बृहत् नागरिक आन्दोलनको अंगका रूपमा आयोजित महिला मार्चका दिन जब मैथिल कवि तथा कलाकार सपना सञ्जिवनीले हातमा कागजको पातो हल्लाउँदै भद्रकालीमा एउटा रूखमुनि उभिएर म आज मैथिलीमा कविता सुनाउँछु भनिन्, मेरो मुखबाट अचानक निस्कियो - वाह! कविता त सुन्नै बाँकी थियो।
देशमा कलिला किशोरीहरूको बलात्कारको अमानवीय श्रृंखला चलिनै रहेको थियो। बलात्कारपछि मारिएर उनीहरू कहिले बारीमा, कहिले जंगलमा त कहिले मन्दिरमा मिल्काइएका थिए। कोही रूखमा झुन्ड्याइएका थिए। तर पनि देश पटक्कै दुखेको थिएन, देशका आँखा भिजेका समेत थिएनन्। देशको मुटु भक्कानिएको थिएन।
नागरिक आन्दोलनको महिला मार्चमा पम्प्लेट र पर्चासँगै यी तमाम घटनाप्रति सरकारको लाचारी, उदासीनता र दण्डहीनताप्रति बाक्लो आक्रोश र चित्त दुखाइ पनि सँगसँगै मार्च गरिरहेको थियो।
सानो छोरालाई अर्काको जिम्मा लाएर बसन्तपुर जान गाडी चढेपछि मार्चकी एक सहभागीले सन्देश पठाएकी थिइन्- म बसमा बसेर रूँदै छु साथीहो।
यस्तो माहौलमा अधिकांश पहाडे समुदायका मान्छेले भरिएको भीडका अघि जब सपनाले मैथिली भाषामा कविता भनिन्, उनले एकसाथ दुई फरक विषयलाई बडो ठाँट र आँटसहित राजनैतिक बनाइदिएकी थिइन्।
एउटा छोरीमान्छे धरती हो, सहनुपर्छ भन्ने भाष्यलाई अब हामी आफूमाथि हुने दमन र हिंसा सहेर बस्दैनौं भनेर बीच सडकमा लत्याइदिएकी थिइन्। अर्को, राष्ट्रिय एकताको नाममा एक भाषा नीति लादेर ठूलो हिस्सामा अन्य भाषा तथा संस्कृतिलाई पराइ व्यवहार गरेको राज्यसत्तालाई सपनाको कविताले मैथिलीमा गतिलो झापड हानिदिएको थियो।
सपनाले नभनिकनै भनिदिएकी थिइन्, 'मेरा कुरा बुझ्ने हौ भने मेरै मातृभाषामा सुन, मेरै मातृभाषामा बुझ जसरी तिम्रो भाषा मैले जबरजस्ती बुझेकी थिएँ!'
पहाडमा जन्मिएकी मेरा लागि मधेशको पहिलो बुझाइ स्कुलबाट शैक्षिक भ्रमण लुम्बिनी लगिएका बेला बसको झ्यालबाट चिहाएर देखिएको मधेशमा सीमित थियो। तर त्यो नितान्त नौलो र मनमोहक थियो- सम्म हराभरा फाँटहरू। भित्तामा अनौठा चित्रैचित्र भएका ससाना चिटिक्क परेका घरहरू। घरका भित्तामा टाँसिएका गोबरका गुँइठा। गोरुगाडा नै गोरुगाडा। शीरमा निर्धक्क पानीको घैंटो अड्याएर हिँडेका महिलाहरूको खोला वा नहरमा प्रतिबिम्बित ताँती। कुर्ता लगाएर ट्रिङट्रिङ साइकलको घण्टी बजाउँदै सररर हुँइकिएका किशोरीहरू। सेतै फूलेको काँसको गाँजबीचबाट सुटुक्क अस्ताउने रातो घाम...।
