छोरी जन्मेपछि घर, समाज र राज्यले भन्छ, ‘यसलाई आफ्नो औकात बुझाइदिनू। बोली फुट्नुअघि नै सिकाइदिनू- पोथी बासेको राम्रो होइन।’
केही छोरीमान्छेले बाल्यकालमै आफ्नो औकात बुझ्छन्। केहीले विद्यालय, कलेज, वैवाहिक वा पेसागत जीवनमा पुगेर बुझ्न थाल्छन्। कोहीलाई यस्तै हो भन्ने लाग्छ र आमा, हजुरआमासँग स्वर मिलाउँछन्- ‘नारीको जन्म, हारेको कर्म।’
कोही चाहिँ निस्कन्छन्- घर, समुदाय, समाज र राज्यसँग लड्न।
ललितपुरको एक सरकारी कन्या विद्यालयबाट एसएलसी पास गरिसक्दासम्म मलाई आफ्नो सामाजिक हैसियत थाहा थिएन। म लगायत मेरा साथीहरू आफूलाई ‘अचिभर’ मान्थ्यौं।
विशेष गरी आठौं साफमा देशका लागि खेल्ने र पदक जित्ने केही महिला खेलाडी हाम्रै विद्यालयका विद्यार्थी थिए। समकक्षी, साथी वा अग्रज दिदीहरूलाई टिभीमा लाइभ हेर्दा वा उनीहरूका फोटो पत्रिकामा छापिँदा म लगायत सबैले छाति फुलाएका थियौं। मानौं ती पदक हामी स्वयंले जितेका हौं।
हामी अलि ज्यादै आत्मविश्वासी थियौं, अनि सफल भविष्यप्रति आशावादी पनि।
कलेज जीवनमा मेरो यो आत्मविश्वास अलि डगमगायो। कक्षा १२ मा अंग्रेजी पढाउने शिक्षकले आन्तोन चेखबको ‘अबाउट लभ’ भन्ने कथाको आडमा महिलामाथि ज्यादै नकारात्मक टिप्पणी गर्नुभयो। ‘आना’ भन्ने पात्रको सन्दर्भ झिक्दै उहाँले महिलालाई चरित्रहिन, कमजोर, श्रीमानलाई धोका दिने लगायत आक्षेप लगाउनुभयो।
कक्षामा भएका हामी ५–६ जना केटीहरूले ‘आदरणीय’ शिक्षकलाई रोक्न वा विरोध गर्न सकेनौं, हेराहेर मात्र गर्यौं।
हाम्रा ‘आदरणीय’ शिक्षकले त्यो कथा तीन दिन पढाउनुभयो। तेस्रो दिन कक्षा सकिनेबित्तिकै म र मेरो साथी एकअर्काको हात समातेर उहाँको पछि पछि गयौं अनि भन्यौं, ‘तपाईंले भनेको कुराले हाम्रो चित्त दुख्यो। किन महिलालाई त्यसरी हेप्नुभएको सर?’
उहाँले हाँसेर जवाफ दिनुभयो, 'ड्याट इज लिटरेचर।'
प्लस टू पढ्दा मेरा केही साथीहरूलाई प्राक्टिकल विषयको भाइभामा सोधिएको थियो, ‘तिमी राम्री छौ, के तिम्रो ब्वाइफ्रेन्ड छ?’ ‘के तिमी फेयर एन्ड लभ्ली लगाउँछौ?’
