गएका केही दिनदेखि सुनसान सहरका सुनसान गल्लीहरूमा हावा एक्लै हिँडिरहेको छ।
यो हावामा मानिसको गन्ध छैन, वसन्तको सुवास पनि छैन।
गएका केही दिनदेखि बिहानलाई केही हतार छैन, न दिनलाई नै छ। बिहान छिप्पिएको घामले झ्यालबाहिर पर्दाबाट चियाएर हेरिरहन्छ, बोलाउँदैन। हावा मत्थर भएर बहन्छ। दिउँसो चर्को घाम लाग्छ। चैते घामले न मान्छेलाई लोभ्याउन छाडेको छ, न ताप्नै दिएको छ। जाडोमा घाम ताप्न फुर्सद नपाएकाहरू खानापछि ढाड फर्काएर घाममा पल्टन्छन् र एकछिनपछि असिनपसिन भएर ढुन्मुनिँदै कोठाभित्र पस्छन्। मान्छेको दिनचर्या पत्यार नलाग्ने गरी फेरिएको छ।
बेलाबखत कागका बथान उराठलाग्दो गरी कराउँछन्। उड्दाउड्दै चर्को घाम थेग्न नसकेर फ्यात्त भुइँमा झरेका भँगेराका बचरामध्ये कंक्रिटमा बजारिनेहरू त त्यहीँ घुत्रुक्कै हुन्छन्। घिस्रेर झाडीसम्म पुग्न सक्नेहरूलाई पनि बिरालाले बाँकी राखे त हो!
अझै पनि उनीहरू पानी दिउँला भनेर समात्न खोज्ने मानिसको हातबाट फुत्कन खोज्छन्, झाडीतिरै भाग्न खोज्छन्। आधा मुठ्ठीको भँगेराको बचेरोलाई भत्भती पोलिरहेको घामसित भन्दा अञ्जुलीमा पानी बोकेर आएको मान्छेसित कत्रो डर? मृत्युकै भय पनि पात्रअनुसार कति फरक पर्ने!
कसैले 'के छ?' भनेर सोध्दा 'आऽऽऽ के हुनु र? काल पर्खेर बस्या छु,' भन्ने अवस्थामा पुगेका बाबैआमै वा मर्ने डरलाई जितिसकेँ भन्ने सन्त-गुरुहरू पनि यतिखेर संसार ठप्प पारिदिएको यो भाइरसबाट संक्रमित भएर मर्न चाहँदैनन्। अन्तिम अवस्थामा आफ्ना प्रियजनको मुख हेर्ने, हात समात्ने चाहना कसलाई हुँदैन र? संकट र पीडामा डुबेका आफन्तजनको कुम थप्थप्याएर हामी छौं नि भन्ने, उनीहरूका घरमा गएर सकेको काम सघाइदिने मन कसलाई हुँदैन र?
कसले सोचेको थियो, प्रेमले सुम्सुम्याउने हात, आशिर्वाद दिन टाउकामा राखिदिने हात, दुःखमा ढाडस दिन थपथपाउने हात र खुसी साट्न 'हाइ फाइभ' गर्ने हातदेखि कुनैदिन यतिबिघ्न डराउनुपर्ला?
तर डराएरै भए पनि मानिसलाई बाँच्नु त छ। कसैलाई बाँच्नका लागि एक सिलिन्डर ग्यास चाहिएको छ। कसैलाई अलिकति बिस्कुट र पानी भए पनि सास धानूँला जस्तो भएको छ। कोही एक मुठो धनिँया, एक पाउ कोइरालाको फूल वा एक बोतल कोकाकोलाका लागि तड्पिरहेका छन्। कसैलाई एक चिम्टी नुनखुर्सानी र भातको न्यास्रो लागेको छ त कसैलाई एकसरो चप्पल नभई भएको छैन।
एकसरो चप्पल, जेले पुर्याउनेछ आमाको आँगनसम्म, जसले हिजो बेलुका फोनमा रुँदै भनेकी छिन्- जस्सरी भए नि घर आइज बाबु, जस्सरी भए नि आइज...