मधेशको 'प्रतिनिधित्व' गरेर हरेक सत्ता समीकरणमा माथिल्ला पद पड्काउने मधेशी नेताहरूले आजसम्म मधेशका लागि के-कति गरे, तमाम मधेशीहरूले नै जानून्। तर सपनाले पाँच मिनेटमा त्यो रूखमुनि जे गरिदिएकी थिइन्, त्यो कुनै हालतमा चानेचुने थिएन।
तिनै सपनाले रामसीताको अपमान गरेको र त्यसै कारण मधेशको पनि अपमान गरेको भनेर जब उनको टाउकाको मोल आफ्नै दाजुभाइले तोके, उनलाई बलात्कार गरिदिने धम्की सामाजिक सञ्जालमा छ्यालब्याल भए, मैले बल्ल बुझेँ, मैले मधेशलाई कति 'रोमान्टिसाइज' गरेकी रहेछु। मैले बल्ल बुझेँ, मधेशमा विद्यमान लैंगिक सम्बन्ध र त्यसको राजनीति मैले बुझेभन्दा धेरै भिन्न रहेछ।
मधेशका विषयमा अल्पज्ञानी र पहाडी समुदायकी भएकाले पनि मलाई यो विषयमा लेख्न मन थिएन। तर चुपचाप बसिरहन मन मानेन जब मैले जनकपुर साहित्य महोत्सवको बहुप्रतिक्षित सत्र 'वैदेहीहरू' सुनेँ।
आजसम्म देशमा जति पनि साहित्य महोत्सव भए, कुनैको पनि त्यति आलोचना भएको थिएन होला जति जनकपुर साहित्य महोत्सवको भयो। यसका प्यानलहरू महिला-पुरुषको मात्र होइन, अन्तर्सम्बद्धताका के-कति दृष्टिकोणबाट असमावेशी थिए भनेर धेरैले चर्चा गरिसकेका छन्। म त्यसमा थप जान चाहन्नँ। मेरो उद्देश्य कतिपय अवस्थामा 'बेवास्ता' र धेरै 'परिस्थतिवश' आयोजकबाट भएको भनिएको भुलको थप उछितो काढेर आयोजकको 'नियतमै खोट खोज्नु' पनि होइन।
साँच्चै भन्ने हो भने मेरा लागि त जानकी मन्दिरको आँगनीमा बसेर मधेशले ओढाइदिएको दोसल्ला ओढेर मधेशी सहवक्तासित बराबर माइक सेयर गरेर हिजो (र केही हदसम्म आज पनि) प्रभुत्वशाली वर्ग रहेको पहाडले बोल्नु पनि एकहिसाबको विद्रोह नै हो।
तर जनकपुर साहित्य महोत्सवबाट हामी मधेशका विषयमा अल्पज्ञानी तर थप जान्ने रहर भएकाहरूले त्योभन्दा पनि माथिल्लो स्तरको विद्रोहको अपेक्षा राखेका थियौं वा कमसेकम मैले थिएँ भनौं। गाडीको झ्यालबाट हेर्दैमा वा जनकपुर पुगेर उभिँदैमा मधेश बुझिँदैन। जानकी मन्दिर घुम्दैमा, गंगा आरती हेर्दैमा वा ढावामा गएर जनकपुरे माछा खाँदैमा मधेश बुझिँदैन। मैले आशा राखेको थिएँ जनकपुर साहित्य महोत्सवले मजस्तो मधेशलाई रोमान्टिसाइज मात्रै गर्ने वा मधेशलाई गाली मात्रै गर्ने वा प्रगतिशील देखिन मधेशको पक्षधरजस्तो देखिने तर भित्रभित्रै 'यी मदेशीहरू…' भन्न पछि नपर्नेहरूलाई मधेश बुझ्न सघाउनेछ।
मधेशको गर्मीको रङ के हो? मधेशको माटोको सुगन्ध के हो? मधेशको पसिनाको स्वाद के हो? हरसाल मधेशलाई मरणासन्न हुने गरी डुबाउने बाढी र कमाउने शीत लहरको लहड के हो?
मधेश के हो? मधेश को हो? र मधेश जे हो वा जो हो त्यो किन हो?
