सन् २०१५ मा जीका भाइरस ब्राजिलमा फैलिँदा संक्रमित आमाबाट जन्मिएका नवजात शिशुहरूमा मस्तिष्क/स्नायुसँग सम्बन्धित मुख्यतय 'माइक्रोकेफाली' जस्तो स्वास्थ्य समस्या व्यापक देखिएपछि चर्चामा आएको थियो।
यो भाइरस र नवजात शिशुमा देखिएका स्नायुसँग सम्बन्धित समस्याहरूको सम्बन्ध रहेको प्रमाणहरू देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा जीका भाइरसलाई 'पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न' घोषणा गरेको थियो।
त्यसयता भारतको गुजरातमा सन् २०१७ मा तीन जनामा जीका भाइरस संक्रमण देखिएको थियो। सन् २०१८ सम्म आइपुग्दा मध्यप्रदेश र राजस्थानसम्म फैलिएको थियो।
यही वर्षको जुलाइमा जीका फेरि भारतमा देखिएको थियो। अक्टोबरको अन्तसम्म आइपुग्दा नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तरप्रदेशसम्म आइपुगेको छ।
यो लेख तयार पार्दासम्म पनि जीका देखिने क्रम जारी थियो। तसर्थ नेपाल जीका भाइरसको उच्च जोखिममा छ।
संक्रमण भएको तीनदेखि १४ दिनसम्ममा जीका भाइरसका लक्षण देखा पर्छन्। सबभन्दा बढी देखिने लक्षणमा शरीरमा बिबिरा देखिने, हल्का ज्वरो आउने, आँखा रातो हुने, मांशपेशी र जोर्नी दुख्ने, आलश्य हुने, टाउको दुख्ने हुन्।
जीका भाइरसले संक्रमितमा सामान्यतया जटिल अवस्था ल्याउँदैन। अर्थात् संक्रमितमा लक्षण कडा देखिँदैन। तर गर्भवती महिला संक्रमित भए गर्भ तुहिने वा समय अगावै बच्चा जन्मने जस्ता समस्या देखिन सक्छ।
तसर्थ जीका भाइरसको 'टार्गेट'मा गर्भवती महिला हुन्छन् भन्दा अतियुक्ति नहोला।
जीका भाइरस संक्रमित आमाबाट बच्चा जन्मे पनि उसमा मस्तिष्क/स्नायुसंग सम्बन्धित समस्याले गर्दा शारीरिक वा मानसिक समस्या देखिने विभिन्न अनुसन्धानले देखाएका छन्। यस्ता समस्या गर्भ बसेको पहिलो तीन महिनामा संक्रमण भए सबभन्दा उच्च/बढी (अमेरिकी सिडिसीका अनुसार पन्ध्र प्रतिशतसम्म) र त्यसपछि क्रमशः दोश्रो र तेश्रो तीन महिनामा (पाँच प्रतिशत र चार प्रतिशतमा) हुने देखिएको छ।
तसर्थ गर्भ हुने योजना वा निर्णय गरेका जोडीले सबभन्दा बढी सतर्कता/सावधानी अपनाउनु पर्ने हुन्छ। यदि पुरुष साथी जीका फैलिएको ठाउँमा गएर फर्केको भए (लक्षण नदेखिए पनि) कम्तीमा तीन महिना यौन सम्पर्क गर्नु हुँदैन।
नेपालमा जीका भाइरस अधिकारिक रूपमा पुष्टि भइसकेको छैन। तर लामखुट्टेको मौसममा जीकासँग मिल्दोजुल्दो लक्षण भएका शंकास्पद बिरामीमा नियमित परीक्षण नगरिने भएकाले जीका छैन नै भनेर यकिन गर्ने आधार पनि देखिँदैन।
जीका भाइरस फैलाउने लामखुट्टे काठमाडौं लगायत देशका विभिन्न भागमा प्रशस्त पाइन्छन्। एडिज जातका लामखुट्टेले जीका भाइरस सार्छ। यो लामखुट्टेले डेंगी र चिकुनगुनिया भाइरस पनि सार्छ। यी दुवै भाइरस नेपालमा देखा परिसकेका छन्।
