घरमा एउटा फलामको मग थियो। माथिदेखि तलसम्म उत्रै– ढुङ्ग्रोजस्तो।
अम्खोराभन्दा अलि सानो, गिलासभन्दा अलि ठूलो, चौडा। निम्ठोमानो दूध ठ्याक्कै अटाउँथ्यो। घरमा भैंसी भएका बेला दूध लिन आउने छिमेकीहरूलाई डाडुले ठ्याम्म भरेर त्यसै मगबाट खन्याइ दिनुहुन्थ्यो, आमा।
अन्यथा कहिले त्यसमा ठेकीबाट नौनीका डल्ला तात्तातै झिकेर राखिएका हुन्थे, कहिले अर्थोकै। दसैंमा नवमीका दिन आमाले मासुको बोसो पगालेर राख्नुहुन्थ्यो, पछि सेल हाल्नका लागि।
कहिलेकाहीँ घरमा चिया खान स्टिलको गिलास नपुगेका बेला त्यो मगमा चिया पनि खाइन्थ्यो।
एक मग चिया…
वा एक मग तातो दूध…
वा घाँटी दुखेका बेला कुल्ला गर्न एक मग मनतातो नुनपानी…।
सात कक्षा पढ्ने भएपछि साथीहरू बाउआमासँग 'साथीलाई बड्डे गिफ्ट दिन' भनेर पैसा माग्न सक्ने भए। उनीहरूले मलाई पहिलो 'ठूलो' गिफ्ट दिए– ६ वटा कपको सेट।
मैले पहिलोचोटि आफ्नै कपमा चिया खाएँ– एक कप चिया।
कपमा चिया खाने धीतै नमरी आमाले पाहुना आएका बेला मात्र झिक्ने भनेर गिफ्ट ल्याएकै बक्सामा कपसेटलाई सिरानतलामा थन्क्याइ दिनुभयो।
दिनचर्या फेरि 'एक गिलास चिया' मै फर्कियो। गिलास नपुगेका बेला वा घरबाट कतै निस्किन हतार भएका बेला कहिलेकाहीँ 'एक बटुको चिया' पनि खाइन्थ्यो।
तर एक कप चियामा अनौठो रोमाञ्च थियो। बिट फर्केका पुन्टे गिलास वा पिँधबाट फुक्दैफुक्दै गएर माथि फ्याँ परेका गिलासमा जति गुलियो चिया वा जति नै बाक्लो दूध खाए पनि त्यसको स्वादलाई 'एक कप चिया' को शानले सजिलै जितिदिन्थ्यो।
जाडोको बेला बिहानभरि चिसो पानी खेलाएर वा नुहाएर आएपछि कपालका रेसाबाट तपतप पानी चुहाउँदै कठ्यांग्रिएका दुई हत्केलाबीच घुमाइघुमाइ स्टिलको गिलासमा चिया खाँदाको तातो सेरामिकको एक कप चियाले के दिन्थ्यो र? तै पनि म बबुरीको मन भने सिरानतलाको तखतामा विशिष्ट पाहुना आउने दिन कुरेर बसिरहेका कपहरूमा टक्क अडिएको थियो।
काठमाडौं आएपछि पेट र मन दुवै अघाउन्जेल कपमा चिया खाइयो। तरहतरहका, आकारआकारका कप। सुलुत्त परेका, लाम्चा, पुड्का, कार्टुनका अनुहार गरेका, मान्छेकै फोटा छापिएका सबैजसोको चियाको स्वाद चाखियो। कति कप माझ्दा चिप्लिएर फुटे। कति माझेपछि पानी झार्न हल्लाउँदाखेरि भुइँमा हाम्फालेर फुटे। समात्ने बिँड मात्र फुटेका गहिरा लाम्चा केही कप कलम राख्ने भाँडो बने, केहीले चम्चाको पसल थापेर बसे।
एक कप कलम वा एक कप चम्चा भनेर किन भनेनन् होला मान्छेहरूले?