सदियौंदेखि राज्यसत्ताद्वारा हेपिएको मधेशले निकै ठूलो मूल्य चुकाएर आर्जेको स्वायत्तताको आज कसरी उपयोग गर्दैछ? हिजो अर्काबाट शासित हुनु र आज आफ्नाबाट शासित हुनुको फरक के रहेछ?
के हिजो जबरजस्ती पुरिएका मधेशका कथाहरू आज उप्काइँदै छन्? हिजो दबाइएका स्वरहरू, चबाइएका सपनाहरू आज बौरिँदै छन्? तिनलाई कसले आवाज दिँदै छ? कस्तो आवाज दिँदै छ? ती आवाज हिजो राज्यसत्ताले आफ्ना ढड्डाहरूमा अभिलिखित गरेर लगेका आवाजभन्दा कुन हदमा फरक छन्? मलाई आशा थियो महोत्सवले यी प्रश्नहरूको उत्तर खोज्नेछ। नभए कमसेकम प्रश्न मात्रै भए पनि सोध्ने ठाउँ बन्नेछ।
यसले केही पनि गरेन भन्नु मेरो तात्पर्य होइन। तर अब मधेशलाई काठमाडौंलाई रिझाउनुपर्ने जरुरत छैन। मधेश जोकोहीसँग कमसेकम सिद्दान्ततः बराबरी हैसियतमा दोस्ती गर्न सक्छ। अलिकति सिर्जनात्मक हुन सकेको भए मधेशले आफ्ना पहाडे 'दोस्त'हरूलाई रिङ्गै राखेर मधेशको र मात्र मधेशको कथा सुनाउन सक्थ्यो र चकित बनाएर घर पठाउन सक्थ्यो।
मधेशले भन्न सक्थ्यो- मधेश साँवलो वर्ण मात्र होइन, उष्ण तापक्रम मात्र होइन, मधेश सभ्यता हो, सभ्यताको संघर्षभूमि पनि हो।
तर जनकपुर साहित्य महोत्सवले आफ्नो महत्त्वपूर्ण मञ्च र समय पौराणिक बिम्ब प्रयोग गरेर प्रतीकारको भाषा बोल्नुमा शब्दको शक्ति देखेकी एउटी स्रष्टालाई थप हियाउन प्रयोग गर्यो। टाउको रेटेर बुझाएमा इनामको घोषणासहित सामाजिक सञ्जालमा सार्वजनिक गरिएका पोष्टहरू तथा आफूले कविता पढेकै भाषामा आएका बलात्कारका धम्कीबाट बिस्मित भएकी सपनामा काव्य र त्यसमा प्रयोग हुने बिम्बको भाषा बुझ्लान् भनेर आश गरेको वर्गबाटै ठ्याक्कै उनैलाई जवाफ दिन भनेजसरी राखिएको कार्यक्रमबाट के बित्यो होला?
मिथिला संस्कृतिमा एम.फिल. गरिरहेकी आफ्नी जेहेन्दार छोरीको हविगत देखेर सपनाको परिवारमा के गुज्रियो होला? ममाथि साइबर हिंसा भयो भनेर पुलिससामु गएकी सपनालाई नागरिकको सुरक्षा गर्न बसेको संस्थाले 'पाकिस्तान भएको भए लट्काइदिसक्थ्यो...' भन्दै उल्टो हकारेर उजुरी समेत दर्ता नगरी घर पठाउँदा राज्य संयन्त्रप्रतिको सपनाको भरोसा कुन हदमा भत्कियो होला?
सामाजिक सञ्जालमा सम्पदा रिजालले भनेजस्तै जनकपुर साहित्य महोत्सवले सपनामाथि भएका यी सबैखाले हिंसालाई संस्थागत रूपमा सदर गर्दै भनिदियो- 'सपनामाथि हमला जायज छ किनकी सपना हिंसाकै लायक छ।'
आदरणीय मधेशी दाजुभाइ, दिदीबहिनीहरू!
