नारायण वाग्लेलाई प्रहरीले भाटा हानेको र मुसा–रूझाएको भिडिओ क्लिप हेरेर आलोकसिद्धि तुलाधरलाई रातभरि निद्रा लागेन। सुत्नुअघि ट्वीटर टाइमलाइन चहारेकोमा उनलाई थकथकी भयो।
काठमाडौंका सम्पदा अभियन्ता आलोकले सोमबार दिउँसो दुई बजे, २०७७ माघ १२ गते, कमलपोखरीमा आफ्नै हातबाट माटोको टीका लगाएर पठाएका थिए- वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, सञ्जीव उप्रेती, युग पाठक लगायत अरू नागरिक अभियन्ताहरूलाई।
बाजा बजाउँदै, कविता सुनाउँदै, गीत गाउँदै, शान्तिपूर्ण मार्चपास गर्दै बालुवाटार गएको समूहलाई प्रहरीले अन्धाधुन्ध लखेट्दै, लडाउँदै, पानीको फोहरा हान्दै, लाठी बजाउँदै दमन गरेको घटनाले आलोकको चित्त कुँडियो।
उनले प्रहरी दमनको विरोधमा एउटा ट्वीट गरे र मोबाइल पन्छाएर घुप्लुक्क निदाउन खोजे।
रातको अँध्यारोमा निद्रा त आएन, बरू हजार जिब्रा, हजार दारा र हजार नंग्रा भएको आकृति कोठाको सेतो भित्तामा प्रतिगमनका अनेक हाउभाउ देखाउँदै घरिघरि उनलाई तर्साउन आइरह्यो। मनमा उथलपुथल भयो भने ख्याकले तर्साउन आउँछ भन्ने आलोकले सानैदेखि सुनेका थिए, अहिलेसम्म यस्तो भोगेका चाहिँ थिएनन्।
के उनको मनको असन्तोष प्रतिगमनको नंग्राजस्तो हलक्कै बढेको हो?
उनले जुरुक्क उठेर मोबाइल खोले। सञ्चारमाध्यम र सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भिडिओ फुटेजमा अग्ला वाग्ले भाटभटेनीको चौतारीमा उभिएर बालुवाटारतिर चोर औंला तेर्स्याउँदै चुनौती दिँदै थिए, 'हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट फर्कन किन नहुने? हिजो जनताले नांगै खुट्टा लडेर लोकतन्त्र ल्याउन हुने, आज तिनै जनताले बालुवाटारबाट नांगै खुट्टा बालकोट पठाउन किन नहुने?'
त्यत्तिकैमा साइरन बजाउँदै आएको सेतो गाडीले आन्दोलनकारीहरूलाई घेरा हालेर पानीको फोहरा छ्याप्दा यो माघको ठिहिरोमा वाग्लेको रगत कति जम्यो होला! आलोकको रगत भने ओछ्यानको न्यानोभित्र रिसले उम्लँदै थियो।
रिसले मान्छेलाई निदाउन दिँदैन। उनले कोल्टे फेरेरै, टाइमलाइन स्क्रोल गरेरै रात छर्लंग काटे।
भोलिपल्ट बिहानै सामाजिक सञ्जालमा भाइरल भएको एउटा झूटो प्रचारले उनलाई झनै भाउन्न भयो। वाग्लेले हिजोको चौतारी भाषणमा 'धर्म निरपेक्षताका लागि मन्दिरहरू भत्काउनुपर्छ, पूजापाठ बन्द गर्नुपर्छ' भने भनेर दिग्भ्रमित पार्न खोजिएको थियो। वाग्लेले त्यस्तो भनेकै थिएनन्। सारा दुनियाँले सुनेको, देखेका घटना पनि कसरी ढाँट्न सकेका!
आलोकले वाग्लेको हालचाल बुझ्न मोबाइल डायल गरे, उठेन।
उनको फोन यसै पनि कमै उठ्छ। कुन धुनमा, सहरको कुन गल्लीमा, कता लम्किरहेका हुन्छन्! मिस्डकल देखेपछि कलब्याक भने जरूर गर्छन्।
आलोकले कलब्याक कुर्ने धैर्य गरेनन्। नागरिक आन्दोलनविरुद्ध सडकमा प्रहरी परिचालन र इन्टरनेटमा साइबर सेना परिचालनले क्रूद्ध आलोक पाकेको कालो चियाधरि नखाई कालो जिन्स, कालो ज्याकेट र कालो जुत्तामाथि कालै मास्क उनेर आफ्नो घर किलागलबाट कमलपोखरीतिर लम्के, वाग्लेझैं।
मलाई यी दुवै जनासँग हिँडेको अनुभव छ। त्यसैले थाहा छ, यी दुवै लम्कन माहिर छन्।
इन्द्रचोक पुग्दासम्म आलोकले सडक र सहरमा कता–कता के–के बद्लाव अनुभव गरे। कता–कता के–के नमिलेजस्तो, बिग्रेजस्तो, भत्केजस्तो!
