मैले किताब नलेखे पनि हुन्थ्यो होला, यो लेख भने नलेखी हुँदैनथ्यो।
मैले सोचेकी थिएँ, कामविशेषका लागि लेखनबाट केहीबेर ब्रेक लिनुपर्ने भयो भने यो लेख लेखेर मैजारो गर्छु। तर अनिश्चित कुराका लागि यति महत्त्वपूर्ण विषयलाई कुराउनु उचित ठानिनँ।
गत साता बुधबारसम्म ठीकै थियो।
बिहीबार साँझ घर पुग्दा समाचार आइसकेको रहेछ।
प्रकाशकले भनेकी थिइन्, 'आज प्रेस रिलिज गइसक्यो। केही दिनपछि निम्तो कार्ड तयार हुन्छ अनि पठाउनुहोला।'
'दुर्गा कार्कीको कथासंग्रह 'कुमारी प्रश्नहरू' प्रकाशित हुँदै' भन्ने खालका समाचार पढेँ। मुटु ढक्क फुल्यो।
बल्ल मलाई पहिलोपटक साँच्चिकै किताब आएकै रहेछ भनेजस्तो लाग्यो।
प्रकाशकले भनेकी थिइन्, 'रिलिजअघि केही अन्तर्वार्ता हुँदा अरुहरूलाई तपाईंबारे थाहा पाउन सजिलो हुन्छ।'
अन्तर्वार्ताका लागि कुरा भइरहेको पनि थियो। तर यी कुरा मलाई आफैं लेख्न मन लाग्यो। अरुले लेखिदिँदा मैले महशुस गरेको गहिराइ नभेटिने पो हो कि भन्ने डर लाग्यो। आफ्ना कथा सबैभन्दा सशक्त र आधिकारिक रूपमा आफैंले नै त भन्न सकिन्छ नि!
अघिल्लो दिन एकजना दिदीले फोनमा भनेकी थिइन्, 'तिम्रो ट्विटर बायो चेन्ज गर त। अब त तिमी 'पब्लिस्ड राइटर' पो त!'
पब्लिस्ड राइटर। प्रकाशित लेखक। ओहो, साँच्चै, मैले त त्यसरी हेरेकै थिइनँ।
लाग्यो, मानिसहरूले अब मलाई प्रकाशित लेखक मात्र भनेर चिन्नेछन्। तर म कसरी लेखक भएँ (वा बनाइएँ) त्यो पनि उनीहरूले बेलैमा थाहा पाउनुपर्छ। नत्र मभित्रको लेखकलाई अन्याय हुन्छ।
किताबमा मेरा पात्रहरूका कथा छन्। यो मेरो कथा हो।
मलाई लेखक बन्ने कुनै सोख थिएन जसरी मलाई वकिल बन्ने सोख थिएन। अधिकांश नेपाली केटाकेटीजस्तै म पनि 'ठूलो भएसी डाक्टर बनेस्' भन्ने दसैं आशीर्वाद पाएर हुर्किएकी थिएँ। तर ममीलाई डाक्टर भनेका इमर्जेन्सीमा रातारात उठेर हस्पिटल जाने मात्र हुन्छन् जस्तो लाग्थ्यो। मलाई के लाग्थ्यो, खासै सम्झन्नँ। प्रष्ट नभएर होला।
२०६६ साल, एसएलसी दिने वर्ष। घर टाढा थियो। होस्टल जानुअघि मैले एउटा पत्र लेखेँ, बुवाको नाममा। र उहाँले बोकेर हिँड्ने झोलाको खल्तीमा घुसारिदिएँ।
त्यो पहिलो पत्र लेखेको लगभग एक वर्षपछि मैले फेरि अरू दुई पत्र लेखेँ। एउटा बुवा र अर्को आमाको नाममा। त्यसै दिन, केही जोर लुगा, दुइटा डायरी, स्टुडियोमा गएर खिचेका केही थान फोटा, एसएलसीका कागजपत्र र एउटा गह्रुँगो मन लिएर म काठमाडौं हानिएकी थिएँ।
