डाँडाहरूलाई बाक्लो तुँवालोले ढपक्क ढाकेको थियो। बाहिरी जिल्लाबाट झिकाइएका कामदारहरूले छेउछाउका ढुंगा फोर्दै छप्पनी छापेर बनाएका नयाँ सिँढीहरू सेतै कुहिरोमा गएर टुंगिन्थे। आफूसँगै हिँडेको साथी चार पाइला अघि हिँडे कुहिरोमै बिलाउँथ्यो। धुँवाजस्तै रगमगिएको कुहिरो आँखैअघिबाट बाँकटे हानेर जान्थ्यो बटुवालाई जिस्क्याउँदै।
यत्तिकैमा छक्याएजसरी कुहिरो स्वाट्टै हट्यो। अहिलेको अहिल्यै कुहिरो कता गयो भनेर सोच्न नपाउँदै आँखैअघि १८० डिग्रीमा हिमाल खुल्यो।
'माई... गड...!' हत्केलाले वाल्ल परेको मुख छोप्दै गर्दा मेरो मुखबाट आश्चर्यको आलाप फुत्कियो।
त्यसपछि चउरको घाँसमा थचक्कै बसेर मैले पहिलोपटक आफैंलाई सोधेँ – हिमालमा के छ? हिमालमा के छ, हँ?
हिमालमा के छ र!
म जन्मेको ठाउँमा बार्दलीको खाटबाटै हिमाल देखिन्थ्यो। दैलो, आँगनीको डिल, भैंसीको भकारो, सुन्तलाको रूख जताततैबाट हिमाल देखिन्थ्यो। हामीले झप्प परेको सिमालीको कुचोले सिनित्त पारेर आँगन बढार्दै गर्दा घामका सुन्तले किरण हिमालको चुचुरोबाट तल झर्दै हुन्थे।
हामी चिचिला कल्याङबल्याङ गर्दै कक्षाबाट खाजा खान निस्कँदा हिमाल आफ्ना वरपर टुक्राटाक्री बादलका गुच्छा भेला पारेर घाममा मस्त पहार ताप्दै हुन्थ्यो।
हामीले बडहरको रूखबाट घाँसका डाली झार्दै गर्दा घामका किरण हिमालसित बिदा मागेर घर जाने तरखर गर्दै हुन्थे।
हामीले दिनहुँ आँगन बढार्नु र घाम लाग्नुजस्तै सामान्य थियो हिमाल त्यहाँ हुनु र देखिनु।
मैले बार्दलीको कठबारमा आड लागेर फूल खेल्दै गरेका सुन्तला बोटहरूलाई असिनाले निर्ममतापूर्वक हिर्काएको धेरैपटक हेरेँ। टिनको छानाबाट बलेँसीमा खसेका पानीका धाराले बनाएका भुल्काको भुलभुलैयामा टोलाएर कति बसेँ।
पानीका बाछिटाले सुन्निएर भुक्क फुलेको पिँढीको माटोका पाप्रा छल्दै ओततिर लागेका कमिलाका बथानलाई घुँडा धसेर, मुन्टो हत्केलामा अड्याएर हेरिबसेँ। ओरालो बाटो सिनित्तै बगाएर ल्याउने असारे भेल सुसाएको, मर्स्याङ्दी गर्जिएको कान थापेर सुनेँ तर हिमाल हेरिनँ। हिमाल बस् देखेँ मात्र।
लगभग चार वर्षअघि साथीहरूको लहैलहैमा लागेर पुनहिल गएकी थिएँ। डाँडामा उक्लेको पसिना नओभाउँदै आँखैअघि लस्करै हिमशृंखलामा रातो घाम झुल्कियो। पुसमाघको जाडोमा सिउसिउ गर्दै मानिसहरूले अनेकथरी क्यामरा तेर्साएर हिमाल हेरे। मैले पनि आफ्नो पुरानो फोनबाट आफ्नो गच्छेअनुसारको हिमाल हेरेर फर्किएँ।
'कस्तो लाग्यो?' फर्केपछि मानिसहरूले सोधे।
'ठीकै,' मैले जवाफ फर्काएँ।
'ठीकै मात्र?' उनीहरूले फेरि सोधे।
'अँ, बार्दलीबाट सधैं देख्ने गरेको हिमाल के नौलो भयो र?'