मलाई यी प्रश्न सोधिएनन्, किनभने म सामाजिक परिभाषाअनुसार ‘राम्री’ थिइनँ। यसको सट्टा मलाई धेरै समय प्रश्न सोधियो। प्रश्नमाथि प्रश्न, अनि अन्तमा ‘तँलाई केही पनि आउँदैन’ भनी सोच्न बाध्य बनाएर पठाइएको थियो।
स्नातक पढ्दा म कलेज खासै नियमित जाँदिनथेँ। एकदिन मेजर इङ्लिसको कक्षामा अध्यापकले पढाउनुभयो, ‘ककस्योर वुमन र हेनस्योर मेन’।
'आधुनिक महिला भनेको भाले बन्न चाहने अप्राकृतिक र अव्यवहारिक हुन्, पुरुषको भूमिका हड्प्न खोज्ने, जे होइन त्यो बन्न खोज्ने,' उहाँ अंग्रेजीमा भन्दै जानुभयो। कक्षाका साथीहरू, विशेषगरी केटाहरू उहाँको कुरा सुनेर हाँस्दै गए।
म लगायत ६–७ जना केटी अपमान, आक्रोश र हिनताबोध गर्दै कक्षामा बस्यौं। हाम्रो अनुहार रिसले चूर थियो, तर विरोध गर्न सकिरहेका थिएनौं।
हाऽऽ हाऽऽ हाँसोबीच जब सरले छरिएर बसेका ६–७ जना केटीलाई देख्नुभयो, उहाँले माहोल अलि शान्त बनाउने कोशिस गर्नुभयो। भन्नुभयो, ‘तपाईंहरू नहाँस्नुस्। यो डेभिड हर्वट लरेन्सको कुरा हो, मैले भनेको होइन। यो सन् १९२० को कुरा हो।’
सन् २००४ मा हामी डेभिड हर्वट लरेन्सको ‘ककस्योर वुमन र हेनस्योर मेन’ पढिरहेका थियौं अनि महिलाहरूलाई ‘डिमुर’ र ‘डन्टलेस’ गरी दुई भागमा वर्गीकरण गर्दै थियौं। ‘स्टाट्स-को’ लाई चुनौती दिने महिलाको अपमान हुँदै थियो, ‘ककस्योर वुमन’ का रूपमा।
त्यो दिन कक्षामा अध्यापकसँग वादविवाद गर्न मेरो तयारी पुगेन। मैले डेभिड हर्वट लरेन्सको ‘ककस्योर वुमन र हेनस्योर मेन’ पढेर गएकी थिइनँ। पछिका कक्षाहरूमा कोर्सबुक पढेर जान थालेँ। हात उठाएर अध्यापक-अध्यापिकालाई प्रश्न सोध्न थालेँ, बोल्न पनि थालेँ।
प्लस टू र स्नातक तहका कक्षालाई फर्केर हेर्दा मैले के सिकेँ? मलाई के सिकाइयो?
जवाफ एकदम सरल छ– हामीलाई लीलबहादुर क्षेत्रीको बसाइँ पढाइयो अनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बिहेभन्दा अगाडि यौनसम्बन्ध राख्न नहुने, राखे पनि गर्भवती हुन नहुने, गर्भवती भए एकल आमा बन्न नसकिने अनि पुरुषको सहारा चाहिने कुरा सिकाइयो।
मसँगै कक्षामा बस्ने केटा साथीहरूले आफू ‘रिकुटे’ बन्न नहुने कुरा सिक्यो कि सिकेन थाहा भएन। साहित्यमार्फत् समाजको यथार्थ चित्रण भन्दै नैतिक शिक्षा चाहिँ मजस्ता केटी र महिलालाई नै दिइयो।
यसरी नैतिक शिक्षाबाट दीक्षित भइसकेपछि म कानुन पढ्न गएँ। कानुनका कक्षाहरूमा पनि हामी महिला अल्पसंख्यक थियौं। म एलएलएम अध्ययनरत रहँदा ५० जनामध्ये ४ जना विद्यार्थी मात्र महिला थिए।
कानुनका कक्षामा पनि ‘जबर्जस्ती करणी’ बारे पढाइँदा अध्यापक-अध्यापिकाले बोल्नुअगाडि कोही न कोही पुरुष विद्यार्थी बोल्न थाल्थे, ‘पुरुषको पनि बलात्कार हुन्छ नि?’ ‘सहमतिमा भएको सम्बन्धलाई आफ्नो फाइदाका लागि महिलाहरू बलात्कार भन्छन्?’
यसरी जबर्जस्ती करणी वा बलात्कारजस्ता विषयमा कक्षामा कहिल्यै संवेदनशील छलफल भएन। हामीले समीक्षा, आत्मसमीक्षा गर्न पाएनौं। 'रेप कल्चर' के हो? बलात्कारमा जवाफदेहीता कसरी सुनिश्चित गर्न सकिन्छ? भन्नेबारे हाम्रो कक्षामा कहिल्यै बहस भएन।
आज नेपालमा बलात्कार, यौनहिंसाका घटनाको समाचार पढिरहँदा मसँगै कक्षामा पढ्ने केटा वा पुरुषहरूलाई सम्झन्छु। अनि आफैंलाई प्रश्न गर्छु– यस्तो वातावरणमा हुर्केका, शिक्षित-दीक्षित भएका केटा वा पुरुषबाट मजस्ता केटी वा महिलाले के अपेक्षा गर्ने?
वकिल, सरकारी वकिल, सांसद, मन्त्री, न्यायाधीशजस्ता उच्च ओहोदामा पुगे पनि उनीहरूबाट सम्मान, आदर वा मर्यादापूर्ण व्यवहारको अपेक्षा गर्न सकिन्छ र?