उनले आँखा घुमाए। हरेक चिजले उनको आँखा बिझायो, तर आँखा बिझाउने के चिज हो, उनले भेउ पाएनन्।
यो उनको लम्काइको असर हो वा अनिँदो हुनुको! वाग्लेले भेटेको पानी–चुटाइको झोँक वा उनको हालचाल सोध्न नपाएको झर्को!
उनी जति जति अघि बढ्दै थिए, आँखा बिझाउने बद्लाव उति उति बढ्दै थियो।
उनी असन पुगे, कमलाक्षी पुगे, दरबारमार्ग हुँदै कमलपोखरी पुगे। बल्ल उनको होस खुल्यो। आँखा बिझाउने बद्लावको सही झलक उनले कमलपोखरीमा देखे।
हिजोसम्म पानी सुकाइएको छिपछिपे दलदल त थियो, आज त त्यो पनि त्यहाँ थिएन। एउटा चिल्लोचाप्लो, झिलिमिली, अजंग सपिङ कम्प्लेक्स ठडिएको थियो, जसमा लेखिएको थियो — कमलपोखरी कम्प्लेक्सः अ सिटी अन्डर अ रूफ।
अर्थात्, सिंगो सहर एकै छानामुनि।
आलोकलाई यस्तो लाग्यो, मानौं सिंगो सहर ढाकेको सिंगो आकाश उनीमाथि खस्दैछ। सिंगो सहर थामेको सिंगो धर्ती उनको गोडामुनिबाट भास्सिएर तल झर्दैछ।
माघको ठन्डीमा निधारदेखि पैतालासम्म उनी पसिनाले लुछुप्पै भिजे। हातगोडा थरथर काम्यो। कतै भैँचालो त आएन! भैँचालो आएको भए भागाभाग हुन्थेन र! यो त उनको मनचालो हो, जसले उनलाई भित्रैदेखि हल्लाउँदै थियो।
उनी आफूलाई थाम्दै 'कमलपोखरी कम्प्लेक्सः अ सिटी अन्डर अ रूफ' भित्र छिरे। मान्छेको ठेलमठेल थियो। वरिपरि पसलहरूको चकाचौंध झिलिमिलीले उनको आँखा तिरिमिरी भयो।
कम्प्लेक्सको बीचमा एकठाउँ मान्छेहरू गुजमुज्ज भेला भएको उनले देखे। उनी भीड पन्छाउँदै भित्र छिरे। बाथरूमको बाथटबजत्रो पोखरी थियो, जसमा युवायुवती मुख चुच्चो पार्दै सेल्फी खिच्दै थिए। नजिकै हरियो अक्षरमा काठमाडौं महानगरपालिकाको सन्देश झुन्डिएको थियो।
आलोकको माइनस–पावर आँखाले बोर्डको अक्षर खुट्टयाउन सकेन। उनी नजिक गए र घोरिएर हेरे। लेखिएको थियो– यो कमलको फूल फुल्ने पोखरी काठमाडौं महानगरपालिकाले २०७७ सालमा संरक्षण गरेको हो।
हरे दैव! के देख्नुपर्यो! हुँदाखाँदाको पोखरी मासेर सपिङ कम्प्लेक्स ठड्याएको छ, बाथटबजत्रो बनाएको छ, अनि त्यहीमाथि संरक्षण गरेको रे! जनताको आँखामा यतिविधि छारो पनि हाल्छ कसैले!
आलोक एक्लै बर्बराए।
उनले फेरि वाग्लेको नम्बर डायल गरे। हात कामेको थियो, तीनचोटिको प्रयासमा मात्र सही नम्बर डायल भयो। यसपालि चाहिँ वाग्लेले एकै घन्टीमा फोन उठाए।
'नारायणजी झट्टै भेटौं न कमलपोखरीमा,' आलोकले भने।
'कमलपोखरी! गुड गुड!' वाग्लेले एकै सासमा भने र एकै निमेषमा लाइन काटिहाले।
उनी पाँचै मिनेटमा लम्किँदै आइपुगे, नजिकै कुनै क्याफेमा डबल–सट गाढा कालो एसप्रेसो पिउँदै थिए होलान्!
