'कालीदेखि गौरीसम्मको यात्रामा दबिएको मातृसत्ता' शीर्षकको लेखमा वैदिककालदेखि मध्ययुगसम्मको कालान्तरमा नारीहरू कसरी शक्ति सम्पन्न र स्वतन्त्रताबाट अबला-दासी बने भनेर 'हिन्दु' धर्ममा केन्द्रित रहेर हेरिएको थियो। यो लेखमा इसाई र बौद्ध धर्ममा महिलाको अवस्थाबारे विश्लेषण गरेको छु।
बुद्ध र जिसस दुवैले व्यक्तिगत रूपमा महिला जीवनसाथीको चाहना राखेनन्। बुद्ध वैवाहिक जीवन त्यागेर संन्यासी बने, जिससले बिहे नै गरेनन्। दुवैले ब्रह्मचार्यलाई पवित्रता र आध्यात्मिक जीवनको बाटो माने र यौन सम्बन्धलाई सांसारिक बन्धन र दुःखको बाटो।
तर बौद्ध र इसाई, दुवै धर्मले समाजमा महिलाको स्थान, भूमिका र अधिकारको चित्रण मात्रै गरेका छैनन्, आध्यात्मिक बाटोमा महिलासँग किन र कस्तो व्यवहार गर्ने भनेर 'प्रेसक्रिप्सन' पनि दिएका छन्।
इसाईः
इस्वी सम्वत ११ औं शताब्दीको सुरूसम्म यरोपको ठूलो हिस्सा 'बहु देवदेवी पूजक' थियो। त्यहाँ इसाई धर्म तेस्रो शताब्दीदेखि अलिअलि गर्दै फैलिन सुरू भयो। इ.स. ३०१ मा इसाईलाई आफ्नो राज्य-धर्मका रूपमा घोषणा गर्ने आर्मेनिया पहिलो साम्राज्य बन्यो।
इङ्ल्यान्डमा इसाई धर्म सातौं शताब्दीबाट ११ औं शताब्दीसम्म क्रमश: फैलियो। इ.स. १०६६ मा जब इङ्ल्यान्डमा नार्मन जातिले आक्रमण गरे, तब पोपको मद्दत पाउन त्यहाँका शासक स्याक्सन जातिले इसाई धर्मलाई 'राजकीय धर्म' स्वीकार गरे। त्यसका लागि त्यहाँ तीन सय वर्षदेखि लगातार सक्रिय मिसनरी पादरीहरूको भूमिका पनि रह्यो।
रोममा इसाई धर्म चौथोबाट छैठौं शताब्दीबीच स्थापित भएको पाइन्छ। फ्रान्समा छैठौं शताब्दीबाट सुरू भएर स्विट्जरल्यान्ड लगायत बाँकी युरोपेली देशमा १३ औं शताब्दीसम्म इसाई धर्म फैलिने क्रम जारी रह्यो। इसाईको मूल मान्यताका प्रबल प्रभाव १२ औंबाट १६ औं शताब्दीसम्म युरोपमा व्यापक भयो।
तर १५ औं शताब्दीमै युरोपमा इसाई धर्मको प्रचन्ड विरोध सुरू भएको थियो। त्यति बेला इसाई धर्मका केही मूलमान्यतालाई धेरैले मानवता र महिला विरोधी ठम्याएका थिए। खासगरी महिलाप्रति क्याथोलिक चर्चको अडानमा।
क्याथोलिक चर्चमा केबल पुरुषहरू पूजारी र विशप बन्न सक्छन्। तिनीहरू ब्रह्मचारी नै रहनुपर्छ। तिनीहरू पूजारी र विशप हुनुको अर्थ उनीहरू चर्चसँग 'विवाहित' मानिन्छन् र उनीहरूका कर्तव्य पूर्ण रूपमा सम्पन्न गर्न पारिवारिक जिम्मेवारीबाट स्वतन्त्र हुनु आवश्यक छ। क्याथोलिक चर्चमा महिला पूजारी नियुक्त गर्न सकिँदैन।
इसाई ग्रन्थहरूमा महिलाबारे लेखिएका केही कुरा यस्ता छन्ः
'हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस। किनकी पति पत्नीको शिर (मालिक) हो, जस्तो चर्चको शिर क्राइस्ट हुनुहुन्छ। जसरी चर्च क्राइस्टको अधीनमा छ, त्यसरी पत्नीहरू पनि हरेक कुरामा पतिका अधीनमा रहनुपर्छ।'
'एक महिलाले चुपचाप शान्त र पूर्ण अधीनतामा रहन सिक्नुपर्छ। म कुनै महिलालाई सिकाउने अधिकार वा कुनै पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्नँ। उनी चुपचाप बस्नुपर्छ।
तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो- पुरुष एक्लो बस्नु राम्रो हुँदैन। म उसलाई सुहाउँदो एक सहयोगी बनाउनेछु।'
इसाई धर्मग्रन्थहरूमा उल्लेखित माथिका यी केही हरफले इसाई धर्ममा स्त्री-पुरुषसम्बन्धी मूल मान्यता स्थापित गराएका छन्ः
'ईश्वरले पुरुषलाई आफ्नै प्रतिबिम्वमा बनाए। अत: पुरुष नै समस्त सृष्टिको मालिक हो। पुरुषले धरती (महिला)लाई दबाएर आज्ञाकारिणी र नियन्त्रित बनाएर राख्न र धरतीबाट खुब आनन्द प्राप्त गर्न आवश्यक छ।'
यो कुराले ईश्वर पुरुष मात्र हुने तथ्य उजागर गर्छ। सारा सृष्टि पुरुषको सेवाका लागि बनाइएको हो भन्छ। ईश्वरले प्रथम पुरुष एडमको हाडबाट स्त्री इभ बनाए भनिएको छ। जो पुरुषको मन-बहलाउन बनाइएको थियो। तर स्त्रीले स्वयं काम-सुख लिन नसकून् भनेर योनी-अंगच्छेदन प्रावधान थियो। यो प्रावधानले स्त्री पछि मात्र गरिएका रचना हुन्, पुरुषको एक अंश मात्र हुन्, पुरुषको मनोरञ्जनका साधन मात्र मान्ने क्रम विकास गरेको छ।
नर-नारीको परस्पर स्वेच्छा र उल्लासको मिलन नै 'मूल पाप' मानिएको छ। यो पापका लागि पुरुषलाई शैतानको निर्देशनअनुसार महिलाले 'फकाई-फुस्लाई' गर्ने भनिएको छ। महिलालाई शैतानकी छोरी पनि मानिएको छ। ऊ पुरुषलाई सम्मोहित गरेर मूल पाप वा शैतानियतको जालमा फसाउँछे। पुरुषलाई काम-मोह पासमा सम्मोहित गरी मूल पापमा फसाउन जान्ने जादूगरनीका रूपमा चित्रण गरिएको छ। पुरुषलाई सम्मोहित गर्नु नराम्रो हो, त्यसैले स्त्री एउटा 'डायन वा बोक्सी' हो। उसलाई यातना दिनु पुण्य कार्य हो भनिएको छ।
इसाई धर्मका यी मान्यता र धारणाले महिलामाथिको हिंसा र बर्बरतालाई उचित ठहर्याएको थियो, छ।
हिन्दु-बौद्ध धर्ममा असुर-राक्षस भनेजस्तै इसाईमा शैतान ईश्वरको प्रतिस्पर्धी हो, शत्रु हो। ईश्वर र शैतानबीच निरन्तर युद्ध चलिरहेको हुन्छ। जिससको पादरी मण्डल लगातार शैतानको साम्राज्यविरूद्ध संघर्षरत हुन्छन्। त्यसैले सबै स्त्री, गैर-इसाई सबै पुरुष तथा यो धरतीलाई नै आफ्नो अधीनमा दबाएर राख्नु आज्ञाकारी र नियन्त्रित बनाएर रख्नु हरेक 'आस्थावान इसाई' पुरुषको कर्तव्य हो। यो कर्तव्य पूरा गर्न उसले बुद्धि र बलको हरसम्भव तथा अधिकतम उपयोगद्वारा गर्नुपर्छ।
युद्ध र मिसनरी क्रियाकलापको औचित्यलाई यो धारणाले अघि बढाएको छ। युद्धद्वारा शैतानको राज्य शासन पराजित गर्ने र मिसनरीद्वारा शैतानबाट शासित दुःखी मनुवाको उद्धार गरी जिससको शरणमा लाने अवधारणा आजसम्म क्रियाशील छ।
यिनै मूलभूत मान्यताका कारण इसाई धर्ममा स्त्रीलाई शताब्दियौंसम्म इसाई पुरुषको शत्रु र शैतानकी छोरी तथा शैतानको उपकरण मानिएको थियो, छ। त्यस्तै गैर इसाई पुरुषलाई शैतानको एजेन्ट र अरु धर्मलाई शैतानको धर्म। नर-नारी मिलनलाई मूल पाप मानिएको छ। तर इसाई विधिबाट र चर्चको नियन्त्रणमा वैवाहिक जीवनयापन गरे न्यूनतम पाप मानिएको छ। तब पनि विवाहित स्त्रीलाई मूलत: अपवित्र नै मानिन्छ।