सहरले एकदिन अर्को कपसित चिनापर्ची गरायो। ब्रा किन्न पसल छिरेकी मलाई पसल्नीले कप साइज सोधिन्। कप? एकछिन अलमल्ल परेँ।
सहरतिर ब्राका दुइटा खबटालाई पनि कप भन्दा रहेछन् भनेर त्यतिखेरै थाहा पाइयो। हजुरआमाले ब्रा लाउनुभएन। हामीले टाँगामा सुकाएको ब्रा देख्दा भन्नुहुन्थ्यो, 'ए नानी तेरा केजाति हुन् भित्र लैजा है, रात पर्यो।'
सोधेको भए ब्राका कपलाई उहाँले के नाम दिनुहुन्थ्यो होला?
टपरी? बटुका? बाटा?
किशोरावस्थासितै हुर्किएको एक कप चियाको रोमाञ्च बिस्तारै हराइसकेको थियो। एकदिन सहरले फेरि एउटा अर्को कपसित चिनापर्ची गरायो। त्यसलाई मैले आलो रगतले भरेँ र फिस्स हाँसेर मनमनै भनेँ, 'एक कप रगत…।'
हजुरआमालाई देखाएर यो के हो भनेर सोधेको भए उहाँले भन्नुहुन्थ्यो होला, 'सोली हो त?…यस्तो मोरो (स्यानो) सोली त के हुन्थ्यो!'
पहिलोपटक महिनावारी हुँदा अर्काको घरमा लुकेको सातौं दिन बिहानै लुगा र ओढ्ने-ओच्छ्याउनेको पोकोपुन्तुरो बाँधेर म घर भित्रिएकी थिएँ। आमाले दैलोमा रातो अक्षता लाइदिएर सगुनमा त्यति बेला खुब चलेको लामो फ्यार्रर परेको गुलाबी रङको मेडी दिनुभएको थियो। बुवाले दिनुभएको एउटा प्लाष्टिकको झोलाभित्र केही कट्टु, दुई-चार पोका प्याड र एउटा 'फ्लपी डिस्क' थियो।
उसै दिन मेडी फरर पारेर प्लाष्टिकको झोलामा फ्लपी डिस्क हल्लाउँदै म ढुंगा छापेका सिँढीमा बाँकटे हानेर बजारको कम्प्युटर इन्स्टिच्युटमा छुटेको पाठ सिक्न पुगेकी थिएँ।
फेरिफेरि 'पन्छिँदा' आमाले थोत्रा फरिया च्यातेर केही थप टालाहरू दिनुभयो। प्याडलाई मैले मामाघर वा अन्त कतै जाँदा (भइपरी आउँदा) चाहिन्छ भनेर जोगाएर राखेँ। त्यस वर्षको तीजमा घरैमा पाकेको एउटा बेलौती मुड्कीले हिर्काएर अरू दुई-चारजना संगिनीसितै मैले पनि भुड्के पूजा लगाएँ– पहिलोपटक महिनावारी भएबापत रे!
र, पञ्चमीको दिन एकाबिहानै गाउँका दिदीबहिनीको पछिपछि लुगाको पोको र दतिवनका डाँठ बोकेर पर खोलामा माटोले शरीरका अंग कोट्याउन म पनि गएकी थिएँ।
'के हुन्छ र यस्तो गरेर?'
अचम्मको पूजा गरेर घर फर्किँदा मैले आमालाई सोधेँ हुँला।
'पन्छेको बेला राम्ररी नबारेको पाप जान्छ।'
आमाले यस्तै केही भन्नुभयो होला।
त्यसपछि प्रश्न सोधिएन। त्यसको आफ्नै छुट्टै कथा छ।
तर रगतको कथा मेरो आफ्नो थिएन। आफ्नो मात्र थिएन। सबैको उस्तै थियो। सबैको उस्तै कथा हुनु भनेको कथा नहुनु भन्ने मानिन्थ्यो। किनकी असामान्य कुरा मात्र कथाजस्ता लाग्थे। हाम्रा लागि महिनावारी अति सामान्य बनाइएको थियो जति सामान्य थियो खानु, सुत्नु र सायद बाँच्नु पनि…।
'अँ…यो गामभरि तैं मात्र पन्छेकी…!'