मेरो उदासीनतालाई मानिसले कसरी लिए कुन्नि, मलाई चाहिँ लाग्यो – मलाई हिमालहरूले खासै लोभ्याउँदा रहेनछन्।
भर्खरै मर्दी हिमाल आधार शिविर पुगेर फर्केपछि मलाई लागिरहेछ – मैले त हिमाल हेरेकै रहेनछु।
सायद म केटाकेटी नै थिएँ। सायद मसित हिमाल हेर्ने आँखै विकसित भएका थिएनन्। वा, सायद म हिमालको त्यति निकट पुग्नै बाँकी थियो जहाँ हामी एकअर्काका आमनेसामने थियौं। जहाँ सिर्फ हिमाल र म मात्र थियौं। जहाँ सुन्तलाका रूख, असिनाका डल्ला वा कमिलाका बथान थिएनन्। जहाँ हिमाल पनि मैलाई हेरिरहेजसरी उभिएको थियो।
र, यसपालि मैले अघाउन्जी हिमाल हेरेँ। नांगा आँखाले उसका चोसाहरू हेरेँ, थुम्काहरू हेरेँ। ऊ उभिएको चट्टानका बान्कीहरू हेरेँ। उसका खोँचहरू हेरेँ। ती खोँचमा अड्किएको हिउँको परिमाण अड्कल काटेँ। उसको समीप पुर्याउने डाँडाका सिउरमा खोपिएका बाटाहरू हेरेँ। ती डाँडाका छातीहरूमा हिउँदको सुख्खाले मुर्झाएका झारहरू हेरेँ। फोस्रा डाँठमा समेत मुस्कुराउने प्रयत्न गरिरहेका बुकीफूलको ओइलाउँदो जवानी हेरेँ।
केटाकेटी छँदा हिमाल भुगोलमा मात्र सीमित थियो। अलि पछि लाग्यो, हिमाल जम्माजम्मी एक बिम्ब न हो! एकैचोटि धेरै कुराको बिम्ब। सुन्दरताको बिम्ब। विशालताको बिम्ब। बहादुरीको बिम्ब। महत्वाकांक्षाको बिम्ब। सपनाको बिम्ब। उचाइको बिम्ब। अप्राप्यताको बिम्ब। कठोरताको बिम्ब। संघर्षको बिम्ब। अपराजिताको बिम्ब।
र, विरोधाभासहरूको बिम्ब पनि।
विशाल र पनि मौन। सुन्दर र पनि जीवनविहीन। कठोर र पनि निरीह।
के कुनै वस्तु यति विशाल भएर पनि यति मौन रहन सक्छ?
के मौनता नै हिमालको विशालता हो त?
मान्छे र होहल्लाहरूदेखि पर एकलकाँटे भएर हिमाल के हेरिबस्दो हो?
के ऊ देख्दो हो हाम्रो हतार, हाम्रो दौडधूप, हाम्रा इच्छा र विवशताहरू, हाम्रो अभिमान, हाम्रा कुण्ठाहरू, हाम्रा खोटहरू?
भुइँका हामी माथि पुग्न चाहन्छौं। छिटो! हामीलाई हतार छ। उचाइबाट देखिने संसार हेर्न लालायित हुन्छौं। पोखराबाट एकै दिनमा ३५०० मिटरमा पुगेर बास बस्न सक्नुलाई सामर्थ्य ठान्छौं, हिमाललाई जितेको भन्ठान्छौं।
तर अग्लो हुनु भनेको आफूभन्दा होचाहरूलाई छेक्नु पनि त हो। अग्ला घरहरूले होचा घरहरूको घाम छेक्छन्। अग्ला हातहरूले भाटाले नहानीकन सजिलै लिचीका हाँगा भेटाउन सक्छन्। टाउकाहरूको भीडमा अग्ला कद भएका टाउका सजिलै देखिन्छन्।
अग्लो हुनु आफैंमा कसैको गल्ती नहोला तर उनीहरूले खोँचमा रहेकाहरूको अवसर छेक्छन्, एक्सपोजर छेक्छन्।
तर उचाइमा रहनु भनेको हेराइको क्षितिज फराकिलो हुनु पनि त हो। अरूले नदेखेको कुरा देख्न सक्नु पनि त हो। त्यसैले पनि चुलीमा बस्नेहरूको खोँचमा बस्नेहरूप्रति समानुभूतिशील हुने जिम्मेवारी हुन्छ।
के हिमाल उसले घाम छेकेका पहाडका भित्ताहरूको चिस्यान महशुस गर्दो हो? शीतले कठ्याङ्ग्रिएका बूकीफूलहरूको विवशता हेरेर दुःखी हुँदो हो?