आज, पूरै सहर घरमै छ। फरक यत्ति, कसैका घरमा छत छन्, बरन्डा छ, किचन गार्डेन छ।
कसैका घरमा एउटा खाट छ, प्लाइवूड उप्किसकेको र्याकमाथि तेलका छिटा र बेसारका पहेँला दागले मैलो भएको एउटा ग्यास सिलिन्डर छ। एउटा पानीको जार छ र छरिएका केही भाँडाकुँडा र लुगाफाटा छन्। जसका डेरामा रित्ता पानीका जार भुइँमा लडिरहेका छन्, तिनीहरूकहाँ ढल्काएर राखेको सिलिन्डर पनि बल्न छोडिसकेको छ। त्यसैले उनीहरूलाई जस्सरी भए पनि घर जानु छ। घर पुग्नु छ।
सहरले निरुपाय बनाएका त्यस्ता मान्छे काँधमा चिचिला छोराछोरी हालेर चिउराको फाँको हाल्दै, चप्पल पड्काउँदै गाउँ हिँडेका छन्।
गाउँमा भाइरस छ-छैन थाहा छैन, तर आश छ, भर छ। गाउँमा खानै नपाएर मर्नु पर्दैन भन्ने विश्वास छ। विश्वासले तथ्यांक हेर्दैन। कसैले सुनाइहाले पनि पत्याउँदैन।
तर गाउँमा आँटो-ढिँडो त पाक्छ हौ! पीठो कम भए खोले पाक्छ। हिजोआज कटेरामा दाउरा राख्ने जनशक्तिको पुगिसरी धेरैकहाँ नहोला, तर यताउता आँखा मात्र घुमाए पनि अलिअलि झिँझाझुँझी त जसका अँगेनाका डिलमा पनि जम्मा हुन्छन्। अनि धुँवाले पिँधमा बाक्लो कालो तह जमेको कित्लीमा पानी बसाल्नै भए नि चुल्हो बल्छ।
भुइँ खोस्रने हो भने दुई-चार डल्ला पिँडालु, भ्याकुर निस्की पनि हाल्छन्। ठिमुरिएकै भए पनि दुई-चार बोट सागको मुन्टो चुँडेरै भए पनि तिहुन् पाक्छ। जेहोस्, गाउँमा जसोतसो छाक टर्छ।
आखिर छाक टार्नेभन्दा कति नै पो माथि पुगेको रहेछ र हाम्रो जीवनस्तर?
आज रोगसँग भन्दा भोकसँग डराएका, राज्यप्रति विश्वास हराएका मानिसहरूको उपस्थितिले गाउँमा आशाका मुना पलाउन थालेका छन्। गाउँमा 'लकडाउन' छैन। सहरको बन्दाबन्दीले बरू गाउँ ब्युँतिन खोजेको छ। फेरि हराभरा होला जस्तो पो भएको छ।
त्यही गाउँ, जो अस्तिसम्म सुनसान थियो। जहाँ करेसामा काग कराउँदा सुबोल् सुबोल् भन्ने जाँगर पनि हराइसकेको थियो। आरुका गेडा वा किम्बुका झुप्पामा चुच्चो गाड्ने डाङ्ग्रे, लामपुच्छ्रे, चिबे, कोइली, ढुकुर, गौंथली, लाँचे र धोबिनीहरूलाई कसैले धपाउँदैनथ्यो। जहाँ जुठोभाँडो भ्याएर गाईवस्तुलाई एक चरण घाँसपात हालेपछि चलेको हावा हेरेर आमाहरूले १२ बजेको अड्कल काट्थे। जहाँ समय ढिलो हिँड्थ्यो।
गाउँ त सधैं एकान्तवासमै त थियो। हाम्रा बाआमा, हजुरबा-हजुरआमा सबै सधैं एकान्तवासमै त थिए!