पवित्र स्त्री त चर्चमा दीक्षित 'नन' मात्र हो, जसले त्याग (घर-सम्पत्ति), पवित्रता तथा पादरी र चर्चको आज्ञाकारिताको शपथ लिएकी हुन्छे। ननहरूलाई कठोर शारीरिक तपस्या गर्नु पर्छ। पादरीहरू ब्रह्मचारी हुन्छन्। कुनै पादरीले ननसँग काम-सम्बन्ध बनाइहाले त्यसको दोषी 'सिड्यूसर' ननलाई नै मानिन्थ्यो।
इसाई धर्मका यस्ता मूल-मान्यतासँग जोडिएर बनेको अर्को महत्वपूर्ण मान्यता छः इभ (स्त्री)ले पुरुषलाई बहकाएर मूल पापमा फसाई, अत: ईश्वरले इभलाई श्राप दिए। यसमा मासिक धर्म, प्रसव पीडा, गर्भधारण तथा सदा पुरुषको अधीनमा रहने र दण्डि गराइने लगायत सात वटा श्राप छन्। कुनै भूल गरे स्त्रीलाई कुनै मर्दको बुढी औंलाजत्रो मोटो कोर्राले दसदेखि पचास पटक हिर्काउनु इसाई पुरुषको सहज अधिकार र कर्तव्य भनिएको छ। अपराध गम्भीर भएमा सय वा त्योभन्दा बढी कोर्रा लगाउन सक्छन् पुरुषले। यसले मासिक धर्म र गर्भधारण समेत पाप र श्रापका कारण हुने ठहरिन्छ।
इसाई धर्ममा जन्म पनि मूल पापको परिणाम हो र वस्तुत: धरतीमा पापको प्रसारण हो। केवल चर्चमा समर्पित भएर मात्र व्यक्ति यो पापको भारबाट मुक्त हुन्छ। जिससले सूली चढेर एडम र इभ तथा उनीहरूका समस्त सन्तानद्वारा गरिएको मूल पापको प्रायश्चित पहिल्यै सबैको तरफबाट गरिसकेका छन्। जिसस ईश्वरका एउटै मात्र छोरा हुन् र उनको शरणमा गए मात्र मनुष्य पापबाट मुक्त हुन्छ भन्ने मान्यता छ। यहाँ पापको अर्थ नै नरनारीको समागम हो जसले गर्भधारण र जन्म हुन्छ। अत: व्यक्तिको जन्म नै पापका कारणले हुन्छ भन्ने देखाउँछ।
यस्ता अनौठा मान्यताका कारण करिब पाँच सय वर्षसम्म लाखौं इसाई स्त्रीलाई लगातार दबाइयो, मारियो, जलाइयो, उम्लिँदै गेरको कराईमा डुबाइयो, घोडाको पुच्छरमा बाँधेर घिसारियो। इसाई स्त्रीमा यो अत्याचार कुनै ठग, अनपढ वा असामाजिक तत्वले गरेका थिएनन्। बरू सर्वाधिक शिक्षित, संगठित र प्रभुत्वशाली 'भद्र-पुरुष इसाई समाज'ले गरेको थियो।
राजा हेनरी आठौंको पालामा इङ्ल्यान्डको संसदमा 'साँचो धर्मको उन्नतिसम्बन्धी ऐन' पारित भयो। त्यसले धर्मशास्त्र धर्मगुरू, भद्र र धनी व्यापारीले मात्र पढ्न पाउने गरी अरूका लागि प्रतिबन्ध लगायो। सभ्य र भद्र घरानाका महिलाले भने बाइबल पढ्ने अनुमति पाए तर सार्वजनिक स्थानमा होइन, एकान्तमा मात्र। यस ऐनमा 'महिला, शिल्पकार, प्रशिक्षु, यात्री, नेभीमा सेवा गर्ने र तल्ला दर्जाका सेवक, घरमा काम गर्ने पुरुष र मजदुरलाई बाइबल पढ्न निषेध गरिएको छ।
१४ औंदेखि १८औं शताब्दीसम्म लाखौं स्त्रीलाई बोक्सी भनेर जिउँदै जलाइएको, यातना दिएर मारिएको थियो। स्पेन, इटली, पोर्चुगल, हल्यान्ड, इङ्ल्यान्ड, फान्स, जर्मनी, स्विट्जरल्यान्ड लगायत देशमा यी कुकृत्य भए।
यी भयंकर मान्यताको विरोधमा यूरोपमा नारी मुक्ति आन्दोलन सुरू भयो। उनीहरूले स्वयंलाई पुरुष बराबर माने, आफूभित्र पनि त्यस्तै आत्मा र बुद्धि छ र नन बन्नुभन्दा ज्यादा महत्व पत्नी, प्रेमिका र आमा बन्नु वा स्वाधीन स्त्री बन्नुलाई माने। १८ औं शताब्दीसम्म पनि स्त्रीले बाइबल पढ्न पाउँथेनन्। यसको विरोधमा जागृत स्त्रीहरू बौद्धिक र दार्शनिक बनेर अगाडि आए, हर क्षेत्रमा अग्रणी बने।
