सोचेभन्दा अगाडि नै कोरोनाविरूद्धको खोप नेपालमा आएपछि 'खोप अभियान' फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूबाट सुरू गर्ने भनियो। तर धेरै स्वास्थ्यकर्मीहरूमा नै खोपबारे शंका र जिज्ञासाहरू थिए।
त्यसैले खोप लगाउने दिन जति नजिकिँदै जान्थ्यो त्यति नै स्वास्थ्यकर्मीबीच छलफल बाक्लिँदै जान्थ्यो। पछि विभिन्न अनुसन्धानमा आएको तथ्यले स्वास्थ्यकर्मीहरूलाई खोप लगाउन प्रेरित गर्यो।
छिमेकी भारतमा भर्खर खोप लगाउन सुरू गरेको र त्यहाँ पनि खोपलाई लिएर विभिन्न शंका र नकारात्मक कुराहरू आएकाले नेपालमा पनि खोपबारे केही अन्यौल हुनु स्वभाविक हो।
नेपालमा आएको खोप सुरूमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई लगाउने भनेपछि एक जना सञ्चारकर्मीले मलाई स्वास्थ्यकर्मीहरू खोप लगाउन डराइरहेका बेला के तपाईं खोप लगाउनुहुन्छ? भनेर सोधेका थिए।
मैले यदि मलाई भ्याक्सिन पहिला लगाउन भनियो भने 'म एकदम तयार छु' भनेको थिएँ।
नभन्दै खोपको सुरूआत नै म कार्यरत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट सुरू भयो। त्यो बेला भ्याक्सिनप्रति मानिसमा विश्वास जगाउन धेरै लेखहरू लेखियो पनि। तर अहिले त्यस्तो स्थिति छैन। धेरैले भ्याक्सिन कहिले आउँछ भनेर सोध्ने गरेका छन्।
नेपालमा हाल दुइटा खोप प्रयोगमा आइरहेका छन्। एउटा भारतमा उत्पादित 'कोभिसिल्ड' नामको खोप हो। जुन खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनकाले विकास गरेको हो। अर्को चीनको सिनोफार्म कम्पनीले विकास गरेको 'भरोसेल' नामक खोप हो।
नेपालमा खोप सुरू गरिएको समयमा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुगेर केही मत्थर भएको थियो।
सुरूमा स्वास्थकर्मीहरू पनि खोप लगाउन उत्साहित देखिएका थिएनन्। खोपप्रति विश्वास नहुनु नै मुख्य कारण थियो। कतिपय त खोप लगाएकाहरूमा के-कस्तो असर पर्यो भनेर सोधखोज गरेपछि मात्र लगाउन तयार भएको देखियो।
नेपाल सरकारले अनुमति दिएका दुवै खोपहरू विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी प्रभावकारी रहेको अनुसन्धानबाट प्रमाणित भैसकेको छ। तसर्थ यी दुवै भ्याक्सिन उत्तिकै सुरक्षित र प्रभावकारी छन्।
हाल नेपालमा तीन नयाँ कोरोना भाइरसका भेरियन्ट भित्रिएको छ। जसमा यूकेमा देखिएको बी.१.१.१.७ र भारतमा विकास भएका बी.१.६१७.१ र बी.१.६१७.२ भेरियन्ट छन्।
नयाँ भेरियन्ट देखिएकाले हाल प्रयोगमा आइरहेका खोपहरूको प्रभावकारिता कस्तो होला भन्ने कौतुहलता हुनसक्छ। यस्तो चासो विश्वका वैज्ञानिकमा पनि छ।
अस्पतालको आकस्मिक कक्षमा आइपुगेकालाई खोप लगाए/नलगाएको भनेर सोध्दा ९० प्रतिशतले नलगाएको र १० प्रतिशत जतिले एउटा डोज लगाएको देखियो।
अर्को मुख्य कुरा के हो भने जसले खोपको पहिलो डोज लगाएका थिए, उनीहरूको स्वास्थ्यमा छिटो सुधार भएको पनि देखियो। टेकु अस्पतालमा देखिएको यस्तो तथ्यांक अरू अस्पतालमा पनि उस्तै नै होला। यसबाट कोरोना भाइरसविरूद्ध लड्न खोपको भूमिका कति महत्वपूर्ण छ भन्ने प्रष्ट हुन्छ। दुई डोज खोप लगाएका कतिपयलाई कोरोना संक्रमण देखिएको पनि छ तर उनीहरू लगभग सबैलाई खासै स्वास्थ्य समस्या देखिएको पाइएन।
हालै अमेरिकामा दुई डोज कोरोनाको भ्याक्सिन लगाएर पनि संक्रमित भएकाहरूको सर्भे गर्दा २७ प्रतिशतमा लक्षण नै नदेखिएको, १० प्रतिशत अस्पताल भर्ना भएको र २ प्रतिशतको मात्र मृत्यु भएको तथ्यांक बाहिर आएको छ।