परिवारबाट एकान्तवासमा।
आफन्तबाट एकान्तवासमा।
राज्यबाट एकान्तवासमा।
एकान्तवास के हुन्छ, रात परेपछि थानकोटको डाँडोबाट ओरालो लाग्दा बसका झ्यालबाट देखिने भिराला डाँडामा कोसौंको दूरीमा पिलिकपिलिक बलेका बत्तीसित सोध्नुपर्छ।
एकान्तवास के हुन्छ, हवाइजहाज चढेर सुर्खेत जाँदा देखिने रुगरुगाउँदा डाँडामाथि बसेका गाउँलाई सोधे पनि हुन्छ, जहाँ बारीका डिलका डालेघाँसका रुख वर्षौं घाँस नझारिएजसरी झ्याम्मिएका देखिन्छन्।
सारा संसार बसन्त र ग्रीष्मको हरियोमा सिँगारिँदा समेत अजंगका नांगा, फुस्रा पहाडबीच कैद भएका पाइलालाई सोध्नुपर्छ, जो बुल्डोजरले कोरेका धर्काहरूले जुगौंदेखिको एकान्तवासबाट मुक्ति देलान् भनेर पहिराको जोखिम मोलिरहेका छन्। अनि ती धुलाम्मे बाटामा भट्भटेको आवाज सुन्नासाथ कुर्कुच्चा उचालेर, हत्केलाको पाली हालेर को आयो भनी हेर्ने मोतीविन्दुले धमिला बनाइदिएका आँखासित सोध्नुपर्छ।
सलाईको काँटी वा 'हेलपोस्'बाट 'फिरी'मा ल्याएको सिटामोल सकिँदा पनि पैंचो माग्न घोक्रो फुलाउनुपर्ने वा दमले न्याँकिन्जेल हिँड्नुपर्ने ठाउँहरूले एकान्तवासको व्यथालाई आफ्नो पोल्टोमा लुकाएका छन्।
भोक धपाउन, पैसा टिप्न वा धेरै पढेर मान्नेगुन्ने हुन मुगलान, सदरमुकाम वा राजधानी पसेका परिवारजनको यादमा साँझपख पिँढीको थाममा आड लागेर बुङबुङ बिजुली चुरोटको धुँवा उडाइरहेका बाआमाको एकान्तवासले हाम्रो 'एकान्तवास' देखेर के भन्ठान्दो हो?
जो सधैं एकान्तवासमा छन्, सोलार वा लघु-जलविद्युतका धीमा बत्तीसित, जसको वरपरी मौरी भुन्भुनाउँछन्, थरीथरीका पुतली र फट्यांग्रा उफ्रन्छन्, के उनीहरूलाई तलतल नलाग्दो हो ती नातिनातिनाको? जो सानो छँदा कुखुरालाई चारो हाल्न फट्यांग्रा बटुल्न हानथाप गर्थे? वा बुहारीको लुंगीको फट्याफट्या आवाजको जुन भित्रबाहिर गर्दा बुहारीका गोडाभन्दा हतारिन्थ्यो? के उनीहरूलाई अत्यार नलाग्दो हो, मध्य दिउँसै झ्याउँझ्याउँ गर्ने झ्याउँकिरीसित, पानीको लोटा खस्दा वा माझ्दै गरेको थाल चिप्लिँदा र्याँइर्याँइ गर्ने सन्नाटासित?
आज हामी जेलाई एकान्तवास भनिरहेका छौं, त्यो केही हो भने घरवास मात्र हो। नेपाली बृहत् शब्दकोशले कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नपुग्ने ठाउँमा बस्ने काम, एकान्तको बास, एक्लो बसाइलाई एकान्तवास भन्छ। घरभित्र सोफामा लम्पसार परेर वर्ल्डोमिटरमा पलपलको कोभिड अपडेट लिइरहेका वा घन्टौं लगाएर टिकटकका लागि मेकअप गरिरहेका हाम्रो घरवास र उनीहरूको एकान्तवासमा कत्रो फरक छ!
जो सधैं एकान्तवासमा छन्, उनीहरूलाई घरभित्र बसिरहने सुविधा छैन। उनीहरूको एकान्तवासको सीमा फराकिलो पक्कै छ तर त्यसको अर्थ छ। गोठमा बाँधेको गोरुको पेट मान्छेको पेटजस्तो एकछिन थपथपाएर मान्दैन। दूध दुहुन बस्दा भोकाएको गाईले लात्ती हान्छ। यो साल खेतीको समय घर्किएमा अर्को साल सहरमा पढिरहेको छोराले चामल किनेर खान सक्दैन। हाम्रो र उनीहरूको एकान्तवासमा यही त खास फरक छ। राहतमा बाँडेको स्यानिटाइजर त उनीहरूले आगो टिप्छ भन्ने थाहा पाए आगो सल्काउन प्रयोग गरिदिनेछन् नत्र आगुम् साल दसैंमा आउने नातिलाई खुसुक्क दिउँला भनी सन्दुकमा हालेर राख्नेछन्।
यतिखेर हामी जेलाई एकान्तवास ठानेर आत्तिइरहेका छौं, त्यो हाम्रा धेरै आमाबाहरूको दिनचर्या हो। जो सधैं एकान्तवासमा छन्, उनीहरूलाई सामाजिक सञ्जालमार्फत् गुनासो गर्ने सुविधा छैन। शून्यताका सुस्केराको उनीहरूका कथा झिँजो नमानी सुनिदिने कुनै मेन्टल हेल्थ प्रोफेसनल पनि छैन। हाम्रो घरवास संकट हो, जुन ढिलोचाँडो एकदिन टरिजान्छ। उनीहरूको एकान्तवास नियति हो। वा, कमसेकम उनीहरूले त्यसरी नै स्वीकारेका छन्। विकल्प नभएपछि कि त मान्छेले परिस्थितिलाई स्वीकार्छ, कि चाहिँ विद्रोहमार्फत् विकल्पको खोजी गर्छ। जो सधैं एकान्तवासमा छन्, उनीहरूको नियतिको समाजशास्त्रीय इतिहास के हो?
