अहिले मेरो उमेर ८४ को सिँढीमा उक्लन खोज्दै छ। आजभन्दा २५ वर्षअघि नै मेरी पत्नीको मृत्यु भएको थियो। परिवारको सहयोगमा यो प्रतिकूल परिस्थितिसँग अनुकूलन हुन मैले आफ्नै किसिमको दिनचर्या बनाएको छु। कोरोना महामारी र लकडाउनको असहज स्थितिमा पनि आफूलाई व्यस्त र आशावादी राख्नुको कुनै विकल्प छैन नै।
सधैंझैं आजभोलि पनि म प्राय: बिहान पाँच-साढे पाँच बजेतिर उठ्छु। शौच निवृत्त भएर बाहिर कुरेर बसेका परेवाहरूलाई दुईमुठ्ठी अन्न चारा दिन्छु र पूजा गर्न बस्छु।
त्यसपछि आधा घन्टाजति आफैंले जानेका व्यायामहरू गरिसक्दा प्रकृतिप्रेमी समूहबाट योग प्रशिक्षक तालिम लिएकी मेरी बुहारी सुनिताले योगासन अभ्यास गर्न बोलाउँछिन्। छोरा, म र बुहारी सँगै बसेर योगासन गर्छौं। योगासन सकिएपछि सबै जना दस मिनेट ध्यान गर्छौं। ध्यानको अन्त्यमा सबैको कल्याण होस् र सबैको कल्याण हुने काममा लागिरहन सकौं भन्दै एकअर्कालाई आत्मीयता साथ नमस्कार गरेर प्रसन्नचित्त हुँदै सबै आ–आफ्नो काममा लाग्छौं।
त्यसपछि म आफ्नो चित्तशुद्धिका लागि केही आध्यात्मिक दर्शनका पुस्तक अध्ययन गर्छु। त्यसमा धम्मपद, गीता, विभिन्न दर्शनका पुस्तक पर्छन्। त्यतिञ्जेल बुहारीले बिहानको नास्ता तयार गर्छिन्। म साकाहारी भएकाले केरा, दही, जौको सातु, बदाम मिश्रित हलुका नास्ता हामी तीनै जना आत्मीयतापूर्वक सँगै बसेर खाँदै घरायसी कामकाजबारे छलफल गर्छौं।
त्यसपछि म नेपालको इतिहासका पुस्तकहरू केही बेर अध्ययन गर्छु। इतिहास मेरो प्रिय विषय हो र नेपालको इतिहासका कालखण्डका घटनाहरूको चित्र बनाउनु मेरो रुचि। इतिहासको अध्ययनले मलाई सधैं प्रेरणा र उत्साह दिन्छ। कसरी कालजयी चित्र बनाउन सकिएला भन्ने मेरो मनमा खेलिरहन्छ। इतिहासका ती घटनालाई दुरुस्त उतार्न पाए अहिले र भोलिका पुस्ताले कति स्वादले ती चित्रहरू हेर्ने थिए होलान् भन्ने कल्पनाले मलाई जुरुक्क उठाएर आफ्नो काम गर्ने आसनीमा बसाँउछ।
बिहान करिब साढे नौ बजेतिर म आफ्नो क्यानभास अगाडिको आसनीमा बसिसक्छु। छोरा विष्णु बेलाबेला कोठामा आएर रुचिपूर्वक चित्रबारे छलफल गर्छन् र आफ्नो सुझाव तथा त्यससम्बन्धी सन्दर्भ सामग्री खोजेर सहयोग गर्छन्।
उमेरले गर्दा मेरो ढाड र घुँडा दुख्छ, आँखा पनि कमजोर हुँदैछन्। म आधा घन्टा काम गरेपछि नजिकै राखेको खाटमा एकछिन पल्टिन्छु र फेरि उठेर काम गर्न थाल्छु।
बाह्र बजेतिर खाना खान्छु, जसमा दूधभात मेरो प्रिय खाना हो। खाना खाएर करिब दुई घन्टा आराम गरेर म फेरि चित्रको काममा लाग्छु। कहिले बिहान थालेकै र कहिले दिउँसो भिन्न विषयका चित्रमा म काम गर्छु। व्यावसायिक उद्देश्यले होइन, म सधैं आत्मसन्तुष्टिका लागि काम गर्छु। मलाई मिहिन र गहिराइमा पुगेर गरिने काम मनपर्छ।