महिलाले पुरुषलाई सम्मोहन गर्छे भनिने भएकाले नारी मुक्ति आन्दोलनको एक महत्वपूर्ण अंग श्रृंगारहीनता, सज्जाहीनता र खुला कपाल बन्यो। काम-वासनालाई मूल पाप मानिएकाले यसको प्रतिक्रियास्वरुप नारी मुक्ति आन्दोलन सँगै काम-सम्बन्धलाई स्वतन्त्र व्यक्तित्वको लक्षण मान्न थालियो।
इसाई महिलाको पनि आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ भन्ने कुरा १७ औं शताब्दी सुरूवातसम्म पनि चर्चहरूले मानेका थिएनन्। इ.सं. १९२९ मा बल्ल इङ्गल्यान्डको अदालतले भन्यो- स्त्री पनि 'परसन (व्यक्ति)' हो। २० औं शताब्दीमा मात्र स्त्रीलाई वयस्क मताधिकार यूरोपमा पहिलो पटक प्राप्त भएको हो।
बौद्ध धर्मः
बोधगयामा बुद्धको निर्वाण प्राप्ति भएको केही महिनापछि भिक्षु संघ सुरू भयो। भिक्षुणी संघ भने यसको करिब ५ वर्षपछि मात्र सुरू भएको मानिन्छ। बौद्ध शास्त्रका अनुसार यसपछि असंख्य बुद्धहरू बनिसकेका छन् र बन्ने क्रम जारी रहनेछ। आजसम्म बुद्ध भएका मानिएका जति छन्, सबै 'पुरुष-लैंगिकता' धारण गरेका व्यक्ति हुन्। अब पनि पुरुष नै हुनेछन् भन्ने मान्यता राखिन्छ, खासगरी थेरवाद बौद्ध परम्परामा। बोधिसत्वहरू (भविष्यमा सम्यक सम्वुद्ध हुन तय वा निश्चित भएका सत्वहरू) पनि पुरुष मात्र हुन सक्ने मान्यता छ। मानिसबाहेक अन्य योनी (पशु वा देव, यक्ष वा अन्य योनी आदि) मा जन्म लिँदा पनि पुलिंगी नै भएका (र हुने) मान्यता व्यापक छ। माहायान परम्परामा यदाकदा महिला वा अन्य लिंगीका बोधिसत्व हुने कुरा अपवाद रूपमा भए पनि अधिकांश बोधिसत्व पुरुष नै छन्।
कथाअनुसार आम्रपाली एक नर्तकी तथा नगर वधू थिइन्। अभिजात्य राजसीकुलका पुरुषलाई मनोरञ्जन गराउँथिन्। उनी निकै धनी, प्रभावशाली र स्वतन्त्र महिला थिइन्, त्यो जामनाको तुलनात्मक रूपमा। बुद्धले नर्तकी आम्रपालीको भोजनका लागि निमन्त्रणा स्वीकारे। केही विद्वानहरू यही कुरालाई आधार बनाएर बुद्ध तत्कालीन पित्तृसत्तात्मक मान्यताकाविरूद्ध स्त्रीहरूको पक्षधर थिए भनेर साबित गर्न चाहन्छन्। भोजन निमन्त्रणा स्वीकार राम्रो हो तर पित्तृसत्ताले स्थापना गरेको संस्थागत वेश्यावृत्तिको विरोधमा बुद्धले कुनै आवाज उठाएको पाइँदैन।
विनय-पिटक अनुसार बुद्धकी आमा माया र दिदी प्रजापति थिइन्। माया र प्रजापति दुवैले राजा सुद्धोधनसँग विवाह गरेका थिए। बद्धलाई जन्म दिएको केही दिनमै मायाको मृत्यु भयो। प्रजापतिले नै मायाका छोरालाई पालिन् र हुर्काइन्।
बुद्धको ज्ञान प्राप्तपछि प्रजापति उनको नजिक आइन्। भिक्षुणी बनाएर संघमा प्रवेश पाउन आग्रह गरिन्। बुद्धले हुँदैन भने। प्रजापति पछि हटिनन्। आफूसहित पाँच सय महिला साथ लिएर कपाल खौरिइन्, गेरूवा वस्त्र धारण गरिन् र सबै बुद्धको पछि पछि लागे।
जब प्रजापति र उनका अनुयायी थकित भए, बुद्धका भतिजा तथा समर्पित सेवक आनन्दले प्रजापतिका आँसु र सुनिएका खुट्टा देखेर सोधे, 'तपाईंहरू किन यसरी रोइरहनुभएको? यहाँसम्म किन आउनुभयो?'