मधेशबारे बोल्ने तँ को भन्ने तपाईंहरूलाई लाग्छ भने हो, तपाईंहरू सही हुनुहुन्छ। मैले मधेश बुझेको छैन, त्यसैले मलाई लागिरहन्छ कतै चिप्लिहाल्छु कि! 'पोलिटिकल्ली इन्करेक्ट' भइहाल्छु कि! मभित्र अवचेतन मनमा कहीँकतै मधेशविरोधी सेन्टिमेन्ट पो छ कि!
तर विश्वास गर्नुस्, काठमाडौंले तपाईंलाई भैया वा धोती भनेर हेप्दा तपाईं जति दुख्नुभएको छ, मैले त्यति नै मात्रामा अपराधबोध महशुस गरेकी छु। बसमा हिँड्दा 'घर काँ' को उत्तर पाउनासाथ नेपाली बोलिरहेको मधेशीसित एकाएक हिन्दीमा बोल्न थाल्ने अति जान्नेसुन्ने पहाडेलाई जवाफ फर्काएर हिँडेको छु।
तर एउटा ध्रुवसत्य के नभुल्नुस् भने, मैले जे-जति गरे पनि मधेशलाई गाली गर्दा जति सपना दुख्छिन्, त्यति म दुख्दिनँ। किनकी मैले त्यो मधेश बाँचेकी छैन जुन सपनाले बाँचेकी छिन्।
हो, सपनाको कवितामा आक्रोश थियो। क्षोभ र विद्रोह थियो। तर के कसैले सपनालाई सोध्यो- सपना, तिमीलाई किन सीता बन्नु छैन?
सीता नबन्ने भए तिमीलाई के बन्न मन छ?
तिमीले आफ्नो गाउँठाउँमा कस्ता सीताहरू देख्यौ र तिमी सीता बन्दिनँ भनेर सार्वजनिक उद्घोष गर्ने स्थितिमा पुग्यौ?
यदि सोधेको भए थाहा पाउने थिए, सीतालाई सपनाले के भनेर बुझेकी थिइन्। सीता बन्दिनँ भनेर लेख्दै गर्दा उनका आँखा कस्ता सीताहरू सम्झेर भिजेका थिए। र सपनाले कविताको बिम्ब किन सीतालाई नै छानेकी थिइन्।
के सीता मातालाई मधेशको शान ठान्नेहरूले हिसाब राखेका छन्, कतिजना सीताहरू बलात्कृत भएपछि समाजले लगाइदिएको अपमानको ओखतीको पोलाइ सहन नसकेर रूखमा लट्किए?
कति सीताहरू गंगा-आरतीका बेला शंख बज्दै गर्दा आँखा चिम्लिएर इनारमा वा पोखरीमा फाल हाने? कति सीताहरू आज पनि घुम्टोले अनुहारको नीलडाम छोपेर हिँडिरहेका छन्? कति सीताहरू सीता भएकैले जन्मन नपाइ तुहिए? कति सीताहरू सीता मात्र जन्माइरहेकाले जिउँदै मट्टीतेलमा हुर्हुरी सल्कँदै हिँडे?
यी सीताहरूको हिसाब कसले राख्छ? यी सीताहरूको चिच्याहट कसले सुनिदिन्छ? यी सीताहरूका लागि को बोल्छ? यी सीताहरूको कथा भन्न र सुन्न कुन डलरवादीले आएर साहित्य मेला गरिदिन्छ?
को हुन् यी सीताहरू? कहाँ छन्? के सपनालाई मधेशविरोधीको आरोप लाउनेहरूले घुम्टो उचालेर आमाका नीलडामहरू छामे? तिनमा मलम लगाइदिए? एसिडले खाएको आफ्ना बहिनीहरूका चेहरा पछ्यौरी उठाएर सीधा आँखाले हेर्न सके?