मेरा चिठीले जवाफ मागेका थिएनन्, ती कहिल्यै लेखिएनन् पनि। तर दसैंमा घर फर्केका बेला मेरा दुई लामा न लामा चिठी, एक आमाको तखतामा र अर्को बाको झोलामा सकुशल भेटिए। होस्टल जानुअघि लेखेको चिठी पहिले नै भेटाएर आफैंसित राखेकी थिएँ।
काठमाडौं फर्किएपछि एकसाँझ तीनवटै चिठी मैले एकैचोटी पढेँ। मलाई ती आफैंले लेखेको भनेर विश्वास गर्न गाह्रो भयो, अहिले पनि हुन्छ।
पहिलो, एक १६ वर्षे ठिटीको जीवन, जगत् र सम्बन्ध बारेको बुझाइ देखेर, र अर्को, ती कुरा शब्दमा उतारेको तरिका देखेर।
आमाबुवासित जे कुरा म मुखले भन्न सक्दिनथेँ, अक्षरले मलाई त्यो आँट र आवाज जुटाइदिएका थिए। त्यतिमात्र होइन, बोलेरभन्दा प्रभावकारी नसुनिने कुरालाई सशक्त रूपमा राख्ने बाटो पनि दिएका थिए।
मभित्रको लेखकलाई मैले पहिलोपटक तिनै चिठीमा भेटाएको हो। तर आफूले भेटाएर मात्र कोही लेखक बन्ने भए संसारमा सबैभन्दा धेरै लेखक नै भेटिन्थे होलान्।
मलाई अरूले भेटाउन बाँकी थियो।
२०६७ साल। बुवाले एकसाँझ फोन गरेर भन्नुभएको थियो, 'एउटा कथा प्रतियोगिताको सूचना छ, शिक्षक मासिकमा। पढ् त।'
के मुखले नभने पनि बुवाले आफ्नो नाममा लेखिएका चिठीमा मभित्रको लेखक भेटाउनुभएको थियो?
सूचना हेरेँ। हिमाल एसोसिएसन र डेनिस राजदूतावासले गरेको उक्त प्रतियोगिताको लागि अन्तिमका केही दिन मात्र बाँकी थिए। मैले एकै बसाँइमा चार-पाँच घन्टा लाएर एउटा कथा लेखेँ।
शीर्षक थियो, ग्याँस्ट्रिक खेती र फुच्चे खलाँसी।
खासै आश त थिएन, तर कथा उत्कृष्ट दसभित्र पर्यो। १८ वर्षमुनिका दस केटाकेटीलाई धुलिखेल लगेर आयोजकले कथा लेखनबारे वर्कशप गराए। मैले कथाका सामान्य तत्व चिनेको, कथालाई एउटा छुट्टै, गम्भीर विधाको रूपमा बुझ्न पाएको त्यहीँ हो। ती दिन सम्झँदा म अझै पनि नोस्टाल्जिक हुन्छु किनकी त्यही वर्कशपमा मैले लेखनका मेरा गुरु केदार शर्मालाई भेटाएकी थिएँ।
२०६८ साल, शिक्षक मासिकले अर्को कथा प्रतियोगिता गर्यो। मैले दसफेर केरमेट गरेर साफीमा सारेपछि नजिकैको साइबरमा पैसा तिरेर टाइप गरीवरी पठाएँ। कथा पहिलो भयो। कथाको नाम थियो, 'लाइट बाल्ने केटो'। म प्रेममा परेको मेरो कथाको पहिलो पात्र उही लाइट बाल्ने केटो हो। धेरैले मन पराएको त्यो कथा पढ्दापढ्दा पछि त मलाई लाइट बाल्ने केटो पात्रको रूपमा मात्र हैन, साँच्चिकै कतै मेरै वरिपरि पो छ कि भन्ने लाग्न थालेको थियो।