प्रजापतिले 'हामी भिक्षुणी हुन आएका हौं' भनिन्।
आनन्दले 'बुद्धले नारीहरूलाई संघमा प्रवेश दिनुहुन्न, तपाईंहरू फर्किनुस्' भने।
प्रजापतिले 'हामी भिक्षुणी हुन पाएनौं भने भोकभोकै मर्छौं, तर फर्किन्नौं' भनिन्।
संघमा स्त्रीहरूले प्रवेश पाउन बारबार प्रश्न उठाइरहिन् बुद्धकी आमा प्रजापति गौतमीले।
आनन्दले बुद्धसँग कुरा गरे, 'कोसिस गरे भने स्त्रीहरूले निर्वाण प्राप्त गर्न सक्छन् कि सक्दैनन्?'
जवाफमा बुद्धले भने, 'सक्छन्'।
यसपछि आनन्दले भने, 'उसो भए किन तपाईं स्त्रीहरूलाई संघमा प्रवेश गर्नु दिनु हुन्न?'
निर्वाण प्राप्त गर्न गृहस्थ जीवन त्यागेर भिक्षु- भिक्षुणी हुनु आवश्यक थियो। यसका लागि संघमा आउनु जरुरी हुन्छ। त्यहाँ आनन्द मात्र स्त्रीहरूका शुभेच्छुक भिक्षु थिए जो स्त्री र पुरुष समान रूपले निर्वाणका हकदार बन्न सक्छन् भन्ने मान्यता राख्थे। बुद्धको महापरिनिर्वाण (मृत्यु) पछि विभिन्न अवसरमा यो कुरालाई भिक्षु आनन्दको निन्दा गरिएको थियो। सम्पूर्ण बौद्ध साहित्यमा आनन्दबाहेक अरु कुनै भिक्षु महिलाका कुरामा समर्थक भएको कुरा उल्लेख छैन।
बुद्ध र संघले महिलालाई प्रवेश दिने निधो गर्यो, तर शर्तसहित। नियम यस्ता बनाए, संघमा भिक्षुणीले सधैं भिक्षुभन्दा तल रहनु पर्यो। संघलाई भिक्षु र भिक्षुणी गरी दुइटामा बाँडेर भिक्षु संघलाई माथिको दर्जा दिइयो र भिक्षुणी संघलाई तलको दर्जा।
बुद्धले भिक्षुणीका लागि थप दस कडा नियम बनाए र ती पालन गर्ने शर्तमा मात्र महिलाले प्रवेश पाउने भए। यसमा पनि एउटा अपमानजनक नियम यस्तो बनाइयो- जति वरिष्ठ, शिक्षित र ध्यानी भिक्षुणी होस्, उनले सबभन्दा कनिष्ठ भिक्षुलाई पनि नमस्कार वा बन्दना गर्नैपर्छ। भिक्षुणीमाथि कडा प्रतिबन्ध थिए। समान गल्तीका लागि भिक्षुका तुलनामा भिक्षुणीले कडा सजाय भोग्नु पर्ने भयो।
यसको सीधा अर्थः स्त्रीहरू संघमा पनि पुरुषको दवाव र नियन्त्रणमा बस्नुपर्थ्यो। उभय-व्यञ्जक (दुवैथरि यौनांग भएको व्यक्ति) र पाण्डक (कुनै पनि यौनांग नभएको) लाई त संघमा प्रवेश निषेध नै छ। जतिसुकै वर्ष अगाडि संघमा सामेल भए पनि भिक्षुणीको दर्जा सबै भिक्षुभन्दा तल्लो मानिएको छ।
भिक्षु-भिक्षुणीका लागि बनाइएको नियममा विभेदः
भिक्षुका लागि २२७ नियम लिपिवद्ध छन् विनय-पिटकमा। भिक्षुणीका लागि ३११ नियम।
चोरी, मैथुन, मनुस्य हत्या र ऋद्धि-सिद्धिको झुठो दाबा जस्ता कुनै पनि अपराध गर्ने भिक्षुलाई संघबाट बेदखल गरिन्छ। भिक्षुणीका लागि यी चारमा अन्य चार थपेर ८ अपराधमध्ये कुनै पनि अपराध गरे संघबाट बाहिर निकालिन्छ। जस्तै कुनै भिक्षुणीले कामवासना जगाएर कुनै पुरुषलाई स्पर्श गरे संघबाट बाहिर निकालिन्छ। तर त्यस्तै अपराध भिक्षुबाट भए अनुशासनको कारबाही मात्र हुन्छ, संघबाट सधैंका लागि निकालिने भन्ने हुँदैन।
त्यस्तै लसुन खाए, कुर्सी र पलङ प्रयोग गरे भिक्षुणीलाई प्रायश्चित गर्नुपर्ने अपराध हुन्छ तर भिक्षुलाई यो नियम छैन। दुई भिक्षुणी एउटै चारपाइमा सुते वा एउटै सिरक-डसना प्रयोग गरे प्रायश्चित गर्नुपर्ने अपराध हुन्छ, भिक्षुलाई यो नियम छैन। कसरी नुहाउनेदेखि अन्य कुरामा पनि भिक्षु र भिक्षुणीका लागि नियम फरक छ, विभेदकारी छ।