हिमालको मौनतासित बात मार्दै गर्दा यसपालि मैले हिमाललाई मानिसले बनाएका अमूर्त बिम्बहरूभन्दा धेरै बृहत् पाएँ। मलाई हिमालहरू मान्छेजस्ता लागे। केही भन्न खोजिरहेका तर भाषा नजानेका मान्छेजस्तै।
उसको सानिध्यमा मैले जति अनौठो शान्ति महशुस गरेँ, उस्तै अनौठो बेचैनी पनि अनुभव गरेँ। मौनताले दिने बेचैनी मुखरित प्रश्नहरूले दिने बेचैनीभन्दा सघन हुँदो रहेछ।
के हिउँ रित्तिँदै गएका ती चट्टानहरूले भोलि पनि मलाई यसैगरी मन्त्रमुग्ध बनाउलान्?
के यिनलाई हेर्न बेरुतको बिस्फोटनका छर्राहरूले क्षतविक्षत बनाएको मन लघारेर ती लेबनानी युवकहरू आर्थिक मन्दीले निसास्सिएको देशबाट शान्ति खोज्न फेरि यहाँ आइपुग्लान्?
के तब पनि रगतको क्यान्सरलाई जितेर शाखा अधिकृतमा नाम निकालेकी छोरीको सारथी बनेर आएका बाबुका लागि संसारसित छोरीको बहादुरी देखाउने मानक हिमाल उक्लनु बनिरहला?
दिनको दुई हजार ज्यालामा हिमालको चिसो स्याँठसित पौंठेजोरी खेल्दै बाटो खनिरहेका ती नुवाकोटे ठिटाहरूले दुप्चेश्वर महादेवलाई सम्झेजस्तै मानिसहरूले हिमाललाई सम्झेलान्?
ती बाटाघाटामा कारोबार सम्हाल्न होटल नपुग्दै प्रेसर घटेर बाटैमा ढलेका ती गुरूङ साहुजीले बेलैमा पानी पाउने गरी बटुवाको ओहोरदोहोर भइरहला? के त्यसपछि पनि मानिसहरूलाई यसैगरी ‘माउन्टेन’हरूले ‘कल’ गरिरहलान्?
बिदाको दिन हिमालमुनिको होटलमा साग पुर्याउन गाउँबाट हिँडेको त्यो फुच्चे केटोले पढ्न छोडिसकेको वीरेन्द्र सैनिकको ट्रयाकसुट कुन लहडमा लगायो होला? उसका लागि हिमाल के होला?
आधार शिविर पुगेपछि फोटो खिचाउन धम्पुसदेखि नै झोलामा नेपालको झन्डा सिउरेर हिमाल हेर्न ओइरिने हामी के हौंला? को हौंला?
यसपालि हिमाल हेरिरहँदा मैले हिमाललाई सुन्दर वा कठोरको दुईपाखे परिचयभन्दा पर ‘भल्नरेवल’ पाएँ।
जलवायु परिवर्तनले हिउँ सोहोरिएर काला पत्थरजस्ता देखिँदै गएका हिमालहरू के आफूलाई अझै उत्तिकै सुन्दर महशुस गर्दा हुन्? कतै नांगो अनुभव पो गर्दा हुन् कि? के उनीहरूलाई कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ र यही कालो चट्टान त रहेछ भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला?
के हिमाल पनि हामी मानिसहरूजस्तै आफ्नै रूपरङप्रतिको असुरक्षाभाव र हीनताबोधले ग्रसित नहोला? के उसलाई ऐना हेर्दा कन्सिरीनेर दुइटा फुलेका रौं भेटिएको वा अनुहारमा मुजा फेला पारेको मान्छेलाई जस्तै असुरक्षाभाव उत्पन्न नहुँदो हो?
हामीले मुटुको स्पन्दन अडिने गरी सुन्दर ठान्ने हिमाललाई आफ्नो अस्तित्व र पहिचान नै हिउँको शरणमा पाउँदा कस्तो लाग्दो हो? हिउँसितको उसको सम्बन्ध कस्तो हुँदो हो? बादलसितको उसको सम्बन्ध कस्तो हुँदो हो?
छेउछाउका होचा डाँडाहरू जो कहिल्यै कुनै फोटोग्राफरको आँखामा परेनन्, जसलाई पदयात्रीहरूले हिमाल चढ्ने बाटोको रूपमा मात्र प्रयोग गरिरहे, तिनले पत्थरमा परिणत हुँदै गएको हिमाल हेरेर कस्तो महशुस गर्दा हुन्?
