सहर केन्द्रित नै भएको देखिन्छ। काठमाडौंबाहिर भने मास्क लगाउनेको संख्या खासै देखिँदैन। अर्थात् मास्क अभियान विशेष गरेर काठमाडौं बाहिर एक प्रकारले असफल नै भएको देखिन्छ।
समाजले विशेषत अगुवा/ उच्च पदका मानिसहरूको दैनिकी वा क्रियाकलापलाई पछ्याउने गर्दछ। विभिन्न समाचारका माध्यममा अधिकांश अगुवा/ उच्च पदकाहरू देखिँदा मास्क लगाएको भने देखिँदैनथ्यो।
लेखकसँग कतिपयले आफू मास्क नलगाउने तर अरूलाई भने लगाउन भन्ने भनेर गुनासा गर्ने गर्थे। दोस्रो र तेस्रो लहर तीव्र गतिमा फैलनुमा सो लहरभन्दा ठिक अगाडि राजनीतिक सभा सम्मेलन तथा साँस्कृतिक चाडपर्व हुनु र त्यहाँ मास्क नलगाउनु/बेवास्ता वा सही तरिकाले नलगाउनु नै थियो। त्यस्ता अवसरमा जनस्वास्थका मापदण्ड पालना गर्ने भनेको भएता पनि व्यवहारमा लागु गर्न सहज थिएन वा असम्भव प्राय: नै देखिन्थ्यो।
फलस्वरूप, दोस्रो लहरमा डेल्टाले नेपालमा ठूलो मानवीय क्षति गरेको थियो भने तेस्रो लहरमा ओमिक्रोन समुदाय स्तरमा पुगिसकेपछि मात्रा थाहा पाइएको थियो।
मास्क फ्रीको प्रश्न खोप अभियानको सफलतासँग जोडेर हेर्न सकिन्छ।
अर्को भनेको, कोरोनालाई (सार्स-कोभ-२) प्यान्डेमिक भनेर गरेको घोषणाको अन्त्यसँगै हेर्ने हो। प्यान्डेमिक घोषणाको अन्त्य विश्व स्वास्थ्य संगठनले गर्ने भएता पनि केही युरोपेली देशहरूले कोरोनाको अवस्था र खोप अभियानलाई विश्लेषण/आधार मान्दै मास्क लगाउने बाध्यतासहित अरू जनस्वास्थका नियम हटाउँदै गएका देखिन्छन्।
यो लेख तयार पार्दै गर्दा अमेरिकाको सिडिसीले मास्क लगाउने सिफारिसमा फेरबदल गरेको जानकारी प्रकाशित गरेको थियो। तीन सूचकलाई आधार मानेर ठाउँ/क्षेत्रलाई न्यून, मध्यम र उच्च जोखिममा वर्गीकरण गरिएको छ।
सिडिसीले यी सूचकको आधारमा अमेरिकाका अधिकांश ठाउँ/क्षेत्रहरूलाई न्यून तथा मध्यम जोखिममा वर्गीकृत गरेका छन्, जहाँ मास्क लगाउनुपर्ने अनिवार्यता/बाध्यता हुने छैन। केही दिनअघि बेलायतले पनि मास्क लगाउनुपर्ने नियमलाई खुकुलो पारिसकेको छ।
यो लेख तयार पार्दै गर्दा बेलायतमा ८५ प्रतिशतले दुई मात्रा पूर्ण खोप (९२ प्रतिशतले एक मात्रा खोप, ६६ प्रतिशतले बुस्टर खोप) लगाइसकेका छन्।
अन्त्यमा, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार (१५ फागुन सम्ममा) नेपालको कुल जनसख्याको ७३.८ प्रतिशतले एक मात्रा र ५९.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। त्यस्तै १८ वर्ष माथिका लक्षित जनसंख्याको ९१.४ प्रतिशतले एक मात्रा र ७८.६ प्रतिशतले पूर्ण खोप लगाइसकेको देखिन्छ।
खोपले निरन्तरता पाए र कोरोनाको अवस्था अहिलेजस्तै आगामी दिनहरूमा सहज भए नेपाल पनि छिट्टै मास्क फ्री देश (जनस्वास्थको मापदण्ड खुकुलो) हुनेमा हामी आशावादी छौं।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)