भिक्षु-भिक्षुणी हुन अयोग्यमा पाण्डक, रोगी, अपांगता भएका व्यक्ति (औंला काटिएको समेत), ऋण भएको व्यक्ति, चोर, दास-दासी लगायतको लामो सूची छ।
स्त्रीप्रति बौद्ध विचार बौद्ध साहित्य मा वर्णित गाथा माध्यमबाट पनि बुझ्न सकिन्छ। बौद्ध साहित्य अनुसार बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि बोधिसत्व गौतमको साधनालाई डिगाउन मार (वा कामदेव) का छोरीले बत्तीस प्रकारका विलासी तथा फसाउने चेष्टाको प्रदर्शन गर्छन्। तर बोधिसत्व गौतम विचलित हुँदैनन्।
जातक कथाहरू गौतम बुद्धका पूर्व जन्मका संग्रहित कथा हुन् जसमा बोधिसत्व (कालान्तरमा बुद्ध हुन निश्चित व्यक्ति) ले विभिन्न जन्ममा गरेका पूण्य कर्मलाई निकै रोचक ढंगले भनिएको छ। जातक कथाहरू बौद्ध समाजमा निकै लिकप्रिय छन् र बच्चाहरूलाई निकै सुनाइन्छ।
एक कथा (कोलीय जातक) यसप्रकार सुरू हुन्छ-
'ऊ एक श्रद्धालु उपासक ब्राह्मणकी ब्राह्मणी थिई, निकै दुश्चरित्र, पापी। रातमा दुराचार गर्थी। ब्राह्मण घर आउँदा बहाना बनाएर सुती राख्थी। पति बाहिर गएपछि 'जार' सँग रात बिताउँथी।
त्यो ब्राह्मण बुद्धदेवको उपासक (गृहस्थ बौद्ध लाई उपासक भनिन्छ) थियो। तक्षशिलामा शास्त्र पढेको र वाराणसीको प्रसिद्ध आचार्य पनि थियो ऊ। यस राजधानीयहरूका क्षत्रीय राजकुमार उसँग पढ्थे।
ब्राह्मणलाई आफ्नी पत्नीको अनाचार थाहा थियो। जब ब्राह्मण व्यापारका लागि घर बाहिर जान लाग्यो तब आफ्नो दुई धर्मपुत्रलाई सचेत गरायो र भन्यो — यदि माता ब्राह्मणीले अनाचार गरिन् भने उनलाई रोक।
धर्मपुत्रहरूले जवाफ दिए- रोक्न सकेम् भने त रोक्छम्। नत्र चुप लागेर बस्छम्।
ऊ गएपछि ब्राह्मणीले अनाचार सुरू गरी। घरमा प्रवेश गर्ने र निस्कनेको गणना नै छैन। ब्राह्मणको त्यो घर के थियो र, पूरा वेश्यालय थियो! उसका धर्मपुत्रहरू पनि उदासीन भएर सबै कुरा हेरेर मात्र बसे।'
राधजातकमा उल्लेखित अर्को कथा यस्तो छ-
'एउटा ब्राह्मणले दुइटा सुगा पालेको थियो। ब्राह्मणी व्यभिचारिणी थिई। ब्राह्मण सुगालाई पत्नीमाथि नजर राख्न आदेश दिएर व्यापार गर्न बाहिर गयो। मौका पाउने बित्तिकै ब्राह्मणी ले खुलमखुल्ला अनाचार गर्न सुरू गरी।'
यसरी नै उच्छिट्ठभत्त जातकमा पनि स्त्रीलाई दुराचारणी देखाइएको छ जसले पतिलाई धोका दिन्छे।
चुल्लधनुग्गह जातकको एउटा कथामा एक ब्राह्मणीले डाकु सरदारको हातमा तलवार दिएर भर्खर विवाहित पतिको हत्या गराइ भनिएको छ। डाकू-सरदारले सोध्दा ब्राह्मणीले 'म तिमीप्रति आशक्त भएकाले आफ्नै कुल-स्वामीको हत्या गराइदिएँ' भनेको उल्लेख छ।
सत्तुभस्त जातकको कथाअनुसार एक ब्राह्मणीले पतिलाई भीख माग्न लगाएर धन कमाउन सहर पठाई र आफू दुराचारमा लिप्त भई। धन कमाएर ब्राह्मण जब फर्कियो, तब ब्राह्मणीले त्यो धन खोसेर आफ्नो उपपतिलाई दिई।
यसरी जातक कथाहरूमा स्त्रीलाई दुराचारिणी, ठग, काम चोर, अविश्वासिनी लगायत खराबी नै खराबीले भरिएको चित्रण गरिएको छ। यसले महिलाविरूध्मा एउटा जनमानसिकता बनाउन मद्दत गर्छ। जातक कथाहरूले पनि त्यही गरेका छन्।
भिक्षुणी संघ किन जीवित छैन?