चित्र बनाउँदा म समयको सीमामा बाँधिन्न। एउटै चित्र बनाउन मलाई महिनौं लाग्छ। छोरा विष्णु मेरा कतिपय चित्रहरूको विषयवस्तु छनौटदेखि त्यसका सन्दर्भ सामग्रीहरू जुटाउने, पात्रहरूको अवस्थिति र हाउभाउबारे सल्लाह दिने मेरा सबभन्दा भरपर्दा सहयोगी हुन्।
लुम्बिनीमा अशोक आगमनको चित्र बनाउँदा मुख्य पात्र अशोकको मुहारमा उनले चित्त नबुझाउँदा मैले छ–सात पटकसम्म मेटेर बनाएको छु। उनले त्यति राम्रो देखिएन बुवा भन्छन्। यिनलाई चित्त बुझाउन कत्ति गाह्रो हो भनेर झर्किन्छु पनि। भोेलिपल्ट रिस मरेपछि फेरि उनैसँग सल्लाह गरेर फेरि मेटाएर सुधार्ने काम गर्छु। उनले ल अब ठिक छ भनेपछि मलाई पनि ढुक्क लाग्छ।
मेरो परिवारको प्रेरणा र सहयोग नहुने भए म कुन हौसलाले यसरी यो उमेरमा काम गर्थे हुँला र?
कामको बीचको विश्राममा चार बजेतिर परेवा र भंगेराहरूलाई चारा हाल्ने मेरो बानी छ। परेवाहरूले पनि आफ्नोे चहलपहल सुरू भइसकेको जनाउ दिन्छन्। म तिनलाई चामल र गहुँ मिश्रित चारा दिएर आफू पनि एक कप कालो चिया खाएर फेरि काममा लाग्छु। घरमा आफूले केही खाँदा चराचुरुंगीलाई दिएर मात्र खाने मेरो बानी छ।
पाँच बजेपछि म काम बन्द गर्छु र रंगहरू थन्क्याउँछु। तेल रंगमा बनाएको चित्रमा केही कुरा नमिलेजस्तो लाग्दा मेटेर बनाउँदा मिल्ने हुनाले काम गर्न त सजिलो हुन्छ। तर काम सकिएपछि ब्रस धुन चाहिँ असाध्यै गाह्रो। काम सक्दा लखतरान भएको शरीरले फेरि पन्ध्र मिनेटजति लगाएर मट्टीतेल र साबुनमा ब्रस धुनुपर्छ। नत्र त्यो ब्रस कडा भएर भोलिपल्ट कामै नलाग्ने हुन्छ।
जे काम गरे पनि मनोयोगपूर्वक गर्नुपर्छ भनेर कसैले भनेको कुरा मलाई साह्रै घत परेको छ। त्यसैले गर्नुपर्ने काम सकेसम्म अल्छी नमानी आनन्दपूर्वक गर्ने बानी बसालेको छु। ब्रस धोएपछि आजको आफ्नो कर्तव्य पूरा गरेँ भन्ने लाग्छ र बडो सन्तोष महशुस हुन्छ।
यसरी चित्रको काम सकेपछि कौसीमा बसेर मधुरो घाम र शितल बतासको आनन्द लिँदै आकाशमा देखिने बादलका रंगबिरंगी छटा र आकृतिहरूको रसास्वादन गर्दै म आफ्नो कल्पनाको संसारमा हराउँछु। त्यतिञ्जेल पनि हात खाली बस्नु हुँदैन भनेर म गोडाको मालिस गर्छु।
मलाई एक जना योगाचार्यले फुर्सद भयो कि आफ्नो गोडा मज्जासँग मिच्ने गर्नुहोस्, तपाईंलाई बडो सन्चो महशुस हुन्छ, राति राम्रो निन्द्रा पर्छ, बुढेसकालसम्म पनि तपाईं मज्जाले हिँडडुल गर्न सक्नुहुनेछ भनेर धेरै वर्षअघि भनेका कुरालाई मैले निरन्तर अभ्यासमा ल्याएको छु। त्यसैले होला, यो उमेरमा पनि गत कात्तिकमा म मेरो छोराबुहारीसँग अन्नपूर्ण क्षेत्रको सुन्दर र मनोरम सिक्लेस गाँउ घुमेर त्यहाँबाट सात घन्टाको ओरालो उकालो हिँडेर ताङतिङ गाँउ र पोखरा बेगनासको भ्रमण गरेर आउन सकेको।