वाग्लेलाई अगाडि देख्नासाथ आलोक झन् तीनछक खाए।
'तपाईंले कपाल रंगाउनुभो?' वाग्लेको लामो कालो कपाल देखेर आलोकले सोधे।
'रंगाएको होइन, प्रतिगमनको विरोधमा कालो पारेको,' उनले भने, 'सरकारले कालो रंगमाथि प्रतिबन्ध लगाएको तपाईंलाई थाहा छैन।'
'हो र?'
'कालो मास्क, कालो ज्याकेट, कालो मोजा, कालो जुत्ता, कालो कट्टु पनि।'
आलोकले हत्तपत्त आफूलाई हेरे। उनको ज्याकेटदेखि जुत्तासम्मै कालो थियो। मास्क पनि कालै।
'खैर छाड्नुस् अब,' वाग्लेले भने, 'मास्क चाहिँ फेर्नुस्, कालो मास्कसँग सरकारलाई सख्त नफरत छ।'
आलोकले मास्क फुकाले र सोधे, 'नारायणजी, कमलपोखरीलाई के भो? हिजो भर्खर हामीले यहाँ माटोको टीका लगाएको, आजै सपिङ कम्प्लेक्स?'
'हिजो?'
'अँ त हिजो?'
'हिजो होइन आलोकजी,' वाग्लेले भने, 'सम्पदा विनाशले तपाईंलाई साह्रै आघात परेछ। त्यो त तीन वर्षअघिको कुरा।'
'आज माघ १३ गते होइन?'
'माघ १३ त हो, तर हामी २०७७ साल होइन, २०८० सालमा छौं।'
'हिजो माटोको टीका लगाएको दिन सोमबार थियो, आज मंगलबार होइन?'
'आज शनिबार, २०८० माघ १३ गते।'
'अनि हाम्रो प्रतिगमनविरोधी आन्दोलन? सम्पदा संरक्षणको आन्दोलन?'
'दुवै जारी छ — हाम्रो आन्दोलन पनि, प्रतिगमन र अतिक्रमण पनि'
'त्यसो भए के काठमाडौंका भएभरका सम्पदा चैट पारिसके, कमलपोखरीजस्तै?'
'तपाईंले बाटोमा आउँदा देख्नुभएन र?'
'खोइ के–के असजिलो त लागेको थियो, तर होसै भएन।'
'सरकारले संविधान धुजाधुजा पारिसक्यो। सम्पदाको नामनिसान मेट्दैछ। प्राचीन काठमाडौंलाई सिंगापुर र दुबईजस्तो आधुनिक बनाइँदैछ। यहाँको गुठी परम्परा, जातजातिका रीतिथिति, संस्कृति सबैमाथि डोजर चलाइँदैछ। यी सबैको विरोधमा तपाईं–हाम्रो आन्दोलन पनि जारी छ।'
आलोकको मन स्याइँय्य भयो।
वाग्लेले उनको हात च्याप्प समातेर आफूसँगै दरबारमार्गतिर दौडाए। अघिसम्म कुन रनाहामा हिँडेका थिए आलोक, केही चाल पाएनन्। अहिले पो देखे, दरबारमार्गको हुलिया नै बदलिएको रहेछ। राजा महेन्द्रको शालिकको ठाउँमा उनीजस्तै देखिने अर्का कुनै नयाँ श्री ५ को शालिक ठडिएको रहेछ। सडकको दायाँ–बायाँ किनारमा तिनै नवमहाराजका महानवाणी होर्डिङ बोर्डमा कुँदेर झुन्ड्याइएका रहेछन्।
वाग्लेले हात तानेर लम्काउँदा–लम्काउँदै पनि दुई–चारवटा महानवाणी आलोकले सर्सती पढ्न भ्याए। एउटामा लेखिएको थियो– 'विधि, नियम र प्रक्रियाले जनतालाई खान दिँदैन।'
अर्कोमा थियो– 'संसद भनेको पाँच वर्षको स्थायी करार होइन, कसैले पनि तोकिएको समयसम्म त्यहाँ टिक्न पाइन्छ भनेर नचिताए हुन्छ, सबैलाई चेतना भया!'