बुद्ध महापरिनिर्वाणको करिब हजार वर्षपछि भारतीय उपमहाद्विपबाट बौद्ध धर्म हरायो। सोसँगै भिक्षु-भिक्षुणी संघ पनि। बौद्ध धर्म चीन, जापान, कोरिया, थाइल्यान्ड, वर्मा, श्रीलंका लगायत मुलुकमा फैलिएर जीवितै रहँदा पनि भिक्षुणी संघ ताइवानबाहेक अन्य सबै ठाउँमा मृत भइसक्यो। त्यसैले हिजोआज भिक्षुणी हुन चाहने महिलाले 'भिक्षुणी' हुन पाउँदैनन्। (जीवित) भिक्षु संघहरूले महिलालाई 'भिक्षुणी' मान्यता दिँदैनन्।
महिलाले 'अनागरिका' (घरबाट त्यागेकी तर भिक्षुणी भइनसकेकी महिला) सम्म मात्र बन्न सक्छन्। भिक्षु वा भिक्षुणी हुन 'जीवित' संघले स्वीकार गर्नुपर्छ भनिन्छ। भिक्षुणी-संघ मरिसकेकाले स्वीकार गर्ने संघ नै छैन। त्यसैले 'भिक्षुणी' बन्ने सम्भावना नै रहेन भन्ने तर्क 'स्थापित भिक्षु संघ' हरूको छ।
अधिकांश बौद्ध परम्परामा भिक्षुले नै 'पण्डित्याइँ' गर्ने चलन छ। समाजले पनि दान दिन वा मंगल-पुण्य संस्कार गर्न वा गराउन भिक्षुणीभन्दा भिक्षुलाई नै रुचाएको पाइन्छ। अधिकांश विहार, गुम्बा, चैत्य, स्तुपहरूमा भिक्षु नै निर्णय गर्ने अधिकार सम्पन्न छन्। 'अनागरिका' हरूको खसै प्रभाव छैन, संख्या पनि भिक्षु संख्याको दस प्रतिशत पनि छैन। धर्म शिक्षा वा प्रवचनमा पनि अनागरिकाको सहभागिता नगन्य छ। एउटै विहारमा बसेका भए दैनिक कामकाज जस्तै, सरसफाइ, पूजा सामग्री तयार गर्ने काम आदिमा भने अनागरिकाहरू नै खटेको पाइन्छ।
भिक्षुणी संघ बनाउँदा बुद्धले 'भिक्षुणी संघ नभएको भए मेरो शासन (धर्म-शिक्षा) हजार वर्ष बाँच्थ्यो, अब यसको आयू पाँच सय वर्ष मात्र रहन्छ' भनेका थिए भन्ने विश्वास पनि बौद्ध धर्ममा छ।
बौद्ध परम्परामा विवाहः
हिन्दुझैं कन्यादान नै नभने पनि आमाबुवाले 'हाम्री छोरीको उत्तरदायित्व तपाईंलाई सुम्पियौं' बनेर ज्वाइँ र सम्धीसम्धिनीलाई छोरीको हात सुम्पिने चलन छ। विवाहमा भिक्षुको उपस्थितिमा यस्तो प्रतिज्ञा गर्ने चलन आज सम्म छः
वरले गर्ने प्रतिज्ञाहरू- म पत्नीको सदा सम्मान गर्नेछु। कहिल्यै पत्नीको अपमान गर्ने छैन र अरु कसैबाट पनि अपमानित हुन दिने छैन। मिथ्या आचरण गर्ने छैन। पत्नीलाई सम्यक आजीविकाद्वारा कमाएको धन -दौलतबाट सन्तुष्ट राख्नेछु। गहना-अलंकार आदि दिएर सन्तुष्ट राख्नेछु।
वधूले गर्ने प्रतिज्ञाहरू - म मेरो पतिको सदा सम्मान गर्छु। म (घरपट्टिका) नातेदार र परिवारका सदस्यको राम्रो देखभाल गर्छु। मिथ्या आचरणबाट अलग रहेर आफ्नो पतिको विश्वासपात्र बन्छु। पतिद्वारा उपार्जित धन सम्पत्तिको रक्षा गर्छु। घरका सबै काम विना आलस्य दक्ष भएर गर्छु।
लैंगिकताका आधारमा यौनिकताको पूर्वाग्रहः
बौद्ध धर्ममा संसारिक इच्छाले नै दुःख ल्याउँछ भन्ने मान्यता छ। त्यसमा पनि मोक्षका लागि काम-वासनालाई ठूलो अवरोध मानिन्छ। भिक्षु-भिक्षुणी, अनागरिक-अनागरिकाका लागि काम-वासनाको प्रयोग वर्जित छ।