अमेरिकामा युके भेरियन्टविरूद्ध पनि खोप प्रभावकारी रहेको पाइएको थियो। यद्यपि त्यहाँ 'फाइजर' नामको खोप प्रयोग गरिँदै आइराखिएको छ। नेपालमा भने भारतमा विकसित भएको बी.१.६१७.२ भेरियन्टको भाइरस धेरै रहेको अनुमान गरिएको थियो। तर यसविरूद्ध हाल नेपालमा प्रयोग भइरहेको खोपहरू प्रभावकारी नै रहेको देखिन्छ।
भारतीय भेरियन्ट यूके भेरियन्टभन्दा थप तीव्र गतिमा फैलिने र घातक रहेको पुष्टि भैसकेको छ।
कसैकसैमा खोप लगाएपछि पनि कोरोना भाइरसविरूद्धको एन्टिबडी पर्याप्त नबनेको वा पटकै नबनेको पनि देखिएको छ। यस्तो अवस्थामा कोरोनाको जोखिम भने हुनेछ। कोरोनाविरूद्धको खोप लगाएपछि एन्टिबडीको पनि जाँच गरे आफू कति सुरक्षित रहेछ भनेर थाहा पाउन सकिनेछ।
खोपको लागि नेपाल अरू देशमा नै निर्भर छ। खोपको पूरा दुई मात्रा डोज लगाएपछि मात्र सो खोपबाट लामो समयसम्म पूर्ण फाइदा लिन सकिने भनिएको छ।
हाल चीनमा निर्मित खोपको दोस्रो मात्रा डोज धमाधम दिइरहेको भए पनि भारतमा उत्पादित 'कोभिसिल्ड' खोपको दोस्रो मात्राको बारेमा भने अनिश्चितता नै देखिन्छ।
यो खोपको पहिलो डोज लगाएकाले ८ हप्तामा अर्को डोज पाउनु पर्नेमा १२ हप्ता पुग्ने बेलासम्म पनि आयात नहुँदा आफू कोरोना भाइरसबाट सुरक्षित नहुने हो कि भन्ने उनीहरूमा व्यग्रता झनझन बढ्दै गइरहेको देखिन्छ।
नेपाल सरकारले पनि उनीहरूलाई खोपको आगामी योजनाबारे भरपर्दो जानकरी दिएर विश्वस्त पार्नुपर्ने आवश्यकता देखिन्छ।
पछिल्लो समय एक प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानको नतिजाले 'कोभिसिल्ड' खोपको डोज अन्तराल १२ हप्ता वा सो भन्दा बढी भए झन् प्रभावकारी हुने देखाएको छ।
क्यानडालगायत कतिपय देशले कोभिसिल्ड अर्थात् एस्ट्राजेनेकाको खोप १६ हप्तामा लगाउने योजनामा रहेको देखिन्छन्।
तसर्थ 'कोभिसिल्ड' को खोप ठ्याक्कै १२ हप्तामा लगाउन नपाए खोपले काम नै नगर्ला भनेर चिन्ता लिनुपर्ने देखिँदैन तर थप अन्तर बढे वा अरू कति समयपछि खोपको प्रभावकारिता खस्कँदै जान्छ भनेर यकिन नहुँदा खोप ल्याउने पहललाई निरन्तरता भने दिनुपर्दछ।
अन्तमा, जनस्वास्थका मापदण्ड व्यवहारमा लागू नगरिनु तथा कोरोना भाइरसका नयाँ-नयाँ भेरियन्टले निरन्तरता पाउनुले थप लहरको उतारचढावको सम्भावनालाई नकार्न सकिँदैन।
एक वर्षदेखि लकडाउन, निषेधाज्ञा, मनोत्रासमा बस्नुपर्ने बाध्यता, आर्थिक क्षति, भोकमरी, उपचारका लागि अस्पताल/शय्याको अभाव तथा उपचार पाए पनि सघन उपचारपश्चात स्वास्थ्यलाभ गर्नेको संख्यामा ठूलो कमी देखिनुजस्ता समस्या भोगिसकेका छौं। तर स्वास्थ्यकर्मीहरूले गरेको हालैको 'अब्जरभेसन' मा खोप आसाको किरण बनेर आएको देखिन्छ। नेपालले कोरोना भाइरसको दोस्रो लहरसँग जुध्दै गर्दा विभिन्न मित्र राष्ट्रहरूले सहयोग दिने क्रम पनि बढेको छ।
केही देशहरूले केही संख्यामा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका कुराहरू आए पनि त्यो नेपालका लागि पर्याप्त भने हुने छैन। त्यसैले खोप ल्याउनको लागि शिघ्र आवश्यक पहल गर्नुपर्छ। किनभने कोरोनाको यो दोस्रो लहर अन्तिम लहर नै हुने भन्ने निश्चित नभएको र खोपमा सबैको पहुँच हुनसके अर्को तेस्रो लहर आए पनि दोस्रो लहरजस्तो जटिल अवस्था भने आउने छैन।
(संयोजक, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल।)