दरबारमार्गबाट उनीहरू रानीपोखरीतिर लम्के। त्यहाँ पुग्दा त आलोक झन्डै–झन्डै बेहोसै भए।
रानीपोखरी त जस्ताको तस्तै थियो। तीन वर्षअघि तत्कालीन राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नै हातबाट पानी खन्याएर नयाँ स्वरूपको यो पोखरी उद्घाटन गरेका थिए। त्यही भएर सरकारले आफ्नो पौरख देखाउन भए पनि त्यसलाई जिउँदै राखेको थियो। तर, रानीपोखरी वरिपरि त्यस्तो कुनै चिज थिएन, जसले हिजोको काठमाडौं झल्काउँथ्यो।
उतिबेला यिनै आलोक र अरू सम्पदा अभियन्ताहरूको जोडबलले रानीपोखरीमा क्याफे खुल्न सकेको थिएन, अहिले त्यसको वरिपरि बग्रेल्ती क्याफे हाउसहरू खुलेछन्। कफीका पारखी वाग्लेले त्यहाँ डबल–सट एसप्रेसो पिउन कुनै रूचि देखाएनन्। भने, 'यो प्रतिगमनको क्याफे हो।'
सँगैको विशाल टुँडिखेल पनि एक इन्च बाँकी नराखी अतिक्रमण भएछ। रत्नपार्कदेखि पर सैनिक हेडक्वार्टरसम्म लमतन्न विशाल मल र अग्लो भ्यूटावर थियो, जसलाई नाम दिइएको थियो– काठमाडौं सिटी सेन्टरः भिजिट एन एन्सिअन्ट सिटी, सी थ्रू मोडर्न आइज।
त्यहाँ प्राचीन काठमाडौंको झलक देखाउन जात्रापर्वका झाँकी तस्बिर बनाएर भित्तामा झुन्ड्याइएका थिए। गुठी संस्कार मासेपछि काठमाडौं उपत्यकाको संस्कृति पनि मासिँदै गएको वाग्लेले सुनाए। त्यहाँ लिच्छवि र मल्लकालीन देवी–देउताका मूर्तिको तस्बिर तिथिमितिसहित सजाइएका थिए। वास्तविक मूर्ति त कसले कहाँ पुर्यायो, अत्तोपत्तो थिएन।
आलोकले मलको बीचमा कतै त्यो खरीको बोट छ कि भनेर खोजे, जुन उनीहरूले 'अकुपाई टुँडिखेल' अभियान क्रममा मध्य–टुँडिखेलमा रोपेका थिए। खरीको बोट त होइन, तर उनले एउटा कंक्रिटको रूख देखे, जसको मुनि काठमाडौं महानगरपालिकाले शिलापत्र कुँदेको थियो– 'यो खरीको बोटको प्रतिरूप हो। टुँडिखेलको यस्तै रूखमा उभिएर उतिबेला राजा–महाराजाहरूले जनतालाई सम्बोधन गर्थे।'
अलमल्ल आलोकलाई वाग्लेले थामे र उनीहरू दुवै मध्य–सहरभित्र छिरे।
मध्य–सहरमा विकासको बुलडोजर यस्तरी चलेछ, त्यहाँ काठमाडौं सम्पदा र संस्कृतिको अवशेषसम्म थिएन। सबथोक नयाँ, सबथोक चिल्लो। अनि ठाउँ–ठाउँमा सडक किनार आधुनिक विकासको बढाइचढाइँ गरिएका नाराहरू।
मान्छेहरू आफ्नो लवजमा बोल्नधरि धकाउँदै थिए, आफ्नो पहिरनमा सजिनधरि डराउँदै थिए। छ्वेला र ऐलाको मगमग बासना काठमाडौं गल्लीबाट हराएछन्। त्यहाँ ओसको महक थिएन, सिंहमर्मरको चमक थियो। धीमेको धमधम र ताँको छनछन कहीँ कतैबाट सुनिन्थेन। गाडीको कोलाहल मात्र कानमा पर्दै थियो।
वसन्तपुरबाट अघि बढ्दै इतुम्बहाः छिर्दा आलोकले एक वृद्ध आमैलाई देखे। ती आमैलाई आलोकले सानैदेखि चिनेका हुन्। उनको घर त्यहीँ कतै थियो। पुरानो शैलीमा बनेको, तिकिझ्याः र सँझ्याःले सजिएको। वरपरका छरछिमेकले नयाँ घर ठड्याइसक्दा पनि ती आमैले आफ्नो पुर्खाको धरोहर जिउँदै राखेकी थिइन्। उमेरले पाकेको त्यो घरमा ती आमैको बाल्यकालीन सम्झना र काठमाडौं सम्पदा जीवित थियो। त्यस्तो कुनै पनि घर वरिपरि नदेखेर आलोकले सोधे, 'छिगु छेँ थन हे मखु ला? आ: खने मरू नि?' (तपाईंको घर यहीँ थियो, अहिले त देख्दिन नि?)'