अरूभन्दा पनि आफूलाई त्यो रूपमा पुर्याउने मानिसहरू कुनै जिम्मेवारीबोधबिना, कुनै संवेदनाबिना आफ्ना अघि अनेक भावभंगिमा देखाएर फोटो मात्र खिचाइरहँदा उसलाई कस्तो लाग्दो हो?
आधार शिविरभन्दा केही तल डाँडामा दुईचार अस्थायी झुप्राहरू थिए। तीमध्ये एउटामा कसौंडीजस्तो भाँडोमा भकभक चिया उम्लँदै थियो।
'अरू बेला त यतिखेर हिउँ परिसक्या हुन्थ्यो नि। यसरी कहाँ बस्न सक्थ्यो र। अहिले त ऊ हिमाल पनि कालो कालो भइसक्न थाल्यो …'
पसले दाइ कसौंडीमा चियापत्ती हाल्दै हामीसित भन्दै थिए।
लाग्यो, हिमाललाई बिम्बका रूपमा खुम्च्याइदिने त हामी पो रहेछौं। उसका अघि सुन्दरताको लेन्स तेर्स्याएर उसको अस्तित्वलाई रूपको वरिपरि मात्र घुम्ने बनाएको त हामीले पो रहेछ। हिमालसितै जीवन गाँसिएकाहरूका लागि त हिमाल हिजो पनि हिमाल नै थियो, भोलि पनि हिमाल नै रहनेछ।
स्टिलको कपको हिसाबमा तातो पानीको पैसा तिरेर काला हुँदै गएका हिमाल हेर्न नआउने विकल्प हामीलाई पो छ, उनीहरूलाई कहाँ छ र?
विश्व कोप-२६ को सरगर्मीमा तातिरहँदा म कोभिडले निसास्सिएको आत्मामा ताजा हावा भर्न जंगलतर्फ लागेँ। हिमालप्रति खास मोह थिएन। सोचेकी थिएँ – गोडा तन्काएर आउँछु, फोक्सो फुलाएर आउँछु, एकनासे दिनचर्यामा अलिकति जीवन भरेर आउँछु।
तर जतिजति हिमालको समीपमा पुगेँ, उसको उपस्थिति यति टड्कारो महशुस गरेँ, बाटोभरि एउटै प्रश्नले लखेटिरह्यो – हिमालमा के छ? हिमालमा के छ, हँ?
यो लेख लेखिरहँदा आँखा चिम्लनासाथ म आँखाअघि लस्करै खुलेको हिमशृंखला पाउँछु। त्यो हिमाली बतासको मीठो हिर्काइ, त्यो बिहानी घामको न्यानो, परेलामा थिग्रिएको कुहिरोको शीतको आभास यहीँबाट महशुस गर्न सक्छु।
इन्स्टाग्राममा हालेका हिमालका फोटामुन्तिर 'मसित एक महिनाअघि यही ठाउँबाट खिचेका ठ्याक्कै यस्तै फोटा छन्' भनेर कसैले लेखेछ। यतिखेर लागिरहेछ, उक्लँदै गर्दा पाँच मिनेटका लागि हिमाल खुल्दा समेत के के न छोपुँलाझैं फोटो खिच्न किन मरिहत्ते गरेछु?
न इन्टरनेटमा हिमालका फोटाको कमी छ न त म फोटोग्राफर नै हो! म त हेर्न पो गएकी थिएँ त!
प्रविधिले हामीलाई आत्मनिर्भर बन्न सघाउनुपर्ने झनै परनिर्भर बनाएछ। हामीलाई आफ्नै आँखाको भर लाग्न छाडेछ। कुनै पनि पललाई सम्झन हामी आफ्नोभन्दा बढ्ता तस्बिरहरूको भर गर्न थालेछौं, यो थाहा पाउँदा पाउँदै पनि कि जतिसुकै अत्याधुनिक क्यामराले पनि आँखाअघि देखिने हिमालको एक चौथाइ पनि कैद गर्न सक्दैन।
हिमालले मलाई यसपालि देख्नु र हेर्नुको अन्तर पढाएर फर्कायो।
हिमालले मलाई आफ्नै आँखा र तिनको स्मृतिमाथि विश्वास गर्न सिकाएर पठायो।
हिमालले मलाई भन्यो – जहाँ छौं, पूर्ण रूपमा त्यहीँ हुनू। त्यहीँको हुनू।
सबै तस्बिर: दुर्गा कार्की