यो धङधङी उत्रिएको केही पछि मेरा सपनाले पनि फँडा उचाल्न थाले। मलाई अखबारका पानामा शनिबारका दिन आउने कथाले खुब मोहित पार्थे। दुइटा कथाका लागि पुरस्कार जितेको आत्मविश्वास थियो। आँटेर एउटा कथा एउटा राष्ट्रिय दैनिकको शनिबारीय परिशिष्टांकमा पठाएँ।
त्यसपछिका दिनहरूमा शनिबार ढीलोसम्म सुत्ने दिन बनेन। म बिहानै उठेर परको एउटा पत्रिका पसलमा जान्थेँ र पैसा तिर्नुअघि आफ्नो लेख आएको छ कि भन्ने झिनो आशामा ओल्टाइपल्टाई सबै पाना हेर्थेँ।
महिनौं कुरेँ, मेरो कथा आएन।
कथा नै नपाएका हुन् कि, इमेल नै डेलिभर नभएको पो हो कि भनेर दोहोरो इमेल पठाएँ। अहँ, इमेलको जवाफ पनि आएन।
कथा उम्दा पटक्कै थिएन। तर मेरो मुटुको एकदमै नजिक थियो। तर कथा उम्दा किन थिएन, म भर्खर दुइटा कथा लेखेकीले के जान्दथेँ र? मलाई 'रिजेक्टेड' महशुस भयो। कताकता पढे होलान् र भन्ने पनि लाग्यो। १८ वर्षे काँचो दिमागले नाम नचलेका लेखकको छाप्दा रहेनछन् कि त भन्ने पनि सोच्न भ्यायो। निकै दिन दुःखी भएर बिताएँ। फेरि कथा लेख्ने जाँगर चलेन।
आज सम्झँदा लाग्छ, कम्तीमा पनि कसैले 'दुर्गाजी, तपाईंको कथा पढ्यौं, प्रयास राम्रो छ, तर सशक्त बनाउन अझै काम गर्नुपर्छ है। तपाईंले यसैमा काम गरेर वा नयाँ कथा पठाउनुहुन्छ भन्ने आशा गर्छौं' भनेर एउटा इमेल टुप्लुक्क आइदिएको भए मेरो आत्मविश्वास कहाँ पुग्थ्यो होला?
अहिले दिनहुँ असंख्य पत्रिका प्रकाशित हुन्छन्। अनलाइनको त स्वयं प्रेस काउन्सिलले पनि गिन्ती राख्न छोडिसक्यो होला। अखबारका शनिबारीय परिशिष्टांकबीच कसले राम्रो कन्टेन्ट ल्याउने भन्नेमा सानोतिनो प्रतिस्पर्धा नै चलेजस्तो देखिन्छ। तर 'राम्रा लेख बल्लतल्ल पढ्न पाइन्छ' भन्ने गुनासो पाठकमा छ्यापछ्याप्ती भेटिन्छ।
केहीले फाट्टफुट्ट नयाँ लेखकमार्फत् नयाँ स्वाद दिन खोजेजस्तो देखे पनि मलाई सधैं लाग्छ, यो पर्याप्त छैन।
केहीअघि नवलेखक श्रेयज सुवेदी आफ्नो पहिलो लेख 'उ-हारी कि बु-हारी'ले सामाजिक सञ्जालमा छाए। अन्नपूर्ण पोष्टको 'फुर्सद'मा छापिएको उक्त लेख यसअघि धेरै ठाउँबाट 'रिजेक्टेड' भएको भन्दै उनले प्रकाशकलाई धन्यवाद दिए। प्रकाशक आफैंले त्यही दिन धेरै जनाले लेखकको नम्बर मागेको खुलासा गरे।
लयात्मकताले लचप्प्र भिजेको शैलीमा बिहेपश्चात् एक महिलाले गुमाउनुपर्ने स्वतन्त्रताबारे लेखिएको उक्त विचारोत्तेजक लेख यसअघि धेरैपटक अस्वीकृत भएको सुन्दा मलाई लाग्यो- कति नवलेखकको लेखकीय आत्मा अखबारका इमेलमै डम्प भएका होलान्? कति जब्बर आत्मा डम्प हुन नमानेर अखबारका इन्बक्स-इन्बक्स भड्किँदै बल्लतल्ल कागजी स्वरूपमा आइपुगेका होलान्?