केही टिप्पणी गरिहाल्यो भने आउने उत्तर यस्तै प्रकृतिका हुन्थे।
स्कुल पढुन्जेल आमा र हजुरआमाका थोत्रा फरियाका टाला नै मेरा प्याड भए। आमाबासँग पैसा मागेकै भए प्याड किनेर लाउन सकिन्थ्यो होला तर मागिएन। साथीहरू सबै नै टाला हालेर हिँड्थे। त्यसैले प्याड किन्ने पैसाको माया लाग्थ्यो। हाम्रा लागि प्याड सम्पन्नताको द्योतक थियो। प्याडमा पैसा हाल्नु भनेको फजुल खर्च गर्नु भन्ने हुन्थ्यो। हामी झलक्क हजुरआमाहरूले कुन सन्दर्भमा भनेको घाँटी हेरेर हाड निल्नु भन्ने उखान सम्झन्थ्यौं।
स्कुलमा हरेक दिन सबैजसो विद्यार्थीलाई कुनै सनकी मास्टरले झुक्याएर प्रश्न सोधिदिने हुन् कि, कुखुरा बनाइदिने हुन् कि भन्ने डर हुन्थ्यो। महिनाको चार-पाँच दिन हामी केटीहरूलाई चाहिँ राखेको ठाउँबाट टालो यताउति सर्ने हो की, मेडीमा रगतको टाटो बस्ने हो कि, बेन्चमा रगत लाग्ने हो कि, पेट दुखेर साह्रो पार्ने हो की भन्ने डर पनि थपिन्थ्यो।
त्यसैले हरेक घन्टीपछि कक्षाकोठाबाट खाजापानी खान निस्कन पर्दा एकजना साथीलाई पुट्ठो छेक्न पछाडि राखेर हिँडिन्थ्यो। चुहियो कि जस्तो लागेका बेला साथीलाई त्यहीँ रोकेर आफू दगुर्दै अगाडि गएर आँखाको सनकले 'लाग्या छ?' भनेर सोधेपछि मात्र ढुक्क हुन्थ्यो।
बिहानदेखि बेलुकासम्म रगत सोस्न कपडाको बाक्लो टालो कोचेर हिँडिरहँदा पछाडि मेडी भुक्क उठेको छ र सबैले मेरै पुट्ठोमा हेरिरहेका छन् भन्ने भावनाले मलाई हरबखत पछ्याइरहन्थ्यो। त्यो दकस छल्न कति बिहानी प्रार्थना हापियो, कति शुक्रबारे अतिरिक्त क्रियाकलापमा टाउको दुखेको निहुँ बनाएर कक्षाकोठाको झ्यालबाट हुनसक्ने जति मात्र सहभागी भइयो।
महिनावारी अघि सरेका बेला त झनै कन्तबिजोग हुन्थ्यो। यस्तो बेला कहिले आफ्नै त कहिले साथीभाइको रुमालले काम चलाउनुपर्थ्यो। कतिफेर त हामीले कट्टुभित्र कापीको ताउ पनि हालेर हिँड्यौं। यस्तो बेला झोलाका दुईतिरका कानमा एउटामा पानीको बोतल र अर्कोमा रगतले कक्रक्क परेका टाला पोको पारेर राखिएका हुन्थे। उत्तिन्खेरै धुन नभ्याएर दलिन वा कतै अन्तरकुन्तरतिर घुसारेका टाला बीचमा भ्वाङ परेको अवस्थामा मुसाको दुलो छेउछाउ भेटिन्थे।
काठमाडौं आएपछि पनि मैले लामो समयसम्म नियमित प्याड प्रयोग गरिनँ। कलेज जाँदा प्याड र घरमा बस्दा टालैले काम चलाउनु किफायती लाग्थ्यो। प्याड पनि महँगा किनिएन। काम चले भइगो नि जस्तो लाग्थ्यो। छोटा र मोटा प्याड लगाएर फेरि पनि कलेजको पाइन्ट भुक्क बनाएरै हिँडियो।
चौथो वा पाँचौं दिनपछि रगत आइहाल्छ कि भन्ने डरले प्याड लगाएर घरबाट निस्किँदा बेलुका अलिकति मात्र रगत लागेको प्याड निकालेर फाल्नुपर्दा मन कटक्क खान्थ्यो। त्यही लोभले ६ घन्टा कट्दा पनि प्याड नफेरेका उदाहरण त कति कति।
कहिलेकाँही प्याड बचाउन दुई-तीनवटा प्यान्टी खापेर पनि हिँडियो। यस्तो बेलाको लागि प्यान्टी लाइनर्स पनि हुन्छ भन्ने थाहा पाएको त धेरै समय भएको पनि छैन। टेम्पोनका नाम त सुनियो तर कहिल्यै त्यो कस्तो हुन्छ भनेर गुगल गरेर समेत हेरिएन, प्रयोग गर्नु त धेरै परको कुरा।
मध्यम वर्गीय परिवारमा हुर्केका हामीहरूका त रगतका यस्ता कथाहरू छन् भने निम्न वर्गीय महिलाहरूका कथा कस्ता होलान्?