ती आमै निरुत्तर धर्धर्ती रून थालिन् र पुलुक्क पछाडि हेरिन्। त्यहाँ कंक्रिटको अग्लो घर थियो।
आलोकसिद्धि तुलाधर र नारायण वाग्लेले त्यो शनिबार, २०८० माघ १३ गते, दिनभरि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पैदलै घुमे। उनीहरू ललितपुर गए, कीर्तिपुर गए, भक्तपुर गए, साँखुसम्म पुगे – सबतिर सम्पदाको उस्तै बेहाल थियो।
साँखुमा त प्राचीन बस्ती भत्काएर आधुनिक 'स्याटलाइट सिटी' बन्ने तर्खर हुँदै थियो। निर्माणाधीन सहरले आफ्नो घरखेत गुमाएका रैथानेहरू ठाउँ–ठाउँमा भेला भएर सानोतिनो विरोध प्रदर्शन गर्दै थिए।
उनीहरू बुंगमती गए, खोकना गए। त्यहाँ फास्टट्रयाक सडक खुलेर उद्घाटन हुने तर्खरमा थियो। ती दुवै बस्तीका रैथाने नेवार विस्थापित भएर सडकमा आएका थिए। सम्पदा सँगसँगै जात्रापर्व र संस्कृति मात्र होइन, रैथाने परिचय, अस्तित्व र भावनाकै मृत्यु भएको थियो।
फर्कंदा भैंसेपाटी चोकमा केही अभियन्ता 'सम्पदा अतिक्रमण बन्द गर' लेखिएको तुल बोकेर प्रदर्शन गर्दै थिए। त्यही हुलमा गणपतिलाल श्रेष्ठ, सञ्जय अधिकारी लगायतलाई आलोकले देखे।
आलोक र वाग्ले पनि केही बेर भिडमा मिसिए र नारा लगाए। शान्तिपूर्ण नारा लगाइरहेको समूहलाई प्रहरीले एकछिन पनि त्यहाँ उभिन दिएन। सेतो गाडी साइरन बजाउँदै आयो, अनि उनीहरूलाई पानी छ्यापेर, लाठी बर्साएर लखेट्यो।
लखतरान मन र लुथ्रुक्क शरीर बोकेर उनीहरू सिंहदरबारछेउ आइपुगे। एकछिन उभिएका के थिए, प्रहरीले त्यहाँ पनि टिक्न दिएन, 'ए यहाँ किन उभिएको? बालुवाटार र सिंहदरबार निषेधित क्षेत्र हो भन्ने थाहा छैन?'
'हामी त यो देशका नागरिक?' आलोकले भने।
प्रहरीले व्यंग्य गरे, 'नागरिक–सागरिक त अब चैट।'
'यो हाम्रो हक हो'
'हक–सक सब चैट चैट।'
'यो हक हामीलाई संविधानले दिएको,' आलोकले यसो भन्दा त प्रहरी खित्कै छाडेर हाँसे। भने, 'संविधान–संविधान सब चैट चैट चैट।'
आलोकको दिमागमा यो चैट, चैट, चैट शब्द प्रतिध्वनित हुँदै गुञ्जिरह्यो। कसैले उनको कानैमा चुट्की बजाएको, थपडी मारेको उनले सुने। उनकी पत्नी सुनीता तुलाधर भन्दै थिइन्, 'बिहान–बिहान केको चैट चैट?'