कुनै व्यक्तिले (काम-वासनामा आधारित) व्यभिचार-कर्म गरेमा अर्को जन्ममा महिला वा नपुंसक भएर जन्मिन्छ भन्ने मान्यता छ। यसले अहिले भएका जति पनि महिला वा नपुंसक छन्, सबै पूर्वाजन्ममा अनैतिक काम-वासना गरेर भएका हुन् भन्ने देखाउँछ। बौद्ध शास्त्रहरूमा पनि 'महिला र नपुंसकलाई' पुरुषको तुलनामा आध्यात्मिक सफलता पाउन निकै मुश्किल हुन्छ भनिएको छ।
बुद्धले बोधिसत्वका रूपमा एकपटक पनि स्त्रीयोनीमा जन्म लिएका छैनन्। पशु वा मनुष्य दुवै कोटीमा जन्मिँदा पुलिंगी रूप नै धारण गरेका छन्।
बौद्ध ग्रन्थहरूमा सामान्य स्त्रीलाई प्रायः घृणित, दुर्गन्धयुक्त र व्यभिचारी बताइएको छ। कंडिन जातकका अनुसार बुद्धको स्पष्ट घोषणा छ, 'त्यो देश बस्न योग्य हुँदैन जहां स्त्रीले शासन गर्छे।'
स्त्रीहरू सामान्यतया पापिनी प्रकृतिका हुन्छन् (असात्मन्त्र जातक), स्त्रीहरूको प्रकृति र चरित्र शंकास्पद हुन्छ (अंडभूत जातक), 'अबुद्धिमान पुरुषले स्त्रीको प्रकृति बुझ्न र घृणा नगर्न उचित हुन्छ, स्त्रीहरू धर्मस्थलको नदी जस्तै हुन् जहाँ साधु र चाण्डाल दुवै स्नान गर्छन्' (अनभिरत् जातक)।
जातक कथाबाहेक बौद्ध साहित्यमा पनि अनेक प्रसंग छन् जहाँ स्त्रीप्रति बौद्धधर्मको दृष्टिकोण स्पष्ट हुन्छ। सबै स्त्रीलाई काली नाग, दुर्गन्ध फैलाउने, व्यभिचारिणी, रहस्यमयी, पुरुषलाई फसाउनेवाली भनिएको छ।
यसरी बौद्ध साहित्यमा स्त्रीलाई सबैतिरबाट चरित्रहिन र अविश्वासी देखाइएको छ। स्त्रीको मूल भूमिका पतिको विश्वासी सेविका बनाइएको छ। स्त्रीको स्वतन्त्र अस्तित्त्व, दायित्त्व र स्वतन्त्रताको कल्पना समेत नभएकाले उसलाई घर र पित्तृसत्तात्मक संरचनामा बाँधिरहन बाध्य बनाइएको थियो। स्वयं बुद्धकै नजरमा पनि कुनै स्त्री तथागत बुद्ध या चक्रवर्ती राजा पनि बन्न सक्छे भन्ने थिएन। (अंगुत्तरनिकाय, खण्ड-१)।
महायान बौद्ध परम्परा अनुसार प्राचीनकालमा बोधिसत्वा ताराले गहिरो ध्यान-साधना गरेको देखेपछि केही भिक्षुहरूले भने- बुद्धत्व प्राप्त गर्न अब अर्को जन्ममा 'पुरुष' भएर जन्मने संकल्प र कामना गर।
त्यसको जवाफमा बोधिसत्वा ताराको जवाफ यस्तो छ, 'सांसारिक मूर्खहरूले मात्र देख्छन् लैंगिकतालाई बुद्धत्व प्राप्तिमा वाधक। मैले बोधिचित्त उत्पाद गरेँ, महिलाकै रूपमा गरेँ। म यो प्रण गर्छु, मेरा जति पनि जन्म भविष्यमा हुनेछन्, महिलाकै रूपमा जन्म लिनेछु। र मेरो अन्तिम जन्म, जसमा मैले पूर्ण बुद्धत्व प्राप्त गर्नेछु, म बुद्ध बन्नेछु, म महिला भएर नै बन्नेछु।'
ती बोधिसत्वा भृकुटी तारा थिइन्। यदि उनी सम्यकसम्बुद्ध बनिन् भने के पित्तृसत्ताले बुद्ध स्वीकार गर्ला उनलाई? नगरे पनि के फरक पर्ला र!
विश्वका संस्थागत सबै धर्मले पित्तृसत्ताको पक्षपोषण गरी महिलालाई निच देखाएका छन्, विभेद गरेका छन्। धर्मका नाममा यो विभेद र महिलाको चित्रणले कुनै हालतमा समाजमा स्थान पाउनुहुँदैन।