केही दिन अगाडि एक परिचित स्वास्थ्यकर्मीमा डेंगी देखियो। त्यस्तै, अर्का एक जना बिरामीले पनि डेंगी भएर परामर्शको लागि फोन गरेका थिए।
यी दुबै डेंगी बिरामीहरू काठमाडौँ बाहिर गएका थिएनन्। यसले काठमाडौंमा डेंगी भाइरस देखिन सुरू भएको भन्ने बुझ्न सकिन्छ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अहिले पनि कोभिड-१९ का बिरामी मात्र भर्ना गर्ने भएकाले डेंगीका बिरामी अरू अस्पतालमा परामर्शको लागि जानुपर्ने अवस्था छ।
डेंगीले पछिल्लोपटक सन् २०१९ मा देशव्यापी महामारीको रूप लिएको थियो। गत वर्ष भने यही समयतिर कोभिड-१९ को लहरले उत्कर्ष चुमिरहेको बेला डेंगीको खासै असर देखिएन। तर अहिले दैनिकजसो डेंगी भाइरस प्रयोगशालामा पुष्टि हुँदै गर्दा काठमाडौंमा डेंगीले 'कमब्याक' गरेको मान्न सकिन्छ।
डेंगी के हो?
डेंगी एक भाइरस हो। यसका डेंगी-१, २, ३ र ४ गरी चार वटा सेरोटाइपहरू हुन्छन्। एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ तर त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन। तसर्थ एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन्। चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन्।
पहिलो पटक सन् २००४ मा पहिचान भएको डेंगी भाइरस सन् २०१९ मा आइपुग्दासम्म नेपालभर फैलिएको थियो। हजारौं मानिसहरू डेंगी संक्रमित भएका थिए।
छिटो संक्रमण सर्ने भए पनि समयमा पहिचान र उपचार पाए डेंगीको मृत्युदर एक प्रतिशतभन्दा कममा झार्न सकिन्छ।काठमाडौंमा डेंगी विशेष गरेर कात्तिक र मंसिर महिनामा देखिँदै आइरहेको छ।
कसरी सर्छ?
मुख्यत: इजिपटाई र एल्बोपिक्ट्स जातका एडिस लामखुट्टेले डेंगी भाइरस सार्ने गर्छ। काठमाडौं लगायत नेपालका विभिन्न भागहरूमा यी लामखुट्टेहरू प्रशस्त पाउने गर्छ। संक्रमित मानिसको शरीरमा टोक्दा लामखुट्टे आफू संक्रमित हुने र त्यस लामखुट्टेले केही दिनको अन्तरालमा व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्छ।
गर्भवती महिला संक्रमित भए बच्चामा पनि सर्न सक्छ। यद्यपि त्यसको जोखिम भने कम हुन्छ। एडिस लामखुट्टे विशेषत: बिहान र सूर्यास्त हुनुपूर्व बढी सक्रिय हुने र टोक्ने गर्दछ। त्यसैले आफू बस्ने घर मात्र होइन कार्यालय वरिपरि लामखुट्टे वृद्धि विकास हुने वातावरण सृजना गर्नु हुँदैन। लामखुट्टेको लार्भा विशेषत: सफा पानीमा रहने हुँदा त्यस्तो ठाउँमा समय-समयमा लामखुट्टेको लार्भा छ/छैन भने जाँच गर्नुपर्छ।
लक्षण के-के हुन्?
सामान्यतय संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षण देखापर्ने गर्दछ। लक्षणहरू सामान्यदेखि जटिलसम्म हुन सक्दछ। एक सय चार डिग्री ज्वरोका साथसाथै निम्न दुई वा दुईभन्दा बढी लक्षणहरू देखिए डेंगी शंका गर्न सकिन्छ।
१) अत्यधिक टाउको दुख्नु।
२) आँखाको पछाडिको भाग दुख्नु वा आँखाको गेडी दुख्नु।
३) जोर्नी वा मांशपेशी दुख्नु।
४) शरीरमा स-साना राता बिबिरा देखिनु।
५) वाकवाक लाग्नु।
६) बान्ता हुनु।
बिरामीले यो अवस्थामा पनि उपचार नपाए जटिल अवस्थामा गई मृत्यु समेत हुनसक्दछ। लक्षणहरूको आधारमा मात्र डेंगी भाइरस निश्चित गर्न सकिँदैन। कोभिड-१९ लगायत अरू मौसमी संक्रामक रोगहरूका केही लक्षण डेंगीसँग पनि मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण जरूरी हुन्छ।
भाइरस वा भाइरसविरूद्धको एन्टिबडी पत्ता लगाएर डेंगी निदान गर्न सकिन्छ।
नेपालमा विगतदेखि डेंगी विरूद्धको एन्टिबडी हेरेर संक्रमण निदान गर्ने प्रचलन छ। पिसिआर प्रविधिबाट डेंगीको कुन सेरोटाइप हो भनेर छुट्याउन सकिन्छ। यो आवश्यक पनि छ किनभने विगत र हालमा संक्रमण गरेको डेंगीको सेरोटाइप फरक भए संक्रमितमा डेंगीको जटिलता बढेर जाने वा कडा हुनसक्दछ।
हाल कोरोना भाइरस पहिचानमा प्रयोग हुँदै आइरहेका पिसिआर प्रविधि डेंगी सेरोटाइप छुट्याउन पनि प्रयोग गर्न सकिनेछ।
योसँगै रगतमा सेतो रगत, प्लेटेलेट्स तथा हेमाटोक्रिट हेरेर डेंगीको शंका, बिरामीको अवस्था र उपचारको तरिकाको बारेमा निर्णय लिन सजिलो हुनेछ।
डेंगी भाइरसविरूद्ध विशेष औषधि हालसम्म उपलब्ध छैन। लक्षणमा आधारित भएर डेंगीको उपचार गर्ने गरिन्छ। ज्वरो वा शरीर दुखे सिटामोलको प्रयोग गर्न सकिन्छ तर ब्रुफिन, एस्पिरिन वा फ्लेक्सन जस्ता दुखाइ कम गर्ने औंषधिको प्रयोग भने झुक्किएर पनि गर्नु हुँदैन। यस्ता औषधिको प्रयोगले रक्तश्राव बढाउन सक्छ र संक्रमित थप जटिल अवस्थामा जान वा मृत्यु समेत हुनसक्छ।
नेपालमा बिरामी आफैं औषधि पसल जाने र ब्रुफिन वा फ्लेक्सनजस्ता दुखाइ कम गर्ने औषधि लिन जाने चलन विगतदेखि नै छ।
यो समयमा (हाल डेंगी देखिरहेकोले) ज्वरो आए, टाउको दुखे पहिले स्वास्थ्यकर्मीको सम्पर्कमा गई त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)