एक महिलाले कोभिड-१९ को उपचार गरेको तीन साता (डिस्चार्ज पछि) पश्चात छाती भारी हुने, चामल केलाउँदा पनि एकदम थकान महसुस हुने, सास फेर्न अप्ठेरो, निन्द्रा राम्रो नलाग्ने भएर परामर्श लिन आउनु परेको बताउनुभएको थियो।
अर्का एक युवाले कोरोना संक्रमण निको भएपछि पनि जिउ तातेजस्तो हुने तर ज्वरो नाप्दा नदेखिने, अति थकित हुँदा एक तल्ला माथि चढ्न पनि अप्ठेरो हुने, छाती भारी हुने, बिर्सेजस्तो हुने अनुभव सुनाएका थिए।
यी त केही प्रतिनिधि पात्रमात्र हुन्। यस्ता समस्या भएकाको संख्या दिन-प्रतिदिन बढ्दै गएको देखिन्छ। यो पंक्तिकारसँग कोभिड-१९ उपचार गरिसकेका व्यक्तिले यस्ता समस्या र अनुभव नियमित सुनाइरहेका हुन्छन्। हाल उपचाररत् कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा निकट भविष्यमा उपचारपश्चात वा भाइरसमुक्त भएपछि पनि यस्ता स्वास्थ समस्या देखिने/थपिने क्रम जारी रहनेमा दुई मत देखिँदैन।
कोभिड-१९ को उपचारपश्चात् देखिने यस्ता स्वास्थ समस्याहरू के हुन्, किन र कसरी हुन्छन्, कहिलेसम्म रहन्छन् र यिनको सटिक उपचारका उपाय के-के हुन् भन्नेमा विश्वका वैज्ञानिकबीच एक रूपता पाइँदैन।
हालसम्म सर्वसम्मत वैज्ञानिक नाम नरहे पनि कोभिडपछिको यस्तो अवस्थालाई बोलीचालीको भाषामा 'लङ कोभिड' को नामले चिनिने गरिएको छ।
केही समयअगाडि ब्रिट्रिस मेडिकल जर्नलमा बेलायती वैज्ञानिकले 'लङ कोभिड' लाई 'पोस्ट एक्युट कोभिड-१९' को नामले लेख प्रकशित गरेका छन्।
उनीहरूका अनुसार यस्तो समस्या शरीरको एउटा अंगमा मात्र केन्द्रित हुँदैन। उनीहरूले आफ्नो लेखमा लक्षण देखिएको तीन हप्तापछि पनि निरन्तर स्वास्थ समस्या देखिएको अवस्थालाई 'पोस्ट एक्युट कोभिड-१९' भनेका छन।
बाह्र हप्ताभन्दा बढी भए 'दीर्घ कोभिड-१९' भनेका छन। नेपालमा 'दीर्घ कोभिड-१९' भएका के कति छन भनेर एकिन तथा अधिकारीक तथ्यांक भने छैन। नेपालमा पहिलो लकडाउन अगाडिसम्म अधिकांश संक्रमितमा लक्षण नै देखिएका थिएन।
'लङ कोभिड' लक्षण भएकामा मात्र हुने/देखिने हो वा लक्षणविहीन संक्रमितमा पनि हुने हो भनेर स्पष्ट छैन। तर नेपालको अनुभवले अधिकांश लक्षणसहित अस्पताल भर्ना भएकामा 'लङ कोभिड' को समस्या देखिँदै गएको देखिन्छ।
कति प्रतिशतमा यस्तो समस्या छ भनेर एकिन भने छैन। ब्रिट्रिस मेडिकल जर्नलमा प्रकाशित लेखमा बेलायतमा भने लगभग दश प्रतिशतमा यस्तो समस्या भएको उल्लेख छ।
अमेरिकामा ३५ प्रतिशत कोरोना पोजिटिभहरू तीन हप्तापछि पनि आफ्नो काममा फर्कन नसकेको उक्त लेखमा उल्लेख छ। अर्थात् यो समस्या विश्वव्यापी रहेको प्रष्ट देखिन्छ। (
'लङ कोभिड' किन र कसरी कोही संक्रमितको उपचारपश्चात पनि लामो समयसम्म देखिन्छ भन्ने एकिन थाहा छैन। वैज्ञानिकहरू सम्भावित कारणहरुको खोजीमा छन्। यीमध्ये भाइरस (थोरै) शरीरमा निरन्तर रहेर हो कि? पुन: संक्रमण भएर हो कि? अथवा पोस्ट कोभिडको मनोवैज्ञानिक प्रभाव/असर हो कि आधीआधीजस्ता कारणको खोजीमा देखिन्छन। हुन त चिकुनगुनिया भाइरस (लामखुट्टेबाट सर्ने भाइरस) संक्रमण भएपछि पनि अधिकांशको कम्तिमा वर्ष दिनसम्म जोर्नी निरन्तर दुखिरहने अनुसन्धानबाट देखिएको छ। गत वर्ष नेपालमा डेंगीको महामारी हुँदा इतिहासमा नै सबैभन्दा धेरै संक्रमित भएका थिए र अधिकांशले लामो समयसम्म टाउको र हड्डी दुख्ने सिकायत यो पंक्तिकारसँग गरेका थिए।