नढाँटी भन्नुपर्दा धक नमानीकन प्याड प्रयोग गर्न सक्ने भएको पनि केही वर्ष मात्र भयो। पूरै टालोबाट प्याड र टालो आधाआधा त्यसपछि पूरै प्याड प्रयोग गर्ने 'स्तर' को हुँदासम्मको मेरो महिनावारी यात्रा आज लगभग १४ वर्षको भयो।
यो यात्राभरि महिनावारीजति झिँजो मलाई केही लागेन। महिनाका ती पाँच दिनलाई मैले जहिल्यै अत्यास र दिग्दारीमिश्रित भावनाले हेरेँ। महिनावारीलाई सधैं छल्न खोजिरहेँ, यसबाट पर भाग्न खोजिरहेँ। केही टाला रगतको बोझले मलाई यसरी थिचिरह्यो, महिनावारी हुनु परेकै कारण आफू महिला भएर जन्मेकोमा सधैं असन्तुष्ट रहेँ। गर्भवती हुँदा महिनावारी बन्द हुन्छ रे भनेर थाहा पाएका दिन मलाई कुनै ठूलै आविष्कार गरेँझैं लागेको थियो।
'म त बच्चा पाको पायै गरिरहन्छु उसोभए त।'
मेरा कुराले मेरी गर्भवती ठूलीआमा मरिमरी हाँसेकी थिइन्।
जब तीन महिनाअघि मैले पहिलोपटक महिनावारी कपको प्रयोग गरेँ, रगतले भरिएको कप निकालेपछि एकछिनसम्म त मैले आफ्नै रगत हेरिरहेँ। त्यो एक कप रगतले मलाई एकैचोटि रोमाञ्चित र भावुक बनायो।
नापेको भए कति– दुई चम्चा? धेरै भए तीन चम्चा रगत थियो त्यहाँ!
त्यति रगतका लागि १४ वर्षसम्म म कत्रो सास्ती बाँचेर हिँडिरहेँ! आफूलाई फोहोरी सम्झिरहेँ, आफैंसित घिन मानिरहेँ। आत्मसम्मानका साथ शिर ठाडो पारेर हिँड्न सकिनँ। महिला हुनुमा हीनभावना पालेर बाँचिरहेँ।
यत्रो सास्ती दिएको रगत सर्लक्क एउटा कपमा थापेर हिँड्न पाउँदा मलाई त संसारै जितेजस्तो भयो। महिनावारी नै नभएजस्तो– हल्का, ओभानो। धेरै समयसम्म त पत्यार नलागेर चुहिएको पो छ कि भनी हेर्न छिनछिनमा ट्वाइलेट गइरहेँ।
जतिखेरै ओसिलो र चिसो प्याडले मलाई हरबखत 'तँ महिनावारी भएकी छस्, होस् गर् है!' भनेर खबरदारी गरिरहेझैं लाग्थ्यो, शारीरिक र मानसिक दुवै रूपमा कुँज्याइदिएझैं लाग्थ्यो। मुस्किलले आधा बित्ताको त्यो कपले मलाई महिनावारी नै नहुँदाको जस्तो स्वतन्त्रता देला भनेर मैले कल्पनासम्म पनि गरेकी थिइनँ।
स्वाट्ट झिक्यो, खन्यायो, सफा गर्यो, राख्यो र केही नभएजसरी निस्कियो! हिँड्दा घरिघरी सर्ने, बस्दा चिपिक्क टाँस्सिने, परिस्थिति विशेषले लामो समय फेर्न नपाउँदा गनाउने, सुत्दा-बस्दा लुगामा चुहिने डर आदिबाट एकैचोटि सर्लक्क छुट्कारा पाएँ भनेर विश्वास गर्न मलाई लामो समय लाग्यो।
पहिलो महिनावारी कपद्वारा राम्ररी निप्ट्याएपछि भएभरका संगिनीहरूलाई सुनाउँदै हिँडेँ। मुड स्विङ्स नचाएका बेला त पसलका सबै कप किनेर बाटोबाटो बाँड्दै हिँडूँ कि जस्तो पनि भयो।