साँझ छ बजे म पूजा र आरती गर्न बस्छु। त्यहाँबाट उठेर फेरि आधा घन्टाजति हातगोडाको व्यायाम र प्राणायाम गर्छु। त्यो दिनको गर्नुपर्ने कामहरूबाट म अब पूरा निवृत्त भएँ भन्ने लाग्छ। अब यसपछिको समय मेरो आफ्नै किसिमको मनोरञ्जनको समय हो।
त्यसपछि म ओछ्यानमै पल्टेर आँखा चिम्लेर विगतको कल्पनाको संसारमा पुग्छु। सायद नियतिले चित्रकारिताको पेसा गर्न लेखिदिएकाले होला, मेरो दृश्य स्मरण असाध्यै तीक्ष्ण छ जस्तो लाग्छ। परिवारका सदस्य वा अन्य सहयात्रीसँगै लामो यात्रामा हिँड्दा पनि उनीहरूको हेराइ र चित्रकारको रूपमा मेरो हेराइमा भिन्नता छ जस्तो लाग्छ मलाई। उनीहरू आहा त्यो जंगल कस्तो राम्रो भन्छन्। म भने दृश्यहरूलाई रंगका मिश्रणमा, आकृतिको विविधतामा, प्रकाश र छायाको सम्मीश्रणका रूपमा देख्छु।
समूहमा हिँड्दा पनि म आफ्नो छुट्टै संसारमा रमाइरहेको हुन्छु। आफ्नै कोठामा बसेर कहिले म मेरो बाल्यकालमा आमासँग मामाघर हिँडेर जाँदाको नुवाकोटको तादी खोला, जंगल, धान खेत, भरियाले भारी बिसाउने चौतारीका दृश्यहरूको संसारमा हराउँछु। ती दृश्यहरू मलाई अहिले पनि हिजो भर्खर मात्र देखेजस्तो स्पष्ट सम्झनामा छन्।
कहिले म गोसाइकुण्ड यात्रा बेला देखेका चन्दनवारीको उकालो कटेपछिको तेर्साे–तेर्सो बाटामा हिँड्दाको अनुपम आनन्दको स्मृतिमा हराउँछु। बाटोको दुवैतिर लेउले ढाकेका अग्ला सल्लाका रूखहरूको मुन्तिर काइ परेका हरिया ढुंगा टेक्दै हिँडेको दृश्य मेरो स्मृतिमा ताजै छन्। यस्ता अनगिन्ति स्मरणहरू मेरा मानस्पटलमा छन्, जसको सम्झना गरेर म आनन्दित हुन्छु।
मैले उपत्यकाको जनजीवन र नेवारी संस्कृतिबारे बनाएका धेरै चित्र मेरा मनमस्तिष्कमा रहेका यिनै संग्रहमध्येका केही हुन्।
बेलुकाको हलुका खाना खाएर एक घन्टाजति टिभी वा सिनेमा हेर्छु। यो लकडाउन अवधिमा चाहिँ मलाई युट्युबको सिनेमा हेर्ने लत लागेको छ।
बाल्यकालमा घरमा आमाले जनै काती बेचेर जम्मा गरेको पैसा ठाउँठाउँमा जतनले लुकाएर राखेको हुन्थ्यो। आमा घरमा नभएको मौका पार्दै म त्यो पैसा चोरेर साथीहरूसँग जनसेवा हलमा सिनेमा हेर्न जान्थेँ। थर्डक्लसमा बसेर एउटै सिनेमा पाँच–छ चोटिसम्म दोहोर्याएर हेरिन्थ्यो। मधुवाला, सुरैयाजस्ता नायिका अभिनीत उति बेलाका ती श्यामश्वेत हिन्दी चलचित्रहरू अहिले फेरि दोहोर्याएर हेर्दै म बाल्यकालका रोमाञ्चक सम्झनाहरूको पुनरावृत्तिको आनन्द लिइरहेको छु।
कहिले चाणक्य र चन्द्रगुप्तका साथै महाभारत शृंखला हेरेर पनि आनन्द लिन्छु। उति बेला सिनेमासँगै चलचित्र घरमा बिक्रीमा राखिने उक्त सिनेमाका गीतको किताब किनेर कण्ठ पारिन्थ्यो र साँझमा गीत गाउँदै घर पुगिन्थ्यो। अहिले सबै जना सँगै बसेर उक्त सिनेमा हेर्दै गर्दा ती गीतहरू आउँदा अनायासै ओठहरू चल्न थाल्छन्। मेरो मुहारमा देखिएको त्यो उन्मुक्त दृश्य हेरेर हास्दै 'बुबा! उति बेलाको संसारमा पुगेर बाटोमा गीत गाउँदै हिँडिरहेको हो कि क्या हो' भनेर छोराबुहारी र नाति जिस्क्याउन थाल्छन्।