वा कति मजस्ता 'भाग्यमानी' होलान्?
मैले आफूलाई 'भाग्यमानी' भन्नुको कारण छ। स्नातक अन्तिम वर्षको जाँच सकिएको थियो। साउने संक्रान्ति भर्खरै सकिएको थियो। गुरुले फोन गरेर भन्नुभो, 'सेतोपाटीमा एउटा कथा छापिएको छ, लिंक पठाइदिएको छु। त्यो पढ र यदि तिमी त्यस कथाको नारी पात्र हुन्थ्यौ भने कसरी लेख्थ्यौ, यसो सोच त।'
मैले कथा पढेँ। मामाघरबाट डेरा फर्कने तरखरमा थिएँ। बाटोभरि सोचिरहेँ। कथानक बहन थाल्यो। घर आइपुग्दासम्म मलाई कतिखेर लेख्न बसूँजस्तो भइसकेको थियो।
साँझ उहाँलाई नै 'सरर हेर्दिन' पठाएँ। उहाँ दंग पर्नुभो। मैले सेतोपाटीलाई पठाइदिएँ।
सेतोपाटीका सम्पादक सुदीप श्रेष्ठले राति पौने एक बजे पठाउनुभएको त्यो इमेलको रिप्लाई पढ्न म बिहान साढे चार बजे ब्यूँझिएँ र बिहान अबेरसम्म खुला आँखा कोल्टो फेरिरहेँ। मन चंगा थियो। प्रशंसा र हौसलाले मान्छेलाई के गर्दो रहेछ भन्ने मैले त्यसै रात बुझेँ।
सेतोपाटीमा 'भोजराजलाई रश्मीको चिठी' छापियो। सामाजिक सञ्जालको शक्ति पनि मैले त्यतिखेर नै चाल पाएँ। र धेरै वर्षपछि म फेरि आफ्नो कथाको अर्की पात्रसित प्रेममा परेँ। उसको नाम थियो, रश्मी।
ट्विटर चलाउन थालेको धेरै भएको थिएन। एक सामान्य दिउँसो एउटा 'डिएम' आयो। भित्र सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले सेतोपाटीमा नियमित लेख्ने अफर गर्नुभएको थियो। पारिश्रमिक सहित! नर्भस भएर जिब्रो भिजाएँ। कहाँको वर्षमा एक-दुई कथा लेखिटोपल्ने म, कहाँको नियमित गैरआख्यान? नराम्रो नसुनिने गरी कसरी नो भनौं भनेर सल्लाह माग्न फेरि गुरुलाई फोन गरेँ। उहाँले ढुक्कको लवजमा भन्नुभो, 'हुन्छ भन।'
'काँ हुन्छ भन्ने? म सक्दिनँ...' म च्याँट्ठिएँ। साँच्चिकै च्याँट्ठिएँ।
'तिमीले ढुक्कले सक्छ्यौ। यस्तो मौका कतिले पाउँछन्, सोच, अनि रिप्लाई गर।'
दसैं मुखमा थियो। म ल्यापटप बोकेर घर गएँ र बार्दलीमा बसेर लेखेँ, 'हाम्रो गाउँमा अचेल दसैं आउँदैन साथी...'