अति उत्साहित भएर यस्तो गजब चिज बनाइदिने को रहेछ भनेर गुगल गर्दा पो खिस्स परेँ– महिनावारी कपको पहिलो प्रोटोटाइप त सन् १८६० मै बनिसकेको रहेछ। सन् १९३७ मा आएर बल्ल अमेरिकी अभिनेत्री लियोना चाल्मर्सले आधुनिक महिनावारी कपको पेटेन्ट आफ्नो नाममा दर्ता गराएकी रहिछन्।
संयोग यस्तो पर्यो– म एक कप रगतको रोमाञ्चमा उड्दै हिँडेका बेला देश फेरि (हो त, फेरि!) प्याडमाथि करको बहसमा उत्रिएको थियो। सामाजिक सञ्जालतिर मान्छेहरू प्याड 'लक्जरी गुड्स्' अर्थात् सुविधाभोगी वा विलासिताको वस्तु हो कि होइन भन्ने बहसमा तल्लीन देखिन्थे। कति त यसलाई कण्डमसँग दाँजिबसेका थिए।
मेरो मनमा झट्ट आयो– ओहो, यिनले कपमा रगत थापेर हिँड्ने कुरालाई त झन् के भन्दा हुन्?
थोत्रा फरिया, बिचमा भ्वाङ परेर काम नलाग्ने भएका चिप्ला तन्ना वा मक्किएका सिरकको खोलले रगत तह लगाउनुपर्नेका लागि प्याड किन सुविधाभोगी वस्तु होइन? अवश्य हो! मूल प्रश्न यो राज्य र समाज महिलाहरू कतिसम्म 'सुविधा' का हकदार हुन् भन्ने ठान्छ भन्ने हो! र यो 'सुविधा' को सीमा निर्धारण गर्ने अख्तियारी राज्यले कसको हातमा सुम्पन्छ भन्ने हो! कतिसम्म 'सुविधा' लाई अत्यावश्यक र कतिसम्म 'सुविधा' लाई विलासिता र वैकल्पिकको कोटीमा राख्छ भन्ने हो।
जतिखेर नेपालमा गर्भपतन अवैध थियो, त्यति बेला पनि गर्भपतन हुन्थ्यो। तर जेल जानेहरू गरिब, निमुखा र अनपढ महिला मात्र हुन्थे। पहुँचवालाका लागि गर्भपतन सधैं वैध र सुरक्षित नै थियो। यतिखेर प्याडको मुद्दा पनि त्यस्तै हो।
प्याडमा करले कसलाई असर पार्छ, कसलाई अँठ्याउँछ हामीले भनिरहनु पर्दैन। अर्को कुरा, प्याडको जस्तो देखिए पनि यो मुद्दा खासमा प्याडको होइन। यो त राज्यले महिलालाई कसरी हेर्छ भन्ने कुराको स्पष्टोक्ति हो। महिलाका समस्या, आवश्यकता र प्राथमिकतालाई कहाँनेर राख्छ र केसँग तुलना गरेर हेर्छ भन्ने कुराको उदाहरण हो। समाजवाद उन्मुख, सबै किसिमका लैंगिक विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाएको राज्यले महिलाको मर्यादित जीवनलाई कसरी परिभाषित गर्छ भन्ने हो। त्योभन्दा पनि महत्त्वपूर्ण, त्यो परिभाषा गर्ने ओहोदामा कसलाई बसाउँछ भन्ने हो।
स्टे फ्री, ह्विस्पर अल्ट्रा, एनिटाइम आदिका विज्ञापनमा निलो मसी सर्लक्कै सोसेको, विङ्स (कट्टुमा टाँस्ने चोसा) भएका प्याड लगाएका केटीहरूले अरूसरह पुट्ठो तेर्साएर निर्धक्क ब्याडमिन्टन, टेबल टेनिस आदि खेलेको, नाचेको देखेर यी त भयंकर ऐसआरामका वस्तु रहेछन् भनेर अनुमान लगाउनेहरू निर्णयकर्ताको कुर्सीमा विराजमान हुने ठाउँमा 'प्याडम्यान' हरूको आशा राख्नु पनि मूर्खता नै होला।