कसले भन्छ यी सीताहरू मधेशमा मात्र छन्? सीता माता मधेशकी शान होलिन् तर यथार्थ जीवनका सीताहरू मधेशपहाड, गाउँसहर हरजगा छन्। त्यसैले नै त यति धेरै मानिसले सपनाको कवितामा आफू देखे! आफ्ना आमाहरू देखे! हजुरआमाहरू देखे र भने - सपना हाम्रो पनि आवाज हो!
एक मैथिल कविले मातृभाषामा लेखेको कवितालाई मैथिली भाषा नबुझ्ने जमातले यो हाम्रो पनि आवाज हो भन्न सक्नु कहाँसम्मको शक्तिशाली हस्ताक्षर हो? कहाँसम्म ठूलो आन्दोलन हो?
तर मधेशले सपनाको बिम्बमा खतरा मात्र देख्यो। मधेशविरोधी तत्व मात्र देख्यो। बलात्कार र हत्याको धम्की दिनेसित त अपेक्षाको कुरा थिएन। तर मधेशको प्रवुद्ध वर्ग भनेर चिनिएको जमातले पनि सपनाको बिम्बमा मधेशप्रतिको घात देख्नु कहाँसम्मको दुःखद स्थिति हो, मलाई कल्पना मात्रले पनि जिरिंग गराउँछ।
आदरणीय आयोजकहरू!
तपाईंहरूको यत्रो ठूलो संस्थागत प्रयासबाट नियतवश यस्तो भूल भएको हो भनेर मान्नुहुन्न भने सपनाको कविताको बिम्ब नियतवश तपाईंहरूको धार्मिक आस्थालाई दुखाउन प्रयोग भएको भनेर मान्न तपाईंहरू कसरी सक्नुहुन्छ? के हाम्रो मधेश त्यति अनुदार छ? के हाम्रो मधेश असुरक्षाभावले त्यति ग्रसित छ जो एउटा बिम्बसित डराउँछ?
के मनिका झा वा सलमा खातुनले देख्न चाहेको मधेश र सपनाले देख्न चाहेको मधेश एउटै होइन? मनिका झाले मधेशी महिलाको समाचार लेख्दा पाएको धम्की र सपनाले पाएको धम्की उस्तै होइन? हर कदममा स्त्रीद्वेषसित जुधेर आज ठाउँमा पुगेका सबैजसो महिलाको पहिलो कदम सहन इन्कार गर्नु नै थिएन र? यति हुँदा पनि बिम्बको भाषा बुझ्न हामी कहाँनेर चुक्यौं?
रामसीताको पौराणिक भाष्यमा आस्था राख्नेलाई आफ्नो आस्थामा मग्न हुने छुट छ। तर सपनालाई पनि त्यसमा प्रश्न गर्ने छुट छ, हुनुपर्छ। सीता बन्दिनँ भन्नु सीता माताको अपमान गर्नु होइन। सीता देवीको नाममा जे-जति सीता आमाहरू तथा सीता दिदीभाउजूहरूले सहेका छन्, त्यो सहनशीला सुशीला बन्न अस्वीकार गरेका मात्र हुन्। के मिथिला सभ्यताका धनी हामी यति साधारण बिम्ब पनि बुझ्दैनौं?
आज अधिकांश पहाडका मानिस मधेशबारे बोल्न धकाउँछन्। तर हिजो सरासर मौका पाउनासाथ मधेशीलाई हेपिहाल्नेहरूलाई आज मधेशबारे प्याच्च बोलिहाल्न डराउने अवस्था विगतका मधेश आन्दोलनहरूले बनाएको हो। राज्यसत्ताले वर्षौंदेखि आफूमाथि गरेको दमनविरूद्ध एक समय मधेश कसरी जाग्यो र त्यसका लागि कति मधेशीले रगत बगाए, त्यो सम्झेर मधेश आज पनि पक्कै दुख्छ होला।
सहनशीलताको पौराणिक बिम्ब पुरुषको पनि हुन्थ्यो (राम पनि त त्यतिखेरको सामाजिक संरचनाको पीडित नै हुन्!) र कुनै मधेशी पुरुषले राज्यसत्ताको अघिल्तिर उभिएर म अब तिम्रो अत्याचार सहन्न वा राम बन्दिनँ भन्थ्यो भने पनि के मधेशले उसलाई यसरी नै धम्की दिन्थ्यो? गालीगलौज गर्थ्यो? यसरी नै हियाउँथ्यो? 'रामायणको अर्को पृष्ठ' नामक नाटकमा अशेष मल्लको रामले विद्रोह गर्दा मुलुकमा पञ्चायत नै थियो र पनि कसैको धार्मिक आस्थामा चोट लागेको थिएन। के हामी लोकतन्त्रको अभ्यास गर्दै गर्दा थप अनुदार बन्दै गएका हौं?