हजुरआमालाई सुनाएँ। लेख सकिइसक्दा समेत उहाँ सकिइसक्यो र भन्ने भावमा मुग्ध भएर मलाई हेरिरहनुभयो। ममी मुसुक्क हाँस्नुभयो मात्र। गुरुलाई देखाएँ। भन्नुभो, मेरो शैली झल्किन खोज्यो, अब आफ्नै शैली बनाउनुपर्छ है।
लेखले राम्रो प्रतिक्रिया पायो। ओहो, लेख्न सक्दोरैछु त- मेरो आत्मविश्वासको भर्याङमा एउटा खुड्किलो थपियो।
आज पनि, हरेकपटक मलाई कुनै विषयमा लेख्न बस्दा म के लेख्न सकौँली र भन्ने लाग्छ। जब ल्यापटप लिएर लेख्न बस्छु, ताल पक्डिन अझै केही समय लाग्छ। अनि एउटा विन्दुमा पुगेपछि मज्जा आउन थाल्छ। यो मज्जा आउने ठाउँ पुगेपछि मात्र मलाई बल्ल लाग्छ, ए, म लेख्न सक्दोरैछु त।
र, मेरो आत्मविश्वासको भर्याङमा अर्को खुड्किलो थपिन्छ।
मलाई थाहा छैन, कतिवटा खुड्किलो थपिएपछि मलाई लेख्नुअघि म लेख्न सकौँली र भन्ने भावनाले गाँज्न छोड्छ। तर म चाहन्छु, मैले लेखुन्जेल ममा यो भावना रहिरहोस्। अरु केही नभए पनि यो भावनाले मलाई लेखनप्रति जिम्मेवार हुन सिकाएको छ। लेखनलाई गम्भीरतापूर्वक लिन र लेख्नुअघि पर्याप्त तयारी गर्न सिकाएको छ।
मेरो एउटा प्रतिउत्तर कथा र (सायद) केही ट्विटको भरमा अमित ढकालले मलाई 'चिन्नुभएको' थियो। मैले आफैंप्रति विश्वास नगरेको बेलामा केदार शर्माले ममाथि विश्वास गर्नुभएको थियो। मेरा एक-दुई कथा पढेकै आधारमा मलाई 'लेखक' भनेर सम्बोधन गर्नुभएको थियो र मलाई आफ्नै सिंगै कथासंग्रहको सपना देखाइदिनुभएको थियो।
लेखक जन्मन्छन् या बन्छन् मलाई थाहा छैन। यदि बन्छन् भने ती दुईथरी हुन्छन्। एक आफ्नै प्रयासले बन्ने, अर्का बनाइने। म बनाइएकी लेखक हुँ।
र मलाई लाग्छ, (आफैं) बन्ने लेखक संयोग हुन्, काकताली हुन् र यी थोरै मात्र हुन्छन्। हाम्रोमा लेखन क्षेत्र साँघुरो हुनुको कारण बनाइएका लेखक कम हुनु हो।
लेखक बनाउन ठूलो लगानी चाहिन्छ, चिन्ने क्षमता, विश्वास, आलोचनात्मक प्रशंसा, मेन्टरिङ र अवसरको। हाम्रोमा यस्तो लगानी निकै कम छ। त्यसैले हामीकहाँ लेखक बन्ने सम्भावना बोकेका धेरै प्रतिभा सुषुष्त अवस्थामै हराउँछन्। हामी कुनै नवलेखक 'देखा परेपछि' मात्र उसलाई अवसर दिन हानथाप गर्छौं। (श्रेयज सुवेदी 'हिट' भएपछि उनको नम्बर लिनेको इन्बक्समा कतै त्यो लेख पहिल्यै आइसकेको त थिएन?)
के हाम्रो स्रोतसाधनको अलिकति अंश हाम्रा अफिसियल इमेल उधिन्नमा लगाउन सक्दैनौं? सबैमा सम्भव नहोला, तर सम्भावना बोकेका केही इमेलका लागि छोटो प्रतिउत्तर र अलिकति हौसला पठाउन सक्दैनौं? संयोग र संघर्षले लेखक बनेका अग्रज लेखकबाट नयाँपन खोजिरहनुको साटो उनीहरूको ज्ञान र सीपलाई नयाँ लेखक उत्पादन गर्न मेन्टरको रूपमा उपयोग गर्न सक्दैनौं? व्यक्तिगत रूपमा यो व्यावहारिक नसुनिएला, तर संस्थागत रूपमा त हुन सक्छ नि!