मर्यादित महिनावारीसम्बन्धी कुनै विकासे संस्थाले गरेको कार्यशालामा समापन मन्तव्य दिन पुगेको प्रमुख अतिथि डिनरमा कति पेग लगाएपछि 'बाहिर भन्न त नहुनी तर हाम्रा आमाहरूलाई टालो हालेर नि भयो, यिनलाई प्याड सित्तैमा चाइनी' भन्न तम्सन्छ, लुकाएर लुक्ने कुरा होइन।
हामीकहाँ ट्वाइलेटमा रगत लागेको प्याड देख्दा पनि तीनहात उफ्रिने, गुहु नै कुल्चिएझैं नाक खुम्च्याउने 'रगतको मुख नदेखेका' हरूको जमात बाक्लो छ। 'हाम्रा हजुरआमाहरूले कहिल्यै गुनासो गरेनन्, लुसुलुसु बारीको पाटामै एक दर्जन छोर्छोरी पाए, पाएको पर्सिपल्ट ठम्ठम् हिँडेर मेलामा गए' भन्दै बहसलाई बहकाउने जमात पनि खासमा यही हो। हामी 'पिरियड पोभर्टी' अर्थात् महिनावारी गरिबीबाट भन्दा पनि धेरै गरिब मानसिकता, गलत दृष्टिकोण र दरिद्र सोचबाट पीडित छौं।
महिनावारीलाई सामान्यीकरण गर्नु भनेको यसलाई हल्का रूपले लिनु भन्ने होइन। प्राकृतिक हुँदैमा सबथोक सहज र सामान्य हुँदैन। जति प्राकृतिक महिनावारी हो उति नै सकसपूर्ण काम महिनावारी रगतको व्यवस्थापन हो। यससँगै जोडिएर आउने अनेकौं समस्याहरूको फेहरिस्त यहाँ नखोलौं। हाम्रोजस्तो मुलुकमा त झन् यसलाई लाजशरम र पापसँग गाँसेर हेरिँदिँदा महिनावारी यसै पनि हाउगुजी बन्न पुगेको छ।
हाम्रा आमा-हजुरआमाहरू रगतलाई यतिसम्म लाज र शरमको विषय बनाएर बाँचे, उनीहरूले रगत त के, धोइसकेको टालो समेत लोग्ने मान्छेले देख्ने ठाउँमा सुकाएनन्। रगतलाई लुकाउँदा लुकाउँदा सायद समाजले महिनावारीलाई यति सामान्य रूपले लिन थाल्यो, यसको सकस र जटिलता समेतलाई नजरअन्दाज गरिदियो।
प्याडको अर्थ-राजनीति बुझेकाहरू घरमै पाइने कपडाको सफा टालो प्रयोग गर्न जोड दिन्छन्। यतिखेर स्थानीय स्तरमा यी टालाहरूलाई आधुनिक र व्यावसायिक बनाउने लहर पनि चलिरहेको छ। तर यथार्थ के पनि हो भने धुनु नपर्ने, पोको पारेर हिँड्नु नपर्ने, सहजै डिस्पोज गर्न सकिने आदि कारणले टालाभन्दा प्याड धेरै हदमा सजिला र छरिता छन्। अर्कोतर्फ घरेलु कपडालाई प्याडको बजारसित प्रतिस्पर्धा गर्न सजिलो पनि छैन।
अर्को कुरा, महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारभित्रको एउटा महत्त्वपूर्ण पक्ष वैज्ञानिक आविष्कारहरूको सहज र सुलभ पहुँच र उपभोगको अधिकार पनि हो। महिनावारीको व्यवस्थापनमा प्रयोग गरिने वस्तुहरूको महिलाको यौन तथा प्रजनन स्वास्थ्यसित सोझो सम्बन्ध हुन्छ। कपडाको टालो र प्याडको तुलनामा कैयौं गुणा सजिला, छरिता, स्वास्थ्यका हिसाबले कम जोखिमयुक्त, किफायती र वातावरण संवेदनशील विकल्पलाई संसारैले अंगिकार र प्रोत्साहन गरिरहेका बेला हाम्रो बहस अब प्याड कि टालो भन्नेमा मात्रै सीमित हुनु हुँदैन।