डेंगी हाल काठमाडौंमा फैलिरहेको छ भने चिकुनगुनियाको परीक्षण नियमित नहुनाले अवस्था अज्ञात नै छ। डेंगी, चिकुनगुनिया र जीका भाइरसका कतिपय लक्षण एकअर्कासँग मिल्दाजुल्दा हुन्छन्।
मैले कतिपय डेंगीजस्ता लक्षण भएका संक्रमितमा परीक्षण गर्दा नेगेटिभ देखेको पनि छु। त्यस्ता संक्रमितमा चिकुनगुनिया तथा जीका भाइरस पनि परीक्षण गर्न सकेको भए नेपालमा यी भाइरस छ/छैन र रहेको भए अवस्था थाहा पाउन सहज हुने थियो।
केही वर्षअगाडि यी तीनै भाइरसको परीक्षण एकै साथ गरिन्थ्यो। तर केही समयपछि नै त्यस्तो परीक्षण स्थगित गरियो। भारतमा जीका भाइरसले आफ्नो उपस्थिति हरेक वर्ष बढाउँदै लगिरहेको पृष्ठभूमिमा नेपालमा पनि त्यस्तो परीक्षण रोक्नुभन्दा पनि फेरि सुरू गर्नु बुद्धिमानी हुनेछ।
परीक्षण गर्दा जीकाको साइलेन्ट (अधिकांश संक्रमितमा लक्षण नदेखिने भएकाले) उपस्थिति नेपालमा छ/छैन भन्ने थाहा हुने थियो। त्यसै अनुरुप भावी योजना बनाउन सहज हुने थियो।
जीका भाइरस मुख्यतया लामखुट्टेबाट सर्ने भए पनि मानिसबाट मानिसमा पनि विभिन्न माध्यमबाट सर्छ। गर्भवती अवस्थामा संक्रमित आमाबाट बच्चामा, यौन सम्पर्कबाट, संक्रमितको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा, संक्रमितले रगतदान गर्दा जीका भाइरस सरेको अनुसन्धानहरूले देखाएका छन्।
जीका भाइरसविरूद्ध एन्टिभाइरल औषधि हालसम्म उपलब्ध छैन। लक्षण कडा नहुने भएकाले लक्षणमा आधारित औषधिकै प्रयोग गर्न सकिन्छ। जीका भाइरसविरूद्ध खोप पनि विकास भइसकेको छैन। तसर्थ जीका संक्रमणबाट बच्न सबभन्दा पहिले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। मानिसबाट मानिसमा नसरोस् भन्नका लागि विशेषतः गर्भ हुने योजना बनाएका जोडी वा गर्भवती भएकाले सावधानी तथा बच्ने उपाय अपनाउनु पर्छ।
जीका संक्रमणका लक्षण अधिकांशमा नदेखिने र देखिएकामा पनि सामान्य हुन्छ। जीका भाइरसले गर्भवती महिलालाई संक्रमित गरे गर्भमा विकसित हुँदै गरेको भ्रूणलाई प्रभावित पार्छ। फलस्वरूप गर्भपतन हुने वा मरेको जन्मने वा समयअगावै बच्चा जन्मने जस्ता समस्या देखिन्छ। जन्मिहाले पनि बच्चामा मस्तिष्क (स्नायु) सँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या आउन सक्छ। त्यसैले जीकाको टार्गेटमा गर्भवती महिलाहरू पर्ने देखिन्छ।
नेपालसँग सीमा जोडिएका भारतको उत्तर प्रदेश राज्य अहिले जीका भाइरसको 'हटस्पट' बन्दै गर्दा र काठमाडौं लगायत विभिन्न ठाउँमा जीका फैलाउने लामखुट्टे प्रशस्त भएकाले ढिलो चाँडो जीकाको प्रवेश नेपालमा नहोला भन्न सकिँदैन।
तसर्थ जीका सम्बन्धी परीक्षण सुरू गरी जनचेतनामूलक कार्यक्रमलाई पनि अगाडि बढाउनुपर्छ।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)