विदेशमा बस्ने नाति पनि अहिलेको लकडाउनका कारण साथमै छन्। चित्रकलामा रुचि भएको र घर आउँदा मलाई चाहिने रंग–ब्रस तथा विदेशी चित्रकारहरूका पुस्तक पनि ल्याइदिने गरेका छन्। बेलाबेला उनी मलाई आफू घुमेका विदेशी ग्यालरीका चित्र कम्प्युटरमा देखाउँछन्।
ठिक पौने नौ बजे म आफ्नो सुत्ने कोठामा जान्छु। नौ बजे सुतिसक्ने मेरो नियम छ।
यसरी लकडाउनको समयभरि पनि म आफ्नै संसारमा रमाएर आफूलाई सधैं व्यस्त राख्ने गरेको छु। लकडाउनकै अवधिमा मैले मल्लकालको खास सुरूआत गर्ने जयस्थिति मल्ललाई कसरी भक्तपुरमा भित्र्याइयो लगायतका केही चित्र बनाएको छु। भक्तपुरमा ४० वर्ष राज्य गर्ने रानी देवलदेवीले नाबालक राजकुमारीसँग विवाह गर्न मधेसका एक क्षत्रीय युवाका रूपमा उनलाई डोला बनाएर भित्र्याएकी थिइन्। उनीहरूका सन्तान नै उपत्यकाका प्रसिद्ध मल्ल राजाहरू हुन्।
अहिले म, छोरा र नातिसँग छलफल गर्दै नेपाल एकीकरणमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेका तर त्यति चर्चा नपाएका राजकुमार बहादुर शाहसम्बन्धी चित्र बनाउने काममा व्यस्त छु। उनले नेपालको क्षेत्रफल आफ्ना पिता पृथ्वीनारायण शाहले एकीकृत गरेकोे नेपालको तत्कालीन क्षेत्रफलभन्दा झन्डै तीन गुना ठूलो पारेर नेपालको सीमा महाकाली नदीपारि हाल भारतको कुमाउ गढवालसम्म पुर्याएका थिए।
मेरो परिकल्पनाअनुसार मैले बनाउनुपर्ने ऐतिहासिक चित्रहरूको अझै लामो सूची छ। आफ्नो उमेर सम्झेर मलाई त यो जुनीमा मात्र चित्र बनाएर नपुगेर अर्को जुनीमा पनि चित्रकार नै भएर नेपालमै जन्मन पाऊँ भन्ने कामना छ।
कोरोना प्रकोप अघिसम्म एक-डेढ घन्टा पशुपति, गुह्येश्वरी वा बौद्धनाथतिर प्रातः भ्रमणको दिनचर्या थियो। ती ठाउँमा रहेका वृद्धवृद्धा, रोगी, अशक्तहरूप्रति सद्भाव र सानोतिनो सहयोग गर्न पाउँदा मलाई सन्तोष लाग्थ्यो। अहिले त्यो अवस्था रहेन।
कोरोना प्रकोपले संसारभरका मानिस विभिन्न किसिमले पीडित भएर बस्नुपरेको छ। मानिसले आफ्नो स्वतन्त्रता थप्दै, बाँकी जीव चराचरको स्वतन्त्रता कुण्ठित पार्दै लगेका थिए। प्रकृतिले त्यसैको दण्ड दिएको हो कि भन्ने लाग्छ मलाई। यो समयले मानिसलाई चेत खुलाइदिए भावी पुस्ताले सुख पाउँथे कि जस्तो पनि लाग्छ।
कोरोना प्रकोपको समयमा सबै जना आफू पनि सुरक्षित रही अरूलाई पनि सुरक्षित रहन सहयोग गर्दै आ–आफ्नो रुचिअनुसारको काम गरेर राम्रो समयको प्रतीक्षा गरौं भन्ने सबैमा आग्रह गर्न चाहन्छु।