अतिरञ्जना होइन तर मलाई कहिलेकाहीँ पठाउनासाथ आफ्नो लेख छापिएको देख्दा पनि कताकता ग्लानि हुन्छ, त्यो १८ वर्षे वा २१ वर्षे दुर्गालाई सम्झेर, जो महिनौं इमेल जवाफको प्रतीक्षामा बसेकी थिई। केदार शर्मालाई नभेटाएको भए सायद मभित्रको लेखक उतिबेलै मरिसकेको हुन्थ्यो। उहाँले मेरा काँचा लेख केलाएर तिनमा मसलाको मात्रा मिलाउन मलाई हरसम्भव सिकाउनुभयो। धुलिखेल वर्कशपमा भेटिएका दसै जनै लेखक एकसेएक थिए। आज तीमध्ये निरन्तर लेखिरहने ममात्र हुँ भन्दा मलाई खुसी लाग्दैन। ती नौ जनाले नै लेख्नुपर्थ्यो वा पर्दैनथ्यो म जान्दिनँ। तर सोचिरहन्छु, उतिबेलै त्यस्तो राम्रो लेख्ने उनीहरू कहाँ गए होलान्? किन गए होलान्?
म हजारौं, लाखौंमा एक भाग्यमानी लेखक हुँ, जसले समयमै मेन्टर भेट्टाएँ। हाम्रोमा मेन्टरको मात्र होइन, राम्रा मेन्टरको झनै ठूलो अभाव छ। मानिसहरूलाई म गुरुप्रति कति साह्रो अनुगृहित भन्ने लाग्ला, तर मैले मेरो मेन्टरबाट कसरी राम्रो लेख्ने भन्ने मात्र सिकिनँ, कसरी अर्काको शैलीलाई बाँच्न दिने, कसरी सम्पादकको नाममा लहडी माली नबन्ने भन्ने समेत सिकेँ।
एउटा घटना मेरो मनमा बडो गहिरोसँग गडेर बसेको छ। कामको सिलसिलामा केही वर्षअघि म हुम्ला थिएँ। साह्रै कमजोर इन्टरनेटबाट बल्लतल्ल एउटा लेख पठाएकी थिएँ। सम्पादित लेख डाउनलोड गर्न नमिलेपछि उहाँले उस्तै कमजोर फोन नेटवर्कका माझ पनि मैले यस्तो सम्पादन गरेँ, तिमीलाई मञ्जुर छ भनेर सम्पादित अंश पढेरै सुनाउनुभएको थियो। हामीकहाँ यस्तोखाले सम्पादनको कतिको अभ्यास होला?
कानुन पढ्दाताक मेरा एकजना शिक्षक हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो, बाराक ओबामा नेपालमा जन्मिएका भए अहिले वडा अध्यक्ष बनेका हुन्थे। उहाँले घरिघरि भनिरहने यो वाक्य सुन्दा त्यतिखेर सिंगो कक्षा गलल्ल हाँस्थ्यो। अहिले जति काम गर्दै, सिक्दै जान्छु, उति उहाँले भन्नुभएको यो वाक्य मलाई झनझन् घतलाग्दो लाग्छ।
सोच्छु, साँच्चै हामीले कति बाराक ओबामालाई वडा अध्यक्ष बनाइदियौं होला?
यतिखेर, फाट्टफुट्ट भए पनि नयाँ पुस्ताका रचना नयाँपन बोकेर आइरहेकै छन्। जति धेरै नयाँ लेखक, उति धेरै नयाँ स्वाद, उति भव्य भान्सा। हाम्रो भान्सालाई भव्य, विस्तृत र विशिष्ट स्वादयुक्त बनाउन अझै धेरै नयाँ लेखक आउन आवश्यक छ। र यी नयाँ लेखक हाम्रै वरिपरि छरपष्ट छन्।
कतिपयलाई देख्दा त मलाई एउटा मीठो लोभ पनि लाग्छ, इर्ष्या जाग्छ। यो लोभ र इर्ष्या जति मीठो र धेरै बन्न सक्यो, हाम्रो वाङ्मयको आकाश उति नै चहकिलो हुन्छ, उति नै टहटह हुन्छ। बस्, हामीमा चिन्ने क्षमता र बनाउने जाँगर र धैर्य चाहिन्छ।
के हामी लेखक खोज्न 'भाग्य' को भर पर्ने संस्कृति तोड्न सकौँला?
(दुर्गा कार्कीको कथासंग्रह 'कुमारी प्रश्नहरू' शुक्रबार सार्वजनिक भएको छ)