सायद सकिँदैन।
त्यसैले रातको समय सडकछेउ कुनै कारणले एक–दुई मिनेट उभिनुपर्दा ‘जाने हो? कतिमा जाने?’ भन्ने मानिससँग गुनासो गर्न छाडेकी छु।
जीवनमा पहिलोपटक मलाई ‘दोस्रो दर्जाको नागरिक’ भन्दा पनि ‘माल’, ‘आइटम’ वा ‘यौन प्यास बुझाउने वस्तु’ का रूपमा व्यवहार गरिँदा र मेरो शरीरको मोलमोलाइ हुँदा म अक्कबक्क परेकी थिएँ। मैले पुलिस बोलाउँछु नि भन्न सकिनँ।
त्यो बेला मैले आफूभित्र मनिस हरिजनले बनाएको चित्रजस्तो ‘सुपरकाली’ पनि जगाउन सकिनँ। म ‘फ्रिज’ भएकी थिएँ। म चुपचाप थिएँ। विलाल हसनले भनेजस्तै ‘चुपचाप’।
चुपचाप सब हो जाता है
होकर के गुजर जाता है
रस्ते पे इज्जत लुट्ती है
रास्ता भी थर्थराता है
आँख से आँशु नही गिरता
कुछ लहु सा टपक जाता है
चुपचाप सब हो जाता है
होकर के गुजर जाता है
मिल्ता उसको इन्साफ यहाँ
जो इस्के लिए लड् जाता है
उसके जख्म नासुर बने
जो अपने जख्म छुपाता है
एक सय बहत्तर वर्षअगाडि ‘डिक्लरेसन अफ सेन्टिमेन्ट’ जारी भएको थियो। कानुनका आँखामा कुनै हैसियत नभएका ‘डेड’ महिलाहरूले आफ्नो हैसियत खोजेका थिए। इतिहासका पाना फेरिँदै जाँदा भारतीय कानुनहरूमा ‘विधवा’, ‘वेश्या’ र ‘अपराधी’ गरी महिलाहरूलाई तीनवटा हैसियत दिइएको देखियो।
नेपालमा संविधानले सधैं महिलाहरूलाई नागरिकको हैसियत दिएको देखिन्छ। तर, म कानुनको कक्षामा पढिरहँदा मुलुकी ऐन, २०२० ले व्यवहारिक रूपमा मेरो हैसियत राष्ट्रिय जनावर गाईको भन्दा तल राखेको थियो। गाई मार्नेलाई १२ वर्ष कैद सजाय हुन्थ्यो भने मलाई कसैले बलात्कार गरे मेरो उमेर २० वर्षभन्दा माथि छ भने सामान्यतया ५ देखि ७ वर्ष कैद सजाय हुन्थ्यो। त्यो पनि अदालतमा शंकारहित तवरले प्रमाणित भए।
गाई लगायतका स्त्री पशुको बलात्कार भएको एक वर्षसम्म उजुरी गर्न मिल्थ्यो भने मैले चाहिँ ३५ दिनभित्र गर्नुपर्थ्यो। गौमाताभन्दा तलको हैसियतमा बस्नुपर्दा मलाई दुःख लागेको थिएन, तर ‘समानहरूबीच समानता’ नहुँदा मेरो चित्त दुखेको थियो।
यसैबीच ‘समानहरूबीच समानता’ हुनुपर्छ भनी क्यान्टिनमा बहस गरिरहँदा एउटा साथीले फ्याट्ट भनेका थिए, ‘बिहेपछि लोग्नेले रक्सी खाएर कुट्छ अनि थाहा पाउँछौ?’
हुन त यी सबै कुरा इतिहास भइसके। हामी पेसागत जीवनमा अगाडि बढिसक्यौं। हामी सबैलाई थाहा छ– संविधान र कानुनअनुसार महिला, पुरुष वा ‘नन बाइनरी’ पहिचान भएका व्यक्ति लगायत हामी सबै यो देशका सार्वभौम नागरिक हौं र देशको सार्वभौमसत्ता हामीमा निहित छ।
तै पनि व्यक्तिगत र सार्वजनिक जीवनमा बेलाबेला मजस्तालाई हैसियतको प्रश्न सोध्ने गरिन्छ। म जे हुँ वा हामी जे हौं, जे बन्न सक्छु वा जे बन्न सक्छौं, त्यो अधिकारका रूपमा दाबी गरिरहँदा सायद उनीहरू डराइरहेका छन् कि?
डेभिड हर्वट लरेन्सले जस्तै आफैंलाई ‘हेनस्योर’ देख्न थालिरहेका छन् कि?
थाहा छैन, ती मानिसलाई के भइरहेको छ। तर, साढे तीन दशकको मेरो जीवनमा मैले जे भोगेँ, जे देखेँ अनि म जे बनेँ, त्यसका आधारमा एउटा कुरा चाहिँ निश्चित छ– समानता, भेदभावरहित तथा समतामूलक समाजका लागि शताब्दीदेखि लडाइँ चलिरहेको छ, चलिरहने छ।
म यस लडाइँमा सहभागी छु, तपाईं नि?