घरवासदेखि वाक्क हामी यतिखेर 'मिस' गरिरहेका छौं, बिहान साढे आठ बजे छिमेकीको घरमा आएर पिँप-पिँप गर्ने स्कुले केटाकेटीको भ्यान, साइकलको पसलमा स्याउकेरा वा आलुटमाटर बेच्न हिँड्ने मधेशका दाइ, लामो लेग्रो तानेर खाली बोतल, कागज फलाम भन्दै घरघर डुल्ने कवाडीवाला र बन्दै गरेको छिमेकीको घरबाट आउने फलाम काटेको अप्रिय ध्वनिसमेत।
एकान्तवासले हामीलाई मध्याह्नमा प्रेसर कुकर र ग्यासका पाटपूर्जा छिन्द्रिङछिन्द्रिङ हल्लाएर निन्द्रा खल्बल्याइदिने वा गेटअघि आएर भिक्षा नदिउन्जेल गहिरो कर्कश आवाजमा कराइरहने कानचिरुवा जोगी वा छोराछोरीको बिदामा दुई-चार पैसा कमाउन राजधानी छिरेका मौसमी सारंगीवादकलाई समेत 'मिस' गराइदिएको छ।
हाम्रा हरेक बिहान वा साँझ मान्छेको आभासको खोजीमा भौंतारिएका छन्। घरको छत वा कम्पाउन्ड भित्ताको फलामे बारबाट हामी रित्ता, शून्य बाटा हेर्छौं। अधिकांश घरका झ्याल बन्द छन्। बन्द नभएका केही झ्यालबाट साँझ परेपछि प्रेसर कुकरका सिठ्ठी परपरसम्म सुनिने गरी बज्छन् र हामी बिनाकारण खुसी हुन्छौं। हामी मान्छेसितको संसर्ग त्यति प्रेम गर्छौं।
एक दिन, जब कोरोनाको कहर अलि साम्य हुनेछ र हामी 'एकान्तवास' नामक घरवासबाट मुक्त हुनेछौं, नभुलौं, त्यो शून्यताको गह्रौं आवाज, जसमा कम्पाउन्डवालको फलामे बारमा आँखा टाँगेर रित्ता बाटामा हामीले मानिसको गन्धको खोजी गरेका थियौं।
काँधमा छोरो बोकेर काठमाडौँ फर्कने बसको टिकट काट्दै गर्दा नभुलौं, कुर्कुच्चामा प्वाल परेको त्यो तुने चप्पल, जसले हामीलाई कालोपत्रे सडकका रापमा धुँवाले रगमगिएको आमाको घुर्मैलो भान्सासम्म पुर्याएको थियो।
र नभुलौं, ती भान्सामा, हामी कल्बलाउँदो सहरको हतास दैनिकीभित्र पुनः विलाइसकेपछि पनि, हामीलाई घरछेउको बाँझो घडेरीमा क्रिकेट खेलिरहेका केटाकेटीको आवाज 'हल्ला' लाग्न थालिसकेपछि पनि, हामीले जसलाई जहाँ छोडेर आयौं, ती सधैं त्यहीँ नै हुनेछन्। एकान्तवासमै हुनेछन्।
धुँवाले मधुरो भएको उनीहरूको फिलामेन्ट बल्बमा झुम्मिएका मौरी, पुतली र फट्यांग्रा हेर्दा उनीहरूलाई नातिनातिनाको याद आउनेछ।
दाम्लो बेर्यो या राम्ररी नखाई घाँस ओच्छ्यायो भनी बाख्रापाठालाई गाली गरेर, आँगनीमा सुकाएको धान खोस्रन आउने कुखुराका चल्ला वा डाङ्ग्रेलाई धपाएर मान्छेसित बोल्नुको तलतल मेटाइरहेका सधैंका एकान्तवासीलाई दुई-चार दिनको फेरमा दुई मिनेटका लागि आउने हाम्रो फोनको घन्टी कति संगीतमय लाग्दो हो?
जो सधैं एकान्तवासमा छन्, उनीहरूको शून्यताको गहिराई एक महिने घरबासमा हामीले नाप्न सकौंला र?