राजनीति गरेर होस् वा अभियन्ता बनेर, मधेशको खास प्रतिनिधि हामी हौं भन्नेहरूमा अधिकांश वर्चस्व उच्च जातका पुरुषको छ। र, जबजब मधेशी महिला वा यस वर्गभित्रकै अन्तरसम्बद्धताको कुरा आउँछ यी महिलाका मुद्दा त्यसैगरी पुछारमा धकेलिन्छन् जसरी हिजो राज्यसत्ताको मूलधारबाट समग्र मधेशीका मुद्दा धकेलिन्थे। मधेशी समुदायका अभियन्ताले नै मधेशी महिलाप्रति बेलाबखत द्वेष ओकलिरहने पहाडी समुदायका ठूलाबडाको प्रतिरक्षा गरेको पनि हामीले नदेखेको होइन।
मधेशीका मुद्दाभित्र मधेशी महिला तथा अल्पसंख्यकका मुद्दा कहाँ छन् भनेर एकपटक हामी आफैंले आत्मालोचना गर्नुको साटो सडकमा काव्य र बिम्बमार्फत् विरोधको भाषा बोल्न आइपुगेकी एक जुझारू महिलाप्रति लक्षित गरेर उसलाई हतोत्साहित बनाउन कुनै कसर नछोड्नु कुन हदको अनुदारपन हो। एकपटक शान्त भएर आत्मालोचना गर्नसक्ने तागत हामीसित छ?
हरेक आमाबाबुलाई आफ्ना छोराछोरी असल बाटोमा लागून् र त्योभन्दा पनि धेरै आफूले पाएजस्तो दुःख नपाऊन् भन्ने इच्छा हुन्छ। आज हामीमध्ये धेरैले पढ्न पाउनुको मुख्य कारण हाम्रा आमाबाबुले आफूले पढ्न नपाएर दुःख पाएँ भनेर गरेको अनुभूति हो। आज पनि मिथिलावासी आमाहरू आफ्ना छोरीहरूले सीताजस्तो जीवन बाँच्नु नपरोस् भन्ने चाहन्छन्।
'सीताके दिन बिरोगे गेल, दुःख छाड सुख सपनो न भेल'- मिथिलावासीहरूमा प्रचलित भनाइ नै छ।
हामी सपनाहरूसँगै उभिएर कविता वाचन गर्न सक्दैनौं भने कमसेकम उनीहरूले रोजेको विद्रोहको भाषालाई अपराधी करार गर्ने काम पनि नगरिदिऊँ। यो सपनाहरूमाथि मात्र होइन हामीले देख्न चाहेको देश र मधेशप्रति पनि अन्याय हो।
अन्त्यमा, मेरो पूरा नाम दुर्गादेवी हो। म दसैंका दिन जन्मेकी हुँ। वर्ण पनि कालै भएकाले मलाई धेरैले दुर्गाभन्दा बढी काली भने। मलाई सीता माताप्रति अगाध स्नेह छ, सहानुभूति छ। तर सपनाजस्तै म पनि सीता बन्दिनँ। बरू दुर्गा बन्छु। काली बन्छु।
मेरा छोरीहरू पनि काली नै बनून्, तबसम्म जबसम्म यो देशमा आत्मसम्मानका साथ बाँच्न उनीहरूलाई काली बन्नुपर्ने स्थिति रहिरहनेछ।