आलोक सपनाबाट झसंग भए। उनको अनुहार हतास देखिन्थ्यो। डरले अनुहार फुस्रो थियो। तर, जसै सुनितालाई अगाडि देखे र आफूलाई ओछ्यानभित्र पाए, उनको हंसले सास पायो। हतास अनुहारमा विस्तारै आशाको लहर दौडिन थाल्यो। डरले फुस्रो अनुहारमा रगत भरिँदै आयो।
उनी हतार–हतार कालो चिया पिएर एकसरो लुगा फेरफार गरी कमलपोखरीतिर हानिए।
त्यहाँ 'कमलपोखरी कम्प्लेक्सः अ सिटी अन्डर अ रूफ' थिएन। पोखरी सुकेकै थियो। माछाहरू मरेकै थिए। माटोमा छिपछिपे हिलो बाँकी नै थियो। प्राकृतिक कमलको पोखरी सुकाएर कंक्रिटको नक्कली कमल बनाउन महानगरले थुपारेको गिटी, बालुवाको थुप्रो त्यहीँ कुनामा देखिन्थ्यो।
वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, सञ्जीव उप्रेती, युग पाठक लगायत नागरिक अभियन्ताहरू अर्को आन्दोलनको निम्ति जम्मा भइसकेका थिए। साथमा सम्पदा अभियन्ताहरू पनि नयाँ चरणको आन्दोलननिम्ति जुटेका थिए।
आलोकले वाग्लेको हात समातेर खुसुक्क कुनातिर लगे, अनि आफ्नो सपनाको विस्तार लगाए– 'तपाईंलाई प्रहरीले भाटा हानेको र मुसा–रूझाएको भिडिओ क्लिप हेरेर मलाई सपनामा पनि रातभरि निद्रा परेन। बिहान जसै घरबाट निस्केर तपाईंलाई भेट्न आएँ, म त २०८० सालमा पुगेछु। त्यति बेला यो सहर अहिलेजस्तो थिएन।'
वाग्लेले आफ्नो सहज शैलीमा जवाफ फर्काए, 'गुड, गुड, गुड।'
तेह्रौं शताब्दीका महान् कवि रूमीले भनेका छन् – जीवन-जगत नै सपना हो, निदाइरहेको मान्छेलाई मात्र त्यो वास्तविकझैं लाग्छ। जब मृत्युको बिहानी आउँछ, ऊ सपनाबाट वास्तविकतामा फर्कन्छ।
तर यो पनि सत्य हो, सपना देखेको मान्छेले सपनालाई नै आफ्नो वास्तविकता ठान्छ। ऊ त्यो सपनाको संसारलाई पनि सुन्दर बनाउन हातखुट्टा चलाउँछ, चलमलाउँछ, असिनपसिन हुँदै ओल्टेकोल्टे फेर्छ। सपनामै भए पनि ऊ जीवनबाट हार खाएर लत्तो छाड्दैन। जीवित रहेसम्म जहाँ भए पनि, जस्तोसुकै अवस्थामा पनि संघर्ष गरिरहन्छ।
आलोकले न सपनामा लत्तो छाडे, न विपनामा लत्तो छाडेका छन्। उनी सपनामा पनि सम्पदामाथिको अतिक्रमणले आहत थिए, विपनामा पनि आहत छन्। सपनामा पनि सम्पदा संरक्षण निम्ति संघर्ष गर्दै थिए, विपनामा पनि संघर्ष गर्दै छन्।
संविधान र सम्पदा दुवै नागरिकका हक हुन्। यी दुवैको रक्षा नागरिकको चासो र सरोकार हो। आलोकले जे सपना देखे, त्यो सही हुन सक्छ। विगतमा भएका राजनीतिक प्रतिगमनहरूले जस्तो नतिजा लिएर आयो र जुन नतिजा उल्ट्याउन नागरिक पटक–पटक आन्दोलित हुनुपर्यो, अहिले ठ्याक्कै त्यस्तै लक्षण देखिँदैछ। देश संविधान र सम्पदाविहीन अनिश्चित भविष्यको सुरूङमा प्रवेश गरेको छ। सुरूङको पल्लो किनारमा उज्यालो खोज्दै दुवैथरी अभियन्ताहरू आन्दोलित छन्।
आलोकले फेरि एकचोटि कमलपोखरीको माटो हातमा उठाए र सबै नागरिक अभियन्ताहरूको निधारमा पालैपालो टीका लगाइदिए।
संविधान र सम्पदा रक्षार्थ, सम्पूर्ण जातजाति, भाषाभाषीको अधिकार रक्षार्थ, हाम्रो राजनीतिक, सांस्कृतिक र सामाजिक हकको रक्षार्थ कमलपोखरीबाट दोस्रो दिनको मार्चपास सुरू भयो।
प्रहरी टोली कमलपोखरीदेखि नै घेरा हाल्दै अघि बढ्दै थियो।
आजको गन्तव्य चाहिँ कता?