प्याड वा टेम्पोनले भन्दा धेरै गुणा बढी रगत सोस्ने, सबै उमेरका महिलाका लागि उपयुक्त आकारमा पाइने, एकपटक किनेपछि (ब्रान्ड हेरी) छ महिनादेखि दस वर्षसम्म पुनर्प्रयोग गर्न सकिने यी कपलाई चिकित्सा समुदायले समेत रुचाएको पाइन्छ। लेटेक्स रबरबाट परिष्कृत हुँदै मेडिकल ग्रेड सिलिकोनद्वारा बन्न थालेका यी लचकदार र नरम कपका झन्झन् सजिला मोडल उत्पादन भइरहेका छन्।
महिनावारीमा कुन सामग्री प्रयोग गर्ने भन्ने कुरा महिनावारीको व्यवस्थापनसँग मात्र सम्बन्धित विषय होइन। यो त महिनावारीबारे गरिने संवादलाई व्यापक, सहज र सामान्य बनाउने, महिनावारीका नाममा व्याप्त रुढीवाद र अन्धविश्वासलाई चिर्ने र अन्ततोगत्वा महिलाको यौनिकतालाई फरक आँखाबाट हेर्ने वातावारण तयार गर्ने माध्यम पनि हो।
त्यस कारण, हाम्रो बहसको व्यापकताले भोलिको पुस्ताको महिनावारीसितको सम्बन्धलाई परिभाषित गर्छ। महिलाको स्वतन्त्रता र आत्मविश्वासलाई नयाँ आयाम दिन्छ। भोलिको पुस्ता महिनावारीदेखि डराएर, खुम्चिएर र हीनभावना पालेर बाँच्छ वा महिनावारीलाई सामान्य र नियमित प्रक्रियाको रूपमा आत्मसात् गरेर फुक्काफाल भएर बाँच्छ भन्ने कुरा निर्धारण गर्छ।
हाम्रो बहसको बहुआयामिकताले यी मुद्दाहरूमा राज्यले कस्तो नीति लिन्छ भन्ने कुरालाई पनि दिशानिर्देश गर्छ।
आफ्नो अत्यन्त निजी र संवेदनशील अंगभित्र एउटा बाहिरी वस्तु (भाँडो नै भने नि भयो) छिराएर हिँड्नुको कल्पना मात्र पनि मेरा लागि सकसपूर्ण थियो। धर्म, संस्कृति, परम्परा, रितीरिवाज आदिको नाउँमा इज्जत, चरित्र, लाजशरम र मर्यादाको केन्द्र बनेको योनी हाम्रो समाजमा महिलाको (मात्र) कहाँ हो र? चेतन दिमागले नभए अवचेतनले नै सही, सायद महिनावारी कप प्रयोग गर्न म हिचकिचाउनुको पछाडि कहीँकतै यही सोचले काम गरेको थियो। अहिले सोच्छु, धन्न आँटेँ। नत्र कत्रो कुरा छुटाउने रहेछु! कत्रो स्वतन्त्रता गुमाउने रहेछु!
बिडम्बना, वीरहरूको छातीबाट बगेको रगतलाई सलामी ठोक्ने देशले महिलाको योनीबाट बग्ने रगतलाई अपवित्र ठान्छ, त्यसदेखि घिन मान्छ र त्यसमाथि कर लगाउन समेत पछि पर्दैन। यस्तो देशमा 'एक कप चिया' को पहुँच नभएकाहरूसम्म 'एक कप रगत' कहिले पुग्ला?
पुग्ला र?
ट्विटरः @durgakrk
(दुर्गा कार्कीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)