भाइरल इन्फेक्सनमा भाइरस मुक्त हुनु भनेको लक्षणबाट पनि मुक्त हुनु हो भन्ने अनिवार्यता नहुने रहेछ भन्ने माथिका उदाहरणले पनि देखाउँछन्। तसर्थ यो कोरोनाको नयाँ प्रजाति भएको र सीमित ज्ञानले गर्दा यसको सटिक उत्तर पाउन सहज भने छैन। अनुसन्धान नतिजा नै निर्विकल्प देखिन्छ जसको पूर्ण जानकारी पाउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने हुन्छ।
'लङ कोभिड' अर्थात् 'पोस्ट एक्युट कोभिड-१९' मा विभिन्न अंगहरूसँग सम्बधित लक्षणह देखिने गरेको पाइएको छ। सबैभन्दा बढी देखिने लक्षणमा खोकी, शरीर तातिने (अथवा निम्न ज्वरो आउने), र अत्याधिक थकान पर्दछ। अरू लक्षणमा सास फेर्न कठिन, छाती दुख्ने अथवा छाती कस्सिएको अनुभव हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने वा कमजोर हुने, पेट फुल्ने, छालामा बिबिरा देखिनु, मधुमेह राम्ररी नियन्त्रण नहुने, डिप्रेसन वा मानसिक समस्या देखिने, निद्रा नलाग्ने पनि हुने गरेको देखिएको छ।
जर्मनीमा गरिएको एक अध्ययनले कोरोना उपचार गरिसकेकामध्ये फ्लोअपमा आएकामा झन्डै असी प्रतिशतमा मुटुसम्बन्धी समस्या देखिएको नतिजा प्रकाशित गरेको थियो। बेलायतमा भएको अनुसन्धानले स्नायु प्रणालीमा उपचारपश्चात पनि समस्या देखिने गरेको निष्कर्ष निकालेका थिए। यो पंक्तिकारसँग एक जनाले कोभिड-१९ को उपचारपश्चात आफू मानसिक रूपमा अस्थिर हुँदा चिकित्सकको सल्लाहमा औषधी लिनु परेको बताएका थिए। अर्थात् नेपालमा कोभिड-१९ को उपचार पश्चात सयौं व्यक्तिमा विभिन्न स्वास्थ समस्या विकसित भएर छाती, मुटु, छाला, पेट तथा स्नायु रोग विशेषज्ञकोमा पुगिरहेको अनुमान गर्न सकिन्छ।
'लङ कोभिडको उपचारबारे स्पष्ट नहुँदा लक्षणको आधारमा औषधीको प्रयोग गर्ने र होलिस्टिक पद्धतिबाट उपचार गर्न सुझाइएको पाइन्छ। आवश्यकताअनुसार चिकित्सकको परामर्शमा सिटामोल, एन्टिबायोटिक र समस्याको विशेषता हेरेर थप औषधीको प्रयोग गर्न सकिन्छ। घरमा बस्दा अक्सिजन लेभल हेर्न पल्स ओक्सिमिटरको प्रयोग गर्ने, खानपानमा ध्यान दिने, शान्त र आराम गर्ने, शरीरको क्षमताअनुसार कसरत बढाउँदै जाने काम गर्न सकिन्छ।
योगको पनि महत्वपूर्ण भूमिका हुनसक्दछ। एक कोरोना भाइरसमुक्त परिचितले छाती दुखेको/भारी भएको महसुस भएको तर बिस्तारै श्वास-प्रश्वाससँग सम्बन्धी कसरत गर्दा सुधार आएको अनुभव सुनाएका थिए। जटिल अथवा सास फेर्न थप गाह्रो हुँदै गयो, अक्सिजनको लेभल घट्दै गयो, छाती दुख्ने क्रम बढ्दै गयो, कन्फ्युजन हुने, कमजोर हुने भयो भने तुरून्तै चिकित्सकलाई जानकारी गराउने र आवश्यकताअनुसार उपचारसमेत गर्नु पर्ने हुनसक्छ।
'लङ कोभिड' अर्थात् 'पोस्ट एक्युट कोभिड-१९' विश्वको साथै नेपालको लागि नौलो स्वास्थ चुनौती भएको देखिन्छ। तर यस्तो अवस्था आउनसक्छ भनेर/वा 'लङ कोभिड'लाई लक्षित गरी समाधानको उपायसहितको निर्देशिका भने नेपालमा विकास गरेको/भएको छैन।
यी 'लङ कोभिड' का बिरामीसँग कुरा गर्दा उनीहरू कहाँ, कोसँग परामर्श गर्ने, के गर्ने भनेर डाक्टरहहरू रनभुल्लमा परेको देखेको छु। उनीहरूलाई केही समय अगाडिमात्र ठिक भयो/उपचार पुरा भयो/भाइरस फ्री भयो भनेर घर पठाएको र फेरि 'लङ कोभिड' को समस्या देखिँदा यस्तो अवस्था सिर्जना हुनु स्वभाविक पनि हो। कोभिड-१९ को उपचारपश्चात् पनि देखिन सक्ने यस्ता नौला चुनौती (लङ कोभिड)को सामना गर्न स्पष्ट योजना बनाई बिरामीलाई उपचार वा परामर्श दिने सहज वातावरण सिर्जना गर्न जरूरी भैसकेको छ।
(डाक्टर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)